विकासन्युज

बझाङमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु

काठमाडौं । बझाङको मष्टा गाउँपालिकामा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । बुधबार चैनपुरबाट मष्टा गाउँपालिकातर्फ गइरहेको सु.प.प्र ००१– ००१ च ११७ नम्बरकाे जीप दुर्घटनामा परेको हो । चिउरी भन्ने ठाउँमा भएकाे दुर्घटनामा ६ जनाको मृत्यु भएको हो । १५/१६ सवार सो जीपमा १० जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) जागेश्वर भण्डारीले ६ जनाको मृत्यु भएको बताए । मृतकको भने पहिचान खुल्न सकेको छैन । ‘हामी अहिले पनि उद्वारमा नै छौं, ६ जनाको मृत्यु भइसकेको छ, जीपमा १५/१६ जना सवार रहेको बुझिएको छ, अन्य विवरण भने आएको छैन,’ उनले विकासन्युजसँग भने ।

पर्वतकाे पैँयूमा १० करोडमा डम्पिङ साइट बनाइने

पर्वत । दक्षिण पर्वतको पैयूँ गाउँपालिकाले १० करोड रुपैयाँमा डम्पिङसाइट बनाउने भएको छ । गाउँपालिकाका बजार क्षेत्रको फोहरमैलालाई व्यवस्थापन गर्नका लागि डम्पिङ साइट बनाउन थालिएको हो । पालिकाका विभिन्न क्षेत्रमा बजारीकरण बढ्दै जाँदा फोहर व्यवस्थापनमा चुनौती बनिरहेका बेला वडा नं ५ मा स्थानीयवासीले निःशुल्क प्रदान गरेको जग्गामा पूर्वाधार निर्माण गरिने भएको हो । गाउँपालिकाभित्रको फोहरमैला व्यवस्थापनको लागि करिब १० करोड रुपैयाँ लागतमा व्यवस्थापन परियोजना निर्माण गर्न थालेको प्रमुख प्रशासकीय अधिकृत केशव लामिछानेले जानकारी दिए । जसका लागि गाउँपालिका–५ का वडावासीले जग्गा प्रदान गरेको उनले बताउनुभयो । वडा नं ५ को भूर्तेलथोकस्थित खोलाखर्कमा १९ रोपनी जग्गा गाउँपालिकाले प्राप्त गरिसकेको र फोहरमैला व्यवस्थापनको बोलपत्र प्रकिया सकेर काम चाँडै सुरु गर्ने पैयूँ गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीले बताए । फोहरमैला परियोजना गाउँपालिकाको गौरवको योजना रहेको र फोहरलाई मोहोरमा बदल्ने गरी कामअघि बढेको उनले बताए । यो परियोजना सञ्चालनमा आएपछि कुहिने र नकुहिने फोहर वर्गीकरण गरी यस्लाई व्यवस्थित बनाइने भएको छ । यो परियोजना लागू भएपछि स्थानीयवासीलाई रोजगारीसमेत हुने अध्यक्ष ठकुरीले बताए । गाउँपालिका फोहरमैला व्यवस्थापनबारे गाउँपालिकाले सार्वजनिक सुनुवाइ कार्यक्रमसमेत गरेको छ । गाउँपालिका अन्तर्गत हातेमालोचोक, हुवारबजार, भोर्लेबजार, त्रिवेणी, सरौँ लगायतका क्षेत्रमा बजारीकरण बढ्दै गएको छ । रासस

बिजनेसविहिन बन्यो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, जिम्मेवार निकाय नै दोषारोपणमा

काठमाडौं । गत जेठ २ गते प्रधानमन्त्री शेरबहादुर देउवाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरे । सोही दिन बिहान अन्तर्राष्ट्रिय रुपमा प्रतिष्ठित जजिरा एयरवेजले विमानस्थलमा उडान पनि गर्यो । गत सेप्टेम्बर १६ देखि दैनिक उडान गर्दै आएको जजिराले असोज अक्टुबर १० गतेबाट भने आफ्नो उडानमा कटौती गरेको छ । अब जजिराले हप्तामा ३ दिन मात्रै उडान गर्ने जनाएको छ । यात्रु संख्यामा कमी भएपछि उडान कटौती गर्नुपरेको जजिरा एयरवेजका कन्ट्री म्यानेजर अमित नागरथले बताएका छन् । सो विमानस्थल बनेपछि गौतमबुद्धको जन्मभूमिमा आउने अन्तर्राष्ट्रिय पर्यटक बढ्ने अपेक्षा गरिएपनि अहिलेसम्म त्यसो हुन सकेको छैन । विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार अहिले विमानस्थलमा औसतमा २० ओटा आन्तरिक उडान हुने गरेको छ भने जजिरा एयरवेज बाहेक अन्यले उडान गरेका छैनन् । उनका अनुसार बुडापेस्ट हंगेरीमा प्रधान कार्यालय रहेको विज एयरले गौतमबुद्ध विमानस्थलमा उडान गर्नको लागि अनुमति मागेको छ । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा श्रम मन्त्रालय र नेपाल आयल निगमका कारण अन्तर्राष्ट्रिय जहाजहरुको नियमित सञ्चालनमा कठिनाई भएको बताएका छन् । विमानस्थलमा अलजजिराले गरिरहेको नियमित उडान कटौती गरेको विषयमा जिज्ञासा राख्दा महानिर्देशक अधिकारीले सो कुरा बताएका हुन् । ‘विमानस्थल निर्माण गर्ने र सञ्चालन गर्ने निकाय भनेको नेपाल नागरिक उड्डयन प्राधिकरण हो’, उनले भने, ‘श्रम स्वीकृति दिने काम काठमाडौंमा नै नआई नहुने व्यवस्था छ ।’ सबै क्षेत्र मिलेर मात्रै विमानस्थलको सफलतापूर्वक सञ्चालन हुनसक्नेमा त्यसो नभएको महानिर्देशक अधिकारीले बताए । ‘एउटा सामान्य श्रम कार्यालयको अफिस भैरहवामा नखोलेको विषयमा मेरो गुनासो छ’ महानिर्देशक अधिकारीले भने -‘भैरहवामा श्रम कार्यालय खोल्नुपर्छ भनेर मैले भन्ने कुरा हो ?’ गौतमबुद्ध विमानस्थल बनायो चलेन भनेर उठेको प्रसंगप्रति महानिर्देशक अधिकारीले असहमति जनाउँदै भने ‘गौतमबुद्ध विमानस्थल बनायो चलेन, बनाउनु गल्ती हो कि  श्रम कार्यालय नखोल्नु गल्ती ?’ श्रम कार्यालय खोल्ने र आयल निगमले इन्धनको मूल्य समायोजन गरेपछि विमानस्थल राम्रोसँग सञ्चालन हुने अधिकारीको जिकिर छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिेरे मन्त्रालयले लुम्बिनी प्रदेशमा श्रम कार्यालय सञ्चालन नगरेको विषय स्वीकारर्छन् । तर अहिले अनलाइन प्रणाली भएकाले श्रम स्वीकृतिको काम अनलाइनमार्फत् नै गर्न सकिने उनले बताए । वैदेशिक रोजगारमा जाने नेपालीहरु काठमाडौं आउनु पर्ने अवस्था नरहेको उनको भनाइ छ । ‘पहिलाको शिक्षा कार्यालय बसेको कार्यालयलाई मर्मत सम्भार गरेर हामीले श्रम कार्यालय राखेका छौं, त्यहाँ वैदेशिक रोजगारीमा जानेहरुको श्रम स्वीकृति दिने अड्डाको रुपमा अधिकार प्रत्यायोजन गरेर खोलिएको छ’, उनले भने । पहिलो पटक वा दोस्रो पटकको श्रम स्वीकृति लिन काठमाडौं आउनुपर्ने अवस्था नरहेको उनको भनाइ छ । मेडिकल चेकअप गर्ने संस्थाहरु र मेनपावरहरुलाई उनीहरुको संस्थामार्फत प्रदेश स्तरमा जानको लागि मन्त्रालयले पत्रमार्फत निर्देशन गरेको प्रवक्ता घिमिरेले बताए । तर, अहिलेसम्म भने शाखाको अनुमति लिएका अधिकांश म्यानपावरहरु प्रादेशिक स्तरमा गएका छैनन् । त्यस्तै प्रदेशस्तरमा मान्यताप्राप्त मेडिकल चेकअप स्थापना गर्ने कुरामा पनि मन्त्रालयले चासो दिएको छैन। तर, प्रवक्ता घिमिरेले श्रम सम्बन्धी नयाँ ऐनको प्रक्रिया अगाडि बढेकोले त्यसले धेरै विषयलाई सम्बोधन गर्ने बताए । उनले श्रम मन्त्रालयको कारणले गौतम बुद्ध विमानस्थलको सञ्चालनमा समस्या भएको भन्ने भनाइमा आफ्नो असहमति रहेको जिकिर गरे । एउटा अन्तर्राष्ट्रिय स्तरको विमानस्थल निर्माण गरिसकेपछि त्यसको अन्तर्राष्ट्रिय र राष्ट्रियस्तरमा प्रचारप्रसारको काममा नागरिक उड्डयन प्राधिकरणले उच्चस्तरको पहल नगरेको विषय पनि केही पक्षले उठाएका छन् । बुद्धको जन्मभूमिमा अन्तर्राष्ट्रिय स्तरको विमानस्थल निर्माण भएको विषयमा अन्तर्राष्ट्रिय जगतमा प्रचार प्रसारमा कमी भएको देखिएको छ । तर, महानिर्देशक अधिकारीले भने श्रम कार्यालय राख्नेले नराख्ने र पर्यटन बोर्डले पर्यटन क्षेत्रको प्रचारप्रसार नगर्ने हो भने विमानस्थलको प्रचारप्रसार गरेर मात्रै विमानस्थल नचल्ने बताएका छन् । विमानस्थलले सो विमानस्थलबाट उडान भर्ने जहाजलाई ल्यान्डिङ पार्किङमा एक वर्षसम्मको लागि छुटको व्यवस्था पनि गरेको छ । सो विमानस्थललाई सफलतापूर्वक सञ्चालन गर्न सबै जिम्मेवार निकायले आ–आफ्नो जिम्मेवारी पूरा गरेमा मात्रै सम्भव हुने विषय दोहोर्याउँदै उनी भन्छन्, ‘राज्यले तोकेअनुसार सबैले काम गरेमा विमानस्थल राम्रोसँग सञ्चालन हुन्छ’, उनले भने, ‘प्राधिकरणले एयरपोर्ट बनायो, श्रम मन्त्रालयले कार्यालय खोल्दिने, नेपाल आयल निगमले तेलको उचित मूल्य कायम गर्ने र पर्यटन बोर्डले प्रवद्र्धनको काम गरे पुग्छ ।’ नेपाल पयर्टन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) धनन्जय रेग्मीले आफूहरुले आफ्नो तर्फबाट प्रवद्र्धनको क्षेत्रमा गर्नुपर्ने काम गरेको तर विमानस्थललाई सही ढंगले सञ्चालन गर्ने विषयमा क्यानको भूमिका नै सकारात्मक नरहेको बताएका छन् । रेग्मीले भियतनामले उडान गर्नको लागि इच्छुक भएकोमा क्यान सकारात्मक नरहेको बताए । ‘क्यानले आइकाओसँग अनुमति नलिने, आज भियतनाम नेपाल आउन तयार छ, कोरियाले प्लेन चलाउन माग गरिरहेको छ, तर क्यानबाट एउटा चिठी समेत गएको छैन’, उनले भने, ‘क्यानले कुनै इनिसियसन नलिने, एयरपोर्ट बनाउन र ठेक्कापट्टाभन्दा माथि रुची नभएकोले नेपाली एयरपोर्टहरु नचलेका हुन् ।’ अदूरदर्शी ठेक्कापट्टामा रमाउने मान्छेहरुले धमाधम एयरपोर्ट बनाउने तर त्यसको पहिला कुनै अग्रिम योजना नबनाउने गर्दा सो अवस्था आएको रेग्मीले प्राधिकरणलाई आरोप लगाए । गौतमबुद्ध एयरपोर्ट सञ्चालनको लागि नेपाली एयरलाइन्स बौद्धमार्गी मुलुकहरुमा पहिला किन नचलाएको भन्ने प्रश्न सीईओ रेग्मीको छ । पर्यटन बोर्डले लुम्बिनीको लागि बौद्धमार्गी देशहरुमा प्रवद्र्धन गर्ने तर अरबियन मुलुकहरुमा जहाज उडाएर पर्यटक नआउने उनले बताए । ‘बोर्डले पर्यटन प्रवद्र्धन बौद्धमार्गी देशहरुमा गएर गर्ने हो, कतारबाट जजिरा एयरलाइन्स चलाएर बुद्धिष्ट पर्यटक आउँछन’, उनले प्रश्न गरे, ‘के लुम्बिनी मक्कामदिना हो र ?’ लुम्बिनी एयरपोर्ट बनाएको गौतम बुद्धको जन्मभूमी हो बौद्धमार्गी पर्यटकहरु आउँछन भनेर बनाएको हो, त्यो अनुसार सम्बन्धित निकायले भूमिका नखेलेको सिइओ रेग्मीले बताए । ‘नेपाल पर्यटन बोर्डले आफुले गर्ने प्रचारप्रसारको काम राम्रोसँग गरेको छ, तर एयरलाइन्स बनाउने र सञ्चालन गर्ने निकाय चाहिँ सिरियस छैनन्, ठेक्कापट्टामा रमाएका छन्, कारण यही हो’, उनले भने । नेपाल आयल निगमले इन्धनको मूल्य अन्तर्राष्ट्रिय स्टान्डर्डअनुसार नलिएको कारणले पनि समस्या देखिएको महानिर्देशक अधिकारीको भनाइ छ । ‘नेपाल आयल निगमले इन्धनको मूल्य संसारकै सबैभन्दा महंगो लिएको छ’, उनले भने, ‘१ लिटर तेलमा ७०/७५ रुपैयाँ नाफा खाएर बेच्ने यो अन्याय नै भएको छ वास्तवमा भन्ने हो भने ।’ अधिकारीका अनुसार विमानस्थलको निर्माण अन्तर्राष्ट्रिय मापदण्डअनुसारको भएकै कारणले अलजजिराले उडान भरेको र यात्रु अभावको कारणले मात्रै उसले आफ्नो उडान कटौती गरेको हो । सो विमानस्थलमा यात्रु वृद्धि गर्नको लागि श्रम स्वीकृति कार्यालय खोल्नुपर्ने, मेडिकल सर्टिफिकेट दिने व्यवस्था हुनुपर्ने र नेपाल आयल निगमले अन्तर्राष्ट्रिय स्तरको मूल्य कायम गर्नुपर्ने महानिर्देशक अधिकारीले बताए । सम्बन्धित समाचार : यात्रु नभएको भन्दै जजिराले रोक्यो दैनिक उडान, भन्यो : खर्च पनि नउठ्ने ठाउँमा विमान चलाउँदैनौं

फुटपाथ व्यवसायी भन्छन् : मेयर बालेन साह ठिक लागेन

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (बहुमत) निकट अखिल नेपाल क्रान्तीकारी ट्रेड युनियन महासंघले मजदुरको हकहीतका लागि २२ बुँदे माग गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले मजदुरको हकहितका लागि २२ बुँदे माग राखी सम्बधित निकायहरुको ध्यानाकर्षण गराएको हो । पत्रकार सम्मेलनमा बोल्दै अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका अध्यक्ष विनोद थापाले फुटपाथहरुलाई अमानवीय ढंगले दमन गर्दासमेत ठूला भनिएका दल र सरकार मौन बस्नु मजदुरप्रतिको अवहेलना भएको बताए । उनले अहिलेका ठूला राजनीतिक दलहरु थोत्रा प्रतिवद्धता लिएर जनतामाझ गइरहेको भन्दै जनताले आफ्ना माग पूरा नगरुन्जेल भोट दिनु नहुने बताए । मजदुरलाई उचित व्यवस्थापन नभएसम्म नेताहरुलाई भोट नदिन उनले सबैलाई आग्रह गरे । उनले ठेलागाडा खोसेर महिला रोइरहँदा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह पाश्चात्य संगीतमा परिवारसँग रमाइरहनु दुःखद् कुरा भएको बताए । कार्यक्रममा फुटपाथ व्यवसायी विमला चौलागाईंले बिहान कमाएर बेलुका खानेलाई धेरै समस्या हुनेहरुको उचित व्यवस्थापन नगरी व्यवसाय नै खोस्नु उचित नभएको बताइन् । उनले अरुको रोजीरोटी खोसेर महानगरको समस्या समाधान नहुने भन्दै मेयर साह मजदुरका लागि सही पात्र नभएको बताइन् । त्यस्तै, अर्की फुटपाथ व्यापारी सुनिता कार्कीले मेयर साहले फुटपाथमा व्यापार गर्नेहरुलाई बिचल्ली पारिदिएको बताइन् । उनले महानगरले फुटपाथ व्यवसायीको उचित व्यवस्थापन वा बेच्न दिने अधिकारको सुनिश्चितता गर्नुपर्ने माग गरिन् । यस्तै अर्काे फुटपाथ व्यवसायी सर्मिला तामाङले आफूजस्ता मजदुरका लागि गरिखाने एउटै साधन भएका ठेलागाडा भएकाले मजदुरको सही व्यवस्थापन नभइ महानगरले ज्यादती गर्न नहुने बताइन् । महासंघले भने दैनिक ज्याला प्रणाली खारेज गरी घण्टा अवधिको १५० रुपैयाँ र श्रमीकको न्युनतम मासिक तलब ३० हजार रुपैयाँ कायम गर्न, ८ घण्टा कार्यावधि घटाइ ५ घण्टा बनाउन, श्रमीकको लागि सहुलियत कार्डको व्यवस्था गर्न माग गरेको छ ।

सहकारीमा चल्याे गाेली, एक घाइते

काठमाडौं । सर्लाहीमा रहेको एक सहकारी संस्थामा गोली चलेको छ । सर्लाहीको मिलनचोकमा रहेको सगुन बचत तथा ऋण सहकारी संस्थामा गोली चलेको हो । लुटपाट गर्न आएका ३ व्यक्तिले उक्त सहकारीकाका प्रमुख रहेका ३० वर्षीय साजन कार्कीमाथि गोली प्रहार गरेका थिए । जिल्ला प्रहरी कार्यालय सर्लाहीले उनको दाहिने पाखुरा, दाहिने कोखा, बाँया कोखा, दाहिने तिघ्रामा गोली लागेको जनाएको छ । उनको हरिवनस्थित सरस्वती अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि काठमाडौं रेफर गरिएको छ ।

उदयपुर मालपोत कार्यालयमा मेगा बैंकको एक्सटेन्सन काउन्टर

काठमाडौं । मेगा बैंकले उदयपुरको गाइघाटस्थित जिल्ला मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर विस्तार गरेको छ । त्रियुगा नगरपालिका वडा नम्बर १०, बोक्सेस्थित मालपोत कार्यालयमा बुधबारबाट मेगा बैंकले एक्सटेन्सन काउन्टर विस्तार गरेको हो । अब मालपोत कार्यालयको सबै सेवाको आर्थिक कारोबार बैंकमार्फत नै हुने भएकाले सेवाग्राहीलाई सहज हुने र मालपोत कार्यालयलाई पनि आर्थिक पारदर्शितामा सहज हुने जनाएकाे छ । एक्सटेन्सन काउन्टर विस्तार गरेर सेवा र सञ्जाल विस्तार गर्ने बैंकको नीति अनुरुप मेगा बैंकले यसअघि पनि विभिन्न स्थानहरुमा एक्सटेन्सन काउन्टरहरु विस्तार गरिसकेको छ ।  मेगा बैंकको हाल देशभर २०८ वटा शाखा र २६ वटा एक्सटेन्सन काउन्टरहरु सञ्चालित छन् ।

मकवानपुरमा स्वास्थ्य बीमा गराउने बढे

बागमती । मकवानपुर जिल्लामा स्वास्थ्य बीमा गराउनेको सङ्ख्या बढ्दै गएको एक तथ्याङ्कले जनाएको छ । साथै बीमा नवीकरण गर्नेको सङ्ख्या पनि बढेको छ । मकवानपुर जिल्लामा हालसम्म एक लाख ७२ हजार ४९ जनाले स्वास्थ्य बीमा गराएका छन् । नेपाल सरकारले पाँच वर्ष अगाडि सो कार्यक्रम सञ्चालन गरेको थियो । स्वास्थ्य बीमा बोर्ड मकवानपुरका दर्ता अधिकारी नरबहादुर खड्काका अनुसार गत आर्थिक वर्र्ष मात्र एक लाख ५२ हजार आठ सय ९४ जनाले स्वास्थ्य बीमा गराएका थिए । स्वास्थ्य बीमा गराउनेमध्ये जिल्लामा ९१ प्रतिशतले नवीकरण गरेको उनले जानकारी दिए । मकवानपुर जिल्लामा एक सय २८ जना दर्ता सहयोगी रहेका छन् । बीमाबाट एक हजार एक सय ३६ प्रकारको औषधि सूचीकृत रहेको बताइएको छ । औषधिको उपलब्धतामा कुनै गुनासो नआएको अधिकारी खड्काले भने । हेटौँडामा रहेको हेटौँडा अस्पताल तथा चुरेहिल अस्पतालमा स्वास्थ्य बीमा लागू गरिएको छ । रासस

बागलुङकाे बाँझो बारीमा किवी, वर्षमै लाखौँ आम्दानी

बलेवा । गाउँमा काम गर्ने जनशक्तिको अभाव छ । युवापुस्ता पालयन हुने र गाउँमा भएका वृद्ध तथा बालबालिकाले खेतबारीको काम गर्न सक्दैनन् । वर्षभरि दुःख गरेर छ महिना खान नपुग्ने भएपछि गाउँका बारी बाँझै राखेर सहर पस्नेहरुको कमी छैन । यो समस्या बागलुङका हरेक बस्तीमा छ । जनशक्तिको अभावमा बारी बाँझो राख्न बाध्य भएका एउटा पात्र छन् काठेखोला गाउँपालिका–७ रेशका वडाध्यक्ष प्रेम लामिछाने । पाँच वर्षअघि वडाध्यक्षमा निर्वाचित भएपछि लामिछानेले पनि बारी बाँझै राखे । आफू जनप्रतिनिधि भएकाले २४ घण्टा वडावासीको काममा खट्नुपर्ने, श्रीमतीले जागिर गर्ने र वृद्ध बाबुआमाले काम गर्न नसक्ने भएपछि उनको बारी बाझिँदै थियो । तर बारीलाई बाँझै राख्न उनलाई पटक्कै मन लागेन् । अरुको बाँझोबारीमा समेत खेती गर्न लगाउनुपर्ने जिम्मेबारी पाएका व्यक्तिले आफ्नै बारी बाँझो राख्दा उनका अघि स्वभाविक प्रश्न थियो । त्यसैले वैकल्पिक खेतीको खोजीमा लागेका लामिछानेले अहिले भने त्यही बाझिँन थालेको बारीबाट लाखौँ कमाइ गर्न थालेका छन् । काठेखोला गाउँपालीका–७ रेशमा रहेको उनको घर वरिपरि किवीको बगान छ । दुई रोपनी बारीमा लगाएको किवी लटरम्म फलेको छ । मध्यम खालका एकनासका किवी दाना मनोरम देखिन्छन् । ‘चार–पाँच वर्ष पहिले बिरुवा लगाएको हुँ, पोहोर पातलो फल्यो, अहिले राम्रो फलेको छ’, लामिछानेले भने, ‘वैकल्पिक खेती गर्दा उत्पादन लिन केही वर्ष त कुर्नैप¥यो’, लामिछानेले दुई रोपनी बाँझो बारीमा ४५ वटा किवीका बिरुवा लगाएका छन् । तिनै बिरुवामा यो वर्ष सात सय किलो किवी फलेको लामिछानेले बताए । ‘दुई क्विन्टल त बिक्री भइसके, अझै पाँच क्विन्टल जति बोटमै छन्’, उनले भने, ‘बजारको समस्या नहोस् भनेर एकैपटक टिपेनौँ’, पाँच सय रुपैयाँ प्रतिगोटा खरिद गरेका ४५ वटा बिरुवाले गत वर्ष नै लगानी उठाएको उनले बताए । बगानमा किवीको बिरुवालाई आडदिन गत वर्ष ७० हजार खर्चेर उनले टहरा बनाएका छन् । लामिछानेको बगानमा फलेका किवी बागलुङ बजारमा बिक्री भइरहेका छन् । प्रतिकिलो दुई सय ५० रुपैयाँमा आफ्नै कोठाबाट किवी बिक्री गर्दै आएको उनकी श्रीमती कमला लामिछानेले बताइन् । ‘बजारमा होलसेल दिन खोजेको यस्तो उस्तो भनेर बिचौलिया आउँछन्, उपभोक्तालाई पनि महँगो पर्ने’, लामिछानेले भनिन्, ‘हामी आफैले उपभोक्तालाई दिँदा उनीहरूले रोजेर लैजान पाएका छन्, मूल्य पनि सस्तो पर्छ ।’ यो वर्षमात्रै किवीको बिक्रीबाट दुई लाख बढी आम्दानी हुने उनले बताए । वहुबर्षे बाली भएकाले बेला–बेलामा सिँचाइ र मलको प्रबन्ध गर्दा मात्रै अरु धेरै वर्ष किवीबाट उत्पादन लिन सकिने उनको भनाइ छ । त्यही बारीमा कोदो र मकैको खेती गर्दा खर्च उठाउन कठिन हुने गरेको अनुभव समेत लामिछानेसँग छ । ‘हामीले बजारको माग, उत्पादन लागत र उत्पादकत्व हेरेर खेती गर्नुपर्ने रहेछ’, लामिछाने भन्छन्, ‘पछिल्लो समय मैले नगदेबाली र फलफूल खेतीमा वडावासीलाई प्रेरित गर्ने गरेको छु ।’ लामिछानेले वडा कार्यालयको तर्फबाट किसानलाई अनुदानमा किवीका बिरुवासमेत हरेक वर्ष बाँड्दै आएका छन् । उनी गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा दोस्रो कार्यकालका लागि वडाध्यक्षमा निर्वाचित भएका थिए । रासस