विकासन्युज

सन नेपाल लाइफलाई आईक्यानको ‘सर्टिफिकेट अफ मेरिट’

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)द्वारा प्रदान गरिने नेसनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड–२०२५ अन्तर्गत ‘सर्टिफिकेट अफ मेरिट’ प्राप्त गरेको छ । काठमाडौंस्थित होटल याक एण्ड यतीमा असार १६ गते आयोजित विशेष समारोहमा कम्पनीलाई उक्त सम्मान प्रदान गरिएको हो । कार्यक्रममा कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत कवि फुयाल, प्रमुख वित्त अधिकृत रञ्जु लम्साल तथा वित्त विभागकी जिना लामा सहभागी थिए । आर्थिक वर्ष २०८१/८२ को वार्षिक वित्तीय प्रतिवेदनको उत्कृष्ट प्रस्तुति, वित्तीय पारदर्शिता, नेपाल वित्तीय प्रतिवेदन मापदण्ड तथा अन्य प्रचलित लेखा मापदण्डको प्रभावकारी पालना र संस्थागत सुशासनप्रतिको प्रतिबद्धताको मूल्याङ्कन गर्दै आईक्यानले कम्पनीलाई उक्त सम्मान प्रदान गरेको हो । सम्मान ग्रहणपछि निमित्त प्रमुख कार्यकारी अधिकृत कवि फुयालले यो उपलब्धि सम्पूर्ण सन नेपाल लाइफ परिवारका लागि गर्व र खुसीको विषय भएको बताए। उनका अनुसार यस सम्मानले कम्पनीलाई वित्तीय पारदर्शिता, सुशासन र उत्कृष्ट कार्यसम्पादनलाई अझ सुदृढ बनाउन थप प्रेरणा र जिम्मेवारी दिएको छ । फुयालले यस उपलब्धिमा योगदान पुर्‍याउने सञ्चालक समिति, बीमित ग्राहक, अभिकर्ता, कर्मचारी, शेयरधनी, नियामक निकाय तथा सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गरे । हाल सन नेपाल लाइफले देशभर १५० शाखा तथा उपशाखामार्फत जीवन बीमा सेवा प्रदान गर्दै आएको जनाएको छ । कम्पनीले शिक्षा, स्वास्थ्य र जोखिम व्यवस्थापनका क्षेत्रमा सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

नेपाली ब्रोलाई जन्म कैदको सजाय माग, भाई, प्रेमिका र साथी पनि मुछिए

काठमाडौं । सामाजिक सञ्जाल टिकटकमा ‘नेपाली ब्रो’ नामले भाइरल भएका रेस्लर एवं पूर्वसैनिक कुमार थापा मगरविरुद्द जन्मकैदको सजाय माग गरिएको छ । आफ्नै श्रीमती, नेपाली सेनाकी सुवेदार ईश्वरी भुजेलको चक्कु प्रहार गरी विभत्स हत्या गरेको आरोपमा उनीविरुद् जन्म कैदको सजाय माग गरिएको हो ।  प्रतिवादी अम्बिका भुजेल र नेपाल सरकार वादी भएर दर्ता गरेको अभियोगपत्रमा उनीसहित चार प्रतिवादनी बनाइएका छन् । सरकारी वकिलको कार्यालयले नेपाली ब्रोको प्रेमिका प्रतीक्षा आचार्यलाई कुमारसँग मिलेर ईश्वरीको हत्या गरी विवाह गर्ने योजना बुनेको आरोपमा मुदद चलाइएको छ भने उनकै भाई विक्रम थापा मगरलाई दाजुलाई हत्याका लागि उक्साएको र आर्थिक प्रलोभन देखाएको आरोपमा मुदद चलाइएको छ ।  यस्तै, कुमारका साथी एवं धनेश्वर अटोमोबाइल्सका सञ्चालक पूजन थापामाथि पनि कुमारलाई लुक्न र बस्न सहयोग गरेको आरोपमा मुदद चलाइएको छ ।   काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं. ६ पैँयुटारमा गत जेठ २२ गते राती साढे ९ बजे थापाले बाटो ढुकेर श्रीमतीको घाँटी रेटी हत्या गरेको तथ्य प्रहरी अनुसन्धान र अदालतमा दायर अभियोग पत्रबाट खुलेको छ ।  मृतक ईश्वरी भुजेल नेपाली सेनाको सैनिक ब्यान्ड नारायणहिटिका सुवेदार पदमा कार्यरत थिइन् ।  घटना पश्चात् सोही राती ११ बजे प्रहरीले अभियुक्त कुमार थापा मगरलाई बालाजु बाइपासबाट रगत लतपतिएको लुगासहित पक्राउ गरेको थियो । अभियोग पत्रका अनुसार कुमार र ईश्वरीबीच करिब २० वर्षअघि नेपाली सेनामा कार्यरत रहँदा प्रेम विवाह भएको थियो । उनीहरूका १८ र ४ वर्षका दुई छोराहरू छन् ।  सेनाको जागिर छाडेर वैदेशिक रोजगारीमा समेत गएका कुमार नेपाल फर्किएपछि रेस्लिङ खेल र टिकटकमा सक्रिय भएका थिए । टिकटकमा भाइरल भएपछि उनको चिनजान जुम्ला घर भई काठमाडौं बस्ने २५ वर्षीया नर्स प्रतीक्षा आचार्यसँग भयो ।  प्रतीक्षालाई आफ्नो रेस्लिङ खेलको इभेन्ट म्यानेजर नियुक्त गरेपछि उनीहरूबीच प्रेम र शारीरिक सम्बन्ध सुरु भएको कुमारले आफ्नो बयानमा स्वीकार गरेका छन् ।  टिकटकमा प्रतीक्षालाई ‘माई डक्टर गर्लफ्रेन्ड’ भन्दै भिडियो पोस्ट गरेपछि ईश्वरीले उनीहरूको सम्बन्धबारे थाहा पाएकी थिइन् । त्यसपछि परिवारमा तीव्र कलह सुरु भयो र पटक–पटक प्रहरी वृत्त बालाजु र जिल्ला प्रहरी परिसर काठमाडौंमा मिलापत्र समेत गरिएको थियो ।   अदालतमा विचाराधीन मुद्दा र हत्याको योजना घरेलु हिंसा र प्रताडना सहन नसकी ईश्वरीले श्रीमान् कुमार विरुद्ध प्रहरीमा वैवाहिक जबरजस्ती करणी (बलात्कार) को मुद्दा दर्ता गराएकी थिइन्, जसमा कुमार ५० हजार धरौटीमा छुटेका थिए ।  यसका साथै ईश्वरीले काठमाडौं जिल्ला अदालतमा सम्बन्ध विच्छेदको मुद्दा समेत दायर गरेकी थिइन् ।  कुमारले ईश्वरीलाई ती मुद्दाहरूमा ‘होस्टाइल’ हुन (बयान फेर्न) र मुद्दा फिर्ता लिन निरन्तर दबाब र ज्यान मार्ने धम्की दिँदै आएका थिए । हत्या भएको दिन (जेठ २२ गते) अदालतमा सोही मुद्दाको पेसी तोकिएको थियो ।  अभियोगपत्रमा उल्लेख भएअनुसार कुमार बिहानै ईश्वरीलाई भेट्न नारायणहिटीस्थित सैनिक ब्यान्डको गेटमा पुगेका थिए । तर, ईश्वरीले भेट्न मानिनन् । त्यसपछि दिनभर बबरमहल अदालत र साथी पूजन थापा क्षेत्रीको बालाजुस्थित रिकन्डिसन हाउसमा समय बिताएका कुमार बेलुका तनाव र आक्रोशका साथ पैँयुटारस्थित घर पुगेका थिए ।   घरमा छोरा र काम गर्ने केटीसँग विवाद भएपछि कुमार झनै आक्रोशित बनेर आफ्नो कार (बा एची ०३४४) लिई निस्किएको बयान दिएका छन् । सोही क्रममा विपरीत दिशाबाट ईश्वरी ड्युटी सकेर स्कुटरमा घर फर्किँदै गरेकी देखेपछि उनले कार रोकेर आफूसँग सधैँ राख्ने चक्कु लिई ईश्वरीको पिछा गरेको र सिसिटिभीमा कैद विभत्स क्षणपैँयुटारस्थित राजु भट्टराईको निर्माणाधीन घर अगाडिको गल्लीमा ईश्वरी पुगेपछि कुमारले उनलाई पछाडिबाट समातेर नियन्त्रणमा लिई घाँटी रेटी हत्या गरेको अभियोगपत्रमा उल्लेख छ ।  वारदात स्थल नजिकैको सिसिटिभी फुटेजमा कुमारले कारबाट झरेर ईश्वरीलाई लखेटेको, चक्कु प्रहार गरेको र वारदात पछि चक्कु झाडीमा फालेर कार चढी भागेको स्पष्ट देखिएको अभियोग पत्रमामा उल्लेख छ ।  पोस्टमार्टम रिपोर्टका अनुसार ईश्वरीको मृत्यु घाँटी र छातीमा लागेको गहिरो चोटका कारण भएको बताइएको छ ।  उनको हातमा ’डिफेन्स कट’ अर्थात् बच्न खोज्दा लागेका चोटहरू समेत फेला परेका थिए ।  थप तीन जना मतियारका रूपमा प्रतिवादी ईश्वरीकी दिदी अम्बिका भुजेलको किटानी जाहेरीका आधारमा प्रहरीले मुख्य अभियुक्त कुमार थापा मगरसहित हत्याको योजना र मतियारको भूमिका खेलेको आरोपमा अन्य तीन जनालाई पनि प्रतिवादी बनाएको छ ।  प्रहरीले घटनामा प्रयोग भएको ९ इन्च लामो धारिलो चक्कु, रगत लागेको टिसर्ट, किया कम्पनीको कार र आइफोनहरू बरामद गरिसकेको छ ।  कानुन बमोजिम सजायको मागदाबी काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले प्रतिवादी कुमार थापा मगरसहित अन्य मतियारहरू विरुद्ध मुलुकी अपराध संहिता, २०७४ को ज्यान सम्बन्धी कसूर अन्तर्गत जन्मकैद र कडा सजायको माग गर्दै काठमाडौं जिल्ला अदालतमा अभियोग पत्र दायर गरेको हो ।

‘वित्तीय ग्राहक सन्तुष्टि सर्वेक्षण’ सुरु गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले देशभरका ७७ वटै जिल्लालाई समेटेर ‘वित्तीय ग्राहक सन्तुष्टि सर्वेक्षण, २०८३’ सुरु गर्ने भएको छ । राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै सो बारे जानकारी दिएको हो । वित्तीय सेवाग्राहीहरूको सन्तुष्टिको स्तर मापन गर्ने उद्देश्यले यो सर्वेक्षण सञ्चालन गर्न लागिएको बैंकले जनाएको छ । बैंकका अनुसार यस सर्वेक्षणका लागि ७७ वटै जिल्लाका सबै प्रकारका स्थानीय तहहरूलाई समेटेर ‘र्यान्डम स्याम्पलिङ’ विधिमार्फत वडाहरू छनोट गरी जम्मा १० हजार ४०५ वटा नमुना संकलन गरिने छ । सर्वेक्षणका क्रममा वित्तीय सेवाको पहुँच, गुणस्तर, पारदर्शिता, गुनासो व्यवस्थापन, र वित्तीय ग्राहक संरक्षण जस्ता विषयमा ग्राहकहरूको धारणा र अनुभव संकलन गरिने राष्ट्र बैंकले जनाएको छ ।  यस सर्वेक्षणबाट प्राप्त नतिजाले वित्तीय ग्राहक संरक्षण र वित्तीय सेवाको गुणस्तर अभिवृद्धि गर्न आवश्यक नीति, कार्यक्रम र नियामक व्यवस्थामा सुधार ल्याउन मद्दत पुग्ने अपेक्षा राष्ट्र बैंकको छ । संकलित विवरणहरू तथ्याङ्क ऐन, २०७९ अनुसार गोप्य राखिने र केवल सामूहिक तथ्याङ्कीय प्रयोजनका लागि मात्र प्रयोग गरिने बैंकले स्पष्ट पारेको छ । सर्वेक्षणलाई प्रभावकारी र विश्वानसीय बनाउन राष्ट्र बैंकले सम्पूर्ण वित्तीय ग्राहक, बैंक तथा वित्तीय संस्था, र सरोकारवालाहरूलाई यस कार्यमा आवश्यक सहयोग र सहकार्य गर्न अनुरोध समेत  गरेको छ ।  

माछापुच्छ्रे बैंकलाई उत्कृष्ट वार्षिक प्रतिवेदनका लागि कांस्य अवार्ड

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) ले प्रदान गर्ने ‘नेसनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट (एनबीपीए) अवार्ड–२०२५’ अन्तर्गत कांस्य (ब्रन्ज) पुरस्कार प्राप्त गरेको छ । बैंकले तयार पारेको वार्षिक प्रतिवेदनमा वित्तीय पारदर्शिता, संस्थागत सुशासन, उत्तरदायित्व तथा सूचना प्रस्तुतीकरणको उच्चस्तरीय अभ्यासका आधारमा उक्त पुरस्कार प्रदान गरिएको हो । काठमाडौंमा आयोजित एक समारोहमा बैंकका नायब महाप्रबन्धक सुभाष जमरकट्टेलले बैंकका तर्फबाट उक्त पुरस्कार ग्रहण गरेका थिए । बैंकले यो सम्मानले संस्थागत सुशासन, पारदर्शिता, वित्तीय अनुशासन तथा अन्तर्राष्ट्रिय प्रतिवेदन मापदण्डको पालना गर्दै सरोकारवालाप्रति उत्तरदायी रहने आफ्नो प्रतिबद्धतालाई थप सुदृढ बनाउन प्रेरणा मिल्ने विश्वास व्यक्त गरेको छ । माछापुच्छ्रे बैंकले आधुनिक प्रविधिमा आधारित सुरक्षित, सहज तथा ग्राहकमैत्री बैंकिङ सेवा विस्तार गर्दै देशभर आफ्नो सेवा सञ्जालमार्फत वित्तीय समावेशीकरण र दिगो आर्थिक विकासमा निरन्तर योगदान पुर्‍याउँदै आएको जनाएको छ । 

खानेपानी आयोजनामा भ्रष्टाचार गरेको आरोपमा २ जनाविरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ओखलढुङ्गाको चम्पादेवी गाउँपालिकास्थित पलापु खानेपानी लिफ्ट आयोजनामा भ्रष्टाचार गरेको आरोपमा दुई जनाविरुद्ध मुद्दा दायर गरेको छ । अख्तियारले गाउँपालिकाका तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेमप्रसाद सुवेदी र शिरिस कन्सक्ट्रक्सनका सञ्चालक प्रकाश नाछिरिङ राईविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।अख्तियारका अनुुसार आर्थिक वर्ष २०७७/०७८ मा सञ्चालित उक्त लिफ्ट खानेपानी आयोजनाको ठेक्का सम्झौता शिरिस कन्स्ट्रक्सन, भक्तपुरसँग भएको थियो । निर्माण कम्पनीले समयमा काम नगरेपछि गाउँपालिकाको बैठकले २०७८ माघ २९ मा ठेक्का रद्द गरी कम्पनीलाई कालोसूचीमा राख्ने र बैंक जमानत जफत गर्ने निर्णय गरेको थियो । तर, गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत सुवेदीले निर्माण कम्पनीका सञ्चालकसँगको मिलेमतोमा उक्त निर्णय लुकाएको पाइएको अख्तियारले जनाएको छ । उनीहरुविरुद्ध पलापु खानेपानी लिफ्ट आयोजनाको १८ लाख ५० हजार रुपैयाँ बैंक ग्यारेन्टी रकम हिनामिना गरेको अभियोग लागेको छ ।  अख्तियारले तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत सुेवदी र कन्सक्ट्रक्सनका सञ्चालक राईलाई सार्वजनिक सम्पत्ति हानीनोक्सानी गरेको अभियोगमा १८ लाख ५० हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र जरिवानाको मागदाबी गरिएको छ ।  

देश फिल्मी संवाद र ‘ह्याङओभर’बाट चल्दैन : सांसद शर्मा

काठमाडौं । नेपाली काँग्रेसका सांसद युवराज शर्माले सरकार र सत्तारुढ दलको कार्यशैलीप्रति टिप्पणी गर्दै देश लोकप्रियतावाद र फिल्मी शैलीले नचल्ने बताएका छन् ।  बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद शर्माले मुलुकका समसामयिक समस्या समाधानमा सरकार गम्भीर नभएको आरोप लगाए ।  बैठकमा विशेष समय लिएर बोल्दै सांसद शर्माले देशमा १ देखि ५ वर्ष उमेर समूहका २ लाखभन्दा बढी बालबालिका कुपोषणको शिकार भइरहेको तथ्याङ्क प्रश्तुत गरे । उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तर्फ लक्षित गर्दै प्रश्न गरे, 'आफ्नो महाधिवेशनमा दिनहुँ ८ क्विन्टल मासु भक्षण गरिरहँदा रास्वपाका नेता र मन्त्रीहरूले ती कुपोषित बालबालिकाको अनुहार सम्झे कि सम्झेनन् ?' किसानका समस्याप्रति सरकार उदासीन रहेको उल्लेख गर्दै उनले गत चैत महिनामा बर्डफ्लुले क्षति व्यहोरेका कुखुरापालक किसानले हालसम्म पनि क्षतिपूर्ति नपाएको विषयमा सरकारको ध्यानाकर्षण गराए । काठमाडौं आइपुगेका सुस्ताबासीको सन्दर्भ उठाउँदै उनले प्रधानमन्त्रीलाई प्रश्न गरे, ‘प्रधानमन्त्रीले तिनलाई मिचाहा भन्ने कि मिचिएका नेपाली? यसबारे स्पष्ट पारिदिनुपर्यो ।’ सरकारले ल्याउन लागेको सवारी तथा यातायात सम्बन्धी विधेयकको विषयमा पनि सांसद शर्माले कडा आपत्ति जनाए । उक्त विधेयक कुनै दक्षिण भारतीय (मद्रासी) चलचित्रबाट प्रभावित भएर ल्याइएको टिप्पणी गर्दै उनले यसमा रहेका कठोर जरिवानाका प्रावधानहरू सच्याउन माग गरे ।  ‘देश फिल्म र फिल्मी संवादले चल्दैन, न त ताली र गालीले नै चल्छ’ शर्माले भने, ‘सरकार यस्तो ‘ह्याङओभर’बाट जति सक्दो चाँडो मुक्त हुनुपर्छ ।’ समय निरपेक्ष कानुन निर्माण गरेर नागरिकलाई दुःख दिन नहुनेमा जोड दिए ।  

२३ वटा स्थानीय तहले अहिलेसम्म ल्याएनन् बजेट

काठमाडौं । असार १० गतेभित्र स्थानीय तहले बजेट ल्याइसक्नुपर्ने प्रावधान भएपनि देशभरका २३ स्थानीय तहले आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति, कार्यक्रमअहिलेसम्म बजेट ल्याउन सकेका छैनन् । बजेट ल्याउन नसकेपछि  भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहसँग स्पष्टीकरण मागेको छ । मन्त्रालयले पत्रमार्फत आज विभिन्न गाउँपालिका र नगरपालिकालाई तीन दिनभित्र बजेट तर्जुमा प्रक्रियाको अवस्था र ढिलाइको कारण स्पष्ट पारेर विवरण पठाउन निर्देशन दिएको हो । पत्रमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ अनुसार स्थानीय तहले आगामी आर्थिक वर्षको राजस्व र व्यय (बजेट) असार १० गतेभित्र कार्यपालिकाबाट स्वीकृत गरी सभामा पेस गर्नुपर्ने तथा असार मसान्तभित्र पारित गरिसक्नुपर्ने कानुनी व्यवस्था रहेको उल्लेख गरिएको छ । मन्त्रालयले आफ्नो पोर्टलमा प्रविष्ट विवरण तथा प्राप्त प्रतिवेदनका आधारमा केही स्थानीय तहले हालसम्म आव २०८३र८४ को बजेट कानुनले तोकेको समयसीमाभित्र पेस नगरेको देखिएकाले आवश्यक स्पष्टीकरण मागिएको जनाएको छ । पत्रमा बजेट तर्जुमा प्रक्रिया हाल कुन चरणमा रहेको, तोकिएको समयभित्र बजेट सभामा पेस गर्न नसक्नुको कारण के हो, तथा मन्त्रालयबाट थप समन्वय वा सहजीकरण आवश्यक भए सो समेत खुलाएर पत्र प्राप्त भएको मितिले तीन दिनभित्र जानकारी गराउन भनिएको छ । यसका साथै, असार मसान्तभित्र बजेट पारित गर्न सहज हुने गरी स्थानीय तहको सभाको आगामी कार्यतालिका समेत मन्त्रालयमा उपलब्ध गराउन अनुरोध गरिएको छ । मन्त्रालयले स्थानीय तहमा बजेट निर्माण प्रक्रियालाई समयमै सम्पन्न गराई कानुनी व्यवस्थाको पूर्ण कार्यान्वयन सुनिश्चित गर्न यो पहल गरिएको जनाएको छ । समयमै बजेट ल्याउन नसकेका पालिकाहरुमा मधेश प्रदेश १० वटा पालिकाहरु छन् । जसअन्र्तगत गरुडा, कटहरिया, फतुवा विजयपुर नगरपालिका,सुखीपुर नगरपालिका, जलेश्वर नगरपालिका,कमला नगरपालिका, जनकपुरधाम उपमहानगरपालिका र विदेह नगरपालिका रहेका छन् । धोबिनी र छिपहरमाई गाउँपालिकाले पनि समयमै बजेट ल्याउन सकेनन् । कोशी प्रदेशका धरान उपमहानगरपालिका, आठराई गाउँपालिका र  छथर जोरपाटी गाउँपालिका रहेका छन् ।  बजेट ल्याउन नसकेका पालिकाहरुमा बागमती प्रदेशबाट मेलम्ची नगरपालिका र  राक्सिराङ गाउँपालिका रहेका छन् । त्यस्तै गण्डकी प्रदेशबाट बागलुङ नगरपालिका, लुम्बिनी प्रदेशबाट कोटहीमाई गाउँपालिका, शुद्धोधन गाउँपालिका र मायादेवी गाउँपालिका रहेका छन् । कर्णाली प्रदेशबाट कालीमाटी गाउँपालिका, मुड्केचुला गाउँपालिका रहेका छन् । सुदूरपश्चिम प्रदेशबाट बान्नीगढी जयगढ गाउँपालिका र टीकापुर नगरपालिकाले समयमै बजेट ल्याउन सकेनन् ।     

२५२ कम्पनीको सेयर मूल्य बढ्यो, ३ अर्बको कारोबार

काठमाडौं । बुधबार सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४४.५९ अंकले बढेर २६५२.९३ बिन्दुमा पुगेको हो । नेप्सेका अनुसार २५२ कम्पनीको सेयर मूल्य बढ्दा १७ कम्पनीको सेयर मूल्य घटेको छ । ६ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन । बुधबार ३६२ कम्पनीको ९५ लाख कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार लक्ष्मी सनराइज बैंकको भएको छ । लक्ष्मी सनराइजको २८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।  साथै रिलाइन्स स्पिीनिङ मिल्सको १७ करोड ५१ लाख, आँखु खोलाको १७ करोड २३ लाख र एनआरएन इन्फास्ट्रक्चरको १६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । स्नो रिभरसको १४.९९ प्रतिशत र सिवाइसी नेपाल लघुवित्तको १४.२२ प्रतिशतले बढेको छ ।  बुधबार सबै उपसमूहका सूचकमा हरियाली छाएको छ । बैंकिङ १.१४ प्रतिशत, डेभलपमेन्ट बैंकको १.१५ प्रतिशत, फाइनान्सको १.४९ प्रतिशत, होटल तथा पर्यटनको १.६६ प्रतिशत र हाइड्रोपावरको २.४२ प्रतिशतले बढेको छ ।