काठमार्डौं । स्थानीय मतदाताले नवलपरासी पश्चिमको प्रतिनिधिसभा क्षेत्र नम्बर १ का उम्मेदवार उद्योगपति विनोद चौधरीबाट पनि कुनै अपेक्षा नगरेको बताएका छन् ।
अहिलेसम्म निर्वाचनबाट जितेर सांसद भएकाहरुले नगरेको र सत्तारुढ गठबन्धनको तर्फबाट सो क्षेत्रमा उम्मेदवारी दिएका उद्योगपति चौधरीबाट पनि केही होला भन्ने आशा नगरेको उनीहरुको भनाई छ ।
स्थानीय बैदनाथ खरालले अहिलेसम्म कसैले कही नगरेकाले चौधरीले पनि गर्नुहोला भन्ने नलागेको प्रतिक्रिया दिए । न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा उनले अब जितेर जाने सांसदले बाटोको आवश्यक व्यवस्था मिलाई दिए हुने अपेक्षा समेत गरे । उद्योगपति चौधरीले चाहेमा आफ्नो क्षेत्रको सडक बाटोको २ दिनमै आवश्यक व्यवस्था मिल्ने थियो भन्दै खरालले त्यसका लागि उनमा चाहना हुनुपर्ने बताए ।
‘अब उहाँले केही गर्नु होला भन्ने आशा त छैन । तर आशावादी भई यो बाटो बनाई दिएमा राम्रै हुन्थ्यो । तर गर्नु होला भन्ने आशा छैन हैं फेरी ढुक्कै । उहाँले चाहे २ दिनमा पनि बाटो बनाई दिन सक्नुहुन्छ । यसमा उहाँले चाहनु प¥यो । अहिलेसम्म कसैले गरेका छैनन् । अव कसैले गर्लान भन्ने आशा पनि छैन्,’ खरेलले भने ।
उद्योगपति चौधरीबारे कुनै जानकारी नभएको केही मतदाताले बताएका छन । स्थानीय दिननाथ कँडेलले चिन्दै नचिनेकाले उनीसँगबाट आशा गर्ने ठाउँनै नरहेको बताए । जनतालाई खुशी राख्ने, गरिबलाई हेर्ने, रोजगारी दिने काम गर्न सक्नु हुन्छ कि हुन्न रु त्यो बुझेर मात्रै उनलाई मतदान गर्न सकिने उनको प्रतिक्रिया थियो ।
कँडेलले भने, ‘चिनिएको छैन, जानिएको छैन । चिनिन प¥यो । सबैभन्दा ठूलो कुरा चुनाव जितेर गएर उहाँले के गर्नु हुन्छ ? अनि, हामी जनतालाई के भन्नु हुन्छ ? जनतालाई खुशी राख्न सक्नु हुन्छ कि हुन्न ? रोजगारी दिने, गरिब जनतालाई हेर्ने काम गर्न सक्नु हुन्छ कि हुन्न ? वास्तवमा हामीले उहाँलाई चिनेका पनि छैनौं ।’
नेताहरु व्यक्तिगत स्वार्थका लागि सांसद बन्न चाहेकाले उनीहरुबाट विकास, निर्माणको काममा पनि आशा गर्न सकिने ठाउँ नरहेको केही मतदाताको आरोप थियो । उनीहरुले जनताको पीडा बुझ्ने, सडक बाटा पीच गरिदिने नेतालाई आगामी निर्वाचनमा जनताले मत दिने धारणा समेत राखेका छन ।
नेपाली काँग्रेसले उद्योगपति चौधरीलाई सो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ । तर, जनताले भने उहाँबाट पनि अपेक्षा गर्ने ठाउँ नरहेको बताएका छन । विगतमा त्यस क्षेत्रबाट सांसद बनेकाहरुले केही नगरेकाले अव बन्ने सांसदले पनि केही नगर्ने स्थानीय मतदाताको बुझाई छ ।
उद्योगपति चौधरी एमालेको समेत समर्थनमा उम्मेदवार बनेका जनता प्रगतिशील पार्टीका नेता एवम् पूर्वमन्त्री हृदयेश त्रिपाठीसँग चुनावी प्रतिस्पर्धा गर्दै छन् । राजनीतिक पृष्ठभूमिका त्रिपाठी र व्यापारिक पृष्ठभूमिका चौंधरीबीचको चुनावी प्रतिस्पर्धा रोचक हुने अनुमान गरिएको छ ।