सुदूरपश्चिममा हुलाकी सडक : अर्बौ लगानी, गति सुस्त
महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशमा निमार्णाधीन हुलाकी सडकको गति सुस्त देखिएको छ । कैलालीको लम्की–खग्रौला र धनगढीको क्याम्पस रोडदेखि भजनीसम्म को काम सन्तोषजनक रुपले अघि बढन सकेको छैन । सुदूरपश्चिमको उक्त क्षेत्रमा हुलाकी सडक झण्डै तीस महिनायता निर्माणाधीन अवस्थामा रहेको छ । कैलालीमा लम्कीदेखि टीकापुरतर्फको पहिलो प्याकेज ९८ किलोमिटर० सडक निर्माण कम्पनीले ६४ प्रतिशत भौतिक प्रगति गरेपनि खङ्ग्रौलासम्मको बाँकी दुई प्याकेजमा २५ देखि ३० प्रतिशत मात्रै काम भएको छ । विसं २०७७ जेठदेखि निर्माणको जिम्मा पाएका निर्माण कम्पनिले कोरोना कहरका बेला काम गर्न नपाउँदा पनि निर्माणमा ढिलाइ हुन गएको बताएका छन् । लम्कीदेखि खङ्ग्रौला नाकासम्म साढे २९ किलोमिटर सडकमा अहिले पहिलो प्याकेजको एक किलोमिटर सडक कालोपत्रको तयारी भइरहेको छ । हुलाकी राजमार्ग योजना कार्यालय कैलालीका सूचना अधिकृत इञ्जिनीयर दीपक सुनारले आयोजना अन्तर्गत कैलाली र कञ्चनपुरमा सडक निर्माणको कामले गति लिन नसकेको बताए । ‘कोरोनाले गर्दा पनि काम प्रभावित हुँदा ढिलाइ भयो’, उनले भने,’कञ्चनपुरमा भइरहेको काम असारमा नसकिए निर्माण व्यवसायीलाई गाह्रो पर्ने स्थिति पनि हो ।’ लम्कीदेखि दक्षिण टीकापुरतर्फको आठ किलोमिटर सडकलगायत संरचना निर्माणका लागि ४० करोड रुपैयाँ लागत छ । उनका अनुसार उक्त सडकको दोस्रो प्याकेज दश र अन्तिम प्याकेज साढे ११ किलोमिटर निर्माण गर्नुपर्ने छ । ‘दोस्रो प्याकेज ४१ करोड रुपैयाँ र तेस्रो ३३ करोड रुपैयाँको हो’, उनले भने, ‘काम चलिरहेको भए पनि द्रुतगतिमा भने छैन् ।’ तीन वटै प्याकेजको समय भने आगामी मङ्सिरसम्म मात्र रहेको छ । त्यसैगरी धनगढी क्याम्पस रोडदेखि भजनीसम्मको ६२ किलोमिटर सडकमध्ये १८ किलोमिटर कालोपत्र भइसकेको सूचना अधिकृत सुनारले बताए । ‘सो सडकमा चार वटा प्याकेजमा ४४ किलोमिटर सडक निर्माण जारी छ’, सुनारले भने,’उक्त काम एक अर्ब ३० करोड रुपैयाँको लगानीमा बन्दै छ ।’ सो क्षेत्रमा निर्माणाधीन सडकको गति पनि सुस्त नै रहेको छ । त्यसैगरी कञ्चनपुरको डोकेबजारदेखि दैजीसम्मको ६२ किलोमिटर खण्डमध्ये ३४ किलोमिटर कालोपत्र सकिएको छ । विसं २०७३ फागुनमा ३० महिनामा निर्माण सक्ने गरी ठेक्का सम्झौता भएको उक्त सडक दोब्बर समय सकिँदा पनि करिब ५० प्रतिशत काम बाँकी रहेको छ । डोकेबजारदेखि बेलौरीसम्मको २० किलोमिटर, बेलौरीदेखि बेल्डाडीसम्को २० र बेल्डाडीदेखि दैजीसम्म २२ किलोमिटर सडक तीन प्याकेजमा काम भइरहेको छ । यहाँ पहिलो प्याकेजको काम सम्पन्न हुने चरणमा रहेपनि अरु दुई प्याकेजमा बाँकी छ । उनले भने,’ कञ्चनपुरमा निर्माण व्यवसायीको ढिलासुस्तीले पनि काममा ढिलासुस्ती भयो ।’ कञ्चनपुरमा निर्माणाधीन उक्त हुलाकी सडकको काम तीन प्याकेजमा गरी एक अर्ब १६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । रासस
विद्युत् प्राधिकरणलाई आईपीओ जारी गर्न सकस, स्वामित्वको विषयमै झमेला
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) निष्काशन खुला गर्ने भनेको लामो समय भयो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ३ वर्ष अघि अर्थात् २०७६ सालमा कुल पूँजीको २५ प्रतिशत सेयर सर्वसाधारणलाई जारी गर्ने बताएका थिए । प्राधिकरणलाई कम्पनी मोडेलमा लगेर सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने भनेको ३ वर्ष बढी समय हुँदा पनि हालसम्म कुनै प्रक्रिया नै अघि बढ्न सकेको छैन । प्राधिकरणले नाफा कमाउन थालेपछि सर्वसाधारणले पनि सेयर पाउने आशा गरिरहेका छन् । अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्ष २०७९/०८० को बजेटमार्फत् नेपाल विद्युत् प्राधिकरणले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने बताएका थिए । अर्थमन्त्री शर्माले आईपीओ निष्काशन गरेर संकलन भएको रकमबाट जलाशययुक्त आयोजना निर्माण र ऊर्जा पूर्वाधारमा लगानी गर्ने बताएका थिए । आर्थिक वर्ष २०७९/८० को बजेटमा भनिएको छ, ‘नेपाल विद्युत प्राधिकरणको क्रेडिट रेटिङ भइसकेको सन्दर्भमा प्राथमिक निश्काशनमार्फत् प्रिमियमसहितको सेयर सर्वसधारणलाई समेत जारी गर्ने प्रबन्ध गरिनेछ, उक्त सेयर विनिवेशबाट प्राप्त रकम जलाशययुक्त आयोजना निर्माण लगायत उर्जा पूर्वाधार निर्माणमा लगानी गरिनेछ ।’ तर, लामो समयदेखि आईपीओ जारी गर्ने बहस भएपनि हालसम्म कुनै प्रक्रिया सुरु हुन सकेको छैन । नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेश बहादुर भट्टराईले चालु आर्थिक वर्षभित्रै आईपीओ निष्काशन गर्न कठिन रहेको बताए । कति प्रतिशत सेयर सर्वसाधारणलाई जारी गर्ने हो भनेर स्पष्ट निर्णय नै नभएकोले आईपीओ जारी गर्न समस्या सिर्जना भएको उनको भनाइ छ । मन्त्री अध्यक्ष भएको बोर्डले गर्ने निर्णय भएकाले यस बारेमा आफूलाई जानकारी नभएको उनले धारणा छ । ‘आईपीओ निष्काशन गर्ने विषयको कुनै तयारी नै छैन , छलफल मात्रै भएको हो, यस विषयमा कुनै निर्णय हुन सकेको छैन, यसमा विभिन्न मुद्धाहरु छन्, ओभरल पर्पोटिजहरु, एसेट लगायतलाई गहिराइमा गएर विश्लेषण गर्न बाँकी छ,’ उनले भने, ‘३० प्रतिशत सेयर निष्काशन गर्ने भनेपनि यो नै फाइनल होइन, सरकारले कति प्रतिशत सेयर जारी गर्ने भनेर अहिलेसम्म निर्णय गरेको छैन, रेटिङले फाइनान्सियल क्यास फ्लोलाई मात्रै गरेको हो, यसमा धेरै विषयहरु छुटेका छन्, कहिलेसम्म आईपीओ आउँछ भन्न सकिँदैन, मन्त्री अध्यक्ष भएको बोडले के निर्णय गर्छ त्यहि हुन्छ, यो आर्थिक वर्षमा आईपीओ आउन धेरै गाह्रो छ ।’ कार्यकारी निर्देशक घिसिङले ३ वर्षअघि २५ प्रतिशत आईपीओ निष्कासन गर्ने बताएका थिए । प्राधिकरणको सम्पत्ति मूल्यांकन गरेर आईपीओ निष्कासन गर्ने उनको भनाइ थियो । प्राधिकरणको उपकार्यकारी निर्देशक मनोज सिलवाल चालु आर्थिक वर्षभित्रै आईपीओ निष्काशन गर्न असम्भव रहेको बताउँछन् । प्राधिकरणको सम्पत्ति मुल्याङ्कन लगायतका काम गर्न बाँकी रहेकाले तत्काल सर्वसाधारणलाई सेयर बिक्री गर्न नसकिने उनले बताए । ‘प्राधिकरणले आईपीओ निष्काशन गर्ने भनेर छलफल मात्रै गरेको छ, अहिलेसम्म निर्णय भएको छैन, प्राधिकरणलाई कुन रुपमा चलाउने भनेर स्पष्ट भएको छैन, प्राधिकरणलाई आईपीओ निष्काशन गर्न सहज छैन, संस्था धेरै ठूलो छ, सबै सम्पत्तिको मुल्याङ्कन गर्न कठिन छ, अहिले यो काम भइरहेको छ,’ उनले भने, ‘प्राधिकरणले इक्रा रेटिङ गरिसकेको छ, रेटिङ सबै सकारात्मक आएको छ, । ट्रान्समिसन वितरण गर्ने हो की हैन भनेर निर्णय गर्न बाँकी छ, सिद्धान्तः आईपीओ निष्काशन गर्नुपर्छ भन्ने हो तर अहिले नै तयारी पुगेको छैन, चालु आर्थिक वर्षमा आईपीओ निष्काशन गर्न कठिन नै छ ।’ प्राधिकरणले यो बीचमा रेटिङ पनि गरेको छ । इक्रा नेपालले प्राधिकरणको क्रेडिट रेटिङ गरी ‘इक्रा एनपी डबल ए प्लस’ स्तरको रेटिङ प्रदान गरेको छ । डबल ए प्लस रेटिङ प्राप्त गर्ने संस्थाको आफ्नो वित्तीय तथा आर्थिक दायित्व समयमै वहन गर्न सक्ने उच्च क्षमता सुरक्षित रहने जनाउँछ । डबल ए प्लस रेटिङ पाउने संस्थासँगको वित्तीय कारोबारमा ज्यादै न्यून ऋण भुक्तानी जोखिम हुने जनाउँदछ । इक्राले प्राधिकरणको वित्तीय अवस्था, सम्पत्ति, व्यवसायिक तथा वित्तीय जोखिमहरुको विश्लेषण, व्यवस्थापकीय क्षमता, सञ्चालन प्रभावकारितामा प्रभाव पार्ने आन्तरिक तथा बाह्य वातावरणीय तत्वहरुलगायतको विश्लेषण गरेको थियो । सोही विश्लेषणका आधारमा प्राधिकरणको क्रेडिट रेटिङ गरिएको हो । आर्थिक वर्ष २०७२/०७३ मा ८ अर्ब ८९ करोड रुपैयाँ घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षहरुमा निरन्तर नाफामा छ । आव २०७३/०७४ मा १ अर्ब ५० करोड रुपैयाँ, आर्थिक वर्ष २०७६/०७७ मा ११ अर्ब ७५ करोड रुपैयाँ पुर्याएको थियो । तर, आव २०७७/०७८ मा घटेर ६ अर्ब १० करोड रुपैयाँमा झरेको थियो । आर्थिक वर्ष २०७७/०७८ मा ६ अर्ब १० करोड रुपैयाँ खुद नाफा आर्जन सफल भएको थियो । प्राधिकरणले आर्थिक वर्ष २०७८/०७९ मा १६ अर्ब ९ करोड रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ । प्राधिकरणको वार्षिक आम्दानी भने १ खर्ब रुपैयाँ नाघेको थियो ।
म्याग्दी–बागलुङ जोड्ने झोलुङ्गे पुल निर्माणकार्य अन्तिम चरणमा
गलेश्वर । म्याग्दीको बेनीनगरपालिका–१ रत्नेचौरबाट छिमेकी बागलुङ जिल्लाको बागलुङ नगरपालिका–४ कुडुले जोड्ने तीन सय ८८ मिटर लामो झोलुङ्गे पुलको निर्माण कार्यअन्तिम चरणमा पुगेको छ । नेपाल सरकारको ‘सस्पेन्सनब्रिज’ डिभिजनले दुई जिल्ला जोड्ने तीन सय ८८ मिटर लामो र एक सय ७० मिटर अग्लो झोलुङ्गे पुलको निर्माण सुरु गरेको हो । एक घण्टाको बाटो पाँच मिनेटमा छोटिने भएको छ । तीन करोडलागतमा बन्ने सो पुल निर्माणको लागि भानीहिमशिखर जेभीले १० महिनामा पुल तयार गर्ने गरी गतवर्षको असोजमा सम्झौता गरेको थियो । सम्झौता मितिको करिब चार महिना ढिला गरी पुल निर्माण सम्पन्न हुनेभएको हो । गतअसार मसान्तभित्र काम सक्ने गरी गत वर्षको कात्तिक ४ गतेबाट पुल निर्माणको काम अगाडि बढेको थियो । रत्नेचौर, ज्यामरुककोट आसपासका क्षेत्रका बासिन्दाले सदरमुकाम बेनी बजारमा भन्दा बागलुङ बजारमा आर्थिक कारोबार लगायतका गतिविधि गर्ने भएकाले पुलले आवतजावतमा झन सहज हुने अपेक्षा गरिएको बेनी नगरपालिका–१, रत्नेचौरका निवर्तमान वडाध्यक्ष टेकबहादुर रावलले बताए । पुल बनेपछि बागलुङको पञ्चकोट, कुँडुलेमा रहेको सालग्राम सङ्ग्रहालयको अवलोकन गर्न आउने धार्मिक पर्यटकलाई सुविधा पुग्नुका साथै रत्नेचौरको खेलमैदान, धौलागिरि क्षेत्रकै सबैभन्दा ठूलो मानवनिर्मित बुढोपोखरीको प्रचारप्रसार हुने स्थानीयवासीको भनाइ छ । पुलको कूललागत तीन करोड ५० लाख रुपैयाँ रहेको छ । पुल निर्माण गर्नका लागि बानपा ४ कुँडुले निवासी जयलाल सापकोटा, इन्द्रशर्मा र पशुपति सापकोटा लगायतले भुजेलचौरको करिब डेढ रोपनी जग्गा उपलब्ध गराएका हुन् । दैनिक सयौँ सर्वसाधारण ओहोरदोहोर गर्ने ठूलो खोला खोँचमा पुल बनेपछि एक घण्टाको पैदलयात्रा ५ मिनेटमै छोटिने स्थानीयवासी युवा विष्णु कार्की क्षत्रीले बताए । रासस
सोमबार घटेको बजारमा दुई कम्पनीमा लाग्यो सर्किट
काठमाडौं । सोमबार सेयर बजार दुई दशमलब ६१ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार सोमबार सेयर बजार दुई दशमलब ६१ अंकले ओरालो लाग्दा अभियान लघुवत्तिको सेयर मूल्य सबैभन्दा धेरैले बढेको छ । आइतबार सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको यस लघुवित्तको सेयर मूल्य सोमबार ९.९९ प्रतिशत अर्थात ७३.४० रुपैयाँले बढेको छ । यस्तै, अर्काे सयपत्री हाइड्राेपावरकाे सेयर मूल्य पनि ९.९६ प्रतिशत अर्थात १९.४० प्रतिशतले बढेकाे छ । सोमबार १६ लाख ३१ हजार ३४९ कित्ता खरिदबिक्री हुँदा ५१ करोड ५८ लाख १८ हजार ९९० रुपैयाँको कारोबार भएको छ ।
शान्ति र सुरक्षा विकास निर्माण तथा सुशासनको आधारशीला : प्रधानमन्त्री देउवा
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार र जनताबीचको सबैभन्दा नजिकको साथीका रुपमा नेपाल प्रहरीले जनताको सुरक्षा र सेवामा आफूलाई समर्पित गरिरहेको बताएका छन् । प्रहरी दिवस २०७९ का अवसरमा प्रहरी प्रधान कार्यालय नक्सालमा आज आयोजित कार्यक्रममा उनले विभिन्न आरोहअवरोहका बीच राष्ट्र र नागरिकको सुरक्षामा समर्पित प्रहरीले शान्ति सुरक्षा र अमनचयन, अपराध नियन्त्रणमा हासिल गरेको उल्लेखनीय उपलब्धि हरेक नेपालीले गर्व गर्न लायक रहेको बताए । ‘नेपाल प्रहरी आजको यस अवस्थामा आइपुग्नुको पछाडि नेतृत्व पङ्क्तिमा रहेका पूर्ववर्ती पदाधिकारीको समर्पण तथा अमर प्रहरीको बलिदानले मुख्य भूमिका खेलेको छ’, उनले भने, ‘करिब सात दशक लामो इतिहास बोकेको प्रहरीले आजको अवस्थामा आइपुग्दा आफूलाई एक व्यावसायिक, दक्ष, अनुशासित र कतव्र्यपरायण राष्ट्रसेवकका रुपमा स्थापित गर्न सफल भएको छ ।’ आन्तरिक तथा बाह्य सुरक्षा, सार्वभौम सत्ताको संरक्षण, जनताको सुरक्षालाई मध्यनजर राख्दै सरकारले मुलुकभर शान्ति, सुरक्षा अमनचयन कायम गर्ने र भयरहित वातावरण निर्माण गर्न जोड दिँदै आएको उनले बताए । ‘शान्ति र सुरक्षा विकास निर्माण तथा सुशासनको आधारशीला हो’, प्रधानमन्त्री देउवाले भने । उनले आफ्नो जीउज्यानको प्रवाह नगरी तोकिएको जिम्मेवारी पूरा गर्न अहोरात्र खटिने प्रहरीको योगादनको उच्च प्रशंसा गरे । ‘आपतविपत्मा परेका नागरिकले सर्वप्रथम सम्झने भनेकै प्रहरीलाई हो । अशक्त, असहाय जोखिममा परेका, अपराधबाट पीडित बनेका नागरिकको साथी र उद्धारकर्ता नेपाल प्रहरी नै हो, सम्पूर्ण नागरिकको भरोसाको केन्द्र नै प्रहरी हो’, उनले भने । प्रधानमन्त्री देउवाले २०७२ सालको विनाशकारी महाभूकम्पदेखि विश्वव्यापी महामारी कोरोना सङ्क्रमण, प्राकृतिक प्रकोप, विपद्का कुनै पनि घटनामा नागरिकको उद्धारका लागि प्रहरी, चिकित्साकर्मीले अग्रपङ्क्तिमा रहेर निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताए । प्रधानमन्त्री देउवाले भने, ‘नेपाल प्रहरीको कार्यसम्पादन क्षमताको देशभित्र मात्रै होइन विदेशमा पनि प्रशंसा हुँदै आएको छ । कार्यसम्पादनका क्रममा नेपाल प्रहरीले प्रदर्शन गरेको उच्च व्यावसायिकताले नै प्रशंसा आर्जन गर्न सफल भएको हो ।’ अन्तर्राष्ट्रिय शान्ति सुरक्षाप्रति नेपालको प्रतिबद्धतालाई शीरोधार्य गरी संयुक्त राष्ट्र सङ्घीय शान्ति मिसनमा प्रहरीका जवान र अधिृकत परिचालित रहेको जनाउँदै उनले आगामी दिनमा शान्ति मिसनमा नेपाल प्रहरीका कर्मचारीको सहभागिता र प्रतिनिधित्व बढाउन सरकार सकारात्मक रहेको बताउनुभयो । उनले प्रहरीको सबै सेवालाई प्रविधिमैत्री बनाउन निर्देशन दिए । ‘आजको युग सूचना र प्रविधिको युग हो । परम्परागत पद्धतिलाई समयानुकूल बनाउँदै सूचना र प्रविधिले सुसज्जित तुल्याउँदै सङ्गठनको प्रभाकारिता बढाउनुपर्नेछ’, उनले भने । अपराध नियन्त्रण र अनुसन्धानको मूल जिम्मेवारी प्रहरीको भएको जनाउँदै उनले प्रहरीले आफ्नो मूल दायित्व इमान्दारिताका साथ निर्वाह गरेमात्र राष्ट्रको शान्तिसुरक्षा मजबुद हुँदै जाने विश्वास व्यक्त गरे । उनले निष्ठावान् तथा पूर्णव्यावसायिक भई कसैको दबाब वा प्रभावमा नपरी प्रचलित ऐन नियमले दिएको अधिकार प्रयोग गरी आफ्नो जिम्मेवारी पूरा गर्न सकल दर्जालाई निर्देशन दिए । प्रहरीको कर्तव्यपरायणता र समस्याप्रति आफू जानकार रहेको उनको भनाइ थियो । सीमित स्रोतसाधन र कठिनाइका बीच प्रहरीले अब्बल क्षमता प्रदर्शन गर्दै आएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले स्रोतसाधनयुक्त बनाई उचित तालिम दिनसकेमा प्रहरीले अझ उत्कृष्ट परिणाम दिन सक्नेमा कुनै शङ्का छैन भने । ‘गौरवमय इतिहास बोकेको नेपाल प्रहरीलाई आगमी दिनमा थप आधुनिक, व्यावसायिक, स्रोत र साधनले सम्पन्न बनाउन सरकार प्रतिबद्ध छ’, प्रधानमन्त्री देउवाले भने । प्रहरीलाई आधुनिकीकरण र सुदृढीकरण गर्न सरकारले प्राथमिकता दिँदै आएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिइने विश्वास उनले दिलाए । नेपाल प्रहरीको सबै कर्मचारीको वृत्तिविकासलाई समयानकूल सुधार गरी सक्षम प्रहरी सङ्गठन निर्माणमा सबैको ध्यान जानुपर्नेमा जोड दिँदै उनले यसका लागि आवश्यक योजना बनाउन गृह मन्त्रालयलाई निर्देशन दिए । स्थानीय तहको निर्वाचन शान्तिपूर्ण र निष्पक्ष वातावरणमा सम्पन्न गराउन नेपाल प्रहरीले खेलेको भूमिका प्रशंसनीय रहेको जनाउँदै प्रधानमन्त्री देउवाले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गराउन कुनै कसर बाँकी नराख्ने विश्वास व्यक्त गरे । गृहमन्त्री बालकृष्ण खाणले नागरिकको जीउधनको रक्षा गर्ने राज्यको पहिलो कर्तव्य पालना गर्न नेपाल प्रहरीले स्थापनाकालदेखि भूमिका निर्वाह गर्दै आएको बताए । सीमित स्रोतसाधनका बीच प्रहरीले जनताको सुरक्षा गर्दै आइरहेको जनाउँदै उनले भूकम्प, कोरोना महामारी र प्राकृत्तिक विपत्तिमा उद्धार तथा राहतमा खेलेको भूमिका प्रशंसनीय रहेको बताए । ‘सीमित साधनस्रोतका बीच सरकारले खटाएको स्थान तथा नागरिकलाई अप्ठ्यारो परेको अवस्थामा तत्काल प्रहरी पुग्ने गरेको छ, यसले जनताको रक्षा गर्न महत्वपूर्ण सहयोग पुगेको छ’, उनले भने । आपराधिक गतिविधिमा नयाँ आयाम थपिएको र आपराधिक गतिविधिमा प्रविधिको प्रयोगले सुरक्षा चुनौती थपेको उल्लेख गर्दै गृहमन्त्री खाणले प्रहरीको क्षमता अभिवृद्धि गर्न मन्त्रालयले तत्पर रहेको बताए । ‘प्रहरीको क्षमता अभिवृद्धि तथा मनोबल बढाउन, प्रहरी कर्मचारीको परिवारको जीवनयापन सहज बनाउन सरकारले काम गरिरहेको छ’, उनले भने, ‘प्रहरी जवान तथा जुनियर अधिकृतको मनोबल बढाउन वृत्तिविकासमा महत्वपूर्ण निर्णय भएका छन् ।’ प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले जनता तथा राष्ट्रको सुरक्षा, विश्वव्यापी महामारी, प्राकृतिक विपत्तिलगायत अवस्थामा खेलेको भूमिकाले प्रहरीको विश्वसनीयता बढेको बताउनुभयो । गत वैशाखमा स्थानीय तहको निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न गरिएको उल्लेख गर्दै उनले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन कटिबद्ध रहेको बताए । नेपालमा अपराध गरी विदेशमा लुकेर बसेका व्यक्तिलाई ‘इन्टरपोल’को सहायतामा नियन्त्रणमा लिइएको जनाउँदै उनले अघिल्लो आवको तुलनामा गत आवमा आपराधिक घटनाको दर्ता १७ प्रतिशतले बढे पनि कर्तव्य मुद्दाको सङ्ख्या घटेको उनको भनाइ थियो । कार्यक्रममा प्रधानमन्त्री देउवाले कर्तव्यपालनाका सिलसिलामा वीरगति प्राप्त गरेका प्रहरी कर्मचारीका एक छात्र/एक छात्रालाई ‘अच्युत–मीना अमर प्रहरी परिवार पुरस्कार तथा छात्रवृत्ति’ प्रदान गरेका थिए । प्रधानमन्त्रीले नेपाल प्रहरीको विशेष ब्युरोमा कार्यरत प्रहरी उपरीक्षक सन्तोष खड्कालाई ‘मोतिलाल बोहोरा सर्वोत्कृष्ट अनुसन्धानकर्ता पुरस्कार’, ‘अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक राजेन्द्रबहादुर सिंहलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ र अन्तर प्रदेश प्रहरी कार्यदक्षता मूल्याङ्कनमा उत्कृष्ट हुने १ नं प्रदेश प्रहरी कार्यालय विराटनगरलाई ‘पुलिस व्याटन’ प्रदान गरे’ । कार्यक्रममा प्रधानमन्त्री देउवाले प्रहरी दर्पण २०७९ को लोकार्पण तथा अमर प्रहरीका आश्रित परिवारलाई कदरपत्र प्रदान गरेका थियो । सो अवसरमा प्रधानमन्त्री देउवाले अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गरेका थिए । रासस
कुमारी बैंकको साधारण सभा कात्तिक २१ गते हुने
काठमाडौं । कुमारी बैंकको साधारण सभा कात्तिक २१ गते हुने भएको छ । असोज ३० गते बसेको बैंक सञ्चालक समितिको बैठकले कात्तिक २१ गते सोमबार साधारण सभा गर्ने निर्णय गरेको हो । बैंकले सेयरधनीलाई १२.५० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ । प्रस्तावित लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीकृत गरिसकेको छ । उक्त लाभांश बैंकको वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै सेयरधनीले पाउने छन् । हाल कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकबीच मर्जर प्रकृया अघि बढेकोले असोज ११ गतेदेखि नै संस्थाको सेयर कारोबार बन्द रहेको छ । नेप्सेमा असोज ११ गतेभन्दा अघिसम्म सेयर कारोबार भएकाले कार्त्तिक १४ गतेभित्र सेयरधनी दर्ता कितावमा दाखिल खारेज नामसारी भई सेयर कायम रहेका सेयरधनीहरु प्रस्तावित लाभांश पाउन योग्य हुने बैंकले जनाएकाे छ ।
युवा व्यावसायिक कृषि पेशामा लागे पनि बजारीकरणमा समस्या
मङ्गलबारे । व्यावसायिक बङ्गुरपालनमा लागेका युवा दिनेश महतको फार्ममा हाल तीन सय बढी बङ्गुर छन् । विसं २०७५ देखि व्यावसायिक बङ्गुरपालन गर्दै आएका महतका फार्ममा उन्नत जातका बङ्गुर रहेका छन् । आधुनिक तरिकाबाट गरिएको बङ्गुरपालनबाट बङ्गुरको सङ्ख्या हाल वृद्धि भएर तीन सय पुगेको छ । कुखुरा र कुखुराका दाना र भेटनरी सञ्चालन गर्दै आएका दिनेश कुखुरासँगै बङ्गुरपालनमा लागेका हुन् । पछिल्लो समय महत जस्तै पशु तथा कृषि पेशामासमेत युवाको आकर्षण बढ्न थालेको छ । केहीले बाख्रापालन त केहीले च्याउ तथा अन्य कृषिजन्य वस्तुको उत्पादनमा लागेका छन् । महतको फार्ममा बङ्गुरको हेरचाहका लागि दुई परिवारलाई रोजगारी दिइएको छ । माँ दुर्गा एग्रीकल्चर एण्ड रिसर्च सेन्टरको नामबाट फार्म दर्ता गरेर व्यावसायिक बङ्गुरपालन थालिएको महतले बताए । बङ्गुरको पाठा जन्मेको ४५ दिनपछि माउबाट छुटाउन सकिने फार्मका कामदार कृष्ण बराइलीले बताए । माउबाट छुटाइसकेपछि बेच्न सकिन्छ ।छिटो वृद्धि र विकास हुने भएपछि पछिल्लो समय उन्नत जातका पाठापाठी खरिद गरेर व्यावसायिक बङ्गुरपालन थालिएको हो । हाल रेन्ड्स, ड्युरो, योगसायर र हेमसायर गरी चार जातका बङ्गुर फार्ममा रहेका छन् । हाल पाठापाठीदेखि दुई सय किलोभन्दा बढीका बङ्गुर रहेका छन् । उत्पादन बढे पनि उहाँको फार्मबाट सोचेजस्तो आम्दानी भने नभएको सञ्चालक महतको भनाइ छ । ‘यहाँ उत्पादन भएको बङ्गुर लोकल बजारमा बिक्रीवितरण भइरहेको छैन’, उनले भने,’हेर्दा उस्तै देखिए पनि सुँगुर र बङ्गुरमा उपभोक्ताले खानमा सुँगुर नै रुचाउने भएकाले स्थानीय बजारमा यसको खपत कम हुन्छ ।’ स्थानीय बजारमा बिक्री नभएको र बाहिरसमेत बङ्गुर बिक्री नभएपछि समस्या भएको महतको भनाइ छ । प्याकेजिङ गरेर बाहिर निर्याततर्फ पनि सरकारले उचित सहयोग गर्नुपर्ने किसानको माग छ । सरकारले पछिल्लो समय कृषिमा अनुदानको कार्यक्रम ल्याए पनि बजारीकरणमा ध्यान दिन नसकेको उनको भनाइ छ । किसानले मेहनतका साथ उत्पादन गरेका कृषिउपज बिक्रीवितरणमा सरकारले सहजीकरण गरिदिनुपर्ने उनको माग छ । लामो समय मेहनत गरेपछि मात्र बिक्रीवितरण गरेर आम्दानी लिन सकिने कृषि क्षेत्रमा सरकारले मोटो रकम विनियोजन गर्ने गरेको छ । तर, गर्नैपर्ने ठाउँ पर्याप्त गर्न नसक्दा किसानको गुनासो बढी रहेको छ । कोरोनाकालको लकडाउन र कामको विकल्प खोज्ने युवाको रोजाइमा परेको कृषि पेशाप्रति उत्तिकै आकर्षण जाग्न थालेको युवाको भनाइ छ । तर, उत्पादन गरेको वस्तु बिक्री नहुँदा किसान चिन्तितसमेत भएका छन् । अनुदानसँगै उत्पादित वस्तुको बजारीकरणमा समेत स्थानीय सरकार लाग्नुपर्ने किसानको भनाइ छ । रासस
तनहुँमा आठ सयलाई ज्येष्ठ नागरिक परिचय पत्र वितरण
तनहुँ । म्याग्दे गाउँपालिकाले आठ सय बढीलाई ज्येष्ठ नागरिक परिचय पत्र वितरण गरेको छ । गाउँपालिका कार्यालयले असोज १ गतेदेखि थालेको एकीकृत घुम्ती शिविरमार्फत आठ सय २५ जनालाई उक्त परिचय पत्र वितरण गरेको हो । त्यसैगरी शिविरबाट दश जना अपाङ्गता भएकालाई अपाङ्गता परिपचपत्र वितरण गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए । वडासम्म गएर सेवा लिन असर्मथ भएको अवस्थामा अपाङ्गतालाई घरमा नै गएर परिचयपत्र प्रदान गर्ने व्यवस्था मिलाइएको उनले बताए । म्याग्दे–७ समिभञ्ज्याङ्गका रामबहादुर थापाले टोल र घरसम्म आएर ज्येष्ठ नागरिक परिचयपत्र पाउँदा असाध्यै खुुसी लागेको बताए । वडा कार्यालय टाढा पर्ने र वृद्धावस्थामा हिँडेर जान नसक्ने भएको हुँदा यो शिविरले धेरै ठूलो राहत दिएको उनले बताए । शिविरमा महिला स्वास्थ्य सेवाअन्तर्गत महिलाको पाठेघर परीक्षण र देखापरेका स्वास्थ्य समस्याको उपचार, व्यवस्थापन प्रेशण एवं परामर्श सेवा प्रदान गरिएको गाउँपालिका कार्यालयले जनाएको छ । परिवार नियोजन परामर्श सेवा, कोभिड–१९ विरुद्धको पहिलो, दोस्रो र अतिरिक्त मात्रा खोप सेवा, आयुर्वेद सेवा, स्वास्थ्य बीमा सेवा घुम्ती शिविरवाट उपलब्ध गराइएको छ । त्यसैगरी घुम्ती शिविरमा बहिरङ सेवाअन्तर्गत बिरामीको स्वास्थ्य परीक्षण, उपचार तथा औषधि वितरण गरिएको छ । प्रयोगशाला सेवाअन्तर्गत रगतमा ग्लुकोजको परीक्षण, खकार परीक्षणका लागि नमूना सङ्कलन, औलो रोगको परीक्षण हुनेछ । जन्म, मृत्यृ, बसाइँसराइ, एवं सम्बन्धविच्छेद लगायतका दर्ता गरिएको छ । प्रशासन शाखाअन्तर्गत व्यवसाय दर्ता, राजस्व सङ्कलन, मालपोत तथा भूमिकर सङ्कलन तथा विभिन्न सिफारिस गरिएको छ । किसानलाई बीउबिजन वितरण एवं कृषि अनुदान माग सङ्कलन, पशु सेवा शाखाअन्तर्गत गोबर परीक्षण र नतिजाका आधारमा पशुपक्षीलाई औषधि वितरण, बाख्रा, पाठा एवं बहर बन्ध्याकरण एवं बिरामी पशुको उपचार व्यवस्थापन, योजना शाखाअन्तर्गत उपभोक्तासँग योजना सम्झौता गरिएको छ । असोज ३० गते देखि कात्तिक ४ गतेसम्म हुने दोस्रो चरणको एकीकृत घुम्ती शिविरमा गाउँपालिकाका वडा नं ५, ६ र ७ मा सञ्चालन गर्न लागिएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिए । रासस