विकासन्युज

खुल्यो सुर्खेतदेखि कालिकोटसम्मको कर्णाली राजमार्ग

दैलेख । अविरल वर्षाका कारण पहिरोसँगै ठूलो ढुङ्गा खसी पूर्णरूपमा बन्द भएको कर्णाली राजमार्गअन्तर्गत सुर्खेतदेखि कालिकोटसम्म सडक खुलेको छ । बिचमा पर्ने दैलेख खण्ड छ दिनदेखि बन्द थियो । राजमार्ग खुलेसँगै सुर्खेतदेखि कालिकोटसम्म आजदेखि सवारीसाधन चल्न थालेका छन् । बुधबार राति नेपाली सेनाले राजमार्गअन्तर्गत दैलेख खण्डको आठविस नगरपालिकाको खिड्कीज्यूलामा विस्फोटक पदार्थ प्रयोग गरेर ठूलो ढुङ्गा फोडेसँगै कालिकोटसम्मको सडक खुलेको हो । दैलेखका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालसहित सुरक्षा अधिकारीहरूको उपस्थितिमा विस्फोटक पदार्थ प्रयोग गरी सडक सञ्चालनमा आएको हो । नेपाली सेनाले विस्फोटक पदार्थ प्रयोग गरी ठूलो ढुङ्गा फुटाएको दैलेखका प्रहरी प्रमुख भुवनेश्वरप्रसाद साहले बताए । ‘कालिकोटसम्म सवारीसाधन चल्न मिल्ने गरी सडक खुलेको छ’, प्रमुख साहले भने, “ठाउँठाउँमा पहिराले सडक बिग्रेकाले होसियारीपूर्वक सावरी चलाउनुपर्छ ।’ उनका अनुसार दैलेखका सिमानामा भएका अवरुद्ध बाटाहरु सबै खुलाइएको छ । कालिकोटदेखि जुम्ला जोड्ने सडक बाढीपहिराले कटान गरेसँगै अवरुद्ध भएको छ । बाढीपहिराले कालिकोट खण्डको एसमोड र सेरी घाटमा सडक अवरुद्ध भएको छ । तिला नदीले सडक कटान गरेकाले नयाँ सडक बनाउनुपर्ने हुन्छ । रासस

निर्वाचनको खर्च विवरण नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागमार्फत संकलन गरिने

काठमाडाैं । उम्मेदवार तथा राजनीतिक दलले निर्वाचनमा गरेको खर्च विवरण नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको स्थानीय संरचनामार्फत संकलन गरिने भएकाे छ । राष्ट्रिय निर्वाचन आयाेगले बिहीबार एक विज्ञप्ति जारी गर्दै यस्ताे जानकारी दिएकाे हाे । मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष बनाउन यस्ताे गरिएकाे आयाेगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । यस्तै, आयाेगले प्रचार सामग्री राखिएको, भित्ते लेखन गरिएको, तुल ब्यानर टाँगिएको, डिजिटल डिस्प्ले गरिएको, पर्चा टाँसिएको पाए सम्बन्धित उम्मेदवारलाई स्पष्टीकरण साेधी कारवाही अगाडी बढाउने जनाएकाे छ ।      

ब्याजदरको विषयमा बैंकर्स संघमा लफडा, अध्यक्ष उपाध्याय भन्छन् : अब बैठक बस्दैन

फाइल फोटो काठमाडौं । ब्याजदरको विषयमा नेपाल बैंकर्स संघमा विवाद भएको छ । बुधबार बसेको बैंकर्स संघको बैठकमा अधिकांश सीईओले ब्याजदर नबढाउने र केहीले बढाउनु पर्ने अडान राखेपछि सीईओहरुबीच विवाद भएको हो । विवाद भएपछि निष्कर्षविहिन रुपमा बैठक सकिएको स्रोतको भनाइ छ । ‘असोज महिनामा ब्याज बढिसकेकोले कात्तिकमा बढाउनु हुन्न भन्ने धेरैको सीईओहरुको मत रह्यो तर केही बैंकका सीईओहरुले ब्याजदर बढाउनु पर्ने अडान राखेपछि केही समय विवाद भयो, पछि कुनै निर्णय नै नभएर बैठक सकियो,’ स्रोतले भन्यो । स्रोतका अनुसार अहिले कर्जा–निक्षेप (सीडी रेसियो) अनुपात बढी भएका बैंकहरुले ब्याजदर बढाउनु पर्ने धारणा राखेका थिए । तर, अधिकांश बैंकका सीईओहरुले बढाउन नहुने धारणा राखेपछि बैठक विवादमै टुङ्गिएको हो । त्यसपछि संघको बैठक नै बस्न सकेको छैन । सीईओहरुबीच भर्चुअल माध्यममार्फत् बैठक बसेको थियो । संघका अध्यक्ष अनिल कुमार उपाध्याय भने सुदूरपश्चिको भ्रमणमा छन् । कृषि विकास बैंकका सीईओ समेत रहेका उपाध्याय कृषि विकास बैंककै कामको शिलशिलामा सुदूरपश्चिम गएका छन् । उनले ब्याजदरको विषयमा संघको बैठक बसेपनि ब्याज नबढ्ने धारणा राखे । ‘ब्याज बढाउनु हुन्न भने हाम्रो बुझाइ हो, असोजमा ब्याज बढाउँदा पनि निक्षेप बढेको देखिएन, यस पटक ब्याजदर बढ्दैन, अब बैठक नै बसेर ब्याजदरको विषयमा निर्णय गर्न हामीले आवश्यक देखेका छैनौं,’ उनले भने । विगत ७ महिनादेखि निक्षेपको ब्याजदर र राखेका बैंकहरुले गत असोजमा बढाएर १२.१३ प्रतिशत माथि पुर्याएका थिए । अहिले बैंकहरुले रेमिट्यान्स खातामा १५ प्रतिशतसम्म ब्याज दिइरहेका छन् । असोज महिनामा बैंकहरुले १० प्रतिशत थप गरेर व्यक्तिगत मुद्दती निक्षेपमा १२.१३ प्रतिशत र संस्थागततर्फ करिव १०.१३ प्रतिशत ब्याजदर प्रदान गरिरहेका छन् । यस्तै, उनले यस पटक अधिकांश बैंकहरुले आधारदर भने बढाउन सक्ने धारणा राखे । उनले राष्ट्र बैंकको नीति अनुसार तीन महिनाको एक पटक आधारदर परिवर्तन गराउन पाइने व्यवस्था अनुरुप बैंकहरुले आधार दर परिवर्तन गराउन पाउने बताए । बैंकहरुले आधारदर परिवर्तन गर्न पाउने अधिकार भएकोले सो निर्णय बैंक आफैले गर्ने धारणा उपाध्ययाले राखे । आधारदर बढेपछि बैंकको कर्जाको ब्याजदर पनि बढ्छ । अहिले पनि अधिकांश वाणिज्य बैंकहरुको आधार दर दोहोरो अंकमा छ । दोहोरो अंकमा आधार दर भएका बैंकबाट ऋण लिँदा लागत बढी लाग्ने गर्छ । कात्तिकमा अधिकांश बैंकले आधारदर बढाउने निश्चित छ । ती बैंकले आधारदर बढाएपछि औसत आधारदर १० प्रतिशत बढी पुग्ने देखिन्छ ।

निर्माण भएको १५ वर्षपछि सञ्चालन भयो नुवाकोटको बसपार्क

त्रिशूली । निर्माणको १५ वर्षसम्म अलपत्र एवं अव्यवस्थित बनेको नुवाकोटको (बट्टार) बसपार्क सञ्चालनमा आएको छ । विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले नुवाकोटबाट काठमाडौं जाने बसको चालकसहित यात्रुलाई यात्रा सफतालको कामनासहित बसपार्क सञ्चालनमा आएको औपचारिक घोषणा गरेका हुन् । उनका अनुसार निर्वाचित भएर आएसँगै नगरको कार्ययोजनाको प्राथमिकताको सूचीअन्तर्गत बसपार्क सञ्चालनका लागि निरन्तर एक महिनादेखिको सरोकारवालासँगको बैठकले गरेको निर्णयअनुसार कार्यान्वयनमा ल्याइएको हो । ‘बसपार्क सञ्चालनका लागि नगरपालिकाको आयोजनामा जिल्लाका सरोकारवाला पक्षसँग पटक–पटक बसेको बैठकको निर्णय र गत असोज ११ गतेदेखि मुख्य बजार क्षेत्रको सवारी पार्किङ व्यवस्थित बनाउन सुरु पछिको उपलब्धि हो’, नगरप्रमुख श्रेष्ठले भने, ‘निर्माण सम्पन्न भएर वर्षौंदेखि अलपत्र बनेको बसपार्क सञ्चालन गर्नुभन्दा निरन्तर चलाउनु चुनौती महसुस गरेका छाैं ।’ रसुवा र नुवाकोटको पहिलो र ठूलो समेत रहेको उक्त बसपार्क साविक पासाङह्ल्यामु राजमार्ग र हाल ‘गल्छी–रसुवागढी सडक योजना’ अन्तर्गत अन्तर्राष्ट्रिय राजमार्गबाट दुई सय मिटरभित्र पर्दछ । ‘सुविधा सम्पन्न र बन्दोबस्तीले भरिपूर्ण भए पनि बजार क्षेत्र र मूल सडकबाट भित्र पर्ने भनेर अलपत्र छाड्न हुन्न,’ नगरप्रमुख श्रेष्ठले भन्नुभयो, ‘करोडौँ लगानी भइसक्यो । देखिएका चुनौती हटाउन सबै पक्ष तयार भएर लागेका छाैं ।’ यसअघि पनि बसपार्क सञ्चालनका लागि विभिन्न समयमा गरिएको प्रयास असफल भएकाले अब त्यस्तो हुन नदिने नगरप्रमुख श्रेष्ठले विश्वास दिलाए । बसपार्क सञ्चालनमा अएसगैँ अबदेखि नुवाकोटको विदुर नगरक्षेत्रमा त्रिशूली बसपार्क र बट्टार बसपार्कमा मात्रै टिकट काउन्टर राखिएको छ । रसुवा जाने यात्रुको हकमा मात्र ढुङ्गेमा सम्पर्क केन्द्र स्थापना गरिने भएको छ । यसअघि बजार क्षेत्रको त्रिशूली, ढुङ्गे, बट्टार, विदुर, पिपलटारलगायतका स्थानमा टिकट काउन्टर राखेर अव्यवस्थित बनेको सार्वजनिक यातायातका सेवा व्यवस्थित र सवारी दुर्घटना न्यूनीकरण गर्न समेत सहयोग पुग्ने विश्वास गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रमुख गुणनिधि खकुरेलले बताए । बसपार्क सञ्चालनका क्रममा उत्पन्न समस्या समाधानका लागि नगरप्रमुख श्रेष्ठसहित उपप्रमुख प्रभा बोगटी, वडा नं १ का अध्यक्ष लेनिन रञ्जित, २ का अध्यक्ष दीपक कायस्थ, ४ का अध्यक्ष नीलमबाबु ढुङ्गेललगायतका जनप्रतिनिधि र कर्मचारीले दैनिकरूपमा अनुगमन तथा निरीक्षण गरेर प्रतिवेदन तयार गर्ने भनिएको छ । भौतिक पूर्वाधार पर्याप्त विसं २०६४ देखि निर्माण सुरु भएको बसपार्कको सञ्चालनपूर्व नै आवश्यक भौतिक पूर्वाधारले पूर्ण बनाइएको छ । विदुर नगरपालिकामार्फत बसपार्कका लागि आवश्यक टर्मिनलसहितको भवन निर्माण, पानी, शौचालय, विद्युत्, विद्युतीय सवारीसाधन चार्जिङ स्टेशन (निर्माणको अन्तिम चरणमा) टेलिफोन, इन्टरनेट, नेपाल प्रहरीको चौकी स्थापनासहित नगर प्रहरीबाट सुरक्षा प्रबन्ध मिलाइएको नगर उपप्रमुख बोगटीले जानकारी दिए । बजार क्षेत्रमा चढाउने र ओराल्ने मात्र करोडौँ रुपैयाँ लगानीमा निर्माण गरेर बसपार्क अलपत्र हुनुमा मूल सडकबाट दुई सय मिटर र बजार क्षेत्रबाट एक किलोमिटरभित्र पर्ने भएकाले यातायात समिति र स्थानीय व्यवसायीलाई बाधकका रूपमा लिइन्थ्यो । तर निरन्तरको छलफलपछि उनीहरूकै सहयोगमा बसपार्क सञ्चालनमा आएको उद्योग वाणिज्य सङ्घका अध्यक्ष ताराबहादुर कार्कीले बताए । अबदेखि यातायात व्यवसायीले सार्वजनिक यातायातका साधन बसपार्कभित्र लैजानुपर्ने र त्यहाँ १५ मिनेट रोक्नुपर्ने, बजार क्षेत्रमा रहेका टिकट काउन्टर सबै बसपार्कभित्रै राख्नुपर्ने, बसपार्कभन्दा बाहिर यात्रुलाई चढाउने र ओराल्ने सुविधा मात्र उपलब्ध हुने (यात्रुलाई कुरेर बस्न नपाइने) भनेर गरिएका निर्णयको पूर्ण पालना हुनेछ । नगर क्षेत्रका बजारमा यही असोज ११ गतेदेखि सार्वजनिक यातायातका साधन जथाभावी पार्किङ गर्न तथा बजार पसल एवं ठेलागाडामा व्यापार गर्न प्रतिबन्ध लगाइएको छ । उक्त व्यवस्थालाई पनि अब थप कडाइ गरिने भएको छ । विदुर नपा–४ स्थित बट्टारमा निर्माण गरिएको बसपार्क विसंं २०६४ मा ७७ लाख लगानीमा तयार गरिएको थियो । त्यसपछि हरेक वर्ष आवश्यक पूर्वाधार थप गर्दै एक करोड ५० लाखभन्दा बढी लगानी त्यसपछिका वर्षमा खर्चिएको पाइन्छ । करोडौँ रुपैयाँ पर्ने जग्गा अधिकांश दाताबाट निःशुल्क र केही मुआब्जा (खरिद)बाट प्राप्त गरेको बसपार्कको भूगोल ३६ रोपनीमा फैलिएको छ । रासस

पाँच मन्त्री पद मुक्त, जसपाका चार मन्त्री बर्खास्त

काठमाडौं । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले पाँच जना मन्त्रीलाई पद मुक्त गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा)का चार मन्त्रीलाई बर्खास्त गरेका छन् भने सांसद नभएकाले एक जनाको पद संविधान अनुसार गुमेको छ । जसपाले नेकपा एमालेसँग चुनावी गठबन्धन गरेपछि देउवाले मन्त्रीहरु राजेन्द्र श्रेष्ठ, मोहम्मद इस्तियाक राई, प्रदीप यादव र मृगेन्द्रकुमार सिंहलाई हटाएका हुन् । श्रेष्ठ संघीय मामिला तथा सामान्य प्रसाशन मन्त्री थिए । यादव कृषि तथा पशुपन्क्षी विकास मन्त्री थिए । राई भौतिक पूर्वाधार तथा यातायात मन्त्री थिए भने प्रदिप यादव वन तथा वातावरण मन्त्री थिए । संसद सदस्य नरहेका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द्र प्रसाद कोइरालाले ६ महिनाभित्र सांसद पद नपाएपछि स्वतः पद गुमाएका हुन् ।

तिहारमा मात्रै माटाको पाला बेचेर ५ लाखसम्म कमाउँछन् भक्तपुरका कुमाले

भक्तपुर । नेपालीहरूको दोस्रो महान् तिहार नजिकिएसँगै भक्तपुरमा माटोका भाडा बनाउँदै आएका कुमाले समुदायलाई पाला बनाउन भ्याइनभ्याइ भएको छ । यस वर्ष माग धेरै भएकाले विशेष गरी प्रजापति समुदायलाई फुर्सद नभएको हो । यहाँ आकर्षक माटोको भाडा बनाउने बोलाछेंँ र तालाक्वको पोर्टरी स्क्वायर तथा मध्यपुरथिमिका नगदेश, बोडे, चपाचो, पाँचोलगायतका स्थानका प्रजापति समुदायका पूरै परिवार यतिखेर तिहारका लागि आवश्यक पाला बनाउने, सुकाउने र रङ भर्ने कामबाट एकछिन फुर्सद छैन । ‘तिहार आइसक्यो माटोको पाला, भिउँट, धुपौरोको थुप्रै माग आएको छ, तिहार सामान जसरी पनि दिनुपर्छ । अहिले भ्याइनभ्याइ छ’, वर्षौँदेखि माटोका भाँडा बनाउँदै आएका स्थानीय तालाको पोर्टरी स्क्वायरका ३८ वर्षका विनोदकुमार प्रजापतिले भने । वर्षभरिमा राम्रो आम्दानी गर्ने समय नै यही हो भन्दै उनले यो मौकालाई गुम्न नदिन स–परिवार बिहानैदेखि रात नपरेसम्म काममै व्यस्त हुने गरेको सुनाए । माटोका भाँडा बनाउने आधुनिक मेसिनमा एकछिन हात खाली नराखी पाला बनाउन व्यस्त उनले यस वर्ष ४० हजार पाला बनाएर बिक्री गर्ने लक्ष्य लिएको जानकारी दिए । उनले पाला पूजामा प्रयोग हुने धुपौरो, घैँटो बनाउन व्यस्त उनले यस वर्ष साना र ठूला दुवै प्रकारका पालाको माग बढेकाले मागअनुसारको उत्पादन गर्न निकै गाह्रो भएको बताए । माटोका भाँडा बनाउँदै आएका पोटरी स्क्वायरका करिब ४० घर परिवार प्रजापति समुदायको यतिखेर एकछिन हात खाली छैन, कोही माटोका भाँडा बनाइरहेका, कोही सुकाइरहेका, कोही आधुनिक भट्टीमा भाँडा पोखिरहेका त कोही झिक्दै बाकसमा प्याक गर्दै माग आएका ठाउँमा सामान पु¥याउन जान भ्याइनभ्याइ भएको देखिन्छ । पोटरी स्क्वायरकै दयाराम प्रजापतिको एकछिन हात खाली छैन । बाजेबराजुका पालादेखि माटोका भाँडा बनाउँदै आएको उनको परिवारमा यो जिम्मेवारी अहिले दयारामले सम्हाल्दै आएका छन् । उनले भने, ‘यस वर्ष पालाको माग धेरै छ, तिहार नजिक आइसक्यो, मागअनुसारको पाला उत्पादन गर्नुपर्छ भ्याउनै मुस्किल छ ।’ यहाँ उत्पादन भएका पाला यतिखेर भक्तपुर, काठमाडौंं, ललितपुर, काभ्रे, बनेपा, पनौती, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, पोखरा, नारायणगढ, वीरगञ्जबाट समेत माग भएकाले पठाउने गरेको उनको भनाइ छ । उनले भने, ‘माटो र काठको निकै अभाव छ, सरकारले इलेक्ट्रिक चुलोको व्यवस्था गरिदिए सहज हुन्थ्यो, माटोको अभाव छ । भक्तपुरमा माटो पाउन छाडेको आठ वर्ष भइसक्यो । साँखुबाट व्यापारीले माटो ल्याउने गर्छन्, त्यो पनि मागअनुसार आउँदैन, माटोको अभावले पेशा नै सङ्कटमा पर्ने अवस्था आएको छ ।’ भक्तपुरमा मात्र नभई पालाको माग बाहिर जिल्लादेखि अन्तर्राष्ट्रिय बजारमा समेत बढेकाले कुमाले समुदायलाई पाला बनाउन यतिखेर भ्याइनभ्याइ भएको मध्यपुरथिमिका रुजेन प्रजापतिले बताए । विगतमा भक्तपुरका कुमालेले बाहिर जिल्लामै गएर माटोका भाँडा बनाउने गर्ने जनाइएको छ । कतिपय विभिन्न जिल्लामा बसोबास गरेका कुमालेले स्थानीयस्तरमै भाँडा बनाउने गरे पनि अहिले यो परम्परा लोपोन्मुख अवस्थामा पुगेको छ । भक्तपुरमा यसको माग बढेको पुर्खौँदेखि कुमाले पेशामा लाग्दै आएका बलराम प्रजापतिले सुनाए । काठमाडौं उपत्यकादेखि उपत्यका बाहिरसम्मबाट लाखाैं पालालगायतका सामग्रीको माग आएपछि सो समुदायलाई भ्याइनभ्याइ भएको हो । अहिले भक्तपुर र थिमिका प्रजापतिले माटोका पाला, खुत्रुके, अम्बरा, धुपौरो, गमला, सुराई, कलिन्चाजस्ता सामानको माग बढेकाले यस्ता सामान बनाउन व्यस्त रहेका छन् । थोरै भाँडा बनाउनेले पनि तिहारमा एक लाखभन्दा बढी आम्दानी गर्ने गरेको र बाहिरबाट आएको माग लिएर भाँडा बनाउनेले तिहारमा मात्र पाँच लाखसम्म आम्दानी गर्ने जनाइएको छ । रासस

परिवारसँग सामूहिक रुपमा खाना खाँदा तनाव कम हुने

एजेन्सी । सधैं खुसी र स्वस्थ रहनका लागि डिनर थेरापीको प्रचलन अमेरिकालगायत धेरै देशहरूमा तीव्र गतिमा बढेको छ। यसलाई पारिवारिक तनाव कम गर्ने गोप्य सूत्र पनि भनिएको छ । वास्तवमा अमेरिकन हार्ट एसोसिएसनका अनुसार ९१ प्रतिशत आमाबाबुले परिवारसँग खाना खाँदा तनाव कम हुन्छ भन्ने विश्वास गर्छन्। ८४ प्रतिशत मानिसहरू आफ्नो प्रियजनसँग खान चाहन्छन् वेकफिल्ड रिसर्चले हेल्दी फर गुड मुभमेन्ट अन्तर्गत १,००० अमेरिकी वयस्कहरूको सर्वेक्षण गरेको थियो। यसले पत्ता लगायो कि ८४ प्रतिशत मानिसहरू आफ्नो प्रियजनसँग सकेसम्म धेरै खान चाहन्छन् । किनकि औसत वयस्कले लगभग आधा समय एक्लै खान्छ। ३ मध्ये २ जनाले आफू केही हदसम्म तनावग्रस्त र २७ प्रतिशतले अत्यधिक तनावमा रहेको बताए । अरूसँग खानाले तनाव कम हुन्छ अनुसन्धानकर्ताहरूका अनुसार लगातार तनावले हृदयाघात र स्ट्रोकको जोखिम बढाउँछ। अमेरिकन हार्ट एसोसिएसनका प्रोफेसर एरिन मिकोस जोन्स हप्किन्सको कार्डियोलोजी विभागका सहयोगी निर्देशक भन्छिन् कि अरूसँग खानाले तनाव कम गर्न मद्दत गर्दछ। आत्मसम्मान बढ्छ। यो सामाजिक अन्तरक्रिया सुधार गर्न को लागी एक राम्रो तरिका हो । विशेष गरी बच्चाहरु को लागी। यसले साथीहरू, परिवार, सहकर्मीहरू र छिमेकीहरूसँग सम्बन्धको महत्त्व देखाउँछ। एकै समयमा आधा भन्दा बढी ५४ प्रतिशत मानिसहरूले विश्वास गर्छन् कि सँगै खानाले उनीहरूलाई कामको क्रममा ब्रेक लिएको अनुभुती गराउँछ । भिडियो कल मार्फत सँगै खाना १० मध्ये ६ जना मानिसहरूले अरू मानिसहरूसँग खाना खाँदा स्वास्थ्यका लागि राम्रो खानेकुरा खाने कुरामा विश्वास गर्छन्। यदि तपाइँ व्यक्तिगत रूपमा सँगै हुन सक्नुहुन्न भने तपाइँ तनाव कम गर्न भिडियो कल गर्दै सँगै खाना खान सकिन्छ ।

प्रत्यक्षतर्फको मतपत्र छपाई सुरु, ४९५ प्रकारका हुने

काठमाडौं । निर्वाचन आयोगले प्रत्यक्ष तर्फको मतपत्र छपाई प्रक्रिया आजबाट सुरु गरेको छ । निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आयोगले प्रत्यक्ष तर्फको मतपत्र छपाई प्रक्रिया बिहीबारबाट सुरु गरेको बताए । आयोगले यस प्रणालीअन्तर्गत प्रत्येक निर्वाचन क्षेत्रका छुट्टाछुट्टै हुने गरी ४ सय ९५ प्रकारका मतपत्र हुने जनाएको छ । मतपत्र छपाई जनक शिक्षा सामग्री केन्द्रले गरिरहेको छ ।