विकासन्युज

रेस्टुरेन्टमा खाजा खाएर बिल नतिर्ने सम्धी ग्रुपका १० जना पक्राउ

काठमाडौं । ललितपुरमा प्रहरीलाई ड्युटीमा अवरोध गर्नुका साथै होटल, रेस्टुरेन्टमा खाजा खाएर बिल नतिर्ने सम्धी ग्रुपका १० जना पक्राउ परेका छन् ।  ललितपुर प्रहरी परिसरका अनुसार ३९ वर्षीय इश्वरमान तामाङ, २९ वर्षीय सुरेन्द्र योन्जन, २७ वर्षीय निकेश तामाङ, ४० वर्षीय प्रकाश डिम्डुङ, २८ वर्षीय राजेश तामाङ, २८ वर्षीय गणेश नेगी, ४० वर्षीय वीरबहादुर स्याङतान, २३ वर्षीय विजय स्याङ्तान, २२ वर्षीय दिनेश भोम्जन र २० वर्षीय साजन तामाङ पक्राउ परेका हुन् । ललितपुर चापागाँउ एरियामा लामो समयदेखि ललितपुर सम्धी ग्रुप तथा झयालुङ्टार ग्रुपका नाममा उनीहरूले रेष्टुरेन्टमा पैसा नर्तिर्ने, हप्ता उठाउने, प्रहरीलाई समेत ड्युटीमा अवरोध गर्ने, गिटी तथा प्राकृतिक स्रोतमा दादागिरी गर्ने लगायतका काम गर्दै आइरहेका थिए । हुलहुज्जत गर्दै टिम बनाई हिँड्ने र डर त्रास सिर्जना पैदा गर्ने गरेको ललितपुर प्रहरी परिसरका प्रवक्ता गौतम मिश्रले बताए । सबैजनालाई नियन्त्रण लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

नबिल बैंक १६ स्थानमा सीपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

काठमाडौं । नबिल बैंक लिमिटेडले कृषि व्यवसायमा संलग्न जनशक्तिलाई लक्षित गरी मुलुकका विभिन्न १६ ग्रामीण स्थानमा सीपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम सुरु गरेको छ । जुम्लाको सिँजा गाउँपालिकामा यही वैशाख ९ गते बुधबारदेखि सुरु भएको तालिम चालु आर्थिक वर्षभित्र थप १५ स्थानमा सञ्चालन गरिने बैंकले जनाएको छ ।  बैंकले कोशी, मधेश, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका स्थानीय तहसँगको सहकार्यमा तालिम सञ्चालन गर्न लागेको हो । कृषिमा आधारित व्यवसाय सञ्चालन गरिरहेका र गर्न चाहने करिब पाँच सय व्यक्तिलाई लक्षित गरी तालिम सञ्चालन गर्न लागिएको बैंकको भनाइ छ ।  नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले तालिममा सहभागीलाई बचत, बजेट निर्माण, ऋण व्यवस्थापन, बीमा, लगानीका विकल्पलगायतका विषयमा प्रयोगात्मक ज्ञान प्रदान गरिने बताए । 'सहभागीहरुलाई वित्तीय साक्षरतामा सशक्त बनाउने, बेरोजगारी घटाउने, नयाँ व्यवसाय गर्न प्रोत्साहन गर्ने तथा उद्यमशीलता विकासमार्फत दिगो आर्थिक वृद्धि प्रवर्द्धन गर्न तालिम सञ्चालन गर्न लागिएको हो', उनले बताए ।  बैंकले दिगो बैंकिङको अवधारणालाई आत्मसात गर्दै संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ग्रामीण क्षेत्रमा रहेका व्यक्तिलाई आत्मनिर्भर बनाउन प्रोत्साहन गर्ने उद्देश्यले तालिम सञ्चालन गर्न लागेको हो । तालिममा ग्रामीण भेगका किसानहरुको रुचि पहिचान गरी सोहीअनुरुप उनीहरुलाई आत्मनिर्भर बनाउन आवश्यक जानकारी र सीप उपलब्ध गराइनेछ ।  सहभागी हुनेले बाख्रापालन, बंगुरपालन, भैंसीपालन, च्याउ खेती, तरकारी खेती लगायतका विषयमा प्राविधिक ज्ञानका साथै व्यावसायिक अवसर पहिचान गर्ने, बजारीकरण तथा वित्तीय व्यवस्थापन लगायतका विषयमा ज्ञान र सीप प्राप्त गर्नेछन् ।  कार्यक्रमले दिगो बैंकिङको अवधारणालाई समेत अघि बढाउँदै वातावरणमैत्री, सामाजिक रूपमा जिम्मेवार तथा दीर्घकालीन आर्थिक लाभ दिने लगानीलाई प्राथमिकतामा राखेको जनाइएको छ ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष आचार्यले गरे पदभार ग्रहण

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराज आचार्यले पदभार ग्रहण गरेका छन् । बुधबार (आज) बुद्धनगरस्थित कार्यालयमा पुगी उनले पदभार ग्रहण गरेका हुन् ।  साथै समितिका सदस्यद्वय नवराज सिम्खडा र रोशनबहादुर शाक्यले पनि पदभार ग्रहण गरेका छन्  ।तीनैजनालाई कार्यालयका कर्मचारीहरूले स्वागत गरेका थिए । पदभार ग्रहणपश्चात समस्याग्रस्त सहकारी संस्थाहरूको बारेमा छलफलसमेत भइरहेको जनाइएको छ ।  सरकारले आफ्नो शासकीय स्वरूपमा पनि सय दिनभित्र सहकारी पीडितको बचत फिर्ता गर्ने जनाएको थियो । एक लाख रुपैयाँसम्म बचत गरेका बचतकर्तालाई रकम फिर्ता गर्ने उद्देश्यअनुरुप सरकारले काम सुरु गरेको हो। देशभरि करिब ३४ हजार सहकारी संस्था सञ्चालनमा रहेका जनाइएको छ । पीडितले आफ्नो रकम फिर्ता पाउन तथा ठगी गर्ने सञ्चालकलाई कारबाहीको माग गर्दै आएका थिए । मंगलबार (हिजो) बसेको  मन्त्रिपरिषद् बैठकले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा आचार्य र सदस्यमा सिम्खडा र शाक्यलाई नियुक्त गरेको थियो ।

सीमाभित्र रहेर बजेट ल्याउनुपर्ने बाध्यता सरकारलाई छ : उपाध्यक्ष भट्ट

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गुणाकर भट्टले मुलुकमा सहज अवस्था नरहेको बताउँदै सीमा भित्र बाँधिएर सरकारले बजेट ल्याउनुपर्ने अवस्था रहेको बताएका छन् । बुधबार सिंहदरबारमा बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले बजेट निर्माण चलिरहेको र सरकारका अगाडि विभिन्न अप्ठ्यारा सीमा रहेको बताएका हुन् ।  उनले अन्तर्राष्ट्रिय स्तरमा देखिएको इन्धन तथा ऊर्जा संकटका कारण विश्व अर्थतन्त्र प्रभावित भइरहेको, मूल्यवृद्धि बढ्ने र आर्थिक वृद्धि घट्ने प्रक्षेपण अन्तर्राष्ट्रिय मुद्राकोषलगायत संस्थाले गरिसकेको बताउँदै त्यसको प्रभाव नेपालमा पनि पर्ने बताए । भट्टले सरकारको स्रोत परिचालन क्षमता सीमित रहेको बताए । भट्टकाअनुसार यस्तो परिस्थितिमा पूँजीगत खर्च बढाउने र राजस्व वृद्धि गर्ने चुनौती सरकारसामु प्रमुख रूपमा देखिएको छ, जुन राष्ट्रिय प्राथमिकताका साझा एजेण्डा हुन् ।  उनले वर्षौंदेखि थुप्रिँदै आएका आयोजनाहरूको प्राथमिकीकरण आवश्यक रहेको औंल्याउँदै छिटो प्रतिफल दिने र कार्यान्वयन गर्न सकिने आयोजनालाई प्राथमिकता दिनुपर्ने बताए । फास्ट ट्र्याकजस्ता परियोजनामा लामो समयदेखि लगानी भइरहेकाले ती आयोजना प्रभावकारी रूपमा अघि बढाउनुपर्नेमा उनले जोड दिए ।  साथै, सामाजिक सुरक्षा खर्चको दायरा बढ्दै जानु र सार्वजनिक ऋणको साँवा–ब्याज भुक्तानी दायित्व बढ्नु पनि बजेटका प्रमुख सीमाका रूपमा उनले उल्लेख गरे । हाल सरकारको कुल बजेटको करिब एक तिहाइ हिस्सा यी शिर्षकमा खर्च हुने अवस्था रहेको उनले बताए ।  यी सीमाबीच पनि सन्तुलित विकास, सामाजिक न्याय र पछाडि परेका क्षेत्रसम्म विकासका आयोजना पुर्याउनुपर्नेमा जोड दिँदै भट्टले राष्ट्रिय योजना आयोगले आफ्नो भुमिकाअनुसार आवश्यक सुझाव र सहकार्य निरन्तर गर्ने बताए ।    

शान्ति पदयात्रा र सेलिब्रेटी कुकुरले तानेको ध्यान

काठमाडौं । श्रीलङ्कामा केसर रङका वस्त्रधारी बौद्ध भिक्षुहरूले बुधबारदेखि एक हप्ता लामो शान्ति पदयात्रा सुरु गरेका छन् । पदयात्रामा उद्धार गरिएको बेवारिसे कुकुरको उपस्थितिले विश्वभर थप ध्यान तानेको छ । ‘सबै प्राणीका लागि शान्ति’ भन्ने सन्देशसहित सुरु भएको यो पदयात्रा धार्मिक आस्था र सामाजिक सन्देशको अनौठो संयोजन बनेको छ ।      भियतनामी भिक्षु पन्नकाराको नेतृत्वमा १३ सदस्यीय टोलीले राजधानी कोलम्बोबाट करिब १६० किलोमिटर उत्तरमा रहेको ऐतिहासिक डम्बुला बौद्ध मन्दिरबाट बिहान आफ्नो यात्रा प्रारम्भ गरेको हो । यो समूह यसअघि संयुक्त राज्य अमेरिकामा टेक्सासदेखि वासिङ्टन डिसीसम्म करिब तीन हजार ७०० किलोमिटर लामो १०८ दिनको पदयात्रा पूरा गरेर अन्तर्राष्ट्रिय स्तरमा चर्चित भएको थियो । त्यतिबेला उनीहरूले बरफले ढाकिएका सडक र कठोर मौसममा समेत यात्रा गर्दै शान्तिको सन्देश फैलाएका थिए ।      यसपटक उनीहरू ४० डिग्री सेल्सियससम्म तापक्रम पुग्ने श्रीलङ्काको अत्यधिक गर्मीमा नाङ्गो खुट्टा हिँडिरहेका छन् । भीषण गर्मीबीच पनि स्थानीय भक्तजनहरूले उनीहरूको यात्रालाई समर्थन गर्दै सडकमा पानी छर्कने, हरियो केराका पात र फूलहरू राख्ने तथा शीतलता प्रदान गर्ने प्रयास गरेका छन् । केहीले त भिक्षुहरूलाई पानी छर्केर राहत दिन खोजिरहेका दृश्य पनि देखिएका छन् ।      यो पदयात्रा अप्रिल २८ मा राजधानी कोलम्बो पुग्ने अपेक्षा गरिएको छ । त्यहाँ श्रीलङ्काका राष्ट्रपति अनुरा कुमार दिसानायकले उनीहरूलाई स्वागत गर्ने कार्यक्रम रहेको आयोजकहरूले बताएका छन् ।      यस पदयात्राको विशेष आकर्षण बनेको छ अलोका नामको उद्धार गरिएको आवारा कुकुर । यो कुकुरले भिक्षुहरूको साथमा अन्तर्राष्ट्रिय यात्रादेखि नै ध्यान तानेको छ । भारतमा उद्धार गरिएको उक्त कुकुरले अमेरिकी यात्रामा समेत भिक्षुहरूलाई साथ दिएको थियो र त्यसक्रममा ठूलो लोकप्रियता कमाएको थियो ।      अलोका पहिले भारतका भिक्षुहरूलाई पछ्याउँदै गर्दा कारको ठक्करबाट जोगिएको थियो र त्यसपछि उनीहरूकै साथमा यात्रा जारी राखेको थियो । पछि संयुक्त राज्य अमेरिकामा भएको पदयात्रामा पनि उसको उपस्थिति सामाजिक सञ्जालमा व्यापक चर्चाको विषय बनेको थियो । उक्त यात्राले प्राप्त गरेको ध्यान र दानले सम्पूर्ण अभियानलाई आर्थिक रूपमा सहयोग पुगेको बताइएको छ ।      स्थानीय एक भिक्षुका अनुसार टेक्सासदेखि कोलम्बोसम्म अलोकालाई ल्याउने हवाई खर्च सामान्य यात्रुको तुलनामा करिब दस गुणा बढी परेको थियो । यसले अभियानको अन्तर्राष्ट्रिय पहुँच र लोकप्रियता झल्काएको छ । श्रीलङ्कामा अहिले अलोकाको सुरक्षाका लागि सेनाका कमान्डोहरू परिचालन गरिएको छ । दुई जना कमान्डोहरू लगातार कुकुरको दुवै छेउमा रहेर पदयात्रा अघि बढाइरहेका छन्, ताकि स्थानीय सडक कुकुरहरूबाट कुनै जोखिम नहोस् । प्रहरीको केनेल विभागसमेत यसको सुरक्षामा खटाइएको छ ।      पदयात्राको दृश्यले स्थानीय सडकमा ठूलो आकर्षण सिर्जना गरेको छ, जहाँ भक्तजनहरूले श्रद्धापूर्वक भिक्षुहरूलाई अभिवादन गर्दै यात्रा अवलोकन गरिरहेका छन् ।      यस अभियानको सामाजिक सञ्जालमा पनि व्यापक प्रभाव देखिएको छ । पिस वाकको फेसबुक पेजमा मात्रै ३० लाखभन्दा बढी फलोअर्स रहेका छन् भने श्रीलङ्का यात्राको प्रत्यक्ष प्रसारण पहिलो पाँच घण्टामै ५१ हजारभन्दा बढी पटक हेरिएको आयोजकहरूले जनाएका छन् ।      धार्मिक आस्था, सामाजिक सन्देश र एउटा उद्धार गरिएको कुकुरको उपस्थिति मिसिएको यो पदयात्रा अहिले श्रीलङ्कामा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमै ध्यानको केन्द्र बनेको छ । रासस   

एभरेष्ट हस्पिटलमा एनआईसी एशिया ग्राहकलाई छुटको व्यवस्था

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेड र एभरेष्ट हस्पिटल प्रा.लि.बीच बैंकका ग्राहकलाई विभिन्न स्वास्थ्य सेवामा छुट प्रदान गर्ने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा बैंकका तर्फबाट चिफ ट्रान्जेक्सन बैंकिङ्ग प्रमुख नरेन्द्र मैनाली तथा एभरेष्ट हस्पिटलका तर्फबाट प्रशासन प्रमुख दिपक चन्द्र बरालले हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार बैंकका ग्राहकहरूले काठमाडौंको नयाँ बानेश्वरस्थित एभरेष्ट हस्पिटलमा उपलब्ध विभिन्न सेवाहरू उपयोग गर्दा डिजिटल माध्यमबाट भुक्तानी गरेमा १५ प्रतिशतसम्म छुट पाउनेछन् । तर, आउटसोर्स सेवा, चिकित्सक परामर्श शुल्क र एम्बुलेन्स सेवामा भने यो सुविधा लागू नहुने जनाइएको छ । त्यसैगरी, ग्राहकहरूले शल्यक्रिया (अपरेशन) सेवामा ५ प्रतिशत र अस्पतालको फार्मेसीबाट औषधि खरिद गर्दा १० प्रतिशत छुट पाउने व्यवस्था गरिएको छ । यो सुविधा प्राप्त गर्न ग्राहकहरूले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा मोबाइल बैंकिङ्ग एप ‘मोबैंक’मार्फत भुक्तानी गर्नुपर्नेछ । बैंकका अनुसार यस सहकार्यले ग्राहकलाई स्वास्थ्य सेवामा सहुलियत प्रदान गर्नुका साथै डिजिटल भुक्तानी प्रणालीको विस्तार र नगदरहित कारोबार प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास गरिएको छ । 

सहकारी पीडितका बचत फिर्ताको लागि मोडालिटी बनाउँदै मन्त्रालय

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले सहकारी क्षेत्र सुधारका लागि चार्टर्ड एकाउन्टेन्टहरूसँग छलफल गरेकी छिन् ।  मन्त्री रावलले बुधबार मन्त्रालयमा सहकारी नियमनकारी निकायका पदाधिकारी सहित आइक्यानका पदाधिकारीहरूसँग सहकारी संस्थाहरूमा देखिएका अनियमितता, अपारदर्शिता र वित्तीय अनुशासनको अभावलाई सुधार गर्न छलफल गरेकी हुन् ।  सहकारी क्षेत्रलाई व्यवस्थित, पारदर्शी र विश्वासिलो बनाउन चार्टर्ड एकाउन्टेन्टहरूको भूमिका महत्त्वपूर्ण हुने भएकाले सुधारका लागि भूमिका निर्वाह गर्न मन्त्री रावलले आग्रह गरिन् । मन्त्री रावलले सहकारी समस्या समाधानका लागि छलफल भइरहेको योजनामा सहयोग गर्न आग्रह गरिन् ।  साथै मन्त्रालयले निकट भविष्यमै बचतकर्ताका रकम फिर्ता सुरु गर्न लागेकाले बचत फिर्ताको मोडालिटीका विषयमा समेत राय लिएकी थिइन् । छलफलमा सहभागी चार्टर्ड एकाउन्टेन्टस् संस्थाका अध्यक्ष नीलबहादुर सारु मगरसहित सदस्यहरूले सहकारी क्षेत्रमा देखिएका चुनौती समाधान गर्न आफूहरू प्रतिबद्ध भएको उल्लेख गर्दै मन्त्रालयलाई आवश्यक सहयोग गर्न तयार भएको बताएका थिए।  मन्त्री रावलसँग छलफलमा राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अध्यक्ष खगराज शर्मा, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराज आचार्य लगायतका पदाधिकारीहरु सहभागी थिए । यस्तै नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थाका तर्फबाट अध्यक्ष सारू मगर सहित सदस्यहरू आनन्दराज शर्मा वाग्ले, उमेशराज पाण्डे, अमन उप्रेती, हेमकुमार काफ्ले, हरिकुमार सिल्वाल, सुनिल देवकोटा, पीयुष आनन्द, भरतकुमार श्रेष्ठ, कलमणी लम्साल, प्रदिपकुमार यादव, कार्यकारी निर्देशक विमल डंगोल, निर्देशक किरणकुमार खत्री, सहनिर्देशक अस्मिता ढकाल सहभागी थिए । 

नेशनल लाईफ र ग्राण्डी अस्पतालबीच सम्झौता, बीमा प्रस्तावकलाई छिटो मेडिकल सेवा

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा प्रस्तावक तथा कर्मचारीका लागि सहुलियत र सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले ग्राण्डी इन्टरनेशनल हस्पिटल सँग मेडिकल सेवा सम्बन्धी सम्झौता गरेको छ । मिति २०८३ वैशाख ९ गते कम्पनीको लाजिम्पाटस्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्री र ग्राण्डी अस्पतालका चिफ अपरेटिङ अफिसर अमृत खन्नाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार बीमालेख खरिद गर्न चाहने प्रस्तावकलाई आवश्यक पर्ने मेडिकल परीक्षण सहुलियत दरमा छिटो र सहज रूपमा उपलब्ध गराइनेछ भने परीक्षणपछि आवश्यक मेडिकल रिपोर्ट पनि शीघ्र प्रदान गरिनेछ । साथै कम्पनीमा कार्यरत कर्मचारीहरूले अस्पतालबाट १० प्रतिशत छुटसहित सहुलियत दरमा स्वास्थ्योपचार सेवा पाउने व्यवस्था गरिएको छ । यस सम्झौताबाट कम्पनीसँग आबद्ध ग्राहक तथा कर्मचारीहरूले गुणस्तरीय स्वास्थ्य सेवा सहज र सुलभ रूपमा प्राप्त गर्ने अपेक्षा गरिएको छ ।