विकासन्युज

पूर्व अर्थमन्त्री पाण्डे र अर्थशास्त्री पौडेलबीच चितवनमा ‘ब्याटल’, कसले जित्ला चुनाव ?

काठमाडौं । देशमा चुनावको रौनक देखिन थालिसकेको छ । सरकारले मंसिर ४ गतेका लागि प्रदेश र प्रतिनिधिसभाको मिति तय गरेसँगै राजनीतिक दलहरु उम्मेदवार टुङ्ग्याएर जनताको घरदैलो गर्न सुरु गरिसकेका छन् । मंसिर ४ गते हुने चुनावमा विशेष गरेर काँग्रेस, माओवादी र एकिकृत समाजवादी लगायत दल सम्मिलित गठबन्धन र नेकपा एमालेबीच चुनावी प्रतिस्पर्धा हुने देखिएको छ । यही बिचमा चितवनको निर्वाचन क्षेत्र नम्बर एकमा पनि ठूलो प्रतिस्पर्धा हुने देखिएको छ । चितवन एक नम्बर क्षेत्रमा नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे र काँग्रेसबाट अर्थशास्त्री तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेलबीच प्रतिस्पर्धा हुने देखिएको छ । चितवन क्षेत्र नम्बर एक सुरेन्द्र पाण्डेको निर्वाचन क्षेत्र हो । सोही क्षेत्रबाट काँग्रेसका स्वर्णिम वाग्ले र विश्व पौडेलको नाम सिफारिस भएको थियो । तर, वाग्लेले टिकट पाएनन् । नेता पाण्डे सो क्षेत्रका लोकप्रिय नेता हुन् । काँग्रेसबाट परिचित अर्थशास्त्री डा. पौडेल र पूर्वअर्थमन्त्री पाण्डेबीच प्रतिस्पर्धा हुने भएपछि माहोल रोचक हुने देखिएको छ । डा. पौडेल चितवन मात्रै होइन देशभर राम्रो छवि बनाएका व्यक्ती हुन् भने एमालेका नेता पाण्डे लामो क्षेत्रदेखि सो क्षेत्रको विकास निर्माणमा संलग्न छन् । चितवनको विकासमा पाण्डेको भूमीमा पनि ठूलो छ । उनी अर्थमन्त्री हुने समयमा मात्रै होइन अन्य समयमा पनि जतिसक्दो ठूलो योजना तथा बढी बजेट चितवन निर्वाचन क्षेत्र नम्बर एकमा पार्ने कसर गरिरहेका हुन्छन् भने त्यसमा उनी सफल पनि बनेका छन् । राष्ट्रिय योजना आयोगको उपाध्यक्षकै हैसियतमा रहेका डा.पौडेलले पनि चितवनमा विकासका योजना पार्न ठूलो भूमिका खेलेका छन् । हुन त केही दिनअघि पाण्डेले आफ्नो निर्वाचन क्षेत्रमा अमेरिका र बेलायतका अर्थशास्त्रीहरु चुनाव लड्न आएपनि फरक नपर्ने अभिव्यक्ती दिएका थिए । उनले भनेका थिए्, ‘म अहिले पनि आफ्नो निर्वाचनमा मतदाताकै माझमा छु, महिनाको चार पटक निर्वाचन क्षेत्रमा नै हुन्छु, काठमाडौँ हुँदा पनि निरन्तर टेलिफोनमा नागरिकसँग सम्पर्कमा नै रहन्छु,। मैले अघिल्लो निर्वाचनमा गरेका अधिकांश प्रतिबद्धता लगभग पूरा गरेको छु, त्यसैले जोकोहीसँग चुनावी प्रतिस्पर्धा गर्न पनि तयार छु ।’ यो अभिव्यक्तिले पनि उनी आफु जित्नेमा ढुक्क देखिन्छन् । त्यो उनको आफुले गरेको काम र जनताप्रतिको उनको विश्वास पनि हुन सक्छ । तर, गठनबन्धन र त्यसमाथि पनि लोकप्रिय अर्थशास्त्री नै उनीसँग प्रतिस्पर्धा गर्न आउँदा उनीमाथि भारी मात्रै होइन उनको निर्वाचन क्षेत्र नै नखोसिएला भन्न सकिँदैन । गठबन्धन चितवन १ मा पनि कायमै रहेमा पाण्डेलाई चुनाव जित्नमा भने सकस पर्ने देखिएको छ । तर, एमालेलाई राप्रपाले पनि सघाउने आन्तरिक तयारी भइरहेको बुझिएको छ । यसले भने पाण्डेलाई केही सहज हुने देखिन्छ । तर, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष भइसकेका चर्चित अर्थशास्त्री पौडेल पाण्डेका लागि ठूलो जोखिम बन्न सक्छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा समेत सफल र प्रखर अर्थशास्त्रीका रुपमा परिचित पौडेलले नयाँ एजेण्डाका साथ जनतामाझ जान सकेमा एमालेको विरासत चितवन १ बाट खोसिने सम्भावना पनि प्रवल छ । किनकी सो क्षेत्रमा पाण्डे पटक–पटक निर्वाचित भइसकेका छन् । पाण्डे २०७० र २०७४ मा प्रत्यक्षतर्फबाट निर्वाचित भएका हुन् थिए भने वि.स २०६४ मा समानुपातिक तर्फबाट सभासद् बनेका थिए । तर, उनले २०७४ को चुनावमा भने वाम गठबन्धनको सहयोग पाएर जितेको चर्चा पनि अहिले चल्न थालेको छ । जित्ने सम्भावना कसको बढी ? चितवन १ मा राप्ती नगरपालिका, रत्ननगर नगरपालिका र खैरहनी नगरपालिका पर्छन् । गत बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा राप्ती नगरपालिकाको प्रमुखमा एकीकृत समाजवादीका शमशेर लामा निर्वाचित भए । उनले एमालेका प्रतिस्पर्धी गोविन्द प्रसाद कँडेललाई पराजित गरेका थिए । लामाले कुल १२ हजार ५२४ मत प्राप्त गरेर विजयी भएका थिए भने उनका प्रतिस्पर्धीले १२ हजार ५१ ल्याएका थिए । राप्तीका १३ वडामध्ये एमालेले आठ, कांग्रेसले तीन र समाजवादीले दुई वडा जितेको थियो । समाजवादीले राप्तिमा काँग्रेसलाई साथ दिएको खण्डमा काँग्रेसका उम्मेदवारले बढी मत ल्याउने सम्भावना देखिन्छ । २०७४ को स्थानीय तहको चुनावमा भने राप्ति नगरपालिकामा एमालेकी प्रभा बराल विजयी भएकी थिइन् । त्यतिबेला उनले ११ हजार ६१३ मत प्राप्त गरेकी थिइन् । उनीसँग नेपाली कांग्रेसका किरण भुषण ओली पराजित भएका थिए भने उनले ७ हजार २९२ मत प्राप्त गरेका थिए । यस्तै, चितवन क्षेत्र नम्बर एकमै पर्ने रत्ननगर नगरपालिकाको मेयरमा नेपाली कांग्रेस नै विजयी भएको छ । कांग्रेसका प्रल्हाद सापकोटा सो नगरपालिकामा निर्वाचित भएका थिए । उनले २० हजार ७९६ मत प्राप्त गर्दा एमालेका बिमला दुवाडीले जम्मा १२ हजार ७२८ मत प्राप्त गरकी थिइन् । यस नगरपालिमा पनि काँग्रेस नै बलियो देखिन्छ । चितवनकै खैैरहनी नगरपालिकाको मेयरमा पनि नेपाली कांग्रेसकै नेता निर्वाचित भएका थिए । नेपाली कांग्रेसका शशिकुमार खनिया १४ हजार ५४५ मतले विजयी भएका थिए भने एमालेका लालमणि चौधरीले १३ हजार ६९५ मत मात्रै पाएका थिए । यसरी स्थानीय तहको निर्वाचनको मत परिणामलाई हेर्दा चितवनको क्षेत्र नं. १ मा काँग्रेस नै बलियो भएर आएको देखिएको छ । यसले पनि नेता पाण्डेलाई ठूलो चुनौतिसँगसँगै जोखिम पनि देखिन्छ । चितवन १ मा रहेका तीन पालिका अन्तर्गतका ४२ वटा वडा पर्छन् । जसमध्ये २० वटा वडाका अध्यक्ष एमालेले जितेको छ । कांग्रेसले १८, माओवादी केन्द्रले एक, एकीकृत समाजवादीले एक र स्वतन्त्रले दुई वडाका अध्यक्ष जितेका थिए ।

दशैंपछि ३ हजारले बढ्याे सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आइतबार सुन चाँदीको मूल्य बढेको छ । दशैं अघिको तुलनामा दशैंपछि सुनको मूल्य प्रतितोला तीन हजार रूपैयाँले बढेको छ। नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ३ हजार रुपैयाँले र चाँदी ८५ रुपैयाँले बढेको हो । आज बढेको मूल्य अनुसार छापावाल सुन प्रतितोला ९६ हजार रुपैयाँ र चाँदी १ हजार २५५ रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला ९५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महांसघले जनाएको छ ।   अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा महासघंले यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।  

सातौं पटक डडेल्धुराबाट उम्मेदवारी दिँदै प्रधानमन्त्री देउवा

डडेल्धुरा । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज डडेल्धुराबाट उम्मेदवारी दर्ता गराउँदै छन् । उनले प्रतिनिधिसभा सदस्यका लागि आज सातौं पटक उम्मेदवारी दर्ता गराउन लागेका हुन् । प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि प्रधानमन्त्री तथा कांगे्रसका सभापति देउवाले यसअघि जस्तै यसपटक पनि डडेल्धुराबाट नै उम्मेदवारी दिँदै छन् । प्रधानमन्त्री देउवाको तर्फबाट उनकी धर्मपत्नी एवं नेपाली कांग्रेसकी नेत्री डा आरजु राणा देउवाले आज अपराह्न २ बजे मनोनयन दर्ता गराउने नेपाली कांगे्रस डडेल्धुराले जनाएको छ । उम्मेदवारी दर्ताका लागि वारिसनामासहित प्रधानमन्त्री पत्नी डा राणा शनिबार बेलुका नै डडेल्धुरा आइपुगेका छन् । प्रधानमन्त्री देउवा डडेल्धुराबाट विसं २०४८ मा पहिलो पटक प्रतिनिधिसभा सदस्य निर्वाचित भएको थिए । उनी त्यस यताका सबै आमनिर्वाचनहरुमा निर्वाचित हुँदै आएका छन् । उनले प्रतिनिधिसभाका लागि भएको पछिल्लो २०७४ सालकोे निर्वाचनमा डडेल्धुराबाट नै छैटौँ पटक निर्वाचित भएका थिए । विसं २०४८ यताका सबै निर्वाचनमा विजयी भएका देउवा आसन्न निर्वाचनमा पनि डडेल्धुराका जनताको साथ, समर्थन र मायाले आफ्नो इतिहासलाई कायम राख्दै निरन्तरता दिने प्रधानमन्त्री पत्नी डा आरजु राणा देउवाले बताइन् । उनले भूगोलमा मात्र नभएर विकासमा नै पछि परेको सिङ्गो सुदूरपश्चिम क्षेत्रको सामाजिक, आर्थिकलगायत समग्र उन्नयनमा नेपाली कांग्रेसको एक प्रतिनिधिका रुपमा शेरबहादुर देउवाले आफ्नो राजनीतिक जीवनमा पु¥याभएको उल्लेखनीय योगदानको स्मरण गरी उनलाई आगामी निर्वाचनमा पनि यहाँका नागरिकले पहिले जस्तै न्याय गर्नेमा आफू ढुक्क रहेको धारणा राखिन् । यसअघि विसं २०४८, २०५१, २०५६, २०६४, २०७० र २०७४ मा भएका निर्वाचनमा डडेलधुराबाट विजयी देउवा विसं २०६४ मा कञ्चनपुर– ४ र २०७० मा कैलाली– ६ बाट पनि विजयी भएको थिए । उनी विसं २०४८ मा सांसद बनेपछि गृहमन्त्री भएका थिए । सिं २०५१ को मध्यावधि निर्वाचनपछि बनेको मनमोहन अधिकारी नेतृत्वको सरकार अल्पमतमा परेपछि २०५२ सालमा देउवाको नेतृत्वमा नै सरकार गठन भएको थियो । त्यसपछि २०५९, २०६१, २०७४, २०७८ मा गरी उनी पाँच पटक प्रधानमन्त्री भएका छन् । आगामी मङ्सिर ४ गतेको निर्वाचनमा भने देउवालाई हालको सत्ता साझेदार गठबन्धनको पनि समर्थन रहेको छ । देउवासँगै तीन पटक प्रतिस्पर्धा गरेका नेकपा माओवादीका खगराज भट्ट अहिले प्रदेशसभाका लागि गठबन्धनबाटै चुनाव लड्दै छन् । डडेल्धुरा जिल्ला जहिले पनि प्रजातन्त्रका पक्षमा उभिएकाले प्रतिनिधिसभा र प्रदेशसभा गरी तीनवटै क्षेत्रमा अहिले पनि गठबन्दनका नेताले जित हासिल गर्ने कांग्रेसका जिल्ला सभापति भीमबहादुर साउँदले बताए । उनले प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुरामात्र नभएर सिङ्गो सुदूरपश्चिमको विकासमा आफ्नो जीवनकाल खर्चिएकाले उनले उम्मेदवारी दिएपछि यहाँका नागरिकमा अर्काे कुनै विकल्प नहुने धारणा राखे । नेपाली कांग्रेसलगायत सत्ता गठबन्धन दलले उम्मेदवारी दर्ताको समय आज २ बजेका लागि तय गरिएको जनाएका छन् । रासस

उपाध्यक्ष बनेको एक वर्षमै आयोगबाट विश्व पौडेल ‘आउट’ हुँदै, कार्यवाहक उपाध्यक्ष बन्दै गुरुङ

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेलले पदबाट राजीनामा दिने तयारी गरेका छन् । नेपाली काँग्रेसले चितवन क्षेत्र नम्बर १ बाट उनलाई उम्मेदवार बनाएसँगै उनले राजीनामा दिने तयारी गरेका हुन् । उनी आयोगको उपाध्यक्ष बनेको एक वर्षमै राजीनामा दिन लागेका हुन् । गत वर्षको साउनमा उनी आयोगको उपाध्यक्षमा नियुक्त भएका थिए । आयोग स्रोतका अनुसार उनले प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष राजीनामा दिने तयारी गरेका हुन् । ‘उपाध्यक्षज्यूले आयोगमा पनि राजीनमा दिन्छु भनिसक्नु भएको छ, राजीनामा नदिएर उम्मेद्वारको मनोनयन गर्न पदन पाइँदैन, राजीनामाको पत्र देखाएर मात्रै मनोनयन गर्न पाइन्छ, त्यसैले आज नै राजीनामा आउन सक्छ,’ आयोग स्रोतले भन्यो । डा. पौडेलसँग अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को आर्थिक सल्लाहकारको रुपमा काम गरेको अनुभव छ । पौडेल काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका ‘एसोसिएट प्रोफेसर’ थिए । उनीसँग यसअघि एक निजी बैंकमा निर्देशकका रुपमा काम गरेको अनुभव छ । अमेरिकाको युनिभर्सिटी अफ क्लालिफोर्नियाबाट उनले विद्यावारिधि उपाधि प्राप्त गरेका छन् । उनले राजीनामा दिएसँगै वरिष्ठताको आधारमा आयोगका सदस्य दिल बहादुर गुरुङलाई कार्यवाहक उपाध्यक्ष बनाउने तयारी भइरहेको पनि बुझिएको छ ।

व्यवसायी उमेश श्रेष्ठ र रवि लामाछाने भिड्दै

काठमाडाैं । मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट व्यवसायी उमेश श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामाछाने भिड्ने भएका छन ।श्रेष्ठ काँग्रेस र लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट भिड्ने भएका हुन् । यस्तै एमालेकाे तर्फबाट चितवन निर्वाचन क्षेत्र नम्बर २ मा कृष्णभक्त पोखरेल उम्मेदवार बन्ने भएका छन् । प्रधानमन्त्री कार्यालयमा राज्यमन्त्री रहेका श्रेष्ठ र लामिछानेले प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रतिस्पर्धा गर्न टिकट पाएको यो पहिलो हो । आइतबारबाट देशभर प्रत्यक्षतर्फका उम्मेदवार मनोनयनपत्र दर्ता प्रक्रिया सुरु भएको छ । प्रत्यक्षतर्फ देशभरिका एक सय ६५ प्रतिनिधिसभा र तीन सय ३० प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दर्ता प्रक्रिया सुरु भएको हो । उम्मेदवारी दर्ता अहिले बिहान १० बजे सुरु भई अपराह्न ५ बजेसम्म सञ्चालन हुनेछ ।    

डिप्रोक्सले आदर्श लघुवित्तलाई एक्वायर गर्ने, सेयर कारोबार रोक्का

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले आदर्श लघुवित्त वित्तीय संस्थालाई एक्वायर गर्ने भएको छ । जसको लागि संस्थाले गत असोज १४ गते नै प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेको हो । यससँगै दोश्रो बजारमा आदर्श लघुवित्तको सेयर कारोबार रोक्का भएको छ । एक्वायरको प्रकृया शुरु गरेसँगै नेप्सेले असोज २३ गतेदेखि नै आदर्श लघुवित्तको सेयर कारोबार रोक्का गरिदिएको हो । उक्त प्रकृया सम्पन्न भई नयाँ बन्ने संस्थाको नामबाट एकीकृत कारोबार भएपछि मात्रै दोश्रो बजारमा कारोबार खुल्ने छ । हाल डिप्रोक्सको रजिष्टर्ड कार्यालय चितवनको भरतपुरमा रहेको छ । त्यस्तै, आदर्श लघुवित्तको रजिष्टर्ड कार्यालय काभ्रेपलाञ्चोकको बनेपामा रहेको छ । हाल डिप्रोक्सको चुक्ता पुँजी एक अर्ब १५ करोड रुपैयाँ छ । त्यस्तै, आदर्श लघुवित्तको २ करोड ७ लाख रुपैयाँ बराबरको चुक्ता पुँजी छ ।

प्रभु ग्रुपका अध्यक्ष भट्टचन र सहकारी महासंघकी वरिष्ठ उपाध्यक्ष मल्ल एमालेको समानुपातिकमा सिफारिस

काठमाडौं । प्रभु ग्रुपका अध्यक्ष देवी प्रकाश भट्टचन नेकपा एमाले पार्टीको समानुपातिक उम्मेदवारमा सिफारिस भएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी) ले प्रतिनिधि सभा तर्फका लागि समानुपातिक उम्मेदवारमा प्रभु ग्रुपका अध्यक्ष समेत रहेका भट्टचनलई सिफारिस गरेको हो । एमाले पार्टीले उनलाई प्रतिनिधि सभा तर्फको समानुपातिक उम्मेदवारमा आदिवासी जनजाती समूहबाट सिफारिस गरेको हो । यसअघि उनी नेपाली कांग्रेसको संगठन विभाग उपप्रमुख पदमा थिए । उनी ललितपुर जिल्लाबाट सिफारिस भएका हुन् । प्रभु ग्रुपका अध्यक्ष रहेका भट्चनको प्रभु बैंक, प्रभु लाइफ इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, प्रभु क्यापिटल, रेमिट्यान्स, हवाइ सेवा, पानी जहाज र सहकारी लगायतका व्यवसाय संचालन गरिरहेका छन् । यस्तै, नेकपा एमाले पार्टीले नेपाल राष्ट्रिय सहकारी महासंघकी वरिष्ठ उपाध्यक्ष ओम देवी मल्ललाई प्रतिनिधि सभा तर्फको समानुपातिक उम्मेदवारमा सिफारिस गरेको छ । गोरखामा जन्मिएका सहकारी नेता मल्लले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर गरेकी छिन् । भारतको एनसीसीई नयाँ दिल्लीबाट सहकारी शिक्षा र व्यवस्थापनमा डिप्लोमा पूरा गर्ने पहिलो नेपाली सहकारी महिला नेता हुन् । उनीसँग एनसीएफको कार्यकारी समितिमा एक कार्यकालको लागि काम गरेको अनुभव छ । सहकारी क्षेत्रको प्रतिनिधित्व गर्दै देशको नीति निर्माण तहमा काम गर्ने मल्ल पहिलो सांसद हुन् । उनले संविधान निर्माणमा रचनात्मक भूमिका खेलेकी थिइन् भने सहकारीमा महिला सशक्तीकरणका लागि संसदमा आवाज उठाएकी थिइन् ।

पुल नबन्दा हुलाकी सडक सञ्चालनमा अवरोध

गोलबजार । सिरहा–धनुषा–सप्तरी खण्डमा करिब ९० प्रतिशत हुलाकी सडक कालोपत्र भएसँगै त्यस क्षेत्रमा सहरीकरण तीव्ररुपमा हुन थालेको छ । सडकमा कालोपत्र भएपछि प्रत्येक किलोमिटरमा नयाँ चोक निर्माण निर्माण भएको छ भने कतिपय पुरानो बजारले नयाँ स्वरुप लिएका छन् भने कतिपय सुनसान बनेका छन् । सप्तरीमा बोदे बर्साइन बजार, डिमन, पथरगडा, अर्नाहा, चन्ही चौक सिरहमा भगवानपुर, सोनवर्षा, बरयारपट्टी, औरही, सनहैठा, धनुषमा कमला, तिनकोरिया, लगमा, सघरा, औरही, भेललगायतका बजार क्षेत्रमा तीब्र गतिमा विकास भइरहेको छ । सहर विस्तारसँगै सडक क्षेत्रको जग्गाको मूल्य आकासिएको छ । सप्तरीका बलान बिहुल गाउँपालिका–२ चन्ही चौकमा १२ वर्षअघि काट्ठाको एक लाख ५० हजार रुपैयाँ पर्ने जग्गा अहिले कट्ठाको ४० लाख रुपैयाँमा करोबार भइरहेको स्थानीय रामशङ्कर भण्डारीले बताए । यस्तै कमला नगरपालिका वडा–४ सघरा बजार १५ वर्ष अगाडि कट्ठाको एक लाख रुपैयाँमा पाइने जग्गा अहिले ६० लाख रुपैयाँ पर्न थालेको स्थानीय पमेश्वर दासले बताए । विदेह नगरपालिका–६ तिनकौरिया बजारमा पनि १२ वर्षअघि ५० देखि ६० हजार रुपैयाँमा पाइने एक धुर जग्गा अहिले १३ लाख रुपैयाँसम्ममा बिक्री हुन थालेको स्थानीय किशोर मण्डलले जानकारी दिए । मधेसको समृद्धिको संवाहक मानिएको यो सडक सुक्खा मौसममा धुलाम्मे र वर्षात्मा हिल्लाम्मे हुने गर्दथ्यो । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको हुलाकी सडकमा पर्ने बजारको विकास भएसँगै ग्रामीण जनताको जीवनस्तर पनि उकासिएको छ । बजार विस्तारसँगै स्थानीय उपभोक्तालाई किनमेल गर्न सहज भएको छ । किनमेल गर्न लहान जानुपर्ने अवस्थाको अन्त्य भएको भगवानपुर गाउँपालिकाका जयनारायण यादवले बताउँछन् । ‘पहिला–पहिला बजार क्षेत्रमा साँघुरो सडक र फुसको छाप्रो, त्यहीँभित्र स–साना पसल हुन्थ्यो’, बरियारपट्टीका शङ्कर साहले भने, ‘तर अहिले सडक फराकिलोसँगै ठूलठूला पक्की भवन र डिपार्टमेन्ट स्टोरहरु खुलेका छन् ।’ पुल नबन्दा सडक सञ्चालन हुन सकेन सडक कालोपत्र गरिए पनि विभिन्न ठाउँमा बन्नुपर्ने पक्की पुलको निर्माण कार्य सम्पन्न हुन नसक्दा सडक सञ्चालनमा आउन सकेको छैन । सिरहामात्र होइन सप्तरी–धनुषाको ग्रामीण क्षेत्रको विकासमा अहिले सकमा पर्ने पुल बाधक बनेको छ । कमला, गागनलगायत केही नदीमा पुल निर्माणको काम पूरा नहुँदा तीनवटै जिल्लाका ग्रामीण क्षेत्र विकासमा पछि परेको छ । सिरहा र धनुषा जोड्ने कमला नदीमा निर्माणाधीन पुल भत्किएको एक वर्षभन्दा बढी भइसक्दा पनि पुनःनिर्माण भएको छैन । यसले गर्दा अस्थायी पुलमा जोखिमपूर्ण यात्रा गर्न बाध्य हुनु परेको छ । सिरहा सदरमुकामबाट हुलाकी सडक भएर जनकपुरधाम पुग्न करिब ४५ मिनेट लाग्छ । तर, राजमार्ग भएर जनकपुरधाम पुग्न झण्डै तीन घण्टा लाग्छ । राजमार्गको दूरी लामो, गाठीको चाप भएकाले धेरै मानिस जोखिम मोलेरै जनकपुरधाम पुग्न हुलाकी सडक रोज्छन् । कमला नदीमा चार सय ७० मिटर लम्बाइ र ११ मिटर चौडाइ पुल निर्माणका लागि २०६८ सालमै पप्पु लुम्बिनी बिल्डर्सले २४ करोड ९१ लाख रुपैयाँमा ठेक्का लिएको थियो । केही काम गरी सो कम्पनीले काम नगरेपछि सम्झौता रद्द गरी २०७६ असोज १ मा लुम्बिनी विल्डर्स कन्स्ट्रक्सनलाई जिम्मा दिइयो । एक वर्षअघि असारमा पहिलो पुल हस्तान्तरण गर्ने भनी निर्माण कम्पनीले तैयारी गरिरहँदा २०७८ असार १७ गते सामान्य बाढीले खम्बा भासियो र ढलानसमेत खस्यो । सरकारले पुल पुनर्निर्माण गर्न निर्देशन दिए पनि ठेकेदार कम्पनीले वास्ता गरेको छैन । हुलाकी सडक आयोजना जनकपुरधामका प्रमुख इञ्जिनीयर कृष्णा महतो भन्छन्, ‘ठेक्का लिएकै कम्पनीले पुनःनिर्माण गर्छ । वर्षायाममा अर्को डिजाइन तयार पार्ने र हिउँदबाट काम सुरु गर्ने भनेको थियो । अब काम सुरू हुन्छ ।’ यस्तै सिरहाको औरही गाउँपालिका–५ गागन नदीमा हिराचन रोशन कन्स्ट्रक्सन प्रालिमार्फत रोशन कन्ट्रक्सनले पुल निर्माणको काम गर्दै आएको छ । तीन वर्षभित्र सकिने गरी २०७६ सालमा सम्झौता भएको सो पुल निर्माणको काम कछुवा गतिमा बढ्दा स्थानीयवासी निराश बनेका छन् । सिरहा जिल्लामा बलान पुलदेखि कमला पुल २९।८८ किलोमिटर, सप्तरी जिल्लामा कञ्चनरुपदेखि बलान पुलसम्म ३२ किलोमिटर, धनुषा जिल्लामा कमला पुलदेखि जनकपुरधामसम्म २७ किलोमिटर हुलाकी सडक खण्ड पर्दछ । राष्ट्रिय महत्वको यस आयोजना लामो समयसम्म पूर्ण नहुँदा तराई–मधेस क्षेत्रको आर्थिक विकासले गति लिन सकेको छैन । रासस