गठबन्धनबाट ६ जना प्रधानमन्त्रीको दाबेदार
काठमाडौं । आगामी ४ मंसिरमा हुन गइरहेको प्रतिनिधिसभाको निर्वाचनमा नेपाली कांग्रेसको नेतृत्वमा रहेको सत्तारूढ गठबन्धनले जितेमा भावी प्रधानमन्त्री को हुने भन्नेमा अन्योल छ । यद्यपि, सो गठबन्धनले जितेमा कांग्रेस सभापति शेरबहादुर देउवा नै पुनः प्रधानमन्त्री हुने अनुमान गरिएको छ । आगामी ४ मंसिरमा हुने आमनिर्वाचनपछि को प्रधानमन्त्री बन्ला भन्ने सर्वत्र जिज्ञासा बढिरहेको अवस्थामा सत्तारूढ गठबन्धनले प्रधानमन्त्रीको निर्विकल्प उम्मेदवार छान्न सकेको छैन । सत्तारूढ दलभित्रै प्रधानमन्त्रीका रूपमा कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा, पूर्व महामन्त्री शशांक कोइराला, कांग्रेस नेता शेखर कोइराला प्रधानमन्त्रीको दाबेदारका रूपमा देखिएका छन् । यस्तै, गठबन्धनको दोस्रो ठुलो दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि चुनावपछिको प्रधानमन्त्रीको दाबेदारका रूपमा रहेका छन् । सामान्यतया विगतका अनुभव हेर्ने हो भने आमनिर्वाचन हुनुअघि नै दलहरूले भावी प्रधानमन्त्रीका रूपमा आफ्नो नेतृत्वलाई अघि सार्ने गरेका छन् । आजको राजधानी दैनिकमा समाचार छ ।
मुस्ताङमा पर्यटकको सङ्ख्या बढ्दै
काठमाडौं । कोरोना सङ्क्रमण सामान्य बन्दै गएपछि मुस्ताङमा पर्यटकको सङ्ख्या बढ्दै गएको छ । मुस्ताङको सदरमुकाम जोमसोम मात्रै नभई माथिल्लो मुस्ताङ, कागबेनी, मुक्तिनाथ मन्दिर दर्शन गर्ने आन्तरिकसँगै विदेशी पर्यटकको सङ्ख्या बढेको हो । पर्यटकको आगमन बढेसँगै विगत तीन वर्षदेखि सुनसान अवस्थामा रहेका यहाँका होटल भरिभराउ छन् । असोजदेखि कात्तिकसम्म मुस्ताङ घुुम्ने उपयुक्त समय भएकाले आन्तरिक र विदेशी पर्यटकको सङ्ख्या बढ्दै गएको हो । जोमसोममा रहेको एमोनाइट होटलकी सञ्चालक लक्ष्मी शेरचनले यसपालि पर्यटकको आगमन ह्वात्तै बढेको बताए । “विगतका वर्ष कोरोना महामारीका कारण पर्यटक आगमन शून्य भयो । यसपालि असोज पहिलो सातादेखि नै पर्यटक आउन थालेको छन्,” उनले भने । ५० जनाको क्षमता रहेको होटलमा एक महिनादेखि भरी हुने गरेको शेरचनले जानकारी दिए । विशेषगरी मुक्तिनाथ मन्दिर दर्शन गर्न आन्तरिकसँगै भारतीय पर्यटकले होटल भरिने गरेको र मासिक १० देखि १५ लाख रुपियाँको कारोबार हुने गरेको उनले जानकारी दिए । उनले भने, ‘उपल्लो मुस्ताङ, कागबेनी, मुक्तिनाथ, जोमसोम आसपासका क्षेत्रमा विदेशी पर्यटकको चहलपहल छ ।’ आजको गोरखापत्र दैनिकमा समाचार छ ।
शिवम् सिमेन्ट्सको नाफा ३१.९४ प्रतिशत बढ्यो, ईपीएस २४.९८ रुपैयाँ
काठमाडौं । शिवम् सिमेन्ट्सको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ३१.९४ प्रतिशत बढेर २७ करोड ४७ लाख ६५ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २० करोड ८२ लाख ४५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीको सञ्चालन आम्दानी ३०.४६ प्रतिशत घटेर १ अर्ब ५३ करोड ४५ लाख रुपैयाँ रहेको छ । गत वर्षको सोही अवधिमा २ अर्ब २० करोड ६७ लाख रुपैयाँ सञ्चालन आम्दानी थियो । समीक्षा अवधिमा कम्पनीको अन्य आम्दानी ३ हजार २४८.४३ प्रतिशत बढेर ३१ करोड ३४ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी १६.६१ प्रतिशत घटेर १ अर्ब ८४ करोड ७९ लाख रुपैयाँ र कम्पनीको कुल खर्च २०.०३ प्रतिशत घटेर १ अर्ब ५७ करोड ७४ लाख रुपैयाँ रहेको छ । असोज मसान्तसम्ममा कम्पनीको चुक्ता पूँजी ४ अर्ब ४० करोड रुपैयाँ रहेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ५ पैसा बढेर २४ रुपैयाँ ९८ पैसा पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ २१६ रुपैयाँ ९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २५.६८ गुणा रहेको छ ।
एनएमबि लघुवित्तको नाफा र ईपीएस दुवै ऋणात्मक, खराब कर्जा ५.६८ प्रतिशत पुग्यो
काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ऋणात्मक रहेको छ । असोज मसान्तसम्ममा लघुवित्त ८० लाख १० हजार रुपैयाँ नोक्सानीमा छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ५ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तको खुद ब्याज आम्दानी, कुल सञ्चालन आम्दानी र सञ्चालन मुनाफा घटेका कारण लघुवित्तको नाफा घटेको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २२.५० प्रतिशत घटेर ८ करोड ६४ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी २४.५३ प्रतिशत घटेर १० करोड ३१ लाख रुपैयाँ, सञ्चालन मुनाफा ८१ लाख ७७ हजार रुपैयाँ ऋणात्मक रहेको छ । समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी २१.५० प्रतिशत बढेर ६५ करोड ५८ लाख रुपैयाँ, जगेडा कोष ८.८८ प्रतिशत घटेर ३६ करोड २२ लाख रुपैयाँ, सापटी ४.९२ प्रतिशत बढेर ३ अर्ब ५ करोड २८ लाख रुपैयाँ, निक्षेप ४.१० प्रतिशत बढेर १ अर्ब ८५ करोड ८९ लाख रुपैयाँ र कर्जा ५.०५ प्रतिशत बढेर ५ अर्ब ६४ करोड ९६ लाख रुपैयाँ रहेको छ । असोज मसान्तसम्मा लघुवित्तको प्रतिसेयर आम्दानी पनि ऋणात्मक छ । लघुवित्तको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ८९ पैसा ऋणात्मक रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी २४.०५ रुपैयाँ रहेको थियो । लघुवित्तको प्रतिसेयर नेटवर्थ १५५ रुपैयाँ २४ पैसा छ । लघुवित्तको खराब कर्जा २.३१ प्रतिशत बढेर ५.६८ प्रतिशत पुगेको छ । यस्तै, लघुवित्तको कस्ट अफ फण्ड १०.११ प्रतिशत छ ।
नेपालगन्जमा एन्टर्क ओनर्स ग्रुप राइड सम्पन्न
काठमाडाैं । टिभिएस मोटर कम्पनीको नेपालको लागि एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले नेपालगन्जमा एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ । राइड शनिबार २६ गते नेपालगन्ज शोरुमबाट शुरु भएर मेरो प्लानेट अम्युजमेन्ट पार्कमा पुगेर सम्पन्न भएको थियो । उक्त राइडमा सहभागिहरु बीच विभिन्न गेमहरु पनि खेलाइएको थियो । साथै सहभागि सम्पूर्ण राइडरहरुलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिनुको साथै आकर्षक उपहारहरु पनि प्रदान गरिएको थियो । करिब ५० जना राइडरहरु सहभागि भएको उक्त राइड सम्पूर्ण सुरक्षा सावधानीहरुका साथ नेपाल सरकारको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ । साथै उक्त राइडमा प्राबिधिक टिमले विभिन्न सडक सुरक्षाको बारेमा जानकारी प्रदान गर्नुको साथै राइडरले अपनाउनुपर्ने नियम र सुरक्षाको जानकारी पनि प्रदान गरिएको थियो ।
‘करोडौं पर्ने धितोमा रहेको घरजग्गा पचाउन बैंकहरुले ३५ दिने सूचना निकाले’
काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघले बैंकहरुले लिलामबिक्रीको आतंक मच्चाएको आरोप लगाएको छ । महासंघका अध्यक्ष कुमार कार्कीले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै करोडौं पर्ने धितोमा रहेको घरजग्गा पचाउने नियतले बैंकहरुले ३५ दिने सूचना निकाल्ने गरेको आरोप लगाएका हुन् । संकटको बेलामा सामान्य मानवियता समेत बैंकहरुले नहेर्ने भन्दै महासंघले ३५ दिने सूचनालाई बढाएर ६ महिना बनाउनु पर्ने माग राखेकाे छ । ‘संकटको अवस्थामा सामान्य मानवियता पनि नहेरी पत्रपत्रिकामा ३५ दिने सूचना निकाल्ने र करोडौ मूल्य पर्ने सम्पत्तिलाई थोरै ऋण लिएका भरमा लिलामी गरेर वित्तीय संस्थाले असुल गर्ने कोशिस गरेको पाइएको छ’ अध्यक्ष कार्कीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘धितोलिलाम गर्ने सूचना ३५ दिन होइन कम्तिमा पनि ६ महिना हुनुपर्छ र लिलामी गर्नुअघि ऋण चुक्ता गर्न एक वर्षको अवधि दिनु पर्छ ।’ बैंकहरुले ओडी लगायतका कर्जा ठप्पै बनाउँदा धेरै व्यवसायीहरु व्यवसाय नै बन्द गर्ने अवस्थामा पुगेको विज्ञप्तिमा उल्लेख छ । ब्याजदरमाथि हस्तक्षेप मूख्य एजेण्डा बनाएको महासंघको विज्ञप्तिमा भनिएको छ, ‘ उद्योगी व्यवसायीहरुलाई ऋण चुक्ताका लागि अनावश्यक दवाव दिने काम रोक्न, सहज रुपमा ऋण उपलब्ध गराउन, धितोलिलामको समयावधि बढाएर ६ महिना पुर्याउन र ब्याजदरलाई समेत एकल अंकमा झार्ने गरी आवश्यक नीति तर्जुमा गर्नुपर्छ ।’ महासंघले बैंकहरुले अचाक्ली ब्याजदर बढाएको माथि केन्द्रीय बैंकले हस्तक्षेप गर्नुपर्ने बताएको छ ।
विभिन्न सामाजिक काम गरी कामना सेवाले मनायो १६ औं वार्षिकोत्सव
काठमाडौं । कामना सेवा विकास बैंकले काठमाडौंस्थित केन्द्रिय कार्यलयमा मुल समारोह गरी वार्षिकोत्सव समापन गरेको छ । बैंकले सप्तहाव्यापी रुपमा देशभर विभिन्न कार्यक्रमहरु आयोजना गरी आफ्नो १६ औं वार्षिक उत्सवको मनाएको छ । बैंकले कार्तिक २१ गते देखि कार्तिक २७ गतेसम्म देशभर विभिन्न कार्यक्रम गरी वार्षिकोत्सव मनाएको हो । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न ठाउँमा सरसफाई, फोहोर व्यवस्थापनको लागि विभिन्न सामाग्री वितरण, रक्तदान कार्यक्रम, वित्तीय साक्षरता अभियान, पुरुष केएस फुटसल सिजन दुई तथा महिला केएस फुटसल कपसाथै, विभिन्न जनचेतनामुलक कार्यक्रमहरु आयोजना गरेको थियो । ‘रक्तदान जिवन दान’ भन्ने नारालाई आत्मसात गरी देशव्यापि रुपमा आयोजना गरिएको रक्तदान कार्यक्रममा सातै प्रदेशमा गरी कुल ४०३ युनिट रगत संकलन गरिएको थियो । यस्तै, केएस फुटसल कप अन्तर्गत पुरुष केएस फुटसल कप सिजन २ को उपाधि सिद्धार्थ बैंकले र महिला तर्फको उपाधि कामना सेवा विकास बैंकले जितेको छ । यसैगरी बैंकले आजै आनन्द भैरव मन्दिरको फोहोर व्यवस्थापनको लागि गार्वेज बिन स्टोरेज सेड तथा डिजिटल डोनेसन बक्स समेत हस्तान्तरण गरेको छ । बैंकका अध्यक्ष सुदिप आचार्यले बैंकको लामो यात्रामा सहयोग र साथ दिने सबैप्रति आभार रहेको बताएका छन् ।
चौथो पटक निर्वाचन लडेका कोइरालालाई गठबन्धनले झनै सहज
कावासोती । प्रतिनिधिसभातर्फ दुई निर्वाचन क्षेत्र रहेको पूर्वी नवलपरासीमा सत्तागठबन्धनबाट प्रतिनिधिसभा क्षेत्र नं १ मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शशाङ्क कोइराला र नेकपा (एमाले) बाट केन्द्रीय सदस्य कृष्ण पौडेलबीचको प्रतिस्पर्धालाई चासोको रूपमा हेरिएको छ । प्रदेशसभातर्फ क्षेत्र नं १ को (१) मा सत्तागठबन्धनबाट कांग्रेस जिल्ला सभापति महेन्द्रध्वज जिसी र एमालेबाट एमाले केन्द्रीय सदस्य रवीन्द्र अधिकारी मैदानमा रहेका छन् भने क्षेत्र नं १ को (२) मा सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का लोकप्रसाद भूर्तेल र एमालेबाट रोशनबहादुर गाहाले उम्मेदवारी दिएका छन् । विसं २०४८ देखि यो क्षेत्रमा निरन्तर नेपाली कांग्रेसले जित्दै आएकाले यसपटक पनि कांग्रेस आफ्नो विरासतलाई निरन्तरता दिने प्रयत्नमा छ । कांग्रेसको विरासत यसपटक भत्काउने प्रयत्नमा एमाले रहेको छ । यो क्षेत्रमा चौथो पटक निर्वाचन लडेका कांग्रेसका शशाङ्क कोइरालाले विसं २०७४ को निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका भविश्वर पराजुलीलाई चार हजार २४ मतान्तरले हराएका थिए । यसपटक परिदृश्य विसं २०७४ को जस्तो छैन । त्यो बेलाको वाम घटकको महत्वपूर्ण दल माओवादी केन्द्र र एमालेबाट फुटेर बनेको नेकपा (एकीकृत समाजवादी) ले गठबन्धनका साझा उम्मेदवारका रूपमा कांग्रेसका कोइरालालाई अगाडि सारेकाले पनि कोइरालाले सहज जित्ने आकलन यो क्षेत्रमा गरिएको छ । यद्यपि यो निर्वाचन क्षेत्रमा पर्ने ५२ वटा वडामध्ये गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले २६, एमालेले २५ र माओवादी केन्द्रले एउटा वडाको वडाध्यक्षमा जित निकालेका थिए । यो क्षेत्रमा नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवारले ४० हजार पाँच सय ११, एमालेको ३९ हजार नौ सय ५१, राप्रपाको दुई हजार तीन सय ७३, माओवादीको एक हजार नौ सय २१ र जसपाका उम्मेदवारले एक सय ८८ मत पाएका थिए । निर्वाचन क्षेत्र नं १ मा पूर्वी नवलपरासीको सदरमुकाम कावासोतीसहित पूर्वी भाग पर्दछ । आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि कूल दुई लाख ६० हजार चार सय ६१ मतदातामध्ये यहाँ एक लाख ३१ हजार एक सय ८० मतदाता रहेका जिल्ला निर्वाचन प्रमुख लालप्रसाद भुसालले जानकारी दिनुभयो । क्षेत्र नं १ प्रदेशसभा (१) मा ६३ हजार पाँच सय ३५ र प्रदेशसभा (२) मा ६७ हजार छ सय ४६ मतदाता छन् । गत स्थानीय तहको निर्वाचनमा तीन पालिकामध्ये एकमा नेपाली कांग्रेस र दुईमा एमाले विजयी भएको थियो । गैँडाकोट नगरपालिकाको प्रमुख र उपप्रमुख कांग्रेसले, देवचुली नगरपालिकाको प्रमुख र उपप्रमुख एमाले र बुलिङ्टारको अध्यक्षमा एमाले र उपाध्यक्ष कांग्रेसले जितेको थियो । चौथो पटक यही क्षेत्रबाट मैदानमा उत्रिएका कोइरालाले मनोनयनकै दिन आफू प्रधानमन्त्री पदको दाबेदार भएको बताउँँदै मतदातालाई रिझाउन सुरु गरिसकेका छन् । आफूले पटकपटक बाचा गर्दै आएको ट्रमा सेन्टर, रङ्गशालालगायतका महत्वाकांक्षी योजना चालु आवको सरकारको नीति तथा कार्यक्रम र बजेटमा समेटिएको भन्दै कोइरालाले मत मागेका छन् । देशभरमै कांग्रेसको बलियो क्षेत्रमध्येको एक मानिएको यो क्षेत्रमा विसं २०४८ देखि निरन्तर कांग्रेसले निर्वाचन जित्दै आएको छ । रासस