यो दशैंमा पनि उडेन गुल्मीबाट विमान
रेसुङ्गा । गुल्मीको रेसुङ्गा नगरपालिका–९ का स्थानीय यादव पाण्डेको गुल्मीबाटै जहाजमा उड्ने सपना यसपटकको दशैंमा पनि पूरा सकेन । विसं २०६३ पछि हरेक वर्षको दसैँमा जहाज उड्ने सपना देखाइए पनि त्यसको १६ वर्षसम्म जहाड उडेको छैन । हरेक वर्षको दशैंलाई बहाना बनाउँदा राज्यको करोडौँ लगानी बालुवामा खन्याएको पानी सरह भएको उनको गुनासो छ । स्थानीय गीता भण्डारी पनि हरेक वर्षको दशैं भनेर दिएको आश्वासनप्रति दिक्क छिन् । अहिले संरचना तयार हुँदा पनि नियमित उडान नगरी जनतामा भ्रम फैलाइएको भण्डारीको भनाइ छ । विमानस्थल निर्माण सम्पन्न भएपछि सरोकारवालाले ध्यान नदिएको स्थानीयवासी दीपक अर्यालको आरोप छ । अर्का स्थानीयवासी शेरबहादुर पुन पनि विमानस्थलमा नियमित उडान नएकामा दुःखी छन् । चुनावी मुद्दा, राजनीतिक शत्रुता र श्रेयको होडबाजीले विमानस्थल अलपत्र परेको उनले गुनासो गरे । ‘पहिले त संरचना पूरा नभएर रोकिएकामा चित्त बुझाएका थियौँ’, पुनले भने, ‘अहिले पनि उडान नभएपछि अब सो विमानस्थलबाट उहाजमा उड्ने सपना कहिल्यै पूरा नहुने हो कि सन्देह बढ्न थालेको छ ।’ उनीहरु मात्र होइन, आम गुल्मेलीलाई प्रत्येक दशैंमा जहाज उड्छ भनेर भुक्काइएको वर्षौं भएको छ । निर्वाचनको समयमा होडबाजीको दौड चले पनि अघिपछि कसैले पहल नगरेको स्थानीयवासीहरुको आरोप छ । विसं २०६३ मा तत्कालीन पर्यटनमन्त्री प्रदीपकुमार ज्ञवालीबाट रेसुङ्गा विमानस्थल शिलान्यास गरेका थिए । जग्गा अधिग्रहण र बजेट अभावका कारणले सुरुको सात/आठ वर्ष विमानस्थल निर्माण गति लिन सकेन । त्यसपछि पनि चुनावी प्रचारमा मात्र सीमित रहँदै काम सुरु भएन । शिलान्यासको नौ वर्षपछि २०७२ बाट विमानस्थलको नियमित काम सुरु भयो । रेसुङ्गा विमानस्थल निर्माण आयोजनाका सहायक आयोजना प्रमुख इञ्जिनीयर दिनेश परियारले पनि त्यसपछि प्रत्येक वर्षको दशैंसम्म नियमित उडानमा पुगिसक्ने बताउँदै आए । निर्माणले गति लिएको चार वर्षसम्म पनि विमानस्थलको ४०/४५ प्रतिशत मात्र काम भएको थियो । विमानस्थलमा २५ जेठ २०७५ मा तारा एयरको विमानले परीक्षण उडान भरेकोे थियो । अर्को वर्ष विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसले केही असर ग¥यो । विसं २०७९ वैशाखमा मात्र विमानस्थल निर्माणले पूर्णरुप पायो । रौताह हरिहरि जेभी र बोकोई श्रेष्ठ कन्सट्रक्सन जेभीले विमानस्थलमा भौतिक संरचना निर्माणको काम गरेका थिए । इञ्जिनीयर परियारका अनुसार जग्गा अधिग्रहण, बजेट अभाव, कोरोना महामारी र निर्माण पहलकर्ताको कम चासोले विमानस्थल निर्माणमा ढिला भएको हो । विमानस्थल निर्माणको क्रममा मुआब्जा दिने गरी १४ घर विस्थापित गराइएको थियो । बाँकी २८ घरको जग्गा अधिग्रहण गरिएको थियो । विस्थापितले मुआब्जा पाइसकेका छन् । निर्माण सम्पन्न विमानस्थलको धावनमार्ग पाँच सय २० मिटर लम्बाइ र २० मिटर चौडाइको रहेको छ । कूल रु ३५ करोड लागतमा रेसुङ्गा विमानस्थल निर्माण सम्पन्न भएको आयोजनाका सहायक आयोजना प्रमुख इञ्जिनियर परियारले बताए । एक सय ५६ रोपनी क्षेत्रफलमा फैलिएको विमानस्थलको ७९ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । अहिले विमानस्थल नियमित उडानका लागि तयार रहेको छ । प्राविधिक जडानपछि नियमित उडान भर्न सकिने इञ्जिनीयर परियारको भनाइ छ । रेसुङ्गा विमानस्थलको संरचना पूर्णरुपमा निर्माण भएपछि रेखदेख गर्ने कोही पनि छैनन् । नियमित उडान शुभारम्भ नहुनु र रेखदेख गर्ने नहुनुले विमानस्थलका संरचनामा क्षति पुग्न थालेको छ । विमानस्थल चिटिक्क बनेकाले घुम्ने जानेको लापरबाहीका कारणले कन्ट्रोल टावरको सिसा फुटिसकेको छ भने अन्य संरचनामा पनि क्षति भएको छ । रेसुङ्गा नगरपालिकाले विमानस्थलको रेखदेखका लागि नगरप्रहरी खटाउने तयारी गरेको छ । रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले विमानस्थल नियमित सञ्चालन गर्नको आफूहरु आतुर रहेको बताए । उनले यसका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री र नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकसँग छलफल गरेको जानकारी दिए । ‘गुल्मेलीको भाग्य र भविश्यसँग जोडिएको विमानस्थलको नियमित उडानका लागि गम्भीर भएर लागेका छौँ’, नगरप्रमुख पन्थीले भने, ‘नियमितको उडानको प्रक्रिया अगाडि बढिसकेको छ ।’ गुल्मीको सदरमुकाम तम्घास नजिकै रहेको रेसुङ्गा विमानस्थलबाट नियमित उडान भएमा आम गुल्मेलीलाई राहत महशुस हुनेछ । छिमेकी जिल्ला अर्घाखाँची, प्यूठान र बाग्लुङलाई पनि रेसुङ्गा विमानस्थलले टेवा पु¥याउने विश्वास गरिएको छ । रासस
प्रतितोला ८ सय रुपैयाँले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा साेमबार सुन चाँदीको मूल्य घटेको छ । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ८ सय रुपैयाँले र चाँदी २५ रुपैयाँले घटेको हो । आज घटेको मूल्य अनुसार छापावाल सुन प्रतितोला ९५ हजार २ सय रुपैयाँ र चाँदी १ हजार २३० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला ९४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको महांसघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा महासघंले यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।
अर्थशास्त्री, कलाकारदेखि अभियान्तासम्म चुनावमा, नयाँ अनुहारले चर्चित नेतालाई टक्कर
काठमाडौं । सरकारले मंसिर ४ गतेका लागि प्रदेश र प्रतिनिधिसभाको मिति तय गरेको छ । आज उम्मेदवारहरुले मनोनयन पनि दर्ता गरिसकेका छन् । यस पटकको चुनावमा धेरै निर्वाचन क्षेत्रबाट नयाँ अनुहारहरु देखिएका छन् । राजधानी काठमाडौंसँगै विभिन्न जिल्लाका निर्वाचन क्षेत्रमा नयाँ अनुहार देखिएका छन् । अधिकांश नयाँ अनुहारहरुले स्वतन्त्रबाट उम्मेदवारी दिएका छन् भने कतिपयले पार्टीबाटै टिक पाएर चुनावमा होमिएका छन् । प्रधानमन्त्री शेरशादुर देउवादेखि चर्चित नेताहरुसँग भिड्नका लागि नयाँ अनुहार तम्तयार बनेका छन् । यी हुन् नयाँ अनुहार प्रधानमन्त्री देउवासँग सागरको सगर्मी प्रधानमन्त्री शेर बहादुर देउवा तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग सागर ढकाल प्रतिस्पर्धा गर्नेछन् । गुल्मीका सागर ढकालले डडेल्धुराबाट प्रतिनिधिसभामा उम्मेदवारी दर्ता गराएसँगै उनको प्रतिस्पर्धा अब देउवासँग हुनेछ । आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् । यस क्षेत्रबाट नेपाली कांग्रेस बिपीका कर्णबहादुर मल्ल पनि एमालेको समर्थनसहित चुनावी मैदानमा छन् । देउवा २०४८ सालयतादेखि डडेल्धुराबाट अपराजित छन् । ढकाल पेशाले इञ्जिनियर हुन् । व्यवसायी श्रेष्ठसँग रविको टक्कर मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट व्यवसायी उमेश श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामाछाने भिड्ने भएका छन । श्रेष्ठ काँग्रेस र लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट भिड्ने भएका हुन् । यस्तै, एमालेको तर्फबाट चितवन निर्वाचन क्षेत्र नम्बर २ मा कृष्णभक्त पोखरेल उम्मेदवार बन्ने भएका छन् । प्रधानमन्त्री कार्यालयमा राज्यमन्त्री रहेका श्रेष्ठ र लामिछानेले प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रतिस्पर्धा गर्न टिकट पाएको यो पहिलो हो । पाण्डेलाई पौडेल र ढकालको चुनौति मंसिर ४ गते हुने चुनावको नयाँ अनुहारको रुपमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेल पनि हुन् । जसले चितवन क्षेत्र नम्बर एकबाट उम्मेदवारी दिएका छन् । उनले उम्मेदवार बन्नैका लागि आयोगको उपाध्यक्षबाट पनि राजीनामा दिइसकेका छन् । अब उनको प्रतिस्पर्धा नेकपा एमालेका नेता तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेसँग हुनेछ । सोही क्षेत्रबाट सेयर बजारका लगानीकर्ता हरि ढकालले पनि उम्मेदवारी दिएका छन् । चितवन क्षेत्र नम्बर एक सुरेन्द्र पाण्डेको निर्वाचन क्षेत्र हो । सोही क्षेत्रबाट काँग्रेसका स्वर्णिम वाग्ले र विश्व पौडेलको नाम सिफारिस भएको थियो । तर, वाग्लेले टिकट पाएनन् । नेता पाण्डे सो क्षेत्रका लोकप्रिय नेता हुन् । काँग्रेसबाट परिचित अर्थशास्त्री डा. पौडेल, पूर्वअर्थमन्त्री पाण्डे र ढकालबीच प्रतिस्पर्धा हुने भएपछि माहोल रोचक हुने देखिएको छ । प्रकाशमान र रविन्द्रलाई पुकार र रमेश भारी काठमाडौं क्षेत्र नम्बर एक चर्चित क्षेत्र हो । यस क्षेत्रमा यसपटक रोचक भीडन्त हुने देखिएको छ । यस क्षेत्रबाट सबै चर्चित अनुहारहरु प्रतिस्पर्धा गर्दैछन् । काठमाडौं क्षेत्र नम्बर एकमा काँग्रेसबाट प्रकाशमान सिंह, एमालेका तर्फबाट किरण पौडेल, राप्रपाबाट रवीन्द्र मिश्र, नेपाल सुशासन पार्टीबाट पुर्व प्रहरी डीआइजी रमेश खरेल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट पुकार बमबीच प्रतिस्पर्धा हुने देखिएको छ । यो क्षेत्रमा गत २०७४ को निर्वाचनमा कांग्रेसका उम्मेदवार प्रकाशमान सिंह विजयी भएका थिए । त्यतिखेर उनीसँग मिश्र झिनो मतान्तरले पराजित भएका थिए । तर, अहिले यी दुवै जनाका लागि चुनौतिका रुपमा खरेल र बम देखिएका छन् । खरेल र बम अहिले घरदैलो कार्यक्रममा व्यस्त छन् । पोखरल र पौडेललाई रञ्जु, सितेबा र थापाको चुनौति काठमाडौं क्षेत्र नम्बर पाँच पनि चर्चित निर्वाचन क्षेत्र हो । यस क्षेत्रमा काँग्रेसबाट प्रदिप पौडेल र एमालेबाट ईश्वर पोखरेल उम्मेदवार बनेका छन् । यही क्षेत्रमा हास्य टेली शृङ्खला ‘सक्किगो नी’ बाट ‘सितेका बा’ नामले प्रख्यात कलाकार मधुसूधन पाठक, रन्जु दर्शना र हेमराज थापाले पनि स्वतन्त्रबाट उम्मेदवारी दिएका छन् । सो क्षेत्रमा अघिल्लो चुनावमा नेपाली कांग्रेसका नेता प्रकाश सरण महतलाई पराजित गर्दै ईश्वर पोख्रेल निर्वाचित भएका थिए । यस पटक भने यी दुवै चचिर्त नेतालाई रञ्जु, सितेका बा र थापाले ठूलो चुनौति दिने देखिन्छ । रञ्जु यसअघि काठमाडौं महानगरको मेयरमा पराजित भएकी थिइन् भने थापा विद्यार्थीहरुका माझ लोकप्रिय छन् । कमेडियन हिमेश पन्त पनि उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टीबाट धादिङ क्षेत्र नं १ को लागि कमेडियन हिमेश पन्तले उम्मेद्वारी दिएका छन् । उनले आइतबार प्रतिनिधिसभाका लागि मनोनयन दर्ता गराएको सामाजिक सञ्जाल फेसबुकबाट जानकारी दिएका हुन् । धादिङ क्षेत्र नम्बर एकमा एमालेबाट भुमि त्रिपाठीले उम्मेदवारी दिएका छन् । ढकाल र शर्मालाई रेखाको टक्कर मोरङ क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका लागि नायिका रेखा थापाले पनि राप्रपाबाट उम्मेदवारी दिएकी छन् । नेकपा (एमाले)बाट पूर्वमन्त्री भानुभक्त ढकाल र नेपाली कांग्रेसबाट सुनील शर्मा उम्मेदवार बनेका छन् । २०७४ सालको निर्वाचनमा पनि ढकाल र शर्माबीच नै प्रतिस्पर्धा भएको थियो । सो निर्वाचनमा ढकालले शर्मालाई पराजित गर्दै प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । शर्मा विराटनगरस्थित नोबेल मेडिकल र काठमाडौं सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजका सञ्चालक हुन् । अहिले यी दुवै जनासँग रेखा थापाले टक्कर गर्नेछिन् ।
राष्ट्र बैंकले १८ अर्ब २५ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्दै
काठमाडौं । नेपाल राष्ट्र बैंकले ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले १८ अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको हो । राष्ट्र बैंकले २८ दिन, ९१ दिन, १८२ दिन र १ वर्षको लागि ट्रेजरी बिल जारी गर्ने जनाएको छ । बैंकले २८ दिनको लागि ५ अर्ब रुपैयाँ ट्रेजरी जारी गर्नेछ । उक्त ट्रेजरी कात्तिक २२ गते परिपक्व हुनेछ । यस्तै, ९१ दिनको लागि ८ अर्ब रुपैयाँको ट्रेजरी जारी गर्नेछ । उक्त ट्रेजरी पुस २६ गते परिपक्व हुनेछ । यस्तै, १८२ दिनको लागि ३ अर्ब रुपैयाँको ट्रेजरी जारी गर्नेछ । उक्त ट्रेजरी चैत २८ गते परिपक्व हुनेछ । १ वर्षको लागि ३ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्नेछ । उक्त ट्रेजरी २०८० असोज २३ गते परिपक्व हुनेछ । ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । ट्रेजरी बिलको सोमबार दिउँसो ३ बजे बोलकबोल हुनेछ । सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् ।
पाल्पामा २२ घर पहिराकाे जोखिममा
रामपुर । लगातारको अविरल वर्षाले को निस्दी गाउँपालिका–३ झिरुवासको क्याङरुङ गाउँ पहिराले उच्च जोखिममा परेको छ । यहाँका करिब २२ घरमा पहिराले जोखिम बढाएको छ । गत शनिबार बिहान पहिरो खस्दा क्याङरुङको डाँडाथर टोल जोखिम परेको हो । पहिराका कारण विस्थापित परिवारलाई तत्कालका लागि छिमेकीको घरमा सारिएको छ । पहिरापीडितलाई पालिकाले सुरक्षित स्थानमा व्यवस्थापन गर्ने तयारी गरिरहेको वडाध्यक्ष नवीन्द्र थापाले बताए । उनका अनुसार तत्कालका लागि घरमा राखिएका अन्नपात र गाईवस्तुलाई ओत लाग्न त्रिपाल वितरण गरिएको छ । बसोबासका लागि गाउँ नै जोखिम बनेको स्थानीय गोकबहादुर सोती गुनासो गर्छन् । उनी भन्छन्, ‘तत्कालका लागि मानवीय र घरमा क्षति नदेखिए पनि कतिबेला घर पहिराले लैजान्छ भन्ने निश्चित छैन, गाउँ नै पूरै जोखिममा छ, यसपटक वर्षाले ठूलै पहिरो खसेपछि गाउँका स्थानीयमा त्रास बढेको छ ।’ यहाँ रहेको लक्ष्मी माविमा पनि जोखिम पु¥याएको प्रधानाध्यापक पदमबहादुर थापाले बताएका छन् । निस्दी–४ मित्यालको एक विद्यालय र दुई घरमा पनि ठूलो क्षति पुगेको छ । वर्षाले खोपलाकका दुई घर भत्केको छ । माथिबाट खसेको पहिराले जनकल्याण आधारभूत विद्यालय भवनमा ठूलो क्षति पुगेको धनबहादुर ठाडाले बताए । रासस
नारायणी डेभलपमेन्ट बैंकको २२ हजार ८१४ कित्ता सेयर बिक्रीमा
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले २२ हजार ८१४ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो । बैंकले विद्यमान संस्थापक सेयरधनीहरुका नाममा रहेको उक्त सेयर बिक्री गर्ने जनाएको हो । बैंकको उक्त संस्थापक सेयरमा संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन पाउनेछन् । इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिन भित्र आवेदन दिन सक्नेछन् । ३५ दिनभित्र सेयर खरिदका लागि संस्थापक सेयरधनीहरुबाट निवेदन नआए नियमअनुसार अन्य सर्वसाधारण लगानीकर्ताका लागि लागि बिक्री खुला गरिने बैंकले जनाएको छ ।
के अब सेयर बजार उकालो लागेको हो ? यस्तो भन्छन् लगानीकर्ता
काठमाडौं । दशैंअघिसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १८५३.७६ अकंमा थियो । तर, दशैंपछिको पहिलो दिन अर्थात् आइतबार ४४.६२ अंक बढेर १८९८.३८ अंकमा बन्द भयो । कारोबार रकम पनि रकम पनि दशैं अघिभन्दा केही बढी नै भएको छ । दशैंपछि खुलेको बजारमा हरियाली छाउँदा लगानीकर्तामा उत्साह छाएको छ । दशैं अघिसम्म ओरालो लाग्दै आएको सेयर बजार दशैं पछि भने बढ्ने अपेक्षा गरिएको छ । पछिल्लो सयम अर्थतन्त्र चलायमान र सूचकहरु बलियो बन्दै गएपछि सेयर बजार पनि बढ्ने अपेक्षा लगानीकर्ताहरुले गरेका हुन् । प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन २०७९ को रौनक पनि जनतामाझ बढेको हुँदा सेयर बजार आगामी दिनमा बढ्ने सेयर विश्लेषकहरु बताउँछन् । बजारलाई अन्तराष्ट्रिय र राष्ट्रिय घटनाहरुले पनि प्रभाव पार्ने भएकाले विश्व अर्थतन्त्र चलायनमान भइरहेकाले सेयर बजार बढ्ने धारणा उनीहरुको छ । एक जना सेयर विश्लेषकका अनुसार दशैं पछिको सेयर बजार तरलताका आधारमा घटबढ हुन सक्ने बताउँछन् । हाल तरलता सहज भइरहेकाले सेयर बजार पनि माथि जाने उनको बुझाइ छ । आफ्नो नाम उल्लेख नगर्ने शर्तमा उनले दशैं पछि सेयर बजार लो लिक्वीडिटीमा अघि बढ्ने भएकाले कम भोलुममा चलखेल हुन सक्ने बताए । ग्लोबल रेसियो हेर्दा अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने किसिमका गतिविधि भइरहेकाले सेयर बजार घट्न सक्ने उनको बुझाइ छ । ‘दशैं पछि माहोल हेर्दा सेयर बजार लो लिक्वीडिटीमा अगाडि बढ्छ, लो लिक्वीडिटीमा अगाडि बढ्दा कारोबार रकम कम हुने भएकाले चलखेल गर्ने सम्भावना बढी हुन्छ, कारोबार रकम तन्केर अघि बढ्छ तर, बजार बढेपछि बुलिसमा गयो भनेर निष्कार्ष निकाल्नु भने हुँदैन,’ उनले भने, ‘ग्लोबल रेसियो हेर्दा लास्ट टाइममा बजारमा प्रभाव परेको थियो, ताइवान र चाइना, रुस र यूक्रेनको युद्ध चलिरहेको छ, अमेरिकाले ताइवानलाई सहयोग गरेका कारण चाइनासँग पनि अमेरिकाको मनमुटाव छ, विश्व गतिविधि हेर्दा विश्व युद्ध नै नहोला भन्न सकिन्न ।’ अबको एक महिनाभित्र सेयर बजार २ हजार माथि जान सक्दैन भने बजारमा गाह्रो अवस्था आउन सक्ने उनको बुझाइ छ । अहिलेको अवस्थामा गाह्रो नपर्दा सम्म सेयर बिक्री नगर्ने सोच लगानीकर्तामा हुनु पर्ने उनले बताए । ‘सेयर बजार १६ सय इण्डेक्समा आएपनि खरिद गर्ने अवसरका रुपमा लिनुपर्छ, ३२ सयबाट धेरै ठूलो अंक तल झरिसकेको छ, २८ सयमा झर्दा बिक्री गर्नै पर्छ भन्ने थियो, गुजारा चलाउन गाह्रो भएको छ भने मात्रै बिक्री गर्ने हो तर बिक्री गर्नुपर्ने जरुरी छैन भने लगानीकर्ताले सेयर होल्ड गरेर बस्नुपर्छ, बजार अझै तल झरेको बेलामा खरिद गर्ने मुडमा हुनुपर्छ,’ उनले भने, ‘ट्रेडरले अहिलेको सिनारियोमा बजार घट्यो भने किन्ने र बजार बढेको छ भने बिक्री गर्नुपर्ने हुन्छ, टे«डरको काम भने बजारमा लिक्वीडिटी प्रोभाइड गर्ने हो ।’ लगानीकर्ता राधा पोखरेल बजारमा तरलता सहज हुँदै गएकाले बढ्ने अपेक्षा गरेको बताउँछिन् । अहिले लाभांश वितरणको सिजन पनि चलिरहेकाले पनि सेयर बजार सकारात्म रुपमा अघि बढ्ने उनको भनाइ छ । ‘बजारमा तरलता सहज अवस्थामा आयो भने सेयर बजार सकारात्मक रुपमा अघि बढ्न सक्छ, अहिले तरलता सहज अवस्थामा नै रहेकाले बढ्ने अपेक्षा छ, लाभांश वितरण गर्न सिजन पनि हो, बैंकहरुले नगद दिइरहेका छन्, यदि बैंकहरुले बोनस सेयर दियो ने सकारात्मक हुन्थ्यो तर बैंकहरुले नगदमा जोड दिएका छन्,’ उनले भने, ‘चुनाव पनि नजिक आइरहेको छ, यी सबै कुराहरु हेर्दा बजार बढ्ने अपेक्षा छ तर तरलता असहज भयो भने बढ्न नसक्न पनि सक्छ ।’ लगानीकर्ता विष्णु अग्रावल बजार अहिलेदेखि नै बढ्ने तर्क गर्छन् । यदि अहिले बजार नबढे मंसिरमा बढ्ने उनको धारणा छ । ब्याजदर किक आउट र तरलता सहज अवस्थामा रहेकाले सेयर बजार बढ्ने उनको अनुमान छ । ‘आइतबार बजार बढ्दा आगामी दिनमा पनि बढ्छ, ब्याजदर पनि किक आउट भइसकेको छ, ब्याजदर योभन्दा माथि बढ्न सक्ने अवस्था छैन, बरु अर्काे महिनादेखि ब्याजदर घट्ने सम्भावना छ, तरलता अभाव पनि पहिला जस्तो चर्काे छैन,’ उनले भने, ‘केही कुरमा तलमाथि भएपछि छुट्टै कुरा हो नत्र बजार बढ्छ, कि अहिलेदेखि बजार बढ्न सुरु गर्छ, होइन भने मंसिरको चुनावपछि बजार बढ्छ नै ।’ अहिले लाभांश सिजन र चुनाव पनि नजिक आइरहेकाले बजार बढ्ने उनको बुझाइ छ । अन्तराष्ट्रि अर्थतन्त्र हेर्दा केही दिनसम्म तल रहेपनि सबै ठिक अवस्थामा आउने उनले बताए ।
राष्ट्रपति भण्डारीलाई कोरोना संक्रमण पुष्टि
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा राष्ट्रपति भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि भण्डारी शनिबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना भएकी थिइन् । चिकित्सकहरुका अनुसार उनको स्वास्थ्यमा अहिले केही सुधार देखिएको छ ।