यी हुन् बाँकेमा जसपाका उम्मेदवार
बाँके । जनता समाजवादी पार्टीले बाँकेका सबै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार खडा गरेको छ । ३ प्रतिनिधि सभा र ६ प्रदेश सभामा जनता समाजवादी पार्टीले एकल उम्मेदवारी दिएको हो । अन्य ठाउँमा गठबन्धन भए पनि बाँकेमा जनता समाजवादी पार्टी एक्लै चुनावी मैदानमा छ । बाँके क्षेत्र नं १ प्रतिनिधि सभामा जसपाबाट रामकुमार यादव उम्मेदवार बनेका छन्। त्यस्तै निर्वाचन क्षेत्र नं १ (क) बाट अम्मर बहादुर खड्काले उम्मेदवारी दिएका छन् । उनी माओवादी केन्द्र त्यागेर आजै जसपा प्रवेश गरेका हुन् । त्यस्तै क्षेत्र नं १ को ९ख० बाट लालबहादुर शाह उम्मेदवार बनेका छन् । प्रतिनिधि सभा क्षेत्र नं २ मा मोहम्मद इश्तियाक राईले उम्मेदवारी दर्ता गराएका छन्। २ को (क) बाट भण्डारी लाल यादव र ९ख० बाट आदेश कुमार अग्रवालको उम्मेदवारी परेको छ। अग्रवाल आजैमात्र माओवादी केन्द्र त्यागेर जसपा प्रवेश गरेका हुन्। त्यस्तै, प्रतिनिधि सभा क्षेत्र नं ३ मा नोयन्द्र धितालको उम्मेदवारी परेको छ । एमालेले टिकट वितरणमा अन्याय गरेको भन्दै धिताल जसपा प्रवेश गरेर निर्वाचन लड्न लागेका हुन् । प्रतिनिधि सभा क्षेत्र नं ३ को प्रदेश सभा (क) बाट गयासुद्दिन खान उम्मेदवार छन् भने (ख) बाट विजय कुमार पाठकले उम्मेदवारी दर्ता गरेका छन् ।
काठमाडौं क्षेत्र ८ मा पर्यटनमन्त्री श्रेष्ठद्वारा उम्मेदवारी मनोनयन दर्ता
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौं क्षेत्र ८ मा उम्मेदवारी दर्ता गराएका छन् । नेकपा (एकीकृत समाजवादी) का सचिवसमेत रहेका श्रेष्ठले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा सत्तारुढ गठबन्धनको तर्फबाट उम्मेदवारी दर्ता गराएका हुन् । उनी वि.सं. २०७४ को निर्वाचनमा नेकपा (एमाले) बाट सोही निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए ।
माओवादी केन्द्रलाई ठूलो झट्का, प्रभावशाली नेता जसपाबाट उम्मेदवार
बाँके । नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता तथा कार्यकर्ताहरू जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् । माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् मुस्लिम मुक्ति मोर्चाका अध्यक्ष अतहर हुसेन फारुकी र प्रदेश कमिटी सदस्य आदेश अग्रवालसहितका नेता, कार्यकर्ता जनता समाजवादी पार्टीमा प्रवेश गरेका हुन् । अग्रवाल जनता समाजवादी पार्टीबाट बाँके निर्वाचन क्षेत्र नं २ (ख) का लागि उम्मेदवार पनि बनेका छन्। अग्रवाल उद्योग वाणिज्य संघ बाँकेका उपाध्यक्ष पनि हुन् । व्यवसायीहरूमाझ लोकप्रिय रहेका अग्रवालको पार्टी प्रवेशसँगै जनता समाजवादी पार्टीबाट प्रतिनिधि सभा क्षेत्र नं २ बाँकेका उम्मेदवार रहेका मोहम्मद इश्तियाक राई थप बलियो भएका छन् । त्यस्तै माओवादी निकट मुस्लिम समुदायको नेतृत्व गरिरहेका फारुकीको पार्टी प्रवेशले नेकपा माओवादी केन्द्रलाई ठूलो झट्का लागेको छ । प्रदेश सभा सदस्यको टिकट दिने वाचा माओवादी केन्द्रले अन्तिम समयमा आएर तोडेपछि अग्रवाल टिकट सुरक्षित गर्दै जसपा प्रवेश गरेका हुन् । उता माओवादी केन्द्रका युवा नेता अम्मर बहादुर खड्काले पनि पार्टी परित्याग गरी जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् । २०७४ सालको निर्वाचनमा अन्तिम समयमा आएर टिकट नपाएका खड्का माओवादीबाट दुई निर्वाचन क्षेत्रबाट सिफारिस भएका थिए। तर फेरि पनि अन्तिम समयमा आएर टिकट खोसिएपछि उनी जनता समाजवादी पार्टी प्रवेश गरेर निर्वाचन लड्न लागेका हुन् । खड्का जनता समाजवादी पार्टीबाट क्षेत्र नं १ (क) बाट उम्मेदवार बनेका छन् । यसैगरी माओवादी केन्द्रको मुस्लिम मुक्ति मोर्चाका केन्द्रीय सदस्य बाबु हलुवाई (मोहम्मद सलिम), पूर्व वडाध्यक्ष जुम्मन खाँ, माओवादी केन्द्रका स्थानीय नेताहरू सरिक सल्मानी, रसिद कसगर, मोहम्मद रहिस हल्वाइ, मोहम्मद जुनेद कादरी, मोहम्मद अली सिद्दिकी, नवाज इद्रिसी, पंकज कुमार गुप्ता, सेराज सल्मानी पनि जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् । त्यस्तै एमाले बाँकेको युवा संघ जिल्ला सहसंयोजक नोयन्द्र धिताल, एमाले जिल्ला कमिटी सदस्य मोहन कुमार वली जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन्। राप्रपाबाट सोनु हलुवाइ र मोहम्मद सलिम हलुवाई पनि जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् । सबैलाई जनता समाजवादी पार्टीका नेता एवम् प्रतिनिधि सभा क्षेत्र नं २ बाँकेका उम्मेदवार मोहम्मद इश्तियाक राई लगायतले फूलमाला लगाई स्वागत गरेका थिए ।
सुनसरी-४ बाट मनोनयन दर्ता गराउँदै कार्कीले भने : मुलुकलाई गठबन्धनको खाँचो छ
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधि सभातर्फ सुनसरी क्षेत्र नम्बर ४ बाट मनोनयन दर्ता गराएका छन् । नेपाली काँग्रेसका नेतासमेत रहेका कार्कीले मुख्य निर्वाचन अधिकृतको कार्यालय इनरुवा पुगेर मनोनयन दर्ता गराएका हुन् । नेपाली काँग्रेसका तर्फबाट सुनसरी ४ मा दोस्रो पटक उम्मेद्वारी दिएका कार्की एमालेका जगदीश कुसियतसँगको प्रतिष्पर्धामा छन् । मनोनयन दर्तापश्चात संचारकर्मीहरु संक्षिप्त कुराकानी गर्दै कार्कीले मुलुकको विकास र समृद्धिको चाहना पूरा गर्न निर्वाचन अपरिहार्य रहेको बताए । सत्ता गठबन्धनबाट जसपा बाहिरिएको प्रशंग कोट्याउँदै कार्कीले जसपाको ठाउँमा लोसपाको इन्ट्री भएको बताए । ‘जसपा केही समस्या देखाएर बाहिरिएको छ, तर अहिलेको आवश्यकता हेरेर हामी अघि बढेका छौं, सोही अनुरुप लोसपासँग चुनावी तालमेल भएको छ, गठबन्धन मुलुकका लागि आवश्यक छ । निर्वाचनपछि पनि कायम रहने छ, मुलुकलाई राजनैतिक स्थिरताको खाँचो छ, त्यसैले गठबन्धनको आवश्यकता छ,’ उनले भने । यसैबीच नेकपा एमालेका नेता भीम आचार्यले सुनसरी २ बाट मनोनयन दर्ता गराएका छन् । आचार्य काँग्रेसका सीताराम मेहताको प्रतिष्पर्धीका बनेर चुनाव लड्दै छन् । उता नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ बाट मनोनयन दर्ता गराएका छन् । सुनसरी ३ मा पुनः गच्छदारको भिडन्त एमालेकी नेतृ भगवती चौधरीसँग हुँदैछ ।
बीमा विधेयकसँगै तीन वटा विधेयक प्रमाणिकरण
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बीमा विधेयक प्रमाणिकरण गरेकी छिन् । भण्डारीले असोज २३ गते मात्रै बीमा विधेयकसहित तीन वटा विधेयक प्रमाणिकरण गरेकी हुन् । आइतबार मात्रै बीमा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, सार्वजनिक ऋण व्यवस्थापन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक र पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक राष्ट्रपति भण्डारीले प्रमाणिकरण गरेकी हुन् । यी तीन वटै विधेयक संघीय संसदको दुबै सदनको बैठकबाट पारित भइसकेको हो । जुन राष्ट्रपतिबाट प्रमाणिकरण भएपछि सरकारले राजपत्रमा सूचना प्रकाशित गरेपछि मात्रै यी तीनवटै विधेयकले मान्यता पाउने छन् ।
राजेन्द्र लिङ्देनले झापा क्षेत्र नम्बर ३ बाट गरे उम्मेदवारी दर्ता
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले झापा क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्ष लिङ्देनले आईतबार बिहान ११ः३० बजे आफैँ उपस्थित भएर झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाका लागि उम्मेदवारी दर्ता गराएका हुन् । अध्यक्ष लिङ्देनलाई झापा ३ मा एमालेको समर्थन गरेको छ । अध्यक्ष लिङदेनको प्रस्तावक माधव पोखरेल र समर्थकमा एमालेका लक्ष्मण पाठक छन् । सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका कृष्णप्रसाद सिटौलाले उम्मेदवारी दिएका छन् । अघिल्लो निर्वाचनमा लिङदेनसँग सिटौला पराजित भएका थिए । प्रदेश सभातर्फ एमालेले दुवै निर्वाचन क्षेत्रमा राप्रपाको समर्थनमा उम्मेदवारी दिएको छ । प्रदेश ‘क’ मा बसन्त बानियाँ र ‘ख’ मा छविलाल चुडालले उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन आगामी मंसिर ४ गतेका लागि तोकिएको छ ।
आँफै जन्मेको पाठेघरबाट बच्चा जन्माउने सफल प्रत्यारोपण
एजेन्सी । भारत जुनागढकी रिना बाघासिया आफ्नो पाठेघर ट्रान्सप्लान्ट पश्चात सञ्चारमाध्यमलाई आफ्नी आमाले आफूलाई पाठेघर दिएको बताइन् । जुन गर्भबाट आफू जन्मेकी थिइन सोही गर्भबाट आफ्नो बच्चा जन्मिने उनले बताइन् । बाघासियाको जन्मसँगै नै गर्भासय २ भागमा बाँडिएको थियो । तर, सो कुरा उनले आफ्नो विवाहपश्चात मात्रै थाहा पाइन् । बच्चा नभएपछि उपचारको क्रममा उनको गर्भासय २ भागमा बाँडिएको विषयमा उनलाई थाहा भयो, सो अवस्थाको उपचार हुन नसकेमा उनको जीवनभर बच्चा हुन सक्दैनथ्यो । इन्स्टिच्युट अफ किड्नी डिजिज एण्ड रिसर्च सेन्टरका डाक्टर बिनित मिश्रका अनुसार सो इन्स्टिच्युटले पहिलोपटक सफलतापूर्वक २ महिलाको गर्भासय ट्रान्सप्लान्ट गरेको छ । डाक्टर शैलेश पुणताबेकरका अनुसार स्वीडेन र अमेरिकापछि भारत अहिले गर्भासय ट्रान्सप्लान्टको विषयमा तेस्रो देश बन्न सफल भएको छ । डाक्टरका अनुसार जुन महिलाहरुको शरीरमा जन्मसँगै गर्भासय नभएको वा सो सम्बन्धी समस्या छ भने उनीहरुको गर्भासय प्रत्यारोपण गर्न सकिन्छ । जुन महिलाको उमेर ४९/५० वर्ष सम्मको छ र उनको निरन्तर रजस्वला भइरहेको छ भने ती महिलाले समस्या भएकी महिलालाई गर्भासय प्रत्यारोपण गर्न सक्ने डाक्टर बताउँछन् । महिला प्रत्यारोपण ग्रहण गर्ने महिला जन्मदेखि नै महिला भएको हुनुपर्छ । आमाको शरीरमा भएको गर्भासय छोरीको शरीरमा किन प्रत्यारोपण गरिन्छ ? यस सवालमा डाक्टर मानसी चौधरी बताउँछिन की आमा र छोरीको जिन एक जस्तै हुन्छ । यस्तो अवस्थामा सेल र कोशिका पनि एक जस्तै हुन्छन् । कुनै पनि मानिसको शरीरले बाहिरी प्रवेशलाई स्वीकार गर्दैन तर आमाको गर्भासय छोरीमा प्रत्यारोपण गर्दा शरीरले त्यसलाई अस्वीकार गर्दैन । डाक्टर शैलेश पुणताबेकरका अनुसार भारतमा प्रतिवर्ष ५ हजार जन्मिएका छोरीमध्ये १ छोरी गर्भासय बिना नै जन्मिएका हुुन्छन् । कुनै महिलामा गर्भासय नहुनेकुरा जेनेटिक असामान्यता मानिन्छ । डाक्टर पुणताबेकरले गर्भासय प्रत्यारोपण केबल गर्भधारणको लागि गरिने भएकाले ५ वर्षपछि त्यसलाई निकाल्दा राम्रो हुने सल्लाह दिन्छन् । बीबीसीबाट लिइएको ।
गगन थापाले काठमाडौं-४ बाट गरे उम्मेदवारी दर्ता
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दर्ता गराएका छन् । आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर थापाले उम्मेदवारी दर्ता गराएका हुन् । थापा यसअघि २०७४ सालको प्रतिनिधि सभा निर्वाचनबाट निर्वाचित भएका थिए । एमालेका राजन भट्टराईलाई ३४ सय ११ मतले पछि पार्दै उनी निर्वाचित भएका थिए । यो पटकपनि उनी भट्टराईसँग नै चुनावी मैदानमा भिड्दैछन् ।