साउदी अरबबाट रेमिट्यान्स पठाउने जिवन रायमाझीले जिते ५ तोला सुन
काठमाडाैं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘विदेशबाट सिटी आयो, दशैं तिहारलाई गोल्डेन बनायो’ योजना अन्तर्गतकाे ५ ताेला सुन विजेता घाेषणा गरेकाे छ । कम्पनीले विद्दुतिय प्रणालीद्वारा गरेकाे विजेता छनाेटमा साउदी अरबबाट रेमिट्यान्स पठाउने जिवन रायमाझीले ५ तोला सुन जित्ने विजेता घाेषित भएका छन् । सिटी एक्सप्रेस मनी ट्रान्सफरले गत भदौ १५ गते ६३ दिनसम्म चल्ने ‘बिदेशबाट सिटी आयो , दशैं तिहारलाई गोल्डेन बनायो’ उपहार योजना घोषणा गरेको थियो । सोही योजना अन्तर्गत लक्की ड्र मार्फत एक हजार ८ जनाले दैनिक उपहार (आकर्षक गिफ्ट ह्याम्पर) , ९ जनाले साप्ताहिक उपहार (१०/१० तोला चाँंदी ) र २ जनाले मासिक उपहार (१/१ तोला सुन ) जितिसकेका छन् । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १५ हजारभन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।
कर्णालीलाई सुगम बनाउनु छ : ओली
कर्णाली । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कर्णालीको विकटता सुगमतामा बनाउनु पर्ने बताएका छन् । एमालेले कालीकोटको रास्कोटमा आयोजना गरेको चुनावीसभालाई आइतबार सम्बोधन गर्दै उनले कर्णालीका धेरै ठाउँमा पुगेका सडकहरूलाई पक्की बनाई सुगम बनाउनुपर्ने आवश्यकता रहेको बताए । ‘सडक त पुगेको छ, पक्की सडक बनाउनु छ, विकटता छ’, उनले भने, “यसलाई सुगम गर्न जरुरी छ । सुगम बनाउन सजिलो पनि छैन ।” अध्यक्ष ओलीले कर्णालीका विकासको खाका एमाले पार्टीले कोरेको बताए । ‘हामीले देश विकासका लागि सुरुङ बनाउन, स्वास्थ्य क्षेत्रमा विकास, पूर्वाधार क्षेत्रमा विकासको सुरुआत गरेका छौँ’, उनले भने, ‘यी डाँडाकाँडाहरूमा सधैँ रोजगारी पाउने र आम्दानीको स्रोत बढाउने गरी विकास गर्न आवश्यक छ ।’ अब केही दिनपछि चुनाव आउँदैछ भन्दै अध्यक्ष ओलीले निर्वाचनले यो देश कता जाने भन्नेबारे फैसला गर्ने बताए । ‘यो देशको राष्ट्रियता, स्वतन्त्रता, स्वाभिमान माथि उठाउने र स्वाधीन बनाउने मौका आएको छ’, उनले भने । रासस
दुई करोड पर्ने फोर्ड रेन्जर र्यापटर नेपाल भित्रियो
काठमाडाैं । विश्वभर आफ्नो अफ–रोड र अन–रोड पर्फमेन्सद्वारा ख्याती प्राप्त फोर्ड रेन्जर र्यापटरको नयाँ संस्करण नेक्स्ट–जेन रेन्जर र्यापटर नेपाली बजारमा भित्रिएकाे छ । फोर्ड पर्फमेन्सको अवधारणा अनुरुप डिजाईन गरिएको यस नेक्स्ट–जेन रेन्जर र्यापटरमा विभिन्न स्मार्ट प्रविधिका साथ नयाँ पुस्ताका हार्डवेयरहरु राखिएका छन् जसले अफ रोड गाडीहरुको श्रेणीमा एउटा नयाँ आयाम बनाएको छ । अफरोड भू–भाग मध्यनजर गरी विभिन्न नयाँ सुविधा तथा प्रविधि जडान गरिएको नेक्स्ट–जेन रेन्जर र्यापटरमा नयाँ ट्वीन–टर्वो ३.० लिटर इकोबुस्ट ख्ट पेट्रोल ईन्जिन जडान गरिएकाे छ । यसले ५६५० आरपीएममा ३९७ पीएस पावर प्रदान गर्दछ र ३५०० आरपीएममा ५८३ एनएम टर्क उत्पादन गर्दछ । फोर्ड पर्फमेन्स मापदण्ड अनुरुप गरिएको, १०–स्पीड अटोमेटिक ट्रान्समिसनयुक्त नेक्स्ट–जेन रेन्जर ¥यापटरको नयाँ ईन्जिनले सहजै रुपमा ग्राभेल, माटो, हिलो बालुवामा चलाउन मद्दत गर्दछ । नेक्स्ट–जेन रेन्जर ¥यापटरमा चालकले ईलेक्ट्रोनिक रुपमा नियन्त्रित सक्रिय एडजस्ट सिस्टमद्वारा आफ्नो र्यापटरको आवाज चार एडजस्ट मोडमध्ये चयन गर्न सक्छ– क्वाईट, नर्मल, स्पोर्ट र बाजा । वालुवामा वा मरुभुमिमा डेजर्ट–रनिङ्ग पावर दिनको लागि बाजा मोडमा उपलब्ध नेक्स्ट–जेन रेन्जर ¥यापटरको एन्टी–ल्याग प्रणालीले तपाई थ्रोटलबाट बाहिर निस्कँदा पनि तीन सेकेण्डसम्म टर्वो स्पिनिङ कायम रहन्छ जसको फलस्वरुप गाडीले तत्काल मोडहरुमा वा गियरहरु बीच पनि पावर प्रदान गर्दछ । यस गाडीको लागि फोर्डले फोक्ससँग सहकार्य गरी कम्प्युटर एडेड ईन्जिनियरिङ्ग र वास्तविकताको मिश्रण प्रयोग गरेर यसका सक् ट्युन गर्ने, भल्भहरु ट्युन गर्ने जस्ता क्रियाकलापहरुद्वारा रेन्जर–¥यापटरको ड्राईभ जस्तोसुकै बाटोमा पनि आरामदायी, सुरक्षित बनाउन मद्दत गरेको छ । नेक्स्ट जेन रेन्जर ¥यापटरमा फक्स २.५ इन्च लाइभ भाल्भ इटर्नल बाइ पास सक अब्र्जबर रहेको छ जुन रेन्जर ¥यापटरमा अहिलेसम्मकै सबैभन्दा नयाँ र परिष्कृत प्रविधि हो र जसले वास्तविक अफ–रोड ड्राईभमा सेन्सरहरुको सहयोगले प्रति सेकेण्ड ५०० पटकसम्म ड्याम्पिङ्ग एड्जस्ट गरी ड्राईभ सजिलो र आरामदायी बनाउँछ । नयाँ नेक्स्ट–जेन रेन्जर र्याटरमा सात ड्राईभ मोडहरु छन् अन–रोडको लागि नर्मल, स्पोर्ट र सिल्परी र अफ–रोडको लागि रक क्रल, स्याण्ड, मड एण्ड रट्स र बाजा । नयाँ इन्टेरियर हार्डकोर अफ–रोड रेसरहरुको लागि ध्यानमा राखी डिजाईन गरिएको छ । इन्स्ट्रुमेन्ट प्यानल, ट्रिम र सीटहरुमा रहेको फोर्ड पर्फमेन्स ‘कोड ओरेन्ज’ एक्सेन्टलाई ¥यापटरको एम्बियन्ट लाईटिङले बृद्वि गरिएको छ । र्यापटर जेट फाइटरका सीटहरुबाट प्रेरित भएर अगाडी र पछाडीका सीटहरुले यात्रुहरुलाई सडकमा वा अफ–रोडमा आरामदायी सवारीको अनुभुति दिन्छन् । नेक्स्ट–जेन रेन्जर र्यापटर पूर्ण रूपमा डिजिटल क्याबिनको साथ उपलब्ध छ, उच्च रिजोल्युसन १२.४ ईन्च डिजिटल क्लस्टर र १२ ईन्चको टचस्क्रिन फोर्डको नयाँ पुस्ताको सिन्कका साथ जडान गरिएको छ । अन्य सुविधाहरूमा अपफिटर स्वीचहरू र अफरोड स्क्रिन समावेश छन् । फोर्ड रेन्जर र्यापटर एब्सोल्युट ब्ल्याक, आर्टिक ह्वाइट, कोड ओरेन्ज र कन्कर ग्रे सहित चार आकर्षक रंगहरूमा उपलब्ध छ । नेपाली बजारमा ३.० लि.भिसिक्स पेट्रोल र १०–स्पीड अटोमेटिक नेक्स्ट–जेन रेन्जर र्यापटरको मूल्य २.१५ करोड तोकिएको छ ।
रवि लामिछानेको प्रचारमा रहेको गाडी तोडफोड
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका चितवन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा उम्मेदवार रवि लामिछानेको प्रचारमा रहेको गाडी तोडफोड भएको छ। आइतबार दिउँसो चितवनको क्षेत्र नम्बरमा पर्ने मुग्लिन नजिकै गाडी तोडफोड भएको हो । रातो जिप तोडफोड भएको छ । तोडफोड भएको गाडी नजिकै रहेर रवि लामिछानेले आफ्नो धारणा सार्वजनिक गरेका छन् । उनले आफ्नो चुनावी प्रचारमा हिडेका व्यक्तिहरुमाथि यत्रो आक्रमण हुँदापनि प्रहरी प्रशासनले दोषीहरुलाई कारबाही नगरेकोमा आक्रोश पोखेका छन् । एक जना युवा गाडीमाथि चढेर लात्तिले हानेर सिसा फुटाएको भिडिओ राष्ट्रिय स्वतन्त्र पार्टीका नेता दीपक बोहराले सार्वजनिक गरेका छन्। इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक सुनजित तामाङले चुनावी प्रचारमा रहेका मानिसहरू चढेको गाडी तोडफोड भएको बताए। ‘सात वटा गाडीमा मानिसहरू चुनावी प्रचारमा गएका रहेछन्। तीमध्ये अन्तिमको गाडीमा चढेका मानिसहरूले गठबन्धनको झन्डा रहेको अर्को गाडीमा सवार मानिसहरूलाई जिस्क्याएको भन्ने छ,’ उनले भने, ‘उनीहरूबीच भनाभन र धकेलाधकेल भएछ। त्यसपछि गाडी तोडफोड भएको भन्ने छ।’
महासंघ भन्छ : नेतालाई चुनावमा सहयोग गर्नलाई बैंकको ब्याज बढाइयो
काठमाडौं । बैंकहरुले एकतर्फी रुपमा कर्जाको ब्याज, प्रिमियम तथा सेवा शुल्कमा गरेको वृद्धिसँगै उद्योगीलाई कालो सूचीमा राख्नेकाे प्रति नेपाल घरेलु तथा साना उद्योग महासंघले विरोध जनाएको छ । नेपालको अर्थतन्त्र अहिले इतिहासकै असहज र कठिन परिस्थितिबाट गुज्रिरहेको भन्दै महासंघका अध्यक्ष उमेश प्रसाद सिंहले बैंक तथा वित्तिय संस्थाले उत्पादनमुलक उद्योगलाई ऋण प्रवाह र अर्काेतर्फ मनाेमानी ढंगले ब्याजदर बढाउँदा बजार भाउ अप्रत्यासित रुपमा उकालो लागिरहेको बताए । ‘यस्ता प्रतिकुल बैंकिङ्ग नीति र बैंक तथा वित्तीय संस्थाहरुले कर्जाकोे ब्याजदरमा गरेको अत्यधिक वृद्धिले उद्योग व्यवसाय धरापमा पर्दै गएको छ, यसबाट मुलुकको अर्थतन्त्र अस्तव्यस्त बन्न पुगेको छ,’ उनले भने । यस्तो परिस्थितिमा पनि सरकार तथा केन्द्रीय बैंक मुकदर्शक बनेर बैंकहरुले गरेका ज्यादतीलाई मौन समर्थन गरिरहेको भन्दै महासंघले यसलाई आम जनताले नेताहरुले आउँदै गरेको निर्वाचनको खर्च जुटाउने कार्यको रुपमा बुझिरहेको जनाएको छ । प्रचलित बैंक तथा वित्तिय संस्था सम्बन्धी ९वाफिया० ऐन विपरित केही नीजि क्षेत्रका मुख्य छाता संस्थाका प्रमुख पदाधिकारीहरु बैंकर पनि आफै र उद्योगी व्यापारी पनि आफै भएको हुँदा आफ्नो अन्तर बैकिङ्ग सम्बन्धलाई प्रयोग गर्दै आफुहरुले सस्तो व्याजदरमा रकम उठाउने र लघु, घरेलु तथा साना उद्योगीहरुलाई चर्को ब्याजदरमा पार्ने षडयन्त्र गर्दै आएको महासंघको ठहर छ । उनीहरु एकातर्फ बैंक मार्फत बढी मुनाफा तान्ने दौडमा सामेल हुने र अर्को तर्फ उद्योगी व्यवसायीको पक्षमा बोले जस्तो गर्ने नीजि क्षेत्रका ती छाता संस्थाका पदाधिकारीहरुको नाटकीय चरित्र तथा बैंकहरुले देखाएको व्यवहारको नेपाल घरेलु तथा साना उद्योग महासंघले भत्सर्ना गरेको छ । यस्तै, महासंघले गाह्राे भएकाे अवस्थामा आपूर्ति व्यवस्थालाई नियमित राख्न जोखिम मोलेर उद्योग सञ्चालन गरेका लघु घरेलु तथा साना उद्योगीहरुलाई कालो सूचीमा राख्ने सूचनाको विरोधमा आन्दोलन गर्न सक्ने जनाएकाे छ ।
आगामी निर्वाचनमा ७५३ स्थानीय तहका संरचना उपयोग गरिने
काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सात सय ५३ वटै स्थानीय तहलाई परिपत्र गरी आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि भवन, परिसर र भौतिक संरचना उपलब्ध गराउन अनुरोध गरेको छ । मन्त्रालयले शुक्रबार सबै स्थानीय तहलाई परिपत्र गरेर चुनावका लागि आवश्यक भवन, परिसर र भौतिक संरचनाको व्यवस्था गर्न भनेको मन्त्रालयका शाखा अधिकृत चिरञ्जीवी नेपालले जानकारी दिए । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि सात सय ५३ वटै स्थानीय तहको भवन, परिसर र भौतिक संरचना आवश्यक भएकाले व्यवस्था गरिदिन निर्वाचन आयोगले मन्त्रालयलाई पत्राचार गरेको थियो । मन्त्रालयले परिपत्रसाथ आवश्यक कारबाही गर्न पनि सबै स्थानीय तहलाई आग्रह गरेको छ । आयोगले प्रत्येक निर्वाचनमा स्थानीय तहसँगको समन्वयमा भवन, परिसर र भौतिक संरचनाको व्यवस्थापन गर्दै आएको छ ।
चुनावी प्रचारमा हेलिकप्टरको प्रयोगमा गम्भीर बन्न गृह मन्त्रालयलाई आयोगको निर्देशन
काठमाडाैं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन प्रचारप्रसारमा हेलिकप्टरको प्रयोगको विषयलाई लिएर गृह मन्त्रालय संवेदनशील बन्नुपर्ने बताएका छन् । आईतबार निर्वाचन आयोगमा भएको निर्वाचन आचारसंहीता कार्यान्वयन सम्बन्धी एकीकृत कार्ययोजना, २०७९ माथि छलफल गर्दै उनले हेलिकप्टरको प्रयोगको विषयमा गृह मन्त्रालय संवेदनशील बन्नुपर्ने बताएका हुन् । उनले चुनावको प्रचार गर्न बिरामी भएको नाटक गर्ने गरेको उजुरी आएकाले त्यसतर्फ संवेदनशील बनेर काम गर्न गृह मन्त्रालयलाई निर्देशन दिए । प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोगमा बिरामीको नाटक गरी चुनावी प्रचारप्रसार गरेका दुईवटा उजुरी आएकाले आयोग कारबाहीको लागि अग्रसर रहेको बताए । ‘निर्वाचन आचारसंहीतामा ७२ घण्टा हेलिकप्टर उडाउन पाउने उल्लेख गरेका कारण संखुवासभामा चुनावी प्रचारमा समय गनेर नै ७२ घण्टामा विभिन्न १० ठाउँमा चुनावी प्रचारप्रसार गरेको पाइएकाले गृह मन्त्रालय गम्भीर बन्नुपर्ने देखिएको छ,’ उनले भने । प्रमुख निर्वाचन आयुक्त थपलियाले आसन्न निर्वाचनमा हालसम्म भौतिक उपस्थिति सहितको आचारसंहीता उल्लंघन कम रहेपनि सामाजिक सञ्जालमा भने निर्वाचन आचारसंहीता बढेको बताए । उनले सामाजिक सञ्जालबाट आचारसंहीता उल्लंघन गर्नेहरुलाई कारबाही गरिरहेको भन्दै सामाजिक सञ्जालको प्रयोग गर्दा संवेनशील बन्न सबैको ध्यानाकर्षण गराए । प्रमुख निर्वाचन आयुक्त थपलियाले मिथ्या सूचनाबाट निर्वाचनलाई फरक ढंगले प्रभावित हुने स्थिति देखिएको भन्दै आचारसंहीताका सन्दर्भमा अरुलाई लक्षित गरेर कुरा गर्न, चरित्र हत्या गर्ने, अपमान गर्ने, घृणा फैलाउने गतिविधि नगर्न सचेत गराए । उनले यस पटकको निर्वाचनमा धेरैजसो आचारसंहीता उल्लंघनका घटना टिकटकबाट भइरहेको बताए ।
म्याग्दीका दलित बस्तीका मतदाता भन्छन् : ‘पानी दिनेलाई भोट’
म्याग्दी । म्याग्दी सदरमुकाम बेनीबजारदेखि ठाडै उकालो अर्थुङ्गे हुँदै सवारीसाधनमा ४५ मिनेटको यात्रा गरेपछि पुगिन्छ बेनीनगरपालिका–५ पुरण्य गाउँ । वडा नं ५ को मुख्यगाउँ पुलाचौरदेखि छुट्टै केबल दलितको मात्र बसोबास रहेको यो बस्तीमा एक सय पाँच परिवारको बसोबास छ । यहाँ दुई सय ६० मतदाता छन् । अघिपछि राजनीतिक दलका नेताहरु देखा पर्न मुश्किल हुने यो गाउँमा निर्वाचन नजिकिँदै जाँदा म्याग्दीका प्रायः सबै राजनीतिक दलका नेता, कार्यकर्ता र उम्मेदवारको लर्को लाग्ने गरेको छ । यहाँ पुग्ने सबै राजनीतिक दल र तिनका उम्मेदवारले विगतका निर्वाचनमा झैँ आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि यहाँको मुख्य खानेपानी समस्या समाधान गरिदिने प्रतिबद्धता जनाउने गरेका छन् । स्थानीय भने नेताहरुको वर्षौंदेखिको यो प्रतिबद्धता पूरा नभएको भन्दै यस पटकको निर्वाचनमा गाउँमा जसले पानी ल्याइदिने ग्यारेन्टी दिन्छ उसैलाई मात्र मत दिने निर्णयमा पुगेका छन् । चुनावको मुखमा दैनिकजसो विभिन्न दलका नेता भोट माग्न आउने गरेका छन् । अभावै अभावमा गुज्रिएको पुरण्यका समस्या समाधान गर्ने प्रतिबद्धतासहित ढोकाढोकामा आएर नमस्कार गरेका नेताहरूलाई गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचन पछि पहिलो पटक गाउँमा देख्न पाएका छन् यहाँका मतदाताले । स्थानीय तहमा भोट माग्न गाउँमा आएका उम्मेदवारले दिएको एउटा आश्वासन पूरा नभएको ६४ वर्षीय पूर्णबहादुर दर्जीले बताए । ‘गाउँमा खानेपानीको अभाव छ, विद्यालय बनाउँदा लागेको ऋण तिर्न सकेका छैनौँ, घरघरमा पानी ल्याइ दिन्छौँ भन्ने स्थानीय नेताकै अनुहार बल्ल छ महिनापछि देख्न पाएका छौँ, नेताहरुको बोलीमा विश्वास नै लाग्न छाडिसक्यो’, उनले भने । एक घण्टाको यात्रा गरी खानेपानी ल्याउनुपर्ने बाध्यता रहेको भन्दै नेताहरूले दलितलाई सधैँ भोट माग्ने मतदाताका रुपमामात्रै प्रयोग गरेको स्थानीयको गुनासो छ । सदरमुकाम नजिकै रहेको यो बस्तीमा न खानेपानी छ न त सबै घरमा शौचालय नै छ । विगतमा जितेका जनप्रतिनिधिका आश्वासनबाट आजित भएका स्थानीयले उल्टै आश्वासन पाउन थालेका छन् । एक गाग्री पानी लिनका लागि एक घण्टाको समय खर्चिन पर्ने समस्यामा यहाँका नागरिक छन् । दिसापिसाब गर्नका लागि पाखो वा अर्कैको शौचालयमा पालो पर्खन पर्ने बाध्यता छ । ‘भोट बटुल्न मात्रै आउँछन्, चुनावमा मात्र नेताहरु हाम्रो वस्तीलाई सम्झन्छन’, दर्जीले भने । उनले गाउँमा शिक्षा, स्वास्थ्य खानेपानी, विद्युतलगायत सुविधा पाउन नसकेको उल्लेख गर्दै मत दिएर पठाएकाबाटै वर्षौदेखि गाउँलाई धोका भएको गुनासो गरे । बाक्लो बस्ती भएको यस गाउँलाई चुनावका बेला भने राजनीतिक दलका नेताहरुबाट खुब मीठामीठा आश्वास मिल्ने गरेका तर ती आश्वासन कहिल्यै पनि वास्तविकतामा परिणत हुन नसकेको स्थानीय अगुवा हीराबहादुर परियारले बताए । ‘हामीलाई त जुन जोगी आए पनि कानै चिरेको जस्तै भएको छ’, उनले भने । राजनीतिक दलका लागि भोट बैंककारुपमा प्रयोग भइरहेको भन्दै यसपटक लिखित र समय तोकेर प्रतिबद्धता दिनेलाई नै भोट दिने यहाँका दलित समुदायले निर्णय नै गरेका छन् ।