विकासन्युज

युवा व्यावसायिक कृषि पेशामा लागे पनि बजारीकरणमा समस्या

मङ्गलबारे । व्यावसायिक बङ्गुरपालनमा लागेका युवा दिनेश महतको फार्ममा हाल तीन सय बढी बङ्गुर छन् । विसं २०७५ देखि व्यावसायिक बङ्गुरपालन गर्दै आएका महतका फार्ममा उन्नत जातका बङ्गुर रहेका छन् । आधुनिक तरिकाबाट गरिएको बङ्गुरपालनबाट बङ्गुरको सङ्ख्या हाल वृद्धि भएर तीन सय पुगेको छ । कुखुरा र कुखुराका दाना र भेटनरी सञ्चालन गर्दै आएका दिनेश कुखुरासँगै बङ्गुरपालनमा लागेका हुन् । पछिल्लो समय महत जस्तै पशु तथा कृषि पेशामासमेत युवाको आकर्षण बढ्न थालेको छ । केहीले बाख्रापालन त केहीले च्याउ तथा अन्य कृषिजन्य वस्तुको उत्पादनमा लागेका छन् । महतको फार्ममा बङ्गुरको हेरचाहका लागि दुई परिवारलाई रोजगारी दिइएको छ । माँ दुर्गा एग्रीकल्चर एण्ड रिसर्च सेन्टरको नामबाट फार्म दर्ता गरेर व्यावसायिक बङ्गुरपालन थालिएको महतले बताए । बङ्गुरको पाठा जन्मेको ४५ दिनपछि माउबाट छुटाउन सकिने फार्मका कामदार कृष्ण बराइलीले बताए । माउबाट छुटाइसकेपछि बेच्न सकिन्छ ।छिटो वृद्धि र विकास हुने भएपछि पछिल्लो समय उन्नत जातका पाठापाठी खरिद गरेर व्यावसायिक बङ्गुरपालन थालिएको हो । हाल रेन्ड्स, ड्युरो, योगसायर र हेमसायर गरी चार जातका बङ्गुर फार्ममा रहेका छन् । हाल पाठापाठीदेखि दुई सय किलोभन्दा बढीका बङ्गुर रहेका छन् । उत्पादन बढे पनि उहाँको फार्मबाट सोचेजस्तो आम्दानी भने नभएको सञ्चालक महतको भनाइ छ । ‘यहाँ उत्पादन भएको बङ्गुर लोकल बजारमा बिक्रीवितरण भइरहेको छैन’, उनले भने,’हेर्दा उस्तै देखिए पनि सुँगुर र बङ्गुरमा उपभोक्ताले खानमा सुँगुर नै रुचाउने भएकाले स्थानीय बजारमा यसको खपत कम हुन्छ ।’ स्थानीय बजारमा बिक्री नभएको र बाहिरसमेत बङ्गुर बिक्री नभएपछि समस्या भएको महतको भनाइ छ । प्याकेजिङ गरेर बाहिर निर्याततर्फ पनि सरकारले उचित सहयोग गर्नुपर्ने किसानको माग छ । सरकारले पछिल्लो समय कृषिमा अनुदानको कार्यक्रम ल्याए पनि बजारीकरणमा ध्यान दिन नसकेको उनको भनाइ छ । किसानले मेहनतका साथ उत्पादन गरेका कृषिउपज बिक्रीवितरणमा सरकारले सहजीकरण गरिदिनुपर्ने उनको माग छ । लामो समय मेहनत गरेपछि मात्र बिक्रीवितरण गरेर आम्दानी लिन सकिने कृषि क्षेत्रमा सरकारले मोटो रकम विनियोजन गर्ने गरेको छ । तर, गर्नैपर्ने ठाउँ पर्याप्त गर्न नसक्दा किसानको गुनासो बढी रहेको छ । कोरोनाकालको लकडाउन र कामको विकल्प खोज्ने युवाको रोजाइमा परेको कृषि पेशाप्रति उत्तिकै आकर्षण जाग्न थालेको युवाको भनाइ छ । तर, उत्पादन गरेको वस्तु बिक्री नहुँदा किसान चिन्तितसमेत भएका छन् । अनुदानसँगै उत्पादित वस्तुको बजारीकरणमा समेत स्थानीय सरकार लाग्नुपर्ने किसानको भनाइ छ । रासस

तनहुँमा आठ सयलाई ज्येष्ठ नागरिक परिचय पत्र वितरण

तनहुँ । म्याग्दे गाउँपालिकाले आठ सय बढीलाई ज्येष्ठ नागरिक परिचय पत्र वितरण गरेको छ । गाउँपालिका कार्यालयले असोज १ गतेदेखि थालेको एकीकृत घुम्ती शिविरमार्फत आठ सय २५ जनालाई उक्त परिचय पत्र वितरण गरेको हो । त्यसैगरी शिविरबाट दश जना अपाङ्गता भएकालाई अपाङ्गता परिपचपत्र वितरण गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए । वडासम्म गएर सेवा लिन असर्मथ भएको अवस्थामा अपाङ्गतालाई घरमा नै गएर परिचयपत्र प्रदान गर्ने व्यवस्था मिलाइएको उनले बताए । म्याग्दे–७ समिभञ्ज्याङ्गका रामबहादुर थापाले टोल र घरसम्म आएर ज्येष्ठ नागरिक परिचयपत्र पाउँदा असाध्यै खुुसी लागेको बताए । वडा कार्यालय टाढा पर्ने र वृद्धावस्थामा हिँडेर जान नसक्ने भएको हुँदा यो शिविरले धेरै ठूलो राहत दिएको उनले बताए । शिविरमा महिला स्वास्थ्य सेवाअन्तर्गत महिलाको पाठेघर परीक्षण र देखापरेका स्वास्थ्य समस्याको उपचार, व्यवस्थापन प्रेशण एवं परामर्श सेवा प्रदान गरिएको गाउँपालिका कार्यालयले जनाएको छ । परिवार नियोजन परामर्श सेवा, कोभिड–१९ विरुद्धको पहिलो, दोस्रो र अतिरिक्त मात्रा खोप सेवा, आयुर्वेद सेवा, स्वास्थ्य बीमा सेवा घुम्ती शिविरवाट उपलब्ध गराइएको छ । त्यसैगरी घुम्ती शिविरमा बहिरङ सेवाअन्तर्गत बिरामीको स्वास्थ्य परीक्षण, उपचार तथा औषधि वितरण गरिएको छ । प्रयोगशाला सेवाअन्तर्गत रगतमा ग्लुकोजको परीक्षण, खकार परीक्षणका लागि नमूना सङ्कलन, औलो रोगको परीक्षण हुनेछ । जन्म, मृत्यृ, बसाइँसराइ, एवं सम्बन्धविच्छेद लगायतका दर्ता गरिएको छ । प्रशासन शाखाअन्तर्गत व्यवसाय दर्ता, राजस्व सङ्कलन, मालपोत तथा भूमिकर सङ्कलन तथा विभिन्न सिफारिस गरिएको छ । किसानलाई बीउबिजन वितरण एवं कृषि अनुदान माग सङ्कलन, पशु सेवा शाखाअन्तर्गत गोबर परीक्षण र नतिजाका आधारमा पशुपक्षीलाई औषधि वितरण, बाख्रा, पाठा एवं बहर बन्ध्याकरण एवं बिरामी पशुको उपचार व्यवस्थापन, योजना शाखाअन्तर्गत उपभोक्तासँग योजना सम्झौता गरिएको छ । असोज ३० गते देखि कात्तिक ४ गतेसम्म हुने दोस्रो चरणको एकीकृत घुम्ती शिविरमा गाउँपालिकाका वडा नं ५, ६ र ७ मा सञ्चालन गर्न लागिएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिए । रासस

ग्यापुमा यस तिहार अनलाइन सपिङ गर्दा २० प्रतिशतसम्म छुट पाइने

काठमाडौं । अनलाइन सपिङ प्लेटफर्म ग्यापुले ‘दिपावली बाहार’ अफर ल्याएको छ । तिहारलाई लक्षित गर्दै ग्यापु प्रयोगकर्ताले विभिन्न सामग्री खरिद गर्दा ग्राहकले विशेष छुट पाउने व्यवस्था गरिएको हो । उक्त अफर असोज ३१ गतेदेखि कात्तिक ४ गतेसम्मका लागि रहेको ग्यापुले जनाएको छ । जस अन्तर्गत ग्राहकले माक्कुसेको कुकिज एवं स्विट्सहरूको खरिदमा २० प्रतिशत छुट पाउने व्यवस्था गरिएको छ । यस्तै, मेन्स अफिसर ब्यागको खरिदमा २० प्रतिशत, भाइटिका मसलामा १० प्रतिशत, मिठाइमा १० प्रतिशत, विभिन्न ब्रान्डका स्किन केयर सामग्रीमा २० प्रतिशत छुट रहेको छ । साथै, ब्रेड ट्रिमल लगायतका सामाग्री खरिदमा २० प्रतिशत, फलफुलमा २० प्रतिशत र स्विन कुर्तामा समेत २० प्रतिशतसम्म छुट रहेको ग्यापुले जनाएको छ । यसबाहेक, सामान खरिदका लागि हिमालय बैंक, एनआइसी एसिया बैंक, मेघा बैंक, एनएमबि बैंक, इसेवा, फोनपे, खल्ती लगायतबाट रकम भुक्तानी गर्दा विशेष क्यासब्याकको समेत व्यवस्था गरिएको छ ।

डडेल्धुरासहित सुदूरका पहाडी जिल्लामा विद्युत् अवरुद्ध

डडेल्धुरा । डडेल्धुरासहित सुदूरपहाडका जिल्लामा विद्युत् सेवा अवरुद्ध भएको छ । कैलालीको सहजपुरमा ३३ केभीको तार टुटेपछि विद्युत् सेवा अवरुद्ध भएको विद्युत् प्राधिकरण डडेल्धुराका प्रमुख रामदिनेश राय यादवले जानकारी दिए । उनका अनुसार आइतबार रातिदेखि विद्युत् सेवा अवरुद्ध भएकामा अहिले मर्मतको काम जारी छ । मर्मत हुनेबित्तिकै विद्युत् सेवा सञ्चालन हुने जनाइएको छ । उनका अनुसार अघिल्लो साता १३२ केभीको लाइनमा समस्या आएपछि ३३ केभीबाट सेवा सञ्चालन गरिएको थियो । आजसम्म १३२ केभीको प्रसारण लाइन पनि मर्मत भइसक्ने यादवले बताए । विद्युुत् अवरुद्ध हँुदा नेट इन्टरनेटसँग सामाजिक सञ्जाल प्रभावित बनेको छ भने विद्युुतीय कारोबारमा असहजता भएको छ । रासस

नवलपरासीका मतदाता भन्छन् : विनोद चौधरीले पनि केही गर्लान भन्ने अपेक्षा छैन

काठमार्डौं । स्थानीय मतदाताले नवलपरासी पश्चिमको प्रतिनिधिसभा क्षेत्र नम्बर १ का उम्मेदवार उद्योगपति विनोद चौधरीबाट पनि कुनै अपेक्षा नगरेको बताएका छन् । अहिलेसम्म निर्वाचनबाट जितेर सांसद भएकाहरुले नगरेको र सत्तारुढ गठबन्धनको तर्फबाट सो क्षेत्रमा उम्मेदवारी दिएका उद्योगपति चौधरीबाट पनि केही होला भन्ने आशा नगरेको उनीहरुको भनाई छ । स्थानीय बैदनाथ खरालले अहिलेसम्म कसैले कही नगरेकाले चौधरीले पनि गर्नुहोला भन्ने नलागेको प्रतिक्रिया दिए । न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा उनले अब जितेर जाने सांसदले बाटोको आवश्यक व्यवस्था मिलाई दिए हुने अपेक्षा समेत गरे । उद्योगपति चौधरीले चाहेमा आफ्नो क्षेत्रको सडक बाटोको २ दिनमै आवश्यक व्यवस्था मिल्ने थियो भन्दै खरालले त्यसका लागि उनमा चाहना हुनुपर्ने बताए । ‘अब उहाँले केही गर्नु होला भन्ने आशा त छैन । तर आशावादी भई यो बाटो बनाई दिएमा राम्रै हुन्थ्यो । तर गर्नु होला भन्ने आशा छैन हैं फेरी ढुक्कै । उहाँले चाहे २ दिनमा पनि बाटो बनाई दिन सक्नुहुन्छ । यसमा उहाँले चाहनु प¥यो । अहिलेसम्म कसैले गरेका छैनन् । अव कसैले गर्लान भन्ने आशा पनि छैन्,’ खरेलले भने । उद्योगपति चौधरीबारे कुनै जानकारी नभएको केही मतदाताले बताएका छन । स्थानीय दिननाथ कँडेलले चिन्दै नचिनेकाले उनीसँगबाट आशा गर्ने ठाउँनै नरहेको बताए । जनतालाई खुशी राख्ने, गरिबलाई हेर्ने, रोजगारी दिने काम गर्न सक्नु हुन्छ कि हुन्न रु त्यो बुझेर मात्रै उनलाई मतदान गर्न सकिने उनको प्रतिक्रिया थियो । कँडेलले भने, ‘चिनिएको छैन, जानिएको छैन । चिनिन प¥यो । सबैभन्दा ठूलो कुरा चुनाव जितेर गएर उहाँले के गर्नु हुन्छ ? अनि, हामी जनतालाई के भन्नु हुन्छ ? जनतालाई खुशी राख्न सक्नु हुन्छ कि हुन्न ? रोजगारी दिने, गरिब जनतालाई हेर्ने काम गर्न सक्नु हुन्छ कि हुन्न ? वास्तवमा हामीले उहाँलाई चिनेका पनि छैनौं ।’ नेताहरु व्यक्तिगत स्वार्थका लागि सांसद बन्न चाहेकाले उनीहरुबाट विकास, निर्माणको काममा पनि आशा गर्न सकिने ठाउँ नरहेको केही मतदाताको आरोप थियो । उनीहरुले जनताको पीडा बुझ्ने, सडक बाटा पीच गरिदिने नेतालाई आगामी निर्वाचनमा जनताले मत दिने धारणा समेत राखेका छन । नेपाली काँग्रेसले उद्योगपति चौधरीलाई सो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ । तर, जनताले भने उहाँबाट पनि अपेक्षा गर्ने ठाउँ नरहेको बताएका छन । विगतमा त्यस क्षेत्रबाट सांसद बनेकाहरुले केही नगरेकाले अव बन्ने सांसदले पनि केही नगर्ने स्थानीय मतदाताको बुझाई छ । उद्योगपति चौधरी एमालेको समेत समर्थनमा उम्मेदवार बनेका जनता प्रगतिशील पार्टीका नेता एवम् पूर्वमन्त्री हृदयेश त्रिपाठीसँग चुनावी प्रतिस्पर्धा गर्दै छन् । राजनीतिक पृष्ठभूमिका त्रिपाठी र व्यापारिक पृष्ठभूमिका चौंधरीबीचको चुनावी प्रतिस्पर्धा रोचक हुने अनुमान गरिएको छ ।

अन्नपूर्ण पदमार्गमा बढे विदेशी पर्यटक, पर्यटन व्यवसायी उत्साहित

लमजुङ । मौसम खुलेसँगै विश्व चर्चित अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटक पुनः देखिन थालेका छन् । दशैंको समयमा निरन्तर वर्षाले गत १९ गतेदेखि पदमार्गमा जान नसकेका पर्यटक यतिबेला भने मौसम खुलेसँगै केही दिनअघिबाट धमाधम आइरहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप पर्यटक जाँच केन्द्र धारापानीका पर्यटन सहायक क्षेत्रबहादुर गुरुङले बताए । दशैंका बेलामा दैनिक ८० भन्दाबढी पर्यटक आए पनि मौसममा खराब आएसँगै शून्य जस्तै बनेको यस पदमार्गमा पुनः पर्यटकको चहलपहल देखिएको छ । यतिबेला दैनिक एक सयदेखि एक सय ५० जनासम्म पर्यटक आउन थालेको उक्त केन्द्रले जनाएको छ । गुरुङले भने, ‘अन्य समयभन्दा दशैं तिहारमा बढी पर्यटक आउछन्, तर दसैँमा मौसम खराबीले आउन थालेका पर्यटक आउन नसके पनि यतिबेला फेरि बढेका छन् ।’ पदमार्ग आसपासका व्यापार व्यवसायसमेत फस्टाउन थालेको उनको भनाइ छ । पर्यटक आगामी कात्तिक/मङ्सिरसम्म मात्र यस पदमार्गमा आउछन् । पर्यटक अझै बढ्ने अपेक्षा पर्यटन व्यवसायीले गरेका छन् । यस पदमार्गमा पर्ने मस्र्याङ्दी गाउँपालिका वडा नंं ४ जगतका पर्यटन व्यवसायी पञ्चबहादुर गुरुङले भने, ‘दशैंका बेलामा सुनसान भएको व्यवसाय यतिबेला पर्यटक आगमनले सास फेर्ने फुर्सद पनि नभएको जस्तै हुन थालेको छ ।’ पर्यटकको चाप बढ्न थालेसँगै आफ्नो होटल विदेशी पर्यटकले भरिन थालेकाले उनीहरुको सेवामा समय बित्ने गरेको उनको भनाइ छ । मस्र्याङ्दी गाउँपालिका–४ स्यागेका पर्यटन व्यवसायी तुल्सी गुरुङले पनि यतिबेला पर्यटक खचाखच रहेको बताए । ‘होटलमा पर्यटक भरिन थालेका छन्, योभन्दा बढी राम्रो व्यापार हुन्थ्यो तर केही दिनअघिको मौसमले गर्दा व्यवसायमा असर पुगेको छ’ ,उनले भने । यसअघि होटलमा आउन बुकिङ गरेका २०/२२ जनाको आठ गु्रपले बुकिङ क्यान्सिल गरेको उनले सुनाए । पर्यटक सीमित समयका लागि समय छुट्याएर आएका हुन्छन् । तर १५/२० दिनको मौसम खराबले गर्दा उनीहरु फर्किन पर्दा व्यवसायमा समेत असर पुगेको र आउन लागेका पर्यटकसमेत कम आएको उनले बताए । पर्यटकहरु हिमाल, पहाडका दृश्य, यस क्षेत्रको रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्न आउने गर्दछन् । पर्यटक विशेष गरी थोराङला, लार्के र कालापास गर्ने गर्दछन् भने केही पर्यटक विश्वको अग्लो स्थानमा रहेको तिलिचो ताल हेर्न जाने गरेका छन् । उक्त पर्यटकीयस्थल साथै मनाङका खर्क अनि घाँसेमैदान हरियो हुने तथा फापर र उवा फूलेको दृश्यले पर्यटकलाई आकर्षित गर्ने गर्दछ । अन्नपूर्ण पदमार्गमा लमजुङ, मनाङ, कास्की, मुस्ताङ र म्याग्दी गरी पाँच वटा जिल्ला जोडिएका छन् । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका वडा नंं ७ मा पर्दछ । पदमार्गमा आउने पर्यटकले गर्दा यस प्रवेशद्वारको होटल व्यवसायमा समेत पर्यटकको चहलपहल तीव्र हुन थालेसँगै व्यवसायी व्यस्त हुने गरेका छन् । रासस

तौल घटाउन गोलभेँडा सेवन उत्तम हुने

काठमाडौं । गोलभेँडा (टमाटर)लाई तरकारी र फल दुबै रूपमा लिन सकिन्छ। यो काँचै वा पकाएर जसरी पनि खान सकिन्छ। यसलाई सलादको रुपमा पनि खाने गरिएको छ। टमाटरमा रहेको लाइकोपेन नामक तत्व स्वास्थ्यकालागि अति लाभदायक हुन्छ। यसले शरीरमा हुने बुढौलीपनका लक्षण कम गर्न मद्दत गर्छ। यसमा भिटामिन ए र पोटासियम तत्व पाइन्छ। यसमा कार्बोहाइड्रेटको मात्रा कम हुने भएकोले तौल घटाउन टमाटरको सेवन उत्तम हुन्छ। बिरामी र कमजोर व्यक्तिलाई यसको सुप बनाएर खुवाउँदा लाभदायक हुन्छ। टमाटरको रस छालाकालागि  पनि राम्रो मानिन्छ। यसले छालालाई सफा र नरम बनाउन मद्दत गर्छ। बिभिन्न अध्ययनले टमाटरमा क्यान्सर प्रतिरोधात्मक तत्व रहेको पुष्टिसमेत गरेका छन्। अध्ययनकै अनुसार टमाटरले मानव शरीरको डिएन्ए नष्ट हुनबाट बचाउँछ र मुटुरोगको संभावना पनि कम गराउँछ। ऐजेन्सी

‘सेयर कारोबार गर्दा कम्पनीको वित्तीय विवरण हेरेर मात्र लगानी गर्नुहोला’

काठमाडौं । सेञ्चुरी क्यापिटल मार्केटकी लगानी व्यवस्थापन प्रमुख अञ्जु महर्जनले दोस्राे बजारमा काराेबार गर्दा कम्पनीको वित्तीय विवरण र व्यवस्थापन हेरेर मात्र लगानी गर्नुपर्ने बताएकी छिन् । आइतबार सम्पन्न भएकाे  लगानीकर्ता सचेतना तथा अभिवृद्घि कार्यक्रममा उनले यस्ताे बताएकी हुन् । सेञ्चुरी कमर्सियल बैंकका पनौती शाखा प्रमुख नविन माकाजुको संयोजकत्वमा संचालित उक्त सचेतना कार्यक्रममा महर्जनले सेयर बजार सम्बन्धि बेसिक, फण्डामेण्टल र टेक्निकल एनालाईसिस अफ सेक्युरिटिज मार्केट विषयमा प्रशिक्षण दिएकी थिइन् । कार्यक्रममा सेयर लगानीकर्ता, बैकर्स, उद्योगी, व्यापारी, सहकारीकर्मी, विद्यार्थी तथा सेञ्चुरी कमर्सियल बैंकका पनौती, बनेपा,नाला,साँगाका शाखा प्रबन्धक तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो । क्यापिटलले समय समयमा सेयर तथा पूँजी बजारसँग सम्बन्धित तालिम, वर्कसप तथा सचेतनाका कार्यक्रमहरु संचालन गर्दै आएको छ । सेञ्चुरी क्यापिटल मार्केट सेञ्चुरी कमर्सियल बैङकद्वारा प्रवर्धित मर्चेन्ट बैंकर हो ।