पाल्पाका किसानलाई धान खेतमा फड्के कीराको समस्याले सधैँ पिरोल्छ
पाल्पा । रम्भा गाउँपालिका–१ सगाहाका रमेश रानाभाटको धान खेतमा यस पटक फड्के कीराले सखापै पार्ने गरी सतायो । वर्ष दिनभर परिवार पाल्न दुःखसँग खेती गरेका उनी खेतभरि झुलेका धानबालीमा यस पटक कीराको समस्याले चिन्तित छन् । ‘दुःख गरेर धान लगाइयो अब त भकारीमा स्याहार्ने बेला भयो भनेर उत्साहित भएको सखापै पार्ने गरी किराले सतायो, कहिले गबारो कहिले फड्के कीरालगायतका विभिन्न समस्याले किसानलाई सधैँ पिरोल्छ’, उनले गुनासो पोखे । वर्षा सकिएपछि हालै काटेको धान बालीमा पनि प्रकोप फैलिँदा स्याहार्नै नपर्ने अवस्था भएपछि खेतमै पाँजासहित आगोमा जलाएर नष्ट गर्नुपरेको उनी बताउँछन् । करिब छ रोपनी क्षेत्रफलमा लगाइएको धानबाली राम्रै भएपछि स्याहार्ने समयमा फड्के किराको समस्याले क्षति पुगेको छ । पाँच जनाको परिवारलाई वर्ष दिन खान पुग्ने सो जग्गामा लगाइएको धान यस पटक नोक्सान हुँदा परिवार कसरी पालिने भन्ने चिन्ताले उनलाई रातदिन सताएको छ । गत वर्ष काटेको धान वर्षाले डुबानमा परी नोक्सानी उनले बेहोर्नुप¥यो । क्षतिपूर्तिका लागि गाउँपालिकाले विवरण सङ्कलन गरे तापनि पहुँचवालालाई नै वितरण गरेर आफूलाई विभेद गरेको उनको गुनासो छ । सगाहाको नौसय मुरी खेतभरि नै सो कीराले सताएको अगुवा कृषक ऋषिराम अर्याल बताउँछन् । उनका अनुसार गत वर्ष यस क्षेत्रमा फ्याट्टफुट्ट रुपमा देखिँदा खासै धानमा असर परेन तर यस पटक ठूलै क्षति हुने गरी फैलिएको छ । आफूले लामो समयदेखि धान लगाउँदै आएको भए पनि यस पटकजस्तो महामारीको रुपमा फड्के कीराको प्रकोप विगतका वर्षमा नरहेको अर्यालको भनाइ छ । जिल्लाको हुँगी, अगाहाखोला क्षेत्रमा करिब ७० रोपनीमा फड्के कीराको समस्या फैलिएपछि स्थलगत निरीक्षणपश्चात् कार्यालयबाट नियन्त्रणका लागि विषादी उपलब्ध गराइएको कृषि ज्ञानकेन्द्रका प्रमुख कामना अधिकारी बताउँछन् । ‘धानबालीमा लाग्ने प्रकोपमध्ये यो सबैभन्दा खतरनाक किरा हो, यस वर्ष पानी धेरै परेकाले प्रकोप फैलिएको छ, समयमा नै पहिचान भई उपचार गरेमा नियन्त्रणमा ल्याउन सकिन्छ’, उनी भन्छन् । काटिसकेको धान भए धेरै क्षति हुन्थ्यो तर काट्न बाँकी रहेका धान भएकाले क्षति कम हुने उनी बताउँछन् । कीराको समस्या देखिएमा किसानलाई पालिका तथा कृषि ज्ञान केन्द्रका प्राविधिकसँग सम्पर्क गर्न उनको अनुरोध छ । रामपुर नगरपालिकाका विभिन्न स्थानमा समस्या भेटिएपछि स्थलगत रुपमा अवलोकनपश्चात् विषादी छर्कन् कृषकलाई सुझाव दिइएको शाखा प्रमुख रामहरि पाण्डेय जानकारी दिए । यस क्षेत्रमा एक हप्तादेखि यस कीराको समस्याका सम्बन्धमा कृषक गुनासो राख्न आउने गरेपछि निःशुल्क विषादी उपलब्ध गराउँदै आएको शाखा प्रमुख पाण्डेयले बताउँछन् । विशेष गरी अलि गहिरो, पानी जम्ने, गाँजको घनत्व बढी भएको जग्गामा पानी परेपछिको सापेक्षित आद्रता उच्च हुन गई यस कीराको समस्या बढ्न गएको अनुमान लगाउन सकिन्छ । वयस्क २।५ देखि ३।४ मिलिमिटर लामो हुन्छ र शरीर कुनै खैरो, कुनै सेता र कुनै हरिया रङका फुत्तफुत्त उफ्रने किसिमका मसिना कीरा हुन्छन् । यो कीरामा साना र ठूला पखेटा दुवै थरीका हुन्छन् । यसको मझौला पिठ्युँ खण्डमा तीन खैरा धर्साहरु हुन्छन् । शिशु फड्केको भने खैरो शरीर हुन्छ । धानका बिरुवा मर्दछन्, बिरुवा गाँजिन र बढ्न सक्दैनन्, धानको बोटमा बाला नलागी परालजस्तो भई बोट सुकेर जान्छ, यसको लक्षण जग्गाको कुनै एक ठाउँबाट सुरु भई फैलिँदै जान्छ । रोकथामका उपाय उपयुक्त जातको छनोट गर्ने, ढिलो लगाइएको भन्दा छिटो लगाइएको र ढिलो पाक्नेभन्दा छिटो पाक्ने धान बालीमा फड्के कीराको प्रकोप कम भएको पाइएको छ । गाँजको घनत्व काम गर्ने, धान रोप्ने समयमा प्रतिगाँजमा दुई–तीन वटाभन्दा बढी बेर्ना नरोप्ने गरेमा रोकथाम गर्न सकिन्छ । त्यस्तै नाइट्रोजनयुक्त मलखादको उचित प्रयोग गर्ने, तीन चार दिनको फरकमा खेतमा पानीको सतह बढाउने घटाउने र सुकाउने गर्ने, पाकेर काट्ने बेलाको धानमा पानी सुकाउने० अन्तिम विकल्पको रुपमा रासायनिक विषादीको प्रयोग गर्ने, एजाडिरिक्टीन २।३ मिलिलिटर, बुफ्रोफेजीन एक मिलिलिटर, इमिडाकोल्प्रिड ०।५ ग्राम र निटेनपाइरम एक मिलिलिटर प्रतिलिटर पानीमा मिसाइ फेदमा पर्ने गरी एक हप्ताको फरकमा छर्कनुपर्दछ । विषादी छर्कदा धानको बिरुवा माथिबाट होइन बिरुवाको फेदमा पर्ने किसिमले छर्कनुपर्दछ । धानको फूल फुलेको अवस्थामा विषादी छर्कनुहुँदैन । रासस
२३ वर्षपछि म्याग्दीको सडकमा कालोपत्रको काम सुरु
म्याग्दी । ट्याक मार्ग खोलेको २३ वर्षपछि म्याग्दीको रत्नेचौर भकुण्डे–भकिम्ली सडक कालोपत्रे गर्न आयोजना सुरु भएको छ । भौतिक पूर्वाधार मन्त्रालयले बेनी नगरपालिकाको वडा नम्बर १ रत्नेचौरको उपल्लाचौरदेखि अर्जम, वडा नम्बर २ को ज्यामरुककोट, स्यानालेक, तोराखेत हुँदै वडा नम्बर ३ भकिम्ली जोड्ने सडक स्तरोन्नतिको काम थालेको हो । एक निर्वाचन क्षेत्र एक सडक आयोजनामा समावेश भएको यो सडक कालोपत्रका लागि ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले प्रारम्भिक चरणको काम थालेको बेनी–१ का वडाध्यक्ष टेकबहादुर थापाले जानकारी दिए । भकुण्डे र उपल्लाचौर क्षेत्रमा डोजरले सडक फराकिलो बनाउने र मजदुरबाट पर्खाल, नालि निर्माण गर्न लागेको हो । विसं २०५६ मा मार्ग खोलिएको बेनी नगरपालिकाको १, २ र ३ नम्बर वडाका बासिन्दाले प्रयोग गर्ने यो सडक सामान्य मर्मतको भरमा यातायात सञ्चालन हुँदै आएको थियो । सडक निर्माणका लागि विसं २०७९ भदौ ६ गते गजेन्द्र–नयाँबाटो जेभी र सडक डिभिजन कार्यालय बागलुङबीच भ्याटबाहेक २३ करोड ३२ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । तोकिएको ३० महिनाको अवधिभित्र सडक निर्माणको काम सक्ने तयारीसहित उपकरण र मजदुर परिचालन गर्ने निर्माण कम्पनीका सञ्चालक अरुण सेढाईले बताए । सडकलाई नौ मिटर फराकिलो बनाएर सात किलोमिटर डिबिएसडी प्रविधिको कालोपत्रे र दुई किलोमिटर आरसिसी ढलान गर्ने सम्झौता भएको छ । यसैगरी घुम्ती तथा मोड सुधार र ग्रेड मिलाउने काम पनि गरिनेछ । हाल चारदेखि पाँच मिटर फराकिलो सडक हिउँदमा धुलाम्मे र हिउँदमा हिलाम्मे हुने समस्या छ । सङ्घीय सरकारले प्रत्यक्ष निर्वाचित सांसदको सिफारिसमा सबै निर्वाचन क्षेत्रमा एक÷एक वटा रणनीतिक महत्वको सडक आयोजना सञ्चालन गर्न ४०/४० करोड रुपैयाँ विनियोजन गरेको थियो । निवर्तमान सांसद भूपेन्द्रबहादुर थापाले म्याग्दीका प्रमुख तीन रणनीतिक सडक मध्य कुनै पनि कार्यक्रममा नसमेटिएको र बागलुङको ताराखोला गाउँपालिकासँग जोड्ने भएकाले रत्नेचौर–भकुण्डे–भकिम्ली–बरंजा सडक आयोजनालाई सिफारिस गरेको बताए । ‘बेनी–दाना सडक कालीगण्डकी कोरीडोर र बेनी–दरवाङ सडक प्रदेश सरकारको कार्यक्रममा छ’, उनले भने, ‘आर्थिक वर्ष २०५५/५६ मा खनिएको यो जिल्लाको अर्को रणनीतिक महत्वको सडक भएकाले स्तरोन्नतिका लागि सिफारिस गरिएको हो ।’ पहिलो चरणमा उपल्लाचौरदेखि बेनी नगरपालिकाको वडा नम्बर ३ तोराखेतसम्म नौ किलोमिटर दूरीमा कालोपत्रे गर्ने लक्ष्य छ । भकिम्ली–बरङ्जा–अर्मनको किमचौर हँुदै ताराखोलासम्म मार्ग खोलिसकिएको छ । यसअघि सङ्घीय सरकारकै बजेटबाट सडकको प्रवेशबिन्दुमा पर्ने रत्नेचौरदेखि उपल्लाचौरसम्म एक किलोमिटर तीन सय मिटर कालोपत्र र तीन सय मिटर सडक ढलान गरिएको थियो । सडक कालोत्रप भएपछि रत्नेचौर, उपल्लाचौर, सालघारी, अर्जम, फापरखेत, भकुण्डे, स्यानालेक, तोराखेत र भकिम्लीका बासिन्दालाई निकासी, ढुवानी र आवतजावतमा सहज हुने अपेक्षा गरिएको छ । रासस
घरबहाल कर अब महानगरले नै उठाउने
विराटनगर । संविधानले तोकेको घर बहाललगायतका कर विराटनगर महानगरपालिकाले नै उठाउने भएको छ । विराटनगर महानगरपालिकाको समन्वयमा आन्तरिक राजस्व कार्यालय विराटनगरले बुधबार आयोजना गरेको करदाता शिक्षा तथा अन्तक्र्रियामा महानगरका प्रमुख नागेश कोइरालाले घर बहाल कर अबदेखि महानगरले नै उठाउने बताए । यसअघि घर बहाल कर आन्तरिक राजस्व कार्यालयले उठाउँदै आएको थियो । संविधानले नै घर बहाल कर उठाउने अधिकार स्थानीय तहलाई दिएको छ । प्रमुख कोइरालाले अबदेखि महानगरमै आएर घर बहाल कर तिर्न स्थानीयलाई आग्रह गरे । विराटनगर महानगरले अझैसम्म पनि सोचेजस्तो घर बहाल कर उठाउन सकेको छैन । अन्तक्र्रियामा वडाध्यक्षहरुले आफ्ना वडामा ठूल–ठूला व्यावसायिक फर्म भए पनि आफूहरुले कर सङ्कलन गर्न नसकेको बताए । धेरै व्यवसायी करको दायराभन्दा बाहिर रहेको भन्दै वडाध्यक्ष तथा कार्यपालिका सदस्यले महानगरको विकासका लागि कर सङ्कलनमा कठोर बन्नुपर्नेमा जोड दिएका । सो अवसरमा आन्तरिक राजस्व कार्यालयका प्रमुख डा डिवी क्षेत्री र कर अधिकृत विमल पौडेलले स्थानीय तहले लिनसक्ने करका किसिम र करको सदुपयोगका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । कर सङ्कलनका लागि महानगर र आन्तरिक राजस्व कार्यालय एकअर्काका परिपूरक भएकाले आगामी दिनमा दुवै निकायबीच समन्वय गरेर अगाडि बढ्ने महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले जानकारी दिए । रासस
३ महिनामा आरएसडिसी लघुवित्तको नाफा १०२ प्रतिशत बढ्यो, ईपीएस १९ रुपैयाँ पुग्यो
काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नापाm १०१.९८ प्रतिशत बढेर ३ करोड ८२ लख ३१ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले १ करोड ८९ लाख २८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समिक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ११९.३३ प्रतिशत बढेर ७ करोड ६५ लाख २ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ३ करोड ४८ लाख ८० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यस अवधिमा लघुवित्तको कुल सञ्चालन आम्दानी ११४.९७ प्रतिशत बढेर ८ करोड ५४ लाख ४० हजार रुपैयाँ, सञ्चालन नाफा ११२.९८ प्रतिशत बढेर ५ करोड ४६ लाख १६ हजार रुपैयाँ र वितरण योग्य नाफा ३ करोड १० लाख ३८ हजार रुपैयाँ रहेको छ । समिक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी १० प्रतिशत बढेर ८० करोड ५१ लाख ५५ हजार रुपैयाँ, जगेडा कोष २९.६९ प्रतिशत बढेर २१ करोड ७० लाख ९० हजार रुपैयाँ, सापटी ३९.९५ प्रतिशत बढेर ५ अर्ब ४१ करोड २९ लाख ७६ हजार रुपैयाँ र कर्जा ३७.६६ प्रतिशत बढेर ६ अर्ब ३५ करोड ८१ लाख ५६ हजार रुपैयाँ रहेको छ । लघुवित्तको प्रतिसेयर आम्दानी ८.६५ रुपैयाँ बढेर १८.९९ रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा प्रतिसेयर आम्दानी १० रुपैयाँ ३४ पैसा रहेको थियो । लघुवित्तको मूल्य आम्दानी अनुपात २५.५९ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ ९६ पैसा रहेको छ ।
पूर्वाञ्चल विश्वविद्यालयले क्लिनिकल कानूनी शिक्षा कार्यक्रम सुरु गर्ने
विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयले न्यायमा पहुँच बढाउन क्लिनिकल कानूनी शिक्षा कार्यक्रम सुरू गर्ने भएको छ । न्यायमा महिला, बालबालिका, अपाङ्ग, दलित, जनजाति जस्ता सीमान्तकृत समुदायलाई न्यायमा पहुँच पु¥याउने उद्देश्यले कार्यक्रम सुरू गर्न लागिएको विश्वविद्यालयले जनाएको छ । कार्यक्रमले कानूनी सेवाको गुणस्तर बढाउन, प्रभावकारी सेवाका लागि संरचनात्मक सुधार गर्न र कानूनी सहायतालाई प्रभावकारी बनाउन सहयोगी हुने पूर्वाञ्चल विश्वविद्यालय कला, शिक्षा, कानून सङ्कायका डिन प्राडा अनिलकुमार पोखरेलले जानकारी दिए । सरकारले निःशुल्क कानूनी सल्लाहकारको व्यवस्था गरेको भए पनि नागरिकले थाहा नपाएर उक्त सेवा उपयोग नगरेको अवस्था तथा स्थानीय तहमा भएका न्याय समिति प्रभावकारी हुन नसकेको जस्ता विषयलाई यो कार्यक्रमले समेट्ने छ । पूर्वाञ्चल विश्वविद्यालयका आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसमा एलएलबी तेस्रो वर्ष र बीएएलएलबी चौथो र पाँचाैं वर्षमा अध्ययनरत ३० जना विद्यार्थी यो कार्यक्रममा सहभागी हुनेछन् । कार्यक्रममा महिला, अपाङ्ग र सीमान्तकृत समुदायका विद्यार्थीलाई प्राथमिकता दिइने छ । छनोट भएका विद्यार्थीले ४५ दिनसम्म समुदायमा गएर त्यहाँको कानूनी अवस्था, न्यायको अवस्था, न्यायिक समितिको प्रभावकारिता तथा घरेलु हिंसाको अवस्थाको अध्ययन गर्नेछन् र यसमा न्याय प्रदान गर्ने विषयमा ठोस पहल गर्नेछन् । बालबालिकाका समस्या, महिला, बालबालिका, अपाङ्ग र सीमान्तकृत समुदायको मानवअधिकारको क्षेत्रमा यी विद्यार्थीले काम गर्नेछन् । यो कार्यक्रमले महिला, बालबालिका, अपाङ्ग, सीमान्तकृत समुदायको न्यायमा पहुँच बढ्ने विश्वविद्यालयले विश्वास लिएको छ । छनोट भएका विद्यार्थीले सुनसरी, पाँचथर, ओखलढुङ्गा र भोजपुर जिल्लामा गएर समुदायमा काम गर्ने पूर्वाञ्चल विश्वविद्यालय स्कूल अफ ल का डाइरेक्टर महेशप्रसाद निरौलाले जानकारी दिए ।
२८ औं वर्षमा एभरेष्ट बैंक, आँखा जाँच्ने मेशिन खरिद गर्न ४ लाख ८० हजार सहयोग
काठमाडौं । एभरेष्ट बैंकले विभिन्न कार्यक्रम गरी आफ्नो २८ औं वार्षिकोत्सव मनाएको छ । बैंकले वार्षिकोत्सवको अवसरमा नेपाल नेत्र ज्योती संघलाई डा। राम प्रसाद पोखरेल आँखा अस्पताल धनकुटामा रहने गरी आँखा जाँच्ने मेशिन खरिद गर्नका लागि ४ लाख ८० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकले ललितपुरको टैखेलमा सोलार यात्रु प्रतिक्षालय निमार्ण गर्नका लागि गोदावरी नगरपालिका वडा नं। ३ सँग सम्झौता गरेको छ । साथै, बैंकले सेवा अवधिको २५ वर्ष पूरा गरेका १० जना कर्मचारीहरुलाई वार्षिकोत्सवको अवसरमा सम्मान समेत गरेको छ । बैंकले आफ्नो १२० शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, प्रादेशिक कार्यालयहरु, १५५ एटिएम सहित विश्वव्यापी नेटवर्कबाट मोबाइल, इन्टरनेट र एसमएमएस बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।
नेपालकाे हवाई सुरक्षा दर ७०.०१ प्रतिशत, एशियामै उच्च भएको दावी
काठमाडौं । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को अडिटबाट नेपालले हवाई सुरक्षा परिपालन दर ७०.०१ नतिजा हासिल गरेको छ । बुधबार प्राधिकरणले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै गत अप्रिल १२ देखि २५ सम्म आइकाओको टोलीले नेपालको उड्डयन क्षेत्रको स्थलगत सुरक्षा अडिटमा हवाई सुरक्षा परिपालन दर ७०.०१ प्रतिशत उड्डयन सुरक्षा कायम रहेको देखाएको बताएको हो । प्राधिकरणले आइकाओ १० सदस्यले टोलीले नेपालको आठ क्षेत्रमा गरेको अडिट गरेको थियो । पत्रकार सम्मेलनमा प्राधिकरणका हवाई सुरक्षा विभागका प्रमुख राजु श्रेष्ठले एशिया प्रशान्त क्षेत्र र विश्वको हवाई सुरक्षा परिपालनदर नेपालको उच्च रहेको बताए । उनले नेपालले आइकाओले नेपालले हवाई सुरक्षाको लागि परिपालना गर्नुपर्ने कार्यमा उच्च रुपमा सुधार भएको देखाएको बताए । ‘आइकाओको प्रतिवेदनले औंल्याएका कमी कमजोरी निर्मुल गर्न प्राधिकरणले गृहकार्य शुरु गरेको छ, प्राधिकरणले नेपालको हवाई सेवा विस्तारको लागि थप योजना पनि अघि सारेको छ,आइकाओको सहयोगमा मुलुकको हवाई सुरक्षा परिपालन दर ८० प्रतिशतले कायम गर्ने उद्देश्यले काम गरिरहेका छाैं,’ उनले भने । उनले आइकाओको अडिटपछि प्राधिकरणले कर्मचारी सरुवा नगर्ने निर्णय गरेको पनि जानकारी दिए । ‘प्राधिकरणले सेफ्टी हेर्ने निकायलाई अलगै बजेटको व्यवस्था पनि गर्न शुरु गरेको छ, आइकाओको अडिटमा कुनै कमजोरी नदेखिएकाले हवाई उडानमा नेपाली आकाश सुरक्षित रहेको छ,’ उनले भने । त्यस्तै, प्राधिकरणका महानिर्देशक ई.प्रदीप अधिकारीले आइकाओको अडिटले देखाएको सुरक्षा मापन दर एशिया प्रशान्तीय क्षेत्रमा नै नेपालको उच्च रहेको बताए । उनले एशिया प्रसान्तीय क्षेत्रको उड्डयन सुरक्षा दर ६४ प्रतिशत रहेको दाबी गरे । अधिकारीले नेपालले हवाई सुरक्षामा राम्रो काम गरिरहेको भन्दै अब पहाडमा हुने हवाई दुर्घटनालाई देखाएर आइकाओले कालोसूचीमा राख्न नहुने बताए नेपालमा अहिले ९ वटा फिक्सविङ र ११ वटा हेलिकोप्टर कम्पनीका सय वटा विमान सञ्चालनमा छन् । उडान सुरक्षा मापन गर्न सेफ्टी पर्फर्मेन्स इन्डिकेटरको प्रयोग शुरु गरिएको प्राधिकरणले बताएको छ । फिक्सविङ र रोटर विङ जहाज उडान सुरक्षा निरीक्षणका लागि प्राधिकरणले सम्वद्ध जहाज उत्पादक कम्पनीका प्रतिनिधि र विज्ञ परिचालन गर्दै आएको प्राधिकरणले बताएको छ ।
‘बैंकहरुले ८ प्रतिशतसम्म प्रिमियम लिए, हामी ठूलो समस्यामा पर्यौं’
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष शेखर गोल्छाले उद्योगी तथा व्यवसायी ठूलो समस्यामा परेको बताए । महासंघले बुधबार दशैं, तिहार तथा दिपावलीको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले बैंकहरुले ८ प्रतिशतसम्म प्रिमियम लिएकाले उद्योगी व्यवसायी ठूलो समस्यामा परेको बताए । ‘बैंकहरुले ८ % प्रिमियम लिएका छन्, एक वर्षमा ८० % सम्म ब्याज बढेको छ जसले गर्दा हामी ठूलो समस्यामा परेका छौं,’ उनले भने । गोल्छाले सबै समस्याको जड शोधानन्तर भएको बताएका छन् । यस्तै, उनले महासंघले विभिन्न क्षेत्रमा सर्भे गर्दा निर्माणमा ६० प्रतिशत, जुत्ता उद्योगमा ७० प्रतिशतसम्म गिरवाट भएकाे देखिएकाे जानकारी दिएका छन् ।