१२ सय रुपैयाँले घट्यो सुनको मूल्य
काठमाडौं । मंगलबार सुनको मूल्य तोलाको १२ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार सोमबार तोलाको ९५ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन घटेर तोलाको ९४ हजार पुगेको छ । तेजावी सुन तोलाको ९३ हजार ५०० रुपैयाँमा पुगेको छ । सोमबार तेजावी सुन तोलाको ९५ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको थियो । यस्तै, चाँदीको मूल्य १५ रुपैयाँले घटेर तोलाको १ हजार २१५ रुपैयाँ पुगेको छ ।
सांग्रिला डेभलपमेन्ट बैंकको ५० हजार कित्ता सेयर बिक्रीमा, क-कसले आवेदन दिन पाउँछन् ?
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले ५० हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो । बैंकका संस्थापक सेयरधनी सेम राज शाक्यको नाममा रहेको सेयर बिक्री गर्ने भएको हो । बैंकको उक्त सेयर खरीद गर्नका लागि इच्छुक जोकोही व्यक्ति तथा संस्थाले आवेदन दिन सक्नेछन् । बैंकको संस्थापक सेयरधनीहरुमा बिक्रीका लागि यस अघिनै ३५ दिने सूचना जारी गरिएको थियो । तर, बिक्री नभएपछि सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो । बैंकको उक्त सेयर खरीद गर्न केन्द्रीय कार्यालयमा निवेदन पेश गर्न सकिन्छ ।
सानिमा क्यापिटलले कात्तिक १६ गतेदेखि सानिमा ग्रोथ फण्ड निष्काशन गर्दै
काठमाडौं । सानिमा क्यापिटलले कात्तिक १६ गतेदेखि सानिमा ग्रोथ फण्ड निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । क्यापिटलले १ अर्ब २० करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड निष्काशन गर्ने भएको हो । सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सानिमा ग्रोथ फण्ड बन्दमुखि योजना हो । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ दरका १२ करोड इकाईमध्ये न्यूनतम १३ प्रतिशत अर्थात् १ करोड ५६ लाख इकाई कोष प्रबद्र्धक सानिमा बैंकलाई, २ प्रतिशत अर्थात् २ प्रतिशत अर्थात् २४ लाख इकाई योजना व्यवस्थापक सानिमा क्यापिटललाई र बाँकी १० करोड २० लाख इकाई सर्वसाधारणका लागि छुट्याइएको छ । उक्त फण्डमा लगानीकर्ताले छिटोमा कात्तिक २० गतेसम्म र सो अवधिमा पूर्ण आवेदन नपरेमा कात्तिक ३० गतेसम्म आवेदन दिन पाइनेछ । उक्त फण्डमा लगानीकर्ताले न्यूनतम १ सय इकाई र अधिकतम १ करोड २० लाख इकाईका लागि आवेदन दिन सक्नेछन् । उक्त फण्डमा सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ । फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।
पहिलो त्रैमासमा बैंकहरुलाई रिकभरीको दबाब, सीईओहरुलाई खराब कर्जा बढ्ने चिन्ता
काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासमा बैंकहरुलाई लोन रिकभरी (कर्जा असुली)को दबाब देखिएको छ । पहिलो त्रैमासको अन्तिममै लामो विदा परेका कारण ऋण असुलीमा समस्या भएको हो । विदाको समय परेकोले धितो पनि नबिक्न र सावाँ ब्याज पनि असुल हुन नसक्ने अवस्था रहेकोले रिकभरीमा समस्या देखिएको बैंकरहरु बताउँछन् । हुन त बैंकिङ प्रणालीमा लामो समयदेखि तरलताको अभाव छ । बैंकहरुले लगानीयोग्य पुँजी नभएकै कारण कर्जा प्रवाह गर्न सकेका छैनन् । अहिले बैंकहरुलाई पुरानो कर्जा असुलीमा पनि समस्या देखिएको हो । विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संकटमा परेको व्यवसाय र वर्तमान रुस–युक्रेनबीचको युद्धले समस्या हुँदा अर्थतन्त्रमा समस्या भइरहेको बेला त्यसको प्रत्यक्ष मार बैंकहरुलाई पर्दा रिकभरीमा पनि समस्या भइरहेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नै दशैं र लगत्तै तिहार पर्वको छुट्टी हुँदा बैंकहरुलाई रिकभरीको समस्या भएको हो । रिकभरी नहुँदा प्रोभिजनिङ पनि बढ्ने अनुमान बैंकरहरुको छ । बैंकहरु आर्थिक वर्षको सुरुवातसँगै पहिलो त्रैमासलाई पनि राम्रै बनाउने प्रयास गर्छन् । सकेसम्म कर्जा असुलीमा ध्यान दिएर पहिलो त्रैमासमा बढी नै नाफा गर्ने योजना अधिकांश बैंकहरुको हुन्छ । तर, यस पटक भने दशैं छिटो पर्दा पहिलो त्रैमास सोचे जस्तो नहुने अधिकांश बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरुको धारणा छ । एभरेष्ट बैंकका सीईओ सुदेश खालिङले अहिले बैंकहरुलाई रिकभरीको समस्या रहेको बताए । उनले यस पटक एक साता लामो सार्वजनिक छुट्टी हुँदा बैंकहरुलाई कर्जा असुलीमा समस्या भएको र यसले प्रोभिजन बढाउनु पर्ने बाध्यता हुने धारणा राखे । ‘अहिले दशैं लगत्तै पहिलो त्रैमासको वित्तीय विवरण तयार पार्नु पर्ने अवस्था छ, कात्तिक पहिलो सातातिर वित्तीय विवरण सार्वजनिक गर्नुपर्छ, त्यही समयमा फेरि तिहार परेको छ, यो बिचमा धेरै विदा हुँदा कर्जा असुलीमा समस्या हुन्छ, ग्राहकहरुले पनि चाडपर्वमा बढी नै खर्च गर्छन्, बैंकको ऋण तिर्नुभन्दा पनि उहाँहरु चाडपर्वमा रमाउन खोज्छन्, त्यसैले पनि बैंकहरुको कर्जा असुलीमा केही दबाब आउँछ कि भन्ने हाम्रो अनुमान छ, कर्जा असुली नभएपछि प्रोभिजन बढी गर्नु पर्ने हुन्छ, बढी प्रोभिजन गरेपछि नाफामा केही संकुचन आउँछ,’ उनले भने । नेपाल राष्ट्र बैंकले दिएको सहुलियत र ब्याजदर समेत बढेको कारण खराब पनि बढ्ने प्रवल सम्भावना छ । नेपाल राष्ट्र बैंकले यस पटकको वित्तीय विवरण वास्तविक ल्याउन पनि बैंकहरुलाई भनिसकेको छ । त्यसैले पनि बैंकहरुको एक किसिमको दबाबमा छन् । यस्तै, सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल पोखरेल यस पटक दशैं पहिलो त्रैमासको क्लोजिङमै परेको कारणले पनि बैंकहरुलाई एक किसिमको दबाब रहेको बताए । उनले सार्वजनिक विदा पनि धेरै भएकोले क्लोजिङमा बैंकहरुलाई केही दबाब हुने धारणा राखे । ‘क्लोजिङकै समयमा धेरै सार्वजनिक विदा परेकोले रिकभरीमा समय दिनु पर्ने हुन्छ, वित्तीय विवरण तयार पार्नु पर्ने हुन्छ, यस पटक रिकभरीमा केही दबाब हुन्छ कि भन्ने मेरो पनि अनुमान छ,’ उनले भने । अघिल्ला वर्षहरुमा असार मसान्तमा ऋण लिएर किस्ता तथा ब्याज तिर्ने प्रवृति यो वर्ष दोहरिने सम्भावना नरहेको बैंकरहरु बताउँछन् । बैंकहरुले प्रकाशित गरेको गत वर्षको असार मसान्तसम्मको वित्तीय विवरण अनुसार औसतमा खराब कर्जा २ प्रतिशतको हाराहारीमा थियो । पहिलो त्रैमासमा पनि सोही हाराहारीमा हुने बैंकरहरुको अनुमान छ । सानिमा बैंकका सीईओ निश्चलराज पाण्डेय भने पहिलो त्रैमासमा खासै नाफामा संकुचन नआउने बताउँछन् । उनले चालु आर्थिक वर्षको पहिलो त्रैमास यस अघिका त्रैमास जस्तो नै हुने धारणा राखे । बैंकरहरुका अनुसार अटोलोन, निर्माण व्यवसाय र पर्यटन क्षेत्रमा प्रवाह भएको केही कर्जा बाहेक अन्य क्षेत्रमा प्रवाह भएको कर्जा राम्रै असुल भएको छ । सरकारले गाडी आयातमा केही कडाइ गरेको कारण व्यवसायीहरुले राम्रो ब्यापार गर्न सकेका छैनन् । त्यसैले पनि सो क्षेत्रमा सोच अनुरुपको ऋण असुली भइरहेको छैन भने निर्माण र पर्यटन क्षेत्रको अवस्था पनि त्यस्तै छ । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना अर्थात साउनमा ९ अर्ब ३ करोड रुपैयाँ खुद नाफा गरेका थिए । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार २६ वटा वाणिज्य बैंकहरुले सो नाफा गरेका हुन् ।
ताप्लेजुङमा एक सय ४३ तोला सुन सहित ३ जना पक्राउ
फुङ्लिङ । प्रहरीले कञ्चन मनी ट्रान्सफर लुटपाटमा संलग्न तीन लुटेराको साथबाट छ लाख १३ हजार तीन सय ४० रुपैयाँ र एक सय ४३ तोला सुन सोमबार बेलुका बरामद गरेको छ । जिल्ला सदरमुकाम फुङ्लिङ स्थित सो ट्रान्सफरमा कार्यरत कर्मचारीलाई नियन्त्रणमा लिएर चार लुटेराले यही १७ असोजमा नगद तथा सुन लुटेका थिए । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कैलाश राईले लुटपाटमा संलग्न चार आरोपीमध्ये तीन जनालाई सोमबार राति पक्राउ गरिएको र उनीहरूको साथबाट नगद तथा सुन बरामद गरिएको जानकारी दिए । पक्राउ पर्नेमा फुङ्लिङ नगरपालिका–२ का २९ वर्षीय राजन भन्ने राजायन्द्र पर्तेल, झापा शिवसतासी नगरपालिका–१ का २६ वर्षीय चुनबहादुर सुनार र झापाकै अर्जुनधारा नगरपालिका–१० का २५ वर्षीय मणिराज पर्तेल छन् । फरार रहेका एक जनाको खोजी जारी रहेको प्रनाउ राईले जानकारी दिए । उनीहरुको साथबाट नगद छ लाख १३ हजार तीन सय ४० रुपैयाँ सहित एक सय ४३ तोला सुन सार्वजनिक गरेको हो । बरामद गरेका नगद र सुनका गरगहनाबाहेक एक थान पेस्तोल, कर्मचारीलाई नियन्त्रणमा लिनका लागि प्रयोग गरिएको सामान डोरी, कैचीलगायत सामग्री सार्वजनिक गरेको छ । मनी ट्रान्सफरका सञ्चालक अम्बरकुमार श्रेष्ठले दिएको जाहेरीमा ११ लाख ६३ हजार दुई सय ५० रुपैयाँ लुटपाट भएको उल्लेख गरिएको छ । यसैगरी हाल सुनको बजारभाउअनुसार तीन करोड ३९ लाख ९९ हजार छ सय रुपैयाँ बराबरको तीन सय ४८ तोला सुन लुटपाट भएको जनाएका छन् । पैसा पठाउने र दिने आइएमईसँग सुन कारोबारको इजाजत भए/नभएकोबारे कागजात अनुसन्धान गर्न तयारी रहेको प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेले बताए । उनले भने, ‘सुन कारोबार जाकट इजाजत छ वा छैन, कागजात मागेका छौँ, अनुसन्धान हुन्छ ।’ आरोपीले आइएमईमा कार्यरत कर्मचारी ३३ वर्षीया आशामाया प्रधानलाई पेस्तोलसहित नियन्त्रणमा लिएर नगद र गरगहना लुटपाट गरेका थिए । लुटपाटमा संलग्न लागुपदार्थ सेवनकर्ता भएको प्रहरीले जनाएको छ । उनीहरूले गरगहना लुटपाटको योजना काठमाडौँस्थित ग्राण्डी अस्पताल नजिक बसेर बनाएको प्रहरीको अनुसन्धानमा खुलेको छ । आरोपितविरुद्ध अदालतबाट थप १० दिनको म्याद थप गरी अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । रासस
भरतपुर अस्पतालको आकस्मिक सेवा नयाँ भवनबाट
चितवन । भरतपुर अस्पतालको आकस्मिक इमर्जेन्स सेवा छ दशकपछि नयाँ भवनबाट सुरुआत भएको छ । अस्पतालले विसं २०२० मा बनेको अस्पतालको आकस्मिक सेवा नयाँ भवनबाट सुरु भएको हो । अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ड प्रा डा कृष्णप्रसाद पौडेलका अनुसार पुरानो र जीर्ण भवनबाट सञ्चालन हुँदै आएको सेवा नयाँ भवनबाट सुरु गरिएको छ । हाल २० शय्याबाट सुरु भएको नयाँ भवनको सेवा केही समयपछि नै ५० शय्यामा सञ्चालन गरिने उनले बताए । नयाँ भवनमा आकस्मिक प्रयोगशाला, एक्सरे, सामान्य शल्यक्रिया कक्षसहितको सेवा हुने उनको भनाइ छ । यी सेवा पूर्णरूपमा सञ्चालन गर्न भने एक–दुई महिना लाग्ने प्रा डा पौडेलले बताए । नयाँ भवनको माथि दुई तला थप्ने अस्पतालको तयारी छ । दुई तला थप गरेपछि ट्रमा सेन्टरसमेत सोही भवनमा सञ्चालन गरिने छ । स्वास्थ्य मन्त्रालयले रु सात करोड लागतमा एकतले भवन बनाएको हो । अस्पतालले दुई तला थप गर्ने गरी विस्तृत अध्ययन प्रतिवेदन तयार गरिसकेको छ । उनले भने, ‘तला थप गर्न मन्त्रालयमा पुनः बजेट माग गर्ने तयारीमा छौँ ।’ विगतमा १२ शय्या सञ्चालन हुँदै आएको पुरानो आकस्मिककक्ष गत वर्षदेखि २० शय्या पु¥याइएको थियो । सोही २० शय्यालाई हाल नयाँ भवनमा सारिएको हो । नयाँ भवनमा पर्याप्त ठाउँ भएकाले उपचारमा सहज हुने छ । नयाँ भवनको आकस्मिक सेवा पूर्णरूपमा सञ्चालन आएसँगै शय्या अभावमा बिरामी बाहिर पठाउनुपर्ने बाध्यताको अन्त्य हुने मेसु डा पौडेलले बताए । अस्पतालको तथ्याङ्कानुसार वार्षिक झण्डै एक लाखको हाराहारीमा आकस्मिक कक्षमा बिरामी आउने गर्छन् । विसं २०१३ मा महेन्द्र आदर्श चिकित्सकलयको नामबाट स्थापना भएको अस्पताल हाल सङ्घीय अस्पतालका रूपमा छ ।
५ पूर्व अर्थमन्त्रीको चुनाव : तीन जना ‘ग्रिन’ र एक जना ‘रेड जोन’मा, एकको प्रतिस्पर्धा कडा
काठमाडौं । आगामी मंसिरमा हुने प्रतिनिधिसभाको निर्वाचनमा ५ जना पूर्व अर्थमन्त्रीहरुले उम्मेद्वारी दिएका छन् । बहालवाला अर्थमन्त्री जनार्दन शर्मा र पूर्वअर्थमन्त्रीहरु विष्णु पौडेल, वर्षमान पुन, सुरेन्द्र पाण्डे र ज्ञानेन्द्रबहादुर कार्की प्रतिनिधिसभा सदस्यको लागि चुनावी मैदानमा उत्रिएका छन् । चुनाव लक्षित गरेर राजनीतिक दलहरु दुई गठबन्धनमा विभाजित भएका छन् । सामान्यतया चुनाव सँधै पेचिलो र प्रतिस्पर्धात्मक हुने गर्छ नै । फेरि पनि यसपटकको चुनाव थप प्रतिस्पर्धात्मक बन्न पुगेको देखिन्छ । बहालवाला अर्थमन्त्री शर्मा र पूर्व अर्थमन्त्रीहरुको चुनावी प्रतिस्पर्धा हेर्दा केहीको निकै प्रतिस्पर्धात्मक र केहीको तुलनात्मक रुपमा सहज भएको अनुमान गर्न सकिन्छ । जनार्दन शर्मा बहालवाला अर्थमन्त्री जनार्दन शर्माले रुकुम पश्चिमबाट प्रतिनिधिसभा सदस्यको लागि उम्मेद्वारी दिएका छन् । उनी सत्तारुढ गबन्धनको तर्फबाट साझा उम्मेद्वार हुन् । उनीसँग प्रतिस्पर्धामा एमालेका नन्दराम देवकोटा रहेका छन् । शर्मा विगतका निर्वाचनहरुमा निरन्तर रुपमा सोही क्षेत्रबाट निर्वाचित हुँदै आएका छन् । १० वर्षे शसस्त्र युद्धको क्रममा माओवादीले आफ्नो आधार इलाकाको रुपमा विकास गरेको सो क्षेत्रमा तुलनात्मक रुपमा माओवादीको संगठनात्मक उपस्थिति बलियो रहेको छ । माओवादी भित्र प्रभावशाली नेताको रुपमा स्थापित शर्मा लामो समयदेखि सत्तामा निरन्तर रहेकाले सो निर्वाचन क्षेत्रमा भएका विकासका कामको पनि जस लिइरहने मौका पाएका छन् । चालु आर्थिक वर्षको बजेट निर्माण प्रक्रियामा विवादित बन्न पुगेका शर्मालाई संसदीय छानबिन समितिले सफाई दिएपछि थप आत्मविश्वासका साथ शर्मा निर्वाचनमा होमिएको उनका निकटस्थ बताउँछन् । ०७४ सालमा भएको निर्वाचनमा ३४ हजार ४ सय २ मतका साथ १८ हजार ७ सय ४३ मतान्तरले नेपाली कांग्रेशका गोपालजीजंग शाहलाई हराएका थिए । गत बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा ६ वटा पालिका रहेको रुकुम पश्चिमका अधिकांश पालिकामा माओवादीले बिजयी हासिल गरेको थियो । ६ वटा पालिकामध्ये माओवादी एक्लैले ४ वटा पालिका प्रमुख र २ वटा पालिका प्रमुखमा नेपाली कांग्रेशले जित हासिल गरेको थियो । रुकुम पश्चिमको ६ वटा पालिकाको प्रमुखमा एमालेका उम्मेद्वारले जम्मा ६ सय मत हासिल गरेका थिए । स्थानीय तह निर्वाचनको आधारलाई हेर्दा गठबन्धनको तर्फबाट प्रतिनिधिसभाको लागि साझा उम्मेद्वार रहेका अर्थमन्त्री शर्मालाई एमाले उम्मेद्वारसँगको प्रतिस्पर्धा अत्यन्तै सहज हुने अनुमान गर्न सकिन्छ । वर्षमान पुन ‘अनन्त’ माओवादी उपमहासचिव तथा पूर्व अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ ले प्रतिनिधिसभा सदस्यका लागि रोल्पाबाट उम्मेद्वारी दिएका छन् । यसअघि ०७४ सालमा भएको प्रतिनिधिसभाको निर्वाचनमा पनि अनन्तले रोल्पाबाट बिजयी हासिल गरेका थिए । उनले ४० हजार ६४७ मत सहित नेपाली कांग्रेशका अमरसिँह पुनलाई २० हजार ७४१ मतान्तरले हराएका थिए । गत बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा रोल्पाका अधिकांश पालिकामा माओवादीले बिजय हासिल गरेको थियो । १० वटा पालिकामध्ये माओवादी एक्लैले ७ वटा पालिकाको प्रमुखमा बिजयी हासिल गरेको थियो । १० वटा पालिका भएको रोल्पामा एमालेले एउटा मात्रै पालिकाको प्रमुख जितेको थियो भने अन्य २ पालिकामा मात्रै निकटतम् प्रतिस्पर्धी भएको थियो । त्यस्तै नेपाली कांग्रेशले २ वटा पालिकाको प्रमुखमा बिजय हासिल गरेको थियो । नेपाली काँग्रेससँग गठबन्धन गरेको र गत बैशाखमा भएको स्थानीय तह निर्वाचनको मतपरिणामलाई हेर्दा अनन्तलाई आगामी मंसिरमा हुने प्रतिनिधिसभाको निर्वाचनमा प्रतिस्पर्धा गर्न सहज हुने देखिन्छ । विष्णु पौडेल नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको लागि उम्मेद्वारी दर्ता गराएका छन् । ०७४ सालमा भएको निर्वाचनमा पौडेलले ४४ हजार ९ मत ल्याएर बिजयी हासिल गरेका थिए भने उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका युवराज गिरीले २१ हजार ९ सय ४५ मत हासिल गरेका थिए । पूर्वअर्थमन्त्री पौडेलले यसपटक भने गठबन्धनका साझा उम्मेद्वार राजु गुरुङसँग प्रतिस्पर्धा गर्दैछन् । एकीकृत समाजवादीको तर्फबाट साझा उम्मेद्वार रहेका राजु गुरुङले नेपाली कांग्रेस, माओवादी र राष्ट्रिय जनमोर्चाको समर्थन प्राप्त गरेका छन् । गत बैशाखमा भएको स्थानीय तह निर्वाचनको मत परिणामलाई हेर्दा बुटवल महानगरको १ देखि १३, तिलोत्तमाको १ देखि ६ र सैनामैनाको १ देखि ४ वटा समावेश रहेको सो निर्वाचन क्षेत्रमा एकीकृत समाजवादीको आधार कमजोर रहेको देखिन्छ । तर, १ लाख २८ हजारभन्दा धेरै मतदाता रहेको रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा गत बैशाखमा भएको स्थानीय तहको निर्वाचनको मतपरिणाम आधारलाई हेर्दा भने एमाले सत्तारुढ गठबन्धनभन्दा कमजोर रहेको देखिन्छ । सो निर्वाचन क्षेत्रमा रहेका २३ वटा वडामध्ये कांग्रेसले १४ वटा वडामा, एमालेले ५ वटा वडामा र अन्यले बाँकी वडाको नेतृत्वमा बिजयी हासिल गरेको देखिन्छ । पुर्वअर्थमन्त्री पौडेलका प्रतिस्पर्धीलाई गठबन्धनले राम्रोसँग सहयोग गरेमा बिष्णु पौडेललाई एमालेको तर्फबाट निर्वाचन जित्न निकै चुनौतिपूर्ण रहने देखिन्छ । सुरेन्द्र पाण्डे एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले प्रतिनिधिसभा सदस्यको लागि चितवन क्षेत्र नम्बर १ बाट उम्मेद्वारी दिएका छन् । ०७४ सालमा भएको निर्वाचनमा बाम गठबन्धनको तर्फबाट सोही क्षेत्रबाट बिजय हासिल गरेका पाण्डेले यसपटक सत्तारुढ गठबन्धनका साझा उम्मेद्वार डा. विश्व पौडेलसँग प्रतिस्पर्धा गर्ने भएका छन् । चितवन १ मा राप्ती नगरपालिका, रत्ननगर नगरपालिका र खैरहनी नगरपालिका पर्छन् । गत बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा राप्ती नगरपालिकाको प्रमुखमा एकीकृत समाजवादीका शमशेर लामा निर्वाचित भए । उनले एमालेका प्रतिस्पर्धी गोविन्द प्रसाद कँडेललाई पराजित गरेका थिए । लामाले कुल १२ हजार ५२४ मत प्राप्त गरेर विजयी भएका थिए भने उनका प्रतिस्पर्धीले १२ हजार ५१ ल्याएका थिए । राप्तीका १३ वडामध्ये एमालेले आठ, कांग्रेसले तीन र समाजवादीले दुई वडा जितेको थियो । समाजवादीले राप्तिमा काँग्रेसलाई साथ दिएको खण्डमा काँग्रेसका उम्मेदवारले बढी मत ल्याउने सम्भावना देखिन्छ । यस्तै, चितवन क्षेत्र नम्बर एकमै पर्ने रत्ननगर नगरपालिकाको मेयरमा नेपाली कांग्रेस नै विजयी भएको छ । कांग्रेसका प्रल्हाद सापकोटा सो नगरपालिकामा निर्वाचित भएका थिए । उनले २० हजार ७९६ मत प्राप्त गर्दा एमालेका बिमला दुवाडीले जम्मा १२ हजार ७२८ मत प्राप्त गरकी थिइन् । यस नगरपालिमा पनि काँग्रेस नै बलियो देखिन्छ । चितवनकै खैैरहनी नगरपालिकाको मेयरमा पनि नेपाली कांग्रेसकै नेता निर्वाचित भएका थिए । नेपाली कांग्रेसका शशिकुमार खनिया १४ हजार ५४५ मतले विजयी भएका थिए भने एमालेका लालमणि चौधरीले १३ हजार ६९५ मत मात्रै पाएका थिए । यसरी स्थानीय तहको निर्वाचनको मत परिणामलाई हेर्दा चितवनको क्षेत्र नं. १ मा काँग्रेस नै बलियो भएर आएको देखिएको छ । यसले पनि नेता पाण्डेलाई ठूलो चुनौतिसँगसँगै जोखिम पनि देखिन्छ । चितवन १ मा रहेका तीन पालिका अन्तर्गतका ४२ वटा वडा पर्छन् । जसमध्ये २० वटा वडाका अध्यक्ष एमालेले जितेको छ । कांग्रेसले १८, माओवादी केन्द्रले एक, एकीकृत समाजवादीले एक र स्वतन्त्रले दुई वडाका अध्यक्ष जितेका थिए । चितवन एकमा एमाले र गठबन्धनका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । डा. पौडेल चितवन मात्रै होइन देशभर राम्रो छवि बनाएका व्यक्ती हुन् भने एमालेका नेता पाण्डे लामो क्षेत्रदेखि सो क्षेत्रको विकास निर्माणमा संलग्न छन् । चितवनको विकासमा पाण्डेको भूमीमा पनि ठूलो छ । उनी अर्थमन्त्री हुने समयमा मात्रै होइन अन्य समयमा पनि जतिसक्दो ठूलो योजना तथा बढी बजेट चितवन निर्वाचन क्षेत्र नम्बर एकमा पार्ने कसर गरिरहेका हुन्छन् भने त्यसमा उनी सफल पनि बनेका छन् । राष्ट्रिय योजना आयोगको उपाध्यक्षकै हैसियतमा रहेका डा.पौडेलले पनि चितवनमा विकासका योजना पार्न ठूलो भूमिका खेलेका छन् । त्यसैले पनि यी दुई जनाबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । ज्ञानेन्द्रबहादुर कार्की पूर्वअर्थमन्त्री तथा हाल सञ्चार एवं सूचना प्रविधि मन्त्री रहेका ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधिसभा सदस्यको लागि सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट उम्मेद्वारी दिएका छन् । ०७४ सालमा भएको निर्वाचनमा कार्कीले सोही निर्वाचन क्षेत्रबाट ३२ हजार ३ सय ४७ मत प्राप्त गर्दै एमालेका उम्मेद्वार रमेश श्रेष्ठलाई पराजित गरेका थिए । यसपटक कार्कीले एमालेका उम्मेद्वार जगदिश कुसियतसँग प्रतिस्पर्धा गर्नेछन् । सुनसरी क्षेत्र नम्बर ४ मा वराहक्षेत्र नगरपालिकाको वडा नम्बर ६ देखि ११ वडा, इनरुवा नगरपालिका ३, ४ र ८ , रामधुनी नगरपालिका वडानम्बर ४, हरिनगर गाउँपालिकाका १ देखि ७ नम्बर वडा तथा भोक्राहा नरसिंह र कोशी गाउँपालिका पर्छन् । जसमध्ये गत बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा सो निर्वाचन क्षेत्रमा पर्ने अधिकांश वडामा नेपाली कांग्रेसले विजय हासिल गरेको थियो । सत्तारुढ गठबन्धनको मत र एमालेले स्थानीय तहको निर्वाचनमा प्राप्त गरेको मतलाई हेर्दा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार कार्कीलाई निर्वाचनमा प्रतिस्पर्धा गर्न सहज हुने अनुमान गर्न सकिन्छ ।
बाढीपीडितका उद्धार र राहत वितरणमा खटिए कैलालीका जनप्रतिनिधि
टीकापुर । कैलालीका बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधि बाढीपीडितको उद्धार र राहतमा व्यस्त रहेका छन् । कर्णाली नदीमा बाढी आएपछि कैलालीको टीकापुर नगरपालिका, जानकी, जोशीपुर गाउँपालिका र भजनी नगरपालिका डुबानमा परेका छन् । बाढीले टीकापुरका वडा नं २, ५ र ८ मा सयौँ घर डुबानमा परेका छन् । वडा नं २ मा रानीकुलो विभिन्न ठाउँमा फुटेर बस्तीमा पसेपछि विभिन्न बस्ती डुबानमा परेका वडा नं २ का वडाध्यक्ष दीपक चौधरी बताउँछन् । ‘खतरामा छौँ, मूलपानी जाने बाटो नजिकै रानीकुलो ड्याम फुटेको छ । कटासे नजिकै जगतपुर र मिलनचोकमा रानीकुलो फुटेर बस्तीमा पसेकाले डुबान भएको छ’, उनले भने, ‘बन्दीपुर, कोठारपुर, विजयनगर, राजीपुर, सीतापुर डुबानमा परेकाले हामी उद्धारमा खटेका छौँ ।’ टीकापुरको वडा नं ५ मा पनि रानीकुलो बस्तीमा पसेको छ । यसका साथै शाहीपुरमा कर्णाली नदीको तटबन्ध भत्कने खतरा बढेकाले नागरिकलाई सुरक्षित राख्न विभिन्न प्रयास भइरहेका वडाध्यक्ष बलवीर चौधरीले जानकारी दिए । ‘उर्दिपुर, बङ्गालपुर, झन्टझटपुर मनिकापुर पूरै जलमग्न भएको छ’, उनले भने, ‘शाहीपुरमा कर्णाली नदीमा तटबन्ध फुट्ने खतरा बढेको छ । त्यसैले त्यहाँका बस्तीलाई उच्च स्थानमा सारिरहेका छौँ ।’ त्यस्तै टीकापुरको वडा नं ८ को वनगाउँबाट नदी बस्तीमा पसेको छ । वडा नं ८ को वनगाउँका नागरिकले तीन दिनदेखि घर छाडेका छन् । वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले बाढीले नागरिकको सम्पत्ति र खेत सबै क्षति भएको बताए । ‘वडा पूरै डुबानको खतरामा छ । फाँटागाउँका मानिस सडकमा, कालिमाटी स्कुल, सूर्यपुर स्कुललगायतका ठाउँमा राखेका छौँ’, उहाँले भन्नुभयो, ‘यस वर्ष भोकमरी हुने निश्चित छ । नदी भङ्गालो बनाएर बस्तीमा पसेको छ ।’ जानकी गाउँपालिका वडा नं ९ मा पनि बाढी बस्तीमा पसेको छ । नदी बस्ती पस्नबाट रोक्ने पालिकाको अथक प्रयास सफल भएन । नदी बस्तीमा पसेपछि वडा नं ९ का केही परिवार विस्थापित भएका र उनीहरूको बसोबास तथा खानपानको व्यवस्था मिलाउन थालिएको अध्यक्ष गणेश चौधरीले बताए । ‘दर्जन बढी घर विस्थापित भएका छन् । अहिले पनि घर फर्कने वातावरण छैन’, अध्यक्ष चौधरीले भने, ‘पीडितलाई राहतमा खाद्यान्न दिएका छौँ । उहाँहरूको खानपानको व्यवस्थासमेत गरिएको छ ।’ कर्णाली नदीमा पानीको सतह बढेर विभिन्न वडामा बाढी आएपछि सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री डा रणबहादुर रावल, टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारू, उपप्रमुख खड्कबहादुर शाह, प्रमुख प्रशासकीय अधिकृत मङ्गलबहादुर शाहीलगायत सबै पीडितको उद्धारमा खटेका छन् । बाढीपीडितलाई सुरक्षित स्थानमा सार्ने, उनीहरूको बसोबासको व्यवस्था मिलाउने, जोखिममा रहेकालाई सार्न स्थानीयवासीको सहयोग लिने काम भइरहेको छ । नदी बस्तीमा पसेपछि आइतबार सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री रावलले यस क्षेत्रका प्रभावित विभिन्न ठाउँको निरीक्षण गरेका छन् । निरीक्षणपछि मन्त्री रावलले जिल्ला प्रशासन कार्यालय, मन्त्रालयअन्तर्गतको प्रादेशिक विपद् समितिलाई विपद्बाट जोगाउन राहत, उद्धारका कार्यमा जुट्न निर्देशन दिएका छन् । ‘आइतबार रातिदेखि नै म सुरक्षाकर्मी साथमा लिएर उद्धारमा खटेको छु । रातभरि प्रभावित क्षेत्रको अवलोकन गरेको छु’, उनले भने, ‘स्थिति भयाभह र दयनीय छ । सबैलाई राहत तथा उद्धारमा खट्न निर्देशन दिएको छु ।’ रासस