विकासन्युज

पूर्व गोलकिपर विशाल श्रेष्ठ राखेप उपाध्यक्ष नियुक्त

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को उपाध्यक्षमा पूर्व राष्ट्रिय फुटबल टोलीका गोलकिपर विशाल श्रेष्ठलाई नियुक्त गरेको छ । लामो समय नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य रहेका श्रेष्ठले खेल जीवनमा उल्लेखनीय योगदान दिएका छन् । केही वर्षअघि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका उनी अब नेपाली खेलकुदको सर्वोच्च निकाय राखेपको नेतृत्व तहमा पुगेका हुन् ।  यसैबिच मन्त्रालयले विभिन्न खेल विधाको प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्यले ४ जना बोर्ड सदस्य पनि नियुक्त गरेको छ । नियुक्त हुनेहरूमा टेबल टेनिस खेलाडी सिक्का सुवाल, पूर्व अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी तथा प्रशिक्षक शक्ति गौचन, बुद्धिचाल खेलाडी मोनालिसा खुम्बु तथा फुटबल खेलाडी पवन शाही रहेका छन् ।  मन्त्रालयको यो निर्णयलाई खेलकुद प्रशासनमा अनुभवी खेलाडीहरूको सहभागिता बढाउने प्रयासका रूपमा हेरिएको छ । नवनियुक्त पदाधिकारीहरूले नेपाली खेलकुदको विकास, व्यवस्थापन र नीतिगत सुधारमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

पहिराले अवरुद्ध कर्णाली करिडोर एकतर्फी खुल्यो

काठमाडौं । पहिराेका कारणले अवरुद्ध रहेको कर्णाली करिडोर आज बिहानदेखि एकतर्फी खुलेको छ । मङ्गलबार र बुधबार आएको अविरल वर्षाले सडक अवरुद्ध भएको थियो । अविरल वर्षाका कारणले कर्णाली करिडोर अन्तर्गतको कालीकोट सडक खण्डको नरहरिनाथ गाउँपालिका-८ खुलालुदेखि बाजुराको सिमाना लैफुसम्म ठाउँठाउँमा लेदोसहितको पहिरो गएर अवरुद्ध बनेको थियो । दुई दिनसम्म बर्सातको कारण कर्णाली करिडोर अन्तर्गत सुर्खेत-हुम्ला सडकखण्डको खुलालुदेखि लैफुसम्म ठाउँठाउँमा पहिरो, लेदो खसेको र पहिरो हटाइ सडक सुचारु गरिएको जिल्ला प्रशासन कार्यालय कालीकोटले जनाएको छ । अहिले पनि सडकको माथिल्लो भिरालो जग्गाबाट ढुङ्गा खस्ने जोखिम रहेको साथै सडक साँघुरो र धेरै ठाउँमा एकतर्फी भएकाले यात्रा गर्दा आवश्यक सावधानी अपनाउन आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी जनक शर्मा बताए । 

८ कम्पनी कर परीक्षणको घेरामा, कागजात पेस नगरे एकतर्फी निर्धारण गरिने

काठमाडौं । आन्तरिक राजस्व कार्यालय त्रिपुरेश्वर र तुलसीपुरले विभिन्न ८ वटा कम्पनीमाथि आर्थिक वर्ष २०७८/७९ को कारोबारसम्बन्धी कर परीक्षण गर्ने भएको छ । दुवै कार्यालयले तोकिएको समयभित्र आवश्यक कागजात पेस नगरेमा एकतर्फी रूपमा कर निर्धारण गरिने चेतावनीसमेत दिएका छन् र त्रिपुरेश्वर कार्यालयका अनुसार आमिनुल इन्टरप्राइजेज, एन.जी.एस ट्रेडर्स र लिलामी बजार प्रा.लि.लाई कर परीक्षणका लागि छनोट गरिएको हो । कार्यालयले ती करदातासँग पटक–पटक सम्पर्क प्रयास गरे पनि सम्पर्क हुन नसकेको र केहीले पत्र बुझेर पनि आवश्यक कागजात पेस नगरेको जनाएको छ । आयकर ऐन, २०५८ तथा मूल्य अभिवृद्धि कर (भ्याट) सम्बन्धी कानुनी व्यवस्था अनुसार सूचना जारी गर्दै कार्यालयले १५ दिनभित्र सम्पूर्ण कारोबारसम्बन्धी कागजात पेस गर्न अन्तिम चेतावनी दिएको छ । तोकिएको समयभित्र कागजात पेस नभएमा उपलब्ध तथ्याङ्क तथा सूचनाका आधारमा एकतर्फी रूपमा कर निर्धारण गरिने र कर परीक्षण प्रक्रियामा ढिलाइ वा असहयोग अब स्वीकार्य नहुने स्पष्ट संकेत गरिएको छ । यस्तै, आन्तरिक राजस्व कार्यालय तुलसीपुरले पनि आर्थिक वर्ष २०७८/७९ कै कारोबार परीक्षणका लागि छनोट भएका पाँच कम्पनीलाई कागजात पेस गर्न कडा निर्देशन दिएको छ । कार्यालयका अनुसार माइलस्टोन बिल्डर्स, देवकोटा सप्लायर्स, गुरांस इन्टरप्राइजेज, शान्दार निर्माण सेवा र सौरभ इन्टरप्राइजेजलाई कर परीक्षणका लागि छनोट गरिएको छ । 

सर्वोत्तम पेन्ट्सको आईपीओ आजदेखि सर्वसाधारणका लागि बिक्री खुला

काठमाडौं । सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले आज जेठ २८ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर जारी गरिसकेपछि अब दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले जारी पुँजी ३४ करोड रुपैयाँको २५ प्रतिशत अर्थात् ८ करोड ५० लाख रुपैयाँको १ सय रुपैयाँ अंकित मूल्य दरका ८ लाख ५० हजार कित्ता सेयर जारी गरेको हो । जसमध्ये १० प्रतिशत अर्थात् ८५ हजार कित्ता विदेशमा रोजगार गरिरहेका नेपाली र ४२ हजार कित्ता साधारण सेयर सामूहिक लगानी कोषलाई बिक्री गरेर बाँडफाँड गरिसकेको छ । दोस्रो चरणमा कम्पनीले १७ हजार कित्ता कर्मचारी र बाँकी रहेको ७ लाख ५ हजार ५०० कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री खुला गरेको हो । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले न्यूनतम् १० कित्तादेखि अधिकतम ५ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा छिटोमा असार २ गते र ढिलोमा असार ११ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् ।

घोराही सिमेन्टको ४ करोड बढी सेयरको लकइन असार ३१ गते सकिँदै

काठमाडौं । घोराही सिमेन्ट उद्योगको ४ करोड बढी कित्ता सेयरको लकइन सकिने भएको छ । कम्पनीको संस्थापक, उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा कर्मचारीको नाममा रहेको ४ करोड ४ करोड ३ लाख १८ हजार १११ कित्ता सेयरको लकइन असार ३१ गते सकिने भएको हो ।  कम्पनीका अनुसार संस्थापक सेयरधनीको ४ करोड १ लाख ९५ हजार ६३४ कित्ता, उद्योग प्रभावित क्षेत्रका बासिन्दाको २४ हजार ७०५ कित्ता र कर्मचारीको ९७ हजार ७७२ कित्ता सेयरको लकइन सकिन लागेको हो । लकइन अवधि समाप्त भएसँगै सम्बन्धित सेयरधनीले प्रचलित कानुन तथा नियमअनुसार ती सेयर कारोबार गर्न सक्नेछन् । सञ्चालक तथा उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीको हकमा नियमानुसार सेयर रोक्का रहने कम्पनीले जनाएको छ । घोराही सिमेन्ट उद्योगको सेयर रजिष्ट्रार हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।

‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना हुँदा ६ जना घाइते

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोट नगरपालिका-४ रानीतालस्थित कालिगण्डकी करिडोर सडकखण्डमा क्रेन दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । गए राति ढोडेनीबाट गैँडाकोटतर्फ आउँदै गरेको लु१क ४४३७ नम्बरको क्रेन ओरालो सडकमा ब्रेक फेल भई सडकको बायाँ किनाराको भित्तामा ठोक्किएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी उपरीक्षक युवराज खड्काले बताए ।  दुर्घटनामा क्रेन चालक पाल्पाको तानसेन नगरपालिका घर भई हाल मध्यविन्दु नगरपालिका-११ बस्ने २५ वर्षीय निरज अस्रामी मगर, क्रेनमा सवार मध्यविन्दु-११ का ६० वर्षीय दिलबहादुर कुमाल, २७ वर्षीय निर्मल दराई, ५२ वर्षीय पूर्णप्रसाद दराई, ५३ वर्षीय अर्जुनबहादुर दराई र ५० वर्षीय अमर दराई घाइते भएको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए ।  सबै घाइतेलाई उपचारका लागि भरतपुरस्थित नयाँ मेडिकल कलेज पठाइएको प्रहरीले जनाएको छ । क्रेनमा क्षति पुगेको छ भने दुर्घटनाग्रस्त सवारी घटनास्थलमै रहेको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

१ अर्ब ७ करोडको सेती पुलको प्रगति ६१ प्रतिशत, दोस्रो पटक म्याद थप

काठमाडौं । पृथ्वीराजमार्गअन्तर्गत पर्ने पोखराको पृथ्वीचोकस्थित सेती नदीमा निर्माणाधीन सेती पुलको दोस्रो पटक म्याद थप गरिएको छ । मुग्लिन-पोखरा सडक आयोजना पश्चिम खण्ड अन्तर्गत निर्माणाधीन यस पुलको म्याद वि.सं २०८३ फागुन २१ गतेसम्म पुर्याइएको हो । सेतीको हालको पुलको ‘अपस्ट्रिम’ र ‘डाउनस्ट्रिम’ १९० मिटरका दुईवटा पक्की पुल १ अर्ब ७ करोड रूपैयाँ लागतमा निर्माण गर्नका लागि वि.सं २०७९ भदौ २६ गते ठेक्का सम्झौता गरिएको थियो । एसियाली विकास बैङ्कको ऋण सहयोगमा सडक विभाग अन्तर्गत निर्माण भइरहेको पुल तीन वर्षभित्रमा सम्पन्न गर्ने गरी एम/एस रसुवा कन्स्ट्रक्सन कम्पनी प्रालिसँग सम्झौता भए पनि काम नसकिएपछि गत भदौमा पहिलोपटक म्याद थप गरिएको थियो । हालसम्म पुलको ६१ प्रतिशत हाराहारीमा भौतिक प्रगति भएको मुग्लिन पोखरा सडक आयोजना पश्चिम खण्डका आयोजना प्रमुख कृष्णबहादुर कुँवरले बताए । उनका अनुसार अब निर्माण कार्यका लागि कुनै अवरोध नभएकाले निर्माण कम्पनीले तीव्रताका साथ काम गरेर तोकिएको म्यादभित्र सम्पन्न हुनेछ । सेती नदीको उत्तर साइडमा कारावास लगायत जग्गाधनी तथा व्यवसायीलाई सडकबाट एसियाली विकास बैङ्कको नीतिअनुसार सडक पहुँच दिनुपर्ने कारणले दुई वटा घर भत्काउनु परेको थियो । तर, जग्गाधनीको मागअनुसार यसको क्षतिपूर्ति र मुआब्जा दिनुपर्ने लगायत विषयमा सहमति नहुँदा ढिलाइ भएको बताइन्छ । पछिल्लो समय दुई जना जग्गाधनी केदार पौडेल र माधव पौडेलले समेत मुआब्जा बुझेको र असार पहिलो साताभित्रमा संरचना खाली गर्ने प्रतिबद्धता जनाएको आयोजना प्रमुख कुँवरले बताए ।  निर्माण कम्पनीले चीनबाट सामान ल्याउन ढिलाइ भएको तथा खानेपानी पाइप स्थानान्तरणलगायत समस्या देखाउँदै ढिलाइ गरेपछि काममा विलम्ब भएको थियो । ‘जग्गाधनीले मुआब्जामा चित्त नबुझेको भन्दै प्रशासनले निर्धारण गरेको रकम बुझ्न मान्नुभएको थिएन, जसका कारणले समेत काममा अवरोध भयो । केही दिनअघि उहाँहरूले मुआब्जा लिनुभएको छ । अब साइडमा कुनै पनि समस्या छैन, काम रोकिने अवस्था आउँदैन,’ कुँवरले भने ।  सेती पुलको हालसम्म १२० पाइल फाउण्डेसन सकिएको, पाइल क्याप तथा चार वटा टावरको काम सकिएको छ । यसैगरी, एउटा पुलमा गर्डर र क्रस गर्डरको काम सकिएको छ ।

धौलागिरिको काखमा रघुगङ्गा, प्रकृति र इतिहासको अनुपम सङ्गम

काठमाडौं । म्याग्दी जिल्लाको उत्तर-पूर्वी भूभागमा फैलिएको रघुगङ्गा गाउँपालिका प्रकृति, संस्कृति र इतिहासको अनुपम सङ्गमका रुपमा रहेको छ । प्राकृतिक सुन्तरता र भौगोलिक विविधताले भरिपूर्ण यस गाउँपालिका मौलिक कला, संस्कृति, धार्मिक, ऐतिहासिक धरोहरले धनी छ । पवित्र कालीगण्डकी नदीको तीरदेखि विश्वको सातौँ अग्लो धौलागिरि हिमाल (८ हजार १६७ मिटर) को पूर्वी मोहोडासम्म फैलिएको यहाँको मनोरम भूगोलले जो कोहीलाई पनि मन्त्रमुग्ध बनाउँछ । राहुघाट र कालीगण्डकी नदीको सङ्गमस्थलदेखि धौलागिरि आइसफल आधार शिविरसम्म फैलिएको रघुगङ्गाको नाम पनि धौलागिरिको काखबाट बग्ने रघुगङ्गा नदीबाट रहन गएको हो । मगर, छन्त्याल, थकाली, ठकुरी, बाहुन, क्षेत्री, दलितलगायत विभिन्न समुदायको सहअस्तित्वले यहाँको सामाजिक संरचना जीवन्त बनेको छ । विविधतायुक्त संस्कृति, चालचलन र परम्पराले रघुगङ्गालाई केवल एउटा भूगोलको गाउँपालिका नभई जीवित सांस्कृतिक सङ्ग्रहालय बनाएको छ । रघुगङ्गाको परिचय केवल पहाड र हिमालसँग मात्र सीमित छैन । यहाँका वनजङ्गल, झरना, तालतलैया, नदी, हरिया डाँडाकाँडा र गुराँसले ढाकिएका पहाडहरूले पर्यटकलाई डाकिरहेका छन् । धौलागिरि आइसफल पदमार्ग, धौलागिरि सेञ्चुरी पदमार्ग र टोड्के-धौलागिरि पानोरमा पदमार्ग यस क्षेत्रका प्रमुख पर्यटकीय मार्ग हुन् । यी पदमार्गले पर्यटकलाई हिमालको फेदीसम्म पुर्याउँदै प्राकृतिक सौन्दर्यको अद्भुत अनुभूति दिलाउँछन् । जिल्ला सदरमुकाम बेनीदेखि मुस्ताङ जोड्ने परम्परागत पदमार्ग सडक निर्माणसँगै विस्थापित बनेको अवस्थामा रघुगङ्गा मुस्ताङलाई ‘ट्रेकिङ ट्रेल’मार्फत जोड्ने ट्रान्जिटका रुपमा रहेको छ । यस गाउँपालिकाबाट सुरु हुने सेन्चुरी र पानोरमा ट्रेकसमेत समेटिने आइसफल पदमार्ग मुस्ताङको लेते जोेडिने भएकाले यस क्षेत्रमा पूर्वाधार विकास गर्नुपर्ने ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले बताए ।  ‘रघुगङ्गामा पर्यटन विकासको सम्भावना अथाह छ, छोटो र लामो दूरीमा क्याम्पिङ ट्रेकिङ नै गर्न सकिने ठाउँहरू पनि प्रशस्त छन, तर त्यसका लागि पदमार्ग, पर्यटन सूचना बोर्ड, सङ्केत पोल, खानेपानी, आश्रय स्थल, सञ्चारलगायत अत्यावश्यक पूर्वाधार बनाउनुपर्छ,’ उनले भने ।  टोड्के-धौलागिरि पानोरमा र सेन्चुरी पदमार्ग आइसफल पदमार्गमै जोडिने भएकाले धौलागिरि आइसफल पदमार्गका पर्यटकीय गन्तव्यहरुलाई समेटेर नक्साङ्कन गर्ने र विस्तृत अध्ययन प्रतिवेदनका आधारमा पूर्वाधार बनाउन जरुरी रहेको उनको भनाइ छ । टोड्के-धौलागिरि पानोरमा ट्रेक पर्यटकीयस्थल टोड्केबाट मालिकाधुरी, ठाडाखानी, कुइनेखानी, चौरखानी भएर घ्याँसीखर्क तथा धौलागिरि सेञ्चुरी पदमार्ग झीँ, पाखापानी, कोटगाउँ, रायखोर, मूलपानी हुँदै घ्याँसीखर्कमा आइसफल पदमार्गमा जोडिएको छ । घ्याँसीखर्क हुँदै आइसफल आधार शिविर भएर कालीबराह ताल पुगेर मुस्ताङको लेते जोडिएको छ भने अर्कोतर्फ गायत्री मन्दिर, पिप्ले, भगवती, रुइसे, भेडिओडार, मुटुकाटे, सोवाङ धुरी हुँदै आधार शिविर पुग्ने धौलागिरि आइसफल पदमार्गको पहिचान भएको छ ।  पाँच दिनदेखि दुई सातासम्मको लामो र छोटो दूरीमा पदयात्रा गर्न सकिने विकल्पसहित पहिचान भएको धौलागिरि आइसफल पदमार्गले रघुगङ्गा गाउँपालिकाको पिप्ले, भगवती, बेगखोला, दग्नाम, चिमखोला, कुइनेमङ्गले अन्नपूर्ण गाउँपालिकाको दोबा, भुरुङ, दानालगायत ठाउँको उच्च पहाडी डाँडाको धुरी हुँदै मुस्ताङको लेते जोडिएको छ । विक्रम संवत् २०६८ मा पहिलो पटक सम्भाव्यत्ता अध्ययन गरिएको धवलागिरि आइसफल पदमार्गको पूर्वाधार विकास र प्रवर्द्धनका लागि रघुगङ्गा गाउँपालिकाले विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार गरिसकेको गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिए । धौलागिरि हिमालको आधार शिविरलाई समेटिएको १८२ किलोमिटर लामो आइसफल पदमार्गको डीपीआर तयार गरी सङ्घीय र प्रदेश सरकारमार्फत पूर्वाधार बनाउन पहल थालिएको गाउँपालिकाका अध्यक्ष भण्डारीले बताए ।  उनका अनुसार चिमखोला-घ्याँसीखर्क, हुँदै आइसफल आधार शिविर पुग्ने पदमार्गमा पर्यटन मन्त्रालयमार्फत पदमार्ग निर्माण भए पनि कोखेभिर र धौलागिरि हिल भ्यू पोइन्ट पहाडमा अझै पदमार्ग बन्न सकेको छैन । आधार शिविरदेखि कालीबराह हुँदै मुस्ताङको लेते निस्कने परम्परागत गोरेटोबाटो र भगवतीको रुइसेदेखि पछेत्राधुरी, सोबाङधुरी, लोसधुरी, दहबुकी, फेदी, सुगुरथला हुँदै ससलधारा क्षेत्रसम्म पहिचान गरिएको बाटोमा सिँढी चिनेर पदमार्गलाई स्तरोन्नति गर्नुपर्ने काम बाँकी रहेको छ । धवलागिरि र अन्नपूर्ण रेञ्जका दर्जनौँ हिमाललाई नजिकबाट अवलोकन गर्न सकिने यस पदमार्गमा डाँफे, मुनाल, कालिज, कस्तुरी, झारल, नाउर, घोरल, थार, रतुवा, हिम चितुवालगायत जङ्गली पशुपक्षी र बासस्थानलाई समेत प्रत्यक्ष अवलोकन गर्न सकिन्छ । यस पदमार्गमा हिमालको हिउँ खसेको दृश्य (आइसफल) सँगै कालिबराह, लाटीबराह, निली बराह, सेती बराह र पहेँलीबराह ताल थप आकर्षणका रुपमा रहेका छन् । कुमारी पदमार्गका रुपमा रहेको धौलागिरि आइसफल पदमार्गलाई सञ्चालनमा ल्याउन सकेमा यसले रघुगङ्गासँगै म्याग्दी र मुस्ताङको पर्यटन विकासमा नयाँ आयाम सिर्जना गर्ने रघुगङ्गा गाउँपालिका-७ चिमखोलाका वडाअध्यक्ष थकबहादुर पाइजाले बताए ।  यस गाउँपालिकामा लामो दूरीका ट्रेकिङ ट्रेलका अलवा रुइसे, भेडिओडार, सोवाङधुरी, टोड्के, मालिका धुरी, रिखार, नांगीडाँडा, नेपालकै लामो पुलहरुको सूचीमा पर्ने बेग-बाँदुक जोड्ने पुललगायत छोटो दूरीमा रहेका पर्यटकीय गन्तव्यको पर्यटन विकास र प्रचारप्रसारमा समेत जोड दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेलको भनाइ छ ।  ‘गाउँपालिकाले पदमार्ग, भ्यूटावर, आश्रयस्थल, पार्कलगायत पर्यटन पूर्वाधार बनाउने काम गर्दै आएको छ, पहिचान भएका गन्तव्यको प्रचारप्रसार र प्रवद्र्धनको अभियानमा पनि गाउँपालिका जुटिसकेको छ, पर्यटनमार्फत रघुगङ्गाको समृद्धिमा अथाह सम्भावना छ,’ उनले भने । यस वर्ष धार्मिक पर्यटकीयस्थल मालिका धुरी र रिखार जाने पदमार्ग निर्माण भएको छ । यस गाउँपालिकाको वडा नम्बर ४ दर्मिजामा रहेको तातोपानीको कुण्ड प्राकृतिक चिकित्सालयका रुपमा परिचित छ । धौलागिरि हिमशृङ्खलाको फेदीमा वडा नम्बर ८ मा अवस्थित रिखार धार्मिक र प्राकृतिक पर्यटनको दुर्लभ सङ्गम हो । करिब ४ हजार ६०० मिटर उचाइमा रहेको यस पवित्र स्थलमा हरेक वर्ष हजारौं श्रद्धालु पुग्ने गर्छन् । तालमा रहेको डुङ्गा आकारको ढुङ्गामा बनेको मन्दिरले यस क्षेत्रको सौन्दर्यलाई अझ विशिष्ट बनाएको छ । जनै पूर्णिमा पर्वमा विशेष पूजाआजा हुने रिखारलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिने सम्भावना छ । गायत्री मन्दिर, टोड्केको स्वर्गाश्रम, बेगको धौलेश्वर महादेव, भगवती कोत, नौलीबराह, नांगीदेवी, मालिका धुरी, मण्डली थान, कमलजैसी थान, भूमेथानलगायत धार्मिक स्थलहरूले रघुगङ्गाको आध्यात्मिक पहिचानलाई बलियो बनाएका छन् । मुक्तिनाथ जाने पुरानो पदमार्गको प्रवेशद्वारका रूपमा रहेको गायत्री मन्दिरमा परापूर्वकालमा ऋषिहरूले तपस्या गरेर ज्ञान आर्जन गरेको मान्यता छ । यस क्षेत्रमा कलात्मक र पौराणिक किसिमका मठमन्दिर छन् भने ध्यान आश्रमका लागि यो ठाउँ उपयुक्त मानिन्छ । त्यस्तै, भगवती कोत म्याग्दीकै पुराना कोतमन्दिरमध्ये एक मानिन्छ । भगवती कोतले यस क्षेत्रको ऐतिहासिक विरासतलाई प्रतिबिम्बित गरेको छ । १७औँ शताब्दीको विरासतसँग जोडिएको भगवती कोत मन्दिर धार्मिक पर्यटकीयस्थलका रुपमा चिनिन्छ । अहिले निकै चर्चामा रहेको पर्यटकीयस्थल रुइसे तत्कालीन बाइसे चौबिसे राज्यको पालामा शासन चलाएको ऐतिहासिक ठाउँका रुपमा पनि परिचित छ । यहाँ तत्कालीन राजाले बनाएको दरबारको भग्नावशेष, आराम गर्ने ढुङ्गा, तत्कालीन समयमा प्रयोग गरेका पानीका कुवा, हात्ती बाँध्ने ठाउँलगायत प्रमाणहरु अझै भेटिन्छन् । वडा नम्बर ३ को रानीपौवा ऐतिहासिक स्थल हो । विक्रम संवत् १८६३ मा तत्कालीन श्री माइली महारानी सुवर्ण प्रभा देवी शाह मुक्तिनाथको तीर्थयात्रा गर्न आउँदा तीर्थयात्रीको सहज बसोबासका लागि पिप्लेको रानीपौवामा पौवा निर्माण गरिएको थियो । दोस्रो विश्वयुद्धमा बेलायतको सर्वोच्च सैन्य पदक भिक्टोरिया क्रस प्राप्त गर्ने रघुगङ्गा गाउँपालिका-१ बादुँकका दिवङ्गत तुलबहादुर पुनको नामले यस गाउँपालिकाको चिनारीलाई अन्तर्राष्ट्रियस्तरमा समेत चिनाएको छ । गाउँपालिकाले पुनको नाममा सङ्ग्रहालय बनाउने योजना अघि सारेको छ ।  मौलिक कला र संस्कृतिको आकर्षण रघुगङ्गाको अर्को परिचय मौलिक कला र संस्कृति हो । यहाँका थालीनाच, पुख्र्यौली नाच, सोरठी, मादले मारुनी, यानीमाया, सिरफुले, साइलो भाका, सेदो भाका, रत्यौली, नौमती पञ्चेबाजा र भजन-कीर्तनले मौलिक कला र संस्कृतिलाई जीवन्त बनाएका छन् । विशेषगरी वडा नम्बर ७ चिमखोला थालीनाचको उद्गमस्थलका रूपमा परिचित छ । मौलिक नृत्यका रुपमा रहेको थाली नाच अहिले नेपाल मात्र नभई विश्वका विभिन्न देशमा लोकप्रिय बनेको छ । थाली नाचकी सर्जक चिमखोलामा जन्मनुभएकी हिरामाया श्रीष पुन जीवित इतिहासका रुपमा रहेका छन् । थाली नाच, पुख्र्यौलीलगायत मौलिक कला र संस्कृतिमा धनी मानिएको चिमखोलालाई गाउँपालिकाले सांस्कृतिक गाउँ घोषणा गरेर यसको संरक्षण र प्रवद्र्धनमा विशेष ध्यान दिएको छ । दग्नामको भूमेपूजामा हुने लिङ्गो जुधाउने परम्परा रघुगङ्गाको अर्को अनौठो सांस्कृतिक सम्पदा हो । करिब चार सय वर्ष पुरानो इतिहास बोकेको यो परम्परा प्रकृतिपूजासँग जोडिएको छ र अहिले पर्यटकको आकर्षणको केन्द्र बनेको छ । मगर समुदायको बाहुल्य बसोबास रहेका बाँदुक, बेग, दग्नाम, दर्मिजा, झीँ, पाखापानी, चिमखोलालगायत ठाउँमा प्रकृति पूजाका रुपमा भूमेपूजालाई उत्सवका रुपमा मनाउने गरिन्छ । यस क्षेत्रमा भूमेपूजाले आन्तरिक पर्यटन प्रवद्र्धनको माध्यम बन्ने गरेका छन् । म्याग्दीमा छन्त्याल समुदायको उद्गम थलोका रुपमा रहेको झिङखानी ऐतिहासिक थलोका रुपमा चिनिन्छ । आफ्नो पुर्खाहरुको उद्गम थलोमा रहेको झिङखानी भूमेथान यहाँका स्थानीयवासीको धार्मिक आस्थाको धरोहरका रुपमा रहेको छ । कुइनेमङ्गले, चिमखोला, पाखापानी, बेग, दग्नामलगायत क्षेत्रमा गरिने परम्परागत भिर मह सिकार साहसिक पर्यटनको महत्वपूर्ण आधार हो । अग्ला चट्टानमा झुन्डिएर गरिने मह सिकारले विदेशी पर्यटकलाई विशेष आकर्षित गर्ने गरेको छ । यसलाई स्थानीय जीवनशैली, साहस र परम्पराको अनुपम मिश्रणका रूपमा हेरिन्छ । यसका अतिरिक्त विभिन्न बस्तीमा रहेका तामा खानी, घुम्ती गोठ, भेडाबाख्रा पालन, जडीबुटी सङ्कलन र हिमाली जनजीवनको अध्ययन पनि रघुगङ्गामा पर्यटन विकासमा नयाँ सम्भावनाहरु हुन् । पर्यटन विकाससँगै गाउँपालिकाले स्थानीय आयआर्जन वृद्धि र जीवनस्तर सुधारलाई प्राथमिकता दिएको छ । झीँ रायखोर, मौवाफाँट र रानीपौवामा घरबासहरू सञ्चालनमा आएका छन् । यी घरबासहरुलाई व्यवस्थित बनाउँदै पर्यटकलाई स्थानीय खानपान, संस्कृति र जीवनशैलीसँग प्रत्यक्ष परिचित गराउन सकेमा यसले यहाँका स्थानीयको आयआर्जन वृद्धि गराउन सहयोग पुर्याउनेछ । घरबासमा पुग्ने पाहुनाहरूलाई स्थानीय कला-संस्कृतिको प्रस्तुति गरिनाका साथै अग्र्यानिक कृषि उत्पादनबाट तयार गरिएका परिकारहरू खुवाउने परम्पराले पर्यटनलाई स्थानीय अर्थतन्त्रसँग जोड्नेछ ।