मुलुकलाई स्थिरतातर्फ लैजान गठबन्धन गर्नुपर्छ : माधवकुमार नेपाल
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गणतन्त्रको स्थायीत्व र संविधान जोगाउन वर्तमान गठबन्धन बनेको प्रष्ट पारेका छन् । ललितपुरमा आज आयोजित वाम–लोकतान्त्रिक गठबन्धनका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले दुईदुई पटक संसद् विघटन गरेर संविधान कुल्चनेका विरुद्ध गठबन्धन बनेको बताए । ‘दुईदुई पटक संसद् विघटन गरेर संविधान कुल्चने काम भयो, मुलुकलाई अस्थिरतातर्फ लैजाने कोशिस भयो’, उनले भने, ‘त्यसको विपक्षमा हामी उभियौँ, संविधान र लोकतन्त्र पनि जोगायौँ ।’ संविधानको आफूखुसी व्याख्या गर्दै मुलुकलाई तानाशाही व्यवस्थामा लैजाने प्रवृत्तिलाई आफूले असफल पारेको उनको भनाइ थियो । ‘गणतन्त्र मास्ने अभियान शुरु हुन खोज्दै थियो’, पूर्वप्रधानमन्त्री नेपालले भने, ‘हामीले देशलाई अस्थिरताबाट जोगाएर स्थिरतातर्फ लिएर गयौँ ।’ जनताको बलमा प्राप्त उपलब्धिलाई जोगाउँदै मुलुकलाई स्थिरतातर्फ लैजाने पवित्र उद्देश्यका साथ वाम र लोकतान्त्रिक पार्टीबीचको गठबन्धन बनाइएको उनको भनाइ थियो । ‘वाम र लोकतान्त्रिक शक्ति एकताबद्ध भएको लामो परम्परा छ’, अध्यक्ष नेपालले भने, ‘विगतमा वाम र लोकतान्त्रिक शक्ति मिलेर राणा शासन, पञ्चायत र राजसंस्थाको अन्त्य गरियो ।’ संविधानको रक्षा गर्न बनेको गठबन्धनलाई लक्षित गर्दै विपक्षीले लगाएको आरोपको सबै मिलेर खण्डन गर्नुपर्नेमा जोड दिँदै उनले विपक्षी गठबन्धनलाई काउन्टर जवाफ दिन निर्देशन दिए । तथ्य अगाडि सारेर तर्कपूर्ण ढङ्गले गलत कुरालाई खण्डन गर्नुपर्ने उनको भनाइ थियो । ‘हाम्रो सहकार्य जति सशक्त हुँदै जाने छ । जति समन्वय गर्दै जाने छौँ’, उनले भने, ‘जति जनताको माझमा पुग्ने छौँ । त्यति विजय सुनिश्चित हुने छ ।’ रासस
पहिरोकाे कारणले रोल्पाका ग्रामिण सडक अझै खुल्न सकेनन्
रोल्पा । रोल्पाका ग्रामिण भेगका सडक अझै खुल्न सकेका छैनन् । वर्षायाम् सुरु भएसँगै अवरुद्ध भएको अधिकांश सडक खुलेका छैनन । सडकको माथी र मुनीबाट पहिरो खसेपछि स्थानीयलाई हिडडुल गर्न समस्या भएको छ । पहिरोका कारण हिडडुल गर्न समस्या भएको रोल्पा नगरपालिकाका–९का दलबहादुर खत्रीले बताए । ‘वर्षामा आएको पानीले पुरै बाटो बिग्रेर ठप्प छ’, खत्रीले भने । पहिरो नखसेको ठाउँसमेतमा सडक चिरा चिरा परेर आवातजावतमा कठिनाई भएको बताइएको छ । सडकमा पहिरो खसेकाले दसैं मनाउन घर जाँदा सारै सास्ती भोग्नुपरेको परिवर्तन गाउँपालिकाका लोकेन्द्र चन्दले दुखेसो पोखे । ‘धेरैजसो ठाउँमा सडक अवरुद्ध छ सबै हिडेर जानुपर्ने बाध्यता छ’,चन्दले भने । जिल्लाको सदरमुकाम लिवाङसँग सबै वडा सडक सञ्जालसँग जोडिएको भएतापनि मापदण्ड विपरीत खनिएका सडकमा पहिरो खसेपछि अवरुद्ध भएका हुन् । सम्वन्धित निकायले ध्यान नदिँदा यात्रु भएपनि सवारी चलाउन मुस्कील भएको यातायात व्यवसायीले गुनासो गरेका छन् । मापदण्ड विपरीतका सडक खन्दा वर्षायाममा बाढी पहिरो जाने गरेको स्थानीयको भनाइ रहेको छ । वर्षा सकिएर चाडबाडको समय सुरु भएपनि गाउँँगाउँँ पुग्ने सडक नखुल्दा स्थानीयले सास्ती खेप्नुपरेको छ । रोल्पाको सदरमुकाम लिवाङदेखि सहिद मार्ग हुँदै थवाङ जाने सडक खण्ड र सनिलस्मृति गाउँपालिकाको सुलिचौर हँदै सुनछहरी गाउँपालिका जाने सडक खण्डको विभिन्न स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको हो । एक नगरपालिका र नौ गाउँँपालिका रहेको रोल्पामा ७२ वडा रहेका छन् । रासस
विराटनगरमा आँखा शिविरमा चार हजारको जाँच गरिने
मोरङ । विराटनगर महानगरपालिका र रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठानको आयोजनामा विराटनगरमा निः शुल्क आँखा जाँच शिविर सञ्चालन भएको छ । नगरका १९ वटै वडामा आजदेखि निःशुल्क आँखा शिविर आयोजना गरिएको हो । महानगरका प्रमुख नागेश कोइरालले नागरिकको स्वास्थ्यप्रति महानगर सचेत रहेको छ भन्दै आगामी दिनमा नगरका अन्य अस्पतालसँगको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने प्रतिबद्धता जनाए । वडा नम्बर १ का वडाध्यक्ष काजी बस्नेत, अस्पताल प्रतिष्ठानका महासचिव सुरेन्द्र गोल्छा, अस्पतालका प्रशासन प्रमुख विन्देश्वर महतोले नागरिकमा सचेतना जगाउन सके आँखा रोगबाट बच्न सकिने विचार राखे । शिविरमा महानगरका चार हजार नागरिकको आँखा जाँच गर्नुका साथै चार सयको निःशुल्क शल्यक्रियासहित चस्मा, औषधि र लेन्स प्रदान गर्ने योजना रहेको महानगरले जनाएको छ । महानगरका १९ वडामा ४८ वटा शिविर सञ्चालन गर्ने समेत योजना रहेको छ । रासस
महानगरले भन्यो : ३० दिनभित्र व्यवसाय दर्ता नगरे बन्द गर्छौं
काठमाडाैं । काठमाडाैं महानगरपालिकाले सबै व्यवसायीहरुलाई ३० दिनभित्र आफ्नाे व्यवसाय दर्ता गर्न आदेश दिएकाे छ । महानगरले मंगलबार एक विज्ञप्ति जारी गर्दै ३० गतेभित्र व्यवसाय दर्ता गर्ने निर्देशन दिएकाे हाे । महानगरले ताेकिएकाे समयमा व्यवसाय दर्ता नगरे बन्द गर्ने चेतावनी दिएकाे छ । ‘महानगरपालिकाको अनुगमनको क्रममा व्यवसाय दर्ता नगरी व्यापार व्यवसाय गरेको पाइएमा काठमाडौं महानगरपालिका राजस्व ऐन, २०७५ को दफा ३४ को उपदफा (ग) बमोजिम व्यवसाय बन्द गरी नियमानुसार जरिवाना समेत असुल गरिनेछ,’ विज्ञप्तिमा भनिएकाे छ ।
गलकोटमा जिल्लाकै ठूलो बाख्रा फार्म सञ्चालनमा पाँच करोड लगानी
गलकोट । बागलुङको गलकोटमा सञ्चालित सहारा बाख्रा फर्म जिल्लाकै ठूलो बाख्रा फार्म हो । दश वटा बाख्राबाट शुरु गरिएको फार्ममा अहिले ३०० बोका, बाख्रा र पाठापाठी छन् । लगानी जुटाउनका लागि कोरिया गएका गलकोट नगरपालिका–१ दुदिलाभाटीका कुँवर दाजुभाइले कोरियाबाट फर्केर जिल्लाकै ठूलो बाख्रा फर्म सञ्चालन गरेका हुन् । दाजुभाइ गमबहादुर कुँवर र विष्णु कुँवरले स्थापना गरेको वृहत्त बाख्रा फार्ममा एकै याममा ५० खसीबोका बिक्रीका लागि तयार भएका र यो वर्ष मात्रै एक करोड बराबरको खसी बोका बिक्री गर्ने लक्ष्य रहेको बताइएको छ । विसं २०७४ सालमा स्थापना गरिएको उक्त फार्म जिल्लाकै ठूलो र नमूना बाख्रा फार्ममा अहिले १६० वटा माउ बाख्रा मध्ये ५८ वटा बाख्रा व्याउने तयारीमा छन् । फर्ममा अहिले ३०० बाख्रा, बोका, तथा पाठापाठी रहेको फर्मका सञ्चालक गम बहादुरले जानकारी दिए । कोरिया पाँच वर्ष बसेका उनीहरुले त्यहाँको आम्दानी बाख्रा पालनमा लगानी गरेका थिए ‘एउटा बोकोलाई सरदरमा २५ हजार रुपैयाँ पर्ला, बोयर तथा खरी प्रजातिको क्रस गरिएका बोकाको मासु राम्रो भएकाले उक्त प्रजातिका बोकाको मासुको माग उच्च छ, अहिले ५० वटा बोका बिक्रीका लागि तयार भएको छ’ गमबहादुरले भने ‘दसैं तिहारसम्म १२ लाख रुपैयाँका बोका बिक्री गर्ने हो, गत आर्थिक वर्षमा ५० लाख रुपैयाँको बोका काख्रा बिक्री गरेका थियो यस पटक बोका बाख्रामा उल्लेख्य वृद्धि भएकाले एक कारेड रुपैयाँसम्म आम्दानी गर्ने लक्ष्य छ ।’ हालसम्म दुई दाजुभाईको पाँच करोड रुपैयाँ लगानी भइसकेको उक्त फार्म छ रोपनी जग्गामा फैलिएको छ भने ३०० रोपनी आफ्नै जग्गामा घाँस खेती छ । ‘भएको आम्दानी जति सबै फर्ममै लगानी भएको छ, गत वर्ष ५० लाख रुपैयाँको बाख्रा, बोका तथा पाठापाठी बिक्री गरेका थियौं, अहिले बाख्रा उत्पादनमा निकै वृद्धि छ, यो वर्ष एक करोड रुपैयाँको बोका, बाख्रा बिक्री गर्ने लक्ष्य छ’ कान्छा भाइ विष्णुले भने ‘फार्मबाट माउ बाख्रा, बोयर जातका बोका, पाठापाठी समेत बिक्री हुने गरेको र अन्य बोका मासुका लागि बिक्री भइरहेको छ, बाँकी रहेका बोका गलकोट बजारमा आफ्नै मासु पसलबाट बिक्री गर्दै आएका छौँ ।’ उनीहरुले बाख्रा पालनका लागि ३०० रोपनी जग्गा खरिद गरेका थिए । उक्त फार्ममा सरकारले व्याज अनुदान कार्यक्रमबाट ५० लाख रुपैयाँ ऋण तीन प्रतिशत व्याजमा उपलव्ध गराएकामा उक्त ऋणले आफ्नो फार्मले ठूलो फड्को मार्न सकेको कुँवर दाजुभाइको भनाइ थियो । ‘पाइएको ऋण बाख्राको दाना खरिदलाई पुग्छ’ विष्णुले भने ‘व्याज अनुदान कार्यक्रमले हाम्रो फार्ममा निकै परिवर्तन ल्यायोे, सय वटा बोका बाख्रा भएको फर्मलाई ३०० पु¥याउन सहयोग मिल्यो ।’ फार्ममा अहिले ५८ वटा बाख्रा व्याउने अवस्थामा रहेकाले बाख्राको सङ्ख्यामा वृद्धि भएर ४०० पुग्ने कुँवर दाजुभाइको भनाइ छ ।फार्म सञ्चालक विष्णुले बोकाका लागि बजारको अभाव नभएको बताउदै बाख्रा फर्मबाट आएको नाफाले घाँस बोक्न जीपसमेत खरिद गरिएको बताए ।उक्त फार्मले परिवारका सदस्यका साथै आठ जनालई प्रत्यक्ष रोजगारी दिन सफल भएको छ । गम बहादुरले कृषि विषय अध्ययन गरेपछि पाइएको रोजगारीबाट चित्त नबुझेपछि कोरिया गएको बताउदै कोरियाको कमाईले बाख्रा फर्ममा लगानी गरेको र पछि फार्मको नाफासमेत फार्ममै लगाउँदा लगानी धेरै भएको बताए । बाख्रापालनका लागि व्यवसायिक रुपले घाँस खेतीसमेत गर्दे आएका दाजुभाइले आफ्नो फार्म पहाडी जिल्लाको वृहत्तर फर्म मध्ये एक रहेको जिकिर गरे । रासस
कोरोना बीमाको १ अर्ब रकम कसरी वितरण गर्ने ? अन्योलमा बीमा समिति
काठमाडौं । कोरोना बीमाको पैसा वितरण गर्नमा बीमा समिति नै अन्योलमा परेको छ । अर्थमन्त्रालयले निकासा गरेको कोरोना बीमाको दावी भुक्तानी वापतको एक अर्ब रुपैयाँ कसरी वितरण गर्ने भन्नेमा समिति अन्योलमा देखिएको हो । समितिका अनुसार अर्थमन्त्रालयले दशै लगत्तै अर्थात असोज २३ गते बीमा समितिको खातामा एक अर्ब रुपैयाँ पठाएको थियो । पैसा पाएको करिब दुई साता बित्न लाग्दा पनि समितिले बीमितलाई के कसरी वितरण गर्ने भनेर टुङ्गो लाउन सकेको छैन । ‘अर्थमन्त्रालयबाट एक अर्ब पैसा आयो तर अब कसरी बाड्ने ? छलफल गर्दै छौं, टुङ्गो लागेपछि भन्छौं,’ समितिका कार्यकारी निर्देशक राजुरमण पौडलले बताए । लामो समयपछि सरकारले आफ्नो दायित्वमध्ये एक अर्ब रुपैयाँ मात्रै निकासा गरेको छ । सरकारबाट पूर्ण रुपमा रकम नआईसकेकोले रकम वितरण गर्नलाई बीमा समिति अन्योलमा परेको हो । यसमा सहजीकरणका लागि समितिले निर्जीवन बीमा कम्पनीका सीईओहरुको छाता संस्था बीमक संघसँग राय सुझाव माग गरेको छ । ‘कोरोना बीमाको भुक्तानी कम्पनीहरुले गर्ने हो, यसअघि के कसरी वितरण गरिएको थियो, पहिलाको सिष्टम के थियो, फष्ट कम फष्ट सर्भिस मार्फत जाने हो की कसरी जाने हो ? यस विषयमा गहन छलफल गरी निश्कर्ष निकाल्न बीमक संघलाई भनेका छौं, अब के निर्णय आउँछ, त्यसपछि मात्रै ठोेस निर्णय होला,’ कार्यकारी निर्देशक पौडेलले भने । बीमक संघले पनि हालसम्म यो विषयमा कुनै छलफल गरेको छैन । समितिले आफूहरुलाई मोडालिटी तयार पारेर पेश गर्न आग्रह गरेको तर हालसम्म छलफल नभएको जानकारी गराउँदै संघका चंकी क्षेत्रीले छिट्टै मिटिङ बसेर निश्कर्ष निकाल्ने बताए । ‘भुक्तानी हुन १० अर्ब बढी बाँकी छ, एक अर्ब आयो, कसरी बाड्ने ? कसलाई बाड्ने ? हात्तीको मुखमा जिरा भनेजस्तै भएको छ,’ सगरमाथा इन्स्योरेन्सका सीईओ समेत रहेका क्षेत्रीले विकासन्युजसँग भने, ‘तर आएको पैसा सकेसम्म छिटो बाड्नुपर्छ ।’ सरकारले आफ्नो दायित्व वापतको सबै पैसा निकासा नगरेकोले रकम वितरण पछि विवाद निम्तिन सक्ने अनुमान धेरैको छ । तर, विवाद ननिस्किने तवरबाट आफूहरु अघि बढ्ने समितिको भनाइ छ । ‘आएको पैसा सकेसम्म छिटो वितरण गर्नेछौं, भलै ढिलै भएपनि विवाद नआउने ढंगबाट समिति अघि बढ्ने छ,’ कार्यकारी निर्देशक पौडेलले भने । साथै, अब सरकारले बाँकी पैसा कहिले देला ? भन्ने विकासन्युजको प्रश्नमा पौडेल भन्छन्– ‘यही पैसा त बल्ल बल्ल आएको छ, ढिलै भएनी सरकारले दिन शुरु गरेको छ, अहिले यसमै खुशी हौं ।’ कोरोना बीमा मार्गदर्शन २०७७ अनुसार १७ लाख ५८ हजार ३४३ जनाले कोरोना बीमा गरेका थिए । जसमध्ये १ लाख ६५ हजार ५९ बीमितले १५ अर्ब ८२ करोड २१ लाख ७१ हजार ५५४ रूपैयाँ बराबरको दावी दिएका थिए । त्यसमध्ये ५१ हजार ६६९ जना बीमितले कूल ४ अर्ब ९८ करोड रुपैयाँ बराबरको दावी भुक्तानी भइसकेको छ । र, बाँकी रहेको एक लाख १३ हजार ३९० जना बीमितलाई १० अर्ब ८४ करोड रुपैयाँभन्दा बढी दावी भुक्तानी गर्न बाँकी रहेको समितिले जनाएको छ । कोरोना बीमा मापदण्ड अनुसार बीमा कम्पनीहरुले एक अर्ब रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीले एक अर्ब रुपैयाँ, बीमा कम्पनीहरुको महाविपत्ति कोषबाट ५० करोड रुपैयाँ र बीमा समितिको तर्फबाट एक अर्ब रुपैयाँ भुक्तानी गर्ने व्यवस्था छ । त्यसभन्दा बढी दाबी परेमा सम्पूर्ण रकम सरकारले भुक्तानी गर्ने मापदण्डमा उल्लेख छ । यद्यपि, कम्पनीहरुले कोरोना मापदण्डअनुसार कम्पनीहरुले भुक्तानी गर्नु पर्ने सबै रकम भुक्तानी गरिसकेका छन् । तर, यता सरकारबाट रकम निकासा नभएकाले कोरोना बीमाको भुक्तानी पूर्ण रुपमा रोकिरहेको छ । सरकारले रकम निकासा गरेपछि मात्रै बीमितलाई दावी भुक्तानी गर्नेमा कम्पनीहरु छन् ।
नेपालमा डब्ल्यूटीओ चेयर कार्यक्रम शुभारम्भ
काठमाडौं । विश्व व्यापार सङ्गठन (डब्ल्यूटीओ) ‘डब्ल्यूटीओ चेयर प्रोग्राम’ नेपालमा सार्वजनिक गरिएको छ । डब्ल्यूटीओ चेयर कार्यक्रमका लागि छनौट भएको काठमाडौं विश्वविद्यालयले आज यहाँ आयोजित एक कार्यक्रमका बीच उक्त कार्यक्रमको औपचारिक घोषणा गरेको हो । कार्यक्रमको शुभारम्भ गर्दै मुख्यसचिव शङ्करदास बैरागीले दिगो आर्थिक विकास र व्यापार प्रवद्र्धनका निम्ति डब्ल्यूटीओे चेयर कार्यक्रम उपयोगी हुने विश्वास व्यक्त गरे । उनले अन्तर्राष्ट्रिय व्यापार साझेदारीका लागि महत्वपूर्ण रहने उक्त कार्यक्रमको सफल कार्यान्वयनका लागि समन्वय र सहकार्य प्रभावकारी बनाइने बताए । विश्व व्यापार सङ्गठनले कम विकसित मुलुकहरूमा सङ्गठनको काम र आवश्यक अनुसन्धान कार्यमा समन्वय गर्न डब्ल्यूटीओ चेयर कार्यक्रम विगत १० वर्षदेखि सञ्चालन गरिरहेको छ । उक्त कार्यक्रमको ‘थर्ड ब्याच’ मा नेपालको विश्वविद्यालय छनौट भएको हो । नेपालसहित ५४ देशका एक सय २६ वटा आवेदन परेकामध्ये नेपालको काठमाडौँ विश्वविद्यालयको ‘स्कुल अफ म्यानेजमेन्ट’ पनि छनौट भएको थियो । यो कार्यक्रममा हालसम्म नेपालसहित विश्वका ३४ विश्वविद्यालय परिसकेका छन् । मुख्यसचिव बैरागीले दिगो आर्थिक विकास र व्यापार प्रवद्र्धनका लागि नीतिगत सुधार र योजनाबद्ध कार्यक्रम अघि बढाइने बताए । उनले भने, ‘नेपालले अझै पनि डब्ल्यूटीओको माध्यमबाट अपेक्षित लाभ लिन सकिरहेको छैन । उत्पादन वृद्धि र निर्यात प्रवद्र्धन प्राथमिकतामा रहेको छ । दिगो विकास लक्ष्य हासिल गर्न केही चुनौतीको सामना गरेर योजनाबद्धरूपमा अघि बढ्नुपर्ने आवश्यकता छ ।’ काठमाडौं विश्वद्यिालयका उपकुलपति डा भोला थापाले व्यापार प्रवद्र्धनका विषयमा अभिमुखीकरण र अनुसन्धानका लागि कार्यक्रमको भरपुर उपयोग गरिने बताए । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले नेपाल डब्ल्यूटीओसँग जोडिएको १८ वर्ष लामो अवधिमा अपेक्षित लाभ लिन नसकेको, निर्यात घटेर आयात बढिरहेको भन्दै मुलुकको व्यापार प्रवद्र्धनका निम्ति सरकार र निजी क्षेत्रको साझेदारीलाई बलियो बनाइनुपर्नेमा जोड दिए । डब्ल्यूटीओेका उपमहानिर्देशक डा सियाङचेन झाङले व्यापार प्रवद्र्धनमा साझेदारी अभिवृद्धिका साथै मुलुकको दिगो आर्थिक विकासका लागि कार्यक्रमले सहयोग पुग्ने बताए । नेपालका लागि अस्ट्रेलियाली राजदूत फेलिसिटी भल्कले नेपाल डब्ल्यूटीओको सक्रिय सदस्य रहेकाले व्यापार प्रवद्र्धनका लागि कार्यक्रम उपयोगी हुने भन्दै प्रभावकारी समन्वय र साझेदारीका साथ अघि बढ्ने विश्वास व्यक्त गरिन् । विश्वविद्यालयका रजिस्ट्रार प्रोफेसर डा अच्यूत वाग्लेले नेपाल डब्ल्यूटीओे चेयर कार्यक्रम छनोट भएकोमा गौरव अनुभूति रहेको भन्दै यसको प्रभावकारी कार्यान्वयन गरिने बताए । नेपालसहित १७ देश डब्ल्यूटीओ चेयर कार्यक्रममा छनोट भएका छन् । चार वर्षको चेयर कार्यक्रममा करिब दुई लाख स्वीसफ्राङ्क सहयोग रहेको छ । अस्ट्रेलिया, अस्ट्रिया, फ्रान्स र कोरियाले यो कार्यक्रमलाई ‘फन्डिङ’ गरेका छन् । उक्त रकम तीन आधारभूत क्षेत्र नयाँ पाठ्यक्रम विकास र शिक्षा, अनुसन्धान र क्षमता अभिवृद्धिमा खर्च गरिने विश्वविद्यालयका सहायक प्रोफेसर दीपेश कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार व्यापारसँग सम्बन्धित नयाँ पाठ्यक्रम विकास गरिने छ । जुन ‘मास्टर इन विजनेस अफ इकोनोमी’ मा ‘इन्टिग्रेट’ गर्ने योजना रहेको छ । विश्वविद्यालयभित्र विद्यावारिधि र विदेशी विद्यार्थीका लागि अनुदान दिइने जनाइएको छ । क्षमता अभिवृद्धिका कार्यक्रमअन्तर्गत ग्रामीण क्षेत्रका उद्यमी र शिक्षकलाई नेपालको व्यापार घाटालाई कसरी न्यूनीकरण गर्ने भन्नेबारे अभिमुखीकरण गरिने छ । कार्यक्रमको नेतृत्व विश्वविद्यालयका रजिस्ट्रार डा वाग्ले र विश्वविद्यालयको ‘स्कुल अफ म्यानेजमेन्ट’ का डिन डा देवीप्रसाद बिडारीले गर्नेछन् । कार्यक्रममा विश्वविद्यालयका रजिस्ट्रार प्रोफेसर डा वाग्लेले प्रधानमन्त्री शेरबहादुर देउवा र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूको शुभकामना सन्देश पढेर सुनाएका थिए । सन्देशमा प्रधानमन्त्री देउवाले डब्ल्यूटीओे चेयर प्रोग्रामका लागि नेपालको विश्वविद्यालयलाई छनोट गरेकामा सङ्गठनप्रति आभार व्यक्त गर्दै कार्यक्रमले असल अन्तर्राष्ट्रिय साझेदारी बढाएर लगानीको वातावरण सिर्जना गर्न र सरकार र निजी क्षेत्रको समन्वयलाई प्रभावकारी बनाएर मुलुकको व्यापार प्रवद्र्धनका निम्ति फलदायी हुने विश्वास व्यक्त गरेका छन् । त्यस्तै, उद्योगमन्त्री बडूले डब्ल्यूटीओे चेयर कार्यक्रममार्फत नेपालको उद्योग वाणिज्य प्रवद्र्धनमा टेवा पुग्ने बताएका छन् ।
उद्योग संगठन मोरङको स्टार्टअप एण्ड इनोभेशन कार्यक्रममा १७ नयाँ उद्यमी छनौट
काठमाडौं । उद्योग संगठन मोरङले यस वर्ष १७ वटा नविन व्यवसायिक आइडियाहरुलाई स्टार्टअप उद्यमीका रुपमा छनौट गरेको छ । नविन सोच तथा अवधारणा भएका युवाहरुलाई उद्यमशिलतामा रुपान्तरणका लागि सहजिकरण गरी नयाँ व्यवसायहरुको श्रृजना गर्न उत्प्रेरकको भूमिका निर्वाह गर्ने उद्देश्यले संगठनले गत वर्षदेखि सञ्चालन गरेको स्टार्टअप एण्ड इनोभेशन कार्यक्रम अन्तरगत दोस्रो ब्याचका लागि १७ युवा उद्यमी छनोट गरेको हो । यस वर्ष छानिएका नवउद्यमीहरुमा छ जना महिला र ११ जना पुरुष रहेका छन । छनौट भएका स्टार्टअपहरु ४ दिनको बुट क्याम्प सम्पन्न भइसकेको संगठनले जनाएको छ । बुट क्याम्पमा बिजनेश हेल्थ चेकअप गरी मेन्टर तथा बिजनेश कोचहरुसँग म्याच मेकिङ गरिएको कार्यक्रमका समितिका संयोजक सुरेन्द्र गोल्छाले बताए । नव उद्यमीलाई सघाउन कार्यक्रम अन्तरगत १८ जना मेन्टर, ५ जना बिजनेश कोच र ६ जना स्टार्टअपफेलो समेत छनोट गरिएको छ । कार्यक्रम अन्तरगत छनौट भएका स्टार्टअपहरुको व्यवसायिक योजना तयारी, सो अनुरुप आवश्यक पर्ने प्राविधिक विषयहरुमा मेन्टरसिप, कोचिङ तथा परामर्श सेवा, नेटवर्क विस्तारका साथै बुट क्याम्पको आयोजना जस अन्तरगत बिजनेश क्यानभास मोडेल, विजनेश हेल्थ चेक अप, उपभोक्तासँग साक्षात्कार गराउन हाटबजार एवं विभिन्न विषयगत कार्यक्रमहरुका माध्यमबाट १२ महिना व्यवासायिक सेवा उपलब्ध गराउदै आवश्यक पर्ने लगानीमा समेत सहजिकरण गरिने कार्यक्रम रहेको गोल्छाले बताए । कार्यक्रम कार्यान्वयनका लागि प्रदेश सरकार उद्योग श्रम तथा रोजगार मन्त्रालय, बिराटनगर महानगरपालिका, स्विस कन्ट्याक्ट, आसामान नेपाल, पूर्वाञ्चल विश्व विद्यालय, अन्तरप्रेरणा, नबिल बैंक, नेपाल युवा उद्यमी मञ्च लगायतका संस्थाहरुसँग संगठनले सहकार्य गरेको छ ।