विकासन्युज

चितवनमा काट्ने बेलाको धान गैँडाले नष्ट पार्यो

भरतपुर । काट्न तयारी अवस्थामा रहेको धानबालीमा गैँडा पसेर नष्ट गरिदिएको छ । चितवनको माडी नगरपालिका वडा नम्वर १ र २ का विभिन्न क्षेत्रमा किसानले लगाएको धानबाली गैँडाले नष्ट गरिदिएको हो । वडा नम्बर १ सेरुवाकी किसान गीता महतोले काट्ने तयारीमा रहेको धान गैँडाले नष्ट गरिदिएपछि यो बर्ष के खाने भन्ने चिन्ता थपिएको बताइन् । उनले बर्सेनि निकुञ्जबाट आउने वन्यजन्तुका कारण बाली पूरै भित्र्याउन नपाइने गरेको गुनासो गरिन् । चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रअन्तर्गतको पाँचपाण्डव उपभोक्ता समितिका कार्यालय सचिव जगनारायण बोटले यस वर्ष गैँडाले धानमा धेरै क्षति पु¥याएको बताए । उनले कार्यालयमा दैनिकजसो किसान क्षतिको विवरण बुझाउन निवेदन लिएर आइरहेको जानकारी दिए । भैरवपुर, सेरुवा र गर्दी क्षेत्रमा गैँडा र हात्तीसँगै बँदेल र चित्तलले पनि दुःख दिइरहेको बोटले बताए । माडी नगरपालिकाकी प्रमुख ताराकुमारी काजी महतोले माडीमा वन्यजन्तुबाट हुने बालीको क्षति झन बढ्दो क्रममा रहेको बताइन् । उनले भनिन्, ‘पाँचपाण्डवदेखि बगईसम्मका निकुञ्जको सीमा क्षेत्रमा दैनिकजसो वन्यजन्तुले धनजनको गरिरहेको छ, सधैँ त्रासमा बस्नुपर्ने बाध्यता छ ।’ मानव वन्यजन्तुको द्वन्द्व न्यूनीकरणका लागि योजनाबद्ध काम हुन नसक्दा दैनिकजसो वन्यजन्तुको समस्या आउने गरेको उनले बताइन् । ‘मेस जालीसहितको व्यवस्थित आरसीसी वाल निर्माण नगरेसम्म दैनिकजसो यस्तै समस्या आउँछ, हामी जनप्रनिनिधिले पनि ढुक्कले निदाउने अवस्था छैन’, उनले भने । नगरपालिकाको थोरै बजेटले अति आवश्यकताका आधारमा मात्रै काम गर्ने गरेको प्रमुख महतोले बताइन् । किसानका लागि निकुञ्जले दिने राहत न्यून भएको भन्दै उनले एउटै हात्तीले एकै रातमा बिघौं जग्गा नष्ट गर्ने गरेको बताइन् । ‘निकुञ्जले प्रदान गर्ने जम्मा १० हजार रुपैयाँले किसानको बीउको मूल्य पनि उठ्दैन, उनले भनिन्, ‘किसानलाई राज्यले क्षतिपूर्ति दिनुपर्छ ।’ नगरपालिकाले बजेटको कमीका कारण क्षतिपूर्ति दिन भन्दै उनले रिउ करिडोर निर्माण गरेर बाढी र जनावर दुवैबाट माडीवासीलाई जोगाउनुपर्ने बताइन् । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले चारैतिर निकुञ्जले घेरेका कारण माडीमा नै सबैभन्दा धेरै वन्यजन्तुले क्षति पु¥याउने गरेको बताए । वन्यजन्तुलाई बस्ती पस्नका लागि बनाइएका संरचनाले प्रभावकारी बन्न नसक्दा समस्या आइरहेको उनको भनाइ छ । ‘निकुञ्जमा काँडेतार, सोलार फेन्स, मेस वायर फेन्सिङ र अहिले आरसीसी र पिसीसीसहितका बार लगाइएको छ तर प्रभावकारी बन्न सकेका छैनन्’, उनले भने । मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिमार्फत सिफारिस ल्याउने र निकुञ्जले थोरै भए पनि किसानलाई राहत वितरण गर्ने गरेको आचार्यले जानकारी दिए । गत वर्ष मात्रै निकुञ्जले विभिन्न शीर्षकमा तीन करोड रुपैयाँको राहत वितरण गरेको उनले बताए । त्यसमध्ये सबैभन्दा धेरै बालीनाली क्षतिको नै हुने गरेको आचार्यले बताए । रासस

बैतडीको झुलाघाटमा इन्टरनेटको पहुँच

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट क्षेत्रमा इन्टरनेटको पहुँच पुगेको छ । नेपाल टेलिकम बैतडीका प्रमुख विक्रमराम टमटाका अनुसार नेपाल दूरसञ्चार प्राधिकरणले अन्तर्राष्ट्रिय कनेक्टीभिटीका लागि सो क्षेत्रमा इन्टरनेट विस्तार गरेको हो । इन्टरनेटको पहुँच पुगेसँगै सरकारी काममा सहजता आएको छ । विशेष गरी नाकामा रहेका महाकाली भन्सार कार्यालय, सीमा प्रहरीचौकी, सशस्त्र प्रहरी बलको कार्यालयका सेवा प्रवाहमा सहयोग पुगेको बताइएको छ । रासस

ताप्लेजुङमा ट्र्याक्टर दुर्घटनामा चारजनाको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिका–४ स्थित याम्फेवा खोला नजिक गए राति ट्र्याक्टर दुर्घटनामा परी चार जनाको निधन भएको छ । ५५५६ नम्बरको ट्र्याक्टर दुर्घटनामा हुँदा मैवाखोला वडा नम्बर ५ काम्सङ बस्ने वर्ष ३१ का ट्र्याक्टर चालक पासाङ शेर्पा, वर्ष २४ को फुर्वा शेर्पा, मैवाखोला–४ ओदक बस्ने एकाघरका वर्ष २२ को शर्मिला शेर्पा र वर्ष १७ को लाकी शेर्पाको निधन भएको मैवाखोला गाउँपालिका अध्यक्ष विजय प्रकाश वनेमले जानकारी दिए । उनका अनुसार उनीहरु सबैको घटनास्थलमा नै निधन भएको हो । ट्र्याक्टर सडकबाट करिब दुई सय मिटरमुनि झरेको बताइएको छ । अध्यक्ष वनेमका अनुसार ट्र्याक्टर चालक पासाङ र उनका भाइ फुर्वा घरमा आफन्त बिरामी परेकाले तेल्लाबुङस्थित विद्युत्को सवस्टेशनबाट काम्साङ जाने क्रममा रहेका थिए भने अन्य दुई जना समेत घरतर्फ फर्किने क्रममा ट्र्याक्टरमा सवार थिए । रासस

बाँदरले दुःख दिन थालेपछि सिन्धुपाल्चोकका किसानले कागती र किवी खेती गरे

चैतारा । विभिन्न खाद्य तथा नगदे बालीलाई बाँदरले खान थालेपछि सिन्धुपाल्चोकका किसानले वैकल्पिक खेतीको सुरु गरेका छन् । बाँदर आतङ्कबाट परम्परागत बाली जोगाउन नसकेपछि किसानले यसको विकल्पमा कागती, किवी, तथा चिया खेती गर्न थालेका हुन् । किसानले लगाएको बाली जोगाउन नसकेपछि बाँदरलाई झुक्याउँदै वैकल्पिक खेती गर्ने किसानको सङ्ख्या बढ्दो छ । खाद्य तथा फलफूल उत्पादन हुने बेलामा बाँदरबाट जोगाउन मुस्किल हुन थालेपछि जिल्लाका सबै स्थानीय तहमा रहेका किसानले वैकल्पिक खेती अपनाउन थालेका हुन् । यसअघि धान, मकै, कोदोलगायत फलफूल लगाइने ठाउँमा किसानले किवी, कागती, चिया र टिम्मुरलगायत रोप्न थालेका छन् । वैकल्पिक खेतीप्रति चासो नदिएका किसान सरकारले खेतीयोग्य जमिन बाँझो नराख्ने नीति ल्याएसँगै यसतर्फ लागेका हुन् । बाँदरले सताएपछि हेलम्बु गाउँपालिका ४ गैँटारका किसानको बाँझो बसेको झण्डै चार सय रोपनी खेतीयोग्य जमिनमा अहिले कागती खेती गरिएको छ । मलिलो जमिन, सिँचाइको व्यवस्था, राम्रो उत्पादन हुने गरे पनि उत्पादन बाँदरले खाइदिँदा किसानले उपभोग गर्न पाउँदैन थिए । ‘बाँदरले धेरै नै दुःख दिएपछि परम्परागत अन्नबालीको विकल्पमा हेलम्बुका किसानले व्यावसायिक कागती खेती सुरु गरेका छन्’, स्थानीय किसान हरिकृष्ण लामिछानेले भने, ‘धान, मकैजस्ता खाद्य बाली बाँदरकै कारण संरक्षण गर्न सकिएन ।’ उनले अहिले भने किसानले बाँदरलाई झुक्याउन सफल भएको बताए । कागती खानका लागि बाँदर नआएको हैन । निकै कडा र अमिलो हुने भएपछि बाँदर कागती खान आउन छाडेको उनको भनाइ छ । कागतीको बोटमा केही काँडासमेत हुने हुँदा बाँदर घाइते हुने गरेपछि कागती खान बाँदर नआउने गरेको हो । घर आसपासका जमिनमा खेतीपाती गरे पनि टाढाका खेतबारीमा बाँदरबाट अन्नबाली जोगाउन मुस्किल पर्ने हुँदा कागती खेतीको सुरु गरिएको अर्का स्थानीय लालनाथ लामिछानेले बताए । बाँदरकै कारण बाँझो राख्नुपरेको १२ रोपनी आफ्नो जमिनमा तीन सय बोट कागतीको बिरुवा रोपेको उनले बताए । घरआँगनसम्मै बाँदर आएर दुःख दिएपछि पाँचपोखरी थाङपाल गाउँपालिका–१ बाँसखर्कका किसानले पनि सामूहिक चिया खेतीको सुरुआत गरेका छन् । परम्परागत खेतीमा बाँदर लाग्न थालेपछि चिया खेती सुरु गरिएको मन्जुश्री चिया, कफी, अलैँची उत्पादक कृषक समूहका अध्यक्ष रेक्पा तामाङको भनाइ छ । ‘चियामा फल हुँदैन, पात टर्रो हुने भएपछि बाँदर लाग्दो रहेनछ ।’ उनले भने । पाँचपोखरी थाङ्पालजस्तै चौतारा साँगाचोकगढी नगरपालिकाको ओखरेनी, भोटेकोसी गाउँपालिकाको लिस्ती, मेलम्ची नगरपालिकाको भोटेचौर, हैबुङमा चिया खेती विस्तार गरिएको छ । इन्द्रावती गाउँपालिका १ ठूलो ओखरेनीकी शान्ता शेर्पाका अनुसार बाँदरले हैरानी गरेपछि गाउँभर किवी खेती लगाउन सुरु गरिएको छ । समुद्री सतहबाट झण्डै दुई हजार पाँच सय मिटरको उचाइमा पर्ने यो गाउँमा उत्पादित आलु, मुला अहिले लोप भइसकेको अवस्था छ । यहाँका आलु, मुुला सदरमुकाममा मात्रै नभई राजधानीसम्म खपत हुन्थ्यो । ‘बाँदरले जमिन खनेर भए पनि आलु, मुला खान थालेपछि यहाँका बासिन्दाले लगाउनै छाड्नुपर्ने अवस्था आयो’, उनले भने ‘बाँदरबाट जोगाउन अहिले सबैले किवी खेती गरेका छन् ।’ उनका अनुसार किवीलाई बाँदरले खाँदैन । किवीको फलको बाहिरी भाग निकै खस्रो हुन्छ । झुस हुन्छ । जसले बाँदरलाई चिलाउने समस्याले सताउँछ । काँचोमा निकै टर्रो र अमिलो हुने हुँदा किवीको फल खान बाँदर नआउने गरेको उहाँले बताए । अहिले किवी मेलम्ची, भोटेचौर, हैबुङ, चौतारा, ठूलोओखरेनी, हेलम्बु, लिस्तीलगायतका ठाउँका किसानले व्यावसायिक खेती गरिरहेका छन् । सदरमुकाम चौतारावासी पनि बाँदरको समस्याबाट ग्रस्त छन् । यहाँका किसानले भने किवी, चिया उचाइका कारण नहुने भएपछि टिम्मुर खेतीको सुरुआत गर्न थालेका छन् । टिम्मुरको बोटमा काँडा हुने हुँदा बादर नलाग्ने भएपछि यो खेतीको सुरुआत गर्न लागिएको नेत्र बस्नेतको भनाइ छ । सरकारले बाँदरलगायत वन्यजन्तु नियन्त्रणका लागि प्रभावकारी कार्यक्रम ल्याउन सकिरहेको छैन । बाँदर नियन्त्रण भएमा जमिन बाँझो हुने समस्या घट्ने, गाउँमै रोजगारीको वातावरण सिर्जना हुने र किसानको आयमा वृद्धि हुने स्थानीयवासी बताउँछन् । बाँदरले दुःख दिएपछि अघिल्लो आर्थिक वर्षमा जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकाले बाँदर नियन्त्रणका लागि गाउँसभाबाट बजेट विनियोजनसमेत गरेको थियो । पालिकाको वडा नं ३ मा बाँदर नियन्त्रण भनी पाँच लाख रुपैयाँ विनियोजन गरिएको हो तर नियन्त्रण भने हुन सकेको छैन । रासस

जथाभावी फोहोर गर्नेलाई महानगरले कारबाही गर्ने

विराटनगर । विराटनगर महानगरपालिकाले नगर क्षेत्रमा जथाभावी फोहोर गर्नेलाई कारबाही र जरिवाना गर्ने भएको छ । महानगरका प्रमुख नागेश कोइरालाको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाको संयोजकत्वमा साझेदार संस्थाका प्रतिनिधि, वातावरण तथा व्यवस्थापन महाशाखाका कर्मचारीसमेतको उपस्थितिमा भएको बैठकले जथाभावी फोहोर गर्नेलाई कारबाही तथा जरिवानाका लागि सम्बन्धित व्यक्तिलाई अख्तियारीसमेत दिएको छ । उत्तरी क्षेत्रका लागि हीरालाल यादव, मध्य क्षेत्रका लागि अनिता न्यौपाने र दक्षिण क्षेत्रका लागि राजेन्द्र प्रधानलाई नियमन, कारबाही तथा जरिवानाका लागि अख्तियारी दिएको हो । महानगरले विराटनगरलाई तीन क्षेत्रमा विभाजित गरेर सरसफाइ विशेष अभियानसमेत सञ्चालन गर्दै आएको छ । उत्तरी क्षेत्रमा वडा नं १, २, ३ ४, ५ र १९ पर्छन् भने मध्यमा ६, ७, ८, ९, १० र ११ वडा समेटिएको छ । दक्षिणमा १२ देखि १८ नं वडा पर्दछन् । साझेदार सम्झौताका शर्तको पूर्णपालना गरी महानगरको सरसफाइलाई प्रभावकारी बनाउन वडाध्यक्षको संयोजकत्वमा टोल विकास संस्था, नेपाल पत्रकार महासङ्घ र सरसफाइ शाखा प्रमुखसहितको क्षेत्रगत अनुगमन समिति गठन गरी नियमित अनुगमन तथा निरीक्षण गर्ने संयन्त्र स्थलगत अनुगमन प्रतिवेदन विषयगत समितिमा छलफल गरी राय सुझाव दिने व्यवस्था गरिएको प्रमुख प्रशासकीय अधिकृत कोइरालाले जानकारी दिए । उनका अनुसार महानगरको फोहोरमैला व्यवस्थापन प्रभावकारी बनाउन साझेदार संस्थालाई थप जिम्मेवार बनाइएको छ । रासस

सामुदायिक विद्यालयका शैक्षिक गुणस्तर सुधार गर्ने लिखित प्रतिबद्धता

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाभित्र सञ्चालित सामुदायिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापकले शैक्षिक गुणस्तर सुधार गर्ने प्रतिबद्धता जनाएका छन् । नगरपालिकाभित्र सञ्चालित मावि, निमावि र आविका विव्यास अध्यक्षले १५ तथा प्रअहरुले १७ बुँदामा शिक्षा सुधारका काम गर्ने नगरपालिकासमक्ष लिखित प्रतिबद्धता जनाएका हुन् । शिक्षामा परिवर्तन गरी विद्यार्थीलाई गुणस्तरीय शिक्षा उपलब्ध गराउने उद्देश्यले शिक्षा सुधारसम्बन्धी चारदिने अभिमुखीकरणमा सहभागी गराएर प्रतिबद्धतापत्रमा हस्ताक्षर गराइएको नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिए । नगरपालिका र प्रअ तथा विव्यास अध्यक्षसँग भएको प्रतिबद्धता पूरा गर्नमा ध्यानदिन उनले निर्देशनसमेत दिएका छन् । अध्यक्षले शिक्षा नियमावलीको नियमावली २८ मा उल्लेख भएका काम, कर्तव्य र अधिकारको कार्यान्वयन गर्ने, बालबालिका विद्यालय आउनेजाने बाटो मर्मत गर्ने, शौचालयको मर्मतसम्भार र सरसफाइ गर्ने, शुद्ध पिउने पानीको प्रबन्ध गर्ने, भौतिक पूर्वाधारको मर्मतसम्भारमा जोड दिने, शिक्षक र विद्यार्थीको उपस्थितिका लागि सहजीकरण, विद्यालयमा नियमित पठनपाठनको सुनिश्चितता गर्ने प्रतिबद्धता जनाएका छन् । यस्तै, पदाधिकारी आलोपालो गरी विद्यालयमा नियमित उपस्थित हुने, फूलबारी र करेसाबारी निर्माणमा सहजीकरण गर्ने, विद्यालय परिसर र कक्षाकोठाको सरसफाइ, विद्यार्थी, शिक्षक र अभिभावक प्रोत्साहन कार्यक्रम, स्थानीयस्तरमा स्रोतको पहिचान, सङ्कलन र उपयोगमा वृद्धि गर्नेलगायतका विषयमा प्रतिबद्धता जनाएका हुन् । प्रअहरुले वार्षिक कार्ययोजना र शैक्षणिक कार्ययोजनाको निर्माण/कार्यन्वयन गर्ने, नगर शिक्षा नियमावली २०७६ को नियम ५४ मा तोकिएका प्रअका काम, कर्तव्य र अधिकारको कार्यान्वयनमा सक्रियतापूर्वक लाग्ने प्रतिबद्धता जनाएका छन् । यस्तै, बिहान ठीक १० बजेदेखि ४ बजेसम्म दैनिक विद्यालय सञ्चालन र तोकिएको समयसीमाभित्र नियमित पठनपाठन, शिक्षकको अनुपस्थिति भएको समय र शिक्षकको अभाव भएका विद्यालयमा कक्षाका क्षमतावान विद्यार्थीलाई बैकल्पिक शिक्षकका रुपमा शिक्षणको अवसर दिने, अनुपस्थित विद्यार्थीका अभिभावकसँग कक्षा शिक्षकबाट सम्पर्क र विद्यालय समुदाय सम्बन्ध सुधार, विद्याल परिसरको नियमित सरसफाइ र पुष्प बाटिका निर्माण, जरुरी कामबाहेक विद्यालयमा शिक्षकको नियमित उपस्थितिमा सुनिश्चितता, विद्यालय स्थापनाका दिन अभिभावकको सहभागितामा छात्रवृत्ति वितरण, परीक्षाको नतिजा विश्लेषण गरी सोको निचोड अभिभावकलाई बुझाउनेलगायतका १७ बुँदामा प्रतिबद्धता जनाएका हुन् । नगरपालिका र विव्यास अध्यक्ष तथा प्रअसँग भएको प्रतिबद्धतापत्र सार्वजनिक कार्यक्रममा नगरप्रमुख भट्टराई, उपप्रमुख विशन राई, प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईं, प्रमुख प्रशासकीय अधिकृत सुभाकर पौडेललगायतको उपस्थिति थियो । प्रतिबद्धता जनाउनुअघि असोज २९ गतेदेखि कात्तिक १ गतेसम्म अध्यक्ष र प्रअलाई शिक्षा सुधार अभियन्ता डा तोयानाथ खनाल र माधवप्रसाद अधिकारी ए तथा शैक्षिक उत्प्रेरक माधवप्रसाद अधिकारी बिले विद्यालय शिक्षा सुधारका विषयमा सहजीकरण गरेका थिए । पहिलो दिन २१ मावि, १४ निमाविका प्रअ र १५ वडाकै वडाध्यक्ष, दोस्रो दिन आधारभूत विद्यालय १–५०का ५८ प्राविका प्रअ, तेस्रो दिन मावि र निमाविका ३५ विव्यास अध्यक्ष र चौथो दिन आधारभूत विद्यालय ९१–५० का ५८ जना विव्यास अध्यक्षसँग अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको थियो । सामुदायिक विद्यालयको खस्किँदो शैक्षिक गुणस्तर सुधारका लागि नगरपालिकाले विज्ञ उपस्थित गराएर चारदिने शिक्षा सुधारसम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको हो । रासस

‘झोलुङ्गे पुलले गाउँलाई मात्र जोडेन, मनलाई पनि नजिक बनायो’

ढोरपाटन । खुङ्खानी, नर्जाखानी र थास्पुरी गाउँ बागलुङकै सबैभन्दा दुर्गम गाउँ हुन् । यहाँका गाउँहरु नजिक देखिए पनि भौगोलिक विकटताका कारण एकदेखि अर्को गाउँ पुग्न घण्टौँ लाग्छ । खुङ्खानीमा माध्यमिक तहको विद्यालय छ । थास्पुरी र नर्जाखानीका विद्यार्थी पढ्न त्यहीँ पुग्नुपर्छ । खुङ्खानी पुग्न करिब तीन घण्टा लाग्थ्यो तर अहिले त्यो समय छोटिएको छ । तीन वर्ष अगाडि तमानखोला गाउँपालिका–५ खुुङ्खानीदेखि ठूलो बिसौना जोड्ने झोलुङ्गे पुल निर्माण भएपछि करिब डेढ घण्टा समय छोटिएको हो । झोलुङ्गे पुलले दुई गाउँ जोडिएपछि स्थानीयसमेत हर्षित बनेका छन् । पुलले दुई गाउँलाई मात्र जोडेन गाउँलेको मनलाई पनि नजिक बनाएको छ । डेढ घण्टा लगाएर खुङ्खानी खोला वारपार गर्ने स्थानीय र विद्यार्थी अहिले पाँच आधा घण्टामै खुङ्खानी–ठूलाबिसौना गर्नसक्ने स्थानीय गोविन्द छन्त्यालले बताए । उनले यो झोलुङ्गे पुलले यस क्षेत्रका नागरिकको दैनिकीनै परिवर्तन गरी दिएको बताउँछन् । उनले भने, ‘यो पुलले हाम्रो जनजीवनलाई सहज बनाएको छ, तीन वर्ष अगाडिसम्म निकै कठिन थियो खोला वारपार गर्न, गाउँ माथि–माथि छन्, खोल निकै तल छ, गाउँहरु नजिक देखिन्छन् तर बीचमा खोला भएको कारण एउटा गाउँदेखि अर्को गाउँमा जान घण्टौँ लाग्थ्यो, विद्यार्थी पारिको गाउँबाट आउनुपर्ने, उनीहरुले पनि निकै समस्या भोगे, अहिले धेरै सजिलो भएको छ, पारिको गाउँमा जान पनि धेरै समय लाग्दैन, विद्यार्थी पनि निकै खुसी भएका छन् ।’ उनले खुङ्खानीका स्थानीयको जग्गा, जमिन र गोठहरु खोलापारिको गाउँ ठूला बिसौनामा रहेको र खेतीपाती पनि उतै गर्नुपर्ने हुँदा आवतजावतमा निकै समस्या भोगेको स्मरण गरे । छन्त्यालले पुल बनेपछि बिहान उठेर बारीमा काम गर्न गए पनि अबेर फर्किनुपर्ने अवस्थाको अन्त्य भएको बताउनुभयो । अहिले दैनिकीसमेत सहज बन्दै गएको उनको भनाइ छ । पुलले बाहिरी मान्छेलाई समेत आकर्षित गरेको बताए । ‘यहाँका धेरै मान्छेको जग्गा, जमिन र गोठहरु पारि छन्, उनीहरु दैनिक कामकाज गर्न ठूला बिसौना जानुपर्छ, पुल नबन्दा उनीहरु गोठमा दुई घण्टा लगाएर पुग्थे भने अहिले ३० मिनेटमै पुग्न सक्छन्’, उनले भने, ‘हाम्रो घाँस दाउरा गर्ने वन पनि पारिनै भएको हुँदा पुलले जङ्गलबाट घाँस दाउरा ल्याउनसमेत सहज बनाएको छ, अहिले त पहिलेको जस्तो बारी र गोठमा काम गरेर फर्किन घण्टौँ लाग्दैन ।’ खुङ्खानीस्थित शान्ति माध्यमिक विद्यालयमा पढ्ने थास्पुरीका प्रेम सेन्चुरीले पुल आफूहरुका लागि वरदान सावित भएको बताए । उनले विद्यालय आउन जान निकै सहज भएको र पढाइसमेत राम्रो हुँदै गएको भन्दै खुसी व्यक्त गरे । उनले भने, ‘स्कूलभन्दा गाउँ पारि छ, दैनिकै आउजाउ गर्दा निकै गाह्रो हुन्थ्यो, तल खोलामा झर्न एक घण्टा, खोलाबाट स्कुल पुग्न साढे एक घण्टा लाग्थ्यो, अहिले आधा घण्टामै पुग्न सकिन्छ, पहिले धेरैँ हिँडेर थकाइ लागेर होला पढाइतिर खासै ध्यान जाँदैनथ्यो, निद्रा मात्रै लाग्थ्यो अहिले पढाइ पनि राम्रो हुँदै गएको छ ।’ उनले पुल नबन्दा आफूहरु बिहान ७ः३० बजे विद्यालय हिँड्ने गरेको सुनाउँँदै सेन्चुरीले अहिले ९ बजेपछि हिँडे पनि समयमै पुग्न सकिने बताए । पुल बनेपछि थास्पुरी, नर्जाखानी, भित्रिवन, खुङ्खानीलगायत यस स्थानका करिब तीन सय घरधुरीका नागरिक यो पुलबाट प्रत्यक्ष लाभान्वित भएको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले जानकारी दिए । स्थानीयले वर्षौंदेखि धेरै सास्ती खेप्दै आएका हुँदा यहाँ पुल निर्माण गरिएको उनको भनाइ थियोे । यो पुल पश्चिम बागलुङकै सबैभन्दा लामो र अग्लो स्थानमा भएको स्थानीय दाबी गर्छन् । यसको लम्बाइ तीन सय ३३ मिटर छ । रासस

नारायणी नदीमा सिग्नेचर पुल बनाउने प्रकृया अगाडि बढ्यो

काठमाडौं । लामो समयदेखि चर्चामा रहेको नारायणी नदीमा सिग्नेचर पुल बनाउने प्रकृया अगाडि बढेको छ । सडक विभागले नारायणी नदीमा सिग्नेचर पुल बनाउनको लागि ‘डिजाइन र बुल्ड मेथोड’को लागि ठेक्का आह्वान गरेको छ । विभागले ‘डिजाइन र बुल्ड मेथोड’को लागि मापदण्पड पुरा गरेका नेपाली व्यवसायीले ठेक्का हाल्न सक्ने जनाएको छ । जसमा राट्रिय स्तरको प्रतिस्पर्धा हुने छ । नारायणी नदीमा सिग्नेचर पुल निर्माण भएमा चितवन क्षेत्रमा पर्यटनको थप विकास हुने सम्भावना रहेको छ । भरतपुरकी मेयर रेनु दाहालले नारायणी नदीमा सिग्नेचर पुल बनाउने विषयमा लामो समयदेखि पहल गर्दै आएकी थिइन् । सडक विभागले पुल बनाउने प्रकृया अगाडि बढाएपछि सामाजिक सञ्जालमार्फत उनले खुसी व्यक्त गरेकी छन् ।