विकासन्युज

महानगरद्वारा डेङ्गुको सङ्क्रमण सार्ने लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान

विराटनगर । विराटनगर महानगरपालिकाले डेङ्गु रोगको सङ्क्रमण रोकथाम तथा नियन्त्रण अभियानलाई तीव्रता दिएको छ । सरोकारवालालाई राखेर अभिमुखीकरणपछि महानगरले डेङ्गुको सङ्क्रमण सार्ने लामखुट्टेको लार्भा नष्ट गर्ने अभियानलाई तीव्रता दिएको हो । महानगरको स्वास्थ्य महाशाखाको सक्रियतामा बुधबार विराटनगर–८ का विभिन्न टोलमा लामखुट्टेको लार्भा खोज तथा नष्ट अभियान सञ्चालन गरिएको महानगरले जनाएको छ । वडाध्यक्ष राम पोखरेलको नेतृत्वमा शान्तिचोकदेखि दक्षिण जतुवासम्म रहेका मोटरसाइकलका ग्यारेज, स्थानीयको घर र पानी जमेको स्थानमा लामखुट्टेको लार्भा खोजेर नष्ट गरिएको स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले जानकारी दिए । विशेष गरी टायर, झाडी, जमेको फोहोर पानीलगायतमा डेङ्गुको सङ्क्रमण सार्ने लामखुट्टे बस्ने भएकाले खोज तथा नियन्त्रण अभियानलाई तीव्रता दिएको वडाध्यक्ष पोखरेलले जानकारी दिए । यसअघि महानगरले स्वास्थ्य, नागरिक समाजसहित सरोकारवालालाई राखेर डेङ्गुु नियन्त्रण तथा रोकथामका लागि अभिमुखीकरण सञ्चालन गरेको थियो । महानगरका प्रमुख नागेश कोइरालाको निर्देशनअनुसार सबै वडामा डेङ्गु नियन्त्रणको अभियान सञ्चालन गरिरहेको महाशाखा प्रमुख अलीले बताए । सो कार्यअन्तर्गत हरेक दिन विभिन्न वडामा लामखुट्टे र लार्भा नष्ट गर्ने अभियान जारी छ । यसअघि मङ्गलबार वडाध्यक्ष श्याम घिमिरेको नेतृत्वमा वडा नं १९ मा खोज तथा नष्ट गर्ने अभियान सञ्चालन गरिएको थियो । महानगरको अभियानपछि सङ्क्रमणसमेत घट्दै गएको महानगर स्वास्थ्य महाशाखा प्रमुख अलीको दाबी छ । घर वरिपरि फोहोर पानी जम्न नदिने, सुत्दा झुल टाँगेर मात्रै सुत्ने, शरीर ढाक्ने लुगा लगाउने लगायतका विधि अपनाएमा डेङ्गुको सङ्क्रमणबाट बच्न सकिने चिकित्सकले बताउँदै आएका छन् । रासस

प्राइम लाइफ इन्स्योरेन्सको १३.६८ प्रतिशत लाभांश घोषणा

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । इन्स्योरेन्स कम्पनीको कात्तिक २ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७÷२०७८ को नाफाबाट सेयरधनीहरुलाई १३.६८४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/०७८ को लागि हाल कायम चुक्ता पूँजीको १३ प्रतिशत अर्थात् ३६ करोड १३ लाख ५० हजार २५ रुपैयाँ बराबरका बोनस सेयर र ०.६८४२ प्रतिशत अर्थात् १ करोड ९० लाख १८ हजार ४२२ रुपैयाँ बराबरको नगद गरी कूल १३.६८४२  प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । इन्स्योरेन्स कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश बीमा समितिबाट स्वीकृत भएर आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीहरुले प्राप्त गर्नेछन् ।

व्यवसायिक पशुपालनबाट मनग्य आम्दानी गर्दै किसान

दोधारा चाँदनी । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० का हरिभान साउँद व्यावसायिक रुपमा पशुपालनमा लागेका छन् । ७० लाख रुपैयाँ लगानी गरेर उनले बाख्रा, कुखुरा, बङ्गुर, माछा, कालिज र बट्टै पालन गरिरहेका छन् । कोरोना महामारीका बेला भएको लकडाउनका कारण पत्रकारिता छोडेर व्यावसायिक रुपमा पशुपालनमा लागेको उनले बताए । ‘सुरुमा मैले बट्टै पालन गरेको थिए पुख्यौली पेसा बाख्रा पालनले मलाई कृषिको सम्भावना देखायो ।’ उनले भने, ‘लकडाउनपछि मैले चन्द्रप्रताप एग्रो फार्म सञ्चालन गरेर व्यावसायिक रुपमै पशुपालनमा लागे ।’ सुरुआतामा रु चार लाख लगानीमा बाख्रा पालन सुरु गरेका उनले व्यवसाय विस्तार गर्दै अहिले ७० लाख रुपैयाँ लगानी गरेको उनले बताए । ‘बाख्रा पालनबाट कृषिमा सम्भावना देखेपछि मैले व्यवसाय विस्तार गर्दै गए अहिले भैँसीपालनका लागि तयारी गर्दै छु ।’ उनले भने, ‘यो पेशा मैले आत्मसन्तुष्टिका लागि रोजेको हु यसमा टिक्न सक्यो भने राम्रो फाइदा छ ।’ उनको फार्ममा अहिले दुई सय वटा उन्नत जातका बाख्रा, एक सय वटा बङ्गुर रहेका छन् । बाख्रापालनमा राम्रो सम्भावना देखेका उनले बाख्रा पालन बढाएर पाँच सयसम्म पुगाउने लक्ष्य रहेको सुनाए ।’अहिले प्रदेश सरकारबाट पनि मैले  ४० लाख अनुदान पाएको छु ।’ उनले भने, ‘अनुदानले मलाई सहज भएको छ व्यवसाय विस्तार गर्छु ।’ अहिले भैँसीपालनका लागिसमेत आधुनिक गोठ निमार्ण गरिरहेको उनले बताए । ‘भैँसीपालनमा पनि राम्रो सम्भावना देखेको छु सुरुआत चार वटा भैँसीबाट गर्छु ।’ उनले भने, ‘विस्तारै २० वटासम्म भैँसीपालन गर्ने लक्ष्य छ ।’ पशुपालनमा थुप्रै समस्या रहेको भए पनि बजार समस्या भने कहिले झेल्नु नपरेको उनले बताए । ‘हरेक बुधबार यहाँबाट काठमाडौं मैली खसी पठाउने गरेको छु अहिले प्रसस्त माग छ ।’ उनले भने, ‘अहिले एकीकृत गरेर पशुपालन गरेको छु स्थानीय तहसँग समन्वय गरेर अन्य किसानलाई समेत अनुदानमा बाख्रा वितरण गरिरहेका छौँ ।’ उनको फार्ममा अहिले १० जनाले रोजगारी पाएका छन् । रासस

अदालतबाट ४५ लाख जरिवाना ठहर भएका दीपेन्द्र पक्राउ

काठमाडौं । नेपाल प्रहरीले उच्च अदालत पाटनबाट ४५ लाख रुपैयाँ भन्दा बढी जरिवाना ठहर भएका एक जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबी०को टोलीले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनबाट ४५ लाख ५५ हजार चार सय १४ रुपैयाँ जरिवाना ठहर भएका सप्तरी राजविराज नगरपालिका–८ घर भई हाल काठमाडौँ महानगरपालिका–१४ बस्ने ३२ वर्षीय दीपेन्द्र तातेडलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनको गत भदौ १७ गतेको फैसलाले ४५ लाख ५५ हजार चार सय १४ रुपैयाँ जरिवाना र १५ दिन कैद सजाया ठहर भएका तातेडलाई भोटेबहालबाट पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । पक्राउ उनले जनता बैंक लिमिटेड काठमाडौँमा रहेको आफ्नो खातामा पर्याप्त मौज्दात रकम नहुँदानहुँदै झुक्यानमा पारेर बैंकिङजन्य कसुर गरेकाले उनलाई अदालतको आदेशअनुसार पक्राउ गरिएको हो । पक्राउ दीपेन्द्रलाई जिल्ला अदालत काठमाडौँको आदेशअनुसार कैद भुक्तानको लागि आज केन्द्रीय कारागार सुन्धारा पठाइएको प्रहरीले जनाएको छ । सहकारीबाट ऋण मिलाइदिने भन्दै ठगी गर्ने पक्राउ प्रहरीले सहकारीबाट ऋण मिलाइदिन्छु भनी ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौँ महानगरपालिका–३ बाँसबारीस्थित चण्डोल बहुउद्देश्यीय सहकारी संस्थाबाट ऋण मिलाइदिन्छु भनी तीन लाख १२ हजार रुपैयाँ ठगी गर्ने ललितपुरका ५६ वर्षीय मणिकुमार थापालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । पक्राउ थापाले आफू उक्त सहकारीको सञ्चालक भएको भन्दै ३० लाख ऋण मिलाइदिन्छु भनी उक्त रकम ठगी गरेको प्रहरीले जनाएको छ । थापालाई प्रहरीले ललितपुरको इमाडोलबाट पक्राउ गरेको हो । पक्राउ परेका उनलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको सो कार्यालयले जनाएको छ । रासस

नेपाल इयुको उडान सुरक्षा सूचीबाट छिट्टै हट्छ

काठमाडौं । नेपाल युरेपेली सङ्घ इयु को उडान सुरक्षासूची ‘एयर सेफ्टी लिस्ट’बाट छिट्टै हट्ने नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले नेपालको हवाई सुरक्षा परिपालना दर विश्वस्तरभन्दा माथि रहेकाले छिट्टै इयुको सेफ्टी लिस्टबाट हट्ने विश्वास व्यक्त गरे । अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन आइकाओले गरेको अडिट प्रतिवेदन सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा महानिर्देशक अधिकारीले अडिट प्रतिवेदनबाट उत्कृष्ट नतिजा आएकाले अब यो विषय लम्बिरहन नपर्ने जिकिर गरे । उनले भने, ‘देशको हवाई सुरक्षा प्रणालीमा व्यापक सुधार आएको र इयुअन्तर्गतको प्राविधिक टोलीले पनि नेपालले हवाई सुरक्षामा उल्लेखनीय प्रगति गरेको प्रारम्भिक प्रतिवेदन दिएकाले सबै कारणले हेर्दा हामी नेपाल सेफ्टी सूचीमा रहिरहनुपर्ने कारण छैन, यो कुरा इयुले बुझ्नुपर्छ ।’ महानिर्देशक अधिकारीले इयुले सुरक्षासूचीमा राखे पनि नराखे पनि मुलुकको हवाई उड्डयन क्षेत्रको सुधारको काम निरन्तर चलिरहने बताए । ‘नेपाल इयुको सुरक्षासूचीमा अब लामो समय रहन सक्दैन, यो प्राविधिक विषय हो’, उनले भने, ‘देशको इज्जत र प्रतिष्ठासँग जोडिएको विषय पनि भएकाले हामी हवाई सुरक्षा प्रणाली सुधारमा कुनै पनि कसुर बाँकी राख्दैनौँ ।’ प्राधिकरणका हवाई सुरक्षा विभागका प्रमुख राजु श्रेष्ठले आइकाओको अडिट प्रतिवेदनबाट नेपालले उत्कृष्ट नतिजा हासिल गरेको भन्दै प्रतिवेदनले औँल्याएका कमीकमजोरी निर्मूल गर्न गृहकार्य सुरु गरिसकेको बताए । प्राधिकरणले आइकाओको सहयोगमा मुलुकको हवाई सुरक्षा परिपालन दर ८० प्रतिशतले कायम गर्ने उद्देश्य रहेको बताए । अडिटपछि प्राधिकरणले कर्मचारी सरुवा नगर्ने निर्णय गरेको तथा प्राधिकरणले सेफ्टी हेर्ने निकायलाई अलगै बजेट र जनशक्तिको व्यवस्था गरेको पनि उनले जानकारी दिए । निर्देशक श्रेष्ठका अनुसार उड्डयन सुरक्षा सुदृढीकरण गर्न प्राधिकरणको सुरक्षा निर्देशनालयमा उपमहानिर्देशकको नेतृत्व रहनेछ । जसअन्तर्गत सेवा प्रदायक र नियमनकारी क्षेत्रमा कार्यरत कर्मचारीको एक अर्को क्षेत्रमा सरुवा नहुने व्यवस्था कार्यान्वयन गरिएको छ । उडान सुरक्षा मापन गर्न ‘सेफ्टी पर्फर्मेन्स इन्डिकेटर’ को प्रयोग सुरु गरिएको प्राधिकरणले जनाएको छ । ‘फिक्सविङ’ र ‘रोटर विङ’ जहाज उडान सुरक्षा निरीक्षणका लागि प्राधिकरणले सम्बद्ध जहाज उत्पादक कम्पनीका प्रतिनिधि र विज्ञ परिचालन गर्दै आएको निर्देशक श्रेष्ठले बताए । त्यस्तै दुर्गम क्षेत्रको हवाई सुरक्षा सुदृढीकरण गर्न ‘प्रि–फ्लाइट सेफ्टी रिस्क असेस्मेन्ट’ लागू गरिएको छ । दुर्गम गन्तव्यमा मौसम पूर्वानुमान गर्न विभिन्न क्षेत्रमा ‘वेदरक्याम’ जडानको काम पनि सुरु गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले फ्लाइट अपरेसन, पर्सनल लासेन्सिङ र जहाज मर्मतसम्भार मापदण्ड इयुअन्तर्गत लागू गरिसकेको पनि निर्देशक श्रेष्ठले जानकारी दिए । इयुको अडिटबाट नेपालको हवाई सुरक्षादर उत्कृष्ट इयुअन्तगर्तको युरोपियन एभिएसन ‘सेफ्टी एजेन्सी’ इआसा को आडिटबाट नेपालको हवाई सुरक्षा अवस्था उत्कृष्ट देखिएको प्राधिकरणले जनाएको छ । इआसाको तीन सदस्यीय प्राविधिक टोलीले यही अक्टोबर ६ देखि ८ तारिखसम्म नेपालको समग्र हवाई सुरक्षा प्रणालीको अध्ययन तथा सरोकारवालासँग छलफल गरेको थियो । गत अप्रिल १२ देखि २५ सम्म आइकाओको टोलीले नेपालको उड्डयन क्षेत्रको स्थलगत सुरक्षा अडिट गरेको थियो । आइकाको १० सदस्यीय टोलीले हवाई सेवा प्रणालीका विभिन्न आठ क्षेत्रमा बृहत् अडिट गरेको थियो । जसमा नेपालले ७०।१ प्रतिशत उड्डयन सुरक्षा कायम गरेको छ । जुन विश्वको एभरेज दरभन्दा माथि रहेको छ । नेपालले प्राप्त गरेको स्कोर एशिया प्रशान्त क्षेत्र र विश्वस्तरको भन्दामाथि रहेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार एशिया प्रशान्त क्षेत्रको उड्डयन सुरक्षादर ६४।५ र विश्वव्यापी सुरक्षादर ६७ प्रतिशत रहेको छ । हाल नेपालमा नौ फिक्सविङ र ११ हेलिकप्टर कम्पनीसहित कूल २० वायुसेवा कम्पनी सञ्चालनमा छन् । हालसम्म देशभर नौ सय ड्रोन दर्ता भएका छन् । विश्व बैंकको विज्ञ टोलीले पनि नेपालको समग्र हवाई सुरक्षा प्रणालीको हालै अध्ययन गरेको छ भने हवाई सुरक्षा प्रणालीको अध्ययन गर्न अमेरिकाको फेडरल एभिएशन एडमिनिस्ट्रेसनको टोली भोलि बिहीबार नेपाल आउन लागेको प्राधिकरणले जानकारी दिएको छ । रासस

तुफानडाँडा जिप दुर्घटनामा सात जनाले ज्यान गुमाएपछि मष्टा गाउँ शोकमा

बझाङ । जिप दुर्घटनामा परेर सात जनाले अकालमा ज्यान गुमाएपछि बझाङको मष्टामा शोकमा ढुबेको छ । सदरमुकाम चैनपुरको सिलदेवी मन्दिरमा बुधबार मेला लागेको थियो । मेलाबाट घर फर्किरहेका मष्टा गाउँपालिकाका यात्रु सवार जिप बुधबार दुर्घटनामा परेको थियो । सदरमुकाम चैनपुरबाट मष्टा गाउँपालिका– २, खेतकोट जाँदै गरेको सुपप्र ०१–००१ च ११७ नम्बरको जिप दिउँसो दुर्घटनामा परेको प्रहरीले जनाएको छ । कच्ची सडकमा क्षमताभन्दा बढी यात्रु बोक्दा जिप दुर्घटना भएको हुनसक्ने प्रहरीको भनाइ छ । जिप सडकबाट दुई सय मिटर तल खसेको थियो । मष्टा–१ तुफानडाँडामा भएको जिप दुर्घटनामा परेर आठ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक रमेश अवस्थीले बताए । उनका अनुसार १५ जना घाइते भएका छन् । दुर्घटनामा परी मृत्यु हुनेमा मष्टा –२ खेतकोटका १३ वर्षीया सम्झाना खड्का, १५ वर्षीय रोशन खड्का, २८ वर्षीया वसन्ती धामी, १३ वर्षीय प्रचण्ड खड्का, ३८ वर्षीय वीरेन्द्र अधिकारी, सात महिनाकी बालिका दक्षिता कठायत, ५० वर्षीया सिन्कीदेवी भण्डारी र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका घर भएका ४२ वर्षीय झरेन्द्र बोहरा छन् । दुर्घटनामा घाइते १० जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइते चार जनालाई थप उपचारका लागि धनगढी रेफर गरिएको जिल्ला अस्पताल सिमखेतले जानकारी दिएको छ । घाइते हुनेमा मष्टा –२ का ८ वर्षीय अमृत खड्का, १३ वर्षीया रोशनी धामी, सिंहवीर बुढा, ३५ वर्षीय गाडी चालक राजेश रोकाया, ४ वर्षीय सिर्जन सिंह, ११ वर्षीया अम्बिका सिंह, २५ वर्षीया कमला कठायत, २१ वर्षीया नन्दा ओखेडा, ७५ वर्षीय वीरबहादुर खड्का, मष्टा–१ साडा बस्ने ३६ वर्षीय सन्तोष सिंह, २२ वर्षीय ईश्वर ओखेडा, अनिस ओखेडा, १० वर्षीय अंकित खड्का, चार वर्षीया सिम्रन सिंह र २२ वर्षीया हेमन्ती सिंह छन् । रासस

जनकपुरधाममा खेतमा सिँचाइको सुबिधा

जनकपुरधाम । धनुषाको सबैलाका किसान श्यामदेव यादवलाई यसपटक धानखेतीका समयमा सिँचाइको खासै समस्या भएन । विगतमा आकाशे पानीको भरमा खेती गर्दै आएका उनलाई यस वर्ष धेरै वर्षा नभए पनि धानखेतीका लागि चाहिने सिँचाइका लागि समस्या भएन । किसानलाई सिँचाइ सुविधा पु¥याउने उद्देश्यले कमला सिँचाइ व्यवस्थापन कार्यालय धनुषाले कमला सिँचाइ नहर प्रणालीअन्तर्गत सिँचाइ सुविधा पु¥याएपछि किसान यादवले बर्सेनि धानबाली लगाउने बेलामा भोग्दै आएको सिँचाइको समस्याबाट छुटकारा पाएका छन् । ‘अघिल्लो वर्षहरुमा खेती गर्न सिँचाइको ठूलै समस्या भोग्नुपर्दथ्यो’, उनले भने, ‘तर यसपालि कुलोमा समयमै पानी आयो, त्यसैले समयमै धान खेती गर्न भ्याइयो ।’ पहिलाको जस्तो यसपालि खेती गर्न पानीको कुनै समस्या भएन उनको भनाइ थियो । विगतमा धानखेतीयका लागि वैकल्पिक सिँचाइको भर पर्नुपर्ने समस्या भोग्दै आएका सिरहाको औरहीका किसान असर्फी साहले पनि यसपालि धानखेतीका लागि पानीको कुनै समस्या नभएको बताए । ‘सिँचाइ सुविधा नहुँदा खेतीपातीको लागि पहिला पहिला कि त आकाशे पानीको भर पर्नुपर्दथ्यो कि विद्युतीय मोटर वा अन्य वैकल्पिक सिँचाइको व्यवस्था गरेर खेती गर्नुपर्दथ्यो’, उनले भने, ‘तर यसपालि कुलोमा पानी आएपछि सहजरुपमा सिँचाइ गर्न पाएँ ।’ अब सायद हामीलाई सिँचाइ गर्न पानीको खासै समस्या हुँदैन होला, उनको विश्वास छ । ‘केही वर्षअघि सम्म गाउँका अधिकांश किसान आकाशे पानीको भरमा खेती गर्दै आएका थिए’, उनले भने, ‘यसका कारण समयमा वर्षाको भएको वर्षमा राम्रो धान खेती हुन्थ्यो, वर्षा नहुँदा अधिकांश खेत बाँझो नै रहन्थ्यो’, ‘तर पूर्वी नहरमार्फत किसानको खेतमा पानी आएपछि खेती गर्न सहज भएको छ ।’ उनले भने । विगतका वर्षहरुमा वर्षा नहु‌दा धनुषा, सिरहा, महोत्तरी र सप्तरीका अधिकांश खेतीयोग्य जग्गा बाँझो रहने समस्यालाई दृष्टिगत गरी कमला सिँचाइ व्यवस्थापन कार्यालय धनुषाले कमला नदीबाट सिँचाइ गर्न विभिन्न पूर्वाधार निर्माण गरेपछि किसानको खेत खेतमा पानी पुगेको हो । सो कार्यालयका अनुसार आर्थिक वर्ष २०७८/७९ मा धनुषा र सिरहातर्फ करिब छ किलोमिटर पक्की नहर निर्माण गरेको छ । सो अवधिमा पानी निकास र नियन्त्रणका लागि ५३ वटा पानी निकास गेट र ३५ वटा भिआरबी निर्माण गरिएको कार्यालयका प्रमुख वीरेन्द्र यादवले जानकारी दिए । यस्तै सो अवधिमा धनुषा, सिरहा, सप्तरी र सिरहामा गरी चार जिल्लामा ३३ वटा डिप ट्युबेल जडानसँगै ५४ वटा डिप ट्युबेलमा पम्प हाउस तथा स्टोरेज ट्र्याकसमेत निर्माण गरिएको कार्यालय प्रमुख यादवले बताए । प्रमुख यादवका अनुसार आर्थिक वर्ष २०७८/७९ मा सिरहाको औरहीमा एउटा साइफन, सिरहाकै विष्णुपुरस्थित हनुमान चोकमा एउटा स्केप र सिरहाको अर्नमा गाउँपालिकास्थित मैनाबती खोलामा दुई वटा हेडवक पक्की बाँध समेत निर्माण गरिएको छ । कमला सिँचाइ पश्चिमी नहर प्रणालीअन्तर्गत धनुषाको पूर्वी नहर प्रणाली, पश्चिमी नहर प्रणाली र हर्दिनाथ सिँचाइ प्रणालीमा करिब १० किलोमिटर सडकमा ग्राभेल गरिएको प्रमुख यादवको भनाइ छ । सिरहाको औरही शाखामा दुई वटा ड्रप स्टेक्चर निर्माणसँगै ४१ किलोमिटर नहरमा सरसफाइ गरिएको छ । आव २०७८/७९ मा छ सय आठ मिटर क्षेत्रफलमा नहर तथा संरचना संरक्षण कार्य गरिएको, २८ स्थानमा आउटलेट र आठ स्थानमा इनलेट निर्माण कार्य गरिएको उनले बताए । सो कार्यालयद्वारा निर्माण गरिएको सिँचाइ संरचनाका कारण आव २०७८/७९ मा धनुषा, सिरहा, सप्तरी, महोत्तरीमा करिब एक हजार छ सय ९५ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको प्रमुख यादवले जानकारी दिए । कमला सिँचाइ पश्चिमी नहर प्रणाली, पूर्वी नहर प्रणाली र हर्दिनाथ नहर प्रणालीमार्फत वर्षायाममा २५ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ हुँदैआएको जनाएको छ । रासस

नवलपरासीमा घाँस खेतीबाट वार्षिक २५ लाख आम्दानी

त्रिवेणी । जिल्लाको गैँडाकोट नगरपालिकाका कृषक कृष्ण भट्टले विगत पाँच वर्षदेखि व्यावसायिक रुपमा घाँस खेती गर्दै आएका छन् । नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरको गैँडाकोट नगरपालिका–१२ मा डेढ बिघा क्षेत्रफलबाट घाँस खेती सुरु गरेका उनले हाल १४ बिघा क्षेत्रफलमा घाँस खेती गर्दै आएका छन् । श्री स्वस्थानी घाँस स्रोत केन्द्र तथा बाख्रा फर्म स्थापना गरी सोहीमार्फत जग्गा भाडामा लिएर उनले व्यावसायिक घाँस खेती गर्दै आएका हुन् । गैँडाकोटसहित देवचुली, कावासोतीका विभिन्न क्षेत्रमा उहाँले घाँस खेतीसहित उखु, गिठ्ठा लगाएका छन् । व्यावसायिक घाँस खेतीमा लागेका उनले यस खेतीबाट राम्रो आम्दानीसमेत गर्दै आएका छन् । वार्षिकरुपमा घाँस बिक्रीबाट २५ लाख रुपैयाँ सम्म आम्दानी गर्ने गरेको उनको भनाइ रहेको छ । कृषक भट्टले घाँससहित घाँसका बिरुवासमेत बिक्री गर्दै आएका छन् । ‘घाँस खेतीबाट राम्रै आम्दानी छ, थोरैबाट यसतर्फ लागे अहिले क्षेत्र विस्तार गर्दै गएको छु’, उनले भने, ‘घाँससहित घाँसका बिरुवाको बिक्रीसमेत राम्रो नै छ ।’ आफूले लगाएको घाँस जिल्लाकै पशुपालक किसानले खरिद गरी लैजाने गरेको उनले बताए । घाँसका बिरुवा भने नवलपुरसहित देशका विभिन्न जिल्लाका किसानले खरिद गरी लैजाने गरेको कृषक भट्टले बताए । घाँस बिक्रीमा खासै समस्या नभएको उनको भनाइ रहेको छ । जिल्लाका पशुपालक कृषक घाँस लगाएको खेतमै आएर घाँस खरिद गरी लैजाने गरेको बर्ताए । उनले सुपर नेपियर, मलाटो, नेपियरलगायतका घाँस खेती गर्दै आउनुभएको छ । घाँस प्रतिकेजी छ रुपैयाँ प्रतिकेजी र घाँसका बिरुवा प्रजाति हेरि प्रतिबिरुवा दुईदेखि ५० रुपैयाँ सम्ममा बिक्री हुने गरेको भट्टले बताए । हरियो घाँसभन्दा घाँसको बिरुवा बिक्रीबाट धेरै आम्दानी लिने गरेको उनको भनाइ रहेको छ । घाँस पशुपालक किसानका लागि अतिआवश्यक भएकाले आफूले सबै जसो किसानलाई घाँसखेती गर्न उत्प्रेरित गर्ने गरेको उनले बताए । घाँस लगाउँदा पशुपालक किसानका लागि दानाको विकल्प हुने हुँदा उत्पादन लागत घट्ने र यसले आम्दानी बढाउने हुँदा पशुपालक कृषकलाई घाँस खेती गर्न सुझाव दिने गरेको किसान भट्टको भनाइ छ । परालभन्दा समेत सस्तो हुने र हरियो घाँसमा पोषक तत्वसमेत कायम रहने हुँदा यो पशुपालक किसानका लागि लाभदायक हुने उनले बताए । ‘दाना तथा परालको विकल्प घाँस हुन्छ, यसले एकातर्फ पशुलाई पोषिलो आहारा प्राप्त हुन्छ, अर्कोतर्फ उत्पादन लागत घटेर, आम्दानी बढ्छ’, उनले भने, ‘यसकारण मैले पशुपालक किसानले घाँस खेती गरुन् भन्ने चाहन्छु ।’ कृषि उत्पादनबाटै देशको अर्थतन्त्र मजबुत बनाउन सकिने धारणा राख्ने भट्टले कृषिको विकासका लागि राष्ट्रिय कृषि सैनिक तयार पार्नुपर्ने तर्क गरे । धेरैभन्दा धेरै कृषिमा लाग्ने युवा तयार पारी उत्पादन वृद्धि गर्ने योजनाका साथ काम गर्नुपर्ने उनको धारणा रहेको छ । उनले घाँस खेतीसहित पाँच बिघा क्षेत्रफलमा रानी गिठ्ठाको समेत व्यावसायिक खेती गर्दै आएका छन् । चार वर्षअघि १० लाख रुपैयाँको लागतमा रानी गिठ्ठाको व्यावसायिक खेती सुरु गरेको कृषक भट्टले बताए । एक पटक लगाएको गिठ्ठाबाट पटक पटक उत्पादन लिन सकिने उनको भनाइ छ । जमिनमुनि र माथि लहरामा समेत फल्ने भएकाले उत्पादन राम्रो भएको कृषक भट्टले बताए । उत्पादित गिठ्ठा स्थानीय बजारसँगै, चितवन, पोखरा, काठमाडौँलगायतका सहरमा बिक्री हुँदै आएको उनले जानकारी दिए । रासस