काठमाडौं । सरकारले आगामी मंसिर ४ गतेका लागि प्रदेश र प्रतिनिधिसभाको निर्वाचन तोकेको छ । निर्वाचनका लागि विभिन्न राजनीति दल र स्वतन्त्र उम्मेदवारहरु चुनावी मैदानमा छन् । उम्मेदवारहरु घरदैलो कार्यक्रममा भोटसँगै सर्वसाधारणबाट आर्थिक सहयोग पनि माग्न थालेका छन् । भोटसँगै नोट माग्नेमा स्वतन्त्र उम्मेदवार अगाडि देखिएका छन् ।
अहिले अधिकांश उम्मेदवारहरुले सामाजिक सञ्जालमार्फत् भोटसँगै आर्थिक सहयोगको अपील गरिरहेका हुन् । सत्ता गठबन्धनको साथ पाएकी माओवादी केन्द्रकी उम्मेदवार मानुषी यमी भट्टराईलगायत दर्जनौं उम्मेदवारहरुले अहिले सर्वसाधारणसँग आर्थिक सहयोग माग गरिरहेका छन् ।
पूर्व अर्थमन्त्री र प्रधानमन्त्री भइसकेका बाबुराम भट्टराईकी छोरी समेत रहेकी मानुषीले गत विहीबार आर्थिक सहयोगको अपिल सहित एउटा सन्देश पोष्ट गरिन् । उनले आफूलाई आर्थिक सहयोग गर्न आग्रह गर्दै बैंक खाता र क्यूआर कोड विवरण सार्वजनिक गरेकी थिइन् ।
‘लोकतन्त्र र विधिको शासनलाई ठीक तरिकाबाट कार्यान्वयन गर्नु, तीव्र गतिमा अर्थतन्त्रको विकास र न्यायोचित वितरण साथै विकास र समृद्धिको यात्रालाई फराकिलो बनाएर आम नागरिकलाई प्रत्यक्ष लाभ दिलाउनु नै मेरो उद्देश्य हो, संविधानले प्रदत्त गरेको ‘शिक्षा, स्वास्थ्य र रोजगार मौलिक अधिकार’ लाई नै हामीले कार्यान्वयनमा लैजान सकेका छैनौं, यस्ता यावत् विषयका लागि थुप्रै कानुनहरु निर्माण गर्नु र निरन्तर पहलकदमी गर्नुपर्नेछ, मेरो ऊर्जावान समय देश र समाजका लागि केही सकारात्मक भूमिकामा प्रयोग गर्नका लागि त्यस स्थानसम्म पुर्याउन यहाँहरूको सबै प्रकारको सहयोगको जरुरत छ,’ उनले सामाजिक सञ्जालमार्फत् आर्थिक सहयोगको अपील गर्दै लेखेकी छन् ।
उनले थपेकी छन्, ‘हाम्रो विद्यमान निर्वाचन प्रणाली अत्यन्त खर्चिलो छ, सदनमा हामी यसको विषय उठान गर्ने नै छौं, निर्वाचनमा लाग्ने आधारभूत खर्चका लागि आर्थिक सहयोगको अपेक्षा सहित हाम्रो अभियानमा यहाँको पनि प्रत्यक्ष सहभागिताको लागि अनुरोध गर्दछु ।’
उनी काठमाडौं क्षेत्र नम्बर ७ बाट प्रतिनिधिसभाको उम्मेदवार बनेकी छिन् । यस्तै, आर्थिक साहयता माग्ने उनी मात्रै होइनन् दर्जनौं उम्मेदवारले आर्थिक साहयता माग गरेका छन् । काठमाडौं क्षेत्र नम्बर एकबाट उम्मेदवारी दिएका राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रविन्द्र मिश्रले पनि सबैबाट नैतिक र आर्थिक सहयोग अपील गरे । उनले आफुलाई सहयोग गर्न चाहनले सचिवालमा सम्पर्क गरेर सहयोग गर्न सक्ने बताएका छन् ।
यस्तै, प्रधानमन्त्री शेर बहादुर देउवासँग स्वतन्त्रबाट चुनाव लड्न लागेका सागर ढकालले पनि सर्वसाधारणसँग आर्थिक सहयोग मागेका छन् । उनले गुपचुप पैसा लिनुभन्दा खुला रूपमा जनतामा जाने निर्णय गरेको भन्दै सामाजिक सञ्जालमार्फत् आर्थिक सहयोग माग गरेका हुन् । उनले चुनावी प्रचारप्रसारको लागि आर्थिक सहयोगको आवश्यक रहेको हुनाले इसेवा, खल्ती वा बैंक खातामा पैसा जम्मा गर्नका लागि ढकालले सार्वजनिक अपील गरेका हुन् ।
‘देश र विदेशमा रहनुभएका आदरणीय आमाबुवा, दाजुभाइ तथा दिदी बहिनीहरू, यहाँहरूलाई अवगत नै छ कि म आगामी मंसिर ४ मा हुन गइरहेको प्रतिनिधिसभाको निर्वाचनमा डडेलधुराबाट उम्मेदवारी दिँदै छु, यसरी म चुनावी मैदानमा होमिँदा धेरै जना मलाई आर्थिक सहयोग गर्नका लागि इच्छुक हुनुहुन्छ, हामीलाई चुनावी प्रचार प्रसारको लागि आर्थिक सहयोगको आवश्यक रहेको हुनाले इच्छुक महानुभावहरूले निम्न बमोजिमका सर्तहरू सहित आर्थिक सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु,’ उनले लेखेका छन् ।
चुनावी खर्चलाई सकेसम्म कम गर्ने र यातायातका लागि मोटरसाइकलको मात्र प्रयोग गर्ने उनले उल्लेख गरेका छन् । साधारण शाकाहारी खाना खाने, भड्किलो प्रचार प्रसार नगर्ने पनि उनले उल्लेख गरेका छन् ।
यस्तै, विवेकशील साझा पार्टीबाट काठमाडौं क्षेत्र नम्बर ९ मा उम्मेद्वार बनेका मिलन पाण्डेले पनि आर्थिक सहयोगको माग गरेका छन् । उनले सामाजिक सञ्जालबाट आर्थिक सहयोगको अपीले गर्दै लेखेका छन्,‘ काठमाडौँ निर्वाचन क्षेत्र नं. ९ मा एउटा प्रतिनिधिसभाको उम्मेदवारले २७ लाख खर्च गर्न पाउँछ, तर अनौपचारिक रूपमा हाम्रा नेताहरूले भने अनुसार उहाँहरू कम्तीमा पनि ३÷४ करोड खर्च गरेर चुनाव जित्नुहुन्छ, त्यो पैसा कहाँबाट आयो ?, यही प्रश्न मलाई सोध्दा–मेरो आयस्रोत दुई वटा छ। पहिलो, म पार्ट टाइम पढाउँछु, दोस्रो, म स्तम्भकार हुँ, त्यहाँबाट पनि अलिकति आम्दानी हुन्छ, जसो–तसो परिवारको सहयोगमा घर चलेको छ ।’
उनले थपेका छन्,‘मैले अघिल्लो निर्वाचनमा पनि साथी–भाई शुभेच्छुकको सहयोगमा निर्वाचन लडेको हो, यसपालि पनि साथीभाइ र तपाईहरुकै सहयोग लिन्छु, कुनै माफियाबाट चन्दा लिएर चुनाव लड्दिन,। अघिल्लो चोटिझैँ, निर्वाचन सकिने बित्तिकै निर्वाचन आयोगमा सम्पूर्ण खर्च बुझाउने छु र म त्यो विवरण सामाजिक सञ्जालमा पनि राख्नेछु, मलाई सक्दो आर्थिक सहयोग गरिदिनुस् न है, ताकी मैले निर्वाचन जित्दै गर्दै ’कालो मन र कालो धन’ पनि हारोस् ।’
यस्ता दर्जनौं उम्मेदवारले आर्थिक सहयोग मागेका छन् । काठमाण्डौं–५ की स्वतन्त्र उम्मेद्वार रञ्जु दर्शनाले पनि आर्थिक सहयोग माग गरेकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं–८ का उम्मेद्वार विराजभक्त श्रेष्ठले पनि आर्थिक सहयोग मागेका छन् ।
विवेकशील साझाबाट काठमाडौं–२ का उम्मेदवार धनेज थापाले पनि सहयोगको अपिल गरेका छन् । काठमाडौं ५(क) बाट प्रदेशसभाका स्वतन्त्र उम्मेदवार सस्मित पोख्रेलले आर्थिक सहायताको अपिल गरेका छन् ।
निर्वाचन नजिकिएसँगै विभिन्न राजनीतिक दलहरुले उद्योगी, व्यवसायी तथा विभिन्न संघ संस्थाबाट चन्दा उठाउने गरेको पनि सुनिन्छ । राजनीतिक दलका उम्मेदवारले चुनावमा करोडौं खर्च गर्ने विषय पनि विभिन्न समयमा बाहिरिने गरेको छ ।