काठमाडौं । तिहारमा प्र्रयोग हुने झिलिमिली बत्तीको मूल्य गत वर्षको भन्दा १० प्रतिशतसम्मले वृद्धि भएको छ । नेपाल विद्युतीय व्यावसायी महासंघले गत वर्षको तुलनामा यो वर्ष तिहारमा प्रयोग हुने झिलिमिली बत्तिकोमूल्य ८ देखि १० प्रतिशतले वृद्धि भएको बताएको हो । महासंघले अमेरिकी डलरको मूल्यमा आएको वृद्धि तथा राष्ट्र बैंकको नीतिको कारण बत्तीको मूल्य बढेर आएको बताएको छ ।
तिहार नजिकिएसँगै बजारमा तिहार केन्द्रित वस्तुहरूको खरिदबिक्री बढ्न थालेको छ । फूलहरुको र झिलिमिली बत्तीको पर्वकोरुपमामनाइनेतिहारका लागि बजारमाबत्ती, भाइमसला, फूलजस्ता वस्तुहरूहरुको बिक्री तथा खरिद शुरु भएको छ ।
महासंघका महासचिव कमल पोखरेलले बजारमा झिलिमिली बत्तीको माग बढे पनि विगतका वर्षको तुलनामा यो वर्ष बत्तीको आयातमासमेत केही कमी आउने बताए । उनकाे अनुसार आयातमा कमी तथा गत वर्षको तुलनामा विद्युतीय झिलिमिली बत्तीको मूल्यसमेत ८ देखि १० प्रतिशतले बढेकाे छ ।
‘तातोपानी र रसुवागढी नाका सहजतापूर्वक सञ्चालन नहुँदा र प्रतिपत्र एलसी खोल्ने समयमा शतप्रतिशत रकम राख्नुपर्ने व्यवस्थाले आयात कम भएको छ, गत वर्ष नेपालमा २५ देखि ३५ प्रतिशत अर्थात करिब ४० करोडको विद्युतीय बत्ती आयात भएको थियाे, यो वर्ष करिब ३० करोड रुपैयाँ बराबरको आयात हुने अनुमान छ,’ उनले भने
उनले कोभिड भन्दाअघि वि.सं. २०७६ मा तिहारको समयमा नेपालमा करिव ६० देखि ७० करोड बराबरको झिलिमिली बत्ती आयात हुने गरेकोमा कोभिडपछि २५ करोड बराबरको मात्रै झिलिमिली बत्ती आयात हुन थालेको बताए ।
‘झिलिमिली बत्तीको आयातका लागि नेपालबाट व्यवसायीहरुले अर्डर दिनुपर्ने समयमा चीनका शहरहरुमा लकडाउन भएकाले अर्डर गरेका सामान समयमा नेपाल आइनपुग्दा बजारमा बत्तीहरुको अभाव रहेको छ, तातोपानीको नाका बन्द रहनु र रसुवागढीको नाका पनि सहजतापूर्वक सञ्चालनमा आउन नसक्नुले यो वर्षको झिलिमिली बत्तीको आयात प्रभाव परेको हाे, उनले भने ।
नेपालमा सामान्य अवस्थामा विद्युतीय सामग्री तथा बत्ती नेपालमा वार्षिक १ अर्बभन्दा धेरैको आयात हुने गरेको छ । जसमध्ये आयात हुने झिलिमिली बत्तीको ८० प्रतिशत खपत तिहारको समयमा हुने महासंघले बताएको छ ।
महासंघकाे अनुसार क्रिसमस, नयाँ वर्ष तथा विवाह भोजजस्ता कार्यक्रमहरुमा २० प्रतिशत आयातित बत्तीको खपत हुने गरेको छ । तिहारमा बजारमा सबैभन्दा धेरै एलईडी लाइट, एलईडी डिस्को लाइट, एलईडी फ्रेम लाइट, नेट झालर, दियो, स्ट्रप लाईट अत्याधिक बिक्री हुने गर्दछ ।