विकासन्युज

चुनावी प्रचारमा हेलिकप्टरको प्रयोगमा गम्भीर बन्न गृह मन्त्रालयलाई आयोगको निर्देशन

काठमाडाैं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन प्रचारप्रसारमा हेलिकप्टरको प्रयोगको विषयलाई लिएर गृह मन्त्रालय संवेदनशील बन्नुपर्ने बताएका छन् । आईतबार निर्वाचन आयोगमा भएको निर्वाचन आचारसंहीता कार्यान्वयन सम्बन्धी एकीकृत कार्ययोजना, २०७९ माथि छलफल गर्दै उनले हेलिकप्टरको प्रयोगको विषयमा गृह मन्त्रालय संवेदनशील बन्नुपर्ने बताएका हुन् । उनले चुनावको प्रचार गर्न बिरामी भएको नाटक गर्ने गरेको उजुरी आएकाले त्यसतर्फ संवेदनशील बनेर काम गर्न गृह मन्त्रालयलाई निर्देशन दिए । प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोगमा बिरामीको नाटक गरी चुनावी प्रचारप्रसार गरेका दुईवटा उजुरी आएकाले आयोग कारबाहीको लागि अग्रसर रहेको बताए । ‘निर्वाचन आचारसंहीतामा ७२ घण्टा हेलिकप्टर उडाउन पाउने उल्लेख गरेका कारण संखुवासभामा चुनावी प्रचारमा समय गनेर नै ७२ घण्टामा विभिन्न १० ठाउँमा चुनावी प्रचारप्रसार गरेको पाइएकाले गृह मन्त्रालय गम्भीर बन्नुपर्ने देखिएको छ,’ उनले भने । प्रमुख निर्वाचन आयुक्त थपलियाले आसन्न निर्वाचनमा हालसम्म भौतिक उपस्थिति सहितको आचारसंहीता उल्लंघन कम रहेपनि सामाजिक सञ्जालमा भने निर्वाचन आचारसंहीता बढेको बताए । उनले सामाजिक सञ्जालबाट आचारसंहीता उल्लंघन गर्नेहरुलाई कारबाही गरिरहेको भन्दै सामाजिक सञ्जालको प्रयोग गर्दा संवेनशील बन्न सबैको ध्यानाकर्षण गराए । प्रमुख निर्वाचन आयुक्त थपलियाले मिथ्या सूचनाबाट निर्वाचनलाई फरक ढंगले प्रभावित हुने स्थिति देखिएको भन्दै आचारसंहीताका सन्दर्भमा अरुलाई लक्षित गरेर कुरा गर्न, चरित्र हत्या गर्ने, अपमान गर्ने, घृणा फैलाउने गतिविधि नगर्न सचेत गराए । उनले यस पटकको निर्वाचनमा धेरैजसो आचारसंहीता उल्लंघनका घटना टिकटकबाट भइरहेको बताए ।        

म्याग्दीका दलित बस्तीका मतदाता भन्छन् : ‘पानी दिनेलाई भोट’

म्याग्दी । म्याग्दी सदरमुकाम बेनीबजारदेखि ठाडै उकालो अर्थुङ्गे हुँदै सवारीसाधनमा ४५ मिनेटको यात्रा गरेपछि पुगिन्छ बेनीनगरपालिका–५ पुरण्य गाउँ । वडा नं ५ को मुख्यगाउँ पुलाचौरदेखि छुट्टै केबल दलितको मात्र बसोबास रहेको यो बस्तीमा एक सय पाँच परिवारको बसोबास छ । यहाँ दुई सय ६० मतदाता छन् । अघिपछि राजनीतिक दलका नेताहरु देखा पर्न मुश्किल हुने यो गाउँमा निर्वाचन नजिकिँदै जाँदा म्याग्दीका प्रायः सबै राजनीतिक दलका नेता, कार्यकर्ता र उम्मेदवारको लर्को लाग्ने गरेको छ । यहाँ पुग्ने सबै राजनीतिक दल र तिनका उम्मेदवारले विगतका निर्वाचनमा झैँ आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि यहाँको मुख्य खानेपानी समस्या समाधान गरिदिने प्रतिबद्धता जनाउने गरेका छन् । स्थानीय भने नेताहरुको वर्षौंदेखिको यो प्रतिबद्धता पूरा नभएको भन्दै यस पटकको निर्वाचनमा गाउँमा जसले पानी ल्याइदिने ग्यारेन्टी दिन्छ उसैलाई मात्र मत दिने निर्णयमा पुगेका छन् । चुनावको मुखमा दैनिकजसो विभिन्न दलका नेता भोट माग्न आउने गरेका छन् । अभावै अभावमा गुज्रिएको पुरण्यका समस्या समाधान गर्ने प्रतिबद्धतासहित ढोकाढोकामा आएर नमस्कार गरेका नेताहरूलाई गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचन पछि पहिलो पटक गाउँमा देख्न पाएका छन् यहाँका मतदाताले । स्थानीय तहमा भोट माग्न गाउँमा आएका उम्मेदवारले दिएको एउटा आश्वासन पूरा नभएको ६४ वर्षीय पूर्णबहादुर दर्जीले बताए । ‘गाउँमा खानेपानीको अभाव छ, विद्यालय बनाउँदा लागेको ऋण तिर्न सकेका छैनौँ, घरघरमा पानी ल्याइ दिन्छौँ भन्ने स्थानीय नेताकै अनुहार बल्ल छ महिनापछि देख्न पाएका छौँ, नेताहरुको बोलीमा विश्वास नै लाग्न छाडिसक्यो’, उनले भने । एक घण्टाको यात्रा गरी खानेपानी ल्याउनुपर्ने बाध्यता रहेको भन्दै नेताहरूले दलितलाई सधैँ भोट माग्ने मतदाताका रुपमामात्रै प्रयोग गरेको स्थानीयको गुनासो छ । सदरमुकाम नजिकै रहेको यो बस्तीमा न खानेपानी छ न त सबै घरमा शौचालय नै छ । विगतमा जितेका जनप्रतिनिधिका आश्वासनबाट आजित भएका स्थानीयले उल्टै आश्वासन पाउन थालेका छन् । एक गाग्री पानी लिनका लागि एक घण्टाको समय खर्चिन पर्ने समस्यामा यहाँका नागरिक छन् । दिसापिसाब गर्नका लागि पाखो वा अर्कैको शौचालयमा पालो पर्खन पर्ने बाध्यता छ । ‘भोट बटुल्न मात्रै आउँछन्, चुनावमा मात्र नेताहरु हाम्रो वस्तीलाई सम्झन्छन’, दर्जीले भने । उनले गाउँमा शिक्षा, स्वास्थ्य खानेपानी, विद्युतलगायत सुविधा पाउन नसकेको उल्लेख गर्दै मत दिएर पठाएकाबाटै वर्षौदेखि गाउँलाई धोका भएको गुनासो गरे । बाक्लो बस्ती भएको यस गाउँलाई चुनावका बेला भने राजनीतिक दलका नेताहरुबाट खुब मीठामीठा आश्वास मिल्ने गरेका तर ती आश्वासन कहिल्यै पनि वास्तविकतामा परिणत हुन नसकेको स्थानीय अगुवा हीराबहादुर परियारले बताए । ‘हामीलाई त जुन जोगी आए पनि कानै चिरेको जस्तै भएको छ’, उनले भने । राजनीतिक दलका लागि भोट बैंककारुपमा प्रयोग भइरहेको भन्दै यसपटक लिखित र समय तोकेर प्रतिबद्धता दिनेलाई नै भोट दिने यहाँका दलित समुदायले निर्णय नै गरेका छन् ।

१० बैंकलाई राष्ट्र बैंकको कडा चेतावनी, मर्जर नभाड्न भन्दै पठायो यी ५ निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले मर्जर सम्झौता गरेका वाणिज्य बैंकहरुलाई विभिन्न चेतावनी दिएर मर्जरका लागि थप जिम्मेवार बनाउने प्रयत्न गरेको छ । यसअघि अन्तिम समयमा आएर मर्जर भाडिएको हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकको प्रवृति नदोहोरिनका लागि राष्ट्र बैैंकले मर्जर सम्झौता गरेका १० बैंकलाई पटक–पटक पत्र पठाउँदै सचेत गराउन थालेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली, २०७३ (चौथो संशोधन २०७५) को विनियम १५ (४) मा रहेर विभिन्न निर्देशन तथा चेतावनी बैंकहरुलाई दिइरहेको छ । हाल नेपाल इन्भेष्टमेन्ट–मेगा, हिमालयन–सिभिल, ग्लोबल आइएमई–बैंक अफ काठमाण्डू, प्रभु–सेञ्चुरी र कुमारी–एनसीसी बैंकले मर्जर सम्झौता गरेका छन् । यी बैंकहरुले अहिले मर्जरको प्रक्रियामा छन् । बिचमा मर्जर प्रक्रिया नभाड्नका लागि राष्ट्र बैंकले विभिन्न समयमा विभिन्न निर्देशनहरु दिएर सचेत गराइरहेको छ । स्रोतका अनुसार अहिले राष्ट्र बैंक जसरी भए पनि मर्जर सम्झौता गरेका बैंकहरुबीच मर्जर गर्नै पर्ने मनसायमा छ । राष्ट्र  बैंकले मर्जर सम्झौता सम्झौता गरेका १० वटै वाणिज्य बैंकलाई पत्र पठाउँदै भनेको छ, ‘सैद्धान्तिक सहमति प्राप्त गरिसकेपछि मनासिव माफिकको कारण सहित यस बैंकबाट स्वीकति नलिई आफू खुशी प्राप्ति प्रक्रिया भङ्ग गर्न पाइने छैन, आफू खुसी गाभ्ने गाभिने तथा प्राप्ति प्रक्रिया भङ्ग गरेमा विद्यमान ऐन नियम र बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली, २०७३ (चौथो संशोधन २०७५) को विनियम १५(४) बमोजिम देहायबमोजिमको कारवाही गरिनेछ ।’ यस्ता छन् राष्ट्र बैंकले बैंकहरुलाई दिएको चेतावनी : (क) अन्य कनै संस्थासँग गाभ्ने गाभिने वा प्राप्तिमा नगएसम्मका लागि आधारभुत शेयरधनीहरुलाई सेयर खरिदबिक्री तथा हक हस्तान्तरणमा रोक लगाउने । (ख) दुवै संस्थाका सञ्चालक समितिलाई सचेत गराउने । (ग) दुवै संस्थालाई अन्य कुनै संस्थासंग गाभ्ने गाभिने वा प्राप्तिमा नगएसम्मका लागि आधारभूत सेयरधनीहरुलाई दिने लाभांश वितरणमा प्रतिबन्ध लगाउने । (घ) दुवै संस्थालाई अन्य कुनै संस्थासँग गाभ्ने/गाभिने वा प्राप्तिमा नगएसम्म तीन वर्षको लागि थप शाखा कार्यालय खोल्न रोक लगाउने । (ङ) दुवै संस्थालाई यस बैंकले प्रदान गर्ने सुविधाहरु प्राप्त गर्न रोक लगाउने ।

निर्वाचन प्रचारप्रसार अब पाँच दिन बाँकी

  काठमाडौं । मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल र उम्मेदवारले प्रचारप्रसार गर्न अब पाँच दिनमात्रै बाँकी रहेको छ । निर्वाचन आचारसंहिताको दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचारप्रसारसम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरणको व्यवस्थाअन्तर्गत यही कात्तिक १७ गतेदेखि मङ्सिर १ गतेसम्म प्रचारप्रसारका लागि निर्धारण गरिएको छ । मङ्सिर १ गते रातिदेखि प्रचारप्रसार निषेधको शान्त मौन अवधि भएकाले उक्त अवधिमा प्रचारप्रसार स्थिर हुने कानुनी व्यवस्था रहेको छ । आयोगले आचारसंहिताको परिपालना भइरहेको र उल्लङ्घनका घटनामा कारवाहीको क्रम जारी रहेको जनाएको छ ।

केही दिन वर्षा र हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी वायुको असरले अबको दुई/तीन दिन हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाइएको छ ।जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हीरा भट्टराईले पश्चिमी वायुको असरले केही दिन वर्षा र हिमपातको सम्भावना रहेको जानकारी दिए । उनले भने,’पश्चिमी वायुका कारण भोलि सोमबार र मङ्गलबार वर्षा र हिमपातको सम्भावना छ, हिमपातका कारण तापक्रम घट्ने भएकाले चिसो बढ्नाका साथै जनजीवनमा सामान्य असर पर्ने देखिन्छ।’ आज साँझदेखि मौसममा केही असर पर्ने तर बढी असर भने पश्चिमी क्षेत्रमा पर्ने छ । सुदूरपश्चिम र कर्णाली प्रदेशमा वर्षा र हिमपातको बढी सम्भावना रहेको छ । त्यस्तै प्रदेश नं १, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा हल्का वर्षा हुनाका साथै ती प्रदेशका उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि रहेको मौसमविद् भट्टराईले बताए । महाशाखाले जारी गरेको मौसम पूर्वानुमानसम्बन्धी बुलेटिनमा पनि आज प्रदेश नं १ को पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । रातिको समयमा गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका हिमाली भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । भोलि सोमबार पनि प्रदेश नं १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

हिताचीको ४ नयाँ माईक्रोवेभ ओभन नेपाली बजारमा, ‍२५ हजार रुपैयाँसम्म पर्ने

काठमाडौं । युनिभर्सल इलेक्ट्रोकमले नेपाली बजारमा हिताची माइक्रोवेभ ओभनका नयाँ उत्पादनहरु सार्वजनिक गरेको छ । चार भेरियन्टका साथ उपलब्ध माइक्रोवेभ ओभनका नयाँ श्रृङ्खलाहरुमा– २३ लि. डिजिटल ग्रिल माइक्रोवेभ ओभन, २० लि. डिजिटल ग्रिल माइक्रोवेभ ओभन, २० लि. मेकानिकल माइक्रोवेभ ओभन र डिसेम्बर २०२२ सम्ममा चौथो भेरियन्ट ३२ लि. कन्भेक्सन माइक्रोवेभ ओभन नेपाली बजारमा उपलब्ध हुनेछ । हिताचीले यी माइक्रो ओभनमा १ वर्षको वारेन्टी र म्याग्नेट्रोनमा ५ वर्षको वारेन्टी प्रदान गर्दछ । कम्पनीका कार्यकारी निर्देशक सञ्जय अग्रवालले ग्राहकहरुको बढ्दो मागलाई हेरेर हामीले माइक्रोवेभ ओभनको चार भेरियन्ट एकै पटक ल्याउने योजना बनाएका बताए । ‘हिताचीले सहज जीवनयापनमा विश्वास गर्छ, हिताचीका यी मौलिक माइक्रोवेभ ओभनले उपभोक्ताहरूलाई समय बचत गर्न र उनीहरूको जीवनलाई सजिलो बनाउँदै बिजुलीको खपत घटाउन मद्दत गर्नेछ,’ उनले भने । डिजिटल ग्रिल माइक्रोवेभ ओभन डिजिटल ग्रिल माइक्रोवेभ ओभनका दुई मोडल एचएमआर डिजि२३१२ र एचएमआर डिजि२०१२ ओभन क्षमता २३ लि. र २० लि. मा उपलब्ध छ । एचएमआर डिजि२३१२ मा पुल–ओपन मिरर ग्लास फ्रन्ट डोर र आईनोस फ्रेम ह्यान्डलको साथ आधुनिक र सुविधाजनक डिजाइन समावेश गरिएको छ ।  बारम्बार प्रयोग हुने कार्यहरूको सूचि समावेश गरिएकाले यसको डिजिटल डिस्प्ले प्यानल प्रयोग गर्न सजिलो छ । यसमा ग्लास ट्रे र ग्रिल ¥याक रहेकाे छ । डिजि२०१२ (२० लि.) मा कम्प्याक्ट डिजाइन र घडीको साथ ठूलो डिजिटल एलईडी डिस्प्ले जडान छ । यसको ग्लास फ्रन्ट डोर, ग्लास ट्रे प्रयोग गर्न र सफा गर्न सहज छ । यसमा ६ माइक्रोवेभ लेभल, वन टच ९ अटो कुकिंङ प्रि–सेट, माइक्रोवेभ कुकिंङ, ग्रिल कुकिंङ, वजन द्धारा डिफ्रोस्ट र समय, अटो रिहिट, चाइल्ड सेफ्टी लक, मल्टिस्टेज कुकिंङ, क्विक स्टार्ट आदि जस्ता उत्कृष्ट सुविधाहरू छन् । मेकानिकल माइक्रोवेभ ओभन मेकानिकल माइक्रोवेभ ओभन–मोडेल कोड डिजि२००२ २० लि. ओभन क्षमतामा उपलब्ध छ । यो कम्प्याक्ट डिजाइनमा उपलब्ध भएकाले सानो, शक्तिशाली र कुशल हुनुका साथै भान्साको ठाउँ धेरै आगट्दैन । यसले पुनः तताउने कार्य छिटो र सहज रूपमा खानालाई डिफ्रोस्ट गर्ने सुविधा दिन्छ । यसमा सजिलै सफा गर्नको लागि ग्लास ट्रेको साथ मेकानिकल कन्ट्रोल प्रणाली राखिएको छ । यो किफायती मूल्य र कालो रंगमा उपलब्ध छ । कन्भेक्सन माइक्रोवेभ ओभन कन्भेक्सन माइक्रोवेभ ओभन मोडल कोड एचएमआर डिसि३२१२३१एल डिजि२०१२–३२ लि. ओभन क्षमता डिसेम्बर २०२२ सम्ममा उपलब्ध हुनेछ । यो अगाडिको बाहिरी भागमा स्टेनलेस स्टीलका साथ आधुनिक टच र सजिलै सफा गर्न, मिरर ग्लास र स्टेनलेस स्टील क्याभिटीेका साथ डिजाइन गरिएको छ । माइक्रोवेभ र कन्भेक्सन कार्यको संयोजनले खाना पकाउने प्रक्रियालाई गति दिन मद्दत गर्दछ । यसमा ग्लास ट्रे र बेक ट्रे समावेश छ । यसले साधारण कन्ट्रोल प्यानलको साथ, क्विक स्टार्ट, प्रि–सेट कुकिंग, माइक्रोवेभ र ग्रिल कुकिंग, तौल र समय अनुसार डिफ्रोस्ट, स्वतः पुनः तताउने, अटो कुकिंग मेनु, चाइल्ड सेफ्टी लक, र मल्टि–स्टेज कुकिंग लगायत उत्कृष्ट कार्यक्षमता प्रदान गर्दछ । स्वतः कुक मेनुले ९ प्रिसेटहरुको कार्यहरू प्रदान गर्दछ जसले खानाको लागि स्वचालित रूपमा पकाउने समय सेट गरेर समय बचत गर्न मद्दत गर्दछ ।  

सार्वजनिक यातायात प्रणालीलाई सुधार गरेपछि सडक सुरक्षामा काम गर्न सहज हुन्छ : बालेन

काठमाडौं । सडक सुरक्षाका लागि काठमाडौँको सार्वजनिक यातायात प्रणालीलाई भरपर्दो बनाउनुपर्ने र यसका लागि वहुपक्षीय जिम्मेवारी पूरा हुनु पर्ने काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को भनाइ छ । काठमाडौं महानगरसँगको सहकार्यमा सडक सुरक्षा परिषद, सडक सुरक्षा समाज र रोटरी क्लव अफ दरबारमार्गले आयोजना गरेको कार्यशालाको शुभारम्भ गर्दै प्रमुख शाहले भने, ‘ठूला २ सय सार्वजनिक सवारीले पुग्ने काठमाडौंको चक्रपथमा २ हजार सवारी गुड्छन् । जति धेरै यात्री राख्न सक्यो उत्ति नै आय आर्जन हुन्छ । यसकारण सार्वजनिक सवारी सञ्चालकहरुविच अस्वस्थ्य प्रतिस्पर्धा भयो । सडक असुरक्षाका कारणमध्ये यो अवस्था पनि एउटा हो । यसलाई पिक एण्ड ड्रपको माध्यमबाट जसले जति यात्री बोके पनि आयमा असर नपर्ने वातावरण सिर्जना गर्नुपर्छ । त्यसो हुन सक्यो भने अनियन्त्रित गतिमा गुड्ने सवारीको गतिमा नियन्त्रण हुन्छ र दुर्घटनामा कमी आउँछ ।’ प्रमुख शाहले भने, ‘सार्वजनिक यातायातमा विश्वाश नभएकोले उपभोक्ता सबैले साधन किन्नु प‍र्यो । सबैले आफ्नै सवारी किनेपछि चाप धेरै भयो । यातायात व्यवस्थापनका चुनौतीमध्येको अर्को यसप्रकारको चाप पनि हो । सार्वजनिक यातायात प्रणालीमा विश्वाश बढाएपछि यो चाप घटाउन सकिन्छ ।’ काठमाडौं सार्वजनिक यातायात सञ्चालन र व्यवस्थापनका लागि जारी भएको काठमाडौं उपत्यका सार्वजनिक यातायात प्राधिकरण ऐनले सडक सुरक्षाका लागि नतिजामुलक काम गर्ने वातावरण बन्नेछ । प्रमुख शाहको भनाइ छ । कार्यशाला राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरण, विश्व स्वास्थ्य संगठन नेपाल, नेपाल इन्ज्युरी रिसर्च नेपाल, नेपाल डिजास्टर एण्ड इमर्जेन्सी मेडिसिन सेन्टरको सहयोगमा सञ्चालन भएको हो । कार्यशालामा बोल्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले, सडक दुर्घटना, त्यसबाट हुने चोटपटक र मृत्यु घटाउने दिशामा काम गर्नु अहिलेको जरुरी भएको बताए । ‘इञ्जिनियरिङ् (सडक निर्माण), इन्फोर्समेन्ट (सडक सञ्चालन र यातायात व्यवस्थापन) र एजुकेसन (सचेतनाका कार्यक्रम) बाट सडक सुरक्षा बढाउन सकिन्छ ।’ सिग्देलले भने, ‘अहिले सडक वर्गीकरण, राष्ट्रिय यातायात नीतिलगायत केही कानुनी व्यवस्थामा काम भइरहेको छ । यसबाट आवश्यकता र सम्बन्धित कार्यालयको क्षेत्राधिकार स्पष्ट हुन्छ । एउटै कामका लागि क्षेत्र र अधिकार बाँडिएकाले अहिले नतिजामुलक काम गर्न कठिन भएको हो ।’ ‘नेपालमा मानवीय मृत्युको कारणमध्ये पहिलो नसर्ने खालको रोग हो । दोस्रोमा सरुवा रोग र तेस्रोमा चोटपटकजन्य समस्या हो ।’ कार्यशालामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा. कृष्ण पौडेलले भने, ‘चोटपटक जनस्वास्थ्यका दृष्टिले गम्भीर विषय हो । यति भइकन पनि दुर्घटना घटाउनमा एकीकृत काम हुन सकेको छैन ।’ उनले २०७७/०७८ को नेपाल प्रहरीको तथ्याङ्क उधृत गर्दै भने, ‘यो बर्ष सडक दुर्घटनामा परेका २ हजार ८७२ जनाको ज्यान गयो । ७ हजार २८२ जना गम्भीर प्रकारको चोटपटकमा परे । २५ हजार व्यक्तिलाई चोटपटक लाग्यो । यो सामान्य खालको समस्या होइन ।’ नेपालमा प्रति १ लाख व्यक्तिमध्ये ९ दशमलव ४ प्रतिशत व्यक्तिमा दुर्घटनाजन्य क्षति भएको तथ्याङ्क छ । यसबाट हरेक बर्ष करीव ३ हजार व्यक्तिले ज्यान गुमाउँछन् भने करीव ६ हजार व्यक्तिले गम्भीर प्रकृतिको चोटपटकको सामना गरिरहेका छन् । विश्वमा हरेक २४ सेकेण्डमा १ जना व्यक्तिले सडक दुर्घटनाका कारण ज्यान गुमाइरहेको तथ्याङ्क छ । यसप्रकारको क्षति घटाउन विश्व स्वास्थ्य संगठन नेपालले काम गरिरहेको छ । कार्यशालामा संगठनका प्रतिनिधि ग्याम्बो शेर्पाले, आफूहरुले नीति र सचेतनाका कार्यक्रममार्फत समन्वयात्मक भूमिकामा रहेको उल्लेख गरे । कार्यशालामा राष्ट्रिय सडक सुरक्षाको अवस्था र दशक कार्ययोजना, सडक दुर्घटना, खोज उद्धारको चुनौती, विपद क्षति न्युनीकरणका लागि सरकारका प्रयास, प्रि हस्पिटल, हस्पिटल र पोष्ट हस्पिटल तथा जनस्वास्थ्यजन्य विपद पूर्वतयारीलगायतका विषयमा प्रस्तुतिकरण तथा समूहगत छलफल हुनेछ । यस अघि काठमाडौं उपत्यकाका पालिकाहरुबाट ४० जना अग्नि नियन्त्रक तथा अवलोकनकर्तालाई यसै विषयमा प्रशक्षिण गराइएको छ । वेलायतको ग्रेटर मेनचेस्टर फायर एण्ड रेस्क्यु सर्भिसका रोवट व्रिटल्स र जन्सन स्नुहामले प्रशिक्षण दिएका हुन् । तालिममा दुर्घटना र मानवीयताको कोण, घटनास्थलमा पुग्ने र अवस्थाको विश्लेषण गर्ने, सवारीको अवस्था र त्यसलाई स्थित बनाउने तरिका, खोज, उद्धारका लागि भौतिक साधन तथा उपकरणको व्यवस्थापन, अन्य जोखिम भए त्यसलाई घटाउने वा हटाउने, उद्धार कार्यको समाप्तिलगायत विषय समावेश थिए । तालिमका क्रममा सैद्धान्तिक ज्ञानसहित व्यवहारिक सीपका लागि प्रयोगात्मक कक्षा सञ्चालन भएका थिए । सडक प्रयोगकर्तामध्ये पैदलयात्री, साइकलयात्री र मोटरसाइकल यात्री सडक दुर्घटनाको सबैभन्दा जोखिममा पर्ने गरेका छन् । सन् २०३० सम्ममा पूरा गर्नु पर्ने दिगो विकास लक्ष्यमा सडक दुर्घटनालाई आधा घटाउनु पर्ने सूचक छ ।

रोकिएन सेयर बजारको ओरालो लाग्ने क्रम, १८८३ विन्दुमा पुग्यो

काठमाडौं । गत सोमबारदेखि निरन्तर ओरालो लागेको सेयर बजार आइतबार पनि घटेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार आइतबार सेयर बजार १०.५४ अंकले घटेको छ । नेप्से यसरी घट्दा आज सेयर विन्दु १८८३.१६ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ८३ अङ्कले ओरालो लागेर तीन सय ७० दशमलव ५३ मा सीमित भएको छ । नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये होटल तथा पर्यटन उपसमूहको सेयर उकालो लाग्दा १२ उपसमूहको शेयर ओरालो लागेको छ । कूल दुई सय २५ कम्पनीको २० लाख २८ हजार तीन सय ४८ कित्ता सेयर ७७ करोड ४९ लाख ११ हजार सात सय छ मूल्यमा खरिद बिक्री भए । आइतबारको कारोबारपछि बजार पुँजीकरण २७ खर्ब आठ अर्ब ७० करोड १२ लाख ८२ हजार चार सय ३१ बराबर रहेको छ । कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । उक्त कम्पनीको १० करोड ३९ लाख ९६ हजार बराबरको कारोबार भएको छ । निर्धन उत्थान लघुवित्त दुई करोड ४० लाख ५२ हजार तीन सय ३९, नबिल बैंक दुई करोड ३८ लाख २५ हजार नौ सय ५०, हिमालयन पावर पाटनर रु दुई करोड २६ लाख ४६ हजार दुई सय ३७ र नेपाल पुर्नबीमा कम्पनी दुई करोड १६ लाख ३९ हजार छ सय सात मूल्यमा खरिद बिक्री भए । नेप्सेका अनुसार लक्ष्मी इक्विटी फण्ड सात दशमलव ९०, लक्ष्मी उन्नति कोष तीन दशमलव ७७, मन्दाकिनी हाइड्रोपावर तीन दशमलव ७४, सिँगटी हाइड्रोपावर तीन दशमलव ३६ र गुर्खाज फाइनान्सका लगानीकर्ताले तीन दशमलव १४ प्रतिशतले कमाएका छन् । त्यस्तै नवील ब्यालेन्स फण्ड दोस्रो छ दशमलव ९०, निर्धन उत्थान लघुवित्त छ दशमलव ४०, सिटिजन म्युचुअल फण्ड पहिलो पाँच दशमलव ४२, मनकामना स्मार्ट लघुवित्त पाँच दशमलव १८ र आशा लघुवित्तका लगानीकर्ताले चार दशमलव ८६ प्रतिशतले गुमाएका छन् ।