कोरोना कम भएपछि होटल बाराहीको बिजनेसमा छलाङ, एक वर्षमा ५२९ प्रतिशतले बढ्यो आम्दानी
काठमाडौं । पोखरामा रहेको होटल बाराहीले एक वर्षमा पौन ११ करोड रुपैयाँ आम्दानी गरेको छ । होटलले सन् २०२२ मा १० करोड ७० लाख रुपैयाँ आम्दानी गरेको हो । सन् २०२१ मा यस होटलले १ करोड ७० लाख रुपैयाँ मात्रै आम्दानी गरेको थियो । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको समयमा होटलको आम्दानी कम भए पनि विस्तारै कोरोना कम भएपछि होटलको बिजनेस पनि बढ्दै गएको देखिन्छ । अघिल्लो वर्षको तुलनामा यस होटलको आम्दानी ५२९ प्रतिशतले बढेको देखिएको छ । बाराही ग्रुपद्वारा सञ्चिालित बाराही होटलका अध्यक्ष हरि प्रसाद पौडेल हुन् । चार तारे यो होटल पोखराको लेकसाइड नजिकै सञ्चालनमा छ । होटलमा ८० वटा कोठा छन् । बाराही ग्रुपले पोखरामा बाराही होटलसँगै चितवनको बाराही जंगल लज सञ्चालन गरिरहेको छ भने साराङ्कोटमा साराङ्कोट माउण्टेन लज पनि सञ्चालन गरिरहेको छ । सन् १९९२ मा खुलेको यो होटल लेकसाइडको सबैभन्दा बढी क्षेत्रफलमा फैलिएको होटल पनि हो । यस होटलले ९४ करोड रुपैयाँ ऋण सुविधा लिनका लागि इक्रा नेपालबाट रेटिङ पनि गराएको छ । कम्पनीले बि प्लस रेटिङ पाएको छ ।
अन्तर्राष्ट्रिय विमानस्थलबाट कति एयरलाइन्सले उडान गर्छन् ?
काठमाडौं । विदेशी नागरिक नेपाल प्रवेश गर्ने पहिलो नाकाको रुपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल टिआइए लाई लिइन्छ । सात दशक लामो इतिहास बोकेको काठमाडौँ विमानस्थल विदेशीलाई नेपालको झ–झल्को दिने ऐनाको रुपमा पनि हेरिन्छ । यो विमानस्थल भएर अहिले तीन नेपालीसहित २६ एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान भरिरहेको टिआइएले जनाएको छ । कोभिड–१९ महामारीपूर्व काठमाडौँ विमानस्थलमा ३१ अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्थे । आन्तरिकतर्फ पनि ११ हेलिकोप्टर कम्पनीसहित २० वायुसेवा प्रदायकले सेवा दिइरहेका छन् । विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार ‘स्लट’ व्यवस्थापन प्रभावकारी बनाइ उडान सुरक्षा र सेवा गुणस्तरमा ध्यान दिइएको छ । ‘विमानस्थलमा स्लट व्यवस्थापन प्रभावकारी ढङ्गले कार्यान्वयन गरिएको छ । अहिले जहाज ‘होल्ड’ र ‘डिले’ हुने अवस्था छैन । ‘सेफ्टी इनह्यान्स’ गरेका छौँ । अहिले पर्यटकीय सिजनमा पनि विगतमा जस्तो दुई देखि तीन घण्टा जहाज होल्ड र उडान डिले हुँदैन, मौसमले साथ दिएसम्म त्यस्तो कुनै समस्या छैन’, महाप्रबन्धक ठाकुरले भने । नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्स, निजी लगानीको हिमालय एयरलाइन्स र बुद्ध एयर भारतको बनारसमा ले अन्तराष्ट्रियतर्फ उडान गरिरहेका छन् । भारतको एयर इन्डिया, इन्डिगो र विस्ताराले काठमाडौँ विमानस्थलमा उडान भर्दै आएका छन् । चीनको एयर चाइनाले मात्रै साताको एक उडान गरिरहेको छ । कोभिडपूर्व चीनका चार एयरलाइन्सले काठमाडौँमा उडान गर्थै । कोभिडपूर्व चीनको एयर चाइना, सिचुवान एयर, चाइना इस्ट्रन, चाइना साउदर्नले उडान गरेका थिए । नेपाल एयरलाइन्सले हाल भारतका तीनसहित आठ देशका १० गन्तव्यमा उडान भर्दै आएको छ । हिमालय एयरलाइन्सले विभिन्न छ देशका छ गन्तव्यमा उडान गर्छ । विमानस्थलको विवरणमा अहिले अन्तराष्ट्रियतर्फ दैनिक दुईतर्फी ७५ देखि ८५ उडान भइरहेको छ । चाडपर्व र पर्यटकीय सिजन चलिरहेकाले अन्तर्राष्ट्रिय उडान सङ्ख्या बढेको विमानस्थलले जनाएको छ । आन्तरिकतर्फ अहिले दुईतर्फी तीन सय १० उडान चलिरहेको छ । तत्कालका लागि थप अन्तर्राष्ट्रिय एयरलाइन्स सम्पर्कमा नआएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हङ्गेरीको बिज एयरले आगामी अक्टोबर ३० देखि यूएईको अवुधावी उडान गर्ने अनुमति पाएको छ । नोभेम्बर १५ तारिखबाट वीन्टर सेडूल आउने र त्यसमा गौतमबुद्ध विमानस्थललाई केन्द्रित गरिएको प्रवक्ता निरौलाले जानकारी दिए । हिमालय एयरलाइन्स, एयर अरेबिया र फ्लाई दुबईले उडान भर्ने चासो देखाएका छन् । गौतमबुद्ध विमानस्थलमा अहिले कुवेतको जजिरा एयरले दैनिक एक उडान गरिरहेको छ । महामारीपछि पर्यटन क्षेत्र चलायमान बन्दै गएको छ । पर्यटकीय सिजन पनि सुरु भएको छ । दसैँ सकिएर तिहार र छठपर्वको सङ्घारमा रहेकाले अहिले अन्तर्राष्ट्रिय आन्तरिक उडान चाप बढेको छ । हवाईयात्रुको सङ्ख्या पनि बढ्दो क्रममा रहेको विमानस्थल कार्यालयले जनाएको छ । आन्तरिक यात्रुले एयरलाइन्सको ‘विजनेश’ बढाएको छ । चाडपर्वसँगै भ्रमणमा निस्कने यात्रुको सङ्ख्या बाक्लिएको छ । यी एयरलाइन्सको अन्तर्राष्ट्रिय उडान प्राधिकरणका अनुसार टिआइएबाट अहिले २६ एयरलाइन्सले अन्तराष्ट्रिय उडान गरिरहेका छन् । नेपालको नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र बुद्ध एयरले उडान गरिरहेका छन् । त्यस्तै एयर अरेबिया अबुधाबी र एयर अरेबिया सारजाहले उडान भर्दै आएका छन् । जजिरा एयर, कोरियन एयर, मालिन्दो एयर, मलेसिया एयर, कतार एयरवेज, सलाम एयर, सिङ्गापुर एयर, श्रीलङ्कन एयरलाइन्स, टर्किस एयरलाइन्सले उडान भरिरहेका छन् । विमान बङ्गलादेश, क्याथी प्यासिफिक एयरवेज लिमिटेड, ड्रुक एयरलाइन्स र फ्लाइ दुबईले काठमाडौँ विमानस्थल भएर उडान गरिरहेका छन् । विमानस्थलमा पछिल्लो पटक थाई स्माइल एयर, भिस्तारा र श्रीलङ्कन एयरलाइन्सले उडान भर्दै आएका छन् । गौतमबुद्ध विमानस्थलबाट कुवेतको जजिरा एयरले उडान गरिरहेको छ । नेपालले हाल ४० मुलुक र युरोपेली सङ्घ गरी ४१ मुलुकसँग हवाईसेवा सम्झौता गरिसकेको छ । पछिल्लो पटक सन् २०१९ मा अष्ट्रेलियासँग हवाई सेवा सम्झौता भएको थियो । छिट्टै अमेरिका, स्वीट्जरल्याण्ड, इण्डोनेशिया, रुवाण्डालगायत मुलुकसँग हवाई सम्झौता हुने जनाइएको छ । रासस
राष्ट्रपति भण्डारी अस्पतालबाट डिस्चार्ज
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी उपचारपछि आज अस्पतालबाट डिस्चार्ज भएकी छिन् । कोरोना सङ्क्रमण भई त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालमा उपचाररत उहाँको स्वास्थ्यमा सुधार आएपछि आज दिउँसो १२ः४५ बजे अस्पतालबाट डिस्चार्ज हुनुभएको अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले जानकारी दिए । ‘उहाँको स्वास्थ्य अवस्थामा सुधार देखिएपछि आज घर फर्कनुभएको हो,’ उनले भने, ‘राष्ट्रपति भण्डारीको ज्वरोलगायत स्वास्थ्यका अन्य सूचकाङ्कहरु सामान्य छन् ।’ यही असोज २२ गते राष्ट्रपति भण्डारीलाई रुघाखोकी र ज्वरो आएपछि अस्पतालको एनेक्स वार्ड नं ६०१ मा भर्ना गरी उपचार गरिएको थियो । त्यस क्रममा पिसिआर परीक्षण गर्दा कोरोना सङ्क्रमण देखिएको थियो । उहाँको उपचारमा डा नीरज बमको नेतृत्वमा चिकित्सकको टोली खटिएको थियो । रासस
सहकारीले महिलालाई व्यवसायी बनायो
देउखुरी । घोराही उपमहानगरपालिका–६ अघराकी रामकुमारी थापाको बाख्रा खोरमा अहिले ४५ वटा बाख्रा छन् । २० वटा माउ, तीन वटा बोका, १० वटा खसी र १२ वटा साना पाठापाठी छन् । घरखर्च चलाउन सुरुमा बाख्रापालन सुरु गरेकी रामकुमारी अहिले व्यावसायिक बाख्रापालनमा लागेका छन् । उनले पाँच लाख रुपैयाँ लगानी गरेर चार कोठासहितको ठूलो खोर निर्माण गरेर बाख्रापालन गरेकी छिन् । एउटा खसीलाई २० देखि २५ हजार रुपैयाँमा बिक्री गर्ने गरेको उनले बताइन् । भर्खरै सकिएको दशैंमा दुई लाख रुपैयाँको खसीबोका बिक्री गरेको उनी बताउँछिन् । उनले घोराही–६ मा रहेको शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाबाट दुई लाख पचास हजार रुपैयाँ ऋण लिएर व्यवसाय सुरु गरेकी हुन् । ‘सहकारीले ऋण दिएकाले व्यवसाय गर्न सजिलो भएको हो’, उनले भनिन्, ‘वैदेशिक रोजगारीमा जानुभएका श्रीमान् पनि अहिले घर फर्केर काममा सघाउदा सहयोग भएको छ, अब यतै काम गर्ने सोचाइमा छौँ ।’ घोराही– ६ चैनपुरकी शोभा वलीले विसं २०७५ देखि बाख्रा पाल्न सुरु गरेकी हुन् । अहिले उनीसँग १२ खसी, १५ माउ र साना पाठापाठी २१ गरी जम्मा ४८ बाख्रा छन् । गत वर्षको दशैमा उनले दुई लाख २० हजार रुपैयाँको खसी बिक्री गरेको र यस वर्ष पनि दशैंमा पाँच खसी बिक्री गरेर एक लाख ६० हजार रुपैयाँ आम्दानी गरेको बताइन् । बिक्री गर्न तयारी अवस्थामा रहेका अझै पाँच वटा खसी रहेको र आउँदै गरेको तिहारमा सबै बिक्री हुने उनी बताउँछिन् । उनको चार जनाको परिवार छ । वैदेशिक रोजगारीका लागि साउदीमा रहेका श्रीमान् वैशाखमा घर फर्किएपछि दुवै जना मिलेर व्यवसायलाई अगाडि बढाउने योजना रहेको उनले सुनाइन् । ‘सबैले मिलेर घरको काम गर्ने गरेका छौँ’, उनले भनिन्, ‘घरको छेउमा किमु र मकैचरी घाँस रोपेका छौँ, बाख्रालाई खुवाउन सजिलो भएको छ ।’ बाख्रापालनमा खासै लगानी गर्नुनपरेको तर, आम्दानी भने सन्तोषजनक रहेको साथै सहकारीको सहयोगमा व्यावसायिक हुन पाइएको उनको भनाइ छ । घोराही–६ की गीता घर्तीले पनि व्यावसायिक बाख्रापालनमा लागेकी छिन् । दशैं तिहारको मौकामा बाख्रा बढी बिक्री हुने गरेको उनी बताउँछिन् । यस वर्षको दसैँमा एक लाख १० हजार रुपैयाँको खसी बिक्री गरेको बताइन् । उनीसँग अहिले पनि ४५ बाख्रा छन् । वर्षमा चार लाख ५० हजारभन्दा बढी आम्दानी गर्ने गरेको बताउँछिन् । ‘पहिलेकोभन्दा अहिले त मान्छेले हेर्ने दृष्टिकोण नै फेरिएको छ, पहिले बाख्रा थोरै थिए, पालेर घरखर्च मात्र ठिक्क हुन्थ्यो’, उनले भनिन्, ‘अहिले कमाइ राम्रो भएको छ, घरछेउको दुईकट्ठा खेत जोडेको छु ।’ चार वर्षअघि शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाबाट दुई लाख रुपैयाँ ऋण लिएर सुरु गरेको बाख्रापालन व्यवसायले प्रशस्त आम्दानी दिएको उनी बताउँछिन् । उनले भनिन्, ‘अझै बढाउने योजना छ, सहकारीबाट ऋण पाएपछि हौसला बढेको हो ।’ का कोषाध्यक्ष शरदकुमार आचार्यले घोराही– ६ कार्यक्षेत्र निर्धारण गरेर १७ वर्ष अगाडि स्थापना भएको सहकारीले ग्रामीण क्षेत्रका सदस्यलाई सहयोग पुगेको बताइन् । शेयर सदस्यलाई कर्जा लिन सजिलो हुने गरी काम गरेको उनको भनाइ छ । व्यवसाय र कृषि पेसा गर्न चाहने सदस्यलाई ऋण प्रवाह गर्ने गरेको उनी बताउँछिन् । अहिले सहकारीमा एक हजार तीन सय ६७ जना सदस्य छन् । जसमा सात सय २६ जना महिला, छ सय ३७ जना पुरुष र ८० सङ्घ सस्था सदस्य रहेका छन् । सबै सदस्यलाई ऋण लगानी गर्दा माग गरे अनुसार पु¥याउन सकिएको बताइन् । सहकारीबाट कर्जा लिएर सदस्यले जीवनस्तर परिवर्तन गरेकाे देख्दा खुसी लाग्ने गरेको उनी बताउँछिन् । कृषिका लागि ऋण लिन चाहने सदस्यलाई १४ प्रतिशतमा ऋण दिने गरेको कोषाध्यक्ष आचार्यले बताए । रासस
चुनावको मुखमै अर्थमन्त्री र अर्थसचिवसहितको टोली अमेरिका भ्रमणमा
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा र अर्थ सचिव कृष्णहरी पुष्कर कर्णसहितको टोली अमेरिका भ्रमणमा गएको छ । विश्व बैंकको कार्यक्रममा सहभागि हुनका लागि अर्थमन्त्री शर्मा र सचिव कर्ण अमेरिका भ्रमणमा गएको अर्थमन्त्रालयले जनाएको छ । सरकारले मंसिर चार गतेका लागि चुनाव घोषणा गरेको छ । उनीहरु चुनावको मुखमै अमेरिका भ्रमणमा गएका हुन् ।
लाभांश घोषणाका लागि राष्ट्र बैंक पुगे १६ वाणिज्य बैंक, केहीको रोकिँदै
काठमाडौं । लाभांश घोषणाका लागि १६ वटा वाणिज्य बैंक राष्ट्र बैंक पुगेका छन् । राष्ट्र बैंक स्रोतका अनुसार १६ वटा वाणिज्य बैंक वार्षिक साधारणसभा क्लियरेन्सका लागि राष्ट्र बैंक पुगेका हुन् । ‘१६ वटा वाणिज्य बैंकहरुले वार्षिक साधारणसभा क्लियरेन्सका लागि राष्ट्र बैंकमा पठाएका छन्, त्यस विषयमा हामी अध्ययन गरिरहेका छौं, पूर्ण रुपमा अध्ययन गरेपछि हामी हाम्रो निर्णय गर्छौं,’ राष्ट्र बैंक स्रोतले भन्यो । राष्ट्र बैंक स्रोतका अनुसार एनआइसी एसिया, सनराइज, ग्लोबल आइएमई, बैंक अफ काठमाण्डू, सिद्धार्थ, सिटिजन्स, मेगा र कुमारी, एभरेष्ट, नबिल लगायत १६ वटा वाणिज्य बैंक राष्ट्र बैंक पुगेका छन् । सिटिजन्स बैंक, कुमारी र नेपाल पूर्वाधार (निफ्रा)ले स्वीकृति पनि पाइसकेका छन् भने ती बैंकहरुले लाभांश पनि प्रस्ताव गरिसकेका छन् । सिटिजन्स बैंकले वार्षिक साधारणसभा पनि बोलाइसकेको छ । सिटिजन्स बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ९ प्रतिशत, कुमारीले १२.५० प्रतिशत र ४.२१०४ प्रतिशत लाभांश प्रस्ताव गरेका छन् । यस पटक भने स्वीकृति दिनका लागि राष्ट्र बैंकले लामो समय लिएको छ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा बैंक सुपरभिजन विभागका प्रमुख देवकुमार ढकालले अधिकांश कम्प्ल्यायन्सहरु कार्यान्वयन गरे नगरेको हेर्नु पर्ने भएकोले केही समय लागेपनि राष्ट्र बैंकको नियत भने ढिलो गर्ने नभएको बताए । ‘राष्ट्र बैंकमा वित्तीय विवरण स्वीकृतिका लागि आएका बैंकहरुलाई हामीले जति सक्दो छिट्टो स्वीकृति दिने योजना बनाएका छौं, सकेसम्म छिटो नै स्वीकृति दिने हाम्रो पनि इच्छा हो तर आए लगत्तै नहेरेर दिने कुरा भएन,’ उनले भने । उनले एक/दुई दिन भित्र अझै पाउन सक्ने सम्भावना न्यून भएको बताए । बैंकहरुले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले लाभांश पाउँछन् । नेपाल राष्ट्र बैंकले लाभांश वितरण गर्न सक्ने स्वीकृति दिएपछि बैंकले २१ दिन अगावै वार्षिक साधारण सभा बोलाउनु पर्ने व्यवस्था छ । राष्ट्र बैंक स्रोतका अनुसार दुई/तीन वटा ठूला वाणिज्य बैंकहरुले भने लाभांश वितरण गर्न नपाउने सम्भावना देखिएको राष्ट्र बैंक स्रोतको भनाइ छ । राष्ट्र बैंकको नियामकीय व्यवस्था कार्यान्वयन नगरेको भन्दै केही दुई/तीन वटा बैंकहरुको कारवाहीमा पर्न सक्ने देखिएको स्रोतको भनाइ छ । नेपाल राष्ट्र बैंकले अघिल्लो आर्थिक वर्षमा पुँजीकोष मेन्टेन नगरेको भन्दै एनआईसी एसिया बैंकलाई लाभांश वितरणबाट रोक लगाएको थियो । यस वर्ष पनि केही बैंकलाई रोक लगाउने तयारी भएको बुझिएको हो ।
पर्वतका किसान : यस वर्ष डेढ करोडको सुन्तला बेच्छौं
पर्वत । व्यावसायिक सुन्तलाखेतीका लागि प्रख्यात बन्दै गएको पर्वतको पाङ्राङका कृषकले यस वर्ष सुन्तला उत्पादन बढ्ने बताएका छन् । यस वर्ष कम वर्षा भएको तथा रोग, किरा र असिनाको प्रकोपसमेत नभएकाले सुन्तला उत्पादन बढुने अपेक्षा गरिएको श्रीनगर सुन्तला उत्पादक सहकारीका अध्यक्ष तारालाल कुवँरले बताए । गत वर्ष सहकारीमार्फत ८० लाखका सुन्तला बेचेका यहाँका कृषकले यस वर्ष कम्तीमा डेढ करोड भित्र्याउन सफल हुने उनको भनाइ छ । ‘मौसमी अनुकूलताले उत्पादन दोब्बर हुने अपेक्षा छ’, अध्यक्ष कुवँरले भने, ‘कतिपय कृषकले पाँच लाखभन्दा बढीका सुन्तला बेच्नु हुनेछ’ । अर्का कृषक तोयराज कुँवर भन्छन्, ‘यो वर्ष राम्रो फल दिएको छ, अब असोजको झरीले असर नगरेमा उत्पादन राम्रो लिनसक्ने आशमा छु’, उनले भने । परम्परागत तरिकाले मकै र कोदो लगाउने बारीमा सुन्तलाखेती सुरु गरेपछि यहाँका दुई सयभन्दा बढी परिवार खुसी छन् । उपल्लो श्रीकाङ, सात्ले, सुलिकोट मात्रै होइन छिमेकी कुर्घाको ठूलास्वाँरा, नुवाखर्कलगायतका क्षेत्रलाई समेटेर सुन्तला उत्पादनको पकेट ब्लक क्षेत्रका रुपमा विकास गर्न थालिएको छ । हरेक वर्ष खेती बिस्तारको काम भइरहेको छ । सुन्तलाबाट वार्षिक लाखौँ रुपैयाँ आम्दानी गर्न थालेपछि उनीहरुको जीवनस्तरमा समेत परिवर्तन आउन थालेको छ । गाउँमा उत्पादित सुन्तलालाई श्रीनगर सुन्तला उत्पादक सहकारीमार्फत बेचबिखन गर्न थालेपछि देशका मुख्य मुख्य सहरमा समेत बजार पाउन थालेको छ । उत्पादित सुन्तला पोखरा, काठमाडौँ, बुटवल, विराटनगरलगायतका व्यापरीले गाउँमै आएर खरिद गर्न थालेको अध्यक्ष कुँवरले बताए । फलेबास क्षेत्रमा कोल्डस्टोर बनाउने र पर्वतका सबै गाउँको उत्पादन राखेर बेमौसममा बिक्री गर्नसकेमा कृषकलाई धेरै राहत पुग्ने अध्यक्ष कुँवरको भनाइ छ । सुन्तला फल्ने गाउँ सम्म नै पक्की सडक हुनसके ढुवानीका लागि अझै सहज हुने उनको भनाइ छ । कृषि ज्ञानकेन्द्र पर्वतका वरिष्ठ कृषि विकास अधिकृत मनिता थापाले गत वर्षभन्दा राम्रो फल लागेकाले यस वर्ष उत्पादनमा केही वृद्धि हुने जानकारी दिए । रासस
सुनसान सिंहदरबार
काठमाडौं । दशैं मनाउन मन्त्री, नेता र कर्मचारीहरु जिल्ला जाँदा सिंहदरबार सुनसान बनेको छ । दशैं सकिएर सरकारी कार्यालयहरु खुल्न थालिसक्दा पनि सिंहदरबारमा चहलपहल भने त्यत्ति बाक्लो देखिँदैन । नेता र मन्त्रीहरु निर्वाचन प्रयोजनार्थ आफ्नो जिल्ला जाने क्रम बढेसँगै सिंहदरबार सुनसान बनेको छ । मन्त्रीहरु निर्वाचनका लागि गाउँ जाँदा मन्त्रीलाई भेट्न जाने कर्मचारी, राजनीतिक दलका नेता कार्यकर्ता र सर्वसाधारणको भीड कम छ । मन्त्री तथा नेताहरु आफ्नो निर्वाचन जिल्ला तथा क्षेत्रमा गएकोले पनि सिंहदरवारमा मन्त्री तथा कर्मचारीहरु त्यत्ति देखिन सकेका छैनन् । यसले सिंहदरबार सुनसान हुन पुगेको हो । मंगलबार पनि सिंहदरबारमा मानिसहरुको आवतजावत निकै कम देखिएको छ । आईतवार कोजाग्रत पूर्णिमादेखि दशैं औपचारिक रुपमा सकिएपनि सरकारी कामकाज शुरु भइसक्दा समेत दशैँ बिदामा गएका कर्मचारीहरु फर्किसकेको अवस्था छैन भने मन्त्रीहरु पनि निर्वाचनका लागि दौडिरहँदा मन्त्रालयमा आउने सेवाग्राही तथा सर्वसाधारणको भीडभाड घटेको हो । हाल मन्त्रालयमा सिमित कर्मचारीहरुलाई मात्रै देख्न तथा भेट्न सकिन्छ । यता पछिल्लो केही दिन यता देशभर वर्षा हुँदा भएको जनधनको क्षतिका कारण पनि नेता तथा मन्त्रीहरु विभिन्न जिल्लामा पुगिरहेका छन् । वर्षाका कारण सडकहरु भत्किँदा राजधानी फर्किनेहरु सहजै, समयमै राजधानी काठमाडौं फर्किन सकिरहेका छैनन् । यसले पनि सिंहदरबार जानेहरुको संख्या घटाएको छ । दैनिक हजारौँको संख्यामा मानिसहरु सिंहदरवार प्रवेश गर्ने भएपनि अहिले फाट्टफुट्ट मात्रै मानिसहरु र सवारी साधनहरु देख्न सकिन्छ । मंगलबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, खानेपानी मन्त्रालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, गृह मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालय लगायतका मन्त्रालयको अवस्था हेर्दा कर्मचारी तथा सेवाग्राहीहरुको संख्या न्युन मात्रामा देखियो ।