विकासन्युज

प्राधिकरणको टोली जोखिममा परेका बस्तीको अध्ययन गर्न जुम्लामा

कर्णाली । सरकारले सङ्कटग्रस्त क्षेत्र घोषणा गरेका गाउँ तथा वडापालिकाको अध्ययनका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको टोली जुम्ला आइपुगेको छ । यही असोज १९–२४ गतेसम्मको अविरल वर्षापछिको बाढी तथा पहिरोजन्य विपद्ले क्षतिग्रस्त जुम्ला जिल्लाको कनकासुन्दरी, सिंजा, हिमा गाउँपालिका र तिला गाउँपालिका १, २, ३, ४, ६ र ७ वडालाई तीन दिन अघि सरकारले सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको थियो । यसको अध्ययन गर्न उपसचिव इञ्जिनियर पवनबाबु बास्तोला संयोजकत्वको तीन सदस्यीय प्राधिकरणको टोली जुम्ला आइपुगेको जिल्ला प्रशासन कार्यालय जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले जानकारी दिइन् । सरकारले जुम्लालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरेपछि जोखिममा परेका बस्तीको अध्ययन गर्न प्राधिकरणबाट टोली आएपछि बुधबार जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसेर प्राधिकरणबाट आएको विज्ञको टोलीलाई प्रत्येक पालिकाले समन्वय र सहजीकरण गर्ने निर्णय भएको उनले बताइन् । सप्रजिअ रिजालका अनुसार प्रत्येक पालिकाले हालसम्म भएको सम्पूर्ण क्षतिको विवरण वडा विपद् व्यवस्थापन समितिमार्फत सात दिनभित्र जिल्ला विपद् व्यवस्थापन समितिसमक्ष पेश गर्ने निर्णय भएको छ । उनका अनुसार प्राधिकरणको टोली स्थलगत अध्ययनका लागि बुधबार तातोपानी गाउँपालिकामा गएको छ । बाढी तथा पहिरोका कारण विस्थापित परिवारका लागि तत्काल खाद्य तथा गैर खाद्य सामग्री राहतस्वरुप उपलब्ध गराउन गृहमन्त्रालय, प्रदेश सरकार र सरोकारवाला गैरसरकारी संस्थालाई अनुरोध गर्ने निर्णय भएको उनले बताइन् । कर्णाली राजमार्गअन्तर्गत कालीकोट, मान्मा, राँचुली, भिग्म, नाग्म सडकखण्डमा ठूला–ठूला ढुङ्गा खसी बाटो अवरुद्ध भएको तर सो इलाकामा कालीकोटबाट उद्धार टोली आउन असहज हुने भएकोले जुम्लाबाट नेपाली सेनाको नन्दाबक्स गणलाई सडक विभाग तथा दुवै जिल्लाको जिल्ला प्रशासनसँग समन्वय गरी राजमार्ग सुचारु गर्न सहयोगका लागि अनुरोध गर्ने निर्णय गरेको छ । प्राधिकरणबाट आएको टोलीका सदस्य दीपककुमार खड्काले विपद् जोखिम न्यूनीकरण कार्यविधिअनुसार क्षतिको प्रकृति हेरी सरकारले राहत उपलब्ध हुने बताए । हिमाली जिल्लाको हकमा बाढी पहिरोपीडित परिवारलाई पाँच लाख रुपैयाँ, पहाडी जिल्लाको हकमा चार लाख रुपैयाँ र तराईका जिल्लाका हकमा तीन लाख रुपैयाँसम्म राहत पाउने उनले बताए । कार्यविधिअनुसार राहतको व्यवस्थापन गर्दा स्थानीय सरकारले १० प्रतिशत, प्रदेशले ३० प्रतिशत र सङ्घले ६० प्रतिशत सहयोग गर्नैपर्ने उल्लेख छ । पूर्णरुपमा भत्किएका घरको पुनःनिर्माणका लागि समस्या नभएको यद्यपि पुनःस्थापना र बस्ती स्थानान्तरणको निम्ति सरकारलाई समस्या भएको प्राधिकरणले जनाएको छ । रासस

रामपुर नगरपालिकामा छैन नागरिक वडापत्र

रामपुर । सेवा प्रदायक निकायले प्रदान गर्ने सेवाका सम्बन्धमा सेवाग्राहीलाई दिने सूचना नागरिक वडापत्र हो । पारदर्शिता प्रवद्र्धन र सुशासन कायम राख्नका लागि नागरिक वडापत्र महत्वपूर्ण औजार मानिन्छ तर पाल्पाको रामपुर नगरपालिका कार्यालयमा भने नागरिक वडापत्र देखिँदैन । सेवा प्रदायक निकायले आफ्नो कार्यालयबाट प्रदान गर्ने सेवाको बारेमा जानकारी गराउने विवरण वा सूचना पार्टीका रुपमा लिइने नागरिक वडापत्र हरेक कार्यालयमा राख्नुपर्ने भए पनि यहाँको नगरपालिका कार्यालयमा कतै राखिएको पाइँदैन । नागरिकले कार्यालयमा गएर के के सेवा लिने भन्ने जानकारीका लागि कार्यालय बाहिर राखिने जानकारीमूलक सूचना भए पनि रामपुर नगरपालिकाको कार्यालय परिसरमा कतै पनि नदेखिएको स्थानीयवासी भोजराज भट्टराई बताए । ‘वडापत्र नहुदा नगरपालिका कार्यालयमा सेवा लिन आउने नगारिक सूचना पाउनबाट वञ्चित हुन परेको छ’, उनले भने, ‘जाने बुझेका नागरिकले त कर्मचारीसँग सोधपुछ गरेर सूचना लिन्छन्अर्थात् बेवसाइटमार्फत सूचना हेर्लान् तर सामान्य नागरिक अन्धोजस्तै हुनुपरेको छ, वडापत्र अनिवार्य रुपमा राखिनुपर्ने भए पनि यहाँको नगरपालिकाले यसको व्यवस्था गरेको छैन ।’ नागरिक वडापत्रसम्बन्धी सुशासन ९व्यवस्थापन र सञ्चालन ऐन २०६४० ऐनमा भएको व्यवस्थाअनुसार नेपालमा प्रत्येक सेवा प्रदायक कार्यालयले कार्यालय परिसरमा सबैले देख्न सकिने ठाउँमा नागरिक वडापत्र राख्नुपर्दछ । नागरिक वडापत्र जोकोहीले स्पष्ट देखिने गरी कार्यालयमा राखिनुपर्ने भए पनि रामपुर नगरपालिकाले सो व्यवस्थाको पालना नगरेको सीताराम माविका शिक्षक मनिराज अधिकारीले बताए । सूचना पाउने नागरिकको नैसर्गिक अधिकार हो । नागरिकले सूचना छिटो पाउनुपर्दछ र कार्यालयमा प्रष्टसँग देखिने गरी राख्नुपर्छ । नगरपालिकाले सबै नागरिकले देखिने गरी राखेको खण्डमा नागरिक सूचना पाउनबाट वञ्चित हुनु नपर्ने बताउँछन्, कालिका माविका शिक्षक ज्ञानबहादुर दर्जी । कार्यालयले सेवा दिने विषयलाई स्पष्टसँग सेवाग्राहीलाई अग्रिम जानकारी गराउने सूचना पार्टीलाई पार्टी नागरिक वडापत्र भनिन्छ । यो सेवाग्राहीको प्रतिबद्धतापत्र पनि हो । रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेले डिजिटल बनाउने प्रक्रियामा रहेको र अब छिट्टै नै डिस्प्लेसहितको नागरिक वडापत्र बन्ने बताए । ‘म पनि यस कार्यालयमा हालसालै मात्रै सरुवा भएर आएको हो, पूरानो भवनमा हाल रामपुर ५ को वडा कार्यालय रहेको नागरिक वडापत्र थियो भन्ने जानकारी पाएको छु, प्रक्रियामा रहेकाले हामी जतिसक्दो चाँडो राख्ने तयारीमा छौँ’, उनले भने । नयाँ प्रशासकीय भवन सञ्चालन भएको सात महिना भइसक्दा पनि नागरिक वडापत्र नराखिनु नगरपालिकाको ढिलासुस्ती भएको नागरिकले बताएका छन् । नागरिक वडापत्र भनेको सेवा प्रदायक सार्वजनिक निकायले आफूले प्रवाह गर्ने सेवा र सेवा प्राप्ति प्रक्रियाको सम्बन्धमा नागरिकप्रति गरेको लिखित प्रतिबद्धता हो । सम्बन्धित कार्यालयले दिने सेवा र त्यसको प्रकृति, सेवाग्राहीले सेवा प्राप्त गर्न पूरा गर्नुपर्ने कार्यविधि, सेवा प्रदान गर्न लाग्ने समयावधि, सेवा प्रदान गर्ने पदाधिकारी र निजको कार्यकक्षको विवरण, सेवा प्राप्त गर्न कुनै दस्तुर तथा अन्य रकमसमेत लाग्ने भए सोको विवरण, सेवा प्राप्त गर्न सेवाग्राहीले पेस गर्नुपर्ने कागजात, सेवाग्राहीले सेवा सम्बन्धमा गरेका गुनासो सुन्ने अधिकारीको पद र नाम, सेवा प्रदायक निकायको तालुक कार्यालय र टेलिफोन नं, सेवा प्रवाहको प्राथमिकता, क्षतिपूर्ति प्राप्त हुने र नहुने सेवाजस्ता जानकारीमूलक सूचना नागरिक वडापत्रमा पाइन्छ । प्रशासनलाई जनउत्तरदायी तथा नागरिकमैत्री बनाउने, कानूनको शासनलाई प्रत्याभूति गर्ने, सार्वजनिक निकायमा पारदर्शिताको प्रवद्र्धन गर्ने, सरकारी काम कारबाहीमा अनियमितता, ढिलासुस्ती र भ्रष्टाचार हटाउने, सेवा वितरण प्रणालीमा सुधारको लागि पृष्ठपोषण प्राप्त गर्ने, दण्ड पुरस्कार प्रणालीको विकास गर्ने तथा समग्रमा भन्दा मुलुकमा सुशासन कायम गर्ने उद्देश्यले नागरिक वडापत्र राख्ने परम्पराको विकास भएको पाइन्छ । रासस

कात्तिक ४ गतेदेखि पोखरामा पुष्प मेला हुने, साढे ८ लाख खर्च लाग्ने अनुमान

लेखनाथ । व्यावसायिक प्रवद्र्धन तथा तिहार पर्वलाई लक्षित गरी पोखरामा छैटौँ पुष्प मेला सञ्चालनमा ल्याइने भएको छ । यहाँका पुष्प व्यवसायीले यही कात्तिक ४ गतेदेखि ६ गतेसम्म पुष्प मेला सञ्चालन गर्न लागेका हुन् । पोखरा रङगशालामा आयोजना गरिने पुष्प मेलामा गोदावरी फूललाई विशेषरूपमा प्रवद्र्धन गरिने गोदावरी प्रदर्शनी तथा पुष्प मेला, २०७९ मूल आयोजक समितिका संयोजक डिलबहादुर गुरुङले जानकारी दिए । गोदावरी मेलामा कास्की तथा यस क्षेत्रअन्तर्गत २५ व्यवसायीले आफ्ना नर्सरीमा उत्पादित फूल तथा फूलका बीउको स्टलहरू राख्ने आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा बताइएको छ । पुष्प मेलामा आठ लाख ५० हजार खर्च लाग्ने अनुमान गरिएको छ । मेलामा सरकारी तथा विभिन्न सङ्घ संस्थाको सहयोग रहने जानकारी सो अवसरमा दिइएको थियो । प्रदर्शनीमा गोदावरी फूलका अतिरिक्त अन्य परम्परागत फूल, कटफ्लावर, सुनगाभा, सिजनल फूल, बोन्साई, बिरुवा प्रदर्शनी एवं बिक्री गरिने जानकारी पुष्प व्यवसायी दयाकुमार द्वाले दिए । पोखरामा प्रत्येक वर्ष पुष्प प्रदर्शनी गरिँदै आएको भए पनि पछिल्लो दुई वर्ष कोरोनाका कारण मेला सञ्चालनमा आउन सकेको थिएन । कास्कीमा मात्र ५० भन्दा बढी पुष्प व्यवसायी रहेका छन् । फूलमा गण्डकीलाई आत्मनिर्भर बनाउने उद्देश्यले नै फूलको प्रवद्र्धन गरिएको पुष्प व्यवसायी द्वा बताउँछन । पछिल्लो समय पुष्प खेतीतर्फ कृषक आकर्षित भएको र फूलले मूल्यसमेत पाउने गरेको व्यवसायीहरूले बताएका छन् । पोखरामा तिहारको समयमा मात्र दुई करोडभन्दा बढी मूल्यको सयपत्री तथा मखमली फूलका माला तथा फूल बिक्री हुने गरेको जानकारी उक्त अवसरमा दिइएको छ । आयोजकका अनुसार तिहारमा बिक्री हुने ८० प्रतिशत फूल तथा माला कास्की तथा आसपासका जिल्लामा नै उत्पादित हो भने २० प्रतिशत माला तथा फूल भारतबाट आयात हुने गरेको छ । रासस

तिहारका लागि सयपत्रीको मूल्य प्रतिगोटा ९० देखि १०० रुपैयाँ

चितवन । जिल्लामा रहेर फूल खेती गर्ने किसानले तिहारका लागि फूल र मालाको मूल्य निर्धारण गरेका छन् । व्यावसायिकरुपमा पुष्प खेती गर्ने कृषकले बजारमा एकरुपता ल्याउनका लागि फूल र मालाको मूल्य निर्धारण गरेका हुन् । कृषकले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी तिहारको तीन दिनका लागि सयपत्री फूलको माला प्रतिगोटा खुद्रा मूल्य ९० देखि १०० र होलसेल मूल्य ६० देखि ७० कायम गरिएको जानकारी दिएका छन् । तिहारपछिका लागि खुद्रा मूल्य ७० र होलसेल मूल्य ५० राखिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । सयपत्री फूल प्रतिकिलो तीन सय ५० देखि चार सय कायम गरिएको कृषकले बताएका छन् । सिजनबाहेक अन्य समयमा यसको मूल्य न्यून रहने गरेको छ । भारतबाट आयात हुने मालाले नेपाली मालाको बजार विस्थापित गर्न खोजेको भन्दै किसनाले मालाको मूल्य निर्धारण गरेका हुन् । फ्लोरिकल्चर एशोसिएशन चितवनका कोषाध्यक्ष सुलभ श्रेष्ठले नेपाली मालाको मूल्य बढी हुँदा भारतीय मालाको आयात बढ्ने भएकाले मूल्य निर्धारण गर्न बाध्य भएको बताउनुभयो । जिल्लालाई यही उत्पादित मालाले पुग्ने भन्दै उनले भारतीय मालाको प्रयोग नगर्न उपभोक्तालाई अनुरोध गरे । जिल्लामा अहिले ४० देखि ५० बिघा क्षेत्रफलमा फूल खेती गरिएको सो अवसरमा जानकारी दिइएको थियो । फूलमाला फर्मका सञ्चालक गोविन्द बास्तोलाले तिहार लक्षित गरेर भारतीय माला नेपालमा आइसकेको जानकारी दिए । चितवनमा मात्रै एक ट्रक माला आएको र ठूलो मात्रामा माला आउन लागेको उनले बताए । उनले भने, ‘भारतीय माला नेपालका विभिन्न चिस्यान केन्द्रमा राखिएको छ । अब केही दिनमा बजारमा ल्याउने तयारी गरिँदै छ ।’ यसको विरोधमा कृषकले तिहार सुरु भएलगत्तै स्थानीय प्रशासनको सहयोगमा त्यस्ता माला नष्ट गर्ने उनको दाबी थियो । भारतीय मालामा केमिकलको प्रयोग गरिएको हुने हुँदा बजारमा ल्याएको केही समयमानै कालो हुन थाल्ने उनको भनाइ थियो । मालामा सुतरीको प्रयोग गरिने र छिटो बिग्रने हुँदा मानिसको स्वास्थ्य र कपडामा समेत असर गर्ने उनले बताए । बास्तोलाले अहिले कालिका नगरपालिका वडा नम्बर २ मा २ बिघा क्षेत्रफलमा फूल खेती गरिरहेका छन् । पेशाले प्राध्यापक भए पनि उनले फूलमाला फार्म मार्फत पुष्पव्यवसाय गर्दै आएका छन् । असोजदेखि मङ्सिरसम्म यो व्यवसाय हुने उनको भनाइ थियो । जिल्लामा ठूलो मात्रामा व्यवसाय गर्ने कृषक १० देखि १५ जना रहेका छन् । उनीहरूले एक बिघा क्षेत्रफलभन्दा बढी क्षेत्रफलमा पुष्प व्यवसाय गरेको उनले जानकारी दिए । रत्ननगर कृषि शाखाका प्रमुख प्रवीण लामाले अहिले एक बिघा १० कट्ठामा पुष्प व्यवसाय गर्दै आएका छन् । तीन जना मिलेर सुरु गरेकाे व्यवसाय राम्रो भए पनि बजारमा मूल्य निर्धारण भएसँगै कृषकको मनोबल बढ्ने उनले बताए । तिहारका लागि जिल्लामा पाँच लाख मालाको माग भएको भन्दै उनले जिल्लाले यो माग धान्न सक्ने बताए । अहिले व्यावसायिकरुपमा पुष्पखेती गर्ने कृषकले जिल्लामा तीनदेखि चार लाख माला उत्पादन गर्ने उनले जानकारी दिए । जसमध्ये ५० हजारदेखि एक लाख माला मखमली फूलको उत्पादन हुने छन् । जिल्लामा उत्पादित मालाबाट कृषकले चार करोडको कारोबार हुने अपेक्षा राखेका छन् । गत वर्ष जिल्लाको उत्पादनले यहाँको बजारको ६० प्रतिशत पुगेकोमा अहिले ८० प्रतिशत पुग्ने उनीहरूको अनुमान रहेको छ । बीस प्रतिशत माला गाउँघरमा आफैँ बनाउने गरेकाले यहाँको बजारलाई माला प्रर्याप्त हुने कृषकले बताएका छन् । नेपालमा स्वरोजगार बन्नका लागि यो व्यवसाय उत्तम व्यवसाय भएको अर्का कृषक सुन्दर बस्नेतले बताए । उनका अनुसार पुष्प व्यवसायलाई आत्मनिर्भर बनाउनका लागि कृषकले मालाको मूल्य तय गरेका हुन् । अहिले यो व्यवसायबाट दुई सयले रोजगार पाइरहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । तिहारको समयमा ८० प्रतिशत लागत मूल्य उठ्ने कृषकको भनाइ छ । विचौलियका कारण माला बिक्री नहुने चिन्ता बढेको भरतपुर महानगरपालिका–९ की लक्ष्मी सापकोटाले बताइन् । उनले भनिन्, ‘यस वर्ष मौसमका कारण उत्पादन राम्रो छ तर भारतीय मालाका कारण समस्या आउने चिन्ता बढी रहेको छ ।’ हामीले दुःख गरेका छौँ तर भारतीय माला बजारमा आउन सुरु भइसक्यो उनको गुनासो थियो । कृषकले तिहारलाई लक्षित गरेर आजदेखिनै माला तयार गर्न लागेको सो अवसरमा जानकारी दिइएको थियो । रासस

आयोगले निर्वाचन केन्द्रित गलत सूचना प्रवाहलाई अनुगमन गर्ने, मेटासँग गर्यो सहकार्य

काठमाडौं । निर्वाचन आयोगले सामाजिक सञ्जालमा हुने निर्वाचन केन्द्रित गलत सूचना प्रवाहलाई सामाजिक सञ्जाल मेटामार्फत अनुगमन र नियमन गर्ने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन केन्द्रित भएर सामाजिक सञ्जालमा हुने प्रचारप्रसार तथा खर्चलाई मेटामार्फत अनुगमन गरिने जानकारी दिएका हुन् । उनले आयोगले सामाजिक सञ्जालबाट हुने असामाजिक, अमर्यादित चरित्र, चिन्तन र क्रियाकलापलाई उपयोगी, आवश्यक र मर्यादित बनाउनका लागि मेटासँग सहकार्य गरिएको बताए ।  ‘सामाजिक सञ्जालमार्फत निर्वाचनको स्वच्छतालाई प्रभाव पार्न दिइने छैन,’ उनले भने सामाजिक सञ्जालमा निर्वाचन केन्द्रित मिथ्या तथा भ्रमपूर्ण सामग्री प्रशारण हुन नदिनका लागि मेटासँगको सहकार्य गरिएको उल्लेख गर्दै यसलाई आयोगले सामाजिक सञ्जाललाई नियन्त्रण गर्न खोज्यो भन्ने ढंगले नबुझ्न पनि उनले आग्रह गरे । प्रमुख निर्वाचन आयुक्त थपलियाले राजनीतिक दलहरुले निर्वाचन प्रचारप्रसारका लागि सामाजिक सञ्जालमा गर्ने खर्चको पनि आयोगले निगरानी तथा अनुगमन गर्ने र सीमा उल्लंघन भएको पाए कारवाही गर्ने पनि बताए । ‘उम्मेदवारहरुले निर्वाचन खर्च विवरण नबुझाउने र बुझाएपनि एकातर्फ भएको खर्च अर्कोतर्फ देखाउने गरेका छन्, आयोगले त्यस्ता कामलाई नियन्त्रण गर्छ,’ उनले भने ।  

निर्यात सुरु गरेसँगै पूर्ण क्षमतामा चल्ने तयारीमा अर्घाखाँची र श्री स्टील

काठमाडौं । कोरोना महामारीले नेपाली अर्थतन्त्रमा परेको नकारात्मक प्रभावका कारण नेपाली उद्योग तथा व्यवसायिक क्षेत्रहरु विगतको अवस्थामा सञ्चालन हुन सकेका छैनन् । बैंकिङ क्षेत्रमा लगानीयोग्य पुँजीको अभावको कारण पछिल्लो समयमा व्यवसायिक तथा निजी घरजग्गाको कारोबार न्यून भएको विभिन्न तथ्यांकहरुले देखाएका छन् । बैंकमा पैसा नभएकै कारण सर्वसाधारणले देखि उद्योग व्यवसाय विस्तारका लागि पनि बैंकबाट पैसा पाउने अवस्था छैन । बैंकिङ क्षेत्रमा लगानीयोग्य पुँजीको अभाव भएकै कारण त्यसको प्रत्यक्ष असर नेपाली सिमेन्ट तथा छड उद्योगहरुमा पनि परेको छ । उत्पादन क्षमताको अभावका कारण उद्योगहरु पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन् । सरकारले चालु आर्थिक वर्षको बजेटमा निर्यातयोग्य उद्योगहरुलाई अनुदान उपलब्ध गराउने नीति ल्याएसँगै केही सिमेन्ट तथा छड उद्योगहरुले आफ्नो उत्पादन निर्यात गर्न थालेका छन् । निर्यात प्रारम्भसँगै उद्योगहरु अब पूर्ण क्षमतामा चल्न सक्ने आसा रहेको उद्योगी व्यवसायीहरु बताउँछन् । असारको अन्तिम साता तानसेन सिमेन्टले भारतमा निर्यात सुरु गर्यो । गत साउन ४ गतेबाट श्री स्टील्स प्राइभेट लिमिटेडले भारतमा टिएमटी छडको निर्यात सुरु गरेको थियो । श्री स्टील्सले भारतको उत्तर प्रदेशमा निर्यातको पहिलो दिन ३५ टन छडको निर्यात गर्यो । कम्पनीले आइएसआई सर्टिफिकेट पाएपछि पेपर प्रकृया पुरा गर्नको लागि मात्रै सो स्टील निर्यात गरेको थियो । तर, त्यसपछि भने नियमित निर्यातको कार्य नभएको सिद्धार्थ ग्रुपका म्यानेजिङ डाइरेक्टर राजेशकुमार अग्रवालले बताए । भारतीय व्यवसायीहरुले तिहारपछिमात्रै स्टीलको माग गरेकोले अहिले निर्यात नियमित नभएको उनको भनाइ छ । श्री स्टील उद्योगको दैनिक उत्पादन क्षमता ८ सय टन रहेको छ । तर, बजारमा माग नभएकाले उद्योगले अहिले २ सय टनको हाराहारीमा मात्रै उत्पादन गरिरहेको छ । अग्रवालका अनुसार अहिले बजारमा दैनिक जम्मा १ सय टन छडको बिक्री भइरहेको छ । सरकारले निर्यातमा उपलब्ध गराउने भनेको ८ प्रतिशतले केही राहत हुने भएपनि प्रयाप्त भने नभएको उनको भनाइ छ । निर्यातमा प्रतिस्पर्धा सहज नभएको अग्रवालको भनाइ छ । ‘भारतमा पनि पहिलेभन्दा माग घटेको अवस्था छ, सरकारले उपलब्ध गराउने ८ प्रतिशतले हामी केही गर्न सक्छौं भन्ने हो’ उनले भने । भारतबाट कच्चा पदार्थ ल्याएर भारतमा नै निर्यात गर्दा भारतमा भन्दा स्वभाविक रुपमा महँगो हुने उनी बताउँछन् । ‘हामीले सबै कच्चा पदार्थ बाहिरबाट ल्याउनु पर्ने र कोइला दक्षीण अफ्रिकादेखि ल्याउनपर्दा भारतमा भन्दा स्वभाविक रुपमा महँगो हुन्छ,ं भारतबाट नेपालमा कच्चा पदार्थ ल्याएर भारतमा नै बेच्दा स्टीलको प्रतिकेजी ६ प्रतिशत भाडा बढी लाग्छ’ उनले भने । त्यस्तै, अर्घाखाँची सिमेन्ट लिमिटेडले असोज ३१ गते ‘अर्घाखाँची’ ब्राण्डको सिमेन्ट भारत निर्यात गरेको छ । सो उद्योगले पहिलो दिन भारतको युपी सहरमा २ हजार बोरा सिमेन्ट निर्यात गरेको थियो । अर्घाखाँची सिमेन्टले प्रतिबोरा २ सय ६५ रुपैयाँ भारुमा सिमेन्ट भारत निर्यात गरेको जनाएको छ । अर्घाखाँची सिमेन्टको दैनिक उत्पादन क्षमता ४ हजार मेट्रिक टन रहेको छ । तर, बजारमा मागको अभावको कारणले विगत ९० दिनमा ३० दिन पनि उद्योग सञ्चालन हुन नसकेको कम्पनीका निर्देशक राजेश अग्रवाल बताउँछन् । कम्पनीले नेपाली बजारमा सम्पूर्ण कर सहित कम्पनीले ४ सय ९० रुपैयाँमा सिमेन्ट बिक्री गरिरहेको उनको भनाइ छ । सिमेन्ट छड भनेको ब्राण्डमा आधारित विषय भएकाले भारतमा स्थापित उद्योगहरुसँग प्रतिस्पर्धा गर्ने कुरा गाह्रो हुने भएपनि भारतीय बजारमा प्रवेश पाएसँगै आफ्ना उद्योगहरु आगामी दिनमा पूर्ण क्षमतामा सञ्चालन हुनसक्ने विश्वास आँफूहरुमा रहेको अर्घाखाँचीका निर्देशक अग्रवाल बताउँछन् ।

झिलिमिली बत्तीको मूल्य १० प्रतिशतले वृद्धि, ७० करोडको आयात ३० मा झर्यो

काठमाडौं । तिहारमा प्र्रयोग हुने झिलिमिली बत्तीको मूल्य गत वर्षको भन्दा १० प्रतिशतसम्मले वृद्धि भएको छ । नेपाल विद्युतीय व्यावसायी महासंघले गत वर्षको तुलनामा यो वर्ष तिहारमा प्रयोग हुने झिलिमिली बत्तिकोमूल्य ८ देखि १० प्रतिशतले वृद्धि भएको बताएको हो । महासंघले अमेरिकी डलरको मूल्यमा आएको वृद्धि तथा राष्ट्र बैंकको नीतिको कारण बत्तीको मूल्य बढेर आएको बताएको छ । तिहार नजिकिएसँगै बजारमा तिहार केन्द्रित वस्तुहरूको खरिदबिक्री बढ्न थालेको छ । फूलहरुको र झिलिमिली बत्तीको पर्वकोरुपमामनाइनेतिहारका लागि बजारमाबत्ती, भाइमसला, फूलजस्ता वस्तुहरूहरुको बिक्री तथा खरिद शुरु भएको छ । महासंघका महासचिव कमल पोखरेलले बजारमा झिलिमिली बत्तीको माग बढे पनि विगतका वर्षको तुलनामा यो वर्ष बत्तीको आयातमासमेत केही कमी आउने बताए । उनकाे अनुसार आयातमा कमी तथा गत वर्षको तुलनामा विद्युतीय झिलिमिली बत्तीको मूल्यसमेत ८ देखि १० प्रतिशतले बढेकाे छ । ‘तातोपानी र रसुवागढी नाका सहजतापूर्वक सञ्चालन नहुँदा र प्रतिपत्र एलसी खोल्ने समयमा शतप्रतिशत रकम राख्नुपर्ने व्यवस्थाले आयात कम भएको छ, गत वर्ष नेपालमा २५ देखि ३५ प्रतिशत अर्थात करिब ४० करोडको विद्युतीय बत्ती आयात भएको थियाे, यो वर्ष करिब ३० करोड रुपैयाँ बराबरको आयात हुने अनुमान छ,’ उनले भने उनले कोभिड भन्दाअघि वि.सं. २०७६ मा तिहारको समयमा नेपालमा करिव ६० देखि ७० करोड बराबरको झिलिमिली बत्ती आयात हुने गरेकोमा कोभिडपछि २५ करोड बराबरको मात्रै झिलिमिली बत्ती आयात हुन थालेको बताए । ‘झिलिमिली बत्तीको आयातका लागि नेपालबाट व्यवसायीहरुले अर्डर दिनुपर्ने समयमा चीनका शहरहरुमा लकडाउन भएकाले अर्डर गरेका सामान समयमा नेपाल आइनपुग्दा बजारमा बत्तीहरुको अभाव रहेको छ, तातोपानीको नाका बन्द रहनु र रसुवागढीको नाका पनि सहजतापूर्वक सञ्चालनमा आउन नसक्नुले यो वर्षको झिलिमिली बत्तीको आयात प्रभाव परेको हाे, उनले भने । नेपालमा सामान्य अवस्थामा विद्युतीय सामग्री तथा बत्ती नेपालमा वार्षिक १ अर्बभन्दा धेरैको आयात हुने गरेको छ । जसमध्ये आयात हुने झिलिमिली बत्तीको ८० प्रतिशत खपत तिहारको समयमा हुने महासंघले बताएको छ । महासंघकाे अनुसार क्रिसमस, नयाँ वर्ष तथा विवाह भोजजस्ता कार्यक्रमहरुमा २० प्रतिशत आयातित बत्तीको खपत हुने गरेको छ । तिहारमा बजारमा सबैभन्दा धेरै एलईडी लाइट, एलईडी डिस्को लाइट, एलईडी फ्रेम लाइट, नेट झालर, दियो, स्ट्रप लाईट अत्याधिक बिक्री हुने गर्दछ ।

दक्षिण कोरियामा कोभिड-१९ का ३३ हजार नयाँ सङ्क्रमित थपिए

सोल । दक्षिण कोरियामा २४ घण्टा अघिको तुलनामा सोमबार मध्यरातसम्म ३३ हजार दुई सय ४८ कोभिड–१९ नयाँ सङक्रमित देखिएका छन् । हाल कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या २ करोड ५१ लाख ६४ हजार छ सय ९५ पुगेको स्वास्थ्य अधिकारीहरूले मङ्गलबार जानकारी दिएका छन् । कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी ९केडिसिए० का अनुसार अघिल्लो दिनको तुलनामा ११ हजार ४० ले बढेको थियो । एक हप्ताअघि १५ हजार ४ सय ६६ भन्दा बढी थियो । गत हप्ताको पुष्टि भएका केसहरुको दैनिक औसत सङ्ख्या २४ हजार दुई सय ३६ थियो । नयाँ केसहरू मध्ये, ८७ विदेशबाट आयात भएका छन् । गम्भिर अवस्थामा रहेका सङ्क्रमितको सङ्ख्या अघिल्लो दिनको तुलनामा एकले घटेर दुई सय ४७ पुगेको छ । यस प्रकोपको कारण थप छ जनाको मृत्युको पुष्टि भएपछि कुल मृतकको सङ्ख्या २८ हजार आठ सय ५६ पुगेको जनाइएको छ । कुल मृत्यु दर ०.११ प्रतिशत रहेको बताइएको छ ।