कांग्रेस एकताका लागि शेखरको अग्रसरता

कांग्रेसको भावी दिशासम्बन्धी केही नयाँ धारणा सार्वजनिक हुनसक्ने

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले कोशी प्रदेशबाट पार्टी एकता र सुदृढीकरणका लागि जुट्ने तयारी गरेका छन् । आगामी जेठ ३१ गते विराटनगरमा आयोजना हुने कोशी प्रदेशस्तरीय भेलामार्फत उनले कांग्रेसभित्रका सबै पक्षलाई एकताका लागि आह्वान गर्ने भएका हुन् ।

कांग्रेसका पूर्वसहमहामन्त्री बद्री पाण्डेले उक्त भेलामा विशेष महाधिवेशनको पक्षमा रहेका र नियमित महाधिवेशनको पक्षमा रहेका दुवै समूहका नेता तथा कार्यकर्तालाई सहभागी हुन निमन्त्रणा गरिएको जानकारी दिए ।

पार्टीभित्र बढ्दो ध्रुवीकरण अन्त्य गर्दै साझा उद्देश्यका लागि एकताबद्ध हुनुपर्ने सन्देश कार्यक्रममार्फत प्रवाह गरिने उनले बताए ।

नेता डा.मीनेन्द्र रिजालले पार्टीमा एकमना एकता कायम गर्न आफू निरन्तर लागिरहेको जानकारी दिए । आफूले सभापति गगनकुमार थापा र डा. शेखरसँग निरन्तर संवाद गरिरहेको बताए ।

पूर्वसहमहामन्त्री पाण्डेले नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाले महत्त्वपूर्ण राजनीतिक घोषणा र सन्देशका लागि विराटनगरलाई केन्द्र बनाउने गरेको स्मरण गर्दै यसपटक पनि डा. शेखर कोइरालाले पार्टी एकता, संगठन सुदृढीकरण र कांग्रेसको भावी दिशासम्बन्धी केही नयाँ धारणा सार्वजनिक गर्न सक्ने संकेत दिए ।

विराटनगरस्थित मनास्लु होटलमा आयोजना हुने भेलामा डा. कोइराला प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम छ । कार्यक्रममा कांग्रेसका नेता कृष्णप्रसाद सिटौला, विजयकुमार गच्छदार, डा. शशांक कोइराला, डा. मीनेन्द्र रिजाल, बलबहादुर केसी, एनपी साउद तथा राजीव कोइरालालगायत नेताहरूले सम्बोधन गर्ने जनाइएको छ ।

कार्यक्रमको तयारीमा कांग्रेस कोशी प्रदेशका महामन्त्री भूपेन्द्र राई सक्रिय रूपमा जुटेका छन् । तर सभापति उद्धव थापाले भने कार्यक्रमबारे जानकारी नभएको बताएका छन् । आयोजकहरूले सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गरिरहेको सामग्रीमा उक्त भेलालाई ऐतिहासिक बृहत कोशी प्रदेशस्तरीय भेलाका रूपमा प्रस्तुत गरेका छन् ।

कांग्रेसभित्र आगामी महाधिवेशनको बहस तीव्र भइरहेका बेला विभिन्न धारका नेताहरूलाई एउटै मञ्चमा ल्याउने डा. कोइरालाको प्रयासलाई अर्थपूर्ण रूपमा हेरिएको छ । लामो समयदेखि फरक राजनीतिक धारमा रहेका नेताहरूको संयुक्त उपस्थितिले पार्टीभित्र संवाद, सहकार्य र एकताको नयाँ वातावरण निर्माण गर्न सक्ने अपेक्षा गरिएको नेता पाण्डेले जानकारी दिए ।

Share News