सहकारीले महिलालाई व्यवसायी बनायो
देउखुरी । घोराही उपमहानगरपालिका–६ अघराकी रामकुमारी थापाको बाख्रा खोरमा अहिले ४५ वटा बाख्रा छन् । २० वटा माउ, तीन वटा बोका, १० वटा खसी र १२ वटा साना पाठापाठी छन् । घरखर्च चलाउन सुरुमा बाख्रापालन सुरु गरेकी रामकुमारी अहिले व्यावसायिक बाख्रापालनमा लागेका छन् । उनले पाँच लाख रुपैयाँ लगानी गरेर चार कोठासहितको ठूलो खोर निर्माण गरेर बाख्रापालन गरेकी छिन् । एउटा खसीलाई २० देखि २५ हजार रुपैयाँमा बिक्री गर्ने गरेको उनले बताइन् । भर्खरै सकिएको दशैंमा दुई लाख रुपैयाँको खसीबोका बिक्री गरेको उनी बताउँछिन् । उनले घोराही–६ मा रहेको शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाबाट दुई लाख पचास हजार रुपैयाँ ऋण लिएर व्यवसाय सुरु गरेकी हुन् । ‘सहकारीले ऋण दिएकाले व्यवसाय गर्न सजिलो भएको हो’, उनले भनिन्, ‘वैदेशिक रोजगारीमा जानुभएका श्रीमान् पनि अहिले घर फर्केर काममा सघाउदा सहयोग भएको छ, अब यतै काम गर्ने सोचाइमा छौँ ।’ घोराही– ६ चैनपुरकी शोभा वलीले विसं २०७५ देखि बाख्रा पाल्न सुरु गरेकी हुन् । अहिले उनीसँग १२ खसी, १५ माउ र साना पाठापाठी २१ गरी जम्मा ४८ बाख्रा छन् । गत वर्षको दशैमा उनले दुई लाख २० हजार रुपैयाँको खसी बिक्री गरेको र यस वर्ष पनि दशैंमा पाँच खसी बिक्री गरेर एक लाख ६० हजार रुपैयाँ आम्दानी गरेको बताइन् । बिक्री गर्न तयारी अवस्थामा रहेका अझै पाँच वटा खसी रहेको र आउँदै गरेको तिहारमा सबै बिक्री हुने उनी बताउँछिन् । उनको चार जनाको परिवार छ । वैदेशिक रोजगारीका लागि साउदीमा रहेका श्रीमान् वैशाखमा घर फर्किएपछि दुवै जना मिलेर व्यवसायलाई अगाडि बढाउने योजना रहेको उनले सुनाइन् । ‘सबैले मिलेर घरको काम गर्ने गरेका छौँ’, उनले भनिन्, ‘घरको छेउमा किमु र मकैचरी घाँस रोपेका छौँ, बाख्रालाई खुवाउन सजिलो भएको छ ।’ बाख्रापालनमा खासै लगानी गर्नुनपरेको तर, आम्दानी भने सन्तोषजनक रहेको साथै सहकारीको सहयोगमा व्यावसायिक हुन पाइएको उनको भनाइ छ । घोराही–६ की गीता घर्तीले पनि व्यावसायिक बाख्रापालनमा लागेकी छिन् । दशैं तिहारको मौकामा बाख्रा बढी बिक्री हुने गरेको उनी बताउँछिन् । यस वर्षको दसैँमा एक लाख १० हजार रुपैयाँको खसी बिक्री गरेको बताइन् । उनीसँग अहिले पनि ४५ बाख्रा छन् । वर्षमा चार लाख ५० हजारभन्दा बढी आम्दानी गर्ने गरेको बताउँछिन् । ‘पहिलेकोभन्दा अहिले त मान्छेले हेर्ने दृष्टिकोण नै फेरिएको छ, पहिले बाख्रा थोरै थिए, पालेर घरखर्च मात्र ठिक्क हुन्थ्यो’, उनले भनिन्, ‘अहिले कमाइ राम्रो भएको छ, घरछेउको दुईकट्ठा खेत जोडेको छु ।’ चार वर्षअघि शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाबाट दुई लाख रुपैयाँ ऋण लिएर सुरु गरेको बाख्रापालन व्यवसायले प्रशस्त आम्दानी दिएको उनी बताउँछिन् । उनले भनिन्, ‘अझै बढाउने योजना छ, सहकारीबाट ऋण पाएपछि हौसला बढेको हो ।’ का कोषाध्यक्ष शरदकुमार आचार्यले घोराही– ६ कार्यक्षेत्र निर्धारण गरेर १७ वर्ष अगाडि स्थापना भएको सहकारीले ग्रामीण क्षेत्रका सदस्यलाई सहयोग पुगेको बताइन् । शेयर सदस्यलाई कर्जा लिन सजिलो हुने गरी काम गरेको उनको भनाइ छ । व्यवसाय र कृषि पेसा गर्न चाहने सदस्यलाई ऋण प्रवाह गर्ने गरेको उनी बताउँछिन् । अहिले सहकारीमा एक हजार तीन सय ६७ जना सदस्य छन् । जसमा सात सय २६ जना महिला, छ सय ३७ जना पुरुष र ८० सङ्घ सस्था सदस्य रहेका छन् । सबै सदस्यलाई ऋण लगानी गर्दा माग गरे अनुसार पु¥याउन सकिएको बताइन् । सहकारीबाट कर्जा लिएर सदस्यले जीवनस्तर परिवर्तन गरेकाे देख्दा खुसी लाग्ने गरेको उनी बताउँछिन् । कृषिका लागि ऋण लिन चाहने सदस्यलाई १४ प्रतिशतमा ऋण दिने गरेको कोषाध्यक्ष आचार्यले बताए । रासस
चुनावको मुखमै अर्थमन्त्री र अर्थसचिवसहितको टोली अमेरिका भ्रमणमा
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा र अर्थ सचिव कृष्णहरी पुष्कर कर्णसहितको टोली अमेरिका भ्रमणमा गएको छ । विश्व बैंकको कार्यक्रममा सहभागि हुनका लागि अर्थमन्त्री शर्मा र सचिव कर्ण अमेरिका भ्रमणमा गएको अर्थमन्त्रालयले जनाएको छ । सरकारले मंसिर चार गतेका लागि चुनाव घोषणा गरेको छ । उनीहरु चुनावको मुखमै अमेरिका भ्रमणमा गएका हुन् ।
लाभांश घोषणाका लागि राष्ट्र बैंक पुगे १६ वाणिज्य बैंक, केहीको रोकिँदै
काठमाडौं । लाभांश घोषणाका लागि १६ वटा वाणिज्य बैंक राष्ट्र बैंक पुगेका छन् । राष्ट्र बैंक स्रोतका अनुसार १६ वटा वाणिज्य बैंक वार्षिक साधारणसभा क्लियरेन्सका लागि राष्ट्र बैंक पुगेका हुन् । ‘१६ वटा वाणिज्य बैंकहरुले वार्षिक साधारणसभा क्लियरेन्सका लागि राष्ट्र बैंकमा पठाएका छन्, त्यस विषयमा हामी अध्ययन गरिरहेका छौं, पूर्ण रुपमा अध्ययन गरेपछि हामी हाम्रो निर्णय गर्छौं,’ राष्ट्र बैंक स्रोतले भन्यो । राष्ट्र बैंक स्रोतका अनुसार एनआइसी एसिया, सनराइज, ग्लोबल आइएमई, बैंक अफ काठमाण्डू, सिद्धार्थ, सिटिजन्स, मेगा र कुमारी, एभरेष्ट, नबिल लगायत १६ वटा वाणिज्य बैंक राष्ट्र बैंक पुगेका छन् । सिटिजन्स बैंक, कुमारी र नेपाल पूर्वाधार (निफ्रा)ले स्वीकृति पनि पाइसकेका छन् भने ती बैंकहरुले लाभांश पनि प्रस्ताव गरिसकेका छन् । सिटिजन्स बैंकले वार्षिक साधारणसभा पनि बोलाइसकेको छ । सिटिजन्स बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ९ प्रतिशत, कुमारीले १२.५० प्रतिशत र ४.२१०४ प्रतिशत लाभांश प्रस्ताव गरेका छन् । यस पटक भने स्वीकृति दिनका लागि राष्ट्र बैंकले लामो समय लिएको छ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा बैंक सुपरभिजन विभागका प्रमुख देवकुमार ढकालले अधिकांश कम्प्ल्यायन्सहरु कार्यान्वयन गरे नगरेको हेर्नु पर्ने भएकोले केही समय लागेपनि राष्ट्र बैंकको नियत भने ढिलो गर्ने नभएको बताए । ‘राष्ट्र बैंकमा वित्तीय विवरण स्वीकृतिका लागि आएका बैंकहरुलाई हामीले जति सक्दो छिट्टो स्वीकृति दिने योजना बनाएका छौं, सकेसम्म छिटो नै स्वीकृति दिने हाम्रो पनि इच्छा हो तर आए लगत्तै नहेरेर दिने कुरा भएन,’ उनले भने । उनले एक/दुई दिन भित्र अझै पाउन सक्ने सम्भावना न्यून भएको बताए । बैंकहरुले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले लाभांश पाउँछन् । नेपाल राष्ट्र बैंकले लाभांश वितरण गर्न सक्ने स्वीकृति दिएपछि बैंकले २१ दिन अगावै वार्षिक साधारण सभा बोलाउनु पर्ने व्यवस्था छ । राष्ट्र बैंक स्रोतका अनुसार दुई/तीन वटा ठूला वाणिज्य बैंकहरुले भने लाभांश वितरण गर्न नपाउने सम्भावना देखिएको राष्ट्र बैंक स्रोतको भनाइ छ । राष्ट्र बैंकको नियामकीय व्यवस्था कार्यान्वयन नगरेको भन्दै केही दुई/तीन वटा बैंकहरुको कारवाहीमा पर्न सक्ने देखिएको स्रोतको भनाइ छ । नेपाल राष्ट्र बैंकले अघिल्लो आर्थिक वर्षमा पुँजीकोष मेन्टेन नगरेको भन्दै एनआईसी एसिया बैंकलाई लाभांश वितरणबाट रोक लगाएको थियो । यस वर्ष पनि केही बैंकलाई रोक लगाउने तयारी भएको बुझिएको हो ।
पर्वतका किसान : यस वर्ष डेढ करोडको सुन्तला बेच्छौं
पर्वत । व्यावसायिक सुन्तलाखेतीका लागि प्रख्यात बन्दै गएको पर्वतको पाङ्राङका कृषकले यस वर्ष सुन्तला उत्पादन बढ्ने बताएका छन् । यस वर्ष कम वर्षा भएको तथा रोग, किरा र असिनाको प्रकोपसमेत नभएकाले सुन्तला उत्पादन बढुने अपेक्षा गरिएको श्रीनगर सुन्तला उत्पादक सहकारीका अध्यक्ष तारालाल कुवँरले बताए । गत वर्ष सहकारीमार्फत ८० लाखका सुन्तला बेचेका यहाँका कृषकले यस वर्ष कम्तीमा डेढ करोड भित्र्याउन सफल हुने उनको भनाइ छ । ‘मौसमी अनुकूलताले उत्पादन दोब्बर हुने अपेक्षा छ’, अध्यक्ष कुवँरले भने, ‘कतिपय कृषकले पाँच लाखभन्दा बढीका सुन्तला बेच्नु हुनेछ’ । अर्का कृषक तोयराज कुँवर भन्छन्, ‘यो वर्ष राम्रो फल दिएको छ, अब असोजको झरीले असर नगरेमा उत्पादन राम्रो लिनसक्ने आशमा छु’, उनले भने । परम्परागत तरिकाले मकै र कोदो लगाउने बारीमा सुन्तलाखेती सुरु गरेपछि यहाँका दुई सयभन्दा बढी परिवार खुसी छन् । उपल्लो श्रीकाङ, सात्ले, सुलिकोट मात्रै होइन छिमेकी कुर्घाको ठूलास्वाँरा, नुवाखर्कलगायतका क्षेत्रलाई समेटेर सुन्तला उत्पादनको पकेट ब्लक क्षेत्रका रुपमा विकास गर्न थालिएको छ । हरेक वर्ष खेती बिस्तारको काम भइरहेको छ । सुन्तलाबाट वार्षिक लाखौँ रुपैयाँ आम्दानी गर्न थालेपछि उनीहरुको जीवनस्तरमा समेत परिवर्तन आउन थालेको छ । गाउँमा उत्पादित सुन्तलालाई श्रीनगर सुन्तला उत्पादक सहकारीमार्फत बेचबिखन गर्न थालेपछि देशका मुख्य मुख्य सहरमा समेत बजार पाउन थालेको छ । उत्पादित सुन्तला पोखरा, काठमाडौँ, बुटवल, विराटनगरलगायतका व्यापरीले गाउँमै आएर खरिद गर्न थालेको अध्यक्ष कुँवरले बताए । फलेबास क्षेत्रमा कोल्डस्टोर बनाउने र पर्वतका सबै गाउँको उत्पादन राखेर बेमौसममा बिक्री गर्नसकेमा कृषकलाई धेरै राहत पुग्ने अध्यक्ष कुँवरको भनाइ छ । सुन्तला फल्ने गाउँ सम्म नै पक्की सडक हुनसके ढुवानीका लागि अझै सहज हुने उनको भनाइ छ । कृषि ज्ञानकेन्द्र पर्वतका वरिष्ठ कृषि विकास अधिकृत मनिता थापाले गत वर्षभन्दा राम्रो फल लागेकाले यस वर्ष उत्पादनमा केही वृद्धि हुने जानकारी दिए । रासस
सुनसान सिंहदरबार
काठमाडौं । दशैं मनाउन मन्त्री, नेता र कर्मचारीहरु जिल्ला जाँदा सिंहदरबार सुनसान बनेको छ । दशैं सकिएर सरकारी कार्यालयहरु खुल्न थालिसक्दा पनि सिंहदरबारमा चहलपहल भने त्यत्ति बाक्लो देखिँदैन । नेता र मन्त्रीहरु निर्वाचन प्रयोजनार्थ आफ्नो जिल्ला जाने क्रम बढेसँगै सिंहदरबार सुनसान बनेको छ । मन्त्रीहरु निर्वाचनका लागि गाउँ जाँदा मन्त्रीलाई भेट्न जाने कर्मचारी, राजनीतिक दलका नेता कार्यकर्ता र सर्वसाधारणको भीड कम छ । मन्त्री तथा नेताहरु आफ्नो निर्वाचन जिल्ला तथा क्षेत्रमा गएकोले पनि सिंहदरवारमा मन्त्री तथा कर्मचारीहरु त्यत्ति देखिन सकेका छैनन् । यसले सिंहदरबार सुनसान हुन पुगेको हो । मंगलबार पनि सिंहदरबारमा मानिसहरुको आवतजावत निकै कम देखिएको छ । आईतवार कोजाग्रत पूर्णिमादेखि दशैं औपचारिक रुपमा सकिएपनि सरकारी कामकाज शुरु भइसक्दा समेत दशैँ बिदामा गएका कर्मचारीहरु फर्किसकेको अवस्था छैन भने मन्त्रीहरु पनि निर्वाचनका लागि दौडिरहँदा मन्त्रालयमा आउने सेवाग्राही तथा सर्वसाधारणको भीडभाड घटेको हो । हाल मन्त्रालयमा सिमित कर्मचारीहरुलाई मात्रै देख्न तथा भेट्न सकिन्छ । यता पछिल्लो केही दिन यता देशभर वर्षा हुँदा भएको जनधनको क्षतिका कारण पनि नेता तथा मन्त्रीहरु विभिन्न जिल्लामा पुगिरहेका छन् । वर्षाका कारण सडकहरु भत्किँदा राजधानी फर्किनेहरु सहजै, समयमै राजधानी काठमाडौं फर्किन सकिरहेका छैनन् । यसले पनि सिंहदरबार जानेहरुको संख्या घटाएको छ । दैनिक हजारौँको संख्यामा मानिसहरु सिंहदरवार प्रवेश गर्ने भएपनि अहिले फाट्टफुट्ट मात्रै मानिसहरु र सवारी साधनहरु देख्न सकिन्छ । मंगलबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, खानेपानी मन्त्रालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, गृह मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालय लगायतका मन्त्रालयको अवस्था हेर्दा कर्मचारी तथा सेवाग्राहीहरुको संख्या न्युन मात्रामा देखियो ।
छुट्ला है ! ३२ लाख कित्ता आईपीओमा आवेदन दिने समय नजिकियो
काठमाडौं । पिपुल्स हाइड्रोपावरको आईपीओमा आवेदन दिने समय नजिकिएको छ । कम्पनीको आईपीओमा आवेदन दिने समय अब थोरै रहेको छ । कम्पनीको आईपीओमा असोज ३० गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले गत भदौ ३१ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । कम्पनीले जारी पूँजी ३ अर्ब २० करोड रुपैयाँको १० प्रतिशत सेयर निष्काशन गरेको हो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका ३२ लाख कित्ता सेयर निष्काशन गरेको हो । जसमध्ये आयोजना अति प्रभावित क्षेत्र दोदर्दी गाँउपालिकाका वडा नं. ६ र ७ का स्थानिय बासिन्दाहरुका लागि ३० प्रतिशत अर्थात ९ लाख ६० हजार कित्ता र लमजुङ्ग जिल्लाका स्थानिय बासिन्दाका लागि ७० प्रतिशत अर्थात् २२ लाख ४० हजार कित्ता सेयर छुट्याइएको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले ग्लोबल आइएमई बैंकको दोर्दी र भोर्लेटार शाखा तथा हिलेको एक्टेन्सन काउण्डर, एनएमबि बैंकको भोटेवडार शाखा, सिद्धार्थ बैंकको बेसीशहर शाखा र सिभिल बैंकको भुलभुले शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।
पर्यटकीय गन्तव्य बन्दै तनहुँ
तनहुँ । मुलुककै प्रमुख गन्तव्यमध्येमा पर्ने पोखरा घुम्न जानेले प्रायः तनहुँको बन्दीपुर हेर्न छुटाउदैनन् । नेवार शैलीका घरको बस्ती हेर्ने लालसा बनाएर दैनिक सयौँ पर्यटक बन्दीपुर आउने गर्छन् । घरमा प्रयोग गरिएका काठका कलात्मक झ्यालहरुलगायतका संरचनाले बन्दीपुरको चर्चा विश्वभर छ । यहाँ अहिले स्वदेशीदेखि विदेशीसम्मको भ्रमण गन्तव्य बन्दै गएको छ । पृथ्वी राजमार्गको डुम्रेदेखि करिब आठ किलोमिटर दूरीमा पर्छ । ‘बन्दीपुरमा पर्यटकको चाप बढेको यिनै कलात्मक झ्यालढोकासहितका घरले गर्दा हो’, बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष वैश गुरुङ घर देखाउँदै भन्छन्, ‘यी घरहरु हुन्थेनन् त बन्दीपुर हुने थिएन । पर्यटक हुने थिएनन् ।’ पृथ्वीनारायण शाहले १७७८ सालतिर काठमाडौं उपत्यका आक्रमण गरेपछि भक्तपुरबाट भागेर आएका प्रधान, जोशी, पिया, श्रेष्ठ र मल्लहरुले बसालेको बस्ती हो बन्दीपुर । उत्तरतर्फ देखिने लहरै हिमाली दृश्य, कलात्मक घर र ढुङ्गाले ओछ्याइएका गोरोटो बाटोको सुन्दरताले बन्दीपुरलाई पहाडको रानीसमेत भनेर चिनिन्छ । बाह्रै महिना पर्यटक आउने गरे पनि पुस, माघ र नयाँ वर्षको छेकोमा विदेशी पर्यटकको चाप बढ्ने गरेको बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसन प्रधान बताउँछन् । ‘जाडो याम सुरु भएसँगै बन्दीपुरमा विदेशी पर्यटकको चाप बढ्न थालेको छ’, प्रधानले भने, ‘अब बन्दीपुरका होटल भरिभराउ हुने समय सुरु भयो ।’ कोभिड सङ्क्रमण पहिले बन्दीपुरमा दैनिक ३० देखि तीन सयसम्म विदेशी पर्यटक आउने गर्थे । हाल डेङ्गु सङ्क्रमणको चर्चाले विदेशी पर्यटकको आगमनमा केही असर गर्लाकी भन्ने चिन्तामा छन्, हेरिटेज गेष्ट हाउस एण्ड रेष्टुरेन्टका सञ्चालकसमेत भएका प्रधान । बन्दीपुर भ्रमणलाई प्रोत्साहन गर्न बन्दीपुर गाउँपालिकाले आवश्यक प्रचारप्रसारको र पूर्वाधार विकासमा सहयोग गर्नुपर्ने प्रधानले बताए । बन्दीपुरमा असोजदेखि माघसम्म स्वदेशी तथा विदेशी पर्यटकको चाप बढ्ने विकास समितिले जनाएको छ । कोभिड सङ्क्रमण पहिले बन्दीपुरमा चीनबाट आउने पर्यटक बढी हुने गरेपनि अहिले बेलायत र फ्रान्सका पर्यटकको चाप बढी रहेको छ । बन्दीपुर विकासका लागि सबै क्षेत्रबाट सकारात्मक पहलको आवश्यकता रहेको तनहुँ उद्योग वाणिज्य सङ्घ बन्दीपुर बजार एकाइले जनाएको छ । पोखरा र सौराहा जस्तै पर्यटकको चाप बढाउन बन्दीपुरमा नयाँ सोंच र योजना हुन आवश्यक रहेको एकाइ सभापति वैंश गुरुङ बताउँछन् । ‘बन्दीपुर जान केवलकारको काम धमाधम भइरहेको छ’, अध्यक्ष गुरुङले भने, ‘कृत्रिम ताल बनाउने योजना पनि अब छलफल गरी अघि बढाउने योजनामा छौँ ।’ बन्दीपुरको दीर्घकालीन विकासको लागि स्थानीय तहबाट आफूहरुले सकारात्मक सहयोग खोजेको भए पनि त्यो प्रयास पर्याप्त नभएको उनले बताए । बन्दीपुरमा हाल साना ठूला गरेर करिब ७७ वटा होटल सञ्चालनमा छन् । बन्दीपुर गाँउपालिकाको कार्यालयले समेत बन्दीपुरमा दोहोरिएर आउने पर्यटक बढाउने गरी दीर्घकालीन योजना बनाउने गरी आफूहरु जुटिरहेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताए । बन्दीपुर आउने पर्यटक बढाउन गाउँपालिकाले ‘मिनी ग्रेटवाल’ बनाइरहेको उनले जानकारी दिए । ‘दोहोरिएर आउने पर्यटक चाप बढाउने गरी योजना बनाउन आवश्यक देखेका छौँ’, बन्दीपुर गाउँपालिका अध्यक्ष थापाले भने, ‘त्यसका लागि पर्यटकलाई लोभ्याउने योजना बनाउने गरी जुटिरहेका छौँ ।’ यसै आर्थिक वर्षमा सूचना केन्द्र स्थापनाका लागि गाउँपालिकाको कार्यालयले २० लाख रुपैयाँ विनियोजन गरेको बन्दीपुर गाउँपालिकाको कार्यालयले जनाएको छ । गाउँपालिकाका ११ वडामध्ये बन्दीपुर बजार २ र ३ वडामा फैलिएको छ । तनहुँसुर तनहुँसुरले पनि पर्यटकीय गन्तव्यका रुपमा पछिल्लो समय पहिचान बनाउँदै गएको छ । व्यास नगरपालिका–११ मा पर्ने तनहुँसुरमा तोप, दरबार र मन्दिरको भग्नावशेष हेर्न मानिस आउने गर्छन् । यहाँबाट महाभारत पर्वत शृङ्खला, चुँदी र कलेस्तीफाँटको दृश्य मनमोहक देखिन्छ । राजाले नियम र निर्णय सुनाउन बस्ने गरेका गद्धि चौतारा अझै पनि छ । पर्यटकलाई बसाइ व्यवस्थापन सहज बनाउन तनहुँसुर सामुदायिक होमस्टे ९घरवास० पनि सञ्चालन गरिएको छ । तनहुँसुर आउने पर्यटकलाई यही होमस्टेमा वासको प्रवन्ध गरिन्छ । एकैपटकमा ३०/३५ जनालाई सजिलै व्यवस्थापन गर्न सकिने होमस्टे व्यवस्थापन समितिले जनाएको छ । पाल्पाका राजा मणिमुकुन्द सेनले जेठा छोरा भृङ्गी सेनलाई सन् १६१० मा राज्य गर्न तनहुँसुर पठाएको किंवदन्ती छ । २३० बर्षसम्म तनहुँसुरमा आठ सेन वंशी राजाले राज गरेको इतिहास छ । तनहुँसुरका अन्तिम राजा हरकुमारदत्त सेन हुन् । विसं २०२५ तिर पृथ्वी राजमार्ग खनिएसँगै यहाँका नेवारहरु व्यापारका लागि दमौली झरेपछि यो बस्ती खण्डहर जस्तै हुन पुग्यो । तनहुँसुरमा अहिले नेवार, मगर र दलितका गरी ६४ घर छन् । तनहुँसुरमा आन्तरिक पर्यटककै चाप बढी हुने गर्दछ । यहाँ तनहुँसुर र तनहुँसुर देवस्थल गरी दुईवटा होमस्टे सञ्चालनमा छ । ‘तनहुँसुरमा आउने मुख्य पर्यटक भनेकै स्वदेशी हुन्’, तनहुँसुर होमस्टेका अध्यक्ष केवि थापाले भने, ‘एक पटक आउने अर्को पटक परिवारका सदस्यलाई लिएरसमेत आउँछन् ।”तनहुँसुरमा अझै पनि नेवारका हटिया र ऐतिहासिक मन्दिर जीर्ण अवस्थामा रहेकाले तिनीहरुको आवश्यक संरक्षण गर्ने गरी आफूहरुले गण्डकी प्रदेश सरकारसमक्ष २० करोड ४५ लाख रुपैयाँको विस्तृत गुरुयोजना पेश गरेको तनहुँसुरका अगुवा ध्रुव पण्डित बताउँछन् । ‘तनहुँसुरको महिमालाई अझै उचाइमा पु¥याउन संरक्षणका विभिन्न कार्यक्रम बनाएका छौँ’, उनले भने, ‘त्यसका लागि राज्यको साथ र सहयोग आवश्यक छ ।’ पुरातात्विक महत्वका सम्पदा संरक्षण गर्ने लक्ष्य राखिएको व्यास नगरपालिकाको कार्यालयले जनाएको छ । ‘तनहुँसुरलाई पर्यटकीय गन्तव्यको नयाँ गन्तव्य बनाउने गरी अग्रसर भएका छौँ’, व्यास नगर प्रमुख न्यौपानेले भने, ‘त्यसका लागि पूर्वाधार विकासमा जोड दिइरहेका छौँ ।’ तनहुँसुर जाने सडक कालोपत्र गर्ने कार्यलाई व्यास नगरपालिकाको कार्यालयले प्राथमिकतामा राखेको व्यास नगरपालिकाको कार्यालयले जनाएको छ । दमौलीबाट १५ किलोमिटरको दूरीमा पर्छ तनहुँसुर । पूर्वाधार विकास र ऐतिहासिक सम्पदाको संरक्षण गरी पर्याप्त प्रचारप्रसार गर्नसके बन्दीपुर जस्तै स्वदेशी र विदेशी पर्यटकको तनहुँसुर गन्तव्य बन्ने पक्का छ । दगाम, भुजिकोट तनहुँको अर्को घुम्ने गन्तव्यमा पर्छ शुक्लागण्डकी नगरपालिका–२ मा पर्ने दगाम र भुजिकोट गाउँ । दगाममा मगर र भुजिकोटमा गुरुङ जातिको बाहुल्यता छ । दगाम र भुजिकोटबाट शुक्लागण्डकी क्षेत्रको अलावा पोखराको फेवातालसम्मको दृश्य रोचक देखिन्छ । उत्तरतर्फ देखिने अन्नपूर्ण र माछापुच्छरे हिमालको तरेलीले जोकोहीलाई मन्त्रमुग्ध बनाउँछ । दगाममा करिब २५ घर र भुजिकोटमा करिब २० घर छन् । घुमफिरका लागि आन्तरिक पर्यटक आउन थालेपछि आफूहरुले होमस्टे समेत सञ्चालन गरेको दगाम सामुदायिक होमस्टेका अध्यक्ष नन्दु थापा बताउन्छन् । होमस्टेमा आउनेहरुबाट सकारात्मक प्रतिक्रियाले उत्साहित बनाउने गरेको उनको भनाइ छ । कोदो, मकैको परिवारसँगै लोकल कुखुराको मासु होमस्टेका पाहुनाको मुख्य रोजाइमा पर्ने दगामका अगुवा तथा दगाम सामुदायिक होमस्टेका सहजकर्ता नन्दु थापा बताउँछन् । ‘पाहुनालाई हामी भटमास, मस्याङ गुन्द्रुक, ढिडोंलगायतका स्थानीय परिकार नै खुवाउने गर्छांै’, सहजकर्ता थापाले भने, ‘स्थानीय उत्पादन नै होमस्टेको पहिचान हो भन्दा पनि हुन्छ ।’ दगाम र भुजिकोटमा चार वटा होमस्टे सञ्चालनमा छ । कुस्मावती, दगाम, इमान्दार र भुजिकोट होमस्टेमा तिहारपछि फागुन पहिलोसातासम्म स्वदेशी पयर्टकको चाप बढ्ने गर्छ । पाहुनाहरुमा अधिकांश शुक्लागण्डकी र पोखराका हुने गर्छन् । दगाम र भुजिकोटमा होमस्टेका पाहुना फर्किदा स्थानीय मह कोशेलीका रुपमा लैजान मन पराउने दगाम होमस्टेका अध्यक्ष तिला थापाले जानकारी दिनुभयो । गाउँसम्म पुग्न पक्की बाटो भए शुक्लागण्डकी र पोखराका पर्यटकलाई समेत आकर्षित गर्न सकिने सोच दगाम र भुजिकोटवासीको छ । मिर्छुलुङ भिमाद नगरपालिका–५ मा पर्ने मिर्छुलुङ पनि होमस्टेका पाहुनाको रोजाइमा पर्दै गएको छ । मगर बाहुल्यता रहेको यस होमस्टेमा निहुरो, कर्कलो, मकैको आँटो, स्थानीय जातका कुखुरा र सुँगुरको मासुको परिकार चाख्न पाइन्छ । यहाँ आउने पर्यटकलाई कौराहा र झ्याउनेमा नाचेर रमाइलो गरिन्छ । पर्यटक पनि नाच्ने र गाउने गरेर रमाइलो गर्छन् । मिर्छुलुङ होमस्टेमा ३० घर रहेका छन् । गाउँको शिरानमा भ्युटावर समेत छ । टावरबाट हिमालका दृश्य, भिमाद बजार र सेतीको नागबेली रोचक देखिन्छ । मन बहलाउन र थकान मेट्न आउने आन्तरिक पर्यटकको चाप बढ्दै गएको होमस्टेका सदस्य मनसरा थापाले बताए । ‘साथी र परिवारका सदस्यहरु आएर रमाइलो गरेर जाने चलन बढ्दै गएको छ’, थापाले भने, ‘हाम्रो चुल्होमा पनि स्थानीय परिकार नै प्राथमिकतामा पर्छ ।’ भिमाद बजारबाट पाँच किलोमिटर दक्षिणतर्फको यात्रापछि मिर्छुलुङ पुगिन्छ । भिमाद नगरपालिकाको कार्यालयले समेत मिर्छुलुङलाई प्राथमिकतामा राखेको छ । तनहुँमा विभिन्न गन्तव्यहरुमा बाहिरी तथा आन्तरिक पर्यटकको भ्रमणको तथ्यांक नभएपनि पछिल्लो समय साथी र आफन्तसँग घुम्ने संस्कारको विकास हुँदै गएको तनहुँ पर्यटन विकास समितिका अध्यक्ष हरिसिं गुरुङ बताउँछन् । ‘पछिल्लो समय घुम्ने संस्कारको विकास हुँदै गएको छ’, गुरुङले भने, ‘प्रर्यटन प्रवर्धनका कार्यक्रमलाई राज्यले समेत प्राथमिकतामा राख्नुपर्छ ।’ गण्डकी प्रदेश सरकारले प्रदेशका एक सय १० मुख्य गन्तव्यको सूचीमा तनहुँका १० प्रमुख पर्यटकीय गन्तव्य पहिचान गरेको छ । प्रमुख गन्तव्यमा बन्दीपुर, व्यास पर्यटन क्षेत्र, मिर्लुङकोट, देवघाटधाम, ढोरवाराही, छाब्दी वाराही, छिम्केश्वरी, भानुभक्त जन्मस्थल, आधिमुल बाराही र तनहुँसुर रहेका छन् । पूर्वाधार र आवश्यक विकास गरी ती गन्तव्यको पहिचान गराउने कार्यक्रम प्रदेश सरकारले राखेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पोखराका सूचना अधिकारी विकास थापामगरले जानकारी दिए । रासस
गुराँस लाइफको ७.८३ प्रतिशत लाभांश पाउन आजसम्म सेयरधनी बन्नुपर्ने
last day sign flat concept काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीको ७.८३४२ प्रतिशत लाभांश सुरक्षित गर्न मंगलबार अन्तिम दिन हो । कम्पनीले लाभांश वितरण प्रयोजनार्थ असोज २६ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले आजसम्म कायम सेयरधनीले प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् । कम्पनीले लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न १२औं वार्षिक साधारण सभा कात्तिक ४ गते बोलाएको छ । कम्पनीको असोज १२ गते बसेको संचालक समितिको बैठकले प्रधान कार्यालय काठमाडौंमा बिहान ११ बजे सभा सुरु हुनेछ । कम्पनीको सभाले आर्थिक वर्ष २०७६÷२०७७ को नाफाबाट चुक्ता पूँजीको ७.४४२५ प्रतिशत बोनस सेयर र ०.३९ प्रतिशत नगद गरी कुल ७.८३४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको सभाले संचालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखा परीक्षकको प्रतिवेदन सहित २०७७ असार मसान्तको वासलात सम्बन्धी छलफल गरी पारित गर्ने, लेखा परिक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०७७÷२०७८ को लागि लेखा परिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्नेछ । यस्तै, गुराँस लाइफ, यूनियन लाइफ र प्राइम लाइफ एक आपसमा गाभ्ने, गाभिने सम्बन्धमा मर्जर समितिबाट पेश हुन आएको प्रारम्भिक सम्झौता पत्रको मस्यौदा स्वीकृत गर्ने एवं सो सम्झौता पत्रमा हस्ताक्षर गर्न अख्तियारी प्रदान गर्ने तथा सोको आधारमा सैद्धान्तिक स्वीकृतीका लागि बीमा समिति समक्ष निवेदन दिने लगायतका प्रस्ताव पारित गर्नेछ ।