काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ललितपुर महानगरपालिका-३, झम्सीखेलस्थित अदोरा होल्डिङ्सलाई म्याद गुज्रेका वस्तु प्रयोग गरेको पाइएपछि २ लाख ५० हजार रुपैयाँ जरिवाना गरेको छ ।
विभागले बुधबार काठमाडौं उपत्यकाका विभिन्न उद्योग तथा व्यवसायिक फर्महरूको बजार अनुगमन गर्ने क्रममा अदोरा होल्डिङ्सले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६(२)(ठ) विपरीत म्याद गुज्रेका वस्तु प्रयोग गरेको पुष्टि भएको जनाएको छ। उक्त कसुर ऐनको दफा ३८(ङ) अन्तर्गत प्रमाणित भएपछि दफा ३९(१)(ख) बमोजिम २ लाख ५० हजार रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ।
अनुगमनका क्रममा विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम अन्य केही व्यवसायलाई भने आवश्यक निर्देशन दिएको छ।
विभागका अनुसार काठमाडौं महानगरपालिका-२८, बागबजारस्थित बागबजार स्टोर, ललितपुर महानगरपालिका-४, भनिमण्डलस्थित सोल स्क्वायर प्रालि, गोकर्णेश्वर नगरपालिका-५, नयाँवस्तीस्थित एभरेष्ट फ्युल डिष्ट्रीब्यूटर्स, काठमाडौं महानगरपालिका-२९, पुतलीसडकस्थित टेक्नो ट्रेड प्रालि, काठमाडौं महानगरपालिका-३१, देवकोटा मार्गस्थित रुद्र किचेन मार्ट स्टोर तथा मध्य बानेश्वरस्थित प्रिन्स मार्ट प्रालिलाई सामान्य निर्देशन दिइएको छ।
विभागले बजारलाई स्वच्छ, प्रतिस्पर्धी र उपभोक्तामैत्री बनाउन नियमित बजार अनुगमनलाई निरन्तरता दिने जनाएको छ।