विकासन्युज

एनपीएल: विराटनगरविरुद्ध टस जितेर बलिङ गर्दै पोखरा

काठमाडौं । पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सविरुद्ध पहिला बलिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिए । एनपीएल प्रतियोगिताको विजेता टिमले गतवर्ष जस्तै यस वर्ष पनि १ करोड ११ लाख पुरस्कार प्राप्त गर्नेछ । दोस्रो हुने टिमले ५१ लाख तथा तेस्रो हुने टिमले २५ लाख रुपैयाँ पुरस्कार पाउने छन् ।  पोखराले पहिलो संस्करणको भेटमा विराटनगरविरुद्ध सुपर ओभरमा जित निकालेको थियो । 

शिखर इन्स्योरेन्स २२औं वर्षमा प्रवेश, सात प्रदेशमा रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले २१औं वार्षिकोत्सवको अवसरमा देशव्यापी रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । देशभर बढ्दो रगतको मागलाई ध्यानमा राख्दै कम्पनीले सातै प्रदेशमा एकसाथ साताव्यापी रक्तदान अभियान सञ्चालन गरेको हो । कम्पनीका अनुसार कोशी प्रदेशमा ५३ युनिट, मधेश प्रदेशमा १६७ युनिट, बागमती प्रदेशमा ६३९ युनिट, गण्डकी प्रदेशमा ७९ युनिट, लुम्बिनी प्रदेशमा ४३५ युनिट, कर्णाली प्रदेशमा ४४ युनिट तथा सुदूरपश्चिम प्रदेशमा २२ युनिट गरी जम्मा १४३९ युनिट रगत संकलन भएको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत आयोजित कार्यक्रममा सहकार्य र उत्साहजनक सहभागिताका लागि कम्पनीले सञ्चालक समिति, प्रमुख कार्यकारी अधिकृत, व्यवस्थापक समिति, आयोजक कार्यालयहरू, नेपाल रेडक्रस सोसाइटी, रक्तदाता तथा सबै सहयोगीप्रति आभार व्यक्त गरेको छ । २२औं वर्षमा प्रवेश गरेको शिखर इन्स्योरेन्सले आगामी दिनमा अझ सबल, सरल र सुदृढ बीमा सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

दिवङ्गत पत्रकार सुरेश रजककी श्रीमतीलाई रोजगारीको व्यवस्था

काठमाडौं । सरकारले दिवङ्गत पत्रकार सुरेश रजकको श्रीमतीलाई रोजगारीको व्यवस्था गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको पहलमा मन्त्रालय मातहतको सुरक्षण मुद्रण केन्द्रमा पत्रकार रजककी श्रीमती सुजन मगियालाई ‘कम्प्युटर अपरेटर’ पदमा रोजगारीको व्यवस्था मिलाइएको हो ।      मंगलबार सञ्चार मन्त्रालयमा आयोजित एक कार्यक्रममा सञ्चारमन्त्री खरेल र मन्त्रालयका सचिव राधिका अर्यालको उपस्थितिमा सुरक्षण मुद्रण कोषका कार्यकारी निर्देशक देवराज ढुङ्गानाले सुजन मगियालाई कम्युटर अपरेटरमा नियुक्त गरिएको पत्र हस्तान्तरण गरे । विसं २०८१ चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका क्रममा दृश्य कैद गर्दागर्दै एक घरभित्र आगजनीमा परी पत्रकार रजकको निधन भएको थियो । सञ्चारमन्त्री खरेलले देश र जनताका लागि जोखिम मोलेर समाचार सङ्कलन गर्ने पत्रकारहरु सधैँ असुरक्षित रहने अवस्थामा राज्यको अभिभावकीय भूमिका रहनुपर्ने विचार व्यक्त गरे । उनले भने, 'पत्रकार सुरेशको क्रियाशील पत्रकारका रुपमा जोखिम मोलेर पत्रकारिता गरिरहेको सन्दर्भमा दुःखद निधन भएको छ । सुरेशका लागि केही गर्न पाए हुन्थ्यो भनेर मन्त्रालयलाई लागिरहेको थियो र नेपाल पत्रकार महासङ्घले पनि आग्रह गरिरहेको सन्दर्भमा सानो रुपमा भए पनि रोजगारीको पहल गरिएको छ । यसले थोरै भए पनि सान्त्वना मिल्ने अपेक्षा छ ।' सञ्चारमन्त्री खरेलले दिवङ्गत रजकलाई पत्रकार सहिद घोषणा गर्ने प्रक्रिया अगाडि बढाइएको जानकारी दिए। उनले  परिवारका लागि निःशुल्क उच्च शिक्षा अध्ययन गर्ने व्यवस्था गर्नसमेत पहल गरिने प्रतिबद्धता जनाए ।  दिवङ्गत पत्रकार सुरेश रजकका आफन्त पुरुषोत्तम मगियाले कार्यस्थलमा नै निधन भएका सुरेशको न्यायका लागि घटनाका दोषीलाई कानुनी दायरामा ल्याउन, सहिद घोषणा गर्न र तीनकुनेमा रजकको सालिक निर्माणका लागि पहल गर्न आग्रह गरे ।  

राजनीतिक जोखिमबीच पनि नेपालले फिचको ‘बीबी माइनस’ रेटिङ जोगायो

काठमाडौं । विश्वव्यापी क्रेडिट रेटिङ एजेन्सी फिच रेटिङ्सले नेपाललाई ‘बीबी माइनस’ रेटिङ दिएको छ ।  गत वर्षको मूल्यांकनबाट पनि नेपालले यही रेटिङ प्राप्‍त गरेको थियो ।  कम बाह्य ऋणभार, सबल विदेशी मुद्रा सञ्चिति र जलविद्युतमा आधारित मध्यकालीन वृद्धि सम्भावनालाई आधार बनाउँदै फिचले यो निर्णय लिएको हो । हङकङबाट मंगलबार सार्वजनिक गरिएको प्रतिवेदनले यस्तो देखाएको हो ।  यो पुष्टि सेप्टेम्बरमा युवाहरूले नेतृत्व गरेको अशान्तिका कारण बढ्दो राजनीतिक अनिश्चितता र वित्तीय घाटाका बाबजुद आएको हो । प्रतिवेदनले नेपालले समष्टिगत अर्थतन्त्रमा देखाएको स्थायित्वको प्रशंसा गर्दै राजनीतिक अस्थिरता दीर्घकालीन भएमा शासन क्षमता, सुधार कार्यक्रम र सार्वभौम क्रेडिट प्रोफाइल कमजोर हुनसक्ने चेतावनी पनि दिएको छ । पछिल्ला महिनाहरूमा देखिएको सामाजिक(राजनीतिक चुनौति, वर्षाजन्य प्राकृतिक विपत्ति र विश्वव्यापी आर्थिक सुस्तता जस्ता परिस्थितिका बीच पनि गत वर्षको जस्तै रेटिङ कायम रहनुले नेपालको दीर्घकालीन दायित्वहरू पूरा गर्ने क्षमतालाई अन्तर्राष्ट्रिय रूपमा पुनः प्रमाणित गर्नुका साथै  समष्टिगत आर्थिक स्थायित्व स्थिर र बलियो रहेको पुष्टि गर्दछ ।  चुनाव-केन्द्रित खर्च तथा अनिश्चितता बढ्ने सम्भावनाबीच पनि सरकारले अपनाएको वित्तीय अनुशासन, राजस्व व्यवस्थापनमा सुधार, उचित खर्च प्राथमिकता, समयमै चुनाव सम्पन्न गर्ने प्रतिबद्धता र रणनीतिक परियोजनाहरूलाई अवरोध रहित रूपमा निरन्तरता दिने नीतिले अन्तर्राष्ट्रिय समुदायमा नेपालप्रतिको विश्वास मजबुत बनाएको छ।  मुलुकभित्र वैदेशिक लगानी बढाउन, अन्तर्राष्ट्रिय विकास साझेदारहरूसँग सहकार्य विस्तार गर्न र भविष्यमा अन्तर्राष्ट्रिय वित्तीय बजारमा नेपालले आफ्नो सार्वभौम ऋण जारी गर्दा आवश्यक पर्ने स्थिर क्रेडिट प्रोफाइल कायम राख्‍न यो रेटिङले मद्दत पुर्‍याउनेछ । विशेषगरी ऊर्जा, पूर्वाधार, पर्यटन, कृषि र डिजिटल अर्थतन्त्रमा हुने दीर्घकालीन लगानी आकर्षणका लागि रेटिङ स्थायित्व अत्यन्त महत्त्वपूर्ण सूचकको रुपमा रहेको हुन्छ । फिचका अनुसार गत भदौमा भएको जेनजी आन्दोलन छिटो शान्त भए पनि देशको राजनीतिक वातावरण अझै कमजोर छ । फिचका अनुसार संघीय बजेट घाटा आर्थिक वर्ष २०२६ मा जीडीपीको ३.५ प्रतिशतमा पुग्ने छ, जुन २०२५ को अनुमानित १.७ प्रतिशत र बीबी माइनस रेटेड देशहरूको मध्यमान (३ प्रतिशत) भन्दा उच्च हो । २७ मा पनि घाटा जीडीपीको ३.४५ प्रतिशतमा रहने अनुमान छ । नेपालका विदेशी मुद्रा सञ्चिति अझै पनि देशको बलियो पक्ष हो । आर्थिक वर्ष २०२५ मा सञ्चिति १३.५ महिनाको आयात धान्ने स्तरमा पुगेको छ, जुन बीबी माइनस रेटिङ पाएका राष्ट्रहरूको ४.८ महिनाको औसतभन्दा धेरै माथि छ । फिचले आव २०२६ मा आर्थिक वृद्धि २.५ प्रतिशतमा झर्ने बताएको छ, जुन आव २०२५ को ४.६ प्रतिशतभन्दा निकै कम हो । जेनजी आन्दोलनले आर्थिक गतिविधिमा भएको अवरोध, निजी लगानीमा गिरावट, कम पर्यटक आगमन र मौसमजन्य कृषि क्षतिका कारण यस्तो भएको फिचको भनाइ छ। तर प्रमुख जलविद्युत् र प्रसारण लाइन परियोजनाहरू समयमा अघि बढिरहेकोले मध्यकालीन आर्थिक वृद्धि ५ प्रतिशत आसपास रहने अपेक्षा गरिएको छ । फिचका अनुसार नेपालको रेटिङ घट्न राजनीतिक अस्थिरता अझ बढेर शासन र आर्थिक वृद्धि कमजोर हुने अवस्था सिर्जना हुनु, राजनीतिक हस्तक्षेपका कारण सार्वजनिक वित्तीय व्यवस्थापन बिग्रनु र आईएमएफ कार्यक्रम सफल नहुँदा अन्तर्राष्ट्रिय ऋणदाता समर्थन कमजोर हुनु प्रमुख कारण बन्न सक्छन् ।  टिङ बढ्नका लागि नेपालले स्थिर र दिगो आर्थिक वृद्धि हासिल गर्दै जीडीपी र प्रति व्यक्ति आयमा सुधार ल्याउनुपर्नुका साथै राजस्व परिचालन मजबुत पारेर सरकारी ऋणमा उल्लेख्य कमी गर्नुपर्ने फिचको मूल्याङ्कनमा उल्लेख छ ।

मुक्तिनाथ विकास बैंकले महराजगञ्ज प्रहरीवृतलाई दियो दुई थान मोटरसाइकल

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले नेपाल प्रहरी वृत महराजगञ्जलाई दुई थान मोटरसाइकल हस्तान्तरण गरेको छ । बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत प्रदान गरिएको उक्त सहयोग शान्ति–सुरक्षा प्रवर्द्धनमा उपयोगी हुने अपेक्षा गरिएको छ । एक समारोहबीच बैंकका नायव प्रमुख कार्यकारी अधिकृत समीर शेखर बर्जाचार्यले प्रहरीवृत महराजगञ्जका प्रमुख निरञ्जन थापालाई मोटरसाइकल हस्तान्तरण गरेका हुन् । बैंकले गरेको सहयोगले प्रहरीलाई संवेदनशील क्षेत्रहरूको निगरानी, समयमै सूचना संकलन तथा समाजमा शान्ति–व्यवस्था कायम राख्ने कार्यमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ । बैंकका अनुसार सुरक्षित समाज निर्माण सबैको साझा दायित्व भएकाले नागरिक सुरक्षामा अग्रपंक्तिमा खटिने नेपाल प्रहरीलाई सहयोग गर्नु संस्थाको सामाजिक जिम्मेवारी हो । यस सहयोगले प्रहरीको दैनिक कार्यसम्पादन सहज हुने बैंकको विश्वास छ ।

रुपन्देही व्यापार संघको तेह्रौं अधिवेशनको अध्यक्ष पदमा सहमतिको प्रयास

काठमाडौं । रुपन्देही व्यापार संघको तेह्रौं अधिवेशनको अध्यक्ष पदको लागि सहमतिको प्रयास भइरहेको छ । संघको अध्यक्ष पदमा दयानिधि भण्डारी र प्रकाश ढकाल प्रमुख प्रत्यासी रहेका छन् ।  रुपन्देहीका व्यापारिक क्रियाकलापमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने यो संस्थामा मंसिर ५ देखि नयाँ नेतृत्वले कार्यभार सम्हाल्ने छ । संघ प्रदेशको सबैभन्दा पुरानो र प्रतिष्ठित छाता संस्था हो जसले विभिन्न व्यापारिक, आर्थिक र सामाजिक मुद्दाहरूमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ ।  भण्डारी र ढकाल दुबै संघको नेतृत्वमा रहेको अनुभव छ ।  संघका अनुसार सहमतिको तयारीले आगामी कार्ययोजनामा नयाँ उचाइमा पुग्ने अवसर प्रदान गर्नेछ ।

फेरि बन्द भयो चन्द्रागिरि केबलकार, अस्ट्रियाबाट पाटपुर्जा आयात गरिँदै

काठमाडौं । जेनजी आन्दोलनले बन्द भएर सञ्चालनमा आएको चन्द्रागिरि केबलबार पुनः बन्द भएको छ । कम्पनीका अनुसार सञ्चालन प्रणाली (प्यानल बोर्ड) मा समस्या देखिएपछि सेवा अनिश्चितकालका लागि स्थगित गरिएको हो ।  गत भदौ २४ गते केबलकारमा तोडफोड भएपछि केबलकार बन्द भएको थियो । केबलकारमा पुर्ननिर्माण भएर कात्तिक २२ र २३ गते सञ्चालनमा आएको थियो । अहिले फेरि बन्द भएको छ । पुर्ननिर्माणपछि दुई दिनमात्रै सञ्चालनमा आएको केबलकार त्यसपछि बन्द अवस्थामा छ ।  कम्पनीका सचिव झलक शर्माले प्यानल बोर्डमा धुलो जम्मा भई प्रणालीमा समस्या आएको र यसलाई दिगो समाधान गर्न अस्ट्रियाबाट आवश्यक पार्टपुर्जा मगाइएको जानकारी दिए ।  शर्माले प्यानल बोर्डमा देखिएको समस्याबारे बताउँदै विकासन्युजसँग भने, ‘केबलकारको प्यानल बोर्डमा समस्या देखिएकाले यो सधैंका लागि समस्या नहोस् भनेर हामीले त्यसलाई परिवर्तन गर्न लागेका छौं । यो विशेषगरी प्यानल बोर्डको साइडमा डस्ट (धूलो) जम्मा भई केही सिस्टममा परिवर्तन गर्नुपर्ने देखिएको हो ।’ उनका अनुसार पार्टपुर्जा आइसकेपछि करिब एक साताभित्र केबलकार पुनः सञ्चालनमा आउनेछ । गुणस्तरीय र सुरक्षित सेवा सुनिश्चित गर्नका लागि यो मर्मतसम्भार आवश्यक रहेको उनको भनाइ छ ।  ‘हामी त्यो सामान आयातको प्रक्रिया अगाडि बढाएका छौं, सामान आएको समयको करिब एक हप्ताभित्रमा केबलकार पुनः सञ्चालनमा ल्याउँछ,’ शर्माले भने ।  गुणस्तरीय र सुरक्षित सेवा प्रदान गर्नका लागि यो मर्मतसम्भार आवश्यक रहेको कम्पनीको भनाइ छ ।  जेनजी आन्दोलनको झट्का गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले केबलकारको बटम स्टेसनमा तोडफोड र आगजनी हुँदा रिसोर्टसहितका सेवाहरू करिब २ महिनासम्म ठप्प भएका थिए । यो घटनाले कम्पनीलाई ठूलो आर्थिक नोक्सानी समेत भएको छ ।  गत आर्थिक वर्षको पहिलो त्रैमासमा २ करोड ५५ लाख रुपैयाँ खुद नाफामा रहेको कम्पनीको चालु आर्थिक वर्षको सोही अवधिमा १ करोड २४ लाख रुपैयाँ नोक्सानीमा गएको छ । कुल आम्दानी पनि १९ करोड ५८ लाख रुपैयाँबाट घटेर १३ करोड ८७ लाख रुपैयाँमा झरेको कम्पनीले जनाएको छ ।   

एनपिएल : बोपाराको अर्धशतक मद्दतमा चितवन राइनोज विजयी

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणको दोस्रो खेलमा रबि बोपाराको अर्धशतक मद्दतमा चितवन राइनोज विजयी भएको छ । चितवन राइनोजले कर्णाली याक्सलाई चार विकेटले पराजित गरेको हो ।  कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरको खेलमा तीन विकेट गुमाउँदै १६६ रनको योगफल बनायो । एक सय ६७ रनको विजयी लक्ष्य चितवनले पाँच बल बााकी छँदै ६ विकेट गुमाउदै पूरा गर्यो ।      चितवनको जितमा बोपाराले सर्वाधिक ५२ रनको योगदान दिए । उनले ३६ बलमा तीन चौका र तीन छक्का प्रहार गरे । त्यस्तै दिपक बोहोराले ३६ बलमा ६ चौका र एक छक्काको सहयोगमा ४२ रन बनाए । सइफ जइबले १६ बलमा दुई चौका र चार छक्का हान्दै ३८ तथा कप्तान कुशल मल्ले १५ बलमा दुई छक्काको मद्दतमा २० रन बनाए ।      बलिङततर्फ कर्णाली याक्सका लागि कप्तान सोमपाल कामीले दुई तथा उनिस सिंह, मार्क वाट र युवराज खत्रीले एक एक विकेट लिए ।    त्यसअघि कर्णाली याक्सका लागि ओपनर प्रियाङ्क पञ्चालले सर्वाधिक ९० रनको योगदान दिए । उनी शतक बनाउनबाट १० रनले चुके । पहिलोपटक एनपिएल खेलिरहेका पञ्चालले ४८ बलमा सात चौका र ६ छक्काको मद्दतमा सर्वाधिक ९० रन बनाएका हुन् । यस संस्करणमा अर्थशतक बनाउने उनी दोस्रो खेलाडी बनेका छन् ।    त्यसैगरी म्याक्स ओडाउडले ३० बलमा एक चौका हान्दै २० रन बनाए । मार्क वाटले २१ बलमा एक चौकाको मद्दतमा १६, पवन शर्राफले अविजित २७ तथा नाजिबुल्लाह जद्रानले अविजित चार रन बनाए ।       बलिङतर्फ चितवन राइनोजका सोहेल तानविर, सइफ जैब र रबि बोपराले एक एक विकेट लिए । आजै खेलिने दोस्रो खेलमा विराटनगर किङ्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल  अपराह्न ४ बजे सुरु हुनेछ ।