विकासन्युज

भरतपुर अस्पतालको आकस्मिक सेवा नयाँ भवनबाट

चितवन । भरतपुर अस्पतालको आकस्मिक इमर्जेन्स सेवा छ दशकपछि नयाँ भवनबाट सुरुआत भएको छ । अस्पतालले विसं २०२० मा बनेको अस्पतालको आकस्मिक सेवा नयाँ भवनबाट सुरु भएको हो । अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ड प्रा डा कृष्णप्रसाद पौडेलका अनुसार पुरानो र जीर्ण भवनबाट सञ्चालन हुँदै आएको सेवा नयाँ भवनबाट सुरु गरिएको छ । हाल २० शय्याबाट सुरु भएको नयाँ भवनको सेवा केही समयपछि नै ५० शय्यामा सञ्चालन गरिने उनले बताए । नयाँ भवनमा आकस्मिक प्रयोगशाला, एक्सरे, सामान्य शल्यक्रिया कक्षसहितको सेवा हुने उनको भनाइ छ । यी सेवा पूर्णरूपमा सञ्चालन गर्न भने एक–दुई महिना लाग्ने प्रा डा पौडेलले बताए । नयाँ भवनको माथि दुई तला थप्ने अस्पतालको तयारी छ । दुई तला थप गरेपछि ट्रमा सेन्टरसमेत सोही भवनमा सञ्चालन गरिने छ । स्वास्थ्य मन्त्रालयले रु सात करोड लागतमा एकतले भवन बनाएको हो । अस्पतालले दुई तला थप गर्ने गरी विस्तृत अध्ययन प्रतिवेदन तयार गरिसकेको छ । उनले भने, ‘तला थप गर्न मन्त्रालयमा पुनः बजेट माग गर्ने तयारीमा छौँ ।’ विगतमा १२ शय्या सञ्चालन हुँदै आएको पुरानो आकस्मिककक्ष गत वर्षदेखि २० शय्या पु¥याइएको थियो । सोही २० शय्यालाई हाल नयाँ भवनमा सारिएको हो । नयाँ भवनमा पर्याप्त ठाउँ भएकाले उपचारमा सहज हुने छ । नयाँ भवनको आकस्मिक सेवा पूर्णरूपमा सञ्चालन आएसँगै शय्या अभावमा बिरामी बाहिर पठाउनुपर्ने बाध्यताको अन्त्य हुने मेसु डा पौडेलले बताए । अस्पतालको तथ्याङ्कानुसार वार्षिक झण्डै एक लाखको हाराहारीमा आकस्मिक कक्षमा बिरामी आउने गर्छन् । विसं २०१३ मा महेन्द्र आदर्श चिकित्सकलयको नामबाट स्थापना भएको अस्पताल हाल सङ्घीय अस्पतालका रूपमा छ ।

५ पूर्व अर्थमन्त्रीको चुनाव : तीन जना ‘ग्रिन’ र एक जना ‘रेड जोन’मा, एकको प्रतिस्पर्धा कडा

काठमाडौं । आगामी मंसिरमा हुने प्रतिनिधिसभाको निर्वाचनमा ५ जना पूर्व अर्थमन्त्रीहरुले उम्मेद्वारी दिएका छन् । बहालवाला अर्थमन्त्री जनार्दन शर्मा र पूर्वअर्थमन्त्रीहरु विष्णु पौडेल, वर्षमान पुन, सुरेन्द्र पाण्डे र ज्ञानेन्द्रबहादुर कार्की प्रतिनिधिसभा सदस्यको लागि चुनावी मैदानमा उत्रिएका छन् । चुनाव लक्षित गरेर राजनीतिक दलहरु दुई गठबन्धनमा विभाजित भएका छन् । सामान्यतया चुनाव सँधै पेचिलो र प्रतिस्पर्धात्मक हुने गर्छ नै । फेरि पनि यसपटकको चुनाव थप प्रतिस्पर्धात्मक बन्न पुगेको देखिन्छ । बहालवाला अर्थमन्त्री शर्मा र पूर्व अर्थमन्त्रीहरुको चुनावी प्रतिस्पर्धा हेर्दा केहीको निकै प्रतिस्पर्धात्मक र केहीको तुलनात्मक रुपमा सहज भएको अनुमान गर्न सकिन्छ । जनार्दन शर्मा बहालवाला अर्थमन्त्री जनार्दन शर्माले रुकुम पश्चिमबाट प्रतिनिधिसभा सदस्यको लागि उम्मेद्वारी दिएका छन् । उनी सत्तारुढ गबन्धनको तर्फबाट साझा उम्मेद्वार हुन् । उनीसँग प्रतिस्पर्धामा एमालेका नन्दराम देवकोटा रहेका छन् । शर्मा विगतका निर्वाचनहरुमा निरन्तर रुपमा सोही क्षेत्रबाट निर्वाचित हुँदै आएका छन् । १० वर्षे शसस्त्र युद्धको क्रममा माओवादीले आफ्नो आधार इलाकाको रुपमा विकास गरेको सो क्षेत्रमा तुलनात्मक रुपमा माओवादीको संगठनात्मक उपस्थिति बलियो रहेको छ । माओवादी भित्र प्रभावशाली नेताको रुपमा स्थापित शर्मा लामो समयदेखि सत्तामा निरन्तर रहेकाले सो निर्वाचन क्षेत्रमा भएका विकासका कामको पनि जस लिइरहने मौका पाएका छन् । चालु आर्थिक वर्षको बजेट निर्माण प्रक्रियामा विवादित बन्न पुगेका शर्मालाई संसदीय छानबिन समितिले सफाई दिएपछि थप आत्मविश्वासका साथ शर्मा निर्वाचनमा होमिएको उनका निकटस्थ बताउँछन् । ०७४ सालमा भएको निर्वाचनमा ३४ हजार ४ सय २ मतका साथ १८ हजार ७ सय ४३ मतान्तरले नेपाली कांग्रेशका गोपालजीजंग शाहलाई हराएका थिए । गत बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा ६ वटा पालिका रहेको रुकुम पश्चिमका अधिकांश पालिकामा माओवादीले बिजयी हासिल गरेको थियो । ६ वटा पालिकामध्ये माओवादी एक्लैले ४ वटा पालिका प्रमुख र २ वटा पालिका प्रमुखमा नेपाली कांग्रेशले जित हासिल गरेको थियो । रुकुम पश्चिमको ६ वटा पालिकाको प्रमुखमा एमालेका उम्मेद्वारले जम्मा ६ सय मत हासिल गरेका थिए । स्थानीय तह निर्वाचनको आधारलाई हेर्दा गठबन्धनको तर्फबाट प्रतिनिधिसभाको लागि साझा उम्मेद्वार रहेका अर्थमन्त्री शर्मालाई एमाले उम्मेद्वारसँगको प्रतिस्पर्धा अत्यन्तै सहज हुने अनुमान गर्न सकिन्छ । वर्षमान पुन ‘अनन्त’ माओवादी उपमहासचिव तथा पूर्व अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ ले प्रतिनिधिसभा सदस्यका लागि रोल्पाबाट उम्मेद्वारी दिएका छन् । यसअघि ०७४ सालमा भएको प्रतिनिधिसभाको निर्वाचनमा पनि अनन्तले रोल्पाबाट बिजयी हासिल गरेका थिए । उनले ४० हजार ६४७ मत सहित नेपाली कांग्रेशका अमरसिँह पुनलाई २० हजार ७४१ मतान्तरले हराएका थिए । गत बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा रोल्पाका अधिकांश पालिकामा माओवादीले बिजय हासिल गरेको थियो । १० वटा पालिकामध्ये माओवादी एक्लैले ७ वटा पालिकाको प्रमुखमा बिजयी हासिल गरेको थियो । १० वटा पालिका भएको रोल्पामा एमालेले एउटा मात्रै पालिकाको प्रमुख जितेको थियो भने अन्य २ पालिकामा मात्रै निकटतम् प्रतिस्पर्धी भएको थियो । त्यस्तै नेपाली कांग्रेशले २ वटा पालिकाको प्रमुखमा बिजय हासिल गरेको थियो । नेपाली काँग्रेससँग गठबन्धन गरेको र गत बैशाखमा भएको स्थानीय तह निर्वाचनको मतपरिणामलाई हेर्दा अनन्तलाई आगामी मंसिरमा हुने प्रतिनिधिसभाको निर्वाचनमा प्रतिस्पर्धा गर्न सहज हुने देखिन्छ । विष्णु पौडेल नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको लागि उम्मेद्वारी दर्ता गराएका छन् । ०७४ सालमा भएको निर्वाचनमा पौडेलले ४४ हजार ९ मत ल्याएर बिजयी हासिल गरेका थिए भने उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका युवराज गिरीले २१ हजार ९ सय ४५ मत हासिल गरेका थिए । पूर्वअर्थमन्त्री पौडेलले यसपटक भने गठबन्धनका साझा उम्मेद्वार राजु गुरुङसँग प्रतिस्पर्धा गर्दैछन् । एकीकृत समाजवादीको तर्फबाट साझा उम्मेद्वार रहेका राजु गुरुङले नेपाली कांग्रेस, माओवादी र राष्ट्रिय जनमोर्चाको समर्थन प्राप्त गरेका छन् । गत बैशाखमा भएको स्थानीय तह निर्वाचनको मत परिणामलाई हेर्दा बुटवल महानगरको १ देखि १३, तिलोत्तमाको १ देखि ६ र सैनामैनाको १ देखि ४ वटा समावेश रहेको सो निर्वाचन क्षेत्रमा एकीकृत समाजवादीको आधार कमजोर रहेको देखिन्छ । तर, १ लाख २८ हजारभन्दा धेरै मतदाता रहेको रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा गत बैशाखमा भएको स्थानीय तहको निर्वाचनको मतपरिणाम आधारलाई हेर्दा भने एमाले सत्तारुढ गठबन्धनभन्दा कमजोर रहेको देखिन्छ । सो निर्वाचन क्षेत्रमा रहेका २३ वटा वडामध्ये कांग्रेसले १४ वटा वडामा, एमालेले ५ वटा वडामा र अन्यले बाँकी वडाको नेतृत्वमा बिजयी हासिल गरेको देखिन्छ । पुर्वअर्थमन्त्री पौडेलका प्रतिस्पर्धीलाई गठबन्धनले राम्रोसँग सहयोग गरेमा बिष्णु पौडेललाई एमालेको तर्फबाट निर्वाचन जित्न निकै चुनौतिपूर्ण रहने देखिन्छ । सुरेन्द्र पाण्डे एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले प्रतिनिधिसभा सदस्यको लागि चितवन क्षेत्र नम्बर १ बाट उम्मेद्वारी दिएका छन् । ०७४ सालमा भएको निर्वाचनमा बाम गठबन्धनको तर्फबाट सोही क्षेत्रबाट बिजय हासिल गरेका पाण्डेले यसपटक सत्तारुढ गठबन्धनका साझा उम्मेद्वार डा. विश्व पौडेलसँग प्रतिस्पर्धा गर्ने भएका छन् । चितवन १ मा राप्ती नगरपालिका, रत्ननगर नगरपालिका र खैरहनी नगरपालिका पर्छन् । गत बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा राप्ती नगरपालिकाको प्रमुखमा एकीकृत समाजवादीका शमशेर लामा निर्वाचित भए । उनले एमालेका प्रतिस्पर्धी गोविन्द प्रसाद कँडेललाई पराजित गरेका थिए । लामाले कुल १२ हजार ५२४ मत प्राप्त गरेर विजयी भएका थिए भने उनका प्रतिस्पर्धीले १२ हजार ५१ ल्याएका थिए । राप्तीका १३ वडामध्ये एमालेले आठ, कांग्रेसले तीन र समाजवादीले दुई वडा जितेको थियो । समाजवादीले राप्तिमा काँग्रेसलाई साथ दिएको खण्डमा काँग्रेसका उम्मेदवारले बढी मत ल्याउने सम्भावना देखिन्छ । यस्तै, चितवन क्षेत्र नम्बर एकमै पर्ने रत्ननगर नगरपालिकाको मेयरमा नेपाली कांग्रेस नै विजयी भएको छ । कांग्रेसका प्रल्हाद सापकोटा सो नगरपालिकामा निर्वाचित भएका थिए । उनले २० हजार ७९६ मत प्राप्त गर्दा एमालेका बिमला दुवाडीले जम्मा १२ हजार ७२८ मत प्राप्त गरकी थिइन् । यस नगरपालिमा पनि काँग्रेस नै बलियो देखिन्छ । चितवनकै खैैरहनी नगरपालिकाको मेयरमा पनि नेपाली कांग्रेसकै नेता निर्वाचित भएका थिए । नेपाली कांग्रेसका शशिकुमार खनिया १४ हजार ५४५ मतले विजयी भएका थिए भने एमालेका लालमणि चौधरीले १३ हजार ६९५ मत मात्रै पाएका थिए । यसरी स्थानीय तहको निर्वाचनको मत परिणामलाई हेर्दा चितवनको क्षेत्र नं. १ मा काँग्रेस नै बलियो भएर आएको देखिएको छ । यसले पनि नेता पाण्डेलाई ठूलो चुनौतिसँगसँगै जोखिम पनि देखिन्छ । चितवन १ मा रहेका तीन पालिका अन्तर्गतका ४२ वटा वडा पर्छन् । जसमध्ये २० वटा वडाका अध्यक्ष एमालेले जितेको छ । कांग्रेसले १८, माओवादी केन्द्रले एक, एकीकृत समाजवादीले एक र स्वतन्त्रले दुई वडाका अध्यक्ष जितेका थिए । चितवन एकमा एमाले र गठबन्धनका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । डा. पौडेल चितवन मात्रै होइन देशभर राम्रो छवि बनाएका व्यक्ती हुन् भने एमालेका नेता पाण्डे लामो क्षेत्रदेखि सो क्षेत्रको विकास निर्माणमा संलग्न छन् । चितवनको विकासमा पाण्डेको भूमीमा पनि ठूलो छ । उनी अर्थमन्त्री हुने समयमा मात्रै होइन अन्य समयमा पनि जतिसक्दो ठूलो योजना तथा बढी बजेट चितवन निर्वाचन क्षेत्र नम्बर एकमा पार्ने कसर गरिरहेका हुन्छन् भने त्यसमा उनी सफल पनि बनेका छन् । राष्ट्रिय योजना आयोगको उपाध्यक्षकै हैसियतमा रहेका डा.पौडेलले पनि चितवनमा विकासका योजना पार्न ठूलो भूमिका खेलेका छन् । त्यसैले पनि यी दुई जनाबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । ज्ञानेन्द्रबहादुर कार्की पूर्वअर्थमन्त्री तथा हाल सञ्चार एवं सूचना प्रविधि मन्त्री रहेका ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधिसभा सदस्यको लागि सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट उम्मेद्वारी दिएका छन् । ०७४ सालमा भएको निर्वाचनमा कार्कीले सोही निर्वाचन क्षेत्रबाट ३२ हजार ३ सय ४७ मत प्राप्त गर्दै एमालेका उम्मेद्वार रमेश श्रेष्ठलाई पराजित गरेका थिए । यसपटक कार्कीले एमालेका उम्मेद्वार जगदिश कुसियतसँग प्रतिस्पर्धा गर्नेछन् । सुनसरी क्षेत्र नम्बर ४ मा वराहक्षेत्र नगरपालिकाको वडा नम्बर ६ देखि ११ वडा, इनरुवा नगरपालिका ३, ४ र ८ , रामधुनी नगरपालिका वडानम्बर ४, हरिनगर गाउँपालिकाका १ देखि ७ नम्बर वडा तथा भोक्राहा नरसिंह र कोशी गाउँपालिका पर्छन् । जसमध्ये गत बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा सो निर्वाचन क्षेत्रमा पर्ने अधिकांश वडामा नेपाली कांग्रेसले विजय हासिल गरेको थियो । सत्तारुढ गठबन्धनको मत र एमालेले स्थानीय तहको निर्वाचनमा प्राप्त गरेको मतलाई हेर्दा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार कार्कीलाई निर्वाचनमा प्रतिस्पर्धा गर्न सहज हुने अनुमान गर्न सकिन्छ ।

बाढीपीडितका उद्धार र राहत वितरणमा खटिए कैलालीका जनप्रतिनिधि

टीकापुर । कैलालीका बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधि बाढीपीडितको उद्धार र राहतमा व्यस्त रहेका छन् । कर्णाली नदीमा बाढी आएपछि कैलालीको टीकापुर नगरपालिका, जानकी, जोशीपुर गाउँपालिका र भजनी नगरपालिका डुबानमा परेका छन् । बाढीले टीकापुरका वडा नं २, ५ र ८ मा सयौँ घर डुबानमा परेका छन् । वडा नं २ मा रानीकुलो विभिन्न ठाउँमा फुटेर बस्तीमा पसेपछि विभिन्न बस्ती डुबानमा परेका वडा नं २ का वडाध्यक्ष दीपक चौधरी बताउँछन् । ‘खतरामा छौँ, मूलपानी जाने बाटो नजिकै रानीकुलो ड्याम फुटेको छ । कटासे नजिकै जगतपुर र मिलनचोकमा रानीकुलो फुटेर बस्तीमा पसेकाले डुबान भएको छ’, उनले भने, ‘बन्दीपुर, कोठारपुर, विजयनगर, राजीपुर, सीतापुर डुबानमा परेकाले हामी उद्धारमा खटेका छौँ ।’ टीकापुरको वडा नं ५ मा पनि रानीकुलो बस्तीमा पसेको छ । यसका साथै शाहीपुरमा कर्णाली नदीको तटबन्ध भत्कने खतरा बढेकाले नागरिकलाई सुरक्षित राख्न विभिन्न प्रयास भइरहेका वडाध्यक्ष बलवीर चौधरीले जानकारी दिए । ‘उर्दिपुर, बङ्गालपुर, झन्टझटपुर मनिकापुर पूरै जलमग्न भएको छ’, उनले भने, ‘शाहीपुरमा कर्णाली नदीमा तटबन्ध फुट्ने खतरा बढेको छ । त्यसैले त्यहाँका बस्तीलाई उच्च स्थानमा सारिरहेका छौँ ।’ त्यस्तै टीकापुरको वडा नं ८ को वनगाउँबाट नदी बस्तीमा पसेको छ । वडा नं ८ को वनगाउँका नागरिकले तीन दिनदेखि घर छाडेका छन् । वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले बाढीले नागरिकको सम्पत्ति र खेत सबै क्षति भएको बताए । ‘वडा पूरै डुबानको खतरामा छ । फाँटागाउँका मानिस सडकमा, कालिमाटी स्कुल, सूर्यपुर स्कुललगायतका ठाउँमा राखेका छौँ’, उहाँले भन्नुभयो, ‘यस वर्ष भोकमरी हुने निश्चित छ । नदी भङ्गालो बनाएर बस्तीमा पसेको छ ।’ जानकी गाउँपालिका वडा नं ९ मा पनि बाढी बस्तीमा पसेको छ । नदी बस्ती पस्नबाट रोक्ने पालिकाको अथक प्रयास सफल भएन । नदी बस्तीमा पसेपछि वडा नं ९ का केही परिवार विस्थापित भएका र उनीहरूको बसोबास तथा खानपानको व्यवस्था मिलाउन थालिएको अध्यक्ष गणेश चौधरीले बताए । ‘दर्जन बढी घर विस्थापित भएका छन् । अहिले पनि घर फर्कने वातावरण छैन’, अध्यक्ष चौधरीले भने, ‘पीडितलाई राहतमा खाद्यान्न दिएका छौँ । उहाँहरूको खानपानको व्यवस्थासमेत गरिएको छ ।’ कर्णाली नदीमा पानीको सतह बढेर विभिन्न वडामा बाढी आएपछि सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री डा रणबहादुर रावल, टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारू, उपप्रमुख खड्कबहादुर शाह, प्रमुख प्रशासकीय अधिकृत मङ्गलबहादुर शाहीलगायत सबै पीडितको उद्धारमा खटेका छन् । बाढीपीडितलाई सुरक्षित स्थानमा सार्ने, उनीहरूको बसोबासको व्यवस्था मिलाउने, जोखिममा रहेकालाई सार्न स्थानीयवासीको सहयोग लिने काम भइरहेको छ । नदी बस्तीमा पसेपछि आइतबार सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री रावलले यस क्षेत्रका प्रभावित विभिन्न ठाउँको निरीक्षण गरेका छन् । निरीक्षणपछि मन्त्री रावलले जिल्ला प्रशासन कार्यालय, मन्त्रालयअन्तर्गतको प्रादेशिक विपद् समितिलाई विपद्बाट जोगाउन राहत, उद्धारका कार्यमा जुट्न निर्देशन दिएका छन् । ‘आइतबार रातिदेखि नै म सुरक्षाकर्मी साथमा लिएर उद्धारमा खटेको छु । रातभरि प्रभावित क्षेत्रको अवलोकन गरेको छु’, उनले भने, ‘स्थिति भयाभह र दयनीय छ । सबैलाई राहत तथा उद्धारमा खट्न निर्देशन दिएको छु ।’ रासस  

आज उम्मेदवारको नामावली प्रकाशन हुँदै

काठमाडौं । निर्वाचन आायेगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनको मनोनयन पत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गरी उम्मेदवारको नामावली प्रकाशन गर्दैैछ । आज उम्मेदवारहरुले आफूविरुद्ध परेको उजुरीको जवाफ दिउँसो २ बजेसम्म दिइसक्नुपर्नेछ । निर्वाचन आयोगले आज साँझ ५ देखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिने जनाएको छ । भोलि बिहान १० देखि १ बजेसम्म उमेदवारले नाम फिर्ता लिने दिन तोकिएको छ भने बुधवार नै ३ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र ४ देखि ५ बजेभित्र उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने निर्वाचन कार्यतालिका छ ।

खराब मौसमका कारण हवाई उद्धार हुन नसक्दा २४ वर्षिय गर्भवतीको मृत्यु

सिमकोट । चार दिनदेखि रक्तश्रावले छटपटाइरहेकी गर्भवतीको हवाई उद्धार हुन नसक्दा मृत्यु भएको छ । खराब मौसमका कारण कालिकोटबाट हेलिकप्टर हुम्ला आउन नसकेपछि सर्केगाड गाउँपालिका–७ रोडिकोटकी २४ वर्षीया पविता शाही छत्यालको अत्याधिक रक्तश्रावबाट मृत्यु भएको हो । छत्यालको उद्धार हुन नसक्दा मृत्यु भएको जिल्ला अस्पतालका सिनियर अनमी सरिता बोहराले बताइन् । उद्धारका लागि सोमबार सुर्खेतबाट उडेको हेलिकोप्टर खराब मौसमका कारण कालिकोटस्थित नेपाली सेनाको ब्यारेकमा अवतरण गरेर डेढ घण्टा रोकिएको थियो । मौसमका सुधार नआएपछि हेलिकोप्टर पुनः सुर्खेतमै फर्किएको जनाइएको छ ।

समानुपातिकको बन्दसूचीमा २९ गतेसम्म दाबी विरोध गर्न सकिने

काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको प्रकाशित बन्दसूचीमा समावेश उम्मेदवारका बारेमा यही असोज २९ गतेसम्म दाबी विरोधका लागि समय दिइएको छ । विभिन्न राजनीतिक दलले संशोधन गरी पेस गरेको सूचीमा समावेश उम्मेदवारको योग्यता र अयोग्यताका सम्बन्धमा दाबी विरोधको निवेदन दिन आइतबारदेखि समय दिइएको हो । उम्मेदवारबारे प्राप्त दाबी विरोधको छानबिन गरी निर्वाचन आयोगले कात्तिक ९ गते अन्तिम नामावली सार्वजनिक गर्ने आयोगका सचिव एवं समानुपातिकतर्फका मुख्य निर्वाचन अधिकृत गोकर्णमणि दुवाडीले जानकारी दिए । समानुपातिकतर्फ सिट प्राप्त गर्न कुनै पनि दलले प्रतिनिधिसभामा कूल सदर मतको तीन प्रतिशत र प्रदेशसभामा एक दशमलव पाँच प्रतिशत मत अनिवार्य ल्याउनुपर्ने छ । उल्लिखित मत नल्याएमा उक्त दलले समानुपातिकतर्फको सिट प्राप्त गर्न सक्दैन । ‘संसद्मा प्रतिनिधित्व गर्ने महिला जनप्रतिनिधिको सङ्ख्या ३३ प्रतिशत अनिवार्य पु¥याउनै पर्ने संवैधानिक व्यवस्था छ”, मुख्य निर्वाचन अधिकृत दुवाडीले भने, ‘तसर्थ पहिलो हुने निर्वाचित हुने प्रणालीबाट दलहरूको ३३ प्रतिशत महिला विजयी हुनुभएको छैन भने त्योसमेत समानुपातिक प्रणालीतर्फबाट पूर्ति गर्नुपर्ने हुन्छ ।’ उनका अनुसार दलहरूले प्राप्त गर्ने मतको आधारमा समानुपातिकतर्फका उम्मेदवारहरूको समूहअनुसार सबैभन्दा अघिल्लो पङ्क्तिमा रहनुभएको उम्मेदवार क्रमशः निर्वाचित भएको मानिने छ । उदाहरणार्थ खस आर्य समूहबाट एक जना मात्र निर्वाचित हुने अवस्था आएमा पहिलो बन्दसूचीको पहिलो नम्बरमा रहेका उम्मेदवार स्वतः निर्वाचित मानिने छ । त्यसपछि आदिवासी जनजातिको सूचीमा प्रवेश हुनेछ । त्यसमा पनि पहिलो नम्बरमा रहेका उम्मेदवार निर्वाचित भएको मानिने छ । आयोगमा समानुपातिक प्रणालीतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेका अनुसार प्रदेशसभामा भने सम्बन्धित प्रदेशमा प्रत्यक्षतर्फ निर्वाचित हुने प्रदेशसभा सदस्यलाई ६० प्रतिशत मानेर ४० प्रतिशत समानुपातिक निर्वाचन प्रणालीबाट पूर्ति गर्ने संवैधानिक व्यवस्था छ । जसअन्तर्गत प्रदेश नं १ मा ३७ जना, मधेस प्रदेशमा ४३, बागमती प्रदेशमा ४४, गण्डकी प्रदेशमा २४, लुम्बिनी प्रदेशमा ३५, कर्णाली प्रदेशमा १६ र सुदुरपश्चिम प्रदेशमा २१ प्रदेशसभा सदस्य समानुपातिक प्रणालीबाट निर्वाचित हुनेछन् । रासस

मुगुमा पहिरोमा परी ८ जनाको मृत्यु, ३ जना बेपत्ता

मुगु । मुगुमा पहिरोमा परी आठ जनाको मृत्यु भएको छ । तीन जना बेपत्ता छन् । जिल्लाको छायाँनाथ रारा नगरपालिका–११ सालिम गाउँमा आज पहिरोले घर पुरिँदा आठ जनाको घट्नास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए । लगातार वर्षाका कारण पहिरोको डरले आठ जना एउटै घरमा बसेका थिए । मृत्यु हुनेमा चार महिला र चार पुरुष रहेका प्रनाउ हमालले बताए । उनीहरुको सनाखत हुन सकेको छैन । पहिरोमा परी तीन जना अझै बेपत्ता छन् । बेपत्ताको खोजीका लागि सदरमुकाम गमगढीबाट प्रहरी टोली घट्नास्थलमा पुगेको छ । वर्षा नरोकिएकाले खोजबिनमा समस्या भएको हमालले बताए । घट्नास्थल सदरमुकामबाट तीन घण्टाको पैदल दूरीमा छ । पहिरो गएको सालिम गाउँमा झण्डै ३५ परिवारको बसोबास रहेको थियो । पहिरो आएपछि उनीहरु सबै सुरक्षित स्थानतर्फ लागेको प्रनाउ हमालले जानकारी दिए । जिल्लाका धेरैजसो ठाउँमा अत्यधिक वर्षाले क्षति पुर्याएको छ । जतातततै पहिरो गएको छ । बाटोघाटो अवरुद्ध तथा निरन्तर बाढी र पहिरो आएका कारण प्रहरी उद्धारमा खटिन नसकेको हमालको भनाइ छ । यसैबीच उद्धार तथा राहतका लागि सुर्खेतबाट आउने भनिएको हलिकप्टर अबेर साँझसम्म गमगढी आउन नसकेको प्रहरीले जनाएको छ । छिमेकी जिल्ला कालिकोटमा समेत पहिरोमा परेकाहरुको उद्धार गर्न आएको हेलिकप्टर उतैबाट सुर्खेत फर्किएको बताइएको छ । मङ्गलबार बिहानै उद्धार र राहतका लागि हेलिकप्टर आउने प्रहरीले जनाएको छ । जिल्लामा विभिन्न खोलाबाट उत्पादित बिजुली बन्द छ । पहिरोले मुहानै बगाएपछि जिल्लावासी बिजुलीविहीन अवस्थामा रहेको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिनुभयो । जिल्लाामा टेलिफोन सेवासमेत अवरुद्ध छ । रासस

विराटनगरवासीले १०० दिनभित्र घर र भवनको नक्सा पास गरिसक्नुपर्ने, नभए कारवाही गरिने

विराटनगर । विराटनगर महानगरपालिकाले निर्माण भएका निजी तथा सरकारी भवनको नक्सा पास गर्न सूचना जारी गरेको छ । महानगर क्षेत्रभित्र निर्माण भएका सरकारी, संस्थागत, निजी वा जुनसुकै प्रकृतिको भवनको नक्सा पास नगरी बनाइएका वा तल्ला थपको नक्सा पास नगरेको र मापदण्ड अनुकूल रहेको भएमा त्यस्ता भवनको सय दिनभित्र नक्सा पेश गरी स्वीकृत गर्न महानगरवासीलाई आग्रह गरेको छ । ‘विराटनगर महानगरपालिका क्षेत्रभित्र निर्माण भएका सरकारी, संस्थागत, निजी वा जुनसुकै प्रकृतिको भवनको नक्सा पास नगरी बनाइएको (तल्ला थपको नक्सा पास नगरेको समेत) र मापदण्ड अनुकूल रहेको भएमा त्यस्ता भवनको सूचना प्रकाशित भएको मितिले सय दिनभित्रमा नक्सा पेस गरी नक्सा स्वीकृत÷नियमित गर्न सम्बद्ध सबै व्यक्ति, सङ्घसंस्था, संस्थान तथा सरकारी निकायलाई अनुरोध छ’, महानगरको सूचनामा भनिएको छ, ‘तोकिएको समयभित्र नक्सा पेस नगरेमा त्यस्ता भवनको विवरण सङ्कलन गरी स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र प्रचलित भवन निर्माणसम्बन्धी मापदण्ड, संहिता, कार्यविधि र यस कार्यालयको निर्णय बमोजिम कारबाही भई जाने व्यहोरा सूचित गरिन्छ ।’ महानगर प्रमुख नागेश कोइरालाको नेतृत्वमा नयाँ जनप्रतिनिधि आएसँगै सुशासन, महानगर सरसफाइ, फुटपाथ खाली, नाला सफाइ, डुबान समस्या समाधानलगायतलाई प्राथमिकतामा राखेर काम गरिरहेको जनाइएको छ । महानगरभित्र धेरैले नक्सा पास नगरी घर र भवन बनाएको पाइएको मेयर कोइरालाले बताए । उनले राज्यले तोकेको कानुनको परिधिभित्र सबै आउनुपर्नेमा जोड दिए । ‘हामीले सय दिने सूचना जारी गरेका छौँ’, प्रमुख कोइरालाले भने, ‘सूचनाअनुसार सबै नक्सा पास नगरेका घर र भवनको नक्सा पास गर्नुहुनेछ ।’ महानगरका प्रमुख कार्यकारी अधिकृत विष्णुप्रसाद कोइरालाले एक तले घर र भवनको नक्सा पास गरेर तीनरचार तलेसम्म बनाएको पाइएको बताए । उनका अनुसार त्यस्ता घरधनीका लागि पनि यो सूचना हो । यसअघि असोज १४ गते महानगरले सीमा पर्खाल नियमित गर्न र अनधिकृत सीमा पर्खाल हटाउन ३५ दिने सूचना प्रकाशित गरिसकेको छ ।