विकासन्युज

ओलीले गरे झापा–५ बाट मनोनयन दर्ता

काठमाडौं । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि झापा ५ बाट मनोनयन दर्ता गरेका छन् । अध्यक्ष ओलीले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि झापा–५ बाट मनोनयन दर्ता गरेका हुन् । उनी मनोनयन दर्ताका लागि पार्टीका नेता तथा कार्यकर्ताहरुका साथमा दमक नगरपालिकामा रहेको झापा क्षेत्र नं. ५ को निर्वाचन कार्यालयमा पुगेका थिए । मनोनयन दर्ता गराएसँगै सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफूले उम्मेदवारी दर्ता गराएको र साथ सहयोगको अपेक्षा राखेको बताए । निर्वाचन आयोगले आज साँझ ५ बजे सम्मका लागि प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गर्न समय दिएको छ । देशभरका निर्वाचन क्षेत्रहरुमा उम्मेदवारहरुले मनोनयन दर्ता गर्ने क्रम जारी छ ।

वर्षाका कारण सिड्नीका बासिन्दालाई सुरक्षित स्थानमा जान चेतावनी

सिड्नी । केही दिनको भारी वर्षापछि नदीमा पानीको बहाव बढेपछि अस्ट्रेलियाको आपतकालीन सेवाले आइतबार सिड्नी र त्यसभन्दा बाहिरका बस्तीका लागि उद्धार आदेश जारी गरेको छ । अधिकारीहरुले पूर्वी राज्य न्यू साउथ वेल्समा २४ घण्टामा २८ वटा समूहलाई बाढीबाट उद्धार गरिएको जानकारी दिएका छन् । न्यू साउथ वेल्सको आपतकालीन सेवाका आयुक्त कार्लीन योर्कले आइतबार पत्रकार सम्मेलनमा भने, ‘हाम्रा सडकहरूमा बाढीको अत्यधिक खतरा छ । नदीहरु अझै बढिरहेका छन् र यसका कारण धेरै आकस्मिक सेवाको जरूरी देखिएको छ ।’ सिड्नीको उत्तरपश्चिमी किनारा र ‘न्यू साउथ वेल्स’का अन्य भागका तल्लो भेगका लागि एक दर्जन भन्दा बढी बाढी मुक्त गर्ने आदेश जारी गरिएको आपतकालीन सेवाले जनाएको छ । राज्यका अन्य २० वटा जोखिममा रहेका क्षेत्रहरूमा पनि चेतावनी जारी गरिएको छ । उक्त क्षेत्रमा बर्षाका कारण नदीहरू बढेका र डुवानको समस्या पनि देखिएकोले बाढीको जोखिम क्षेत्रका मानिसहरूलाई सुरक्षितस्थलतर्फ जान भनिएको छ । राज्यको मौसम विज्ञान विभागका अनुसार आइतबार वर्षामा कमी आएको छ तर अझै पनि न्यू साउथ वेल्स तटको भित्री र मध्य भागका नदीहरूमा बाढी कमी आएको छैन । सन् १८५८ मा रेकर्ड राख्न सुरु भएयता सिड्नी शहरमा सबैभन्दा बढी वर्षा भएको अष्ट्रेलियाली मौसमसम्बन्धी निकायहरूले बताएका छन् । गत मार्चमा अस्ट्रेलियाको पूर्वी तट क्विन्सल्याण्ड र न्यू साउथ वेल्समा आएको भीषण आँधीबेहरीपछि आएको बाढीका कारण २० जनाभन्दा बढीको मृत्यु भएको थियो । गत जुलाईमा आएको बाढीका कारण सिड्नीका दशौँ हजार बासिन्दालाई अन्यत्र जान आदेश दिइएको थियो । रासस

रामेछापमा बस दुर्घटना, १३ यात्रु घाइते

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका–३ सित्खा बजार नजिकैको चहरी खोलामा आज बस दुर्घटना भएको छ । दुर्घटनामा १३ यात्रु घाइते भएका छन् । दोरम्बाबाट काठमाडौँका लागि छुटेको बा३ख ४०४८ नम्बरको बस दुर्घटना भएको हो । तीव्र गतिका कारण बस दुर्घटनामा परेको प्रत्यक्षदर्शीले बताएका छन् । यात्रु दसैँको टिका लगाएर फर्कँदै थिए । बस रिजर्भ गरेर ल्याइएको र सडकमा अनियन्त्रीत भइ दुर्घटना भएको प्रहरी नायव उपरीक्षक राजकुमार थिङले जानकारी दिए । बसमा करिब ३० यात्रु सवार थिए । घाइते सबैलाई प्रहरी र स्थानीयले उद्धार गरी उपचारका लागि काभे्रपलाञ्चोकको धुलिखेल अस्पताल लगिएको प्रहरीले जनाएको छ । रासस

कञ्चनपुरको महेन्द्रनगर जलमग्न

दोधारा चाँदनी । तीन दिनदेखि लगातार परेको वर्षाका कारण कञ्चनपुरको महेन्द्रनगर बजार तथा त्यस आसपासका बस्ती जलमग्न भएका छन् । महेन्द्रनगरको मुख्य बजार मदन चोक क्षेत्र जलमग्न छ । बजार क्षेत्र जलमग्न भएपछि व्यवसायी समस्यामा परेका छन् । ढल निकास र गुरुयोजनाविपरीत भइरहेको बसोबासले महेन्द्रनगरको मुख्य बजार सामान्य झरीमैै डुबानमा पर्न थालेको यहाँका व्यवसायी बताउँछन् । यहाँका व्यवसायी यज्ञराज जोशीले पसल अगाडि जलमग्न हुँदा व्यवसाय सञ्चालनमा कठिनाइ भएको बताए । ‘ढल निकास नहुँदा मुख्य बजार नै डुबानमा पर्न थालेको छ’, उनले भने, ‘पालिकाले ढल व्यवस्थापनमा ध्यान दिन जरुरी छ ।’ भीमदत्त नगरपालिकाका प्रवक्ता महेन्द्र खड्काले पछिल्लो समय खोलानाला अतिक्रमण हुन थालेपछि बजार डुबानमा पर्न थालेको बताए । उनले एशियाली विकास बैंक एडिबीको सहुलियत ऋण सहयोगमा महेन्द्रनगर बजारलाई आधुनिक सहर बनाउने योजना निमार्णका क्रममा रहेकाले पनि बजार क्षेत्रमा डुबानमा परेको बताए । ‘व्यवस्थित ढलसहितको आधुनिक सहर बनाउने योजनाअन्तर्गत पहिलो चरणको काम सुरु भएको छ’, उनले भने, ‘निमार्ण कार्य सम्पन्न भएपछि यो समस्याको समाधान हुन्छ ।’ वर्षाले यहाँका बस्ती जलमग्न भए पनि अहिलेसम्म कुनै घटना नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ‘अहिलेसम्म ठूलो समस्या भएको सूचना आएको छैन ।’ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चक्र शाहले भने, ‘निरन्तर वर्षा भइरहेको छ, सबैले सचेत भएर बस्न जरुरी छ ।’ रासस

दशैंपछिको सेयर बजारमा छायो हरियाली, कारोबारमा नबिलको अग्रता

काठमाडौ. । दशैंको बिदा पछि खुलेको सेयर बजारमा हरियाली छाएको छ । करिब एक सातापछि आइतबार खुलेको बजारमा नेप्से परिसूचक कारोबार खुलेदेखि नै उकालो लागिरहेको छ । यो समाचार तयार पार्दा (करिब १ बजे) सम्म परिसूचक २८.४३ अंकले उकालो लागिसकेको छ । जुन पछिल्लो कारोबारको तुलनामा १.५३ प्रतिशतले बढी हो । यो अवधिसम्म नबिल बैंकको सर्वाधिक कारोबार भइरहेको छ । हालसम्म बैंकको १ करोड ९९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भइसकेको छ । बैंकको सेयरसँगै सेयर मूल्यपनि बढेको छ । अघिल्लो दिनको तुलनामा बैंकको सेयर मूल्य २१ रुपैयाँले बढेर प्रतिकित्ता ८०१ रुपैयाँ नाघिसकेको छ । त्यस्तै, सबैभन्दा बढी सेयर मूल्य बढ्नेमा सबैको लघुवित्त वित्तीय संस्था रहेको छ । संस्थाको सेयर मूल्य ७.६४ प्रतिशतले बढेर प्रतिकित्ता १०२८ रुपैयाँ पुगेको छ । बजारमा म्युचुअल फण्ड बाहेक कारोबारमा आएका सबै समूह हरिया देखिएका छन् । यो समाचार तयार पर्दासम्म म्युचुअल फण्ड समूह सामान्य अर्थात ०.०१ अंकले घटेको छ ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पौडेलले दिए राजीनामा

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेलले राजीनामा दिएका छन् । पौडेलले मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिन आयोगको उपाध्यक्ष पदबाट राजीनामा दिए । २० गतेदेखि लागू हुने गरी प्रधानमन्त्री शेर बहादुर देउवा समक्ष राजीनामा दिएको बताए । ‘चुनावमा उम्मेदवारका रुपमा उठेपछि सार्वजनिक पदबाट राजीनामा दिनु पर्ने प्रावधान छ, सोही अनुसार २० गतेदेखि लागू हुने गरी राजीनामा दिएको हुँ,’ पौडेलले विकासन्युजसँग भने । गत वर्षको साउनमा उनी आयोगको उपाध्यक्षमा नियुक्त भएका थिए ।  डा. पौडेलसँग अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को आर्थिक सल्लाहकारको रुपमा काम गरेको अनुभव छ । पौडेल काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका ‘एसोसिएट प्रोफेसर’ थिए । उनीसँग यसअघि एक निजी बैंकमा निर्देशकका रुपमा काम गरेको अनुभव छ । अमेरिकाको युनिभर्सिटी अफ क्लालिफोर्नियाबाट उनले विद्यावारिधि उपाधि प्राप्त गरेका छन् । उनले राजीनामा दिएसँगै वरिष्ठताको आधारमा आयोगका सदस्य दिल बहादुर गुरुङलाई कार्यवाहक उपाध्यक्ष बनाउने तयारी भइरहेको पनि बुझिएको छ । पौडेल चितवन एक नम्बर क्षेत्रमा काँग्रेसबाट चुनाव लड्दैछन् ।  उनको प्रतिस्पर्धीको रुपमा नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे रहेका छन् । सम्बन्धित सामग्री :  उपाध्यक्ष बनेको एक वर्षमै आयोगबाट विश्व पौडेल ‘आउट’ हुँदै, कार्यवाहक उपाध्यक्ष बन्दै गुरुङ

‘प्रेमगीत ३’ ले दुई सातामा कमायाे ३४ करोड १३ लाख रुपैयाँ

काठमाडौं । ‘प्रेमगीत ३’ ले दुई सातामा ३४ करोड १३ लाख नेपाली रुपैयाँ ग्रस कमाइ गरेको छ ।निर्माण कम्पनी आशुसेन फिल्म्सका अनुसार प्रेमगीत ३’ ले दुई सातामा विश्वव्यापी रुपमा ३४ करोड १३ लाख नेपाली रुपैयाँ ग्रस कमाइ गरेको हो । फिल्मले नेपालबाट मात्रै ११ करोड ८१ लाख रुपैयाँ र भारतबाट ५ करोड ३२ लाख भारु कमाएको छ । यस्तै फिल्मले नेपाल र भारत बाहेक अन्य देशहरुबाट दुई सातामा ९ करोड १४ लाख भारु कमाएको छ । सन्तोष सेन र छेतेन गुरुङ निर्देशित यो फिल्ममा प्रदीप खड्का र क्रिष्टिना गुरुङ मुख्य कलाकारको रुपमा रहेका छन् । हिन्दी र नेपाली संस्करणमा रहेको यस फिल्मले सुरुवाती चरण देखि नै निकै चर्चा कमाइरहेको छ ।

व्यावसायिक भेडापालनमा युवाको बढ्दो आकर्षण, १० लाख रुपैयाँ भन्दा बढी वार्षिक आम्दानी

खोटाङ । केपिलासगढी गाउँपालिका–१ फेदीका लक्ष्मण साम्पाङ ‘समिप’ले सुनसरीको धरानस्थित महेन्द्र क्याम्पस धरानबाट स्नातकोत्तर उत्तीर्ण गरेका छन् । राजनीति शास्त्रमा स्नातकोत्तर उत्तीर्ण गरेका लक्ष्मण अहिले आफ्नै गाउँमा व्यावसायिक भेडापालनमा सक्रिय छन् । तीन वर्षअघि आधिकारिकरुपमा व्यावसायिक फार्म मुन्धुम भेडापालन फार्म दर्ता गरेर भेडापालन शुरु गरेका लक्ष्मणको फार्ममा अहिले २५० वटा भेडा छन् । २० लाख रुपैयाँमा एक सय ८० वटा भेडाको मल्ला खरिद गरेर व्यावसायिक भेडापालन सुरु गरेका उनको फार्मबाट वार्षिक आम्दानी १० लाख रुपैयाँ भन्दा बढी हुने गरेको बताइएको छ । विसं २०५८ देखि राजनीतिमासमेत सक्रिय रहेका लक्ष्मण अहिले ३७ वर्षको भए । नेकपा माओवादी केन्द्रको भ्रातृ सङ्गठन अखिल क्रान्तिकारीको जिल्ला तहदेखि केन्द्रीय सदस्यसम्म भएका लक्ष्मण अहिले नेकपा माओवादी केन्द्र केपिलासगढी गाउँपालिका कार्यसमितिका सचिव पनि छन् । ‘राजनीतिलाई पेशा हैन, सेवा गर्ने माध्यम बनाउनुपर्छ’, भन्ने सन्देश युवा पुस्तालाई दिनुहुने लक्ष्मणलाई आफ्नै दुई भाइलेसमेत सहयोग गर्दै आएका छन् । बुबा तीर्थमणि र आमा गोरी साम्पाङका जेठा छोरा लक्ष्मणलाई २८ वर्षीय भाइ किशोर २२ वर्षीय भैराज साम्पाङले सहयोग गर्दै आएका हुन् । किशोरले एसएलसी र भैराजले एसइई उत्तीर्ण गरेका छन् । भेडापालनबाट राम्रो आम्दानी हुने देखेपछि पछिल्लो समय युवा पुस्तामा विदेश जानुभन्दा यहीँ बसेर व्यवसाय गर्ने सोच बढ्न थालेको छ । उनीहरु तीन दाजुभाइसँगै फेदीकै स्थानीयवासी २५ वर्षीय तीलबिक्रम राई र १९ वर्षीय कल्याण राईसमेत पछिल्लो समय उक्त फार्ममा आवद्ध भएर व्यावसायिक भेडापालनमा लागेका छन् । उनीहरु पाँचैजना अहिले पालैपालो भेडीचोकमा बसेर आफ्ना भेडाको हेरचाहमा जुट्ने गरेका छन् । उनीहरुको भेडीचोक हिउँदको समयमा बेँसी क्षेत्रको रावा फाँट तथा स्थानीय बासिन्दाको खेतबारी र वर्षाको समयमा लेकाली क्षेत्र मयुङका फाँटहरुमा चरनका लागि पु¥याउने गरिएको छ । भेडीचोक बेँसी झरेको समयमा आफ्नो खेतबारी मल्नका लागि भेडीचोक राख्न स्थानीय बासिन्दाले तछाडमछाड गर्ने गर्दछन् । भेडाको मल अरुको भन्दा कडा र मलिलो हुने भएकाले लेकाली क्षेत्रमा राखिएका भेडीचोकहरुमा पुगेर स्थानीय बासिन्दाले भेडाको बर्कुलासमेत ल्याएर आफ्नो खेतबारीमा लगाउने गरेका छन् । भेडापालनका लागि जिल्लाको वातावरण उपयुक्त तथा पर्याप्त मात्रामा घाँसे मैदानहरु रहेकाले आधिकारिकरुपमा फार्म दर्ता गरेर व्यावसायिक भेडापालन शुरु गरिएको लक्ष्मण बताउँछन् । ‘भेडाको साँढ, पाठापाठी, ऊन र घ्यू चोकबाटै बिक्री हुन्छ । अन्य पशुपालनभन्दा भेडा पाल्न सजिलो र छिटो समयमै राम्रो आम्दानीसमेत दिन्छ’, लक्ष्मणले भने, ‘श्रम अर्थात व्यवसाय गर्न कुनै पनि सजिलो भने छैन । श्रमलाई सम्मान र आफूले गरेको पेशा तथा व्यवसायमा आत्मा सन्तुष्टि लिन सक्नुपर्छ ।’ स्नातकोत्तर गरेको छोरा सरकारी जागिरे होस् भन्ने बुबाआमा चाहना रहेपनि उनीहरुको चाहना विपरीत आफू भेडापालन व्यवसायमा लागेको लक्ष्मणले बताए । ‘सानै उमेरदेखि राजनीतिमा लागियो । म स्वतन्त्रतामा रमाउने मान्छे । सरकारी जागिरमा स्वतन्त्रता हुँदैन’, उनले भने । अहिले धेरै व्यक्तिले राजनीतिलाई पेशा बनाएकामा असन्ुतष्टी जनाउँदै उनी भन्छन्., ‘राजनीति पेशा हैन, सेवा गर्ने माध्यम हो । सेवा गर्नलाई आर्थिक अवस्था राम्रो हुनुपर्छ । कुनै पनि व्यक्तिको आर्थिक आम्दानी राम्रो नभई राजनीति सम्भव छैन । राजनीतिलाई अगाडि बढाउन जो सुकैको पनि आम्दानी स्रोत हुनैपर्छ । भेडापालन व्यवसायबाट आएको आम्दानी घर खर्च र राजनीतिमा लगानी गर्दै आएको छु ।’ जिल्लामा एउटा भेडाको साँढ ५० हजार रुपैयाँसम्म, मासु प्रतिकेजी आठ सय रुपैयाँ, ऊन प्रतिकेजी पाँच सय रुपैयाँसम्म र घ्यू प्रतिकुरुवा चार हजार रुपैयाँ सम्ममा बिक्री हुने गरेको छ । जिल्लामा उत्पादित भेडाको साँढ, ऊनबाट बनेका विभिन्न प्रकारका राडीपाखी र घ्यू जिल्ला बाहिरसमेत निर्यात हुने गरेको छ । भेडाको घ्यू औषधिजन्य प्रयोजनमा समेत उपयोग गर्ने गरिन्छ । फेदीकै पृथीराज राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका प्रवीण गुरुङ, सोही नगरपालिका–१० खार्मीका शशिकुमार राई, वडा नं १२ जापलाका इन्द्रमान राई, वडा नं १३ नुनथलाका गोपाल राईलगायतका युवाले पनि जिल्लामा व्यावसायिकरुपमा भेडापालन सुरु गरेका छन् । खार्मीका ३६ वर्षीय शशिकुमारले वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देश पुगेर पाँच वर्षपछि गाउँ फर्किएपछि व्यावसायिकरुपमा भेडापालन सुरु गरेका हुन् । विदेशमा अरुको खटनमा बसेर श्रम गर्नुभन्दा आफ्नै देशमा स्वतन्त्रतापूर्वक परिश्रम गर्ने सोचले विदेशबाट फर्किएर आएपछि भेडापालन व्यवसाय सुरु गरेको शशिकुमारले बताए । ‘अरुको देशमा जत्तिको दिनरात नभनी खट्ने हो भने, आफ्नै देशमा पनि राम्रो आम्दानी गर्न सकिन्छ’, उनले भने, ‘विदेशमा सिकेको सीप तथा समयको महत्वलाई व्यवहारमा उतार्न आफ्नै देशमा आएर भेडापालन व्यवसाय सुरु गरेको हुँ । आफ्नो देशमा स्वतन्त्रतापूर्वक आफ्नो अनुकूलमा श्रम गर्न पाउँदा गर्व लागेको छ । सोचेभन्दा आम्दानी पनि बढी नै भइरहेको छ ।’ जिल्लामा भेडापालन व्यवसाय सङ्कटमा पर्दै गएको अवस्थामा पछिल्लो समय युवा पुस्ताले यस व्यवसायलाई व्यावसायिक रुप दिन थालेपछि आशा जागेको छ । परम्परागत प्रणालीमा पालिँदै आइएको भेडापालन व्यवसायलाई युवापुस्ताले आधुनिक रुप दिएका छन् । उनीहरुले भेडाका लागि भेडीचोक .भेडा तथा आफू बस्ने ठाउँ सुधार, भेडाका लागि आवश्यक औषधि उपचारको व्यवस्था, नश्ल सुधार उन्नत जातका पाठापाठी उत्पादन गर्न अपनाइने विधि तथा भेडाको बीमासमेत गर्ने गरेका छन् । यतिमात्र नभई उनीहरुले व्यावसायिक भेडापालन गर्दा अपनाउनुपर्ने विधि तथा सावधानीलगायतका विषयमा विभिन्न ठाउँ पुगेर विज्ञबाट तालिमसमेत लिएका छन् । जिल्लामा यसअघिसम्म गुरुङ समुदायले मात्र व्यावसायिकरुपमा भेडापालन गर्दै आएकामा अहिले सबै जातजातिले पाल्न थालेका छन् । थोरै सङ्ख्यामा रहेको गुरुङ समुदायका युवा पुस्ता वैदेशिक रोजगारीको सिलसिलामा विदेश पलायन हुनुका साथै बुढापाकाहरुको हातखुट्टा चल्न छाडेपछि भेडापालन व्यवसाय सङ्कटमा पर्दै गएको थियो । चरन क्षेत्रको अभावका कारण अधिकांशले भेडापालन व्यवसाय छाडेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका कृष्ण गुरुङले बताए । “हाम्रा पुर्खाहरुले लेकाली क्षेत्रको हिमालपारीसम्म तथा उदयपुरको चारकोसे झाडीसम्म भेडीचोक पु¥याउने गर्थे”, कालिका मावि नेर्पाका शिक्षकसमेत रहनुभएका गुरुङले भने, ‘पछिल्लो समय सामुदायिक वन तथा राष्ट्रिय निकुञ्जले चरन क्षेत्र प्रतिबन्ध गरेको छ । चरन अभावकै कारण अधिकांशले आफ्नो पुख्र्यौली पेशा छाड्दै गएका छन् । पछिल्लो समय आफ्नो संस्कार जोगाउनका लागि मात्र एक/दुई वटा भेडा पाल्ने गरिएको छ ।’ व्यावसायिक भेडापालनका लागि जिल्लाका मयुङ, टेम्के, सेल्मे, रुपाकोट, मेरुङ, रावाढाप, साप्सुढाप, गर्जुरेढाप, मुडे, तावाभञ्ज्याङ, खिदिमाको माथिल्लो भाग, कपासेभञ्ज्याङ लगायतका ठाउँहरु उपयुक्त मानिन्छन् । ती ठाउँहरु जिल्लाको धार्मिक तथा पर्यटकीय स्थलसमेत भएकाले त्यस क्षेत्रमा पालिएका भेडाका बथानहरु त्यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको माध्यमसमेत बन्ने गरेको छ । पर्यटकीयस्थलका चरण क्षेत्रहरुमा चर्दै गरेका भेडाका बथानले आन्तरिक तथा बाह्य पर्यटकको मनै लोभ्याउने गर्दछ । भेडीचोकमा हुर्कँदै गरेका भेडाका साना पाठापाठी खेलाउन पाउँदा जो कोहीको मन फुरुङ्ग हुने गर्छ । व्यावसायिक भेडापालनमा लागेका जिल्लाका कृषकले आफूहरुको व्यवसायलाई प्रवद्र्धन गर्न अहिलेसम्म राज्यको कुनै चासो नरहेको बताएका छन् । उनीहरुले आफूहरुको भेडापालन व्यवसायका लागि बीमामा छुट, चरनका लागि खर्क भेडा चराउने ठाउँमा तिर्दै आएको खर्चरी शुल्कमा छुट तथा औषधि उपचारमा राज्यको सहयोग आवश्यक रहेको बताएका छन् । व्यावसायिक पशुपालन तथा कृषि व्यवसायमा लागेका युवालाई प्रोत्साहन गर्न जिल्लाका दशवटै स्थानीय तहले चालू आर्थिक वर्षमा नीति तथा कार्यक्रमसमेत ल्याएका छन् । जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह १५ वडा रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले पकेट क्षेत्र नै निर्धारण गरेर कृषि व्यवसाय तथा पशुपालनका क्षेत्रमा लगानी गर्ने तयारी गरेको छ । लेकाली भेगका स्थानीय बासिन्दाका लागि भेडा, खसीबाख्रा, गाईभैँसी लगायतका पशुपालन, कछाडका लागि तरकारी तथा फलफूल र बेँसी क्षेत्रका स्थानीय बासिन्दाका लागि अन्नबाली उत्पादनमा आवश्यक सहयोग गर्नेगरी पकेट क्षेत्र निर्धारण गरिएको यस नगरपालिकाका उपप्रमुख विशन राईले बताए । ‘नगरपालिकालाई हरेक क्षेत्रमा आत्मनिर्भर बनाउन चालु आर्थिक वर्षबाटै नितरन्तरता दिने गरी नगरसभाबाट नीति तथा कार्यक्रम पारित गरेका छौँ’, उनले भने, ‘रोजगारीको सिलसिलामा विदेश पलायन हुने युवा पुस्तालाई पशुपालन तथा कृषि उपज उत्पादनमा लगाएर गाउँमै रोजगारी सिर्जना गर्ने नगरपालिकाको लक्ष्य रहेको छ । यो नीति तथा कार्यक्रम चालु आर्थिक वर्षबाटै कार्यान्वयन हुनेछ ।’ कृषि तथा पशुपालन पकेट क्षेत्र विकासका लागि नगरपालिकाबाट चालु आर्थिक वर्षमा खर्च गर्ने गरी एक करोड ७० लाख रुपैयाँ बजेट विनियोजन गरिएको जनाइएको छ । नगरमा उत्पादित कृषिउपज तथा मासु र दूधजन्य पदार्थ बाहिरी जिल्लासमेत निर्यात गर्ने नगरपालिकाले पारित गरेको नीति तथा कार्यक्रममा उल्लेख छ । रासस