विकासन्युज

हिन्दुकुश क्षेत्रमा कम वर्षा हुने प्रक्षेपण, आकस्मिक विपद्को चेतावनी

काठमाडौं । हिन्दुकुश-हिमालय (एचकेएच) क्षेत्रमा यस वर्ष औसतभन्दा कम मनसुनी वर्षा हुने पूर्वानुमान गरिएको भए पनि विपद्को जोखिम भने यथावत् रहने एक अध्ययनले देखाएको छ । छोटो अवधिमा हुने अत्यधिक वर्षा, बढ्दो तापक्रम र जलस्रोतमा बढ्दो दबाबका कारण यो मौसम झन् जोखिमपूर्ण बन्न सक्ने वैज्ञानिकहरूले चेतावनी दिएका छन् । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)ले उक्त अध्ययनसम्बन्धी ‘हिन्दुकुश-हिमालय (एचकेएच) मनसुन आउटलुक २०२६’ बिहीबार प्रकाशित गरेको हो । एचकेएच मनसुन आउटलुक २०२६, विश्व तथा क्षेत्रीयस्तरका विभिन्न जलवायु मोडेलहरूको पूर्वानुमानमा आधारित छ । यसको उद्देश्य जुनदेखि सेप्टेम्बरसम्मको मनसुन मौसमअघि सरकार, विपद् व्यवस्थापन निकाय र समुदायलाई योजना तथा पूर्वतयारीमा सहयोग पुर्याउनु रहेको इसिमोडले जनाएको छ । यस अध्ययनले भूटान, भारत, नेपाल र पाकिस्तानलगायत मुलुकमा औसतभन्दा कम वर्षा हुने तथा यस क्षेत्रका अधिकांश भागमा औसतभन्दा बढी तापक्रम रहने प्रक्षेपण गरेको छ । यसका बाबजुद विज्ञहरूले आकस्मिक बाढी, पहिरो तथा अन्य जोखिमहरूको सम्भावना उच्च रहने बताएका छन् । ‘कमजोर मनसुन भए पनि छोटो अवधिको अत्यधिक वर्षा अझै ठूलो चिन्ताको विषय हो,’ इसिमोडका जलविज्ञ मनीष श्रेष्ठले भने, ‘समुदाय र सम्बन्धित निकायहरूले छोटो अवधिका मौसम पूर्वानुमान तथा परामर्शहरूलाई नजिकबाट पछ्याउन आवश्यक छ ।’ अनियमित वर्षा र बढ्दो तापक्रमको संयोजनले एउटै मौसममा खडेरी र बाढी दुवैको जोखिम बढाउने अनुमान गरिएको छ । लामो समयसम्मको सुक्खा अवस्थापछि अचानक भारी वर्षा हुन सक्ने भएकाले विशेषगरी पहाडी क्षेत्रमा आकस्मिक बाढी र पहिरोको अवस्था सिर्जना हुन सक्छ । जलविज्ञ श्रेष्ठले भने, ‘यस आउटलुकले समग्रमा अपेक्षाकृत सुक्खा मनसुनको सङ्केत गरेको छ, तर त्यसको अर्थ जोखिम कम हुनु होइन । छोटो अवधिका तीव्र वर्षाका घटनाले गम्भीर विपद् निम्त्याउन सक्छन् ।’ तातो मौसमले गर्मीजन्य तनाव बढाउने र पानीको उपलब्धता घटाउने सम्भावना पनि रहेको छ । मौसमको सुरुआतमा हिमपातको स्थायित्व कम रहनुले यस क्षेत्रको प्राकृतिक जल सञ्चय क्षमतालाई थप कमजोर बनाउनेछ, जसले नदी प्रणाली र भू-जल पुनर्भरणलाई वर्षाको परिवर्तनशीलताप्रति अझ संवेदनशील बनाउनेछ ।  ‘हिमपात लामो समयसम्म नटिक्नुले  मनसुन सुरु हुँदा यस क्षेत्रको प्राकृतिक मौसमी जल सञ्चय क्षमता घटेको अवस्थालाई जनाउँछ,’ आउटलुकका सह-लेखक सार्थक श्रेष्ठले भने ।  विज्ञहरूका अनुसार यी संयुक्त जोखिमहरूले दक्षिण एसियाभर विपद् योजना तथा प्रतिकार्य व्यवस्थापनलाई जटिल बनाइरहेका छन् । ‘मनसुनको बढ्दो अनिश्चितताले समन्वयसम्बन्धी चुनौतीहरू सिर्जना गरिरहेको छ,’ इसिमोडका जल तथा विपद् जोखिम न्यूनीकरण प्रमुख नीरा श्रेष्ठ प्रधानले भने, ‘अबको पूर्वतयारीका लागि सरकार, प्राविधिक निकाय र स्थानीय तहबीच अझ सशक्त समन्वय आवश्यक छ ।’ आउटलुकले खाद्य उत्पादन, जलस्रोत र ऊर्जा प्रणालीमाथि बढ्दो दबाबका साथै ग्रामीण र सहरी दुवै क्षेत्रमा बढ्दो संवेदनशीलतालाई पनि औंल्याएको छ । ‘लामो सुक्खा अवधिपछि हुने अनियमित वर्षाले पहिरोको जोखिम बढाउँछ,’ रिका इन्डियाका प्रमुख कार्यकारी अधिकृत रनित चटर्जीले भने, ‘यसले बसाइँसराइ, खाद्यान्नको मूल्यवृद्धि, ऊर्जा सङ्कट तथा पर्यटन क्षेत्रमा अवरोधलगायत सामाजिक-आर्थिक दबाबलाई अझ बढाउन सक्छ ।’ वैज्ञानिकहरूले सशक्त प्रारम्भिक चेतावनी प्रणाली र प्रभाव-आधारित पूर्वानुमानको आवश्यकतामाथि पनि जोड दिएका छन् । ‘खडेरी र बाढीका जोखिमलाई अब छुट्टाछुट्टै व्यवस्थापन गर्न सकिँदैन,’ इसिमोडका वरिष्ठ सल्लाहकार अरुणभक्त श्रेष्ठले भने, ‘बढ्दो जटिल जोखिमहरूको सामना गर्न प्रारम्भिक चेतावनी प्रणाली, छोटो अवधिका पूर्वानुमान र स्थानीयस्तरमा आधारित पूर्वतयारीले एकसाथ काम गर्न आवश्यक छ ।’ जलवायु परिवर्तनजन्य अनिश्चितता बढ्दै जाँदा एउटै प्रकारको विपद्का लागि मात्र तयारी गर्नु पर्याप्त नहुने विज्ञहरूको चेतावनी छ । ‘एउटै, पूर्वानुमान गर्न सकिने जोखिमका लागि मात्र तयारी गर्ने युग समाप्त भइसकेको छ,’ इसिमोडका विपद् जोखिम न्यूनीकरण विशेषज्ञ शश्वत सन्यालले भने, ‘पूर्वानुमानमा आधारित पूर्वकार्य र प्रारम्भिक चेतावनी अब आधारभूत आवश्यकता बन्नुपर्छ ।’ हिन्दुकुश-हिमालय (एचकेएच) क्षेत्र एसियाभर ३ हजार ५०० किलोमिटरसम्म फैलिएको छ । यसले अफगानिस्तान, बङ्गलादेश, भूटान, चीन, भारत, म्यान्मा, नेपाल तथा पाकिस्तान गरी ८ देश समेट्छ । उच्च हिमाली शृङ्खला, मध्यपहाडी क्षेत्र तथा मैदान समेटिएको यो क्षेत्र करिब २ अर्ब मानिसको खाद्य, पानी तथा ऊर्जा सुरक्षाका लागि अत्यन्त महत्वपूर्ण छ । साथै, असङ्ख्य दुर्लभ तथा अपूरणीय जीवजन्तु र वनस्पतिको बासस्थान पनि हो । यो क्षेत्र जलवायु परिवर्तन, प्रदूषण र जैविक विविधताको क्षयबाट सिर्जित विश्वव्यापी सङ्कटका असरबाट जोखिमग्रस्त छ ।

काठमाडौं प्रवेशद्वारको सडकमा ४ पुल असारभित्र सञ्चालनमा आउने

काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत चितवनको मुग्लिङ-मलेखु सडकखण्डका ४ पुल अगामी असारमा सञ्चालनमा ल्याउने गरि काम गरिएको छ । ती पुलको सामान्य बाहेकका काम सम्पन्न भएका छन् । नागढुङ्गा-मुग्लिङ सडक आयोजना पश्चिम खण्ड कार्यालयका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार खहरे खोला, चिरौँदी खोला, गोमती खोला र हुग्दी खोलाको पुल असारभित्र सञ्चालनमा ल्याउन लागिएको हो । ती पुलमध्ये कतिपयको सडकसँग जोड्ने बाटो बनाउन, पुलको प्लास्टर, रङरोगन, ट्राफिक सुरक्षालगायत सामान्य कामहरू बाँकी रहेको उनले बताए । उनले भने, ‘समग्रमा ९० प्रतिशतभन्दा बढी काम भएका छन् । हामी असारभित्र पुल सञ्चालनको तयारीमा छौँ । सोही खण्डको हुग्दीको ३० प्रतिशत र चरौँदीको ५० प्रतिशत काम भएको छ,’ उनले भने, ‘ती पुलको भुइँ र पिल्लरको काम भइरहेको छ । सो सडक खण्डमा अलकत्राको अभावमा रोकिएको कालोपत्रको काम गर्ने तयारी गरिएको छ ।’ मिश्रका अनुसार निर्माण कम्पनीले एक–दुई दिनमा अलकत्रा आउने र कालोपत्र गर्न सक्ने बताएको छ । उनका अनुसार सबबेस राखिसकेको करिब २ किलोमिटर सडकमा बेस राखेर कालोपत्र गर्ने तयारी गरिएको छ । यो बन्दै गर्दा थप ठाउँ कालोपत्रको तयारी गर्न सकिने उनले जानकारी दिए ।  अलकत्राको मूल्य बढेर आउन छोडेपछि कालोपत्र काम रोकिएको थियो । ढल निर्माण, रेलिङलगायतका काम भने भइरहेको उनले बताए । सडक निर्माणको काम ४३ प्रतिशत सम्पन्न भएको छ । सो खण्डमा ३८.८६ किलोमिटर सडक पर्दछ ।  यस खण्डमा २.२ किमी ६ लेनको बन्नेछ । जुन मलेखु, बेनीघाट र मुग्लिन खण्डमा पर्दछ । ७.२ किमी सडक ४ लेन हुनेछ । ४ लेन रमाइलो डाँडा, कुरिनटार, फिस्लिङ, चुम्लिङ, मझीमटार, चरौँदी र विशालटार क्षेत्रमा पर्ने  छ । उकालो–ओरालो खण्डमा तीन लेनको ‘क्लाइम्बिङ’ मार्ग बनाइने छ । ‘क्लाइम्बिङ’ मार्ग २.३ किमीको हुनेछ भने बाँकी सडक २ लेनको हुनेछ । निर्माण कम्पनीले ४ अर्ब ८० करोड ५९ लाख रुपैयाँमा यस खण्ड स्तरोन्नतिको ठेक्का लिएको हो । सडकका विभिन्न क्षेत्रमा कालोपत्रसँगै नाला बनाउने, पहिरो रोकथामका लागि संरचना निर्माण, भित्तो काट्ने, पर्खाल लगाउने, सडक सुरक्षा, पुल निर्माणलगायत काम बाँकी छ । यो सडक विश्व बैङ्कको सहयोगमा बनाउन लागिएको हो । काठमाडौं प्रवेश गर्ने र बाहिरिने मुख्य नाकाका रूपमा यो खण्ड रहेको छ । गत पुसमा निर्माणको म्याद सकिएपछि १८३ दिन थप गरिएको छ । अरू म्याद थपका लागि प्रक्रियामा रहेको छ ।

उत्तम भ्लोनको टिमलाई अध्यक्ष कार्कीको समर्थन

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को आगामी २४औं साधारण सभा तथा आठौं अधिवेशनको पूर्वसन्ध्यामा ‘मिट एण्ड ग्रिट’ कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमा मार्फत् वरिष्ठ उपाध्यक्षका उम्मेदवार उत्तम ब्लोनको टिमले “इप्पान भिजन २०२९” सार्वजनिक गर्दै ऊर्जा क्षेत्रका लागि नीतिगत एजेण्डा अघि सारेको छ ।  जसमा रोकिएका करिब १२ हजार मेगावाटका परियोजनाको पीपीए तत्काल खुलाउने, “टेक एन्ड पे” व्यवस्था हटाउने, निजी क्षेत्रलाई प्रसारण लाइन निर्माण र विद्युत व्यापारमा प्रवेश दिने, ग्रिड एक्सेसलाई डेभलपर(मैत्री बनाउने तथा प्रसारण लाइन निर्माणलाई राष्ट्रिय प्राथमिकतालगायतका मागहरु रहेका छन् ।  कार्यक्रममा इप्पानका सल्लाहकार तथा प्रतिनिधि सभा सदस्य एलबी सावा लिम्बुले छिमेकी मुलुकहरूको उदाहरण दिँदै भारतमा ५ लाख ३९ हजार मेगावाट, चीनमा ३९ लाख ६० हजार मेगावाट र बंगलादेशमा ३२ हजार मेगावाट बढी विद्युत उत्पादन हुँदा पनि नेपालमा हाल करिब ४ हजार मेगावाट मात्र उत्पादन हुनुले अझै धेरै काम गर्न बाँकी रहेको औंल्याए । सरकारले आगामी १० वर्षमा ३० हजार मेगावाट विद्युत उत्पादन गर्ने महत्वाकांक्षी लक्ष्य राखेको र यो ऊर्जा व्यवसायीहरूका लागि ठूलो अवसर र चुनौती दुवै भएको उनले बताए ।  लिम्बुले नेपाल हाल ‘ग्रे लिस्ट’ मा रहेको र एक्सपोर्ट क्रेडिट एजेन्सीमा न्यून रेटिङ रहेका कारण वैदेशिक पुँजी भित्र्याउन चुनौती रहेको उल्लेख गर्दै नयाँ नेतृत्वले सरकार र नागरिकसँग संवाद गरी निजी क्षेत्रको तर्फबाट देशको समृद्धिको अगुवाइ गर्नुपर्नेमा जोड दिए ।  विधानको विवादबारे बोल्दै उनले नयाँ विधान पास गरेर प्रकृया अघि बढाउने समय अनुकूल नरहेकाले हाल इप्पानसँग उपलब्ध पुरानै विधान अनुसार नै सुरक्षित रूपमा साधारण सभा र नेतृत्व चयन सम्पन्न गर्न सबै ऊर्जा उद्यमीहरूलाई आग्रह गरे ।  त्यसैगरी, वर्तमान कार्यसमितिका अध्यक्ष गणेश कार्कीले वरिष्ठ उपाध्यक्षका उम्मेदवार उत्तम भ्लोनद्वारा प्रस्तुत प्रतिबद्धता र एजेन्डाहरूलाई पूर्ण समर्थन गर्दै इप्पानलाई सोही दिशामा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे । सन् २०५७ मा जम्मा ४ वटा कम्पनी र ७ जना संस्थापक सदस्यबाट सुरु भएको इप्पान आज ६८८ कर्पोरेट सदस्यहरू (मतदानको अधिकार भएका) र नवीकरण हुन बाँकी सहित ८०० भन्दा बढी कम्पनीहरूको विशाल र बलियो संस्था बनिसकेकोमा उनले खुसी व्यक्त गरे ।  एसोसिएट सदस्यहरूको हकमा भने विधानतः भोटिङ अधिकार नरहेको उनले प्रष्ट पारे । अध्यक्ष कार्कीले अहिले चर्चामा रहेको विधान संशोधनको विषयमा थप प्रष्ट पार्दै इप्पानको विधान २०५७ पछि २०६७, २०७६ र २०७८ मा संशोधन भएको जानकारी दिए ।  यसअघि उद्योग वाणिज्य महासंघको वस्तुगत संघका रूपमा रहँदा कडा व्यवस्था भएको महसुस गरी नयाँ साथीहरूलाई नेतृत्वमा आउन सहज बनाउनका लागि कार्यसमितिले विधान संशोधन गरिसकेको र अर्को कार्यकालदेखि कार्यसमिति सदस्य भएको व्यक्ति पनि सिधै वरिष्ठ उपाध्यक्ष वा अध्यक्ष उठ्न पाउने गरी बाटो खुला गरिएको उनले स्पष्ट पारे ।  आगामी २४ वटा पदका लागि हालसम्म १२५ वटा मनोनयन दर्ता फारम लिइसकिएको जानकारी दिँदै उनले यसले स्वच्छ प्रतिस्पर्धाको संकेत गरे तापनि भोलि मनोनयन दर्ता र फिर्ताको समयसम्म सर्वसम्मतिको प्रयास जारी रहने बताए ।  उनले उत्तम भ्लोनको नेतृत्वमा घोषित टिम ऊर्जावान्, व्यावसायिक र समावेशी (सोलार, हाइड्रो, विन्ड समेटिएको) भएको भन्दै आफ्नो व्यक्तिगत मत समेत यही टिमलाई दिने घोषणा गरे ।  लामाले यसअघि नै आफ्नो टिम घोषणा गरिसकेका छन्  । मुलुकमा दुई तिहाइ नजिकको बलियो सरकार भएको यो समयमा आवश्यक ऐन-कानुन निर्माण गर्न र ऊर्जा क्षेत्रलाई मर्यादित बनाउन यो टिमले आगामी ३ वर्षको कार्यकालमा परिणाम दिने विश्वासका साथ अध्यक्ष कार्कीले सम्पूर्ण उम्मेदवारहरूलाई विजयी गराउन अपिल गर्दै अग्रिम शुभकामना व्यक्त गरे । आगामी असार २९ गते अर्थात् शुक्रबार हुने अधिवेशन र नेतृत्व चयनका विषयमा केन्द्रित सो कार्यक्रममा ऊर्जा उद्यमी, पूर्वअध्यक्षहरू तथा सल्लाहकारहरूको उपस्थिति रहेको थियो ।  यस्तो छ उत्तम भ्लोन लामाको टिम:  उत्तम भ्लोन लामा  वरिष्ठ उपाध्यक्ष उत्तरकुमार श्रेष्ठ उपाध्यक्ष हिमप्रसाद पाठक उपाध्यक्ष सुसन कर्माचार्य (राजभण्डारी) उपाध्यक्ष विक्रम बिष्ट उपाध्यक्ष  नरेन्द्र बल्लभ पन्थ उपाध्यक्ष टी.एन. आचार्य महासचिव कविता पोखरेल उपमहासचिव शंकर बश्याल  कोषाध्यक्ष  कुबेरमणि नेपाल सचिव विजयमोहन भट्टराई सचिव सुमन जोशी  सचिव  अभिज्ञा मल्ल सचिव ईशा श्रेष्ठ  सचिव अनुप आचार्य कार्यसमिति सदस्य प्रतिमा ज्ञवाली कार्यसमिति सदस्य कदम केसी कार्यसमिति सदस्य वर्णन लामिछाने कार्यसमिति सदस्य जगतबहादुर पोखरेल कार्यसमिति सदस्य सरिता शाक्य कार्यसमिति सदस्य  ज्योति गैरे  कार्यसमिति सदस्य नारायण खनाल कार्यसमिति सदस्य  सोमनाथ कँडेल कार्यसमिति सदस्य

बलराम खतिवडाको प्यानल घोषणा

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का वर्तमान महासचिव बलराम खतिवडाको नेतृत्वमा नयाँ चुनावी प्यानलको घोषणा गरिएको छ । यहि जेठ २९ गते हुने निर्वाचनका लागि खतिवडाले वरिष्ठ उपाध्यक्ष पदमा उम्म्मेदवारी दिने घोषणा गरेका छन् । यस समूहबाट ५ वटा उपाध्यक्ष पदमा भरत बहादुर खत्री (वर्तमान उपाध्यक्ष), भरत प्रसाद नेपाल (वर्तमान सचिव), कुमार खरेल, ​​​​​​​दीपक पौडेल र सिर्जना खड्काले उम्मेदवारी दिने भएका छन् ।    वर्तमान कार्यसमितिका उपमहासचिव प्रकाशचन्द्र दुलाललाई यस टिमले महासचिवको उम्मेदवार बनाएको छ  । ५ सदस्यीय सचिव पदमा ​​​​​​​कृष्ण प्रसाद घिमिरे, ​​​​​​​तारा बहादुर इस्वो लिम्बु, बिरेन्द्र बहादुर मल्ल, संगीता धमला, ​​​​​​​इशा श्रेष्ठ तथा कोषाध्यक्षमा मिथुन पौडेलले उम्मेदवारी दिने गरी चुनावी समूह  घोषणा गरिएको  छ ।    त्यस्तै टिमको कार्यसमिति सदस्यहरूमा सोमनाथ कँडेल, डा. भूषण गुरागाईं, सन्तोष राज नेपाल, मिलन खड्का, ​​​​​​​जगदिश शिवाकोटी, नारायण कडेल, ​​​​​​​सुकुन्द ओझा, प्रदीप ओली, ज्योति गैरे, इन्दिरा पन्तले उम्मेदवारी दिने महासचिवका उम्मेदवार प्रकाश दुलालले जानकारी दिए । 

बिदाका दिन पनि कक्षा १२ को नतिजा तयारीमा बोर्ड, असार १० को ‘डेडलाइन’

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल आगामी असार १० गतेभित्र सार्वजनिक गर्ने गरी तीव्र तयारी गरिरहेको छ । नतिजा प्रकाशनको पूर्वसन्धामा गरिने प्राविधिक र प्रशासनिक कार्यहरू अहिले द्रुत गतिमा भइरहेका छन्। बोर्डका अनुसार यस वर्ष देशभरका ४८ वटा तोकिएका केन्द्रहरूमा कक्षा १२ को उत्तरपुस्तिका परीक्षण गरिएको थियो । उक्त उत्तरपुस्तिका परीक्षण तथा सम्परीक्षणको सम्पूर्ण कार्य सफलतापूर्वक सम्पन्न भइसकेको छ । विद्यार्थीहरूको भविष्य र शैक्षिक क्यालेन्डरलाई मध्यनजर गर्दै सकेसम्म छिटो नतिजा प्रकाशन गर्ने उद्देश्य बोर्डले लिएको छ । यसका लागि कार्यालय समयबाहेक बिदाका दिनहरूमा समेत बिहान र बेलुका अतिरिक्त समय काम भइरहेको बोर्डले जनाएको छ । अहिले परीक्षा नियन्त्रण कार्यालयमा विद्यार्थीहरूले प्राप्त गरेको अंक प्रणालीमा प्रविष्टि ९डाटा इन्ट्री० गर्ने तथा कोडिङ(डीकोडिङ गर्ने प्राविधिक कार्य भइरहेको छ । नतिजा तयारीका सबै प्रक्रियाहरू पूर्वनिर्धारित कार्यतालिका र योजना अनुरूप नै अगाडि बढिरहेका छन् ।  कुनै प्राविधिक अवरोध नआएमा आगामी असार १० गतेभित्रै कक्षा १२ को नतिजा विद्यार्थीहरूको हातमा पुग्ने विश्वास बोर्डले दिलाएको छ ।

ट्रेड युनियन खारेजीविरुद्धको रिट सर्वोच्चद्वारा पुनः हेर्दाहेर्दैमा

काठमाडौं । सर्वोच्च अदालतले ट्रेड युनियन खारेज गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमाथिको सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’मा यही जेठ २९ गते सुनुवाइ हुने भएको छ ।        प्रधान न्यायाधीश डा. मनोजकुमार शर्मा, न्यायाधीशहरू डा. नहकुल सुवेदी, विनोद शर्मा, अब्दुल अजीज मुसलमान र महेश शर्मा पौडेलको संवैधानिक इजलासमा सुनुवाइ सुरु भए पनि समय नभ्याएपछि हेर्दाहेर्दैमा यही जेठ २९ गते सुनुवाइ हुने तय भएको हो ।  यसअघि यही जेठ २० गते सुनुवाइ सुरु गरी आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो।        गत वैशाख २८ गते तत्कालीन कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरू कुमार रेग्मी, हरिप्रसाद फुयाल, विनोद शर्मा र शारङ्गा सुवेदीको संवैधानिक इजलासमा सुनुवाइ गर्दै रायबाझी आदेश गरेको थियो ।          तत्कालीन कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरू कुमार रेग्मी, हरिप्रसाद फुयालले सरकारको उक्त निर्णय कार्यान्वयन नगर्न अल्पकानीन अन्तरिम आदेश गरेका थिए भने न्यायाधीशहरू विनोद शर्मा र शारङ्गा सुवेदीले भने फरक मत राख्दै अपुरणीय क्षति नपुग्ने भएकाले अल्पकालीन आदेश दिने विषयमा सहमति नभएको जनाएका छन् ।         अदालतले यस विवादमा दुवै पक्षलाई छलफलका लागि बोलाउँदै महान्यायाधीवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न भनेको थियो ।        नेपाल निजामती कर्मचारी सङ्गठन केन्द्रीय कार्य समितिको तर्फबाट अख्तियार प्राप्त अध्यक्ष भवानी दाहाल समेतले राष्ट्रपतिको कार्यालयलाई विपक्षी बनाई ट्रेड युनियन खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न आदेशको माग गरिएको थियो ।

कपुरधाराबाट १४ ग्राम खैरो हिरोइनसहित निरौला पक्राउ

काठमाडौं । लागुऔषध खैरो हिरोइनसहित एक युवक पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका २६ को कपुराधाराबाट २५ वर्षीय दीपक भन्ने टंकनाथ निरौला पक्राउ परेका हुन् । प्रहरीका अनुसार विशेष सूचनाका आधारमा खटिएको टोलीले उनलाई नियन्त्रणमा लिई खानतलासी गर्दा उनको साथबाट करिब १४ ग्राम खैरो हिरोइनजस्तो देखिने पदार्थ बरामद गरेको हो । बरामद पदार्थसहित निरौलालाई नियन्त्रणमा लिएर लागुऔषधसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।  निरौला सुनसरीको दुहवी नगरपालिका– ८ का हुन् ।