आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा प्रदेशको अर्थमन्त्रालय हाँकिरहेका ५ जना मन्त्रीहरु चुनावी मैदानमा उत्रिएका छन् । प्रदेशसभा सदस्य तर्फको निर्वाचनमा ४ जना र प्रतिनिधिसभा सदस्य तर्फको निर्वाचनमा १ जना चुनावी मैदानमा छन् । कर्णाली प्रदेशकी अर्थमन्त्री कृष्ण शाह आचार्य र लुम्बिनी प्रदेशका अर्थमन्त्री कृष्णध्वज खड्काले भने कुनै पनि तहको चुनावका लागि टिकट प्राप्त गर्न सकेनन् । बाँकी मैदानमा उत्रिएका प्रदेशका अर्थमन्त्रीहरुमध्ये क–कसले बाजी मार्लान ?
इन्द्रबहादुर आङ्बो ‘मौसम’
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का पोलिटब्युरो सदस्य तथा प्रदेश नम्बर १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो मौसमले पाँचथर जिल्लाको प्रदेश ख बाट प्रदेश सभा सदस्यका लागि चुनावी मैदानमा उत्रिएका छन् । आङ्बोले ०७४ सालमा भएको निर्वाचनमा सोही क्षेत्रबाट १६ हजार ९ सय ८ मत प्राप्त गरेर बिजयी भएका थिए भने निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेशका उम्मेदवार शुरेन्द्रकुमार दहालले १२ हजार १ सय १७ मत हासिल गरेका थिए ।
०७४ सालमा भएको निर्वाचनमा आङ्बो तत्कालिन बामगठबन्धनको तर्फबाट उम्मेदवार बनेका थिए भने आगामी मंसिरमा हुने निर्वाचनमा सत्तारुढ गठबन्धनको तर्फबाट उम्मेदवार बनेका छन् । यसपटक आङ्बोको प्रतिस्पर्धा नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा पाँचथरका सहइन्चार्ज अइन्द्रसुन्दर नेम्वाङबीच हुने भएको छ ।
पाँचथरको प्रदेश सभा क्षेत्र नम्बर ‘ख’ मा फिदिम नगरपालिकाको वडा नम्बर ५, ६ र ९, फाल्गुनन्द, कुम्मायक, तुम्बेवा र मिक्लाजुङ गाउँपालिका पर्दछन् । गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा पाँचथरको प्रदेश ‘ख’ मा पर्ने फिदिम नगरपालिकाको वडा नम्बर ५ र ९ मा नेपाली कांग्रेसले विजय हासिल गरेको छ भने वडा नम्बर ६ मा स्वतन्त्रले बिजय हासिल गरेको छ ।
त्यस्तै, सोही प्रदेश क्षेत्र अन्तर्गत पर्ने ५ वटा वडा रहेको कुम्मायक गाउँपालिकाको प्रमुख पदमा नेपाली कांग्रेशले बिजयी हासिल गरेको छ भने वडा ३ वटा वडामा एमाले र बाँकी २ वटा वडामा नेकपा(एस) र जनता समाजवादीले १/१ ठाउँमा विजय हासिल गरेका छन् । तुम्वेवा गाउँपालिकाको प्रमुख सहित ३ वटा वडा नेपाली कांग्रेसले विजय हासिल गरेको छ भने १/१ वडामा एमाले र माओवादीले विजय हासिल गरेका छन् । सोही प्रदेश निर्वाचन क्षेत्रमा पर्ने मिक्लाजुङ गाउँपालिकाको प्रमुख सहित ४ वटा वडामा माओवादीले विजय हासिल गरेको छ भने २ वडामा कांग्रेस, १ वडामा एमाले र १ वडामा स्वतन्त्रले विजय हासिल गरेका छन् ।
गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा सो क्षेत्रमा पर्ने पालिकाहरु अन्तर्गत वडास्तरमा भएको बिजयलाई आधार मान्दा सत्ता गठबन्धनको बहुमत देखिन्छ । तर, मत व्यक्तिगत आकर्षणमा पनि विभाजित भएको प्रवृत्तिलाई हेर्दा सत्ता गठबन्धनका साझा उम्मेदवार बनेका आङ्बो र नेम्वाङबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ । प्रतिनिधिसभाको एकमात्र निर्वाचन क्षेत्र रहेको सो जिल्लाबाट प्रतिनिधिसभा सदस्यको लागि भने एमालेका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री बसन्तकुमार नेम्बाङ र नेपाली कांग्रेसबाट सहमहामन्त्री भिष्मराज आङदेम्बेबीच एकमात्र निर्वाचन क्षेत्र रहेको पाँचथर जिल्लामा भिडन्त हुने भएको हो । कांग्रेस, नेकपा एस, माओेवादी केन्द्रको तर्फबाट आङदेम्बे र एमालेका तर्फबाट नेम्बाङ चुनावी मैदानमा उत्रिएका छन् ।
शैलेन्द्र प्रसाद साह
मधेस प्रदेशका अर्थमन्त्री शैलेन्द्र प्रसाद साह सप्तरी निर्वाचन क्षेत्र नम्बर २ ‘क’ बाट प्रदेश सभा सदस्यको लागि उम्मेदवार बनेका छन् । ०७४ सालमा भएको निर्वाचनमा सोही क्षेत्रबाट उनले १० हजार ५ सय ७७ मत ल्याएर विजय भएका थिए भने उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका सरोजकुमार मण्डलले ७ हजार ५ सय ९३ मत प्राप्त गरेका थिए ।
आगामी मंसिरमा हुने प्रदेशसभाको निर्वाचनमा पनि साहले पुरानै प्रतिस्पर्धी तर हाल लोसपाबाट उम्मेदवार बनेका सरोजकुमार मण्डल र जनमत पार्टीका उम्मेद्वार शतिसकुमार सिंहसँग प्रतिस्पर्धा गर्दैछन् ।
सप्तरी निर्वाचन क्षेत्र नम्बर २ प्रदेश ‘क’ क्षेत्रमा तिलाठी कोइलाडी गाउँपालिका र छिन्नमस्ता गाउँपालिका पर्छन् । गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा तिलाठी कोईलाडी गाउँपालिकाको प्रमुख सहित १ वटा वडामा नेपाली कांग्रेसले विजयी हासिल गरेको छ । त्यस्तै, जसपाले ४, जनमत पार्टीले १, माओवादीले १ र लोसपाले १ वडामा विजय हासिल गरेका छन् ।
सोही प्रदेश निर्वाचन क्षेत्रभित्र पर्ने छिन्नमस्ता गाउँपालिकामा गाउँपालिकाको प्रमुखमा लोसपाले विजय हासिल गरेको छ भने एमाले २, माओवादी २, जसपा र जनमतले १/१ वडामा विजय हासिल गरेका थिए ।
गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनलाई आधार मान्दा मंसिरमा हुने त्रिपक्षीय चुनावी प्रतिस्पर्धामा एमाले जसपा गठबन्धन बलियो देखिन्छ । सत्ता गठबन्धनबाट समर्थन पाएका लोसपाका उम्मेदवार सरोजकुमार मण्डलको दोस्रो प्रतिस्पर्धा भएकाले चुनाव भने थप प्रतिस्पर्धात्मक हुने अनुमान गर्न सकिन्छ ।
शालिकराम जम्मरकट्टेल
बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मरकट्टेल मंसिर ४ मा हुने प्रदेशसभाको निर्वाचनमा धादिङ जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ ‘ख’ बाट उम्मेदवारी दिएका छन् । ०७४ सालको निर्वाचनमा पनि जम्मरकट्टेलले सोही क्षेत्रबाट विजय हासिल गरेका थिए ।
०७४ सालको निर्वाचनमा उनले २३ हजार ३ सय ८२ मत ल्याएर विजयी भएका थिए भने उनका निकटत प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रभात किरण सुवेदीले १० हजार ४ सय ७ मत प्राप्त गरेका थिए । अहिले जम्मरकट्टेलले एमालेका उम्मेदवार गजेन्द्र प्रसाद थपलियासँग मुख्य प्रतिस्पर्धा गर्दैछन् भने अन्य पार्टी र स्वतन्त्रहरुबाट पनि आधा दर्जन बढीको उम्मेदवारी रहेको छ ।
धादिङ को निर्वाचन क्षेत्र नम्बर १ ‘क’ मा गजुरी गाउँपालिका, बेनिघाट रोराङ गाउँपालिका र सिद्धलेक गाउँपालिका पर्छन् । गत वैशाखमा भएको निर्वाचनमा माओवादीले गजुरी गाउँपालिकाको प्रमुख सहित ५ वटा वडामा विजय हासिल गरेको छ भने कांग्रेसले ३ वटा वडामा विजय हासिल गरेको छ । सो पालिकामा एमालेले भने कुनै वडामा विजय हासिल गर्न सकेन ।
सोही प्रदेश निर्वाचन क्षेत्रमा पर्ने बेनीघाट रोराङ गाउँपालिकामा गत वैशाखमा भएको निर्वाचनमा माओवादीले प्रमुख सहित ६ वटा वडामा विजय हासिल गरेको थियो भने कांग्रेसले २ र एमालेले २ वडामा विजय हासिल गरेको छ । त्यस्तै सोही प्रदेशको निर्वाचन क्षेत्रमा पर्ने सिद्धलेक गाउँपालिकामा प्रमुख सहित नेपाली कांग्रेसले २, एमालेले ३ र माओवादीले २ वडामा विजय हासिल गरेको छ । गत वैशाखमा भएको स्थानीय निर्वाचनलाई आधार मान्दा अहिलेको सत्ता गठबन्धनको उम्मेदवार जम्मरकट्टेललाई सो प्रदेशसभा सदस्यको लागि सो निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गर्नका लागि सहज हुने देखिन्छ ।
रामजी प्रसाद बराल ‘जीवन’
गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बराल ‘जीवन’ ले आगामी मंसिरमा हुने प्रतिनिधिसभाको निर्वाचनमा कास्की निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यको लागि उम्मेदवार बनेका छन् । त्यस्तै सो निर्वाचन क्षेत्रमा एमालेको तर्फबाट दामोदर बैरागी प्रतिस्पर्धाको रुपमा रहेका छन् । बराल सत्ता गठबन्धनको तर्फबाट संयुक्त उम्मेदवार हुन् । सो निर्वाचन क्षेत्रमा ०७४ सालमा भएको प्रतिनिधिसभाको निर्वाचनमा बाम गठबन्धनको तर्फबाट एमाले उम्मेदवार जगत विश्वकर्माले ३२ हजार ६ सय ९० मत ल्याएर विजयी भएका थिए भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका शुक्रराज शर्माले २४ हजार ३ सय ४ मत प्राप्त गरेका थिए ।
सो निर्वाचन क्षेत्रमा अन्नपुर्ण गाउँपालिका, माछापुछ«े गाउँपालिका र पोखरा महानगरपालिकाका वडा नम्बर १, २,३, ५, ६, १८, १९, २२, २३, २४ र २५ नम्बर वडाहरु पर्छन । गत वैशाखमा भएको निर्वाचनमा अन्नपुर्ण गाउँपालिकाको प्रमुख सहित ६ वटा वडामा एमालेले विजय गरेको छ भने बाँकी वडामा कांगे्रसले विजय हासिल गरेको छ । सोही निर्वाचन क्षेत्रमा पर्ने माछापुच्छ्रे गाउँपालिकाको प्रमुख सहित नेपाली कांग्रेसले ७ वडामा विजय हासिल गरेको छ भने एमालेले १ र माओवादीले १ वडामा विजय गरेका छन् ।
त्यस्तै गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा कास्कीको निर्वाचन क्षेत्र नम्बर ३ मा पर्ने पोखरा महानगरपालिकाको ११ मध्ये ७ वटा वडामा कांग्रेसले विजय हासिल गरेको छ भने ३ वटा वडामा एमालेले र एक वडामा स्वतन्त्रले विजय हासिल गरेको छ । स्थानीय तहको निर्वाचनलाई आधार मान्दा सत्ता गठबन्धन र एमाले अवस्था प्रतिस्पर्धात्मक देखिन्छ । माओवादी पार्टीको तर्फबाट उम्मेदवार भएका बराललाई सो क्षेत्रमा आफ्नै पार्टीको आधार बलियो नभएको हुँदा निर्वाचनमा बिजय हासिल गर्न चुनौतीपूर्ण हुने देखिन्छ ।
प्रकाश रावल
सुदुरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाश रावलले आगामी मंसिर ४ गते हुने निर्वाचनमा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ ‘क’ बाट उम्मेदवारी दिएका छन् । २०७४ मा भएको प्रदेश सभा सदस्य निर्वाचनमा पनि रावल सोही क्षेत्रबाट १२ हजार ८ सय १७ मत ल्याएर विजयी भएका थिए । त्यस्तै उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका यज्ञराज जोशीले १२ हजार ७ सय ५४ मत ल्याएका थिए ।
कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ ‘क’ मा भिमदत्त नगरपालिकाको १ देखि १०, १७ र १९ नम्बर वडाहरु पर्छन् । त्यस्तै बेदकोट नगरपालिकाको वडा नम्बर ८ पर्छ ।गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा भिमदत्त नगरपालिकाको १ देखि १० मध्येका ९ र ७ बाहेकका वडाहरुमा कांग्रेसले विजय हासिल गरेको छ । त्यस्तै भिमदत्त नगरपालिकाको वडा नम्बर ८ मा पनि नेपाली कांग्रेसले विजय हासिल गरेको छ ।
देशैभरी चुनावी गठबन्धन गरेको नेकपा (एस)को कञ्चनपुरमा भने गठबन्धन हुन सकेको छैन । रावलको क्षेत्रमा काँग्रेस–माओवादी गठबन्धनका उम्मेदवार टेकेन्द्रप्रसाद भट्ट र एमाले–राप्रपाका उम्मेदवार धर्मराज जोशी उनको प्रतिस्पर्धीको रुपमा रहेका छन् । मन्त्री कायमै रहेका र विगतको राजनीतिक प्रभाव भएतापनि रावललाई अन्य चुनावी गठबन्धनसँग प्रतिस्पर्धा गर्न निकै कठिन हुने देखिन्छ । त्यस्तै आगामी मंसिरमा हुने निर्वाचनमा लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कृष्णध्वज खड्का र कर्णाली प्रदेशकी आर्थिक मामिला तथा योजना मन्त्री कृष्ण साह आचार्यले भने टिकट पाउन सकेनन् ।