काठमाडौं । निर्वाचन आयोगले सामाजिक सञ्जालमा हुने निर्वाचन केन्द्रित गलत सूचना प्रवाहलाई सामाजिक सञ्जाल मेटामार्फत अनुगमन र नियमन गर्ने भएको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन केन्द्रित भएर सामाजिक सञ्जालमा हुने प्रचारप्रसार तथा खर्चलाई मेटामार्फत अनुगमन गरिने जानकारी दिएका हुन् ।
उनले आयोगले सामाजिक सञ्जालबाट हुने असामाजिक, अमर्यादित चरित्र, चिन्तन र क्रियाकलापलाई उपयोगी, आवश्यक र मर्यादित बनाउनका लागि मेटासँग सहकार्य गरिएको बताए । ‘सामाजिक सञ्जालमार्फत निर्वाचनको स्वच्छतालाई प्रभाव पार्न दिइने छैन,’ उनले भने
सामाजिक सञ्जालमा निर्वाचन केन्द्रित मिथ्या तथा भ्रमपूर्ण सामग्री प्रशारण हुन नदिनका लागि मेटासँगको सहकार्य गरिएको उल्लेख गर्दै यसलाई आयोगले सामाजिक सञ्जाललाई नियन्त्रण गर्न खोज्यो भन्ने ढंगले नबुझ्न पनि उनले आग्रह गरे ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले राजनीतिक दलहरुले निर्वाचन प्रचारप्रसारका लागि सामाजिक सञ्जालमा गर्ने खर्चको पनि आयोगले निगरानी तथा अनुगमन गर्ने र सीमा उल्लंघन भएको पाए कारवाही गर्ने पनि बताए । ‘उम्मेदवारहरुले निर्वाचन खर्च विवरण नबुझाउने र बुझाएपनि एकातर्फ भएको खर्च अर्कोतर्फ देखाउने गरेका छन्, आयोगले त्यस्ता कामलाई नियन्त्रण गर्छ,’ उनले भने ।