विकासन्युज

आयोगले निर्वाचन केन्द्रित गलत सूचना प्रवाहलाई अनुगमन गर्ने, मेटासँग गर्यो सहकार्य

काठमाडौं । निर्वाचन आयोगले सामाजिक सञ्जालमा हुने निर्वाचन केन्द्रित गलत सूचना प्रवाहलाई सामाजिक सञ्जाल मेटामार्फत अनुगमन र नियमन गर्ने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन केन्द्रित भएर सामाजिक सञ्जालमा हुने प्रचारप्रसार तथा खर्चलाई मेटामार्फत अनुगमन गरिने जानकारी दिएका हुन् । उनले आयोगले सामाजिक सञ्जालबाट हुने असामाजिक, अमर्यादित चरित्र, चिन्तन र क्रियाकलापलाई उपयोगी, आवश्यक र मर्यादित बनाउनका लागि मेटासँग सहकार्य गरिएको बताए ।  ‘सामाजिक सञ्जालमार्फत निर्वाचनको स्वच्छतालाई प्रभाव पार्न दिइने छैन,’ उनले भने सामाजिक सञ्जालमा निर्वाचन केन्द्रित मिथ्या तथा भ्रमपूर्ण सामग्री प्रशारण हुन नदिनका लागि मेटासँगको सहकार्य गरिएको उल्लेख गर्दै यसलाई आयोगले सामाजिक सञ्जाललाई नियन्त्रण गर्न खोज्यो भन्ने ढंगले नबुझ्न पनि उनले आग्रह गरे । प्रमुख निर्वाचन आयुक्त थपलियाले राजनीतिक दलहरुले निर्वाचन प्रचारप्रसारका लागि सामाजिक सञ्जालमा गर्ने खर्चको पनि आयोगले निगरानी तथा अनुगमन गर्ने र सीमा उल्लंघन भएको पाए कारवाही गर्ने पनि बताए । ‘उम्मेदवारहरुले निर्वाचन खर्च विवरण नबुझाउने र बुझाएपनि एकातर्फ भएको खर्च अर्कोतर्फ देखाउने गरेका छन्, आयोगले त्यस्ता कामलाई नियन्त्रण गर्छ,’ उनले भने ।  

निर्यात सुरु गरेसँगै पूर्ण क्षमतामा चल्ने तयारीमा अर्घाखाँची र श्री स्टील

काठमाडौं । कोरोना महामारीले नेपाली अर्थतन्त्रमा परेको नकारात्मक प्रभावका कारण नेपाली उद्योग तथा व्यवसायिक क्षेत्रहरु विगतको अवस्थामा सञ्चालन हुन सकेका छैनन् । बैंकिङ क्षेत्रमा लगानीयोग्य पुँजीको अभावको कारण पछिल्लो समयमा व्यवसायिक तथा निजी घरजग्गाको कारोबार न्यून भएको विभिन्न तथ्यांकहरुले देखाएका छन् । बैंकमा पैसा नभएकै कारण सर्वसाधारणले देखि उद्योग व्यवसाय विस्तारका लागि पनि बैंकबाट पैसा पाउने अवस्था छैन । बैंकिङ क्षेत्रमा लगानीयोग्य पुँजीको अभाव भएकै कारण त्यसको प्रत्यक्ष असर नेपाली सिमेन्ट तथा छड उद्योगहरुमा पनि परेको छ । उत्पादन क्षमताको अभावका कारण उद्योगहरु पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन् । सरकारले चालु आर्थिक वर्षको बजेटमा निर्यातयोग्य उद्योगहरुलाई अनुदान उपलब्ध गराउने नीति ल्याएसँगै केही सिमेन्ट तथा छड उद्योगहरुले आफ्नो उत्पादन निर्यात गर्न थालेका छन् । निर्यात प्रारम्भसँगै उद्योगहरु अब पूर्ण क्षमतामा चल्न सक्ने आसा रहेको उद्योगी व्यवसायीहरु बताउँछन् । असारको अन्तिम साता तानसेन सिमेन्टले भारतमा निर्यात सुरु गर्यो । गत साउन ४ गतेबाट श्री स्टील्स प्राइभेट लिमिटेडले भारतमा टिएमटी छडको निर्यात सुरु गरेको थियो । श्री स्टील्सले भारतको उत्तर प्रदेशमा निर्यातको पहिलो दिन ३५ टन छडको निर्यात गर्यो । कम्पनीले आइएसआई सर्टिफिकेट पाएपछि पेपर प्रकृया पुरा गर्नको लागि मात्रै सो स्टील निर्यात गरेको थियो । तर, त्यसपछि भने नियमित निर्यातको कार्य नभएको सिद्धार्थ ग्रुपका म्यानेजिङ डाइरेक्टर राजेशकुमार अग्रवालले बताए । भारतीय व्यवसायीहरुले तिहारपछिमात्रै स्टीलको माग गरेकोले अहिले निर्यात नियमित नभएको उनको भनाइ छ । श्री स्टील उद्योगको दैनिक उत्पादन क्षमता ८ सय टन रहेको छ । तर, बजारमा माग नभएकाले उद्योगले अहिले २ सय टनको हाराहारीमा मात्रै उत्पादन गरिरहेको छ । अग्रवालका अनुसार अहिले बजारमा दैनिक जम्मा १ सय टन छडको बिक्री भइरहेको छ । सरकारले निर्यातमा उपलब्ध गराउने भनेको ८ प्रतिशतले केही राहत हुने भएपनि प्रयाप्त भने नभएको उनको भनाइ छ । निर्यातमा प्रतिस्पर्धा सहज नभएको अग्रवालको भनाइ छ । ‘भारतमा पनि पहिलेभन्दा माग घटेको अवस्था छ, सरकारले उपलब्ध गराउने ८ प्रतिशतले हामी केही गर्न सक्छौं भन्ने हो’ उनले भने । भारतबाट कच्चा पदार्थ ल्याएर भारतमा नै निर्यात गर्दा भारतमा भन्दा स्वभाविक रुपमा महँगो हुने उनी बताउँछन् । ‘हामीले सबै कच्चा पदार्थ बाहिरबाट ल्याउनु पर्ने र कोइला दक्षीण अफ्रिकादेखि ल्याउनपर्दा भारतमा भन्दा स्वभाविक रुपमा महँगो हुन्छ,ं भारतबाट नेपालमा कच्चा पदार्थ ल्याएर भारतमा नै बेच्दा स्टीलको प्रतिकेजी ६ प्रतिशत भाडा बढी लाग्छ’ उनले भने । त्यस्तै, अर्घाखाँची सिमेन्ट लिमिटेडले असोज ३१ गते ‘अर्घाखाँची’ ब्राण्डको सिमेन्ट भारत निर्यात गरेको छ । सो उद्योगले पहिलो दिन भारतको युपी सहरमा २ हजार बोरा सिमेन्ट निर्यात गरेको थियो । अर्घाखाँची सिमेन्टले प्रतिबोरा २ सय ६५ रुपैयाँ भारुमा सिमेन्ट भारत निर्यात गरेको जनाएको छ । अर्घाखाँची सिमेन्टको दैनिक उत्पादन क्षमता ४ हजार मेट्रिक टन रहेको छ । तर, बजारमा मागको अभावको कारणले विगत ९० दिनमा ३० दिन पनि उद्योग सञ्चालन हुन नसकेको कम्पनीका निर्देशक राजेश अग्रवाल बताउँछन् । कम्पनीले नेपाली बजारमा सम्पूर्ण कर सहित कम्पनीले ४ सय ९० रुपैयाँमा सिमेन्ट बिक्री गरिरहेको उनको भनाइ छ । सिमेन्ट छड भनेको ब्राण्डमा आधारित विषय भएकाले भारतमा स्थापित उद्योगहरुसँग प्रतिस्पर्धा गर्ने कुरा गाह्रो हुने भएपनि भारतीय बजारमा प्रवेश पाएसँगै आफ्ना उद्योगहरु आगामी दिनमा पूर्ण क्षमतामा सञ्चालन हुनसक्ने विश्वास आँफूहरुमा रहेको अर्घाखाँचीका निर्देशक अग्रवाल बताउँछन् ।

झिलिमिली बत्तीको मूल्य १० प्रतिशतले वृद्धि, ७० करोडको आयात ३० मा झर्यो

काठमाडौं । तिहारमा प्र्रयोग हुने झिलिमिली बत्तीको मूल्य गत वर्षको भन्दा १० प्रतिशतसम्मले वृद्धि भएको छ । नेपाल विद्युतीय व्यावसायी महासंघले गत वर्षको तुलनामा यो वर्ष तिहारमा प्रयोग हुने झिलिमिली बत्तिकोमूल्य ८ देखि १० प्रतिशतले वृद्धि भएको बताएको हो । महासंघले अमेरिकी डलरको मूल्यमा आएको वृद्धि तथा राष्ट्र बैंकको नीतिको कारण बत्तीको मूल्य बढेर आएको बताएको छ । तिहार नजिकिएसँगै बजारमा तिहार केन्द्रित वस्तुहरूको खरिदबिक्री बढ्न थालेको छ । फूलहरुको र झिलिमिली बत्तीको पर्वकोरुपमामनाइनेतिहारका लागि बजारमाबत्ती, भाइमसला, फूलजस्ता वस्तुहरूहरुको बिक्री तथा खरिद शुरु भएको छ । महासंघका महासचिव कमल पोखरेलले बजारमा झिलिमिली बत्तीको माग बढे पनि विगतका वर्षको तुलनामा यो वर्ष बत्तीको आयातमासमेत केही कमी आउने बताए । उनकाे अनुसार आयातमा कमी तथा गत वर्षको तुलनामा विद्युतीय झिलिमिली बत्तीको मूल्यसमेत ८ देखि १० प्रतिशतले बढेकाे छ । ‘तातोपानी र रसुवागढी नाका सहजतापूर्वक सञ्चालन नहुँदा र प्रतिपत्र एलसी खोल्ने समयमा शतप्रतिशत रकम राख्नुपर्ने व्यवस्थाले आयात कम भएको छ, गत वर्ष नेपालमा २५ देखि ३५ प्रतिशत अर्थात करिब ४० करोडको विद्युतीय बत्ती आयात भएको थियाे, यो वर्ष करिब ३० करोड रुपैयाँ बराबरको आयात हुने अनुमान छ,’ उनले भने उनले कोभिड भन्दाअघि वि.सं. २०७६ मा तिहारको समयमा नेपालमा करिव ६० देखि ७० करोड बराबरको झिलिमिली बत्ती आयात हुने गरेकोमा कोभिडपछि २५ करोड बराबरको मात्रै झिलिमिली बत्ती आयात हुन थालेको बताए । ‘झिलिमिली बत्तीको आयातका लागि नेपालबाट व्यवसायीहरुले अर्डर दिनुपर्ने समयमा चीनका शहरहरुमा लकडाउन भएकाले अर्डर गरेका सामान समयमा नेपाल आइनपुग्दा बजारमा बत्तीहरुको अभाव रहेको छ, तातोपानीको नाका बन्द रहनु र रसुवागढीको नाका पनि सहजतापूर्वक सञ्चालनमा आउन नसक्नुले यो वर्षको झिलिमिली बत्तीको आयात प्रभाव परेको हाे, उनले भने । नेपालमा सामान्य अवस्थामा विद्युतीय सामग्री तथा बत्ती नेपालमा वार्षिक १ अर्बभन्दा धेरैको आयात हुने गरेको छ । जसमध्ये आयात हुने झिलिमिली बत्तीको ८० प्रतिशत खपत तिहारको समयमा हुने महासंघले बताएको छ । महासंघकाे अनुसार क्रिसमस, नयाँ वर्ष तथा विवाह भोजजस्ता कार्यक्रमहरुमा २० प्रतिशत आयातित बत्तीको खपत हुने गरेको छ । तिहारमा बजारमा सबैभन्दा धेरै एलईडी लाइट, एलईडी डिस्को लाइट, एलईडी फ्रेम लाइट, नेट झालर, दियो, स्ट्रप लाईट अत्याधिक बिक्री हुने गर्दछ ।

दक्षिण कोरियामा कोभिड-१९ का ३३ हजार नयाँ सङ्क्रमित थपिए

सोल । दक्षिण कोरियामा २४ घण्टा अघिको तुलनामा सोमबार मध्यरातसम्म ३३ हजार दुई सय ४८ कोभिड–१९ नयाँ सङक्रमित देखिएका छन् । हाल कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या २ करोड ५१ लाख ६४ हजार छ सय ९५ पुगेको स्वास्थ्य अधिकारीहरूले मङ्गलबार जानकारी दिएका छन् । कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी ९केडिसिए० का अनुसार अघिल्लो दिनको तुलनामा ११ हजार ४० ले बढेको थियो । एक हप्ताअघि १५ हजार ४ सय ६६ भन्दा बढी थियो । गत हप्ताको पुष्टि भएका केसहरुको दैनिक औसत सङ्ख्या २४ हजार दुई सय ३६ थियो । नयाँ केसहरू मध्ये, ८७ विदेशबाट आयात भएका छन् । गम्भिर अवस्थामा रहेका सङ्क्रमितको सङ्ख्या अघिल्लो दिनको तुलनामा एकले घटेर दुई सय ४७ पुगेको छ । यस प्रकोपको कारण थप छ जनाको मृत्युको पुष्टि भएपछि कुल मृतकको सङ्ख्या २८ हजार आठ सय ५६ पुगेको जनाइएको छ । कुल मृत्यु दर ०.११ प्रतिशत रहेको बताइएको छ ।

कोका–कोलाले वैदेशिक रोजगारीमा गएका १४ जनालाई चाडवाड मनाउन ल्यायो नेपाल

काठमाडाैं । कोकाकोला नेपालले वैदेशिक रोजगारीमा गएकाहरुलाई चाडवाड मनाउन नेपाल ल्याएकाे छ । सम्बन्ध उत्सव स्वादसँग क्याम्पेन अन्तर्गत कोका–कोलाले वैदेशिक रोजगारीको सिलसिलामा कुवेत गएर धेरै लामो समयसम्म आफ्नो परिवारसँग टाढा रहेका १४ जनालाई नेपाल ल्याएको हाे । कम्पनीले उनीहरुको कुवेतदेखि नेपालसम्मको यात्रा, नेपाल फर्किन पाउँदाको उनीहरुको हर्ष र लामो समयपछि आफ्नो परिवारसँग मिलन हुँदाको पलहरुलाई कैद गरेर एउटा भिडियो पनि बनाएको छ । क्याम्पेनको बारेमा बोल्दै कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले चाडपर्वको अवसरमा वैदेशिक राेजगारमा रहेका नेपालीहरुलाई परिवारसँग मिलन गराउन पाएकोमा खुशी लागेको बताए । लगभग साढे ३० लाख नेपालीहरु वैदेशिक रोजगारीको सिलसिलामा नेपाल बाहिर छन् ।

आर्थिक आधार सबल गर्नु सबैको दायित्व हो : ऊर्जामन्त्री भुसाल

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नयाँ संविधान कार्यान्वयनमा आइसकेपछि आर्थिक समृद्धिका महत्वपूर्ण आधार तयार भएको बताएकी छिन् । वाम–लोकतान्त्रिक गठबन्धनले आज ललितपुरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले ऊर्जा उत्पादनमा नेपाल आत्मनिर्भरतातर्फ अगाडि बढेको बताइन्। ‘स्वच्छ ऊर्जाको निर्यात गर्ने अवस्थामा हामी पुगेका छौँ, भौतिक पूर्वाधार, शैक्षिक एवं स्वास्थ्य क्षेत्रमा सकारात्मक परिवर्तन भई जनताको जीवनस्तरमा केही सुधार आएको छ’, उनले भने, ‘यस्ता कार्यक्रमलाई अझ प्रभावकारी एवं गुणस्तरीय तुल्याई आर्थिक आधार सबल गर्नु हामी सबैको दायित्व हो ।’ समृद्ध मुलुक, सम्पन्न नेपालीको सपना साकार गर्ने साझा लक्ष्य प्राप्तिका लागि एकताबद्ध हुन जरुरी रहेको जनाउँदै उनले प्राप्त उपलब्धिको संरक्षणका लागि निरन्तर संयुक्त सङ्घर्ष जारी तथा समुन्नत आर्थिक–सामाजिक विकासको महाअभियान सञ्चालन गर्नुपर्ने बताइन् । ‘सामाजिक न्यायसहितको सङ्घीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनको चरणमा छ, नागरिकको मौलिक अधिकार पनि सुनिश्चित हुने क्रममा छ’, उनले भनिन्, ‘प्राप्त उपलब्धिको रक्षा र सवलीकरण गर्नुपर्ने अबको दायित्वलाई अझ प्रभावकारी तवरले अगाडि बढाउनुपर्नेछ ।’ ललितपुर क्षेत्र नं ३ का उम्मेदवारसमेत रहेका मन्त्री भुसालले ललितपुरवासीका लागि कला, सम्पदा, संस्कृति र परम्पराको प्रवद्र्धन समृद्धिको महत्वपूर्ण आधार रहेको बताइन् । उनले कला, सम्पदा, संस्कृति र परम्परालाई यहाँका हरेक घरपरिवारको आर्थिक उपार्जनसँग जोडनुपर्ने बताइन् । ‘व्यवस्थित एवं आधुनिक कृषि कर्मको प्रवद्र्धन गर्दै यहाँ उपलब्ध खेतीयोग्य जमिनको संरक्षण गरी कृषि पर्यटनको अवधारणा लागू गर्नुपर्दछ’, उनले भनिन्, ‘त्यसका लागि आवश्यक पर्ने नीतिगत व्यवस्था, प्रदेश र स्थानीय सरकारसँग समन्वय गर्न आवश्यक छ ।’ ललितपुर क्षेत्र नं १ का उम्मेदवार एवं पूर्वअर्थ राज्यमन्त्री उदयशम्शेर राणाले वाम–लोकतान्त्रिक गठबन्धनका नेता कार्यकर्ता एकताबद्ध भएर गएमात्र ललितपुरका तीन वटै क्षेत्रमा गठबन्धनका उम्मेदवार विजयी हुने बताइन् । उनले गठबन्धनमा सहभागी दलका उम्मेदवारको पक्षमा कुनै कञ्जुस्याँइ नगरी मत माग्न कार्यकर्तालाई आग्रह गरिन् । ललितपुर क्षेत्र नं २ का उम्मेदवार कृष्णलाल महर्जनले संविधानको रक्षा र मुलुकलाई स्थिरता दिन गठबन्धन बनेको उल्लेख गर्दै वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी गराउन सम्पूर्ण शक्ति एकताबद्ध भएर लाग्नुपर्ने बताइन् । रासस

आईएमई लाइफका संस्थापकले शतप्रतिशत लगानी गर्नुपर्ने, यस्तो छ प्रकृया

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सका संस्थापक सेयरधनीले शतप्रतिशत लगानी गर्नुपर्ने भएको छ । पुँजी वृद्धिका लागि कम्पनीका साविकका संस्थापकहरुले सेयरमा लगानी गरेका रकमको थप एक सय प्रतिशत रकम थप्नु पर्ने भएको हो । जसको लागि कम्पनीले मिति समेत तय गरिसकेको छ । कम्पनीका अनुसार संस्थापकहरुले आगामी मंसिर ५ गते भित्रमा आफ्नो लगानीको थप शतप्रतिशत रकम जम्मा गरिसक्नु पर्ने छ । संस्थापक सेयरधनीले कम्पनीले उपलब्ध गराएको सिद्धार्थ र नबिल बैंकको खातामा रकम जम्मा गर्न सक्ने छन् । उनीहरुले काठमाडौंको हात्तिसारमा रहेको सिद्धार्थ बैंकको खाता नम्बर ५५५००३५८८१४ र तिनधारामा रहेको नबिल बैंकको खाता नम्बर ००२०१०१७५०५३७८ मा रकम जम्मा गर्न सक्ने छन् । र, उक्त खातामा जम्मा गरेको रकमको भौचर काठमाडौंको लैनचौरस्थित रहेको कम्पनीको प्रधान कार्यालयमा बुझाउनु पर्ने छ । नियामक निकाय बीमा समितिले तोकेको न्यूनतम पुँजी पुर्याउन नै कम्पनीले पहिलो चरणमा आफ्ना संस्थापकहरुलाई रकम थप्न भनेको हो । समितिका अनुसार जीवन बीमा व्यवसाय गर्ने कम्पनीले न्यूनतम चुक्ता पुँजी ५ अर्ब रुपैयाँ पुर्याउनु पर्ने छ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ छ । संस्थापकले शतप्रतिशत रकम थपेसँगै कम्पनीको पुँजी २ अर्ब ८० करोड रुपैयाँ पुग्ने छ । त्यसपछि कम्पनीले सर्वसाधारणमा ३० प्रतिशत आईपीओ जारी गर्ने छ ।

बाह्रसिङ्गा हेर्न शुक्लाफाँटा घुम्न जाऔँ

दोधारा चाँदनी । सुदूर नेपालको महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटकका लागि आकर्षक गन्तव्य हो । बाह्रसिङ्गाका लागि प्रख्यात रहेकोे शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रवेशद्वार महेन्द्रनगर सदरमुकामदेखि सात किमिको दूरीमा छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रवेशद्वारबाट २४ किमि दूरीमा रहेको शुक्लाफाँटामा विश्वको सबैभन्दा ठूलो घाँसे मैदान फाँट छ । घाँसे फाँटमा एकै पटक सयौँ बाह्रसिङ्गाको बथान देख्न सकिन्छ । यहाँ घुम्न आउने पर्यटकलाई फाँटमा बाह्रसिङ्गाले स्वागत गर्छन् । बाह्रसिङ्गाको टाउकामा सिङका छ–छ वटा हाँगा हुन्छन् । आखै अगाडि देखिने बाह्रसिङ्गाको बथानले यहाँ आउने पर्यटकको मन लोभ्याउने गरेको छ । बाह्रसिङ्गाको बथान हेर्नकै लागि यहाँ पर्यटक पुग्ने गर्दछ । स्थानीय पर्यटन व्यवसायी परमानन्द भण्डारीले शुक्लाफाँटामा बाह्रसिङ्गा, बाघ, गैँडा र चराचुरुरङ्गीका लागि प्रख्यात ठाउँ भएको बताए । उनले यहाँको घाँसे मैदानमा देखिने विभिन्न जीवजन्तु पर्यटकको रोजाइँमा पर्ने गरेको बताए । ‘पर्यटनका लागि शुक्लाफाँटा सम्भावनाको खानी नै हो यसको प्रचारप्रसार हुनसकेको छैन’, उनले भने, ‘बिभिन्न प्रजातिका लोपोन्मुख चरा र बाघ र गैँडा पनि यहाँ देख्न सकिन्छ ।’ कञ्चनपुर उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष जङ्गबहादुर मल्लले बाह्रसिङ्गाको बथान हेर्नकै लागि पर्यटक शुक्लाफाँटा पुग्ने गरेको बताउँछन् । ‘शुक्लाफाँटाको घाँसे मैदानमा देखिने बाह्रसिङ्गाको बथानले यहाँ आउने पर्यटकको मन लोभ्याउने गरेको छ’, उनले भने,’यसको प्रचारप्रसार हुनसके यहाँ आउने पर्यटकको सङ्ख्या वृद्धि हुन्छ ।’ शुक्लफाँटाको सुन्दरताबारे राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गरे मात्रै यहाँको पर्यटन व्यवसाय फस्टाउने उनले भनाइ छ । यहाँको भीमदत्त नगरपालिकाले बाह्रसिङ्गाको प्रचारप्रसार गर्न बाह्रसिङगको नगर भनेर घोषणा समेत गरेको छ । बाह्रसिङ्गाको बथान देखिने फाँटमा राजा महेन्द्रले २०२४ सालमा सिकार खेलेको थिए भने एक रात बास समेत बसेका थिए । शुक्लाफाँटामा रहेको घाँसे मैदान विश्वको सबै भन्दा ठूलो मैदान रहेको मानिन्छ । घाँसे मैदानमा बाह्रसिङ्गाको बथान चरिरहेका हुन्छन्, घाँसे मैदानमा मयुर नाचेको दृष्यले त पर्यटकको मनै लोभ्याउने गरेको छ । शुक्लाफाँटाको पूर्वीतर्फ बग्ने चौधर खोला, बर्कौला र घाासे फाँटमा पाटेबाघ देखिने महत्वपुर्ण ठाउँ हुन । होटेल व्यवसायी सङ्घ कञ्चनपुरका अध्यक्ष जगदीशप्रसाद भट्टले यहाँ पर्यटनको ठूलो सम्भावना रहे पनि प्रचारप्रसारको अभावले पर्यटक यहाँ आउन नसकेको बताए । ‘समृद्धिको प्रमुख आधार भनेकै पर्यटन हो यसको प्रचारप्रसारमा सबैले लाग्नुपर्छ’,उनले भने, ‘शुक्लाफाँटामा रहेका तालतलैया र यहाँ देखिने जीवजन्तुले यहाँ आउने पर्यटकको मनै लोभ्याउने गरेको छ । शुक्लाफाँटा घुम्ने मुख्य सिजन फागुनदेखि असासम्म हो । वसन्त ऋतुमा त शुक्लाफाँटामा फुल्ने रङ्गीविरङ्गी फुलले आगन्तुकलाई स्वर्गको आभास दिलाउछ ।’ निकुञ्जभित्र ठुलो घाँसे मैदान संगै ठाउ–ठाउमा अन्य थुप्रै साना–ठूला धेरै फाँटामा विभिन्न प्रजातीका चराचुरुङ्गी देख्न पाइन्छ । निकुञ्जको पूर्वी सेक्टरमा रहेको हीरापुर फाँटमा कृष्णसार संरक्षण गरिएको छ । फाँटमा पर्यटकका लागि काठका चार वटा मचान बनाइएका छन । पर्यटकका लागि मचानबाट शुक्लाफाँटाको दृश्यावलोकन गराउने व्यवस्था गरिएको छ । शुक्लाफाँटाभित्र रहेको रानी ताल र अन्य स–साना तालमा प्रशस्त रुपमा गोही र चराचुरङ्गी देख्न पाइन्छ । निकुञ्जको महाकाली नदी छेउ पिपरियामा हात्तीसार बाट हात्ती चढ्ने व्यवस्था छ । आगन्तुकको समय अनुसार हात्तीमा जङ्गल सफारीको समेत सुविधा छ । पछिल्लो समय शुक्लाफाँटा आउने पर्यटक पनि बढ्न थालेका छन् । राष्ट्रिय निकुञ्जको तथ्याङ्क अनुसार २०७५ सालमा दुई सय ६६ जना विदेशी पर्यटकले भ्रमण गरेका थिए । बि।स। २०७८ मा यहाँ आउने पर्यटकको सङ्ख्या बढेको छ । एक हजार ६ सय ५१ जना विदेशीले निकुञ्जको भ्रमण गरेका छन् भने एक हजार २० जना सार्क मुलुकमा नागरिकले शुक्लाफाँटा भ्रमण गरेका छन् । त्यसैगरी २६ हजार तीन सय ८२ जना नेपालीले शुक्लाफाँट भ्रमण गरेका छन् । शुक्लाफाँट राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख किशोरकुमार मेहताले पर्यटकका लागि शुक्लाफाँटा आकर्षक गन्तव्य रहेको बताए । ‘पर्यटकको सहजताका लागि निकुञ्ज कार्यालयले बाटो मर्मत मचान निमार्ण र सरसफाइ जस्ता कार्यक्रम गरिरहेको छ’, उनले भने, ‘यहाँको फाँटमा देखिने बाह्रसिङ्गाको बथाननै पर्यटकको मुख्य आकर्षण हो ।’ उनले शुक्लाफाँटाको प्रचारप्रसारका लागि विभिन्न सङ्घसंस्थासँग सहकार्य गरेर काम गरिरहेको बताए । शुक्लाफाँटा छेउमै रहेको रानाथारु समुदायले पनि सुविधा सम्पन्न होमस्टे सञ्चालनमा ल्याएका छन । होमस्टेमा आउने आगन्तुकका लागि परम्परागत पहिरनमा राना थारु नृत्य र खानाका परिकारले स्वागत गर्ने गरेका छन । यो बाहेक महेन्द्रनगर सदरमुकाममा एक दर्जन बढी सुविधा सम्पन्न होटेल सञ्चालनमा छन ।शुक्लाफाँटा निकुञ्ज भ्रमणको लागि सार्कमुलुकका नागरिकका लागि सात सय रुपैयाँ प्रवेश शुल्क लिने गरिएको छ भने विदेशीका लागि एक हजार ५ पाँच सय र नेपालीका लागि एक सय रुपैयाँ प्रवेश शुल्क राखिएको छ । २०७३ साल फागुन ९ गते शुक्लाफाँटा वन्यजन्तु आरक्ष शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको रुपमा घोषणा गरिएको हो । विसं २०१३ को गणना अनुसार वन्यजन्तु मात्रै नभइ दुर्लभ वनस्पतिको लागि पनि प्रसिद्ध ठाउँ हो शुक्लाफाँटा निकुञ्जमा १२ प्रजातिका घस्रने वन्यजन्तु रहेका छन् । यस्तै २० प्रजातिका उभयचर, २४ प्रजातीका माछा, ३५ प्रजातीका पुतली, ८०–९० वटा निलगाई र चार सय २४ प्रजातीका चरा रहेको निकुञ्ज कार्यालयले जनाएको छ । विश्वमै दुर्लभ मानिएको सारस, खरमजुर, सिम तित्रा, राजधेश र लेसर भूडिफोर जस्ता पछी पनि छन् । स्तनधारी वन्यजन्तुमा ५३ भन्दा बढी प्रजाती रहेका छन् । जसमा पाटेबाघ, एकसिङ्घे गँैडा, हात्ती बाह्रसिङ्गा, कृष्णसार, सालक, निलगाई, चितुवा चित्तल, लगुना, रतुवा, हिसपीड खरायो, बँदेल छन् । जङ्गली हात्ती, पाटेबाघ, चितुवा, बाह्रसिङ्गा, जरायो, चित्तल, जस्ता स्तनधारी जनावर यस निकुन्जका प्रमुख वन्यजन्तु हुन । रानी ताल तथा अन्य स–साना तालमा मगर गोही प्रशस्त पाइन्छन् । रैथाने र बसाइँ सरी आउने गरी चार सय २४ भन्दा बढी चराचुरुङ्गी पाइन्छन् । कसरी पुग्ने शुक्लाफाँटा ? काठमाडौँदेखि महेन्द्रनगर छ सय ९७ किमिको दुरीमा रहेको शुक्लाफाँटा सडक यातायातबाट करिब १६ घण्टाको यात्रपछि महेन्द्रनगर सदरमुकाम पुगिन्छ । महेन्द्रनगर सदरमुकामबाट सात किमिको दूरीमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज रहेको छ । काठमाडौंंबाट धनगढीका लागि करिब एक घण्टाको हवाइ यात्रामा धनगढी विमानस्थल पुगेर शुक्लाफाँटा पुग्न सकिन्छ । त्यसैगरी विदेशी पर्यटकका लागि पश्चिमी सिमानाका गड्डाचौकीबाटसमेत सहज रुपमा महेन्द्रनगर पुग्न सकिन्छ । पश्चिमी सिमानाका गड्डाचौकीबाट आठ किलोमिटर यात्रा गरेपनि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पुगिन्छ । रासस