काठमाडौं । प्रभु ग्रुपका अध्यक्ष देवी प्रकाश भट्टचन नेकपा एमाले पार्टीको समानुपातिक उम्मेदवारमा सिफारिस भएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी) ले प्रतिनिधि सभा तर्फका लागि समानुपातिक उम्मेदवारमा प्रभु ग्रुपका अध्यक्ष समेत रहेका भट्टचनलई सिफारिस गरेको हो ।
एमाले पार्टीले उनलाई प्रतिनिधि सभा तर्फको समानुपातिक उम्मेदवारमा आदिवासी जनजाती समूहबाट सिफारिस गरेको हो । यसअघि उनी नेपाली कांग्रेसको संगठन विभाग उपप्रमुख पदमा थिए । उनी ललितपुर जिल्लाबाट सिफारिस भएका हुन् ।
प्रभु ग्रुपका अध्यक्ष रहेका भट्चनको प्रभु बैंक, प्रभु लाइफ इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, प्रभु क्यापिटल, रेमिट्यान्स, हवाइ सेवा, पानी जहाज र सहकारी लगायतका व्यवसाय संचालन गरिरहेका छन् ।
यस्तै, नेकपा एमाले पार्टीले नेपाल राष्ट्रिय सहकारी महासंघकी वरिष्ठ उपाध्यक्ष ओम देवी मल्ललाई प्रतिनिधि सभा तर्फको समानुपातिक उम्मेदवारमा सिफारिस गरेको छ । गोरखामा जन्मिएका सहकारी नेता मल्लले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर गरेकी छिन् । भारतको एनसीसीई नयाँ दिल्लीबाट सहकारी शिक्षा र व्यवस्थापनमा डिप्लोमा पूरा गर्ने पहिलो नेपाली सहकारी महिला नेता हुन् । उनीसँग एनसीएफको कार्यकारी समितिमा एक कार्यकालको लागि काम गरेको अनुभव छ ।
सहकारी क्षेत्रको प्रतिनिधित्व गर्दै देशको नीति निर्माण तहमा काम गर्ने मल्ल पहिलो सांसद हुन् । उनले संविधान निर्माणमा रचनात्मक भूमिका खेलेकी थिइन् भने सहकारीमा महिला सशक्तीकरणका लागि संसदमा आवाज उठाएकी थिइन् ।