‘सम्पती शुद्धीकरण सम्बन्धी ऐन संशोधन नहुँदा वैदेशिक ऋण बन्द हुन सक्ने’
काठमाडौं । सम्पती शुद्धीकरण सम्बन्धी ऐन समयमा नै संशोधन गर्न नसक्दा सरकार अफ्ठ्यारोमा पर्ने भएको छ । सरकारले ऐन संशोधन गर्न नसक्दा नेपाल वित्तीय कारबाही कार्यदल (एफएटीए) र एशिया प्रशान्त समूह (एपीजी) को खैरो सूची (ग्रे लिस्ट) मा पर्दा सरकार अफ्ठ्यारोमा पर्ने देखिएको हो । सम्पती शुद्धीकरण एवम आतङ्कवादी क्रियाकलापमा हुनसक्ने वित्तीय लगानी निवारण गर्न नेपाल सरकारले सम्पती सुद्धिकरण ऐन संशोधन गर्नुपर्ने जरुरी देखिएको छ । सरकारले एफएटीए र एपीजीको मूल्याङ्कन भन्दा अगाडि नै सम्पती शुद्धिकरण (मनि लन्ड्रिङ्ग) निवारण ऐन संशोधन गर्न नसकेकाले खैरो सूची (ग्रे लिस्ट) को खतरा बढेको पूर्व कानूनमन्त्री तथा पूर्व गभर्नरहरुले बताएका छन् । उनीहरुले सरकारले तत्काल अध्यादेशमार्फत भएपनि सम्पती शुद्धिकरण सम्बन्धी ऐन संशोधन गर्न आवश्यक रहेको बताएका छन् । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर चिरिञ्जीवि नेपालले सम्पती शुद्धिकरणका विषयमा नेपाल अफ्ठ्यारो स्थितिमा रहेको बताए । सम्पती शुद्धिकरण एवम आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण गर्न नेपाल सरकारले बनाएका कानूनहरु संशोधन नहुँदा (एफएटीए) को मूल्यांकनमा कालोसूचीमा पर्ने खतरा बढेको उनी बताउँछन् । नेपालको सम्पती शुद्धिकरण मूल्याङ्कन एशिया प्रशान्त समूह (एपीजी) ले गरिरहेको छ । पूर्व गभर्नर नेपालले एफएटीएको सम्पती शुद्धिकरण सम्बन्धी मूल्याङ्कन एपीजीको खैरो सूची (ग्रे लिस्ट) मा परे नेपालमा विश्व बैंक, आइएमएफ, एशियाली विकास बैंकहरुले दिने वैदेशिक ऋण र विश्वका १७० वटा देशमा एलसीसमेत खोल्न नपाउने अवस्था बन्न सक्ने बताए । कालोसूचीमा समावेश भए नेपालको पासपोर्ट विशेष निगरानी हुने र नेपालीहरुको वैदेशिक गतिविधि नै रोकिन सक्ने उनी बताउँछन् । ‘भोलि एफएटीएको सम्पती शुद्धिकरण सम्बन्धी अनुसन्धानमा एपीजीको खैरो सूची (ग्रे लिस्ट) सूचिमा प¥यो भने वैदेशीक ऋण समेत आउँदैन, विश्व बैंक, आइएमएफ,एशियाली विकास बैंकहरुले सबै ऋण बन्द गर्छन्, विश्वका १७० वटा देशमा एलसी खोल्न पाउने व्यवस्था छ, त्यो पनि बन्द हुन्छ, नेपालको पासपोर्ट विशेष निगरानीमा हुन्छ, नेपालीहरुको अन्तराष्ट्रिय देशहरुमा जाने गतिविधि नै रोकिन्छ,’ उनले भने । त्यस्तै, पूर्व कानून तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा कोईरालाले पनि सम्पती शुद्धिकरण (मनि लन्ड्रिङ्ग) निवारण ऐन संशोधन नभए एफएटिए र एपीजीको खैरो सूची (ग्रे लिस्ट) मा पर्नसक्ने सम्भावना रहेको बताए । उनले नेपालमा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण गर्न नसक्दा सम्पती शुद्धिकरण अन्तराष्ट्रिय मूल्यांकनमा कालोसूची पर्ने खतरा देखिएको बताए । कोईरालाले नेपाल अहिले पनि कालो धनलाई सेतो बनाउने अर्थात् अवैधानीक रुपमा कमाएको धनलाई वैधानिक बनाउनसक्ने मुलुकमा पर्ने दाबी गरे । कोईरालाले नेपालमा हुने वित्तीय अपराधलाई नियन्त्रण गर्न नसक्दा वित्तीय कारबाही कार्यदल (एफएटिए) ले गर्ने पारस्परिक प्राविधिक र प्रभावकारिता मूल्यांकनमा कम परियो भने नेपालका बैंकको एटिम कार्डसमेत चल्न नसक्ने अवस्था आउने दाबी गरे । काेइराला नेपाल सम्पती शुद्धिकरण कालोसूचीमा पर्दा रेमिट्यान्स समेत बन्द हुने बताउँछन् । कोईरालाले पछिल्लो समय ४५ लाख नेपाली विदेशमा काम गरेता पनि रेमिट्यान्स अहिलेसम्म बैंकिङ च्यानलबाट नभएर हुण्डीमार्फत आउने गरेको बताए । नेपालले सम्पती शुद्धिकरण हुन नदिन बनाएका कानूनी व्यवस्थाको मूल्यांकन हुन लागेको छ । सम्पती शुद्धिकरण एवम् आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण गर्न नेपाल सरकारले गरिरहेका काम कारबाही, नीतिगत, कानूनी र संस्थागत व्यवस्थाको विषयमा वित्तीय कारबाही कार्यदल (एफएटिए)ले निर्धारण गरेको कार्यविधिअनुसार एशिया प्रशान्त समूह (एपीजी) ले गत असार २१ गतेबाट नेपालको अनुगमन गरिरहेको छ ।
विद्धुतीय गाडी बनाउन होण्डा र सोनीबीच साझेदारी, टेस्लालाई टक्कर दिने लक्ष्य
काठमाडौं । जापानका दुई प्रख्यात कम्पनीहरु होण्डा र सोनी मिलेर विद्युतीय गाडी उत्पादन गर्ने भएको छन् । विश्वभर विद्युतीय गाडीको बजार विस्तार भैरहेको बेलामा जापानीज गाडी निर्माता कम्पनी होण्डाले विद्युतीय सामाग्री उत्पादनमा विश्वभर ख्याती कमाएको सोनीसँग साझेदारी गरेको हो । होण्डा मोटर कम्पनी र सोनी कर्पको संयुक्त लगानीमा सोनी होण्डा मोविलिटी इको स्थापना भएको छ । यस कम्पनीले पहिलो उद्योग दक्षिण अमेरिकामा खोल्ने र सन् २०२६ को दोस्रो त्रैमासमा उपभोक्तासम्म गाडी पुर्याउने घोषणा पनि गरेको छ । यस नयाँ गाडीको बुकिङ २०२५ को पहिले त्रैमासबाट नै शुरु हुने बताइएकाे छ । क्यालिफोर्निया सरकारले लिएको इभीमैत्री नीति र नियामकिय सुविधा राम्रो भएको जनाउँदै जापानी कम्पनीहरुले अमेरिकामा उद्योग बनाउन लागेका हुन् । क्यालिफोर्नियाबाट सन् २०३० सम्म ८ लाख कार बजारमा पठाउने कम्पनीको लक्ष्य रहेको छ । नयाँ गाडीमा विलकुलै नयाँ प्रविधि हुने, सुविधा र मनोरञ्जनको हिसावले संसारकै उत्कृष्ट गाडी बनाउने घोषणा पनि कम्पनीले गरेको छ । यो गाडी सफ्टवेयर प्रविधिमा आधारित हुने र टेस्ला वा एप्पल जत्तिकै उच्च भ्यालुको ब्राण्ड बन्ने कम्पनीको विश्वास छ ।
लाभांशमा नबिल, ग्लोबल र एनआईसी एशिया : ४० प्रतिशसम्म क्षमता, यस्तो छ इतिहास
काठमाडौं । दोस्रो बजारमा लगानी गर्ने लगानीकर्ताका लागि अबको सिजन भनेको लाभांश वितरणको हो । यतिबेला सेयरधनीहरुलाई नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत कम्पनीहरुले धमाधम लाभांश वितरण गर्ने प्रस्ताव गरिरहेका छन् । बैंकिङ्ग क्षेत्रमा हालसम्म २ वटा वाणिज्य बैंक र एउटा पुर्वाधार बैंकले मात्रै लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । सिटिजन्स बैंक, कुमारी बैंक र नेपाल नेपाल इन्फ्रास्ट्रक्चर (निफ्रा) बैंकले मात्रै लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । अन्य कम्पनीका सेयरधनीहरु लाभांशको पर्खाइमा छन् । नेप्सेमा सूचीकृत कम्पनीहरुले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने प्रस्ताव गर्ने समय भएकाले सेयरधनीहरु लाभांशको पर्खाइमा रहेका छन् । नेपालको बैंकिङ्ग क्षेत्रमा अब्बल मानिएका ३ वटा वाणिज्य बैंकहरुले भने सेयरधनीहरुलाई कति लाभांश देला भनेर सबैले चासोका रुपमा हेरेका छन् । बैंकिङ्ग क्षेत्रमा आफूलाई एक नम्बरको दाबी गर्ने नबिल बैंक, ग्लोबल आइएमई बैंक र एनआईसी एशिया बैंकले सेयरधनीहरुलाई कति लाभांश देला भनेर चासोका रुपमा हेरिएको छ । यी बैंकहरुबीच अन्य सूचकमा प्रतिस्पर्धा बढ्दो भएपनि लाभांशमा भने धेरै अन्तर छ । सेयरधनीहरुलाई लाभांश वितरणका हिसावले नबिल बैंक अब्बल रहेको छ । यसपटक पनि बैंकले सेयरधनीलाई राम्रो लाभांश वितरण गर्ने क्षमता राखेको छ । यस्तै, एनआईसी एशिया बैंक र ग्लोबल आइएमई बैंकले पनि सेयरधनीहरुलाई राम्रो प्रतिफल दिइरहेका छन् । नबिल बैंकको लाभांश इतिहास नबिल बैंकले आर्थिक वर्ष २०६०/२०६१ मा ६५ प्रतिशत, आर्थिक वर्ष २०६१/२०६२ मा ७० प्रतिशत, आर्थिक वर्ष २०६२/२०६३ मा ८५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस्तै, बैंकले आर्थिक वर्ष २०६७/२०६८ मा ३० प्रतिशत नगद लाभांश वितरण गरेको थियो । उक्त आर्थिक वर्षमा बैंकले बोनस सेयर वितरण गरेको थिएन । यस्तै, बैंकले आर्थिक वर्ष २०६३/२०६४ मा ४० प्रतिशत बोनस सेयर र १ सय प्रतिशत नगद गरी कूल १४० प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, आर्थिक वर्ष २०६४/२०६५ मा बैंकले सेयरधनीहरुलाई ४० प्रतिशत बोनस सेयर र ६० प्रतिशत नगद गरी कूल १ सय प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, बैंकले आफ्ना सेयरधनीहरुलाई आर्थिक वर्ष २०६५/२०६६ मा ५० प्रतिशत बोनस सेयर र ३५ प्रतिशत नगद गरी कूल ८५ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, आर्थिक वर्ष २०६६/२०६७ मा बैंकले आफ्ना सेयरधनीहरुलाई ४० प्रतिशत बोनस सेयर र ३० प्रतिशत नगद गरी कूल ७० प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, बैंकले आर्थिक वर्ष २०६८/२०६९ मा सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर र ४० प्रतिशत नगद गरी कूल ६० प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, बैंकले आर्थिक वर्ष २०६९/२०७० मा सेयरधनीहरुलाई २५ प्रतिशत बोनस सेयर र ४० प्रतिशत नगद गरी कूल ६५ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, बैंकले आर्थिक वर्ष २०७०/२०७१ मा सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर र ४५ प्रतिशत नगद गरी कूल ६५ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, बैंकले आर्थिक वर्ष २०७१/२०७२ मा सेयरधनीहरुलाई ३० प्रतिशत बोनस सेयर र ६.८४ प्रतिशत नगद गरी कूल ३६.८४ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, बैंकले आर्थिक वर्ष २०७२/२०७३ मा सेयरधनीहरुलाई ३० प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद गरी कूल ४५ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, बैंकले आर्थिक वर्ष २०७३/२०७४ मा सेयरधनीहरुलाई ३० प्रतिशत बोनस सेयर र १८ प्रतिशत नगद गरी कूल ४८ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, बैंकले आर्थिक वर्ष २०७४/२०७५ मा सेयरधनीहरुलाई १२ प्रतिशत बोनस सेयर र २२ प्रतिशत नगद गरी कूल ३४ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, बैंकले आर्थिक वर्ष २०७५/२०७६ मा सेयरधनीहरुलाई १२ प्रतिशत बोनस सेयर र २२ प्रतिशत नगद गरी कूल ३४ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, बैंकले आर्थिक वर्ष २०७६/२०७७ मा सेयरधनीहरुलाई ३३.५ प्रतिशत बोनस सेयर र १.७६ प्रतिशत नगद गरी कूल ३५.२६ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, बैंकले आर्थिक वर्ष २०७७/२०७८ मा सेयरधनीहरुलाई ३३.६ प्रतिशत बोनस सेयर र ४.४४ प्रतिशत नगद गरी कूल ३८ प्रतिशत लाभांश वितरण गरेको थियो । गत आर्थिक वर्षको नाफाबाट बैंकले सेयरधनीहरलाई झण्डै ४० प्रतिशत लाभांश वितरण गर्ने क्षमता रहेको छ । बैंकको चुक्ता पूँजी २२ अर्ब ८३ करोड रुपैयाँ रहेको छ भने वितरणयोग्य नाफा ९ अर्ब १२ करोड रुपैयाँ रहेको छ । सोही आधारमा बैंकले गत आर्थिक वर्ष २०७८/२०७९ मा ३९.९४ प्रतिशत लाभांश वितरण गर्ने क्षमता रहेको छ । ग्लोबल आइएमई बैंकको लाभांश इतिहास बैंकले आर्थिक वर्ष २०६९/२०७० मा १५ प्रतिशत, आर्थिक वर्ष २०७१/२०७२ मा २३ प्रतिशत, आर्थिक वर्ष २०७४/२०७५ मा १६ प्रतिशत र आर्थिक वर्ष २०७२/२०७३ मा १६ प्रतिशत बोनस वितरण गरेको थियो । यी वर्ष बैंकले नगद लाभांश वितरण गरेको थिएन । बैंकले आर्थिक वर्ष २०६८/२०६९ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ३ प्रतिशत बोनस र १० प्रतिशत नगद गरी कूल १३ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, आर्थिक वर्ष २०७०/२०७१ मा बैंकले सेयरधनीहरूलाई २१ प्रतिशत बोनस र ४ प्रतिशत नगद गरी कूल २५ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, आर्थिक वर्ष २०७३/२०७४ मा बैंकले सेयरधनीहरूलाई १० प्रतिशत बोनस र १० प्रतिशत नगद गरी कूल २० प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, आर्थिक वर्ष २०७५/२०७६ मा बैंकले सेयरधनीहरूलाई १२.७५ प्रतिशत बोनस सेयर र १२.७५ प्रतिशत नगद गरी कूल २५.५ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, आर्थिक वर्ष २०७६/२०७७ मा बैंकले सेयरधनीहरूलाई १४ प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद गरी कूल १६ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, आर्थिक वर्ष २०७७/२०७८ मा बैंकले सेयरधनीहरूलाई १० प्रतिशत बोनस सेयर र ३.५ प्रतिशत नगद गरी कूल १३.५ प्रतिशत लाभांश वितरण गरेको थियो । बैंकको गत वर्षको नाफाबाट सेयरधनीहरलाई झण्डै साढे १३ प्रतिशतसम्म लाभांश वितरण गर्ने क्षमता रहेको छ । बैंकको चुक्ता पूँजी २३ अर्ब ७९ करोड रुपैयाँ रहेको छ भने वितरणयोग्य नाफा ३ अर्ब १९ करोड रुपैयाँ रहेको छ । सोही आधारमा बैंकले गत आर्थिक वर्ष २०७८/२०७९ मा १३.४५ प्रतिशतसम्म लाभांश वितरण गर्ने क्षमता रहेको छ । एनआईसी एशिया बैंकको लाभांश इतिहास बैंकले आर्थिक वर्ष २०६६/२०६७ मा २६.३२ प्रतिशत, आर्थिक वर्ष २०६७/२०६८ मा २० प्रतिशत, २०६८/२०६९ मा २५ प्रतिशत, आर्थिक वर्ष २०६९/२०७० मा २० प्रतिशत नगद लाभांश वितरण गरेको थियो । बैंकले आर्थिक वर्ष २०६१/२०६२ मा सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद गरी कूल ३० प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, आर्थिक वर्ष २०६२/२०६३ मा बैंकले सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत नगद गरी कूल १०.५३ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, बैंकले आर्थिक वर्ष २०६३/२०६४ मा सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद गरी कूल २१.०५ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, आर्थिक वर्ष २०६४/२०६५ मा बैंकले सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद गरी कूल २१.०५ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, बैंकले आफ्ना सेयरधनीहरुलाई आर्थिक वर्ष २०६५/२०६६ मा १५ प्रतिशत बोनस सेयर र ०.७९ प्रतिशत नगद गरी कूल १५.७९ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, बैंकले आर्थिक वर्ष २०७०/२०७१ मा सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद गरी कूल ३० प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, बैंकले आर्थिक वर्ष २०७१/२०७२ मा सेयरधनीहरुलाई ३९ प्रतिशत बोनस सेयर र २.०५ प्रतिशत नगद गरी कूल ४१.०५ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, बैंकले आर्थिक वर्ष २०७२/२०७३ मा सेयरधनीहरुलाई २६ प्रतिशत बोनस सेयर र १.३७ प्रतिशत नगद गरी कूल २७.३७ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, बैंकले आर्थिक वर्ष २०७३/२०७४ मा सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद गरी कूल २१.०५ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, बैंकले आर्थिक वर्ष २०७४/२०७५ मा सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र ०.५ प्रतिशत नगद गरी कूल १०.५३ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, बैंकले आर्थिक वर्ष २०७५/२०७६ मा सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र ११.०५ प्रतिशत नगद गरी कूल २१.०५ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, बैंकले आर्थिक वर्ष २०७६/२०७७ मा सेयरधनीहरुलाई १९ प्रतिशत बोनस सेयर र १.७६ प्रतिशत नगद गरी कूल २० प्रतिशत लाभांश वितरण गरेको थियो । राष्ट्र बैंकले एनआईसी एशिया बैंकको आर्थिक वर्ष २०७७/२०७८ को लाभांश भने रद्द गरेको थियो । राष्ट्र बैंकले बैंकको पूँजी पर्याप्त नदेखिएको भन्दै बैंकको लाभांश रद्द गरेको थियो । बैंकले आर्थिक वर्ष २०७७/२०७८ को नाफाबाट चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र ०.७८९४७ प्रतिशत नगद गरी कुल १५.७८९४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । बैंकको गत वर्षको नाफाबाट सेयरधनीहरलाई झण्डै साढे १९ प्रतिशतसम्म लाभांश वितरण गर्ने क्षमता रहेको छ । बैंकको चुक्ता पूँजी ११ अर्ब ५६ करोड रुपैयाँ रहेको छ भने वितरणयोग्य नाफा २ अर्ब ४६ करोड रुपैयाँ रहेको छ । सोही आधारमा बैंकले गत आर्थिक वर्ष २०७८/२०७९ मा १९.४३ प्रतिशतसम्म लाभांश वितरण गर्ने क्षमता रहेको छ ।
भारतबाट आयात नरोकिँदा चितवनका केराले बजार पाएन, किसान मारमा
भरतपुर । भरतपुर–२३ को जगतपुरमा रहेको यज्ञप्रसाद सुवेदीको बगानमा केरा बोटमै पाकेका छन् । भारतीय केराको आयात नरोकिँदा उनको बगानमा पाकेका केरासमेत सजिलै बिक्री भएका छैनन् । पहेँलै भएर पाकेका केरा चरा र बाँदरको आहारा बनेका छन् । सुवेदीले ५५ बिघामा केराखेती गरेका छन् । सबैभन्दा धेरै क्षेत्रफलमा केरा लगाउनेमध्येका एक उनले केरा बोटमै पाकेपछि चरा र बाँदर धपाउन दुई जना मान्छे नै परिचालन गरेका छन् । ‘यो सिजनमा केरा बिक्री र मूल्य राम्रो हुने अपेक्षा थियो तर सोचेजस्तो भएन’, उनले भने । केरा उत्पादक सङ्घ चितवनका पूर्वअध्यक्षसमेत रहेका सुवेदीले उत्पादन प्रशस्त रहेको र बजारको मात्र समस्या रहेको बताए । ‘यो समयमा मेरोमात्रै होइन, नेपालमै उत्पादन भएको केरा पर्याप्त छ, भारतबाट ल्याउन आवश्यक छैन । तर भन्सार छलेर दैनिक १०–१५ गाडी केरा काठमाडाैं भित्र्याइने गरेको छ,’ उनले भने । सबैभन्दा धेरै केरा उत्पादन हुने जिल्लामा चितवन दोस्रो स्थानमा पर्छ । केरा बिक्री नभएपछि चितवनका किसानले पटक–पटक भारतीय केरा आयात रोक्न माग गरिरहेका छन् । उनीहरूले एक–दुई महिनासम्म आवश्यक पर्ने केरा नेपालमै तयारी अवस्थामा रहेको बताएका छन् । नेपाल केरा उत्पादक महासङ्घका अध्यक्ष विष्णुहरि पन्तले छठपर्वसम्म भारतीय केरा आयात रोक्न सरकारसँग माग गरे । ‘छठपर्वसम्म देशलाई आवश्यक पर्ने केरा हामीले उत्पादन गरेका छाैं’, उनले भने, ‘नेपालकै बिक्री नभएको अवस्थामा भारतीय केरा आयात रोक्न सरकार लाग्नुपर्छ ।’ उनले केराका लागि भारतसँग नेपालले प्रतिस्पर्धा गर्न नसक्ने बताए । यतिखेर नेपालमा दैनिकरूपमा केरा आयात हुँदै आएको छ । भारतबाट आएको केरासँग चितवनले प्रतिस्पर्धा गर्न सक्दैन’, अध्यक्ष पन्तले भने । केरा उत्पादक सङ्घ चितवनका अध्यक्ष माधवप्रसाद घिमिरे भारतीय केराको आयात नरोकिए जिल्लाका केरा व्यवसायी विस्थापित हुने अवस्था आउने बताए । ‘सरकारले केरा आयात गर्दा एलसी खोलेर मात्र ल्याउन पाउने नियम बनाएको छ । यहाँ विभिन्न नाकाबाट बिना एलसी भारतीय केरा अवैधरूपमा भित्रिएका छन्’, उनले भने, ‘यो समस्या समाधान हुन नसके व्यावसायिकतातर्फ उन्मुख कृषक पलायन हुने अवस्थामा पुग्नेछन् ।’ उनले यस वर्ष धेरै पानी परेका कारण पनि समस्या भएको बताए । ‘चाडपर्वमा पनि धेरै पानी प¥यो, यसकारण यस वर्ष केराको खपत पनि कम भयो’, उनले भने । चितवनमा छ सय बिघामा मात्रै हरियो (जिनाइन) केरा लगाएको घिमिरेले बताए । यो केरा एकैपटक पाक्ने भएकाले बजार नपाए सबै बारीमा नै कुहिने उनको भनाइ छ । केरा व्यवसायमा किसानको दिनप्रतिदिन आकर्षण भने बढ्दै गइरहेको उनले बताए । चितवनमा मात्रै सात सय किसानले व्यावसायिकरूपमा केराखेती गरिरहेको उनले जानकारी दिए । उत्पादन भएको केराको बजारको ग्यारेन्टी सरकारले गर्नुपर्ने माग केरा उत्पादक किसानको छ । स्वदेशमै धेरै उत्पादन भएको समयमा आयात रोकिनुपर्ने माग उनीहरूको छ । साथै उत्पादित वस्तु बिक्री नभए सरकारले किनिदिनुपर्ने उनीहरू बताउँछन् । उनीहरूले केराको मूल्य तोकेर कार्यान्वयन गराउनुपर्ने माग पनि सरकारसमक्ष राख्दै आएका छन् । चितवनमा मात्रै वार्षिक २ अर्बको केराको कारोबार हुने गरेको छ । ‘राज्यले किसानलाई मल र बीउ समयमै उपलब्ध त गराएको छैन । किसानले जेनतेन उत्पादन गरेको वस्तुको पनि बजारको व्यवस्था गर्न सकेको छैन’, घिमिरेले भने । जिल्लाका अधिकांश किसानले मालभोग र जिनाइन केरा लगाएका छन् । भारतीय केराको उत्पादन लागत कम पर्ने भएका कारण नेपाली व्यापारीले सस्तो मूल्यमा खरिद गर्ने गरेका छन् । महँगो बीउ, मल, सिँचाइ, जग्गा भाडालगायतका कारण नेपाली केराको उत्पादन लागत भारतीयको भन्दा बढी छ । भरतपुर महानगर फलफूल तथा तरकारी बजारका प्रबन्ध निर्देशक थिरप्रसाद धिताल चितवनमा भारतीय केरा नआएको बताउँछन् । अहिले मन्दीका कारण केराको बिक्रीसमेत नभएको उनको भनाइ छ । केराको मूल्य प्रतिकोसा तीनदेखि चारमा किसानको बारीबाट बिक्री हुने गरेको छ । नेपालको उत्पादन तीन लाख आठ हजार तीन सय ८८ मेट्रिक टन छ । यो कुल मागको ६० प्रतिशत रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना चितवनका कृषि अधिकृत इन्द्र शर्मा ढुङ्गानाले जानकारी दिए । उनका अनुसार ४० प्रतिशत केरा भारतबाट आयात हुँदै आएको छ । ‘चितवनमा उत्पादन भएको केराकोे मुख्य बजार काठमाडौं हो’, उनले भने, ‘भारतबाट दैनिक आयात हुँदा किसान मर्कामा पर्ने नै भए ।’ काठमाडौंसँगै चितवनमा उत्पादन भएको केरा पोखरा, बुटवल र दाङमा समेत जाने गरेको छ । देशभर केराको कुल माग पाच लाख १४ हजार ५० मेट्रिक टन रहेको छ । यहाँ २१ हजार छ सय ३३ हेक्टर क्षेत्रफलमा केराखेती हुँदै आएको छ । त्यसमध्ये चितवनमा मात्रै दुई हजार ७६ हेक्टर क्षेत्रमा केराखेती हुन्छ । त्यसमा ४३ हजार एक सय ९३ मेट्रिक टन चितवनमा उत्पादन हुन्छ । नेपालको उत्पादनको २० प्रतिशत केरा चितवनले ओगट्ने गरेको छ । पूर्वी चितवनको रत्ननगर, खैरहनी, राप्ती र कालिका नगरपालिकामा बढी केराखेती हुने गरेको छ । यस्तै भरतपुर महानगरको ठिमुरा, जगतपुर र मेघौली क्षेत्रमा पनि व्यावसायिक केराखेती गरिएको छ । रासस
एमाले छाड्दिन : भीम रावल
काठमाडौं । चुनावमा टिकट नपाएका नेकपा एमालेका नेता भीम रावलले पार्टी नछोड्ने बताएका छन् । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले पार्टी भित्रै रहेर न्याय र स्वाधीनताका लागि लड्ने बताएका हुन् । उनले आफु मंसिर ४ गते हुने चुनावमा योग्य उम्मेदवारलाई जिताउन लाग्ने बताए ।
माछापुच्छ्रे बैंकका भिसा कार्ड भएकाले १८० देशबाट सजिलै रेमिट्यान्स पाउन सक्ने
काठमाडाैं । माछापुच्छ्रे बैंकले अन्तराष्ट्रिय रेमिट्यान्स भुक्तानीलाई सहज बनाउने उद्देश्यका साथ भिसा इन्टरनेशनल सँगको सहकार्यमा भिसा डाइरेक्ट सेवाको सुरुवात गरेको छ । यस सेवा मार्फत विदेशबाट यस बैंकको भिसा कार्ड प्रयोगकर्ता ग्राहकहरुलाई बिना झन्झट सरल र सजिलै रेमिट्यान्स पठाउन सकिनेछ । यस सेवा मार्फत भिसा डायरेक्टमा सहभागी रहेका १८० भन्दा बढी देशहरूबाट नेट–बैंकिङ, मोबाइल वा एटीएम मार्फत १६ अंकको भिसा कार्ड नम्बरमा विश्वको जुनसुकै कुनाबाट नेपालमा रकम पठाउन सकिनेछन् । उक्त सेवा मार्फत स्वदेश र विदेशबाट सरल, सहज, र सुरक्षित तरिकाले १६ अंकको भिसा कार्ड मार्फत सस्तो दरमा रियल टाइममा रेमिट्यान्स पाउन सकिनेछन् । माछापुच्छ्रे बैंकले हालै मात्र नेपाली कर्मशियल बैंकिङ्ग इतिहासमा पहिलोपटक आफ्नै मोवाईल वालेट रेमिट्याप संचालनमा ल्याएको छ ।
असोज ३१ गतेभित्र काठमाडौंमा बनेका भवनहरूको नाप-नक्सा बुझाउन निर्देशन
काठमाडाैं । काठमाडौं उपत्यका विकास प्राधिकरणले असाेज ३१ गतेभित्र उपत्यकाका सार्वजनिक रूपमा प्रयोग भइरहेका भवन तथा जग्गाको नाप-नक्सालगायत कागजात बुझाउन निर्देशन दिएको छ । प्राधिकरणले काठमाडौं उपत्यकाभित्रका सबै व्यापारिक भवन, संयुक्त आवास, सामुहिक आवास, सम्पूर्ण शिक्षण संस्था एवं स्वास्थ्य संस्था लगायतका सार्वजनिक प्रयोग भइरहेका भवन तथा जग्गाको नाप नक्शा लगायतका कागतजात बुझाउन निर्देशन दिएको हाे । उपत्यकालाई व्यवस्थित गर्ने उद्देश्यका साथ शहरीकरणको विषयमा मापदण्ड तय गर्ने र त्यसको कार्यान्वयन भए नभएको विषयमा निरीक्षण गर्ने प्राधिकरणले उक्त निर्देशन दिएकाे जनाएकाे छ ।
८ वर्ष कोरिया बसाईंपछि ‘एसवाई बजार’ खोले बाबुराजले
काठमाडौं । अहिले विदेश जानु युवाहरूको लागि ‘प्यासन’ बनेको छ । आम्दानी राम्रो हुने भएकाले अधिकांश युवाहरू विदेश जाने दौडधुपमा हुन्छन् । यही शिलशिलामा ओखलढुंगा लिखु गाउँपालिकाका बाबुराज खड्का पनि सन २०१२ दक्षिण कोरिया तर्फ लागे । घरको कमजोर आर्थिक अवस्थाका कारण उनलाई पनि विदेशिनु पर्ने बाध्यता आइलाग्यो । बाबुराज हुने खाने परिवारकै सदस्य थिए । गाउँमा अथाह सम्पत्ति बाबुराजका हजुरबुबाको थियो । खाना लाउनको समस्या थिएन । समय क्रमसँगै हजुरबुबाले पारिवारिक समस्याका कारण जमिन बेच्नु पर्याे । बाबुराजका बुबा रिटायर्ड आर्मी थिए । बुबाको पेन्सनले घर खर्च चलिरहेको थियो । बाबुराजको साधारण परिवार भए पनि हासिखुसि बाल्यकाल बितिरहेको थियो । तर त्यो खुसी धेरै दिन टिकेन । बाबुराज १२ वर्षको हुँदा उनका बुबाको मृत्यु भयो । बुबाको मृत्यु पश्चात् बुबाको जिम्मेवारी उनी आमामा आइ लाग्यो । छोराछोरी हुर्किदै थिए । दिनहुँ खर्च बढ्दै थियो । उनकी आमालाई घर खर्च जुटाउन धौधौ भयो । बाबुराज बढ्दै गए । पढाइलाई उनले निरन्तरता दिइरहेका थिए । गाउँमा नै उनले कक्षा १० सम्मको पढाइ पुरा गरे । त्यो बेला उच्च शिक्षा गाउँमा थिएन । ओखलढुङगाबाट रामेछाप जिल्लामा उच्च शिक्षा पढ्ने विद्यालय थियो । उनी घरबाट डेढ घण्टा हिँडेर उच्च शिक्षाको लागि विद्यालय धाउने गर्थे । उनले रामेछापको श्री हिमगंगा उच्च माध्यमिक विद्यालयबाट उच्च शिक्षा पुरा गरे । ‘सो विद्यालयमा स्नातक पढाइ हुन्थ्यो तर भविष्यको खोजीमा काठमाडौं आए, काठमाडौं आएर पशुपति बहुमुखी क्याम्पसमा भर्ना भएँ, पढाइ चल्दै थियो, उमेर बढ्दै थियो, घरको आर्थिक अवस्था कमजोर भएका कारण काम गर्नुपर्ने बाध्यता आउन थाल्यो,’ उनले भने । बाबुराज स्नातक भर्ना हुनु भन्दा एक वर्ष अगाडिदेखि नै दक्षिण कोरियाको भाषा सिकेर कोरिया जानेहरूको लर्को चलेको थियो । त्यो बेलामा महिनामा नै कोरिया जादा एक लाख रुपैयाँसम्म कमाइ हुन्छ भन्ने विज्ञापन सुने । धेरै कमाइ हुने ठाउँ गाइयो भने घरमा अनेकौं समस्या र आफ्नो सपना पनि पुरा हुने बाबुराजले ठाने । जागिरको खोजीमा भन्दा पनि बाबुराज कोरियन भाषा सिक्न तर्फ लागे । चाबहिलमा एक इन्सिच्युटमा गएर कोरियन भाषा सिके । त्यो बेला गाउँमा एक दुई जना दाजुभाइ पनि कोरिया गएको उनी सुनाउँछन् । उनीहरूको पनि राम्रो प्रगति भएको देखेर बाबुराजलाई कोरिया जान मोह लाग्यो । ‘फलानाको छोराले महिनामा नै लाख कमाउँछ रे, काठमाडौंमा घर जग्गा जोड्यो भने कुराहरू सुनिन्थे, आफूलाई पनि त्यो कौतुहल्ता र एउटा उमेरमा गएपछि पैसाको कमाउने सबैको सोच हुन्छ, मध्यम वर्गीय परिवारमा हुर्किएको मान्छेलाई कसरी धनी हुने विषले मान्छेलाई पिरोली रहन्छ,’ उनले आफ्नो भोगाइ सुनाउँदै भने । भाषा सँगसँगै स्नातकको पढाइलाई पनि उनले निरन्तरता दिए । पढाइ पनि राम्रै थियो । उनी कोरियाको परीक्षामा पास पनि भए । भाषाको परीक्षा पास भएको केही समयपछि बाबुराज कोरियाका लागि उडे । उनी सन् २०१२ सालमा कोरिया गए । कोरियामा उनलाई एसवाई कोयलटीडी कम्पनीमा काम गर्ने अवसर मिल्यो । सो कम्पनी कोरियाको ठूला कम्पनी मध्येको एक उनी बताउँछन् । काम गर्दै जाँदा बाबुराजको आम्दानी पनि राम्रो हुन थाल्यो । घरमा पनि पैसा पठाउन थाले । कोरियाको बसाइबाट उनले जग्गा पनि जोड्न भ्याए । उनी कोरियामा ५ वर्ष बसे । सो बसाइपछि भिसा सकिएर नेपाल फर्किएको उनी बताउँछन् । बाबुराज २०१७ मा नेपाल फर्किए । त्यो बेला उक्त कम्पनीले विभिन्न देशमा लगानी गरिरहेको थियो । नेपालमा २०१५ मा गएको विनाशकारी भूकम्प पश्चात् प्रिफ्याब घरहरू चल्छ भनेर नेपालमा सो कम्पनीले लगानी गर्ने भयो । नेपालमा एसवाई नेपाल कम्पनी दर्ता गरेर २०१७ बाट नै उक्त कम्पनीको शाखा नेपालमा पनि भयो । ‘सो बेला नै मेरो पनि कोरियाको भिसा सकिएको थियो, उक्त कम्पनीले नै नेपालमा एसवाई नेपाल भन्ने कम्पनीको दर्ता गरी सञ्चालन ल्यायो, मैले पनि कोरियामा एसवाईको नै कम्पनीमा काम गरेको हुनाले नेपालमा सञ्चालनमा आएको सो कम्पनीमा सजिलै जागिर पाएँ,’ उनले विकासन्युजसँग भने । उनले एसवाई नेपालको चितवनमा रहको प्यानल उत्पादन गर्ने कारखानामा २ वर्षसम्म म्यानेजमेन्ट हेरे । तर, बाबुराजलाई कोरियाको मोहले छाडेन । २०१९ मा उनी पुनः कोरिया लागे । कोरियामा पनि उनले पहिलाको नै कम्पनीमा काम गरेको बाबुराज बताउँछन् । उनले सो कम्पनीमा नै ३ वर्ष बिताएर नेपाल फर्किए । नेपाल फर्किए लगतै उनले नेपालमा रहेको एसवाई कै कम्पनीमा काम सुरु गरे । तर, अब उनले आफै व्यवसायी बन्ने सोच बनाए र एउटा कम्पनीको स्थापना गरेर काम गरिरहेका छन् । साथीहरुको सल्लाह सुझावमा उनले अनलाइन सपिङ सेन्टर खोलेका छन् । एसवाई प्यानलमा लामो समयसम्म काम गरेको भएर उनले एसवाई बजार अनलाइन सपिङ सेन्टरको सुरुवात गरेका छन् । बाबुराजले नेपाल र कोरिया गरी यसवाई कम्पनीमा १० वर्ष काम गरी सकेका छन् । ‘म गाउँले मान्छे, एसवाईले मलाई एउटा स्थान पुर्याएर धेरै सपनाहरू साकार गरेको छ, त्यसैले मैले कम्पनीको नाम पनि एसवाई नै राखेँ, समय सापेक्षिक प्रविधिमा आधारित एउटा व्यवसाय सुरु गरौं भनेर एसवाई बजारको सुरुवात गरेको छु,’ उनले भने । ६० लाख रुपैयाँको लगानी अनलाइनमार्फत् एउटै छानामुनि सबै सामान किनमेल गर्न सकिने ‘एसवाई बजार’ सुुरु भएको छ । अनलाइन सपिङलाई गुणस्तर बनाउने तथा ग्राहकलाई समयमा नै सामान उपलब्ध गराउने योजनासहित एसवाई बजार सञ्चालनमा आएको हो । एसवाई बजार सपिङ सेन्टर ६० लाख रुपैयाँको लगानीबाट सञ्चालनमा आएको सञ्चालक उनले जानकारी दिए । ‘पछिल्लो समय मानिसहरूको व्यस्तताको कारण अनलाइनबाट सामानको खरिद गर्ने तथा पछिल्लो समय टेक्नेलोजि बेसमा मानिसहरूको चाल चल्न बढ्दै गएकाले इकमर्स साईट ( अनलाइन सपिङ) को अवधारण ल्याएका हौं,’ उनले भने । उक्त एसवाई बजारमा स्वदेशी तथा विदेशी सामानहरू उपलब्ध हुने छन् । सञ्चालक खड्काका अनुसार ग्राहले अडर गरेको कुनै पनि सामान घर वा कार्यालयसम्म डेलिभरी गर्ने सुविधा दिने छ । यसवाई बजारमा कोरियाका ओरजिनल प्रोडक्टहरु पनि उपलब्ध गराउने उद्देश्य रहेको सञ्चालक खड्काले बताए । एप्स वा वेबसाइटमार्फत् ग्राहकलाई चाहिएको सामान अर्डर गर्न सक्ने छन् । विश्व बजारमा पाइने सामान पनि एसवाई बजारमा राख्ने सोचमा कम्पनी छ । ‘एसवाई बजारबाट वान डे डेलिभरी पनि हुन्छ, उपत्यका बाहिर तिन भित्रमा डेलिभरी भइसक्छ, जति सक्दो छिटो डेलिभरी हाम्रो कम्पनीबाट हुन्छ,’ उनले भने । एसवाई बजारमा फिजिकल मार्केटमा भएका सामानहरू सबै उपलब्ध छ । काठमाडौं, भक्तपुर ललितपुर, चितवन, विराटनगर र विरगञ्ज लगायतका ठाउँमा डेलिभरीको सुविधा छ । ग्राहकको आवश्यकतालाई मध्येनजर गरेर विभिन्न ठाउँमा शाखा खोल्ने योजना कम्पनीको छ । ‘अहिले अनलाइन सपिङ ग्राहकहरुले खोजेको जस्तो सामान नपाउने तथा एउटा समान किन्यो भने अर्को सामान पुर्याइदिने, मुल्यमा समस्या आइरहेको देखिन्छ, यस्तो नहोस् र गुणस्तरीय सामान तथा सेवा दिने योजना साथ अनलाइन सपिङ खोलेका छौं,’ उनले भने । एसवाई बजारले हाल १५ जनालाई रोजगारी दिएको छ । कम्पनीले १० जनालाई इन्टर्नसीपमा राखेको छ । हाल कम्पनीमा २५ जना कर्मचारीहरू कार्यरत छन् । कर्मचारी थप्दै जाने कम्पनी सोचमा छ ।