काठमाडौं । लाभांश घोषणाका लागि १६ वटा वाणिज्य बैंक राष्ट्र बैंक पुगेका छन् । राष्ट्र बैंक स्रोतका अनुसार १६ वटा वाणिज्य बैंक वार्षिक साधारणसभा क्लियरेन्सका लागि राष्ट्र बैंक पुगेका हुन् ।
‘१६ वटा वाणिज्य बैंकहरुले वार्षिक साधारणसभा क्लियरेन्सका लागि राष्ट्र बैंकमा पठाएका छन्, त्यस विषयमा हामी अध्ययन गरिरहेका छौं, पूर्ण रुपमा अध्ययन गरेपछि हामी हाम्रो निर्णय गर्छौं,’ राष्ट्र बैंक स्रोतले भन्यो ।
राष्ट्र बैंक स्रोतका अनुसार एनआइसी एसिया, सनराइज, ग्लोबल आइएमई, बैंक अफ काठमाण्डू, सिद्धार्थ, सिटिजन्स, मेगा र कुमारी, एभरेष्ट, नबिल लगायत १६ वटा वाणिज्य बैंक राष्ट्र बैंक पुगेका छन् । सिटिजन्स बैंक, कुमारी र नेपाल पूर्वाधार (निफ्रा)ले स्वीकृति पनि पाइसकेका छन् भने ती बैंकहरुले लाभांश पनि प्रस्ताव गरिसकेका छन् । सिटिजन्स बैंकले वार्षिक साधारणसभा पनि बोलाइसकेको छ ।
सिटिजन्स बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ९ प्रतिशत, कुमारीले १२.५० प्रतिशत र ४.२१०४ प्रतिशत लाभांश प्रस्ताव गरेका छन् । यस पटक भने स्वीकृति दिनका लागि राष्ट्र बैंकले लामो समय लिएको छ ।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा बैंक सुपरभिजन विभागका प्रमुख देवकुमार ढकालले अधिकांश कम्प्ल्यायन्सहरु कार्यान्वयन गरे नगरेको हेर्नु पर्ने भएकोले केही समय लागेपनि राष्ट्र बैंकको नियत भने ढिलो गर्ने नभएको बताए ।
‘राष्ट्र बैंकमा वित्तीय विवरण स्वीकृतिका लागि आएका बैंकहरुलाई हामीले जति सक्दो छिट्टो स्वीकृति दिने योजना बनाएका छौं, सकेसम्म छिटो नै स्वीकृति दिने हाम्रो पनि इच्छा हो तर आए लगत्तै नहेरेर दिने कुरा भएन,’ उनले भने ।
उनले एक/दुई दिन भित्र अझै पाउन सक्ने सम्भावना न्यून भएको बताए । बैंकहरुले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले लाभांश पाउँछन् । नेपाल राष्ट्र बैंकले लाभांश वितरण गर्न सक्ने स्वीकृति दिएपछि बैंकले २१ दिन अगावै वार्षिक साधारण सभा बोलाउनु पर्ने व्यवस्था छ ।
राष्ट्र बैंक स्रोतका अनुसार दुई/तीन वटा ठूला वाणिज्य बैंकहरुले भने लाभांश वितरण गर्न नपाउने सम्भावना देखिएको राष्ट्र बैंक स्रोतको भनाइ छ । राष्ट्र बैंकको नियामकीय व्यवस्था कार्यान्वयन नगरेको भन्दै केही दुई/तीन वटा बैंकहरुको कारवाहीमा पर्न सक्ने देखिएको स्रोतको भनाइ छ ।
नेपाल राष्ट्र बैंकले अघिल्लो आर्थिक वर्षमा पुँजीकोष मेन्टेन नगरेको भन्दै एनआईसी एसिया बैंकलाई लाभांश वितरणबाट रोक लगाएको थियो । यस वर्ष पनि केही बैंकलाई रोक लगाउने तयारी भएको बुझिएको हो ।