काठमाडौं । बैंकहरुले एकतर्फी रुपमा कर्जाको ब्याज, प्रिमियम तथा सेवा शुल्कमा गरेको वृद्धिसँगै उद्योगीलाई कालो सूचीमा राख्नेकाे प्रति नेपाल घरेलु तथा साना उद्योग महासंघले विरोध जनाएको छ ।
नेपालको अर्थतन्त्र अहिले इतिहासकै असहज र कठिन परिस्थितिबाट गुज्रिरहेको भन्दै महासंघका अध्यक्ष उमेश प्रसाद सिंहले बैंक तथा वित्तिय संस्थाले उत्पादनमुलक उद्योगलाई ऋण प्रवाह र अर्काेतर्फ मनाेमानी ढंगले ब्याजदर बढाउँदा बजार भाउ अप्रत्यासित रुपमा उकालो लागिरहेको बताए ।
‘यस्ता प्रतिकुल बैंकिङ्ग नीति र बैंक तथा वित्तीय संस्थाहरुले कर्जाकोे ब्याजदरमा गरेको अत्यधिक वृद्धिले उद्योग व्यवसाय धरापमा पर्दै गएको छ, यसबाट मुलुकको अर्थतन्त्र अस्तव्यस्त बन्न पुगेको छ,’ उनले भने ।
यस्तो परिस्थितिमा पनि सरकार तथा केन्द्रीय बैंक मुकदर्शक बनेर बैंकहरुले गरेका ज्यादतीलाई मौन समर्थन गरिरहेको भन्दै महासंघले यसलाई आम जनताले नेताहरुले आउँदै गरेको निर्वाचनको खर्च जुटाउने कार्यको रुपमा बुझिरहेको जनाएको छ ।
प्रचलित बैंक तथा वित्तिय संस्था सम्बन्धी ९वाफिया० ऐन विपरित केही नीजि क्षेत्रका मुख्य छाता संस्थाका प्रमुख पदाधिकारीहरु बैंकर पनि आफै र उद्योगी व्यापारी पनि आफै भएको हुँदा आफ्नो अन्तर बैकिङ्ग सम्बन्धलाई प्रयोग गर्दै आफुहरुले सस्तो व्याजदरमा रकम उठाउने र लघु, घरेलु तथा साना उद्योगीहरुलाई चर्को ब्याजदरमा पार्ने षडयन्त्र गर्दै आएको महासंघको ठहर छ ।
उनीहरु एकातर्फ बैंक मार्फत बढी मुनाफा तान्ने दौडमा सामेल हुने र अर्को तर्फ उद्योगी व्यवसायीको पक्षमा बोले जस्तो गर्ने नीजि क्षेत्रका ती छाता संस्थाका पदाधिकारीहरुको नाटकीय चरित्र तथा बैंकहरुले देखाएको व्यवहारको नेपाल घरेलु तथा साना उद्योग महासंघले भत्सर्ना गरेको छ ।
यस्तै, महासंघले गाह्राे भएकाे अवस्थामा आपूर्ति व्यवस्थालाई नियमित राख्न जोखिम मोलेर उद्योग सञ्चालन गरेका लघु घरेलु तथा साना उद्योगीहरुलाई कालो सूचीमा राख्ने सूचनाको विरोधमा आन्दोलन गर्न सक्ने जनाएकाे छ ।