शंकास्पद गतिविधिमा संलग्न नौ जना चिनियाँ नागरिक अध्यागमनको नियन्त्रणमा

नेपालीको नाममा दर्ता गरेर कम्पनी भाडामा

काठमाडौं । ललितपुरको धोबीघाट र चोभारबाट १८ राहदानीसहित ९ जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।
ललितपुरको धोवीघाटस्थित एक घरमा चिनियाँ नागरिक शंकास्पद गतिविधिमा संलग्न रहेको सूचनाका आधारमा अध्यागमन विभागले अनुगमन तथा खानतलासी गरेको छ। 

विभागबाट खटिएको टोलीले धोबीघाटबाट ३ जना र चोभारस्थित ट्रेजर्स प्रालिमा शंकास्पद गतिबिधिमा संलग्न अन्य ६ गरेर ९ चिनियाँलाई समेत नियन्त्रणमा लिएको अध्यागमन विभागले जनाएको छ ।

अनुसन्धानका लागि १८ थान चिनियाँ राहदानी पनि नियन्त्रणमा लिएको विभागका प्रवक्ता टीकाराम ढकालले जानकारी दिए । धोबिघाटको चारतले घरमा २९ जना चिनियाँ नागरिक बस्दै आएका थिए ।

विभागको टोली पुग्दा ११ पुरुष र ११ महिला गरी २२ जना चिनियाँ नागरिक फेला परेका थिए। तीमध्ये ४ जना व्यवसायिक भीसा  र १८ जना पर्यटक भीसा मा रहेको पाइएको छ। 

सबैसँग वैध भिसा भए पनि २२ जनामध्ये १८ जनाले मात्र राहदानी देखाएका थिए । बाँकी ४ जनाले राहदानी भिसा प्रयोजनका लागि कानुन व्यवसायीसँग रहेको बताएपछि अनुसन्धानका लागि १८ थान राहदानी नियन्त्रणमा लिइएको हो।

घर ड्रागन ब्रिज इन्टरनेशनल प्रालिले लिजमा लिएको खुलेको ढकालले बताए । घरलाई होस्टल भनिए पनि होस्टल सञ्चालनसम्बन्धी कुनै आधिकारिक साइनबोर्ड, उद्योग दर्ता, स्थानीय तहमा व्यवसाय दर्ता वा अन्य कानुनी कागजात फेला नपरेको उनले बताए ।

महिला र पुरुषलाई एउटै आवासमा राखिएको उनले बताए । आफूलाई होस्टल सञ्चालक बताउने कर्मा शेर्पा र मञ्जु लामासँग त्यहाँ बसोबास गर्ने विदेशी नागरिकको अभिलेख वा वास्तविक विवरणसमेत उपलब्ध नभएको ढकालको भनाइ छ ।

चिनिया नागरिक पर्यटक भिसामा नेपालमा बसोबास गर्दै चोभारस्थित ट्रेजर्स प्रालि तथा ड्रागन ब्रिज इन्टरनेशनल प्रालिसँग आबद्ध भई कार्यरत रहेको खुलेको छ। 

उनीहरू भिसाको उद्देश्यविपरीत गतिविधिमा संलग्न रहेको देखिएको छ,’ ढकालले भने,’ घर सुमन कार्कीको स्वामित्वमा रहेको र ड्रागन ब्रिज इन्टरनेशनल प्रा।लि।ले लिजमा सञ्चालन गरिरहेको खुलेको छ ।‘

कम्पनी नेपालीको नाममा दर्ता थियो । कम्पनीको आवरणमा उनीहरू शंकास्पद गतिविधिमा संलग्न रहेको उनको भनाइ छ । नेपाली सञ्चालकहरू मासिक पैसा दिएर चिनियाँहरूले ती कम्पनी प्रयोग गर्दै आएका थिए । कम्पनीका सञ्चालकले उनीहरूको कामबारे जानकारी नभएको बताएका छन्।

Share News