नेपाल ल्यूब आयलले ३० प्रतिशत लाभांश दिने, सेयरधनी मालामाल
काठमाडौं । नेपाल ल्यूब आयलले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई ३० प्रतिशत लाभांश दिनै भएको छ । कम्पनीको ३१ औं वार्षिक साधारणसभाले सेयरधनीलाई २५ प्रतिशत वोनस सेयर र ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो । सभामा अध्यक्ष अरुण कुमार चौधरी तथा संचालक समिति, कम्पनी सचिव, लेखा परिक्षक, व्यवस्थापक समूह र अन्य सेयरधनीहरुको उपस्थिति रहेको थियो । कम्पनीका अध्यक्ष अरुण कुमार चौधरीले नेपाल ल्युब आयलले अघिल्लो वर्ष जस्तै यस कठिन आर्थिक अवस्थामा पनि निरन्तर वृद्धि कायम राखेको बताए । ‘व्यवस्थापन र अन्य टोली सदस्यहरू यस कम्पनीको विकासको लागि राम्रोसँग प्रतिबद्ध छन्, शेयरधनीहरूले देखाएको विश्वासलाई हामी कहिल्यै निराश गर्नेछैनौं,’ उनले भने । नेपाल ल्युब आयलले गल्फ आयल इन्टरनेसनलको प्रत्यक्ष निगरानीमा नेपालमै गल्फ लुब्रिकेन्ट उत्पादन गर्नुका साथै बिक्रीरवितरण समेत गर्दछ । गल्फ अन्तर्राष्ट्रिय लुब्रिकेन्ट ब्राण्ड हो र यसको ब्राण्डिङ्ग साझेदारीमा म्याकल्यारेन रेसिङ्ग कार र चेन्नई सूपर किङ्ग रहेका छन् ।
बाढीपिडित भन्छन् : यो वर्षको दशैं दशा बनेर गयो
देउखुरी । लमही नगरपालिका–८ सतबरीयाका दुखीराम चौधरी शनिबार दिउँसो मलिन अनुहार लगाएर बाढीले बगाउन नसकेका घरपर रहेका सामान हेर्दै थिए । फुसले बारेर माटोले लिपेको चिसा भित्ता छाम्दै बाढीले बगाउन नसकेको सिरक, गद्दा अनि केही थान कपडा सङ्कलन गरिरहेको देख्दा त्यहाँ पुग्ने जोसुकैलाई पनि भावुक बनाउथ्यो । उनलाई पीडा कति छ भन्ने कुरा उनका आँखाबाट प्रष्ट देख्न सकिन्थ्यो । घरभित्र रहेको कागजपत्र सबै पानीले फिजेको छ । घर छेउकोे धान खेत सबै बगर बनेको छ । दशैंको अघिल्लो दिनदेखि लगातार पाँच दिनसम्म परेको वर्षाले उहाँको घरमा भएका सम्पूर्ण सामान भिजेका हुन् । ‘यो वर्षको दसैँ दशा बनेर आयो, विजोग बनायो, बाढी एकाएक आयो, घरमा भएका केही पनि बचाउने सकिएन, सबै बगाएर लग्यो’, उनले भने, ‘जिउमा लगाएका कपडा र केही थान भिजेका कपडा, सिरक डसनाबाहेक केही छैन ।’ बाढीले घरका दक्षिण र पूर्वको भित्ता भत्किएको छ । बचेका भित्ता धुजाधुजा पारेको छ । लमही–७ हसनापुरका जयप्रकाश चौधरीको घरमा बाढी पस्दा ठूलो क्षति भएको छ । राप्ती नदीबाट आएको भेल र नजिकै बनाइएको बाँध फुटेर आएको बाढीले घर भत्काउनुका साथै खेतबारीमा लगाइएको अन्नबालीमा क्षति गरेको छ । घरमा खाने अन्न केही छैन, जीवनमा पहिलोपटक यस्तो घटना भएको बताए । उनले अहिलेसम्म पनि भत्किएको घरबाट सामान निकाल्ने आँट गर्न सकेका छैनन् । गढवा गाउँपालिका–२ महदेवाका रामलाल चौधरीले घरमा भएको अन्न लत्ताकपडा मात्रै नभई गोठमा बाँधिएका चौपाया समेत बगाएर लगेको बताए । उनको गोठ रित्तै छ । घरभित्रको सामान सबै भिज्यो, घर भित्र–बाहिर सबै ठाउँ पानी पानी भयो । छोराछोरीका किताब, विद्यालय पोसाक सबै पानीले बगायो । राजपुर गाउँपालिका–६ गङ्गदीकी रामकली चौधरीले पनि आफ्नो कच्ची घरमा बाढी पसेपछि केही बचाउन नसकेको बताए । धानले भरिएको डेहरी माटोको भकारी फुटेर धान बगाइदियो, धान कुटेको चामल पनि पानीमा डुब्यो । खानेकुरा केही नबचेपछि अहिले विद्यालयमा आएर पालिकाको शरण लिएको बताए । वर्षाका कारण आएको बाढीले देउखुरीका चार पालिकामा ठूलोमात्रामा भौतिक क्षति गरेको छ । नागरिक समाजको स्थलगत अनुगमन बाढीका कारण भएको क्षतिबारे स्थलगत रुपमा पीडितका आवाज सुन्न र यथार्थ बस्तुस्थितिको जानकारी लिन समाजका जिल्ला संयोजक केबी मसालको नेतृत्वमा देउखुरीका चारवटै पालिकामा पुगेको छ । टोलीले ठूलो मात्रामा भौतिक क्षति व्यहोरेको निष्कर्ष निकालेको हो । समाजका अनुसार देउखुरीमा मात्रै १० हजारभन्दा बढी नागरिक प्रभावित हुनुका साथै अर्र्बौंको क्षति भएको हुनसक्ने अनुमान गरिएको छ । वर्षाका कारण घर र खेतबारीमा बाढी पस्दा क्षति भएको छ दिन बितिसक्दा पनि स्थानीय पालिकाले अहिलेसम्म पीडितको लगत सङ्कलन गर्न नसकेको हुँदा उद्धारपछिको राहत सहयोगमा पनि ढिलाइ भएको नागरिक समाजले जनाएको छ । जिल्लाको लमही नगरपालिका, राप्ती, राजपुर र गढवा गाउँपालिकाका विभिन्न वडामा स्थलगत जानकारी लिनुका साथै पालिका स्तरबाट भइरहेको पछिल्लो प्रयासका बारेमा पनि समाजले चासो लिएको थियो । स्थानीय पालिका भन्छन्, तथ्याङ्क सङ्कलन गर्दैछौं लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले तथ्याङ्क सङ्कलनको काम भइरहेको बताउनुभयो । प्रारम्भिक तथ्याङ्कमा दुई सय ६५ पूर्णरुपमा भत्किएका छन् । “पाकेर काट्न ठिक्क परेको धान डुवानमा परेको छ । दशैँ मानेर खेती स्याहार्ने तयारीमा रहेका किसानलाई बाढीले दुःखी बनाएको छ । सबै तथ्याङ्क सङ्कलन हुँदैछ”, उनले भने । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले बाढी प्रभावित गाउँ कालापानी, पहरुवा, लठ्वा, सिङे, मझेरिया, भगवानपुर बगरापुरलगायतका दर्जनभन्दा बढी गाउँमा बाढी पसेको बताए । आफैँ पीडितको घरमा पुगेर राहतस्वरुप खाद्यान्न उपलब्ध गराइरहेको बताए । धेरै ठाउँमा क्षति भएकाले सङ्कलन गर्न समस्या भएको बताए । किसानको मुख्य स्रोत अन्नबालीमा क्षति पुगेकाले तत्कालका लागि खाद्यान्न वितरण गरे पनि दीर्घकालीन राहतका लागि तथ्याङ्क सङ्कलन गरिरहेको अध्यक्ष विष्टले बताए । राप्ती गाउँपालिकामा एक सय २० घर पूर्णरुपमा क्षति भएको छ । तथ्याङ्क सङ्कलनको कार्य जारी रहेकाले यो सङ्ख्या बढ्न सक्ने उनले बताए । राजपुर गाउँपालिकाका अध्यक्ष शरद बुढाथोकीले पालिका स्तरमा लगत सङ्कलनको काम भइरहेको बताए । उनले केही सामाजिक सङ्घसंस्थाको पहलमा अति आवश्यक भएकाहरुलाई केही सहयोग गर्नुबाहेक थप सहयोग गर्न नसकेको हुँदा माथिल्लो तहबाट सहयोगको अपेक्षा गरे । तत्काल खाने बस्ने व्यवस्था पालिकाले मिलाई गङ्गदी र जङ्ग्रहवा स्कुलमा बाढी पीडितलाई बसालिएको बताए । राजपुरमा तीन सय २५ घर पूर्णरुपमा भत्किएको प्रारम्भिक तथ्याङ्क रहेको अध्यक्ष बुढाथोकीले जानकारी दिए । उनले उद्धारपछिको राहत वितरण गर्ने स्रोतको समस्या भएको बताए । गढवा गाउँपालिका अध्यक्ष यमनारायण पोख्रेलले वडा नम्बर २ र ५ का बासिन्दा बाढीबाट सबैभन्दा बढी प्रभावित भएको बताए । सो पालिकाका दुई सय ५४ घर पूर्ण रुपमा क्षेति भएको हा । सो वडाका नागरिकको बस्ने खाने समस्या भएपछि तत्कालका लागि सामूहिक मेस चलाएको अध्यक्ष पोख्रेलले बताए । लोखरपुरुवाका ९५ जना, महदेवा र डाँडागाउँमा दुई सय जनालाई मेस चलाएर खाने व्यवस्था मिलाएको उनले बताए । बाढीका कारण प्रावि महदेवा र नमूना प्रावि पचहियाको भौतिक संरचना पूर्णरुपमा क्षति भएकाले पठनपाठन कसरी सञ्चालन गर्ने भन्ने समस्या थपिएको बताए । पालिकाका सबै वडामा कति घरपरिवार प्रभावित भएका छन् भन्नेबारे यकीन विवरण सङ्कलन भई नसकेको उनले बताए । प्रारम्भिक तथ्याङ्कमा छ सय ६० डुबानमा परेका र ८० घर भत्किएका छन् । तथ्याङ्क सङ्कलन गर्दै जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख खिलत गिरीले जिल्लाको राजपुर गाउँपालिकामा सबैभन्दा धेरै भौतिक क्षति हुँदा परिवार विस्थापित भएको बताए । लमही नगरपालिकामा दुई सय ६५, राजपुरमा तीन सय २५, गढवा गाउँपालिकामा दुई सय ५४, राप्ती गाउँपालिकामा एक सय २० घर पूर्णरुपमा क्षति भएको छ । देउखुरीको चार पालिकाको लमही नगरपालिका, राप्ती गाउँपालिका, राजपुर गाउँपालिका र गढवा गाउँपालिकामा मात्रै नौ सय ६४ घर पूर्ण रुपमा क्षति हुँदा त्यहाँ बस्दै आएका चार हजार बढी परिवारका सदस्य विस्थापित भएको जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्र दाङले जनाएको छ । कृषि शाखाले लगत लिने काम गरेका छन् : ज्ञान केन्द्र पाकेर काट्न ठिक्क परेको धान डुबानमा पर्दा धानबाली नष्ट भएको छ तर कति क्षति भयो भन्ने विवरण अझै आइनपुगेको कृषि ज्ञान केन्द्र दाङका तथ्यांक अधिकृत पृथ्वीराज लामिछानेले बताए । उनले देउखुरी क्षेत्रमा बढी क्षति भएको जानकारी दिए । ‘देउखुरीका किसानले लगाएको धान बाली अलिबढी क्षति भएको अनुमान गरिएको छ’, उनले भने, ‘देउखुरीका चार पालिकासँग समन्वय भइरहेको छ तर कति क्षति भयो भन्ने यकीन विवरण प्राप्त भएको छैन ।’ दाङ जिल्लामा धान रोप्ने जमिन ३९ हजार चार सय हेक्टर क्षेत्रफल रहेकामा देउखुरीमा १२ हजार पाँच सय २८ र दाङ क्षेत्रमा २६ हजार आठ सय ७२ हेक्टर क्षेत्रफल छ । यसमा देउखुरीका सबै क्षेत्रफलमा धान रोपिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । यो वर्ष समयमा वर्षा नभएका कारण जिल्लाभर सात प्रतिशत अर्थात् ३४ हजार दुई सय सात हेक्टरमा धान रोपाइँ भएको उनले बताए । रासस
‘तिहारको सिजनमा हरेक दिन १० हजार कुचो बजारमा पठाउँछाैं’
काठमाडाैं । तिहार नजिकिएसँगै कुचोको माग र व्यापार बढेको छ । लक्ष्मीपूजाको दिन नयाँ कुचोको पूजा हुने र भाई टीकाको दिन पनि कुचोमा राखेर ओखर फुटाउने प्रचलनका कारण तिहारमा व्यवसायीहरुलाई कुचो उत्पादन गर्न भ्याइनभ्याइ भएको हो । कुचोको माग बढेसँगै व्यवसायीहरुलाई कुचो बनाउन भ्याइनभ्याइ भएको छ । नेपालमा मात्रै नभइ भारतमा पनि कुचोको माग बढेको काठमाडौंको सुकेधारास्थित गोरखनाथ कुचो सप्लायर्सका सञ्चालक रामप्रसाद बलाखेले बताए । उनले नेपालमा कुचोको काम गर्न थालेको ६ वर्ष भएको र त्यसअघि भारतमा पनि कुचो व्यवसाय गरेको बताए । उनले आफूले उत्पादन गरेका कुचोहरु नेपालमाभन्दा धेरै भारतमा पठाउने गरेको बताए । यस वर्ष भने देशकै आर्थिक अवस्था कमजोर भएकाले नेपालमा कुचोको माग धेरै नरहेको बताए । उनले देशको आर्थिक मन्दीका कारण यस वर्ष गत वर्षको तुलनामा आधा पनि व्यापार नहुने अवस्था रहेको बताए । उनकाे अनुसार बजारमा कुचोको मूल्य १५० देखि २०० रुपैयाँसम्म पर्ने गर्दछ । त्यस्तै, गोरखनाथ कुचो सप्लायर्सका बजार व्यवस्थापक सुदीप श्रेष्ठले भने तिहार लागेसँगै बजारमा कुचोको माग अत्याधिक बढेको बताए । उनकाे अनुसार नेपाली बजारमा तिहारका लागि काठमाडौं उपत्यका बाहेकका अन्य जिल्लाहरुबाट पनि माग आएको र गत सालको भन्दा धेरै माग बढेको छ । उनले अहिले तिहारको सिजनमा हरेक दिन १० हजार कुचो बजारमा पठाइरहेको बताए । ‘बजारमा अहिले नर्मल कुचोको मूल्य नै ८० रुपैयाँदेखि २०० रुपैयाँसम्म छ । तिहारका लागि धेरै माग बढेको छ । काठमाडौंमा मात्रै नभइ अन्य जिल्लामा पनि धेरै माग छ । पोहोरको भन्दा धेरै माग छ । अहिले तिहारको सिजनमा हरेक दिन १० हजार कुचा पठाइरहेका छौँ,’ उनले भने । तिहार नजिकिएसँगै डोको, डालो र कुचोको पूजा गर्नका लागि यो समयमा कुचो खपत अरू समयभन्दा धेरै हुने गर्छ ।
एनआईसी एशिया क्यापिटलको तीन फण्डको लाभांश घोषणा
काठमाडौं । एनआईसी एशिया क्यापिटलले संञ्चालन गरिरहेको तीन सामुहिक लगानी कोष योजनाहरुको लाभांश घोषणा भएको छ । क्यापिटल अन्तर्गत संचालित एनआईसी एशिया ग्रोथ फण्ड, एनआईसी एशिया व्यालेन्सड् फण्ड र एनआईसी एशिया डाइनामिक डेप्ट फण्डको लाभांश घोषणा भएको हो । समितिको असोज २८ गते बसेको बैठकले आर्थिक वर्ष २०७८/७९ का लागि यि तीन फण्डको घोषणा गरेको हो । एनआईसी एशिया ग्रोथ फण्ड र एनआईसी एशिया व्यालेन्सड् फण्डले करसहित १३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेका छन् भने एनआईसी एशिया डाइनामिक डेप्ट फण्डले करसहित ९ प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय गरेको छ । लाभांश प्रयोजनको लागि तीनै फण्डले कार्तिक १५ गते एक दिनको लागि बुक क्लोज गर्ने जनाएको छ । त्यसअनुसार कार्तिक १४ गतेसम्म कायम इकाईधनीले मात्रै उक्त लाभांश पाउनेछन् ।
चुनावी नारामै सीमित जीर्ण दोबिल्ला पुल
कुश्मा । देश चुनावमय बनेको छ । राजनीतिक दलका उम्मेदवार आआफना नारा बोकेर गाउँ छिरेका छन् । मतदातामा चुनावलाई लिएर खासै उत्साह देखिँदैन । विगतमा उम्मेदवारहरुले दिएका वाचा चुनाव जितेपछि सम्झन छाडेकोमा मतदातामा असन्तुष्टि छ । ‘नेताहरुलाई अप्ठयारो लाग्दैन रहेछ’, फलेवासका सन्तोष भुसालले भने, ‘पर्वतको दक्षिण जोडने महत्वपूर्ण दोबिल्ला मोटरेबल पुल जीर्ण छ, मर्मत सम्भार गर्न नेतालाई धेरै पटक भनियो तर उनीहरुबाट कुनै सुनुवाइ नै हुनसकेन ।’ मोदी खोलामा बनेको दोबिल्ला मोटरेबल पुलले कुश्मा र फलेवास नगरपालिकासँगै बिहादी, पैयूँ र माहाशिला गाउँपालिकालाई जोड्ने काम गरेको छ । पुल बन्नु पहिले यहाँका स्थानीयवासी अन्यत्र जिल्ला स्याङ्जा र कास्की भएर सदरमुकाम कुश्मा आइपुग्नुपर्ने बाध्यता थियो । ‘तत्कालीन समयमा पर्वतको ५५ गाविसमध्ये ३४ दक्षिण भेगमा पथ्र्यो’, रानीपानीका हरि न्यौपानेले भने, ‘कुश्मा पुग्न दुई दिनको बाटो, त्यो पनि अर्को जिल्ला भएर जानुपर्ने हुन्थ्यो, पछि दोबिल्लामा गाडी गुड्ने पुल र सडकको सहज पहुँच पनि बढ्यो ।’ नेपालमै नमूना सस्पेण्डेड मोडलमा निर्माण गरिएको यस पुलको भारवहन क्षमता १५ टन हो । तर डोजर, लोडर, बालुवा, गिट्टी बोक्ने टिपर लगायतका सवारीसाधन गुड्ने हुँदा पुल जोखिमपूर्ण बन्दै गएको स्थानीयवासीको गुनासो छ । ‘पुलका नटबोल्ट खुस्किएका छन् । पुलमा रहेका पाता उप्किएका, भासिएका र ठाउँठाउँमा खिया लागेको छ’, स्थानीय गौरब जिसीले भने, ‘केही समयअघि पुलमा विछ्याइएको फलामका पाताले धान्न नसक्दा टिपर दुर्घटनामा परेको थियो । धेरै पटक फलेवास र कुश्मा नगरपालिकामा मर्मत गर्न आग्रह ग¥र्यौ, तर, सुन्ने कसले ?’ केही महिनाअघि गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले पुलको स्थलगत अवलोकन गरेका थिए । उनले त्यति नै बेला पुल मर्मत सम्भारका लागि आवश्यक रकम उपलब्ध गराउने समेत बताएका थिए । तर, प्रदेशको बजेटमा दोबिल्ला पुलको कुरा कतै उल्लेख गरिएन । जनप्रतिनिधि चुनिएर पनि गए । पुलमा भेटिएका जिप चालक रामबहादुर नेपालीले भने, ‘कसैले यसप्रति चासो देखाएनन, कति खेर पुल भत्केर खोलामा झरिने हो, ठेगान छैन ।’ जोखिमपूर्ण अवस्थामा रहेको पुल मर्मतमा तीनवटै सरकारले बेवास्ता गरेपछि अमृत जोशी स्मृति प्रतिष्ठान नेपालले दुई महिनाअघि सामान्य मर्मत गर्ने काम गरेको थियो । ‘हामीले सम्बन्धित निकायलाई दबाब दिन हप्ता दिन पुलका पुराना पाता फर्नेदेखि भाँचिएका फलामलाई जोडने काम ग¥यौँ, त्यसमा हाम्रो पाँच लाख रुपैयाँ खर्च भएको छ’, प्रतिष्ठानका सचिव माधव पौडेलले भने, ‘पुलको सामान्य मर्मत भन्दा पनि संरचना नै नयाँ बनउनुपर्ने देखिन्छ ।’ कुश्मा र फलेवास नगरपालिकाबीच यस दोबिल्ला पुलमा कसले लगानी गर्ने भन्नेमा विवाद देखिन्छ । खोलावारी कुश्मा र पारी फलेवास नगरपालिका छ । ‘दुई नगरपालिकाले एक अर्काको मुख ताक्ने परिपाटी देखाए’, कांग्रेसका युवा नेता ठाकुर रसाइलीले भने, ‘पुलको स्वामित्व र जिम्मेवारी दुबै पालिका मिलेर लिनुपर्ने हुन्छ ।’ कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमानसिंह गुरुङ र फलेवास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेलले पुल मर्मतका लागि नगरपालिकाले कुनै पनि बजेट नछुट्याइएको स्वीकार गरे । दुबै जनाले जीर्ण दोबिल्ला पुल मर्मत गर्न गण्डकी प्रदेश सरकारलाई पत्र पठाउनेदेखि छलफल चलाउने काम भइरहेको बताए । रासस
भायानेटले पार गर्यो सञ्चालनको २३ वर्ष
काठमाडाैं । इन्टरनेट र टिभी सेवा प्रदायक भायानेट कम्युनिकेसन्सले आफ्नो सञ्चालनको २३ वर्ष पूरा गरेको छ । भायानेट डिजिटल सेवाहरू मार्फत ग्राहकहरूकोलाई सेवा दिने उद्देश्यका साथ सन् १९९९ मा स्थापित भएको थियो । यो अवधिमा कम्पनी ब्रोडब्यान्ड इन्टरनेट र आईपिटिभी सेवाहरूमा एउटा स्थापित कम्पनी भएको छ । सन् २०११ मा भायानेट नेपालमै पहिलोपटक फाइबर अप्टिक्स टेक्नोलोजीको सुरुवात गर्ने कम्पनी बनेकाे थियाे । सन् २०१६ मा भायानेटले आईपीटीभी सेवा सुरु गरेकाे थियाे । भायानेटले आफ्नो अल्ट्रा(फाई इन्टरनेट लाइनअपहरू मार्फत बजारमा उपलब्ध इन्टरनेटका सबै भन्दा राम्रो विकल्पको रुपमा लाखौं ग्राहकलाई सेवा दिँदै आईरहेको छ। भायानेटको उत्पादन भाया टिभीले सस्तो दरमा १७५ टिभि च्यानलहरू उपलब्ध गराउँदै आएको छ । कम्पनीले भर्खरै भायाटिभी ई भाया टिभी २.ण मा अपग्रेड गरी अलग-अलग दर्शक प्रोफाइलहरू, पिक्चर-इन-पिक्चर मोड, पे-पर-भिउ लगायतका आधुनिक फिचरहरू लिएर आएको छ ।
कैलाली बाढीः ‘किन खेती लगाइएछ जस्तै लागेको छ’
टीकापुर । लगातार दुईपटक आएको बाढीले यहाँका चार पालिकामा कृषितर्फ क्षति भएको छ । कैलालीको टीकापुर, भजनी नगरपालिका, जानकी र जोशीपुर गाउँपालिकामा बाढीले धानबाली, तरकारी खेती र पशुपालक किसानलाई क्षति गरेको छ । बाढीले सबैभन्दा बढी धानबालीमा क्षति पु¥याएको छ । बाढीले टीकापुरमा २० प्रतिशत धानबालीमा नोक्सान पु¥याएको छ । असोज १ गते र त्यसपछि लगातारको वर्षापछि २३ गते आएको बाढीले टीकापुरमा पाकेको धानबाली र फुल्न थालेको धानबालीमा क्षति पु¥याएको कृषि शाखा प्रमुख मोतिसिंह विकले जानकारी दिए । उनले कृषितर्फ बाढीले पु¥याएको क्षतिको तथ्याङ्क लिने काम भइरहेको बताए । ‘हरेक वडामा वडघरको सहयोगमा टोलटोलमा पुगेर तथ्याङ्क लिने काम भइरहेको छ’, उनले भने, ‘वडा नं ५, ६, ७, ८ र ९ मा धानबालीमा बढी क्षति भएको छ । कतिपय किसानको बाली खेतमै गलेको छ ।’ पालिकाभरिको कुरा गर्दा २० प्रतिशत बढी बालीमा क्षति भएको छ । डुबान भएका क्षेत्रमा पानी जमेर धानबाली गलेर नोक्सान भएको उनको भनाइ छ । टीकापुर–५ का किसान सुधा चौधरीको १० कठ्ठा जमिनमा लगाएको धानबाली सबै नोक्सान भएको छ । ‘धान पाकेर काट्न तयार भएको थियो, एक सातासम्म खेत पानीले जलमग्न भयो, पानी सुक्नेबेला खेत हेर्न जाँदा धानको एक बोट पनि टाढो थिएन, सबै धान मल भइसकेको थियो’, उनले भने, ‘ पानीसँगै हावा चलेकाले धानबाली ढल्यो, त्यसपछि एक सातासम्म खेत जलमग्न भएपछि बाली रहने कुरै भएन ।’ टीकापुर–८ का राहुल साउदको पनि धानबालीमा क्षति भएको छ । कर्णाली नदीको भङ्गालो बस्तीमा पसेपछि उनको धानबाली लगाएको खेत बालुवाले भरिएको छ । ‘गत वर्ष काटेको धान बाढीले बगायो, यस वर्ष सबै खेतमै सकियो’, उनी भन्छन्, ‘अब के खाने होला ? हामीले दुई वर्षसम्म खेतको बाली देख्न पाउने भएनौँ । किन खेती लगाइएछ जस्तै लागेको छ ।’ बाढीले भजनी नगरपालिकामा कृषितर्र्फ ठूलो क्षति भएको छ । भजनीमा कृषिजन्य उत्पादनमा ९० प्रतिशत क्षति भएको छ भने ७० प्रतिशत धानबालीमा क्षति भएको पालिकाले जनाएको छ । ‘समग्रमा ९० प्रतिशतमाथि क्षति भएको छ । धानबालीका कुरा गर्दा कोही–कोही किसानको उच्च जमिनमा रहेको बाली बचेको देखिन्छ’, कृषि शाखा प्रमुख हरिलाल रेग्मी भन्छन्, ‘बाढीले लगातार दुई वर्ष किसानले उत्पादन लिन पाएनन्, भजनीमा जस्तो बिचल्ली कतै भएको छैन । हामी तथ्याङक ‘इन्ट्री’ गर्ने काम गरिरहेका छौँ । त्यसपछि क्षति यकिन विवरण भन्न सकिन्छ ।’ कृषि शाखा प्रमुख रेग्मी भजनीमा माछापालक ४० किसानका सबै क्षति भएको बताउँछन् । ‘पशुपालनमा क्षति भएको छ । कुखुरा, बङ्गुरपालनमा समेत त्यस्तै क्षति छ’ उनले भने, ‘धानबाली कसै–कसैको मात्र बचेको छ । बचेको बालीमा समेत बाला छैन, अघिल्लो पटकको बाढीले फूल झारेकाले बाला छैन ।’ भजनी–८ का धनलाल चौधरीको धानबाली सबै नोक्सान भएको छ । घरमा बाढी पसेपछि हुलाकी सडक भागेका धनलाल असोज २६ गते घर फर्कँदा उहाँको न त घर बचेको थियो, न त खेतको धानबाली । ‘घरका सबै भित्ता भत्केका, अन्न राखेका माटाका डेहरी भकारी भत्किएर अन्न बगिसकेका, केही सडेका थिए’, उनले गुनासो गरे, ‘खेततिर हेर्दा बाली सबै ढलेर नोक्सान । धानबाली ढलेर धानबालीमाथि हिलो थुपारिएको छ । एक दाना पनि धान देख्न पाइएन ।’ यस्तो समस्या यहाँका अधिकांश किसानको छ । कतिपयले बचेका धानका बाला काट्न थालेका छन् तर जताततै जलमग्न भएकाले सुकाउने ठाउँ छैन । ‘अधिकांशको बाली खेतमै सकियो, कतिपय बचेका किसान बाला टिप्न थालेका छन्’, स्थानीय जयप्रसाद ढुङ्गानाले भने, ‘बाला टिपेकाहरू सडकमा, विद्यालयमा, उच्च स्थानमा लगेर सुकाउन थालेका छन् । यस क्षेत्रका किसानसँग अब धानको बीउ पनि रहने देखिएन । अर्को वर्ष किसानलाई बीउ पनि खोजाखोज गर्नुपर्ने अवस्था आउँछ ।’ जानकी र जोशीपुर गाउँपालिकामा पनि बाढीले धानबालीमा क्षति भएको छ । जानकीमा वडास्तरमा तथ्याङ्क लिने काम भइरहेको पालिकाले जनाएको छ । जोशीपुरमा पनि तथ्याङ्क सङ्कलनको काम भइरहेको पालिकाले जानकारी दिएको छ । किसान स्थानीय सरकारले राहतमा खाद्यान्नसँगै हिउँदे खेतीका लागि बीउ, मल, खेती गर्न आवश्यक खर्चमा सघाइदिनुपर्ने माग गर्छन् । उनीहरूले हिउँदे खेती गर्न पाएमा किसान बाँच्ने बताउँछन् । ‘धान बेचेर हिउँदे खेतीको जोहो गर्ने हामी अब कसरी हिउँदे बाली लगाउनु’, स्थानीय रमेश विकले भने, ‘हिउँदे बालीका लागि राखिएको बीउ पनि रहेन, किसानलाई जस्तो पीडा कसैलाई छैन ।’ रासस
तोलाको १ हजार रुपैयाँले घट्यो सुनको मूल्य
काठमाडौं । आइतबार सुनको मूल्य तोलाको १ हजार रुपैयाँले घटेको छ । हिजो तोलाको ९४ हजार १०० रुपैयाँ कारोबार भएको छापावाल सुनको मूल्य आज घटेर तोलाको ९३ हजार १०० रुपैयाँ कायम भएको छ । यस्तै तेजबी सुनको मू्य पनि घटेर तोलाको ९२ हजार ६०० रुपैयाँमा कायम भएको छ । हिजो तेजाबी सुन तोलाको ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । नेपाली सुनचाँदी व्यवसायी महासंघको अनुसार चाँदीको मूल्य भने घटेर तोलाको १ हजार १६० रुपैयाँ कायम भएको छ ।