विकासन्युज

गैरआवासीय नेपालीलाई नागरिकता दिलाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले गैरआवासीय नेपालीलाई नेपालको संविधानअनुसार नागरिकता दिलाउन वर्तमान सरकार प्रतिबद्ध रहेको बताएका छन् । गैरआवासीय नेपाली सङ्घ एनआरएनए दिवसका अवसरमा सङ्घद्वारा आज यहाँ आयोजित कार्यक्रममा उनले सरकारले नागरिकतासम्बन्धी विधेयक अघि बढाई दुवै सदनबाट दुई पटक पारित हुँदा पनि राष्ट्रपतिबाट प्रमाणीकरण हुन नसकेको जानकारी गराए । मन्त्री खाणले नागरिकता विधेयक सबै दलको सहमतिमा कुनै पनि नेपाली नागरिक नागरिकताविहीन हुन नपरोस् र गैरआवासीय नेपालीले पनि संविधानअनुसार नागरिकता प्राप्त गरुन् भन्ने उद्देश्यले सरकारले ल्याएको स्पष्ट पारे । सो अवसरमा उनले गैरआवासीय नेपालीलाई विदेशमा आर्जन गरेको सीप, लगानी र पुँजी नेपालमा भित्र्याउनका लागि आह्वान गर्दै त्यसको सुरक्षा सरकरले गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा परराष्ट्र सचिव भरतराज पौड्यालले सङ्घलाई सरकारले महत्वका साथ आत्मसात् गरेको उल्लेख गर्दै सरकारले नीति तथा कार्यक्रममा सङ्घसँगको सहकार्य र सङ्घको योगदानलाई परिचालन गर्ने उद्देश्य राखेको जानकारी गराए । उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले गैरआवासीय नेपालीले आफ्नो ज्ञान, सीप र पुँजी नेपालमा भित्र्याएर निजी क्षेत्रसँग गरेको सहकार्य प्रशंसनीय छ भने । सङ्घका कार्यकारी अध्यक्ष रविना थापाले विदेशमा बस्ने नेपालीका मर्म बुझेर सङ्घको स्थापना भएको बताउँदै यसले अप्ठ्यारो परेका बेला नेपाल र नेपालीलाई महत्वपूर्ण सहयोग र योगदान गर्दै आएको उल्लेख गरे । सङ्घका अध्यक्ष कूल आचार्यले वर्तमान सरकारले गैरआवासीय नेपालीलाई नागरिकता दिलाउन गरेको कार्यको प्रशंसा गर्दै थप लगानीमैत्री कानून निर्माणका लागि आग्रह गरे । अर्का अध्यक्ष डा बद्री केसीलआगामी निर्वाचनदेखि गैरआवासीय नेपालीलाई आम निर्वाचनमा मतदान गर्ने व्यवस्था कार्यान्वयन गर्न माग गरे । सङ्घका संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले मुुलुक समृद्ध नभई व्यक्तिगत सफलताले मात्र साध्य नहुने उल्लेख गर्दै यस उद्देश्यलाई परिपूर्ति गर्ने भावनाका साथ अघि बढ्न सम्पूर्ण गैरआवासीय नेपालीलाई आग्रह गरे । कार्यक्रममा पूर्व अध्यक्षद्वय जिवा लामिछाने र भवन भट्ट, संस्थापक महासचिव भीम उदासलगायतले सङ्घले गरेका सामाजिक कामकारवाहीका बारेमा जानकारी गराउँदै सरकारले सङ्घलाई थप महत्वका साथ लिनुपर्ने धारणा व्यक्त गरेका थिए । विश्वभर छरिएर रहेका नेपालीको हकहित र अधिकारको संरक्षण र संवद्र्धनका लागि स्थापित सङ्घ विदेशमा रहेका नेपालीको साझा चौतारी हो । सङ्घले स्थापनाकालदेखि नै विश्वका विभिन्न मुलुकमा विभिन्न पेशा, इलम, व्यवसाय गरेर बसिरहेका नेपालीबीच एकता, सद्भाव र पारस्परिक सहयोग अभिवृद्धिका साथै विदेशमा बसेका नेपालीको पुँजी, प्रविधि र उद्यमशीलतालाई मुलुकको विकास निर्माणमा उपयोग र परिचालन गर्ने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । रासस

स्विट्जरल्याण्डले दियो १०१ देशका ३५ लाख जनाको बैंक खाता विवरण

वर्न । स्वीस अधिकारीहरूले भारतसहित एक सय एक देशसँग बैंक खाता विवरण उपलब्ध गराएका छन् । उक्त देशको सङ्घीय कर प्रशासनले ३५ लाख खाताको वित्तीय विवरण ती देशलाई उपलब्ध गराएको हो । कर अनुशासन सुधार गर्न तथा सम्भावित छली रोक्न भारत र स्विट्जरल्याण्डबीच सन् २०१८ मा बैंक खाता विवरण साझा गर्नेसम्बन्धमा द्विपक्षीय सहमति भएको थियो । उक्त सहमतिअनुसार स्विट्जरल्याण्डले उक्त विवरण भारतलाई उपलब्ध गराएको हो । स्विट्जरल्याण्डले यसअघि तीनपटक वित्तीय विवरण भारतलाई उपलब्ध गराइसकेको छ । सरकारी अधिकारीहरूका अनुसार प्राप्त विवरणबाट विदेशस्थित बैंकमा खोलिएको खाताको विवरणबारे सम्बद्ध निकायलाई खातावालाले दिएको जानकारी वास्तविक भएनभएको निर्क्रयाैल गर्न तथा कर अनुशासन कायम गर्न कर अधिकारीहरूलाई सहज हुनेछ ।

तपाईंको फोन कलहरू जुनसुकै बेला ट्यापिङ हुन सक्छ

एजेन्सी । शोधकर्ताहरूले मोबाइल फोनको इयरपिसको कम्पन पढ्न र कुराकानी पत्ता लगाउन नयाँ प्रविधि पत्ता लगाएका छन्। यस प्रविधिको सहयोगमा फोनको भाइब्रेसनको सहयोगमा फोनको कुराकानी टाढाबाट सुन्न सकिन्छ । अनुसन्धानकर्ताको दाबी छ कि यस सेन्सरको मद्दतले कलको अर्को छेउमा रहेको व्यक्तिले गरेको कललाई ८३ प्रतिशत शुद्धताका साथ सुन्न सकिन्छ। अर्थात् यो सेन्सरको सहायताले तपाईको फोनको कुराकानीको जासुसी पनि गर्न सकिन्छ । पेन्सिलभेनिया स्टेट युनिभर्सिटीको टोलीले यो सुरक्षा चिन्ता उजागर गर्न अफ-द-सेल्फ अटोमोटिभ रडार सेन्सरहरू र उपन्यास प्रशोधन दृष्टिकोणहरू प्रयोग गरेको छ। राडारले ६० देखि ६४ जीएच र ७७ देखि ८१ जीएच ब्यान्डको मिलिमिटर-वेभ स्पेक्ट्रममा मात्र काम गर्छ। अनुसन्धानकर्ताले यसको आधारमा आफ्नो दृष्टिकोणलाई ‘एमएम एसपिवाई’ नाम दिएका छन्। यो फाइभ जीको लागि प्रयोग गरिएको रेडियो स्पेक्ट्रमको एक उपसमूह र विश्वव्यापी संचार प्रणालीहरूको लागि पाँचौं जेनेरेसनको स्टान्डर्ड हो । पेन्सिलभेनिया स्टेट युनिभर्सिटीका डाक्टरका उम्मेद्वार सूर्योदय बसाककाअनुसार प्रविधि समयसँगै भरपर्दो र बलियो हुँदै जाँदा ठगी गर्नेहरूले पनि त्यस्ता संवेदनशील प्रविधिहरूको दुरुपयोग गर्न सम्भव भएको छ । यस प्रकारको सुरक्षा चिन्तालाई हाइलाइट गर्नुको पछाडि बैज्ञानिकहरुको एकमात्र उद्देश्य भनेको अटोमोटिभ रडार प्रयोग गरेर फोन कुराकानीहरू सुन्न सकिने विषयमा हो । बसाकले भने, ‘कल गर्दा फोनको इयरपिस कम्पन हुन्छ र ती कम्पनहरू फोनको सम्पूर्ण शरीरमा हुन्छन्। हामी यी कम्पनहरू महसुस गर्न र कलको अर्को छेउमा रहेको व्यक्तिले के भन्यो भनेर पुनः निर्माण गर्न रडार प्रयोग गर्छौं। फोनमा कुरा गरिरहेका दुवै व्यक्तिले माइक्रोफोनको सहायताले पनि आवाज सुन्न नसक्ने अवस्थामा पनि यो विधि प्रभावकारी हुन्छ, तर पनि सो आवाज रडारको सहायताले सुन्न सकिन्छ।’

कर्णाली राजमार्ग खुल्न अझै समय लाग्ने

कालीकोट । लगातारको अविरल वर्षाका कारण अवरुद्ध कर्णाली राजमार्ग खुल्न अझै समय लाग्ने भएको छ । कर्णाली राजमार्गको कालीकोट सडकखण्डको तीन दर्जनभन्दा बढी ठाउँमा पहिरो गएपछि राजमार्ग सञ्चालनमा आउन अझै केही समय लाग्ने भएको छ । कर्णाली राजमार्गको विभिन्न ठाउँमा पहिरो झरेकाले राजमार्ग सञ्चालन हुन सकेको छैन । राजमार्ग सञ्चालन नहुदा छोटो तथा लामो दूरीका सवारीसाधन चल्न सकेका छैनन् । कर्णाली राजमार्गको कालीकोट सडकखण्ड सञ्चालन हुन अझै केही समय लाग्ने कालीकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताए । यस वर्षको अविरल वर्षासँगै आएको बाढी पहिरामा परी जिल्लाभरी १९ जना बेपत्ता भएको प्रजिअ शर्माले जानकारी दिए । रासस

पुससम्म तरलता सहज नहुने संकेत, आयातमा गरिएको कडाइ यथावत राख्न बैंकर्सको सुझाव

काठमाडौं । गत स्थानीय तहको निर्वाचनको बेला बैंकिङ्ग क्षेत्रमा देखिएको तरलता अभावको समस्या समाधान हुने अपेक्षा गरिएको थियो । निर्वाचनको समयमा खर्च बढ्ने र त्यो खर्च बैंकिङ प्रणालीमा आउने अपेक्षा धेरैको थियो । तर, गत बैशाखको स्थानीय तहको निर्वाचनमा बैंक तथा वित्तीय संस्थामा रहेको तरलता अभाव खासै समाधान हुन सकेन । स्थानीय तहको निर्वाचनको समयमा बैंकिङ्ग प्रणालीमा ३०/४० अर्ब रुपैयाँको हाराहारीमा मात्रै निक्षेप भित्रियो । जसले गर्दा बैंकर्सहरुले सोचे जति निक्षेप संकलन नभएपनि तरलता अभावलाई केही सहजता कायम गर्याे । यसपटक बैंकिङ्ग क्षेत्रमा तरलता अभाव लामो समयसम्म कायम रह्यो । विगतका वर्षहरुभन्दा यसपटक बैंकिङ्ग क्षेत्रमा तरलता अभावका कारण बैंकर्सहरुलाई ठूलो तनावको विषय बन्यो । लगानीयोग्य रकमको अभाव हुँदा बैंक तथा वित्तीय संस्थाले ब्याजर बढाउन भ्याए । ब्याजदर उच्च भएपनि निक्षेप संकलन भने खासै वृद्धि हुन सकिरहेको छैन । बरु ब्याजदर बढ्दा उल्टै कस्ट बढेको बैंकर्सहरु बताउँछन् । यस्तै, दशैं तिहारको समयमा सहज तुल्याउने अपेक्षा बैंकर्सहरुले गरेका छन् । अर्थतन्त्र चलायमानका हिसावले दशैं तिहारलाई ठूलो अवसरका रुपमा लिइन्छ । यसबेला बजारमा खर्च बढी हुने भएकाले बैंकिङ्ग क्षेत्रमा पनि तरलता सहज हुने अपेक्षा बैंकर्सदेखि अर्थविदहरुले गरेका छन् । आगामी मंसिरमा हुने प्रदेश र संघको निर्वाचनमा पनि तरलता सहज हुने अपेक्षा गरिएपनि समाधान नै हुने अपेक्षा भने बैंकर्स तथा अर्थविदहरुले गरेका छैनन् । सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) निश्चलराज पाण्डे पछिल्लो तथ्याङ्क हेर्दा केही सहज भएको भएपनि ठूलो अपेक्षा भने नगरेको बताउँछन् । चुनावको बेलामा खर्च बढेपनि त्यो रकम प्रणालीमा आउन भने गाह्रो हुने उनको भनाइ छ । पर्यटनको सिजन सुरु भएकाले आर्थिक गतिविधि बढ्ने अपेक्षा भने बढी रहेको उनको धारणा छ । आयातमा गरिएको कडाइलाई यथावत राख्नुपर्ने उनले बताए । ‘पछिल्लो तथ्याङ्क हेर्दा बैंकिङ्ग प्रणालीमा निक्षेप बढ्नेक्रम जारी छ, विस्तारै ग्रोथ भइरहेको छ, दशैंको बेलामा सबै क्षेत्र सुनसान छ, आयातमा कडाइ गरिएको छ, आयात कडाइ गरेपछि तरलता बाहिर जाँदैन, आयात बढ्न दिनु हुँदैन, आयातमा गरिएको कडाइलाई यथावत राख्नु पर्छ,’ उनले भने, ‘पछिल्लो दुई महिना राम्रो हुनसक्छ, अक्टोबरदेखि पयर्टनको सिजन हो भएको हुँदा केही हदसम्म सहज हुन सक्छ, चुनावको बेलामा यातायात खर्च बढ्छ, प्रचार प्रसार गर्दा अर्थतन्त्र चलायमान हुन्छ तर चुनावमा खर्च भएको रकमले तरलता सहज हुन्छ भन्न गाह्रो नै छ, चुनावमा केही खर्च बढेपनिनिक्षेप बढ्छ भन्न सकिन्न ।’ सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल पोखरेल अहिलेको आर्थिक चलायनमान हेर्दा धेरै सहज हुने अवस्था नरहेको बताउँछन् । प्रणालीमा आउनुपर्ने रकम आइसकेकाले खासै ठूलो परिवर्तन भने नहुने उनको बुझाइ छ । तिहारको समयमा रेमिट्यान्स बढ्न सक्ने भएकाले एक/दुई साता सकारात्मक देखिएपनि फेरि उही अवस्था आउन सक्ने उनले बताए । ‘तरलता पहिलाभन्दा सहज अवस्थामा छ तर धेरै सहज अवस्थामा होइन,गतिविधि हेर्दा असहज नै हुन्छ, निक्षेप बढ्दैन,जति पैसा बैंकिङ्ग प्रणालीमा आउनुपर्ने थियो त्यो सबै आइसकेको छ, नयाँ पैसा आउने भनेको रेमट्यिान्सबाट मात्रै हो, दिपावलीको समयमा रेमिट्यान्स बढ्न सक्ने भएकाले एकदुई हप्ता सहज हुन्छ, अहिले बजारमा पैसा छरिएको छ, नयाँ डिपोजिट आउने सम्भावना छैन, बैंकिङ्ग प्रणालीबाट बाहिर गएको पैसा सिस्टममा आउने मात्रै हो,’ उनले भने । उनले पुस महिनापछि मात्रै समग्र अर्थतन्त्र सहज हुने बताए । बैंकहरुको सिडी रेसियो टाइट अवस्थामा रहेकाले कर्जा प्रवाह गर्ने अवस्थामा बैंकहरु नरहेको उनको भनाइ छ । गत स्थानीय तहको चुनावको बेलामा थोरै रकम मात्रै प्रणालीमा आउँदा थोरै भएपनि राहत भएको उनको बुझाइ छ । ‘समग्र अर्थतन्त्र हेर्ने हो भने पुस महिनासम्म टाइट अवस्थामा हुने देखिन्छ, पुस पछि चाहि सहज अवस्था आउन सक्छ, अहिले पनि बैंकहरुको सिडी रेसियो टाइट छ, बैंकहरुमा कर्जा प्रवाह गर्ने क्षमता पनि छैन, ८७ प्रतिशतका हाराहरीमा बैंकहरुले बस्नुपर्छ, ९० प्रतिशत सीडी रेसियोलाई सहज भन्न मिल्दैन, यो बीचमा केही पिक लिन सक्छ, चुनावको समयमा बजारमा पैसा देखिन्छ,गत स्थानीय तहको चुनावमा पनि केही रकम बैंकिङ्ग प्रणालीमा आएको थियो,‘उनले भने, ‘३५/४० अर्ब रुपैयाँ जति रकम बैंकिङ्ग प्रणालीमा आएको थियो ।’ स्थानीय तहको चुनावमा अपेक्षा गरेजति रकम बैंकिङ्ग प्रणालीमा नआएपनि प्रदेश र संघको निर्वाचनमा ठूलो रकम आउने अपेक्षा गरेको उनको भनाइ छ । स्थानीय तहको निर्वाचन हुँदाखेरि रेमिट्यान्स पनि बढेको थियो । स्थानीय तहका उम्मेदवारलाई चुनाव खर्च पठाउन विदेशबाट रकम पठाएको ट्रेण्ड देखिएको उनले बताए । यसअघि पनि ५ वर्ष अघि चुनाव हुँदा ३० अर्ब जति निक्षेप बढेको थियो । अघिल्लो पटकको चुनावमा ३० अर्ब बढेको थियो भने यसपटकको चुनावमा ६० अर्ब बढ्न सक्ने उनले बताए । अर्थविद् अच्युत वाग्ले तरलता सहज कायम गर्नका लागि सरकारले पूँजीगत खर्च गर्नु पर्ने बताउँछन् । दशैं तिहार र चुनावको बेलामा हुने खर्च हुँदा सहज अवस्था हुन सक्ने अपेक्षा गरिएको भएपनि त्यो हुन नसक्ने उनको भनाइ छ । छायाँ अर्थतन्त्र धेरै ठूलो भएकाले प्रणालीभन्दा बाहिरको नगद नै दशैं चाडपर्व र चुनावमा खर्च हुँदा ठूलो परिवर्तन नल्याउने उनले बताए । ‘तरलता सहज अवस्थामा ल्याउन सरकारले पूँजीगत खर्च बढाउनु पर्छ, ३ महिना व्यतित हुँदा पनि ५ प्रतिशतको हाराहारीमा मात्रै पूँजीगत खर्च भएको छ, चुनाव र दशैंमा जुन खर्च हुँदा तरलता समस्याको समाधान होला भनेर अपेक्षा गरिएको हुन्छ तर छायाँ अर्थतन्त्र धेरै ठूलो भइसकेको हुनाले प्रणालीभन्दा बाहिरको नगद नै बढीखर्च हुन्छ, यस्तो परिपाटी बसेको हुँदा ठूलो संस्कारिक ढंगको परिवर्तन आउँदैन,’ उनले भने, ‘डलरको भाउ बढेकाले रेमिट्यान्स बढ्न सक्छ, रेमिट्यान्स आए अनुरुपको रकम बैंकमा प्रभाह भयो भने तरलता सहज हुन्छ, तरलता सहज बनाउन पूँजीगत खर्च बढाउनुको विकल्प छैन ।’ निर्वाचनको समयमा सकारात्मक हुन सक्ने अनुमान गरिएको भएपनि खर्बाै रुपैयाँको संकट परेका बेलामा १०/२० अर्बले केही सहज नहुने उनले बताए । चुनावमा औपचारिक अर्थतन्त्रबाट भन्दा बाहिरबाट बढी खर्च हुने गरेको उनको भनाइ छ । ‘हामीलाई संकट खर्बाै रुपैयाँको परेको हुन्छ, १०/२० अर्ब रुपैयाँले मात्रै समाधान हुँदैन, चुनावमा औपचारिक अर्थतन्त्रभन्दा बाहिरको प्रणालीबाट खर्च हुन्छ,जस्तै, केही पैसा विदेशी मुद्रामा नै खर्च हुन्छ, चुनावको प्रयोजनका लागि भनेर बैंकिङ्ग प्रणालीबाट पहिलादेखि नै निकालिएको हुन्छ, चुनावको बेलामा प्रमाण देखिन्छ भनेर पहिला नै बैंकिङ्ग प्रणालीबाट निकाल्छन्,’ उनले भने । अर्थविद् रामेश्वर खनाल बजारमा तरलता प्रयाप्त हुने भएपनि प्रणालीमा भने नआउने बताउँछन् । चुनाव सकिएपछि मात्रै प्रणालीमा भित्रिने उनले बताए । यसपटकको दशैंमा अघिल्ला वर्षहरुको तुलनामा अत्याधिक ब्यापार बढेको उनको बुझाइ छ । ‘चुनावको बेलामा बजारमा तरलता प्रयाप्त हुन्छ, त्यो तरलता बैंकिङ्ग क्षेत्रमा हुन्छ की बजारमा हुन्छ भन्न सकिन्न किनकी त्यो घुमेको घुमै हुन्छ, चुनाव सकिएपछि त्यो तरलता बैंकमा नै फर्किन्छ, चुनावको बेलामा नगद खल्तिमा बोकरेर हिडेका हुन्छन्,होटल तथा पसलहरुमा नगद रकम प्रयाप्त हुन्छ, त्यो तुरुन्तै बैंकिङ प्रणालीमा फर्किदैन किनभने उनीहरुले पनि खर्च गर्नुपर्छ,’ उनले भने, ‘यसपटक दशैंमा गतिविधि धेरै बढेको छ, म आफै पनि पोखरा, भैरवा लगायत सहरमा घुमिरहेको छु, ३ वर्षको तुलनामा यसपटक आर्थिक गतिविधि ज्यादै बढेको देखेको छु, मानिसहरुको आवतजावत बढेको छ, देशभरि नै ब्यापार बढेको छ, यसपाली जति मैले किनमेल यसअघि कहिल्यै पनि देखेको थिएन ।’ नेपालका बैंकहरुको समस्या पैसा पाउने वित्तिकै उत्पातै कर्जा लगानी गर्ने गरेको उनको भनाइ छ । बैंकहरुमा निक्षेप बढ्दा आँखा चिम्लेर लगानी गर्ने गरेको उनले बताए । कर्जा कुन क्षेत्रमा प्रवाह भएको हो थाहा नहुने गरि नै बढाउने गरेको उनले बताए । राष्ट्र बैंकले बैंकहरुलाई ऋण लगानीमा संयमता अपनाउन निर्देशन दिनुपर्ने उनको राय छ ।

सेयर कारोबार ५५ करोडमा खुम्चिँदा नबिलको सर्वाधिक, दुई लघुवित्तमा लाग्यो सर्किट

काठमाडौं । मंगलबारको सेयर बजार पनि दोहोरो अंकले ओरालो लागेको छ । दशैं पछि आइतबार उकालो लागेको नेप्से परिसूचक त्यसपछि भने निरन्तर रुपमा ओरालो लागिरहेको छ । बजारमा नेप्से परिसूचक १६.०६ अंकले घटेर १८५५.१६ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.८६ प्रतिशतले घटी हो । दोहोरो अंकले घटेको मंगलबारको बजारमा सेयर कारोबार पनि ५५ करोड २८ लाख रुपैयाँमा सीमित भएको छ । जुन सोमबारको तुलनामा ४१ करोड ८९ लाख रुपैयाँले कम हो । सोमबारको बजारमा ९७ करोड १७ लाख रुपैयाँ रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । बजारमा नबिल बैंकको सर्वाधिक कारोबार भएको छ । बैंकको एकैदिन ३ करोड १० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सेयर मूल्य भने घटेर प्रतिकित्ता ७९२ रुपैयाँमा झरेको छ । त्यस्तै, बढी कारोबार गर्नेको दोश्रो स्थानमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीको २ करोड ४३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सोमबारको तुलनामा मंगलबारको बजारमा इन्स्योरेन्सको सेयर मूल्य १७ रुपैयाँले घटेर प्रतिकित्ता ५८५ रुपैयाँमा झरेको छ । बजारमा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सुमीट लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ९२९.५० रुपैयाँ पुगेको छ । त्यस्तै, अभियान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य पनि ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता ५५२ रुपैयाँ पुगेको छ । सबैभन्दा बढी प्रतिशतले सेयर मूल्य घट्नेमा विध्यावासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी रहेको छ । कम्पनीको सेयर मूल्य ७.१८ प्रतिशतले घटेर प्रतिकित्ता ३४१.५० रुपैयाँमा झरेको छ । मंगलबार होटल्स एण्ड टुरिजम, म्युचुअल फण्ड र ट्रेडिङ समूह उकालो लागेको छ भने बाँकी समूह ओरालो लागेका छन् ।

सहजरूपमा लगानी गर्नसक्ने वातावरण बनाउन सरकार प्रतिबद्ध छ : देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गैरआवासीय नेपालीहरूले सहज रूपमा लगानी गर्नसक्ने र लगानीको प्रतिफल उपभोग गर्नसक्ने वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । गैरआवासीय नेपाली सङ्घ एनआरएनए दिवसको अवसरमा सङ्घद्वारा आज यहाँ आयोजित कार्यक्रममा उनले गैरआवासीय नेपालीको लगानीलाई मुलुकको विकास र नवनिर्माणमा उपयोग गर्न सरकारले विभिन्न नीतिगत तथा कानुनी सुधार गरी सहजीकरण गर्दै आइरहेको जानकारी गराए । विश्वभर छरिएर रहेका नेपालीको हक, हित र अधिकारको संरक्षण र सम्बद्र्धनका लागि स्थापित सङ्घ विदेशमा रहेका नेपालीको साझा चौतारी हो । सङ्घले स्थापनाकालदेखि नै विश्वका विभिन्न मुलुकमा विभिन्न पेसा, इलम, व्यवसाय गरेर बसिरहेका नेपालीबीच एकता, सद्भाव र पारस्परिक सहयोग अभिवृद्धिका साथै विदेशमा बसेका नेपालीहरूको पूँजी, प्रविधि र उद्यमशीलतालाई मुलुकको विकास निर्माणमा उपयोग र परिचालन गर्ने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । प्रधानमन्त्री देउवाले भने, ‘नेपालको विकास र समृद्धिको अभियानमा एनआरएनएको सहयोग र सद्भाव निरन्तर जारी रहने कुरामा विश्वास व्यक्त गर्दछु । गैर आवासीय नेपाली सङ्घले विदेशमा नेपाली भाषा, संस्कृति, परम्परा, कलाकृति र साहित्यको प्रचारप्रसार गरी नेपालको मौलिक संस्कृति र सभ्यतालाई विश्वभर फैलाउन सहयोगात्मक भूमिका निभाउँदै आएको छ । यसलाई आगामी दिनमा पनि निरन्तरता दिँदै विदेशी भूमिमा नेपाली संस्कृतिलाई प्रवद्र्धन गर्न सङ्घले आफ्ना क्रियाकलापलाई सशक्त रूपमा अघि बढाउनेछ भन्ने विश्वास लिएको छु ।’ विश्वभर छरिएर रहेका नेपालीहरूले विदेशमा नेपालको पहिचान र गरिमा बढाउनुका साथै विभिन्न पेसा, व्यवसायमा संलग्न रही सम्बन्धित देशको विकास निर्माणमासमेत योगदान पु¥याएका छन् । उनले विदेशमा आर्जन गरेको पूँजी, प्राविधिक तथा व्यवस्थापकीय ज्ञान, सीप र कौशललाई मुलुकको समृद्धिमा सहभागी हुन संस्थामा आवद्ध सबै गैर आवासीय नेपालीलाई अपिल गरे । सङ्घले २०७२ सालको भूकम्पको बेलामा भूकम्प प्रभावितलाई उद्धार गरी राहत प्रदान गर्नेदेखि भूकम्पबाट घरबास गुमाएकाका लागि आवास गृह निर्माण गर्न समेत योगदान पु¥याएको छ । साथै, सङ्घले कोभिड–१९ को महामारीको बेला गरेको मानवीय सहयोग प्रसंशनीय छ । प्रधानमन्त्री देउवाले संसारभरि छरिएर रहनुभएका हरेक नेपालीहरू नेपालका गैरआवासीय दूतहरू भएको बताउँदै विदेशमा नेपालको पहिचान दिलाउन र विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न उत्प्रेरित गर्न महत्वपूर्ण भूमिका खेल्न आग्रह गरे । ‘गैरआवासीय नेपाली समुदायले विदेशमा नेपालमा उत्पादित वस्तुको उपभोगलाई प्राथमिकता दिनसके यसबाट स्वदेशी उत्पादनको निकासी प्रवद्र्धन गर्न सहयोग पुग्ने हुन्छ । यसबाट नेपाली श्रम, सीप र कच्चापदार्थमा आधारित साना तथा मझौला उद्योगधन्दाको संरक्षणमा समेत टेवा पुग्छ । गैर आवासीय नेपालीले आफूले विदेशमा आर्जन गरेको आयलाई नेपालमा विभिन्न उत्पादनमूलक क्षेत्रमा लगानी गर्न जोड दिनुका साथै सम्बन्धित देशमा रहेका नेपाली राजदूतावाससँग समन्वय र सहकार्य गरी विदेशी लगानीकर्ताको पूँजी र प्रविधिलाई नेपालमा भित्र्याउनसमेत अग्रसरता लिन आवश्यक छ’, उनले भने । उनले सङ्घको अनुरोध बमोजिम यस आर्थिक वर्षको बजेट वक्तव्यमा नेपाल सरकारले विदेशी लगानीको न्यूनतम् सीमा पाँच करोड रुपैयाँबाट घटाएर दुई करोड रुपैयाँ कायम गरेको जानकारी गराए । त्यस्तै १० करोड रुपैयाँ सम्मको वैदेशिक लगानीको स्वीकृति स्वचालित प्रणालीबाट हुने व्यवस्था मिलाइने उल्लेख छ । यसैगरी धितोपत्रको दोस्रो बजारमा गैरआवासीय नेपालीको लगानी खुला गर्न कानुनी व्यवस्था मिलाइने कुरा समेटिएको उनले बताए । सरकारले वैदेशिक रोजगारीमा गएका नेपालीलाई धितोपत्रको प्राथमिक निष्कासनमा १० प्रतिशत शेयर आरक्षित गर्ने व्यवस्था पनि गरिएको छ । यसबाट गैर–आवासीय नेपालीलाई नेपालमा विभिन्न माध्यमले लगानी गर्न उत्प्रेरित गर्ने अपेक्षा लिइएको छ । प्रधानमन्त्री देउवाले गैर आवासीय नेपालीको नेपाल आवागमनमा सहजीकरणदेखि लिएर लगानी र सम्पत्तिको संरक्षण गर्नेसम्मका काममा सरकारले आफ्नो तर्फबाट आवश्यक सहयोग उपलब्ध गराउँदै आएको उल्लेख गर्दै सङ्घले लामो समयदेखि उठाउँदै आएको नागरिकतासम्बन्धी सवाललाई पनि निकट भविष्यमा नागरिकतासम्बन्धी ऐनमा संशोधन गरेर समाधान गरिने बताए । उनले संसारभर फैलिएर रहेका प्रवासी नेपालीलाई आफूसँग रहेको रहेको सीप, पूँजी र अनुभव नेपालको विकासमा लगाउन आह्वान गदैै नेपाललाई समृद्ध र समुन्नत मुलुक बनाउने अभियानमा आ–आफ्नो स्थानबाट योगदान पु¥याउन आह्वान गरे । रासस

भक्तपुरमा तयार हुँदैछ तिहार झिलीलिमी पार्ने पाला

भादगाउँ । नेपालीको दोस्रो ठूलो पर्व तिहार नजिक आउँदैछ । बजारमा तिहारका लागि आवश्यक पालाको माग बढेसँगै भक्तपुरका कुमाले समुदायलाई यतिखेर पाला बनाउने, सुकाउने, पोलेर पूरा तयार गरी बजार पठाउन भ्याइनभ्याइ भएको छ । ‘तिहार आउन अझै दुई साता बाँकी छ । मागअनुसारको पाला एक हप्ताभित्र पठाउनुपर्छ’, भक्तपुर तालाक्वका गङ्गालक्ष्मी प्रजापतिले भने । तिहार नजिकिएसँगै तालक्वका कुमाले समुदायको दिनचर्या नै पाला तयार गर्नेमै बित्ने गरेको गङ्गालक्ष्मी बताउँछिन् । तिहारमा पालाको माग अत्यधिकमात्रामा उच्च हुने भएकाले यो समय कुमालेले अन्य भाँडा बनाउने कामलाई थाँती राखेका छन् । तिहारमा लक्ष्मी पूजाका लागि बाहिरी जिल्लाबाट माग आउने भएकाले अन्य भाँडा बनाउने कामलाई थाती राखेको गङ्गालक्ष्मीले बताए । ‘बिहान ५ बजेदेखि अघिल्लो दिन नै तयार गरी राखेको माटोले पाला बनाउने, सुकाउने, रातो माटोको रङ लगाउने र सुकिसकेको पालालाई पोलेर तयार गरी मागअनुसार बजार पठाउने काममा दिन बित्छ । अहिले अन्य भाँडाकुँडा बनाउने समय छैन’, गङ्गालक्ष्मीले भनिन् । अहिले भक्तपुरका तालक्वका प्रजापति मात्र होइन सुजमारी, लिवाली, तुमुचो, च्याम्हासिंह, सूर्यविनायक र चुनदेवीका कुमालेसमेत अन्य भाँडा बनाउने कार्यलाई थाती राख्दै पाला बनाउने कार्यमा तल्लीन छन् । तिहारमा धनकी देवी लक्ष्मीको पूजा गर्ने पर्व भएकाले लक्ष्मीलाई घरमा भित्र्याउन तिहारमा पालामा दियो बाल्ने परम्परा रहेको छ । तिहारको लक्ष्मी पूजाको दिन दिपावली गर्न घरको दैलो, झ्याल ढोका, कौशी, बरण्डालगायतका स्थानमा पालाको दियो बाली झिलीमिली पार्ने परम्परा रहेको छ । पछिल्लो समय तिहारमा पालासँगै बत्ती बाल्न विद्युतीय बत्तीको मागसमेत उच्च छ । तिहारमा बिजुलीका रङ्गीचङ्गी बत्ती बालेर झिलीमिली पार्ने गरे पनि अनिवार्यरुपमा दियो पनि बाल्नुपर्ने परम्परा भएकाले तिहारमा बर्सेनि पालाको माग बढ्ने गरेको अर्का व्यवसायी रामप्रसाद प्रजापति बताउँछन् । उनले केही वर्ष पहिले मैनबत्ती बाल्ने प्रचलन देखिए पनि दियो जस्तो सुरक्षित नभएपछि पालाको माग बढेको जानकारी दिए । ‘विभिन्न आधुनिक विद्युतीय झिलिमिली बत्ती र मैनबत्तीको दाँजोमा सुरक्षाको दृष्टिकोणले पालालाई अत्यन्तै राम्रो र उत्तम मानिने भएकाले बजारमा यसको माग बढेको हो’, रामप्रसादले भने । कुमाले टोलमा तयार गरिएका पाला होलसेल व्यापारीलाई बिक्री गरिन्छ । होलसेल व्यापारीले पालाको साइजअनुसार ठूलो सानो हेरी मूल्य निर्धारण गरेर त्यसमा केही मुनाफा खाएर काठमाडौँ उपत्यकाका विभिन्न स्थानका खुद्रा बिक्रेतामार्फत उपभोक्तामाझ पु¥याउने गरेको रामप्रसादले बताए । भक्तपुरको कुमाले टोलमा तयार गरेको पाला काभ्रेको बनेपा, धुलिखेल, पनौती, नुवाकोटको त्रिशूलीका साथै पोखरा, हेटौँडा, चितवनका व्यापारीले पनि लिन आउने गरेको रामप्रसादले बताए । रासस