एनएमबि लघुवित्तको नायव कार्यकारी प्रमुखमा बिरु राम जैशी नियुक्त
काठमाडौं । एनएमबि लघुवित्त संस्थाको नायव कार्यकारी प्रमुखमा बिरु राम जैशी नियुक्त भएका छन् । लघुवित्तको असोज १७ गते बसेको संचालक समितीको बैठकले जैशीलाई नायव कार्यकारी प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको हो । एनएमबि बैंकको सहायक कम्पनीको रुपमा रहेको एनएमबि लघुवित्त वित्तीय संस्था नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको वित्तीय कारोबार गर्न इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्था हो । यस वित्तीय संस्थाले देशका सात वटै प्रदेश अन्तर्गत ६८ जिल्लाका विभिन्न स्थानहरुमा १४८ वटा शाखा तथा उपशाखा कार्यालयहरु संचालन गरी करिब १ लाख उन्नाईस हजार विपन्न घरपरिवारका सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गदै आएको छ ।
दुःख र तनावमा रहने मानिसहरु बुढो देखिन्छन्
एजेन्सी । कतिपय मानिस आफ्नो वास्तविक उमेरभन्दा बुढो जस्ता देखिन्छन् । सामान्यतया अरुको तुलनामा तनाव वा दुःखमा भएका मानिसहरु बुढो जस्ता देखिने गरेको पाइएको छ । अनुसन्धानमा भनिएको छ कि एक्लै बस्दा वा मौन बस्दा चाँडै बूढो बन्न सक्छ । समाजसँग मेलमिलापमा बाँच्न र सधैं खुसी रहने प्रयास गरेर बुढ्यौलीको गतिलाई रोक्न सकिन्छ। यसका लागि ३५ हजार वयस्क र वृद्धवृद्धामाथि अध्ययन गरिएको थियो । सो अध्ययनले अकालमै ज्यान गुमाउनेमा सामाजिक एक्लोपन पनि एउटा कारण रहेको खुलासा गरेको छ । अमेरिकाको स्ट्यानफोर्ड युनिभर्सिटीका शोधकर्ताहरूले गरेको यो अनुसन्धान ‘एजिङ’ जर्नलमा प्रकाशित भएको छ ।
‘हिरो र भिलेनभन्दा पनि चरित्र महत्वपूर्ण हुन्छ’
काठमाडौं । नेपाली फिल्ममा हिरो र भिलेनको रुपमा कलाकारले छवि निर्माण गर्ने गरेका छन् । केही समय यता चरित्रअनुसार प्रस्तुति हुने भए तापनि दर्शकको बुझाइमा हिरो र भिलेनको परिचय छुट्टै स्थापित छ । प्रशान्त ताम्राकार, अनुप विक्रम शाहीलाई ह्यान्डसम भिलेन भनिन्छ । हिरोको रुपमा आफ्नो परिचय स्थापित गर्न उनीहरूले काम गरिरहे तापनि दर्शकले भिलेनमा रुचाए । ‘अहिले सहजै कलाकार मान्छन् । नत्र हिरोजस्तो मान्छे भिलेन किन बनेको भन्ने प्रतिक्रिया पाउने गर्थे’, अभिनेता अनुप विक्रम शाहीले भने । ‘हँसिया’ फिल्ममा उनले निर्वाह गरेको भिलेनको भूमिकाले दर्शकमाझ प्रभाव छाड्न सफल भएको थियो । त्यसयता उनले सकारात्मक भूमिका कमै निर्वाह गरेका छन् । मोडलिङ हुँदै अभिनेता बनेका प्रशान्त ताम्राकार पनि भिलेनमा खोजिने अनुहारमै पर्छन् । ‘ऐश्वर्य’ मा निर्वाह गरेका भूमिकापश्चात् उनलाई त्यस्तै अफर भइरहेको छ । ‘मैले भूमिकालाई सकारात्मक वा नकारात्मक रुपमा कहिले हेरिन । आइरहेको भूमिकालाई सुहाउँदो हेरेर अभिनय गरे । यद्यपि ह्यान्डसम भिलेनभन्दा रमाइलो लाग्छ’, अभिनेता ताम्राकारले भने । काठमाडौंमा आयोजित उनी अनुप, प्रशान्त अभिनित फिल्म ‘लाखे’ को पत्रकार सम्मेलनमा आर्यन अधिकारीले सोचाइमा आएको परिवर्तन बारे बताए । ‘हिरोकै रुपमा काम गरिरहेको छु । अब भने सुहाउँदो भूमिका आएमा अभिनय गर्छु । म कलाकार हुँ । सकारात्मक र नकारात्मक दुवै भूमिका निर्वाह गर्न तयार छु’, अभिनेता अधिकारीले भने । दर्शकको हेराइमा आएको परिवर्तनसँगै कलाकार पनि परिवर्तन भएका छन् । सस्पेन्स थ्रीलर जनराको कात्तिक १८ गतेबाट प्रदर्शनमा आउँदैछ । सम्राट बस्नेतको निर्देशनमा तयार फिल्ममा अर्पण थापा, सौगात मल्ल, वर्षा राउत, रोहित रुम्वा, संजोग राणा, सुशील सिटौलालगायतका कलाकारले अभिनय गरेका छन् । रासस
भारतबाट बढेर आयो पेट्रोल-डिजेलको भाउ, नेपालमा हाललाई नबढ्ने
काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ । नेपाल आयल निगमले आइतबार भारतीय आयल कर्पोरेसन (आइओसी) बाट पेट्रोलियम पदार्थको भाउ बढेर आएको जनाएको छ । मूल्य बढेर आएपनि निगमले हाललाई पेट्रोलियम पदार्थको साविकको खुद्रा बिक्री मूल्य यथावत राख्ने निर्णय गरेको जानकारी दिएको छ । नयाँ मूल्यसूची अुनसार पेट्रोलमा १।७४ रूपैयाँ प्रतिलिटर, डिजेलमा १५.६० प्रति लिटर र हवाइ इन्धनमा १०.२५ रूपैयाँ प्रतिलिटर बढेर आएको छ । योसँगै, निगमलाई डिजेलमा ६।३४ रूपैयाँ प्रतिलिटर र खाना पकाउने ग्यासमा ३२५.४४ रूपैयाँ प्रतिसिलिन्डर घाटा हुने बताइएको छ । पेट्रोल, हवाइ इन्धन र मट्टितेलमा भने निगमलाई केही नाफा नै छ ।
चौबीस घण्टे सेवामा पनि प्रहरी जवानको पारिश्रमिक २६ हजार मात्रै
चितवन । दशैँ र तिहारजस्ता पर्वमा सबै रमाइरहँदा नेपाल प्रहरी भने झन बढी सजगताका साथ काममा खटिनुपर्छ । सार्वजनिक बिदा होस् वा पर्व उनीहरुका लागि जुनसुकै बेला काममा जाने मनस्थितिमा तयारी रहनुपर्छ । सबैले घरघरमा पर्व मनाइरहँदा उनीहरु सडकमा जनता र देशका लागि सुरक्षा दिइरहेका हुन्छन् । यसरी खटिने प्रहरीले न शुक्रबारको आधा दिन मात्रै काम गरे पुग्छ, न बिदा र चाडपर्वमा अन्य कर्मचारीसरह बिदा पाउँछन् । यसो त अन्य समयमा पनि जुनसुकै बेला कामका लागि तयारी हुनुपर्दछ । परिवार सँगसँगै रहेर सेवा गर्ने मौका उनीहरुलाई कमै मात्र पाउँछन् । सरकार तलब भत्ता खुवाउने फौजीबाहेकका सबै कर्मचारीको भन्दा पृथक र कडाइका साथ उनीहरु खट्नु पर्छ । यसरी खट्दै गर्दा अन्यको भन्दा धेरै पारिश्रमिक पनि उनीहरुले पाउँदैनन् । थोरै पारिश्रमिकमा आफ्नो जीवनको उर्वर समय उनीहरुले राष्ट्रलाई दिइरहेका हुन्छन् । उनीहरुले पाउने पारिश्रमिक श्रमका आधारमा नगण्य हुने गर्दछ । घरपरिवारबाट टाढा रहेर रातदिन खट्ने प्रहरी जवानको पारिश्रमिक २६ हजार ८२ रुपैयाँ मात्रै रहेको छ । यो उनीहरुको परिश्रमको आधारमा न्यून हो । यही सङ्गठनले आज ६७ औँ स्थापना दिवस विविध कार्यक्रम आयोजना गरी मनाउँदै छ । एउटा उत्सवको रुपमा प्रहरी दिवस मनाइरहँदा जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत प्रहरी सहायक हवल्दार भीमबहादुर लायोमगर निकै उत्साहका साथ दिवसलाई सफल बनाउन लागि रहेका छन् । उनले भने, ‘हाम्रो लागि प्रहरी दिवस एउटा उत्सव हो । यसलाई रमाइलो गरेर मनाउनुपर्छ ।’ प्रहरी सङ्गठनभित्र काम गर्दा पाउने दुःखलाई बिर्सिएर उत्सवको रुपमा दिबस मनाउने गरेको उनले सुनाए । उनले थपे, ‘२४ घण्टा कार्यक्षेत्रमा रहँदा हुने हरेक किसिमका समस्यालाई समाधान गर्ने बानी परेको छ ।’ जुनसुकै कामलाई पनि सकारात्मक रुपमा लिएर काम गर्दा सहज हुने उनको भनाइ छ । आफूले पाउने पारिश्रमिकको हिसाब नगरी कर्म क्षेत्रमा खटिने गरेको उनी बताउँछन् । लायो मगरले भने, ‘बाहिर हेर्दा आहा भए पनि भित्र काममा हुने दुःख कस्ले बुझेको छ र ।’ न कुनै चाडपर्व, न कुनै समय सधै जनताको सेवामा लाग्नु पर्दा पाईने दुःखलाई बाहिरका कस्ले बुझ्ने ? उनले प्रश्न गरे । जे भए पनि प्रहरी सङ्गठनमा लागेर जनता राज्यको सेवा गर्न पाउनु खुसीको कुरा रहेको उनले बताए । यस्तै उत्साही देखिँदै थिए प्रहरी सहायक हवल्दार चिजकुमार श्रेष्ठ । उनी प्रहरी सेवामा लागेको १६ वर्ष भएछ । उनमा प्रहरी सङ्गठनप्रतिको मायाँ उत्तीकै छ । उनले भने, ‘सङ्गठनले दिएको जिम्मेवारी हर हालतमा पूरा गछौं।’ जस्तोसुकै दुःखमा पनि काम गर्ने बानी सङ्गठनले बनाइदिएको उनको भनाइ छ । प्रहरी सेवा भनेको नै कठिनभन्दा कठिन काम गर्नका लागि भएको उनले बताए । उन्ले भने, ‘प्रहरीमा प्रवेश गर्न सुरुआती कठिन हुन्छ । त्यसपछि तालिम र कार्यक्षेत्रमा खटिँदा झनै कठिन हुन्छ ।’ बाहिर देख्नेले सहज देखे पनि संगठनको नियम कानुनमा बसेर काम गर्न कठिन हुने उन्ले बताए । उनले भने, ‘चाड पर्ब, मेला, महोत्सव भन्ने कुरा सम्झने हो ।’ देश र जनताको सेवामा लाग्न पाउनु नै खुसीको कुरा रहेको उनको भनाइ छ । कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डित अन्य क्षेत्रमा भन्दा फौजीको काम कठिन नै हुने बताउँछन् । यहाँ काम गर्दा पर्ने हरेक समस्यालाई सहजताका साथ लिन सके हरेक काम गर्न सकिने उनले बताए । कुनै पनि फौजमा बाहिर देखेभन्दा कठिन हुने उनको भनाइ छ । घाम–पानी, घर–परिवार नभनी देश र समाजको सुरक्षामा खटिनु गर्वको कुरा भए पनि यहाँ काम गर्दा आइपर्ने समस्या बाहिरकाले बुझ्न कठिन हुने उनले बताए । उनले भने, ‘२४ घण्टा कार्यक्षेत्रमा खटिनु पर्दा जटिल कति हुन्छ ?’ यसलाई उचित व्यवस्थापन गरेर अघि बढ्नुपर्ने उनको भनाइ छ । व्यवस्थापन गर्नसके प्रहरी पेसा राम्रो रहेको उनले बताए । कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीले नेपाल प्रहरीले चाडपर्व, बिदा भन्न नपाउने बताउँछन् । अन्य कर्मचारी घरमा चाडपर्व मनाइरहँदा आफूहरु सडक वा ब्यारेकमा रहेर सेवामा जुट्नुपर्ने उनको भनाइ छ । उनले भने ‘परिश्रमको आधारमा पारिश्रमिकलाई तुलना गर्न सकिँदैन ।’ सरकारका अन्य कर्मचारीले दैनिक घडी हेरेर काम गर्न पाउने भए पनि प्रहरी जुनसुकै बेलामा पनि काममा खटिनुपर्ने उनको भनाइ छ । प्रहरी दिवसका अवसरमा प्रहरीको मनोबल बढाउनुपर्ने उनले बताए । थोरै जनशक्तिले धेरै काम गर्नुपर्ने बाध्यता आफूहरुसँग रहेको उनको भनाइ छ । रासस
सिजोफ्रेनिया र अटिजमको अनुसन्धान गर्न मानव मस्तिष्कका कोशिका मुसामा प्रत्यारोपण
एजेन्सी । अमेरिकाको स्ट्यानफोर्ड युनिभर्सिटीका वैज्ञानिकहरूले मानव मस्तिष्कका कोशिकाहरू नवजात मुसामा प्रत्यारोपण गरेका छन्। यसको उद्देश्य सिजोफ्रेनिया र अटिजम जस्ता गम्भीर मानसिक विकारहरूको लागि बुझ्न र उपचार खोज्नु रहेको छ । अहिलेसम्म अनुसन्धानकर्ताहरूले यी विकारहरूको जटिलताहरू राम्ररी बुझ्न सकेका छैनन्। किनभने जनावरहरूले तिनीहरूलाई फरक रूपमा बुझ्छन् र मानिसहरूमा अनुसन्धान गर्न धेरै गाह्रो छ। मुसामा न्युरो सर्किट विकसित भयो नेचर जर्नलमा प्रकाशित यस अनुसन्धानका अनुसार यी मस्तिष्क कोशिकाहरू मुसामा प्रत्यारोपण गरेपछि विकसित भएका हुन्। उनीहरुको न्यूरो सर्किट मुसाको दिमागमा पनि विकास हुन थालेको छ । यस सर्किटको मद्दतले जीवले सूचनालाई प्रशोधन गर्छ, चल्छ, सिक्न सक्छ र सम्झन्छ। वैज्ञानिकहरूले आशा गरेका छन कि अनुसन्धानले उनीहरूलाई मस्तिष्क कोशिकाहरूको जडान, गतिविधि र आकारले मानिसहरूमा मानसिक रोगहरूको विकासमा कसरी योगदान पुर्याउँछ भनेर जान्न मद्दत गर्नेछ। अनुसन्धानका सिमा वैज्ञानिकहरूका अनुसार यस अनुसन्धानका आफ्नै सीमा छन्। वास्तवमा मुसामा विकसित न्यूरल सर्किट हाइब्रिड हो। यसको मतलब मुसाको दिमागमा मानिस र मुसा दुवैका कोषहरू हुन्छन्। त्यसैले यिनीहरूमाथि जतिसुकै अनुसन्धान भए पनि मानवीय समस्याको पूर्ण मूल्याङ्कन हुन सक्दैन । मुसाको दिमागले मानिसको दिमागलाई पूर्ण रूपमा प्रतिलिपि गर्न सक्दैन। जनावरहरुको प्रयोगमा प्रश्न अनुसन्धानको बारेमा नैतिक बहस जारी छ। कसै-कसैले यो मुसालाई क्रूर मान्छन्। अनुसन्धानले जनावरहरुलाई चोट पुर्याउन सक्छ वा भविष्यमा उनीहरुमाथि अन्याय हुन सक्छ । मुसाको दिमागमा मानव मस्तिष्क कोशिकाहरू प्रत्यारोपण गर्दा तिनीहरूको सोच्ने क्षमतालाई असर गर्न सक्छ। तर, अनुसन्धानमा संलग्न अन्वेषकहरूले परीक्षणका क्रममा मुसाको स्मरणशक्तिमा कुनै प्रभाव नदेखेको बताएका छन् ।
चितवनको १४ सय हेक्टर जग्गामा बाह्रै महिना सिँचाइ
भरतपुर । चितवनमा एक हजार चार सय हेक्टर जग्गामा डिप र स्यालो ट्युबेलमार्फत सिँचाइ उपलब्ध गराइएको छ । चितवन भूमिगत जल संयोजनात्मक जल सिँचाइ आयोजना स्थापना भएको झण्डै दुई वर्षमा १४ सय हेक्टरमा सिँचाइ उपलब्ध गराइएको हो । आयोजना प्रमुख देवकुमार स्याङबोका अनुसार जिल्लामा ५७ वटा डिप ट्युबेल र एक सय १० वटा स्यालो ट्युबेल जडान गरिएको छ । यी क्षेत्रमा अहिले बाह्रै महिना सिँचाइको सुविधा उपलब्ध भएको प्रमुख स्याङ्बोले बताए । विशेष गरेर कुलो, नहर नभएको ठाउँमा र भएको ठाउँमा पनि बाह्रै महिना सिँचाइ उपलब्ध गराउने गरी किसानको खेतबारीमा डिप र स्यालो ट्युबेल जडान भइरहेको उनले जानकारी दिए । पश्चिम चितवनका कतिपय धानै नरोपिएका ठाउँमा पनि यस वर्ष धान रोपिएको स्याङ्बोले बताए । आयोजनाले स्यालो ट्युबेल पूर्ण अनुदानमा उपलब्ध गराउँदै आएको छ भने डिप ट्युबेलका लागि पाँच प्रतिशत जनसहभागिता आवश्यक पर्छ । त्यसका लागि किसानले श्रमदान पनि गर्न सक्नेछन् । ‘चार बिघासम्म जग्गा भएको क्षेत्रमा स्यालो ट्युबेल उपलब्ध गराइएको छ, प्रमुख स्याङ्बोले भने, ‘किसान सानो समूह बनाएर आउने गरेका छन् ।’ यस्तै डिप ट्युबेलका लागि ३५ देखि ४० बिघा जग्गा क्षेत्रफल भए मात्र उपलब्ध गराउन सकिने उनले बताए । धेरै जग्गा आवश्यक पर्ने भएका कारण पनि डिप ट्युबेलमा किसानको आकर्षण कम भएको उनको भनाइ छ । चितवनमा भूमिगत सिँचाइ लागू भएपछि बाह्रै महिना सिँचाइ गर्दा पनि पानीको सतह घटेको छैन । नारायणी र राप्तीको दोभान भएका कारण यहाँ पानीको समस्या नभएको आयोजना प्रमुख स्याङ्बोले बताए । आयोजनाले यस वर्ष पनि ८० वटा स्यालो र १८ वटा डिप ट्युबेल जडान गर्ने तयारी गरेको छ । आयोजनाले मकवानपुर जिल्ला केही क्षेत्रमा पनि ट्युबेल जडानको काम गरिरहेको छ । बाह्र्रै महिना आफूले चाहेको समयमा सिँचाइ गर्न पाएपछि चितवनका किसान भूमिगत सिँचाइमा आकर्षिक छन् । भरतपुर २५ को बयरघारी टोलका दिलबहादुर नेपालीले यस वर्ष आफ्नो टोलमा वर्षौंपछि राम्रोसँग धान रोपाइँ भएको बताए । उनले डिप ट्युबेल जडान गरेर रोपिएको धान काटेर थेसर लगाउने तयारीमा रहेको जानकारी दिए । टोलका कतिपयले त पहिलोपटक धान रोपेको उनले बताए । टोलका ९० घरधुरीमध्ये ५० घरधुरी डिप ट्युबेलबाट लाभान्वित भएका छन् । ‘बाह्रै महिना पानी लगाउन पाउँदा खुसी छौँ’, उनले भने, ‘अब सबै प्रकारका अन्न र तरकारी फलाउन सजिलो हुने भयो ।’ राज्यले किसानका लागि ट्युबेल चलाउँदा लाग्ने विद्युत् महसुल पनि छुट गरिदिनुपर्ने उनले बताए । रासस
सानिमा बैंकको थ्रि इना वान खातामा सि–आस्वा तथा मेरो सेयर सुविधा
काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई सेयर कारोबार प्रकृयामा थप सहजता र सरलता प्रदान गर्न थ्रि इन वान खाताको प्रणाली अपग्रेड गरेको छ । ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै थ्रि इन वान खाताको अनलाइन फारम भर्दा ग्राहकहरुले बैंक खाता, डिम्याट खाता र ट्रेडिङ्ग खाताका साथै सिआस्वा र मेरो सेयरको आवेदन पनि दिन सक्नेछन् साथै, थ्रि इन वान पोर्टलको ड्यासबोर्डमा बैंकले सहज र सरल प्रकृयाका लागि विभिन्न जानकारीहरु लिन मिल्ने व्यवस्था गरेको छ । यो खाता खोल्न ग्राहकहरुले घरमै बसी सानिमा बैंकको वेबसाइट मार्फत आवेदन दिन सक्नेछन् । खाता भइसकेका ग्राहकले समेत यसबाट सिआस्वा तथा मेरो सेयरको सुविधा लिन सक्नेछन् । सानिमा क्यापिटल र सानिमा बैंकले संयुक्त रुपमा संचालनमा ल्याएको यस खातामा ग्राहकहरुले अनलाइन मार्फत् दोस्रो बजारबाट सेयर खरिद र बिक्री गर्न सक्नेछन् । यो खाता खोल्नका लागि सानिमा बैंकका नयाँ तथा पुराना ग्राहकले बैंकको वेबसाइटबाट थ्रि इन वानमा अकाउन्ट किल्क गरी आवश्यक विवरण भरी आवेदन दिनुपर्नेछ । आइपीओ मार्फत् सेयर खरिद गरेका ग्राहकहरुले समेत केही प्रकृयाहरु पूरा गरी सानिमा थ्रि इन वान खाता मार्फत सजिलै सेयर बिक्री गर्न मिल्ने सुविधा यस खातामा रहेको छ । सानिमा बैंककोे सातै प्रदेशमा १२९ वटा कार्यालयहरु र १२२ वटा एटिएम संजालहरु रहेका छन् ।