विकासन्युज

मादलको साटो स्पिकरको प्रयोग, लाखौं व्यापार हुने व्यवसाय चौपट

ढोरपाटन । बागलुङ ढोरपाटनका मीनबहादुर दर्जी मादल बनाउन निकै सिपालु छन् । उनले मादल बनाएर जीविकोपार्जन गर्दै आएको २० वर्ष पूरा भयो । दर्जीले मादल व्यवसायबाटै नौ जनाको परिवार पाल्दै आएका थिए तर, अहिले मादल बिक्न छोडेपछि गिट्टी कुट्ने र बालुवा बोक्ने गर्छन् । मादल व्यवसाय सङ्कटमा परेपछि दर्जीले पेसा बदल्नुपरेको हो । बाउ, बाजे र दाइहरुबाट सिकेको सीपले उनलाई सात वर्ष अगाडिसम्म परिवार पाल्न सहज थियो । अहिले छोराहरु विदेश पलायन भए भने छोरीहरु बिहे गरी सके । उनले आफूसँग भएको सिप नबिकेपछि पेसा परिवर्तन गर्नुपरेको दुखेसो गरे । उनी भन्छन्, ‘मलाई पाँचा/सात वर्ष पहिलेसम्म परिवार चलाउन समस्या थिएन, मादल बिक्री गरेरै नौ जनाको परिवार चलाएको थिए, छोराछोरी पढाएको थिए, अहिले दुई जनाको पेट पाल्न पनि अरु काम गर्नुपर्छ, मादल बिक्री हुँदैन, बिक्री नहुने काम किन गर्ने भनेर त्यो काम गर्नै छोडेँ, अहिले गिट्टी बालुवा कुटेर पेट पालेको छु ।’ पहिले बाह्रों महिना मादलको माग बढ्ने गरेको र पछि–पछि चाडबाडको बेला ग्राहक आउने गरेको जनाउँदै अहिले मादल बिक्री नै नहुने उनको भनाइ छ । उनले कुनै बेला आफूलाई मादल बनाउन भ्याइनभ्याइ हुनेको गरेको स्मरण गर्दै अहिले केही ग्राहक आएपछि आफूले पहिले बनाएर राखेका मादल बेच्ने गरेको बताए । अहिले मादलको मूल्यसमेत घटेको दर्जी बताउँछन् । ‘मेरो पसलमा पहिले बाह्रैमास मादल किन्ने आउँथे, हरेक महिना कम्तीमा पनि १० वटा मादल बिक्री ग¥थ्यौँ, मलाई मादल बनाउन भ्याइनभ्याइ हुन्थ्यो, बिहान उठेदेखि रातिसम्म नसुतुन्जेलसम्म मादल बनाइरहन्थे कमाइ पनि राम्रो हुन्थ्यो, वर्षमा झण्डै पाँच लाख रुपैयाँ कमाइ गर्थे, मूल्य पनि राम्रै पथ्र्यो’, उनले भने, ‘अहिले मादल किन्न बेला मौकामा एक/दुई जना मान्छे आउँछन्, उनीहरुलाई पहिले बनाएको मादल दिएर पठाउँछु, पहिलेको जस्तो मूल्य पनि पर्दैन, मैले एउटा मादलको १२ सयदेखि पाँच हजारसम्ममा बेच्ने गर्थें ।’ दर्जीले तिहारको बेला मादलको बढी माग हुने गरेको बताए । गाउँ तथा सहरमा देउसीभैलो खेल्नेले मादल किन्ने गरेको भन्दै अहिले मादलको सट्टा ठूला–ठूलो साउण्ड सिस्टम किन्ने गरेको दर्जीको भनाइ छ । ‘तिहार आयो की मादल किन्नेको भीड लाग्थ्यो मेरो पसलमा, अहिले मादल किन्नभन्दा ठूला–ठूला स्पिकर किन्छन्, तिहारको गीत पनि गाउँदैनन्, कलाकारले गाएको गीत बजाएर नाच्ने गर्छन्, यसले त देउसीभैलो खेल्ने प्रचलनमा पनि विकृति ल्याएको छ’, उनले भने । निसीखोला गाउँपालिका–५ का कुलबहादुर नेपालीले पनि मादल व्यवसाय गरेको १४ वर्ष भयो । उनको पनि अचेल मादल कमै बिक्री हुन्छ । वार्षिक आठ सय बढी मादल बेच्ने नेपालीले अहिले ५० वटा पनि बिक्री गर्न नसकेको बताए । पहिले आफ्नो पसलमा निसीखोलासँगै, ढोरपाटन, तमान, रोल्पा र रुकुमदेखि मादल किन्ने ग्राहक आउने गरेको स्मरण गर्दै अहिले पसल सुनासन रहेको बताए । ‘चार वर्षौं भइसक्यो मादल निकै कम बिक्छन्, तिहार आउने बेला अलिअलि बिक्री त हुन्छ, यस बेला मात्रै मादल बेचेर दुई महिना पनि खान पुग्दैन, तिहारको बेला त मादल किन्ने ग्राहकको लाइन हुन्थ्यो, मादल पुराउनै सकिन्नथ्यो, अहिले हेर्नुस् त यति धेरै मादल बनाएँ, बिक्री नै हुँदैनन्’ नेपालीले भने, ‘वर्षभरि मादल बनायो, बिक्री हुन्न, अब अरुनै काम गर्नुपर्ने भयो, अब यसबाट परिवार पाल्न सकिने भएन ।’ नेपालीले सूचना र प्रविधिको विकासका कारण मादल बिक्रीमा कमी आएको बताए । उनले मादल मौलिकता र परम्परासँग जोडिएको बाजा भएको भन्दै आधुनिकताले मादल व्यवसाय पनि सङ्कटमा पर्न थालेको बताउँछन् । अहिले चाडबाड तथा मेला महोत्सवमा मादल, बाजा बज्नै छोडे र बाजाको ठाउँमा ठूलाठूला स्पिकर र साउण्ड सिस्टमको प्रयोग हुन थालेको नेपालीको भनाइ छ । ‘आजभन्दा १० वर्ष पहिले गाउँमा मादलको महत्व निकै थियो, मेला महोत्सव, विवाह व्रतबन्धमा मादल घन्किने गर्थे, विद्युत्को पहुँच थिएन, माइक, स्पिकर र राउण्ड सिस्टमको आएका थिएनन्, अहिले गाउँ–गाउँमा बिजुली बलेका छन्, बिजुली आएपछि मादलको माग घट्यो’, उनले भने, ‘अब मादल र बाजा हराउँदै जाने सम्भावना छ, मेला महोत्सवमा पनि बाजा र मादल बज्न छोडे ।’ गाउँ–गाउँमा सूचना प्रविधिको पहुँच पुगेपछि मादल व्यवसायी विस्थापित हुने अवस्थामा पुगेपछि बजारमा विद्युतीय सामग्रीको माग बढी रहेको व्यवसायी बताउँछन् । बागलुङको दोस्रो व्यापारिक केन्द्र बुर्तिबाङ बजारमा विद्युतीय सामग्री बेच्दै आएका जीवन शर्माले पछिल्लो समय ठूला–ठूला साउण्ड सिस्टम र माइकको माग निकै बढेको बताए । उन्ले पहिले–पहिले चाडबाडको समयमा मादलको बिक्री अत्यधिक हुने गरेकोमा अहिले मादल कम र साउण्ड सिस्टम धेरै बिक्री हुने गरेको बताए । उनी भन्छन्, ‘अहिले बजारमा साना–ठूला साउण्ड सिस्टमको माग निकै बढी रहेको छ, अझ यो तिहारको बेलामा त झन बढी माग हुने गरेको छ, पहिले–पहिले मादल बेच्ने व्यापारीलाई भ्याइनभ्याइ हुन्थ्यो, अहिले उनीहरुको व्यवसाय सुक्दै गएको छ, अहिले त मेला महोत्सव जताततै साउण्ड सिस्टम घन्किन्छन्, मादल त बज्नै छोडे, केही वर्ष अगाडिसम्म त गाउँमा जाँदा मादल बाजा घन्किने गरेको पाइन्थ्यो, अहिले त जताततै साउण्ड सिस्टममा गीत मात्रै सुनिन्छन् ।’ रासस

सिटिजन लाइफ इन्स्योरेन्सले विभिन्न कार्यक्रम गरी वार्षिकोत्सव मनाउने

काठमाडाैं । सिटिजन लाइफ इन्स्योरेन्सले विभिन्न कार्यक्रम गरी वार्षिकोत्सव मनाउने विभिन्न कार्यक्रम गरी आफ्नाे पाँचाैं वार्षिकाेत्सव मनाउने भएकाे छ । कात्तिक २ गते स्थापनाकाे दुई वर्ष पुरा गर्ने यस कम्पनीले आजबाट सप्ताह व्यापी कार्यक्रम गरेर विभिन्न कार्यक्रमहरु मनाउने जनाएकाे छ । कम्पनीले हरेक वर्ष जस्तै यस वर्ष पनि संस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत स्थानीय स्तरमा रक्तदान, निःशुल्क स्वास्थ्य शिविर, वृद्ध वृद्धालाई निःशुल्क भोजन तथा कपडा, सार्वजनिक स्थानमा सरसफाई लगायतका कार्यक्रम एवंम विद्यार्थीहरुलाई पोशाक, पुस्तक, स्टेस्नरी लगायतका शैक्षिक सामाग्री वितरण गरी असोज ३१ गते देखी कार्तिक ६ गतेसम्म सप्ताह व्यापी कार्यक्रम गर्ने बताएकाे छ । कम्पनीले वार्षिकोत्सवको अवसरमा विधार्थीसँग बीमा कार्यक्रम, सडक र्याली, फेसबुक लाइभ मार्फत इन्स्योरेन्स हाजिर जवाफ प्रतियोगिता लगायतका विभिन्न बीमा जागरण अभियान गर्ने योजना रहेको पनि जनाएको छ । यसका साथै कम्पनीले डेङ्गु रोग निकै फैलिएको र रगतको कमी भएकोले रक्तदान कार्यक्रम विषेश प्राथमिक्तामा राख्ने जनाएको छ ।  

बैंकहरुले आधारदर बढाएसँगै कर्जाको ब्याज पनि बढ्यो, कुनले कति पुर्याए ?

काठमाडौं । कात्तिकमा वाणिज्य बैंकहरुले कर्जाको ब्याजदर बढाएका छन् । बैंकहरुले आधारदर बढाएसँगै कर्जाको ब्याज पनि स्तवः बढेको हो । असोजमा बैंकहरुको औषत आधारदर ९.५६ प्रतिशत रहेकोमा कात्तिकमा साढे १० प्रतिशतको हाराहारीमा पुर्याएका हुन् । ब्याजदर सार्वजनिक गरेका वाणिज्य बैंकहरुमा मेगा बैंक, कुमारी बैंक, सेञ्चुरी बैंक, सानिमा बैंक, सिद्धार्थ बैंक, एभरेष्ट बैंक, राष्ट्रिय वाणिज्य बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंक लगायतको आधारदर बढेको छ । मेगा बैंकको १०.१९ प्रतिशतबाट बढेर १०.४६ प्रतिशत, कुमारी बैंकको १०.४९ प्रतिशतबाट बढेर १०.८७ प्रतिशत, सेञ्चुरी बैंकको १०.४० प्रतिशतबाट बढेर १०.७५ प्रतिशत, सानिमा बैंकको ९.५७ प्रतिशतबाट बढेर १०.४१ प्रतिशत, सिद्धार्थ बैंकको ९.५ प्रतिशतबाट बढेर ९.८५ प्रतिशत, एभेरेष्ट बैंकको ८.९२ प्रतिशतबाट बढेर ९.२५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ७.८६ प्रतिशत बढेर ८.२० प्रतिशत र स्ट्याण्डर्ड चार्टर्ड बैंकको ८.४ प्रतिशतबाट बढेर ८.४५ प्रतिशत पुगेको छ । बैंकहरुले तीन महिनामा आधार दर परिवर्तन गर्न पाउने राष्ट्र बैंकको नीतिगत व्यवस्था छ । सोही व्यवस्था अनुरुप बैंकहरुले आधार दर बढाएका हुन् । बैंकहरुले आफ्नो बेस रेट कति छ त्यसमा केही निश्चित प्रतिशत प्रिमियम जोडेर ब्याजदर निर्धारण गर्ने गर्छन् । बैंकहरुको बेसरेट बढेपछि कर्जाको ब्याजदर पनि स्वतः बढ्छ । बेस रेट घट्दा बैंकिङ कर्जाको ब्याजदर पनि घट्छ । सनराइज बैंकको भने बेसरेट असार महिनाको राखेर सार्वजनिक गरेको छ । बैंकले यसअघि साउन महिनाको बेसरेट १०.४२ प्रतिशत भनेर सार्वजनिक गरेको थियो भने अहिले असार महिनाको १०.०८ प्रतिशतलाई आधारदर सार्वजनिक गरेको छ । नेपाल एसबिआई बैंक, प्राइम बैंक, एनएमबि बैंक, सिभिल बैंक, प्रभु बैंक, एनसीसी बैंक, कृषि विकास बैंक, नबिल बैंक र नेपाल बैंकले भने आधारदर यथावत राखेका छन् । नेपाल एसबिआई बैंकको १० प्रतिशत, प्राइम बैंकको ९.९९ प्रतिशत, एनएमबि बैंकको ९.९५ प्रतिशत, सिभिल बैंकको ९.५ प्रतिशत, प्रभु बैंकको ९.४२ प्रतिशत, एनसीसी बैंकको ९.३५ प्रतिशत, कृषि विकास बैंकको ८.९० प्रतिशत, नबिल बैंकको ८.७७ प्रतिशत र नेपाल बैंकको ७.९९ प्रतिशत रहेको छ । यी बैंकहरुले यसअघिको आधारदरलाई नै कायम गर्न भएका हुन् । अहिले अधिकांश वाणिज्य बैंकहरुको आधार दर दोहोरो अंकमा छ । दोहोरो अंकमा आधार दर भएका बैंकबाट ऋण लिँदा लागत बढी लाग्ने गर्छ । यी बैंकहरुमा प्रिमियम जोड्दा कर्जाको ब्याजदर १८ प्रतिशतभन्दा बढी हुन आउँछ । बैंकहरुले आधारदरसँगै प्रिमियम पनि बढाएपछि अधिकांश बैंकहरुको ऋणको ब्याजदर १८ प्रतिशतको हाराहारीमा पुग्ने देखिएको छ । ११ प्रतिशत आधारदर र ७ प्रतिशसम्म प्रिमियम लिँदा बैंक्ले कर्जामा १८ प्रतिशतसम्म ब्याज लिने देखिएको हो । साढे प्रतिशतको हाराहारीमा रहेको स्प्रेडदर पनि बढेर ४ प्रतिशत पुगिसकेको छ ।  बैंकहरुले निक्षेपको ब्याजदरलाई भने यथावत राख्दै असोज महिनाको ब्याजदर नै लागू गर्ने भएका छन् । अहिले बैंकहरुले निक्षेपमा अधिकतम १२.१३३ प्रतिशत ब्याज प्रदान गरिरहेका छन् । यस्तै, बैंकहरुले रेमिट्यान्स मुद्दति खातामा १५ प्रतिशतसम्म ब्याजदर तोेकेका छन् । साधारण बचत खातामा भने बैंकहरुले १०.३३३ प्रतिशत ब्याजदर तोकेका छन् । सम्बन्धित समाचार : कात्तिकमा कर्जाको ब्याजदर बढ्ने, बेसरेट ११ प्रतिशतसम्म पुग्ने

नेपालको शहरी क्षेत्रको जनसङ्ख्या ६६.०८ प्रतिशत

काठमाडौं । नेपालको शहरी क्षेत्रको जनसङ्ख्या ६६.०८ प्रतिशत पुगेको छ । जनगणना २०७८ को प्रारम्भिक तथ्याङ्क अनुसार शहरी क्षेत्रमा बसोवास गर्नेको जनसङ्ख्या २०६८ को जनगणनाको परिणामभन्दा बढेको शहरी विकास मन्त्रालयका सहसचिव रामचन्द्र दङ्गालले जानकारी दिए । २०६८ सालमा शहरी क्षेत्रको जनसङ्ख्या ६३.१९ प्रतिशत थियो । त्यसबेला ग्रामीण भेगको जनसङ्ख्या ३६.८१ प्रतिशत थियो । संयुक्त राष्ट्र सङ्घीय मानव बसोवास कार्यक्रम (यूएन ह्याविट्याट) ले यसै महिना प्रकाशित गरेको विश्व शहरी प्रतिवेदन २०२२ मा उल्लेख भए अनुसार शहरीकरणको प्रक्रिया विकसित राष्ट्रमा धेरै देखिएको छ । ती देशमा कुल जनसङ्ख्याको ७९ प्रतिशत मानिस शहरी क्षेत्रमा बस्दछन् । यो दरले निरन्तरता पाए विकसित देशमा सन् २०५० सम्म शहरी क्षेत्रको जनसङ्ख्या ८७ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ । सन् २०२० देखि २०२५ सम्म विकसित देशको जनसङ्ख्या वृद्धिदर ०.४६ प्रतिशत रहने अनुमान पनि प्रतिवेदनमा गरिएको छ । सन् २०३० देखि २०३५ भित्र विकसित देशमा शहरी क्षेत्रको जनसङ्ख्या ०.४० प्रतिशत पुग्ने पनि जनाइएको छ । अक्टोबर महिनाको पहिलो सोमबार मनाइने विश्व बसोवास दिवसका अवसरमा कार्यक्रमले यस्तो प्रतिवेदन सार्वजनिक गर्ने गरेको हो । संयुक्त राष्ट्र सङ्घीय मानव बसोवास कार्यक्रम (यूएन ह्याविट्याट) को आह्वानमा सबैका लागि उपयुक्त आवास सुनिश्चित गर्दै दिगो शहरी विकास प्रवद्र्धन गर्ने मूल उद्देश्यले विश्वव्यापी रुपमा यो दिवस मनाउन थालिएको हो । राष्ट्र सङ्घले सन् १९८६ देखि अक्टोबर महिनाको पहिलो सोमबार यो दिवस मनाउन थालेको थियो । नेपालमा पनि सन् २००१ देखि यो दिवस मनाइन्छ । अक्टोबर महिनाको पहिलो सोमबार बडा दशैँको महाअष्टमी परेकाले आज तेस्रो सोमबार ‘समावेशी शहरबस्तीको आवश्यकता ः सबैको साझा प्रतिबद्धता’ भन्ने नाराका साथ नेपालमा विश्व बसोवास दिवस २०७९ विविध कार्यक्रम आयोजना गरी मनाउन लागिएको पनि मन्त्रालयले जनाएको छ । दिगो विकास लक्ष्यको लक्ष्य १.१ ले समावेशी तथा दिगो शहरीकरण गर्ने लक्ष्य लिएको छ । दिवसका अवसरमा आज विज्ञले कार्यपत्र प्रस्तुत गर्ने गरी कार्यशाला गोष्ठी आयोजना गरिएको उनले जानकारी दिए । कार्यक्रममा व्यवस्थित शहरी विकास, स्मार्ट सिटीलगायत विषयमा कार्यपत्र प्रस्तुत गरी त्यसमाथि टिप्पणी हुने जनाइएको छ । कार्यक्रममा विभाग, काठमाडौँ उपत्यका विकास प्राधिकरण, इञ्जिनीयरिङ अध्ययन संस्थान, काठमााडौँ र ललितपुर महानगरपालिकाका तर्फबाट कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको जनाइएको छ । यस अवसरमा आवास कम्पनी लिमिटेड, युएन ह्याविट्याट, नगर विकास कोष, विभिन्न नगरपालिकाले समेत विविध कार्यक्रम आयोजना गर्न लागेको शहरी विकास तथा भवन निर्मािण विभागले जनाएको छ । दिगो र वतावरण मैत्री शहरी विकासमा जोड दिँँदै विश्व बसोवास दिवसका कार्यक्रम गरिने भएको छ । रासस

उम्मेदवारहरुले कात्तिक ५ गतेभित्र जरिवाना बुझाउनु पर्ने

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन, २०७९ मा उम्मेदवार भई निर्वाचन खर्चको विवरण तोकिएको समयावधिभित्र नबुझाउने उम्मेदवारहरूलाई कात्तिक ५ गतेभित्र जरिवाना बुझाउन सकिने गरी निर्णय गरेको छ । निर्वाचन आयोग ऐन, २०७३ को दफा २६ बमोजिम यसरी जरिवाना भएका उम्मेदवारहरूको नाम संवत् २०७९ साल मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलले पेस गरेको बन्दसूचीमा समावेश भएको भए त्यस्ता उम्मेदवारहरूले आफूलाई लागेको जरिवानाबापतको रकम उम्मेदवाहरूको योग्यतासम्बन्धी दाबी विरोधको निवेदन उपर जाँचबुझ गर्ने समयसीमा मिति २०७९ साल कात्तिक ५ गते कार्यालय समयभित्र बुझाएमा जरिवाना असुल उपर भएको कायम गर्न आयोगले आइतबार निर्णय गरेको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार कानूनबमोजिम गर्न र जरिवानाबापतको रकम नबुझाउने उम्मेदवारहरूको हकमा प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीबाट नाम हटाउन समानुपातिक निर्वाचन प्रणाली मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिने निर्णय आयोगले गरेको छ ।

नझुक्किनुहोला, लौरो चिह्न स्वतन्त्र उम्मेदवारको होइन…

काठमाडौं । लौरो निर्वाचन चिह्न कुनै पनि स्वतन्त्र उम्मेदवारको चिह्न रहेको छैन तर कतिपय दलका उम्मेदवारले समेत उक्त चिह्नबाट लोकप्रियता पाउने आशामा सो चिह्नबाट आफूलाई प्रचारप्रसार गरिरहेका छन् । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि मनोनयनपत्र दर्ता गराएका हाम्रो नेपाली पार्टीका विभिन्न उम्मेदवारहरूले आफूलाई स्वतन्त्र उम्मेदवार भन्दै लौरो चिह्नबाट प्रचारप्रसार गरेको विषयमा स्पष्टीकरण सोधेको छ । ती उम्मेदवारले आफ्नो दलीय आवद्धता स्पष्ट नगरी आफू स्वतन्त्र उम्मेदवार रहेको भनी प्रचारप्रसार गरेको कार्यबाट निर्वाचनको स्वच्छता र निष्पक्षतालाई प्रभावित गर्ने र आम मतदाता समेतलाई भ्रमित गर्ने गरी आफूलाई स्वतन्त्र उम्मेदवार भनी सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गरेको कार्यबाट जानाजान प्रचलित निर्वाचन कानूनको उल्लङ्घनसमेत भएको पाइएकाले २४ घन्टाभित्र स्पष्टीकरण पेस गर्न पत्राचार गरिएको हो । स्पष्टीकरण सोधिएकामा पहिलो हुने निर्वाचित हुनेतर्फ काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार मधुसुदन पाठक, प्रतिनिधिसभा सदस्यका सिराहा क्षेत्र नं २ का उम्मेदवार शिवशङ्कर यादव, प्रदेशसभाका सिरहा क्षेत्र नं २ (क) का उम्मेदवार राजलाल यादव, प्रदेशसभाका सिरहा क्षेत्र नं २ (ख)का उम्मेदवार यागेशकुमार सिंह छन् । त्यसैगरी काठमाडौँ क्षेत्र नं २ (क) का प्रदेशसभा सदस्यका उम्मेदवार राजकुमार तिमिल्सिना, सर्लाही क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार वीरवंश बैठा, सुनसरी क्षेत्र नं १ (क) प्रदेशसभा सदस्य उम्मेदवार विजय कालिकोटे, प्रतिनिधिसभा सदस्यका रुपन्देही क्षेत्र नं ३ का उम्मेदवार प्रख्यात बञ्जाडे र नुवाकोट क्षेत्र नं १ (ख) का प्रदेशसभा सदस्यका उम्मेदवार दिपेश ढुङ्गानालाई पनि स्पष्टीकरण सोधिएको छ । ती उम्मेदवारहरूलाई ‘आफ्नो दलीय आवद्धतालाई स्पष्ट नगरी आफू स्वतन्त्र उम्मेदवार रहेको तथा आफ्नो निर्वाचन चिह्न लौरो स्वतन्त्र अभियान रहेको भनी प्रचारप्रसार गर्ने कार्यले निर्वाचन आचारसंहिताको उल्लङ्घन हुँदैन भन्ने आधार कारण के छ ? तपाईंको दल हाम्रो नेपाली पार्टीलाई लौरो निर्वाचन चिह्न स्वतन्त्र उम्मेदवारको भनी प्रचारप्रसार गर्ने कार्यले दलको उम्मेदवार हो वा स्वतन्त्र उम्मेदवार हो भन्ने बारेमा भ्रम सिर्जना भएको भनी यसपूर्व आयोगबाट पत्राचारसमेत भइसकेको सन्दर्भमा तपाईं उक्त दलको उम्मेदवारबाट आयोगको निर्देशनविपरीत पुनः सोही कार्य दोहोरिएबाट तपाईंलाई निर्वाचन आचारसंहिताको उल्लङ्घनमा निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) बमोजिम एक लाखसम्म जरिवाना किन गर्नु नपर्ने हो? पत्र प्राप्त भएको २४ घण्टाभित्र तपाईं उम्मेदवार रहेको क्षेत्रको निर्वाचन अधिकृतको कार्यालय वा निर्वाचन आयोग नेपालमा स्वयं उपस्थित भई लिखित स्पष्टीकरण पेस गर्नुहोला । अन्यथा प्रचलित कानूनबमोजिम कारबाही हुने व्यहोरा निर्णयाअनुसार अनुरोध छ,’ भनी स्पष्टीकरण सोधिएको छ । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ९ को उपदफा (४) बमोजिम दर्ता भएको दलको नाम, झण्डा र चिह्न अरू कसैले प्रयोग गर्न नपाउने गरी संरक्षण गरिने व्यवस्था रहेको छ । दलले कुनै स्वतन्त्र उम्मेदवारलाई लौरो चिह्नको नाममा प्रचारप्रसार गर्न दिन सक्दैन, न त कुनै स्वतन्त्र उम्मेदवारले आफ्नो निर्वाचन चिह्न रहेको भनी प्रचारप्रसार गर्न पाउँछ । लौरो निर्वाचन चिह्न स्वतन्त्र उम्मेदवारले परिपूरक चिह्न भनी प्रचारप्रसार गर्न पनि मिल्दैन । लौरौ चिह्न भएको हाम्रो नेपाली पार्टीबाट उम्मेदवार भएका व्यक्तिले कानूनीरूपमा लौरो निर्वाचन चिह्नमार्फत आफ्नो मत माग्न सक्दछन् तर आफूहरू स्वतन्त्र अभियानको अङ्ग भएको वा देशभरका स्वतन्त्रहरू लौरो निर्वाचन चिह्नको छातामा रहने भनी प्रचारप्रसार गर्न पाउँदैनन् । साथै, अन्य कुनै उम्मेदवारले समेत यस्तै प्रकृतिको कार्य गरेको पाइएमा जिल्लास्थित सम्बन्धित अनुगमन अधिकृतले यसैबमोजिम सम्बन्धित उम्मेदवारलाई स्पष्टीकरण सोधी तत्काल कारबाही प्रक्रिया प्रारम्भ गरी आयोगलाई सोको जानकारी दिनसमेत निर्देशन दिइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । रासस

यात्रु नभएको भन्दै जजिराले रोक्यो दैनिक उडान, भन्यो : खर्च पनि नउठ्ने ठाउँमा विमान चलाउँदैनौं

भैरहवा । गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट दैनिक हुँदै आएको एक मात्र उडान पनि रोकेको छ । यात्रु नभएको बताउँदै जजिराले दैनिक हुँदै आएको उडानलाई सातामा तीन पटक गर्ने जानकारी दिएको छ । जजिरा एयरवेजले असोजको २६, २७ र २८ गते हुनुपर्ने उडान रोकेपछि सो हवाईजहाज हुँदै वैदेशिक रोजगारीमा जाने यात्रुसहित अन्य यात्रुसमेत प्रभावित भएका थिए । यात्रुहरु गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमै रातभरी बसेर विमान कुरे पनि जजिराले उडान गरेन । तीन दिनसम्म जम्मा भएका यात्रुहरुमध्ये केही पर्यटक मात्र बोकेर शनिबार जजिराले एउटा उडान भरेको गौतमबुद्ध विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिए । दाहालले जजिरा एयरवेजको आधिकारिक प्रतिनिधिले जहाजको लिज सकिएको र नयाँ जहाज खरिद गर्ने प्रक्रियामा रहेको कारण नियमित उडान प्रभावित हुने जानकारी गराएको बताए । उनले अक्टुबर महिनामा जजिराले नियमति उडान गर्न नसक्ने बताउँदै अक्टोबर पछि उडान नियमित हुने आश्वासन पाएको बताए । ‘जजिराले आफ्ना नयाँ जहाज लिन केही समय लाग्ने भन्दै केही समय उडान रोक्ने बताएको थियो । उडान नै रोक्दा यात्रुलाई समस्या हुने भएकाले दैनिक रुपमा उडान गर्न नसके पनि एक दिन बिराएर उडान गर्ने हिजो सहमति भएको छ ।’, दाहालले भने, ‘तीन दिनसम्म उडान नहुँदा यात्रु रोकिएका थिए । शनिबार जजिराले उडान गरे पछि केही समस्या हल भएको छ ।’ विमाननस्थलका प्रमुखले नयाँ जहाजको समस्या बताइरहँदा जजिरा एयरवेजका कन्ट्री म्यानेजर अमित नागरथले भने यात्रु नपाएको कारण उडान कम गर्नु परेको बताए । ‘पहिला सातामा तीन वटा उडान गरिरहेका थियौँ, राम्रै यात्रु पायौँ ।’ नागरथले भने, ‘अहिले यात्रु सङ्ख्या साह्रै घटेकाले उडान घटाएका हौँ । अब पहिले झैँ सातामा तीन उडान गर्नेछौँ ।’ नागरथले भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा माग नै नरहेको दाबी गरे । ‘मागअनुसार नै आपूर्ति गर्ने हो । खाली विमान कहिलेसम्म उडाउने ?’ उनले भने, ‘हामी भनेको व्यापार गर्न आएका हौँ, आफ्नो खर्च पनि नउठ्ने ठाउँमा विमान चलाउदैनौँ ।’ जजिराको उडान प्रभावित हुनुमा यहाँका सरकारी निकायहरुको पनि उत्तिकै दोष रहेको छ । तत्कालीन श्रममन्त्री किसान श्रेष्ठले चर्चाकै लागि भैरहवामा स्थापना गरेको श्रम कार्यालयले अहिलेसम्म काम गरेको छैन । गौतमबुद्ध विमानस्थलका प्रमुख गोविन्दप्रसाद दाहालले यात्रुहरु अहिले पनि श्रम, रोजगार, मेडिकललगायत कारण काठमाडौं मै जानु परेको समस्याका कारण पनि विमानस्थल सञ्चालनमा कठिनाइ आएको छ । रासस

नबिल बैंकको ब्याजदर सार्वजनिक, कुन खातामा कति ब्याज ?

काठमाडौं । नबिल बैंकले ब्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा कात्तिक १ गतेदेखि लागू हुने गरी ब्याजदर सार्वजनिक गरेको हो । बैंकले निक्षेपमा असोज महिनाको ब्याजदरलाई निरन्तरता दिएको छ । बैंकले कात्तिक महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार बचत खातामा न्यूनतम ७.१३३ प्रतिशतदेखि अधिकतम् १०.१३३ प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ । यस्तै, बैंकले मुद्दति निक्षेपमा संस्थागत तर्फ १०.१३३ प्रतिशत र ब्यक्तिगततर्फ १२.१३३ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । नबिल रेमिट्यान्स मुद्दती निक्षेपमा भने १३.१३३ प्रतिशत ब्याजदर तोकेका छ । बैंकले कर्जाको ब्याजदरमा भने बेसरेटमा ७ प्रतिशतसम्म प्रिमियम तोकेको छ । बैंकको बेसरेट ८.७७ प्रतिशत रहेको छ भने ब्याजदर अन्तर ४.३९ प्रतिशत रहेको छ ।