काठमाडौं । ग्लोबल आइएमई बैंकले ग्राहकको निक्षेपलाई डिजिटल ठगीबाट सुरक्षित राख्ने उद्देश्यले मोबाइल बैंकिङ एप ‘ग्लोबल स्मार्ट प्लस’मार्फत लगइन नगरी नै सेकेन्डभरमै बैंक खाता ब्लक गर्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ ।
बैंकका अनुसार पछिल्लो समय फिसिङ, स्क्याम तथा अन्य अनलाइन ठगीका घटना बढ्दै गएपछि ग्राहकको रकम सुरक्षित राख्न यस्तो अत्याधुनिक सुरक्षा प्रणाली लागू गरिएको हो । अब ग्राहकले खाता ह्याक भएको वा अनधिकृत पहुँच भएको आशंका लागेमा तुरुन्तै आफ्नो बैंक खाता रोक्का गर्न सक्नेछन् ।
यसका लागि ग्राहकले ‘ग्लोबल कनेक्ट’को आधिकारिक नम्बर ०१–५९७०६०० (विदेशबाट +९७७–१–५९७०६००) मा फोन गरेर मौखिक अनुरोधका आधारमा पनि खाता ब्लक गराउन सक्ने बैंकले जनाएको छ ।
मोबाइल बैंकिङ प्रयोगकर्ताका लागि भने यो प्रक्रिया अझ सहज बनाइएको छ । ग्राहकले ‘ग्लोबल स्मार्ट प्लस’ एप खोलेपछि लगइन नगरी नै माथिल्लो दायाँ कुनामा रहेको ‘कल’ आइकनमा क्लिक गरी ‘मिसकल बैंकिङ’भित्रको ‘अकाउन्ट ब्लक बाइ मिसकल’ विकल्प रोज्नासाथ खाता तत्काल ब्लक हुनेछ ।
बैंकका अनुसार यो सुविधाले फिसिङ, स्क्याम तथा अन्य अनलाइन बैंकिङ अपराधबाट हुन सक्ने सम्भावित क्षति न्यूनीकरण गर्न प्रभावकारी भूमिका खेल्नेछ । बैंकिङ क्षेत्रका विज्ञहरूले समेत यस्ता सुरक्षा प्रणालीले ग्राहकको निक्षेप सुरक्षित राख्न महत्वपूर्ण योगदान पुर्याउने बताएका छन् ।
यसैबीच, नेपाल राष्ट्र बैंकले पनि हालै सबै वाणिज्य बैंकलाई ग्राहकको मौखिक वा अनलाइन अनुरोधका आधारमा तत्काल खाता रोक्का गर्ने व्यवस्था गर्न निर्देशन दिएको छ । बैंकका अनुसार उक्त व्यवस्थासँगै आफ्नो नयाँ सुरक्षा प्रणालीले ग्राहकको डिजिटल बैंकिङलाई थप सुरक्षित बनाउने विश्वास लिइएको छ ।
ग्लोबल आइएमई बैंक उत्कृष्ट सेवा प्रवाहका लागि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाबाट विभिन्न विधामा सम्मानित हुँदै आएको छ ।