अर्घाखाँचीले पनि सुरु गर्यो सिमेन्ट निर्यात, २६५ रुपैयाँका दरले पठायो २ हजार बोरा
काठमार्डौं । अर्घाखाँची सिमेन्टले पनि भारतमा सिमेन्ट निर्यात सुरु गरेको छ । पहिलो चरणमा पाल्पा सिमेन्ट इन्डस्ट्रिजले नेपाली सिमेन्ट भारत निर्यात गरेकोमा दोस्रोमा अर्घाखाँची सिमेन्टले सिमेन्ट निर्यात गरेको हो । गत असारमा पाल्पा सिमेन्टले ‘तानसेन’ ब्रान्डको सिमेन्ट भारततर्फ निकासी गरेको थियो । कम्पनीले पहिलो दिनमा नै तीन ट्रक सिमेन्ट निर्यात गरेको थियो । यस पटक अर्घाखाँची सिमेन्टले २ हजार बोरा सिमेन्ट भारत निर्यात गरेको हो । कम्पनीले आज (सोमबार) २ दुई ट्रकमा सिमेन्ट निर्यात गरेको जनाएको छ । कम्पनीले भारतको युपी सहरमा सिमेन्ट निर्यात गरेको जनाएको छ । कम्पनीले प्रतिबोरा २ सय ६५ रुपैयाँका दरले सिमेन्ट निर्यात गरेको बताएको छ । अर्घाखाँची सिमेन्टले यसलाई ठूलो उपलब्धिको रुपमा लिएको छ । गुणस्तरीय सँगै निर्यातलाई निरन्तरता दिनका लागि आफु प्रतिबद्ध भएको कम्पनीले जनाएको छ । कम्पनीले सोमबार एक कार्यक्रमको आयोजना गर्दै सिमेन्ट निर्यात सुरु गरेको हो । कार्यक्रममा बोल्दै कम्पनीका सञ्चालक पशुपति मुरारकाले आफ्नो एउटा सपना पुरा भएको बताएका छन् । उनले अझै सिमेन्ट निर्यातलाई नियमित बनाउनका लागि अनवरत रुपमा लाग्ने बताएका छन् । सरकारले सिमेन्ट, स्टील लगायत सामान निर्यातमा ८ प्रतिशत अनुदान र वार्षिक १० करोड बढीको विद्युत खपत गर्ने उद्योगलाई २ देखि १५ प्रतिशतसम्म महसुलमा छुट दिने घोषणा गरेको थियो । चालु आर्थिक वर्षको बजेटमार्फत् सो व्यवस्था गरेको थियो । त्यसका लागि कार्यविधि पनि बनिसकेको छ । सिमेन्ट उत्पादक संघको तथ्यांक अनुसार नेपालमा ५० भन्दा धेरै सिमेन्ट उद्योग सञ्चालनमा छन । तीमध्ये करिब १५ वटाले सिमेन्ट र क्लिंकर दुवै उत्पादन गर्दै आएका छन । यी सिमेन्ट उद्योगको वार्षिक उत्पादन क्षमता झण्डै २ करोड २० लाख टन जति रहेको अनुमान छ । उत्पादनको मात्रा हालको आन्तरिक मागभन्दा बढी जस्तो छ । सरकारले २०७२ को भूकम्पपछि पुनर्निर्माणका कामलाई तीव्रता दिँदा पछिल्ला केही वर्षमा सिमेन्ट उद्योगले तीव्र व्यापार गरे जस्तो थियो । विगत सात वर्षमा भूकम्पबाट क्षति भएका पाँच लाखभन्दा बढी निजी घर र हजारौं विद्यालय भवन, सम्पदा स्थल, स्वास्थ्य चौकी र अन्य संरचनाको पुनर्निर्माण गरिएको छ । निर्यात र विद्युत महसुलमा छुट पाउने भएपछि उद्योगीहरु उत्साहित भएका छन् । सरकारको उक्त छुटसँगै पाल्पा र अर्घाखाँची सिमेन्टपछि जगदम्बा, सर्वोत्तम र सौर्य लगायत सिमेन्ट उद्योग पनि निर्यातको तयारीमा छन् ।
बैंकहरुले कर्जा ठप्प पारेर निक्षेप बढाए, सीडी रेसियो घट्यो
काठमाडौं । बैंकहरुले कर्जा प्रवाह ठप्प पारेर निक्षेप बढाएका छन् । बैंकहरुले लगानीयोग्य रकम नभएको भन्दै कर्जा प्रवाह रोकेका थिए । जसले गर्दा बैंकहरुको निक्षेप बढेको छ । वाणिज्य बैंकहरुमा एक साताको अवधिमा ८ अर्ब रुपैयाँ निक्षेप बढेको छ । गत असोज २१ गते ४५ खर्ब ११ अर्ब रुपैयाँ निक्षेप रहेकोमा ८ अर्ब रुपैयाँ बढेर असोज २८ गतेसम्म ४५ खर्ब १९ अर्ब रुपैयाँ पुगेको छ । असोज महिना भरिमा बैंकहरुमा २८ अर्ब रुपैयाँ निक्षेप भित्रिएको छ । गत भदौ मसान्तसम्ममा बैंकहरुको निक्षेप ४४ खर्ब ८६ अर्ब रुपैयाँ रहेको थियो । यस्तै, एक साताको अवधिमा बैंकहरुले १ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । असोज २१ गतेसम्म ४१ खर्ब ९३ अर्ब कर्जा प्रवाह गरेका बैंकहरुले ६२ करोड बढाएर ४१ खर्ब ९३ अर्ब ६२ करोड रुपैयाँ प्रवाह गरेका छन् । असोज महिनाभरिमा भने ३ अर्ब रुपैयाँ मात्रै कर्जा प्रवाह गरेका छन् । यसअघि भदौ मसान्तसम्ममा बैंकहरुको कर्जा ४१ खर्ब ९० अर्ब रुपैयाँ रहेको थियो । नेपाल बैंकर्स संघका अनुसार सीडी रेसियो ८६.९६ प्रतिशत रहेको छ ।
तिहार नजिकिएसँगै भक्तपुरका पुष्प व्यवसायीलाई सयपत्री फूल टिप्ने चटारो
भादगाउँ । तिहार नजिकिएसँगै भक्तपुरका पुष्प व्यवसायीलाई फूल टिप्ने चटारो परेको छ । नजिकिँदै आएको तिहारका लागि सयपत्री, गोदावरी र मखमली फूल टिप्ने तथा माला उनेर बाहिरी जिल्लामा पठाउन चटारो परेको हो । तिहार फूलको पर्व हो । भाइटीकामा मखमली फूलको माला अनिवार्य छ भने नेवार समुदायमा लक्ष्मीपूजा, म्हपूजाका लागि सयपत्री, गोदावरी अनिवार्य चाहिन्छ । लक्ष्मी पूजाको दिन घरको मूलढोका सजाउन होस या पसल, कार्यालय, व्यावसायिकस्थल सिंगार्न तिहारमा सयपत्री फूलको माग उच्च हुने गर्दछ । मागअनुसार समयमै फूल पठाउनुपर्ने भएकाले अहिलेदेखि नै कामदार राखेर फूल टिप्ने गरेको भक्तपुरको चाँगुनारायण नगरपालिका–८ वागेश्वरीमा व्यावसायिकरुपमा पुष्पखेती गर्दै आएका युशव मताङ्गीले बताए । उनले भने, ‘गएको वर्षमा भन्दा यसपाली फूलको माग बढी छ, तिहार आउन हप्ता दिनमात्र बाँकी छ, मागअनुसार बजारमा फुल पठाउन सकेको छैन, यसपाली बेमौसमी वर्षाले फूलखेतीमा धेरै क्षति पुगेको छ, त्यही भएर उत्पादन भएका फूलहरु समयमै टिपेर माला उनेर काठमाडौं पठाएको हो ।’ तिहारमा लक्ष्मी पूजाको दिन दिपावली गर्न घरको दैलो, झ्याल ढोका, कौशी, बरण्डालगायतका स्थानमा सयपत्री फूलको मालाले सजाएर दियो बाली झिलीमिली पार्ने परम्परा रहेको छ । तिहारमा नेवार समुदायले धनकी देवी लक्ष्मीको पूजा गर्दा लक्ष्मीलाई घरमा भित्र्याउन पालाको दियो राख्ने स्थानमा सयपत्री फूल, मखमली, गोदावरीलगायत पञ्चरङ्गीन फूलको टुक्रा, ताय, जुङ्गेधान र अबिर आसन राखेपछि मात्र दियो बाल्ने परम्परा रहेको छ । भक्तपुरको गुण्डु र ताथलीलाई मखमली, सयपत्री, गोदावरीलगायतका फूलको गाउँ भनिए पनि पछिल्लो समय भक्तपुरका चारै नगरपालिकामा व्यावसायिकरुपमा पुष्प व्यवसाय गर्नेको सङ्ख्यामा वृद्धि भएको छ । केही वर्ष पहिला तिहारका लागि भक्तपुरको बजारमा गुण्डु र ताथलीबाट मात्र फूल बेच्नका लागि आउँथे । अहिले यी दुई ठाउँका मात्र सीमित नभएर चारै नपाका विभिन्न ठाउँबाट बजारमा फूल बेच्ने व्यवसायीले बजार ओगटेको अर्को व्यवसायी श्रीमाया वनमाला बताउँछिन् । पुख्र्यौली पेशा नै फूल व्यवसाय गर्दै आएका वनमालाले पछिल्लो समय तिहारमा आधुनिक फूलको मालाभन्दा सयपत्री फूलको मालाकै माग बढी रहेको बताइन् । तिहारमा प्लाष्टिक र कपडाका रङ्गीचङ्गी फूलभन्दा किसानले उत्पादन गरेका सयपत्री र गोदावरी फूलको प्रयोग अत्यधिक हुने भएकाले माग झन झन बढ्दै गएको वनामाला बताउँछन् । ‘विभिन्न आधुनिक प्लाष्टिक र कपडाका रङ्गीन फूलभन्दा हामीले उत्पादन गरेका फूल चोखो, पवित्र र सुन्दर हुनुका साथै सुकेपछि यसलाई बीउकारुपमा पुनःप्रयोग गरी फूलको बोट उत्पादन गर्न मिल्ने भएकाले यसले बजार लिएको हो’, वनमालाले भनिन् । भक्तपुरका पुष्प व्यवसायीले अहिले तिहारका लागि मात्र नभएर विभिन्न भोजभतेर, सेमिनार, पुष्पगुच्छा र विवाहमा गाडी सजाउन मिल्ने बाह्रमहिना उत्पादन हुने जातका सयपत्री, गोदावरी, जरवेरा र कार्नेश फूलखेती गरेको देखिन्छ । भक्तपुरमा उत्पादन गरिएका फूल यहाँका बजारमा मात्र सीमित नभएर काठमाडौंका थोक व्यापारीलाई बिक्री गर्ने र त्यहीँबाट सहरका विभिन्न स्थानमा बिक्रीका लागि जाने गरेको छ । त्यसैगरी यहाँ उत्पादन गरेका अधिकांस सयपत्री फूल पशुपतिमा पठाउने व्यवसायी बताउँछन् । रासस
प्रदेशका ५ जना अर्थमन्त्री चुनावी मैदानमा, यस्तो छ चुनावी जोड-घटाउ
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा प्रदेशको अर्थमन्त्रालय हाँकिरहेका ५ जना मन्त्रीहरु चुनावी मैदानमा उत्रिएका छन् । प्रदेशसभा सदस्य तर्फको निर्वाचनमा ४ जना र प्रतिनिधिसभा सदस्य तर्फको निर्वाचनमा १ जना चुनावी मैदानमा छन् । कर्णाली प्रदेशकी अर्थमन्त्री कृष्ण शाह आचार्य र लुम्बिनी प्रदेशका अर्थमन्त्री कृष्णध्वज खड्काले भने कुनै पनि तहको चुनावका लागि टिकट प्राप्त गर्न सकेनन् । बाँकी मैदानमा उत्रिएका प्रदेशका अर्थमन्त्रीहरुमध्ये क–कसले बाजी मार्लान ? इन्द्रबहादुर आङ्बो ‘मौसम’ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का पोलिटब्युरो सदस्य तथा प्रदेश नम्बर १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो मौसमले पाँचथर जिल्लाको प्रदेश ख बाट प्रदेश सभा सदस्यका लागि चुनावी मैदानमा उत्रिएका छन् । आङ्बोले ०७४ सालमा भएको निर्वाचनमा सोही क्षेत्रबाट १६ हजार ९ सय ८ मत प्राप्त गरेर बिजयी भएका थिए भने निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेशका उम्मेदवार शुरेन्द्रकुमार दहालले १२ हजार १ सय १७ मत हासिल गरेका थिए । ०७४ सालमा भएको निर्वाचनमा आङ्बो तत्कालिन बामगठबन्धनको तर्फबाट उम्मेदवार बनेका थिए भने आगामी मंसिरमा हुने निर्वाचनमा सत्तारुढ गठबन्धनको तर्फबाट उम्मेदवार बनेका छन् । यसपटक आङ्बोको प्रतिस्पर्धा नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा पाँचथरका सहइन्चार्ज अइन्द्रसुन्दर नेम्वाङबीच हुने भएको छ । पाँचथरको प्रदेश सभा क्षेत्र नम्बर ‘ख’ मा फिदिम नगरपालिकाको वडा नम्बर ५, ६ र ९, फाल्गुनन्द, कुम्मायक, तुम्बेवा र मिक्लाजुङ गाउँपालिका पर्दछन् । गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा पाँचथरको प्रदेश ‘ख’ मा पर्ने फिदिम नगरपालिकाको वडा नम्बर ५ र ९ मा नेपाली कांग्रेसले विजय हासिल गरेको छ भने वडा नम्बर ६ मा स्वतन्त्रले बिजय हासिल गरेको छ । त्यस्तै, सोही प्रदेश क्षेत्र अन्तर्गत पर्ने ५ वटा वडा रहेको कुम्मायक गाउँपालिकाको प्रमुख पदमा नेपाली कांग्रेशले बिजयी हासिल गरेको छ भने वडा ३ वटा वडामा एमाले र बाँकी २ वटा वडामा नेकपा(एस) र जनता समाजवादीले १/१ ठाउँमा विजय हासिल गरेका छन् । तुम्वेवा गाउँपालिकाको प्रमुख सहित ३ वटा वडा नेपाली कांग्रेसले विजय हासिल गरेको छ भने १/१ वडामा एमाले र माओवादीले विजय हासिल गरेका छन् । सोही प्रदेश निर्वाचन क्षेत्रमा पर्ने मिक्लाजुङ गाउँपालिकाको प्रमुख सहित ४ वटा वडामा माओवादीले विजय हासिल गरेको छ भने २ वडामा कांग्रेस, १ वडामा एमाले र १ वडामा स्वतन्त्रले विजय हासिल गरेका छन् । गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा सो क्षेत्रमा पर्ने पालिकाहरु अन्तर्गत वडास्तरमा भएको बिजयलाई आधार मान्दा सत्ता गठबन्धनको बहुमत देखिन्छ । तर, मत व्यक्तिगत आकर्षणमा पनि विभाजित भएको प्रवृत्तिलाई हेर्दा सत्ता गठबन्धनका साझा उम्मेदवार बनेका आङ्बो र नेम्वाङबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ । प्रतिनिधिसभाको एकमात्र निर्वाचन क्षेत्र रहेको सो जिल्लाबाट प्रतिनिधिसभा सदस्यको लागि भने एमालेका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री बसन्तकुमार नेम्बाङ र नेपाली कांग्रेसबाट सहमहामन्त्री भिष्मराज आङदेम्बेबीच एकमात्र निर्वाचन क्षेत्र रहेको पाँचथर जिल्लामा भिडन्त हुने भएको हो । कांग्रेस, नेकपा एस, माओेवादी केन्द्रको तर्फबाट आङदेम्बे र एमालेका तर्फबाट नेम्बाङ चुनावी मैदानमा उत्रिएका छन् । शैलेन्द्र प्रसाद साह मधेस प्रदेशका अर्थमन्त्री शैलेन्द्र प्रसाद साह सप्तरी निर्वाचन क्षेत्र नम्बर २ ‘क’ बाट प्रदेश सभा सदस्यको लागि उम्मेदवार बनेका छन् । ०७४ सालमा भएको निर्वाचनमा सोही क्षेत्रबाट उनले १० हजार ५ सय ७७ मत ल्याएर विजय भएका थिए भने उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका सरोजकुमार मण्डलले ७ हजार ५ सय ९३ मत प्राप्त गरेका थिए । आगामी मंसिरमा हुने प्रदेशसभाको निर्वाचनमा पनि साहले पुरानै प्रतिस्पर्धी तर हाल लोसपाबाट उम्मेदवार बनेका सरोजकुमार मण्डल र जनमत पार्टीका उम्मेद्वार शतिसकुमार सिंहसँग प्रतिस्पर्धा गर्दैछन् । सप्तरी निर्वाचन क्षेत्र नम्बर २ प्रदेश ‘क’ क्षेत्रमा तिलाठी कोइलाडी गाउँपालिका र छिन्नमस्ता गाउँपालिका पर्छन् । गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा तिलाठी कोईलाडी गाउँपालिकाको प्रमुख सहित १ वटा वडामा नेपाली कांग्रेसले विजयी हासिल गरेको छ । त्यस्तै, जसपाले ४, जनमत पार्टीले १, माओवादीले १ र लोसपाले १ वडामा विजय हासिल गरेका छन् । सोही प्रदेश निर्वाचन क्षेत्रभित्र पर्ने छिन्नमस्ता गाउँपालिकामा गाउँपालिकाको प्रमुखमा लोसपाले विजय हासिल गरेको छ भने एमाले २, माओवादी २, जसपा र जनमतले १/१ वडामा विजय हासिल गरेका थिए । गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनलाई आधार मान्दा मंसिरमा हुने त्रिपक्षीय चुनावी प्रतिस्पर्धामा एमाले जसपा गठबन्धन बलियो देखिन्छ । सत्ता गठबन्धनबाट समर्थन पाएका लोसपाका उम्मेदवार सरोजकुमार मण्डलको दोस्रो प्रतिस्पर्धा भएकाले चुनाव भने थप प्रतिस्पर्धात्मक हुने अनुमान गर्न सकिन्छ । शालिकराम जम्मरकट्टेल बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मरकट्टेल मंसिर ४ मा हुने प्रदेशसभाको निर्वाचनमा धादिङ जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ ‘ख’ बाट उम्मेदवारी दिएका छन् । ०७४ सालको निर्वाचनमा पनि जम्मरकट्टेलले सोही क्षेत्रबाट विजय हासिल गरेका थिए । ०७४ सालको निर्वाचनमा उनले २३ हजार ३ सय ८२ मत ल्याएर विजयी भएका थिए भने उनका निकटत प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रभात किरण सुवेदीले १० हजार ४ सय ७ मत प्राप्त गरेका थिए । अहिले जम्मरकट्टेलले एमालेका उम्मेदवार गजेन्द्र प्रसाद थपलियासँग मुख्य प्रतिस्पर्धा गर्दैछन् भने अन्य पार्टी र स्वतन्त्रहरुबाट पनि आधा दर्जन बढीको उम्मेदवारी रहेको छ । धादिङ को निर्वाचन क्षेत्र नम्बर १ ‘क’ मा गजुरी गाउँपालिका, बेनिघाट रोराङ गाउँपालिका र सिद्धलेक गाउँपालिका पर्छन् । गत वैशाखमा भएको निर्वाचनमा माओवादीले गजुरी गाउँपालिकाको प्रमुख सहित ५ वटा वडामा विजय हासिल गरेको छ भने कांग्रेसले ३ वटा वडामा विजय हासिल गरेको छ । सो पालिकामा एमालेले भने कुनै वडामा विजय हासिल गर्न सकेन । सोही प्रदेश निर्वाचन क्षेत्रमा पर्ने बेनीघाट रोराङ गाउँपालिकामा गत वैशाखमा भएको निर्वाचनमा माओवादीले प्रमुख सहित ६ वटा वडामा विजय हासिल गरेको थियो भने कांग्रेसले २ र एमालेले २ वडामा विजय हासिल गरेको छ । त्यस्तै सोही प्रदेशको निर्वाचन क्षेत्रमा पर्ने सिद्धलेक गाउँपालिकामा प्रमुख सहित नेपाली कांग्रेसले २, एमालेले ३ र माओवादीले २ वडामा विजय हासिल गरेको छ । गत वैशाखमा भएको स्थानीय निर्वाचनलाई आधार मान्दा अहिलेको सत्ता गठबन्धनको उम्मेदवार जम्मरकट्टेललाई सो प्रदेशसभा सदस्यको लागि सो निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गर्नका लागि सहज हुने देखिन्छ । रामजी प्रसाद बराल ‘जीवन’ गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बराल ‘जीवन’ ले आगामी मंसिरमा हुने प्रतिनिधिसभाको निर्वाचनमा कास्की निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यको लागि उम्मेदवार बनेका छन् । त्यस्तै सो निर्वाचन क्षेत्रमा एमालेको तर्फबाट दामोदर बैरागी प्रतिस्पर्धाको रुपमा रहेका छन् । बराल सत्ता गठबन्धनको तर्फबाट संयुक्त उम्मेदवार हुन् । सो निर्वाचन क्षेत्रमा ०७४ सालमा भएको प्रतिनिधिसभाको निर्वाचनमा बाम गठबन्धनको तर्फबाट एमाले उम्मेदवार जगत विश्वकर्माले ३२ हजार ६ सय ९० मत ल्याएर विजयी भएका थिए भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका शुक्रराज शर्माले २४ हजार ३ सय ४ मत प्राप्त गरेका थिए । सो निर्वाचन क्षेत्रमा अन्नपुर्ण गाउँपालिका, माछापुछ«े गाउँपालिका र पोखरा महानगरपालिकाका वडा नम्बर १, २,३, ५, ६, १८, १९, २२, २३, २४ र २५ नम्बर वडाहरु पर्छन । गत वैशाखमा भएको निर्वाचनमा अन्नपुर्ण गाउँपालिकाको प्रमुख सहित ६ वटा वडामा एमालेले विजय गरेको छ भने बाँकी वडामा कांगे्रसले विजय हासिल गरेको छ । सोही निर्वाचन क्षेत्रमा पर्ने माछापुच्छ्रे गाउँपालिकाको प्रमुख सहित नेपाली कांग्रेसले ७ वडामा विजय हासिल गरेको छ भने एमालेले १ र माओवादीले १ वडामा विजय गरेका छन् । त्यस्तै गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा कास्कीको निर्वाचन क्षेत्र नम्बर ३ मा पर्ने पोखरा महानगरपालिकाको ११ मध्ये ७ वटा वडामा कांग्रेसले विजय हासिल गरेको छ भने ३ वटा वडामा एमालेले र एक वडामा स्वतन्त्रले विजय हासिल गरेको छ । स्थानीय तहको निर्वाचनलाई आधार मान्दा सत्ता गठबन्धन र एमाले अवस्था प्रतिस्पर्धात्मक देखिन्छ । माओवादी पार्टीको तर्फबाट उम्मेदवार भएका बराललाई सो क्षेत्रमा आफ्नै पार्टीको आधार बलियो नभएको हुँदा निर्वाचनमा बिजय हासिल गर्न चुनौतीपूर्ण हुने देखिन्छ । प्रकाश रावल सुदुरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाश रावलले आगामी मंसिर ४ गते हुने निर्वाचनमा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ ‘क’ बाट उम्मेदवारी दिएका छन् । २०७४ मा भएको प्रदेश सभा सदस्य निर्वाचनमा पनि रावल सोही क्षेत्रबाट १२ हजार ८ सय १७ मत ल्याएर विजयी भएका थिए । त्यस्तै उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका यज्ञराज जोशीले १२ हजार ७ सय ५४ मत ल्याएका थिए । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ ‘क’ मा भिमदत्त नगरपालिकाको १ देखि १०, १७ र १९ नम्बर वडाहरु पर्छन् । त्यस्तै बेदकोट नगरपालिकाको वडा नम्बर ८ पर्छ ।गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा भिमदत्त नगरपालिकाको १ देखि १० मध्येका ९ र ७ बाहेकका वडाहरुमा कांग्रेसले विजय हासिल गरेको छ । त्यस्तै भिमदत्त नगरपालिकाको वडा नम्बर ८ मा पनि नेपाली कांग्रेसले विजय हासिल गरेको छ । देशैभरी चुनावी गठबन्धन गरेको नेकपा (एस)को कञ्चनपुरमा भने गठबन्धन हुन सकेको छैन । रावलको क्षेत्रमा काँग्रेस–माओवादी गठबन्धनका उम्मेदवार टेकेन्द्रप्रसाद भट्ट र एमाले–राप्रपाका उम्मेदवार धर्मराज जोशी उनको प्रतिस्पर्धीको रुपमा रहेका छन् । मन्त्री कायमै रहेका र विगतको राजनीतिक प्रभाव भएतापनि रावललाई अन्य चुनावी गठबन्धनसँग प्रतिस्पर्धा गर्न निकै कठिन हुने देखिन्छ । त्यस्तै आगामी मंसिरमा हुने निर्वाचनमा लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कृष्णध्वज खड्का र कर्णाली प्रदेशकी आर्थिक मामिला तथा योजना मन्त्री कृष्ण साह आचार्यले भने टिकट पाउन सकेनन् ।
लक्ष्मी ग्रुपले सार्वजनिक गर्याे बाेस ब्राण्डका होम अपलाइन्स, ग्राहकको मन जित्नेमा ढुक्क
काठमाडौं । लक्ष्मी समहूले विश्व प्रशिद्ध ब्राण्ड बाेस होम अपलाइन्स (घरायसी सामान) हरुको नेपालमा आधिकारिक रुपमा सार्वजनिक गरेको छ । आइतबार एक कार्यक्रमको आयोजना गरि जर्मन कम्पनी बाेसका घरायसी सामाग्रीहरु नेपालमा सार्वजनिक गरेको हो । नेपालका लागि जर्मनका राजदुत थोमस प्रिन्जको प्रमुख आथित्यमा नेपालमा बाेस कम्पनीले उत्पादन गरेका होम अपलाइन्स सार्वजनिक गरिएको हो । बाेस कम्पनीका उक्त ब्राण्डेड घरायसी सामानहरु लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी इलोक्ट्रोटेकलाई आधिकारिक रुपमा बिक्री वितरण गर्नेछ । लक्ष्मी समूहका अध्यक्ष गणेश बहादुर श्रेष्ठले लक्ष्मी समूहले विभिन्न क्षेत्रमा लगानी गर्दै आइरहेकोमा अबदेखि बाेसका ब्राण्डेड घरायसी सामानहरु पनि बिक्री गर्ने बताए । सन् १९७६ मा स्थापना भएको लक्ष्मी समूहको स्थापना पश्चात् व्यावसायिकतालाई निरन्तराता दिँदै आएको अध्यक्ष श्रेष्ठले बताए । हालसम्म समूहले प्याकेजिङ, डेरी, अटोमोबाइल, स्टिल लगायतको व्यवसाय गर्दै आइरहेको छ । उच्च स्तरका बाेस ब्राण्डको होम अपलाइन्समा पनि आफ्नो योगदान रहने उनको भनाइ छ । लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी इलोक्ट्रोटेकलले आधिकारिक रुपमा बाेसका सामाग्रीहरु बिक्री वितरण गर्ने उनले बताए । यस कम्पनीका होम अपलाइन्सहरु अत्याधुनिक प्रविधिका साथै विश्वसनिय र आकर्षित हुने गरेको उनले जानकारी गराए । बाेस कम्पनीले घरहरुमा आवश्यक पर्ने विश्वका एक नम्बर ब्राण्डेड सामाग्रीहरु उत्पादन गर्ने गरेको उनले बताए । बाेस कम्पनीका होम अपलाइन्सहरुमा रेफ्रिजेरेट (फ्रिज), वाटर ड्रायर, वास मेसिन लगायतका सामाग्रीहरु नेपाली बजारमा उपलब्ध गराएको छ । प्रमुख अतिथि राजदूत प्रिन्जले आफु सानै हुँदादेखि बस्चका सामग्रीहरु प्रयोग गरेको स्मरण गर्दै बाेसको सामग्री गुणस्तरमा स्तरीय भएको धारणा राखे । अब नेपालमा पनि यसले आफ्नो बजार बढाउनेमा दुइमत नभएको उनको भनाइ छ । ‘म सानै छँदा जर्मनमा बाेस ब्राण्डका सामन प्रयोग गर्थेँ, अहिले म नमर्नको राजदूतको रुपमा नेपालमा छु, अहिले आएर पुनः नेपालमै बसेर बाेस ब्राण्डका सामग्री प्रयोग गर्ने अवसर पाएको छु, यसमा म धेरै खुसी छु, यसले नेपाली बजारमा आफ्नो स्वामित्व बढाउनेमा म विश्वस्त छु,’ उनले कार्यक्रममा भने । यस्तै, बिएसएच हाउसहोल्ड अप्लायन्सका भारतका प्रमुख कार्यकारी अधिकृत निरज बाहालले नेपालमा बाेस ब्राण्डका सामानले ग्राहकको मन जित्नेमा आफु ढुक्क भएको धारणा राखे । उनले विश्वका अधिकांश देशहरुमा यो ब्राण्डले सफलता पाएको बताउँदै नेपालमा पनि सफल हुनेमा आफु विश्वस्त भएको उनको भनाइ छ । नेपालमा बाेसका उत्पादन भारतबाट आउने बताउँदै उनले नेपाल र भारतीय बजारमा धेरै विषयमा समानता भएको बताए । बिएसएच हाउसहोल्ड अप्लायन्सका भारतका बिजनेस हेड आशिस सशिधरणले पनि बस्च ब्राण्डले गुणस्तरमा कम्प्रमाइज नगर्ने धारणा राखे । उनले आफुहरुले नेपाली बजारमा यस ब्राण्डको विषयमा अध्ययन गरेर मात्रै बिक्री सुरु गरेको बताउँदै लक्ष्मी ग्रुपले पनि यसमा सफलता पाउने धारणा राखे ।
जयरानीको लक्ष्य अन्तर्राष्ट्रिय खेलमा देशलाई पदक दिलाउने
कास्की । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आइतबार पोखरा रङ्गशालामा एथलेटिक्स खेलको चार सय मिटर हडल्स दौड विधामा जयरानी थारुले स्वर्ण पदक जितिन् । नेपाली सेनामा आबद्ध उनले खेलमा निर्धारित दूरी एक मिनेट ०४।१३ सेकेण्डमा पूरा गरेर स्वर्ण पदक मात्र आफ्नो पोल्टामा पारिनन् तीन महिनाअघिको आफ्नो नाममा रहेको राष्ट्रिय कीर्तिमानसमेत सुधार गरिन् । थारुले गएको असारमा काठमाडौँमा सम्पन्न ४४ औँ राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा एक मिनेट ०७।०२ सेकेण्डमा सो विधामा आठ वर्षअघिको पुरानो कीर्तिमान तोडेर आफ्नो नाममा लेखाउन सफल भएकी थिइन् । जयरानी नवौँको प्रतिस्पर्धामा सहभागी हुन पोखरा आउनुअगावै कीर्तिमान सुधारको लक्ष्य राखेको बताए । आफ्नो विधामा खेलमा प्रतिस्पर्धा कम हुने भएकाले समेत उनले सुधार गर्ने लक्ष्य राखेको बताउँछन् । उनले भनिन्, ‘कीर्तिमान सुधार गर्दा धेरैनै खुसी छु । आफूले सोचेको भन्दा राम्रो खेल भयो । टार्गेटनै मेरो रेकर्ड राख्ने थियो, त्यसमा सफल भएँ ।’ राष्ट्रिय खेलकुदमा पहिलोपटक स्वर्ण पदक जितेपछि उनले पोखरा रङ्गशालाबाट बर्दिया घरमा रहेका आमा सुगही थारुलाई फोन गरेर आफ्नो सफलता सुनाइन् । आमाले बधाई भन्दै अझै राम्रो गर छोरी भनेर हौसला दिएको जयरानीले बताइन् । ‘बुबा घरमा रैनछन् आमालाई फोनमा स्वर्ण जितेँभन्दा बधाई छ छोरी अझै राम्रो गर्न सक्छौँ भनेर हौसला दिइन् ।’ उनले भने । राष्ट्रिय खेलकुदमा सफलता मिलेपछि उनको अबको लक्ष्य अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने र देशलाई पदक दिलाउने छ । उनले भने,’स्वर्ण पदक जित्ने लक्ष्य पूरा भएको छ । अब अन्तर्राष्ट्रिय प्रतियोगितामा अझै राम्रो गर्ने र देशलाई पदक दिलाउने मेरा लक्ष्य छ ।’ जयरानीले विसं २०७२ देखि खेल्न थालेकी हुन् । त्यसअगाडि विद्यालयस्तरीय प्रतियोगिता, राष्ट्रपति रनिङ शिल्डलगायतका जिल्ला तथा राष्ट्रिय प्रतियोगिता खेलिन् । सातौँ राष्ट्रिय खेलकुदमा पहिलो पटक सहभागी उनले आठौँमा तत्कालीन प्रदेश नं ५ र हालको लुम्बिनी प्रदेशबाट सहभागी भएर तीन इभेन्टमा रजत पदक जितिन् । आठौँमा नेपाल आर्मीसँग प्रतिस्पर्धा गरेर द्धितीय हुनुभएका जयरानीले नवौँमा आर्मीबाट खेल्दै स्वर्ण जित्ने अवसर उनलाई मिल्यो । उनी विसं २०७६ साउनमा सेनामा भर्ना भए । गाउँले दाइ जीवन चौधरी जो आफू पनि खेल्थे उनलेनै जयरानीलाई सेनामा प्रवेश गराउन सहयोग गरेको जयरानीको भनाइ छ । आफूलाई खेल जीवनमा प्रवेश गराउन घरबाट बुबा भगवान डिन थारुको धेरैनै साथ र सहयोग मिलेको जयरानीले बताइन् । सामान्य कृषक परिवारका जयरानीलाई आमाले घरको काम गर्नुपर्दछ भन्ने गरे पनि बुबाले खेलमै लाग्न प्रेरित गर्ने गरेको सुनाइन् । उनले विगतलाई स्मरण गर्दै भनिन्, ‘सानोमा आमाले घरको काम कसले गर्छ घरको काममा सहयोग गर्नुपर्दछ भन्थिन्, बाबा चाँही खेल खेल्नुपर्दछ भनेर मलाई अघि बढ्न प्रेरणा दिइरहन्थे, बुबा कृषक भए पनि खेलकुदलाई मन पराउँथे ।’ सुरुमा चाँही उनलाई खेलमा लाग्न सहयोग गर्ने कोही नभए पनि पछि विद्यालयमा राम्रो गरेपछि विद्यालयमै निःशुल्क बस्ने र खेल्ने वातावरण मिल्यो । जयरानीले गुरुआमा मान्ने सुमित्रा चौधरी जो बर्दियाकै हुन् र अहिले एथलेटिक्स प्रशिक्षकसमेत छिन् उजले विद्यालयमा होस्टलमा बस्नेदेखि खेलकुदका प्रतियोगितामा सहभागी हुनका लागि सहयोग गरेको थारुले सुनाइन् । उनले भनिन्, ‘मलाई खेलमा पाइला टेकाउने सुमित्रा चौधरी गुरुआमाले हो । उनको साथ, सहयोग मलाई जहिले पनि मिलिरहेको छ ।’ रासस
एनएमबि लघुवित्तको नायव कार्यकारी प्रमुखमा बिरु राम जैशी नियुक्त
काठमाडौं । एनएमबि लघुवित्त संस्थाको नायव कार्यकारी प्रमुखमा बिरु राम जैशी नियुक्त भएका छन् । लघुवित्तको असोज १७ गते बसेको संचालक समितीको बैठकले जैशीलाई नायव कार्यकारी प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको हो । एनएमबि बैंकको सहायक कम्पनीको रुपमा रहेको एनएमबि लघुवित्त वित्तीय संस्था नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको वित्तीय कारोबार गर्न इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्था हो । यस वित्तीय संस्थाले देशका सात वटै प्रदेश अन्तर्गत ६८ जिल्लाका विभिन्न स्थानहरुमा १४८ वटा शाखा तथा उपशाखा कार्यालयहरु संचालन गरी करिब १ लाख उन्नाईस हजार विपन्न घरपरिवारका सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गदै आएको छ ।
दुःख र तनावमा रहने मानिसहरु बुढो देखिन्छन्
एजेन्सी । कतिपय मानिस आफ्नो वास्तविक उमेरभन्दा बुढो जस्ता देखिन्छन् । सामान्यतया अरुको तुलनामा तनाव वा दुःखमा भएका मानिसहरु बुढो जस्ता देखिने गरेको पाइएको छ । अनुसन्धानमा भनिएको छ कि एक्लै बस्दा वा मौन बस्दा चाँडै बूढो बन्न सक्छ । समाजसँग मेलमिलापमा बाँच्न र सधैं खुसी रहने प्रयास गरेर बुढ्यौलीको गतिलाई रोक्न सकिन्छ। यसका लागि ३५ हजार वयस्क र वृद्धवृद्धामाथि अध्ययन गरिएको थियो । सो अध्ययनले अकालमै ज्यान गुमाउनेमा सामाजिक एक्लोपन पनि एउटा कारण रहेको खुलासा गरेको छ । अमेरिकाको स्ट्यानफोर्ड युनिभर्सिटीका शोधकर्ताहरूले गरेको यो अनुसन्धान ‘एजिङ’ जर्नलमा प्रकाशित भएको छ ।