विकासन्युज

गगन थापाले काठमाडौं-४ बाट गरे उम्मेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दर्ता गराएका छन् । आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर थापाले उम्मेदवारी दर्ता गराएका हुन् । थापा यसअघि २०७४ सालको प्रतिनिधि सभा निर्वाचनबाट निर्वाचित भएका थिए । एमालेका राजन भट्टराईलाई ३४ सय ११ मतले पछि पार्दै उनी निर्वाचित भएका थिए । यो पटकपनि उनी भट्टराईसँग नै चुनावी मैदानमा भिड्दैछन् ।

प्रधानमन्त्री देउवाको उम्मेदवारी दर्ता

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका तर्फबाट डडेल्धुराबाट उम्मेदवारी दर्ता गरेका छन् । देउवा तर्फबाट उनका धर्मपत्नी एवं नेपाली कांग्रेसकी नेत्री डा आरजु राणा देउवाले मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुरामा गएर प्रधानमन्त्री देउवाको उम्मेदवारी दर्ता गराएका हुन् । वारिसनामामार्फत डा.आरजुले प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवाको उम्मेदवारी दर्ता गरेकाे डडेल्धुराका प्रमुख निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिए । उम्मेदवारी दर्ता गराउन डा आरजु देउवा हिजो नै डडेल्धुरा पुगेका थिए । प्रधानमन्त्री देउवाले प्रतिनिधिसभा सदस्याका डडेल्धुराबाटै यो सातौँ पटक उम्मेदवारी दर्ता गराएका हुन् ।

उम्मेदवारी मनोनयन दर्ता गर्दै मन्त्री भुषालले भनिन् : एक जनाको हिरोइजमले केही हुँदैन

काठमाडौं । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री एवं नेकपा (माओवादी केन्द्र) की उपमहासचिव पम्फा भुसालले ललितपुर क्षेत्र नम्बर ३ मा गठबन्धनको तर्फबाट प्रतिनिधि सभाको प्रत्यक्षमा उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । आईतबार निर्वाचन अधिकृतको कार्यलयमा पुगि उनले ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाको प्रत्यक्षमा उम्मेदवारी मनोनयन दर्ता गराएकी हुन् । उनी उम्मेदवारी दर्ता गराउन समर्थकहरूसहित निर्वाचन अधिकृतको कार्यालय पुगेकी थिइन् । उनी नेवारी झाँकीसहित उम्मेदवारी दर्ता गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेकी थिइन् । उम्मेदवारी मनोनयन दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री भुसालले अबको निर्वाचनले संविधानको कार्यान्वयन, संस्थागत गर्ने र लोकतन्त्रलाई बलियो बनाउने बताइन् । स्वतन्त्रहरुप्रति इंगित गर्दै मन्त्री भुसालले नेपालको संविधानले बहुमतको सरकार, अल्पमतको प्रतिपक्ष भन्ने कुरा सुनिश्चित गरेको उल्लेख गर्दै कुनै एक जनाको हिरोइजमले नेपालमा केही पनि नहुने बताइन् ।

लगानीकर्ता ढकालले चितवन-१ बाट दिए उम्मेदवारी, चुनाव चिन्ह ‘घण्टी’

काठमाडौं । सेयर बजारका लगानीकर्ता हरि ढकालले प्रतिनिधि सभाको सदस्यको लागि उम्मेदवारी दर्ता गरेका छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधि सभाको लागि चितवन क्षेत्र न.१ बाट आफ्नो उम्मेदवारी दर्ता गरेका हुन् । उनले आइतबार चितवन क्षेत्र न.१ को निर्वाचन आयोगको कार्यालयमा उम्मेदवारी दर्ता गरेको जानकारी गराएका हुन् । उनलाई भोट हाल्ने चुनाव चिन्ह ‘घण्टी’ रहेको छ । ‘अबको यात्रा यस क्षेत्रमा रहनुहुने सम्पूर्ण आमा, बुबा, दाजुभाइ, दिदीबहिनी, काकाकाकी, भाइ-बहिनी, साथीहरूसंगै अनन्त कालसम्म हुनेछ, आशा छ यहाँहरुको साथ, सपोर्ट र माया सदैव प्राप्त गर्ने सौभाग्य मिल्नेछ,’ उम्मेदवारी दर्ता गर्दै उनले भनेका छन् । तस्वीरः सामाजिक सञ्जालबाट

मेडिकल व्यवसायी दुर्गा प्रसाई स्वतन्त्रबाट चुनाव लड्न लागेका हुन् ?

काठमाडौं । मेडिकल व्यवसायी तथा नेकपा एमालेका केन्द्रिय सदस्य दुर्गा प्रसाइ अहिले पनि चर्चामा छन् । विभिन्न समयमा विभिन्न काम तथा अभिव्यक्तीबाट चर्चामा आइरहने प्रसाई यस पटक भने चुनावको विषयमा बोलेर सामाजिक सञ्जालमा चर्चामा छन् । यसअघि नेकपा एमालेले टिकट दिएर प्रतिनिधिसभाको चुनाव लड्ने बताउने उनी एमालेले टिकट नदिएपछि भने उनी स्वतन्त्रबाट लड्न सक्ने आँकलन धेरैले गरेका छन् । केही यूटुब च्यानलसँग कुरा गर्दै उनले आफु स्वतन्त्रबाट चुनाव लड्न सक्ने संकेत गरेका छन् भने आफु एमालेको हली बन्न नसक्ने सम्मको धारणा  समेत दिएका छन् । उनको यो अभिव्यक्तीले पनि उनी स्वतन्त्रबाट चुनाव लड्ने हुन् की भन्ने आशंका धेरैको छ । तर, व्यवसायी प्रसाईले भने आफु चुनाव नलड्ने धारणा राखेका छन् । उनले अहिले आफ्नो चुनाव लड्ने चाहना र मनसाय पनि नरहेको स्पष्ट पारेका हुन् । साथै, उनी एमाले अध्यक्ष केपी शर्माकाे उम्मेदवारी दर्ता कार्यक्रममा पनि सहभागी भएका छन् ।

बाबुराम बने प्रचण्डको उम्मेद्वारीको प्रस्तावक

गोरखा। डा. बाबुराम भट्टराई नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को उम्मेद्वारीको प्रस्तावक बनेका छन् । अध्यक्ष प्रचण्ड डा. भट्टराइको प्रस्ताव र नेकपा(माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको समर्थनमा गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको लागि उम्मेद्वार बनेका हुन् । चितवनको निर्वाचन क्षेत्र ३ बाट उम्मेद्वारी दिने चर्चामा रहेका अध्यक्ष प्रचण्ड नेपाल समाजवादी पार्टीका अध्यक्ष समेत रहेका डा. बाबुराम भट्टराइले उम्मेद्वारी नदिने घोषणा गरेपछि गोरखा गएका हुन् । सत्तारुढ गठबन्धनको साझा उम्मेद्वार समेत रहेका अध्यक्ष प्रचण्डको विरुद्धमा नेकपा(एमाले)ले अब्दुस मियाँलाई उम्मेद्वारको रुपमा अगाडि सारेको छ ।

‘इन्ट्रा डे’ कै उच्च बिन्दुमा पुग्यो नेप्से परिसूचक, हिमालयन एभरेष्टको सर्वाधिक कारोबार

काठमाडौं । दशैंपछिको सेयर बजारमा उछाल छाएको छ । दशैं बिदापछि खुलेको पहिलो दिनको कारोबारमा नेप्से परिसूचक ‘इन्ट्रा डे’ कै उच्च बिन्दुमा पुगेको छ । आइतबार कारोबार खुलेदेखि निरन्तर उकालो लागेको नेप्से परिसूचक दिनभरकै उच्च बिन्दुमा पुगेर बन्द भएको छ । परिसूचक ४४.६२ बिन्दुले उकालो लागेर १८९८.३८ बिन्दुमा अडिएको छ । जुन दिनभरको कारोबारको तुलनामा उच्च हो भने पछिल्लो कारोबारको तुलनामा २.४१ प्रतिशतले बढी हो । दोहोरो अंकले बढेको बजारमा कारोबार भने एक अर्ब पनि हुन सकेन । दिनभरमा २२४ वटा स्क्रिप्सको ८३ करोड ६८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसमध्ये हिमालयन एभरेष्ट इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । कम्पनीको एकैदिन २२ करोड ६९ लाख रुपैयाँ बराबरको संस्थापक सेयर किनबेच भएको छ । जसको सेयर मूल्य भने ११.५० रुपैयाँले घटेर प्रतिकित्ता २७९ रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यस्तै, बढी कारोबार हुनेको दोश्रो स्थानमा नबिल बैंक छ । बैंकको एकैदिन ३ करोड ५१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य भने बढेर प्रतिकित्ता ८०७ रुपैयाँ पुगेको छ । बढेको बजारमा दुई लघुवित्तको सेयर सर्किट लेभलमा किनबेच भएको छ । सप्तकोशी डेभलपमेन्ट बैंक र उपकार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य क्रमशः ९.९५ र ९.८४ प्रतिशतले बढेको छ । यससँगै यी कम्पनीको सेयर मूल्य प्रतिकित्ता २३०.९० र ३४६० रुपैयाँ पुगेको छ । बजारमा कारोबारमा आएका सबै समूहमा हरियाली छाएको छ । जसमध्ये जीवन बीमा समूह सबैभन्दा बढी अर्थात १८७.०८ अंकले बढेको छ । आइतबारको बजारमा टप लुजरमा भने अधिकांश म्युचुअल फण्ड रहेका छन् ।

आर्थिक क्षेत्रका अगुवाहरु प्रतिनिधिसभा सदस्य बन्ने दौडमा

काठमाडौं । आगामी मंशिर ४ गते हुने संघीय र प्रदेश तहको लागि हुने निर्वाचनमा आर्थिक क्षेत्रका अगुवा तथा उद्योगी व्यवसायीहरुले उम्मेद्वारी दिने भएका छन् । उद्योगी व्यवसायीहरुले उम्मेद्वारीको लागि मुख्यतः ठूला राजनीतिक दललाई रोजेका छन् । अर्बपति बिनोद चौधरी नेपाली कांग्रेशको तर्फबाट नवरपरासी पश्चिम १ बाट प्रतिनिधिसभाको सदस्यका लागि उम्मेद्वार हुने भएका छन् । चौधरीलाई नेपाली कांग्रेशले नवलपरासी पश्चिम १ बाट उम्मेदवार बनाउने निर्णय गरेकाले उनी सो क्षेत्रबाट प्रतिनिधिसभाको उम्मेद्वार बन्ने भएका हुन् । चौधरी पछिल्लोपटक नेपाली कांग्रेशको तर्फबाट प्रतिनिधिसभामा समानुपातिक सदस्य रहेका थिए भने २०६४ मा नेकपा (एमाले)को तर्फबाट संविधानसभाको समानुपातिक सदस्य बनेका थिए । चौधरी पहिलोपटक प्रत्यक्ष प्रकृयाबाट निर्वाचन उठ्न लागेका हुन् । शिक्षा तथा स्वास्थ्य क्षेत्रमा ठूलो लगानी गरेका व्यवसायी उमेश श्रेष्ठ नेपाली कांग्रेशको तर्फबाट उम्मेद्वार बन्ने भएका छन् । अहिले प्रधानमन्त्री कार्यालयमा राज्यमन्त्रीको रुपमा रहेका व्यवसायी श्रेष्ठ नेपाली कांग्रेशको तर्फबाट चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको लागि उम्मेद्वार बन्ने भएका हुन् । श्रेष्ठको प्रतिस्पर्धा नेकपा (एमाले)का कृष्णभक्त पोख्रेल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग हुनेछ । प्रभु ग्रुपका पूर्व अध्यक्ष देवीप्रसाद भट्टचन प्रतिनिधिसभा सदस्य बन्नको लागि नेकपा (एमाले)को तर्फबाट समानुपातिक सूचीमा परेका छन् । एमाले पार्टीले उनलाई प्रतिनिधि सभा तर्फको समानुपातिक उम्मेदवारमा आदिवासी जनजाती समूहबाट सिफारिस गरेको हो । यसअघि उनी नेपाली कांग्रेसको संगठन विभाग उपप्रमुख पदमा थिए । उनी ललितपुर जिल्लाबाट सिफारिस भएका हुन् । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेल नेपाली कांग्रेशको तर्फबाट चितवन निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यको लागि उम्मेदवार बन्ने भएका छन् । डा. पौडेलसँग अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को आर्थिक सल्लाहकारको रुपमा काम गरेको अनुभव छ । पौडेल काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका ‘एसोसिएट प्रोफेसर’ थिए । उनीसँग यसअघि एक निजी बैंकमा निर्देशकका रुपमा काम गरेको अनुभव छ । मेडिकल कलेजका सञ्चालक तथा व्यवसायी डा. सुनिल शर्मा नेपाली कांग्रेशको तर्फबाट मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यको लागि उम्मेद्वार बन्ने भएका छन् । बिराटनगरको नोबेल मेडिकल कलेज र काठमाडौंको काठमाडौं मेडिकल कलेजको सञ्चालक समेत रहेका छन् । ०७४ सालमा भएको प्रतिनिधिसभाको निर्वाचनमा शर्मा मोरङ क्षेत्र नम्बर ३ मा एमालेका भानुभक्त ढकालसँग पराजित भएका थिए । यसपटक पनि शर्माको प्रतिस्पर्धा नेता ढकालसँग नै हुनेछ ।