देउखुरी । घोराही उपमहानगरपालिका–६ अघराकी रामकुमारी थापाको बाख्रा खोरमा अहिले ४५ वटा बाख्रा छन् । २० वटा माउ, तीन वटा बोका, १० वटा खसी र १२ वटा साना पाठापाठी छन् ।
घरखर्च चलाउन सुरुमा बाख्रापालन सुरु गरेकी रामकुमारी अहिले व्यावसायिक बाख्रापालनमा लागेका छन् । उनले पाँच लाख रुपैयाँ लगानी गरेर चार कोठासहितको ठूलो खोर निर्माण गरेर बाख्रापालन गरेकी छिन् । एउटा खसीलाई २० देखि २५ हजार रुपैयाँमा बिक्री गर्ने गरेको उनले बताइन् ।
भर्खरै सकिएको दशैंमा दुई लाख रुपैयाँको खसीबोका बिक्री गरेको उनी बताउँछिन् । उनले घोराही–६ मा रहेको शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाबाट दुई लाख पचास हजार रुपैयाँ ऋण लिएर व्यवसाय सुरु गरेकी हुन् । ‘सहकारीले ऋण दिएकाले व्यवसाय गर्न सजिलो भएको हो’, उनले भनिन्, ‘वैदेशिक रोजगारीमा जानुभएका श्रीमान् पनि अहिले घर फर्केर काममा सघाउदा सहयोग भएको छ, अब यतै काम गर्ने सोचाइमा छौँ ।’
घोराही– ६ चैनपुरकी शोभा वलीले विसं २०७५ देखि बाख्रा पाल्न सुरु गरेकी हुन् । अहिले उनीसँग १२ खसी, १५ माउ र साना पाठापाठी २१ गरी जम्मा ४८ बाख्रा छन् । गत वर्षको दशैमा उनले दुई लाख २० हजार रुपैयाँको खसी बिक्री गरेको र यस वर्ष पनि दशैंमा पाँच खसी बिक्री गरेर एक लाख ६० हजार रुपैयाँ आम्दानी गरेको बताइन् ।
बिक्री गर्न तयारी अवस्थामा रहेका अझै पाँच वटा खसी रहेको र आउँदै गरेको तिहारमा सबै बिक्री हुने उनी बताउँछिन् । उनको चार जनाको परिवार छ । वैदेशिक रोजगारीका लागि साउदीमा रहेका श्रीमान् वैशाखमा घर फर्किएपछि दुवै जना मिलेर व्यवसायलाई अगाडि बढाउने योजना रहेको उनले सुनाइन् ।
‘सबैले मिलेर घरको काम गर्ने गरेका छौँ’, उनले भनिन्, ‘घरको छेउमा किमु र मकैचरी घाँस रोपेका छौँ, बाख्रालाई खुवाउन सजिलो भएको छ ।’ बाख्रापालनमा खासै लगानी गर्नुनपरेको तर, आम्दानी भने सन्तोषजनक रहेको साथै सहकारीको सहयोगमा व्यावसायिक हुन पाइएको उनको भनाइ छ । घोराही–६ की गीता घर्तीले पनि व्यावसायिक बाख्रापालनमा लागेकी छिन् ।
दशैं तिहारको मौकामा बाख्रा बढी बिक्री हुने गरेको उनी बताउँछिन् । यस वर्षको दसैँमा एक लाख १० हजार रुपैयाँको खसी बिक्री गरेको बताइन् । उनीसँग अहिले पनि ४५ बाख्रा छन् । वर्षमा चार लाख ५० हजारभन्दा बढी आम्दानी गर्ने गरेको बताउँछिन् । ‘पहिलेकोभन्दा अहिले त मान्छेले हेर्ने दृष्टिकोण नै फेरिएको छ, पहिले बाख्रा थोरै थिए, पालेर घरखर्च मात्र ठिक्क हुन्थ्यो’, उनले भनिन्, ‘अहिले कमाइ राम्रो भएको छ, घरछेउको दुईकट्ठा खेत जोडेको छु ।’
चार वर्षअघि शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाबाट दुई लाख रुपैयाँ ऋण लिएर सुरु गरेको बाख्रापालन व्यवसायले प्रशस्त आम्दानी दिएको उनी बताउँछिन् । उनले भनिन्, ‘अझै बढाउने योजना छ, सहकारीबाट ऋण पाएपछि हौसला बढेको हो ।’
का कोषाध्यक्ष शरदकुमार आचार्यले घोराही– ६ कार्यक्षेत्र निर्धारण गरेर १७ वर्ष अगाडि स्थापना भएको सहकारीले ग्रामीण क्षेत्रका सदस्यलाई सहयोग पुगेको बताइन् । शेयर सदस्यलाई कर्जा लिन सजिलो हुने गरी काम गरेको उनको भनाइ छ । व्यवसाय र कृषि पेसा गर्न चाहने सदस्यलाई ऋण प्रवाह गर्ने गरेको उनी बताउँछिन् ।
अहिले सहकारीमा एक हजार तीन सय ६७ जना सदस्य छन् । जसमा सात सय २६ जना महिला, छ सय ३७ जना पुरुष र ८० सङ्घ सस्था सदस्य रहेका छन् । सबै सदस्यलाई ऋण लगानी गर्दा माग गरे अनुसार पु¥याउन सकिएको बताइन् । सहकारीबाट कर्जा लिएर सदस्यले जीवनस्तर परिवर्तन गरेकाे देख्दा खुसी लाग्ने गरेको उनी बताउँछिन् । कृषिका लागि ऋण लिन चाहने सदस्यलाई १४ प्रतिशतमा ऋण दिने गरेको कोषाध्यक्ष आचार्यले बताए । रासस