विकासन्युज

चौथो पटक निर्वाचन लडेका कोइरालालाई गठबन्धनले झनै सहज

कावासोती । प्रतिनिधिसभातर्फ दुई निर्वाचन क्षेत्र रहेको पूर्वी नवलपरासीमा सत्तागठबन्धनबाट प्रतिनिधिसभा क्षेत्र नं १ मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शशाङ्क कोइराला र नेकपा (एमाले) बाट केन्द्रीय सदस्य कृष्ण पौडेलबीचको प्रतिस्पर्धालाई चासोको रूपमा हेरिएको छ । प्रदेशसभातर्फ क्षेत्र नं १ को (१) मा सत्तागठबन्धनबाट कांग्रेस जिल्ला सभापति महेन्द्रध्वज जिसी र एमालेबाट एमाले केन्द्रीय सदस्य रवीन्द्र अधिकारी मैदानमा रहेका छन् भने क्षेत्र नं १ को (२) मा सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का लोकप्रसाद भूर्तेल र एमालेबाट रोशनबहादुर गाहाले उम्मेदवारी दिएका छन् । विसं २०४८ देखि यो क्षेत्रमा निरन्तर नेपाली कांग्रेसले जित्दै आएकाले यसपटक पनि कांग्रेस आफ्नो विरासतलाई निरन्तरता दिने प्रयत्नमा छ । कांग्रेसको विरासत यसपटक भत्काउने प्रयत्नमा एमाले रहेको छ । यो क्षेत्रमा चौथो पटक निर्वाचन लडेका कांग्रेसका शशाङ्क कोइरालाले विसं २०७४ को निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका भविश्वर पराजुलीलाई चार हजार २४ मतान्तरले हराएका थिए । यसपटक परिदृश्य विसं २०७४ को जस्तो छैन । त्यो बेलाको वाम घटकको महत्वपूर्ण दल माओवादी केन्द्र र एमालेबाट फुटेर बनेको नेकपा (एकीकृत समाजवादी) ले गठबन्धनका साझा उम्मेदवारका रूपमा कांग्रेसका कोइरालालाई अगाडि सारेकाले पनि कोइरालाले सहज जित्ने आकलन यो क्षेत्रमा गरिएको छ । यद्यपि यो निर्वाचन क्षेत्रमा पर्ने ५२ वटा वडामध्ये गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले २६, एमालेले २५ र माओवादी केन्द्रले एउटा वडाको वडाध्यक्षमा जित निकालेका थिए । यो क्षेत्रमा नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवारले ४० हजार पाँच सय ११, एमालेको ३९ हजार नौ सय ५१, राप्रपाको दुई हजार तीन सय ७३, माओवादीको एक हजार नौ सय २१ र जसपाका उम्मेदवारले एक सय ८८ मत पाएका थिए । निर्वाचन क्षेत्र नं १ मा पूर्वी नवलपरासीको सदरमुकाम कावासोतीसहित पूर्वी भाग पर्दछ । आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि कूल दुई लाख ६० हजार चार सय ६१ मतदातामध्ये यहाँ एक लाख ३१ हजार एक सय ८० मतदाता रहेका जिल्ला निर्वाचन प्रमुख लालप्रसाद भुसालले जानकारी दिनुभयो । क्षेत्र नं १ प्रदेशसभा (१) मा ६३ हजार पाँच सय ३५ र प्रदेशसभा (२) मा ६७ हजार छ सय ४६ मतदाता छन् । गत स्थानीय तहको निर्वाचनमा तीन पालिकामध्ये एकमा नेपाली कांग्रेस र दुईमा एमाले विजयी भएको थियो । गैँडाकोट नगरपालिकाको प्रमुख र उपप्रमुख कांग्रेसले, देवचुली नगरपालिकाको प्रमुख र उपप्रमुख एमाले र बुलिङ्टारको अध्यक्षमा एमाले र उपाध्यक्ष कांग्रेसले जितेको थियो । चौथो पटक यही क्षेत्रबाट मैदानमा उत्रिएका कोइरालाले मनोनयनकै दिन आफू प्रधानमन्त्री पदको दाबेदार भएको बताउँँदै मतदातालाई रिझाउन सुरु गरिसकेका छन् । आफूले पटकपटक बाचा गर्दै आएको ट्रमा सेन्टर, रङ्गशालालगायतका महत्वाकांक्षी योजना चालु आवको सरकारको नीति तथा कार्यक्रम र बजेटमा समेटिएको भन्दै कोइरालाले मत मागेका छन् । देशभरमै कांग्रेसको बलियो क्षेत्रमध्येको एक मानिएको यो क्षेत्रमा विसं २०४८ देखि निरन्तर कांग्रेसले निर्वाचन जित्दै आएको छ । रासस

सिटिजन्स बैंकको राइनास नगरपालिकामा विस्तारित काउण्टर सेवा सुरु

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले आफ्नो दोस्रो विस्तारित काउण्टर लमजुङको  राइनास नगरपालिका वडा नं ४ मा विस्तारित काउण्टर सेवा संचालनमा ल्याएको छ । यस अघिनै बैंकले मकवानपुर जिल्लामा रजैया विस्तारित काउण्टर सेवा संचालनमा ल्याईसकेको छ । यस विस्तारित काउण्टर मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्ने लक्ष्य बैंकले राखेको जनाएको छ । सिटिजन्स बैंक इन्टरनेसनलले आफ्ना १८० वटा शाखा, २ वटा विस्तारित काउण्टर, १३३ वटा ए।टि।एम। र ९६ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १५ लाख हजार ग्राहकवर्गलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

आईसीसी टी-ट्वान्टी क्रिकेटको उपाधि इंग्ल्यान्डलाई

काठमाडौं । इंग्ल्यान्डले आईसीसी टी-ट्वान्टी पुरुष विश्वकप क्रिकेटको उपाधि जितेको छ । अष्ट्रेलियाको मेलबर्नमा आइतबार भएको फाइनल खेलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै इंग्ल्यान्ड विजेता बनेको हो । पाकिस्तानले दिएको १३८ रनको लक्ष्य इंग्ल्यान्डले १९ ओभरमा ५ विकेट गुमाएर १३८ रन बनाएर पूरा गरेको हो । इंग्ल्यान्डको जितमा बेन स्टोक्स नायक बनेका छन् भने उनले सर्वाधिक ५२ रनको अर्धशतकीय इनिङ खेलेका थिए ।

युनाइटेड इन्स्योरेन्सबाट बाहिरिइन् सीईओ पौडेल, हिमालयन रिको डेपुटी सीईओ बन्दै

काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदबाट उपासना पौडेल बाहिरिएकी छिन् । उनले दिएको राजिनामालाई कम्पनी सञ्चालक समितिको बैठकले स्वीकृत गरेसँगै पौडेल कम्पनीबाट बाहिरिएकी हुन् । कम्पनी सञ्चालक समितिको बैठकले कार्त्तिक २८ गतेदेखि लागू हुने गरी पौडेलको राजिनामा स्वीकृत गरेको हो । साथै, सोही मितिदेखि लागू हुने गरी कम्पनीको निमित्त कार्यकारी अधिकृतमा नबिन सुबेदीलाई नियुक्त गरिएको छ । सुबेदी कम्पनीको महाप्रबन्धक समेत हुन् । २०७८ बैशाखमा कम्पनीको सीईओमा नियुक्त भएकी पौडेल एक कार्यकाल सकिनु अघिनै बाहिरिएकी हुन् । कम्पनी सञ्चालक समितिको बैठकले उनलाई एक कार्यकालको लागि भन्दै २०७८ बैशाख १६ गते सीईओ पदमा नियुक्त गरेको थियो । तर उनले करिब डेढ वर्ष अघि नै राजिनामा दिएकी छिन् । हिमालयन रिइन्स्योरेन्समा राम्रो अफर पाएसँगै पौडेलले युनाईटेड इन्स्योरेन्सबाट राजिनामा दिएकी श्रोतले जनाएको छ । यससँगै उनी नेपालको दोश्रो पुनर्बीमा कम्पनी अर्थात हिमालयन रिमा डेपुटी सीईओको रुपमा जाँदै छिन् । पौडेल नेपालको बीमा क्षेत्रको इतिहासकै पहिलो महिला सीईओ हुन् । उनीसँग बीमा क्षेत्रको विगत एक दशकभन्दा बढी कार्यानुभव रहेको छ । युनाईटेडको सीईओ बन्नुअघि उनले सोही कम्पनीमै निमित्त प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गर्दै आएकी थिइन् । भारतको दिल्ली विश्वविद्यालयको फ्याकल्टी अफ म्यानेजमेन्ट स्टडिज (एफएमएस) बाट एमबीएसम्मको अध्ययन पुरा गरेकी उनी भारतमा नै बीमा व्यवसयाको क्षेत्रमा प्रवेश गरेकी हुन् ।

लिभरपुर फुटबल क्लब किन्ने दौडमा भारतीय धनाड्य मुकेश अम्बानी

एजेन्सी । भारतका दोस्रो धनी व्यक्ति र रिलायन्स इन्डस्ट्रिजका मालिक मुकेश अम्बानीले छिट्टै इङ्लिस प्रिमियर लिगको पौराणिक फुटबल टोली किन्न सक्ने जनाइएको छ । द मिररको रिपोर्ट अनुसार मुकेश अम्बानी लिभरपुल फुटबल क्लब किन्न दौडमा रहेका छन् । लिभरपुल एफसी ३८ हजार करोडमा बिक्री हुन सक्ने रिपोर्टका अनुसार लिभरपुल एफसीको स्वामित्वमा रहेको फेनवे स्पोर्ट्स ग्रुप (एफएसजी) ले क्लब बेच्ने तयारी सुरु गरेको छ । एफएसजीले लिभरपुल एफसीलाई बेच्न ४ अर्ब पाउण्ड अर्थात ३८ हजार करोड रुपैयाँ मूल्य राखेको छ । अम्बानीले फुटबल क्लब किन्न सो रकम तिर्नुपर्नेछ । रिपोर्टमा मुकेश अम्बानीले लिभरपुल क्लब किन्न इच्छुक रहेको दाबी गरिएको छ । अम्बानीको खेलकुदमा रुचि अम्बानीको कुल सम्पत्ति ७.६ लाख करोड रुपैयाँ बराबर रहेको छ । उनको खेलकुदमा निकै रुचि रहेको छ । त्यसैले एफसी खरिद गर्नको लागि उनले सजिलैसँग पैसा खर्च गर्नसक्ने अनुमान गरिएको छ । इङ्ल्यान्डको लोकप्रिय फुटबल टिम लिभरपुललाई खरिद गर्न अम्बानीले मध्यपूर्व र अमेरिकाका धेरै खरिदकर्तारुसँग प्रतिस्पर्धामा जित हासिल गर्नुपर्नेछ । अम्बानी सन् २०१० मा पनि लिभरपुल किन्न चाहन्थे अम्बानीले यसअघि सन् २०१० मा सहारा इन्डियाका अध्यक्ष सुब्रत रोयसँग मिलेर लिभरपुललाई किन्ने प्रयास गरेका थिए, तर त्यो सफल हुन सकेन। त्यसपछि फेनवे स्पोर्ट्स ग्रुपले लिभरपुल क्लबलाई अधिग्रहण गर्यो। रिपोर्टका अनुसार इन्भेष्टमेन्ट बैंकिङ फर्म गोल्डम्यान स्याक्स र वित्तीय सेवा फर्म मोर्गन स्टेनलीलाई अब फुटबल टोली बेच्न मद्दत गर्न नियुक्त गरिएको छ । भारतमा धेरै लोकप्रिय अंग्रेजी प्रिमियर लिग रिपोर्टका अनुसार रिलायन्सका अध्यक्ष एसिया महादेशको सबैभन्दा सफल क्लब मध्येको एक लिभरपुललाई थप बलियो बनाउन टोलीमा लाखौं डलर लगानी गर्न इच्छुक छन्। क्रिकेटसँग लगातार लडाइँ गर्नु परे पनि भारतमा फुटबल सधैँ लोकप्रिय रहेको छ। इङ्लिस प्रिमियर लिग पनि भारतीय फ्यानहरूमाझ निकै लोकप्रिय रहेको छ। लिभरपुल सबैभन्दा धेरै फ्यानहरु भएको क्लब हो । अम्बानीले इन्डियन प्रिमियर लिग (आईपीएल) मा खेल्ने टोलीहरू मध्ये एक ‘मुम्बई इन्डियन्स’ किनेपछि विश्वको सबैभन्दा खेल समूहको मालिक भनेर परिचित भएका थिए । हाल रिलायन्ससँग तीनवटा टी–२० टोली छन् रिलायन्स कम्पनीसँग पहिले नै ३ देशमा तीनवटा टी–२० टोली छन् । यसमा बीसीसीआईको आईपीएल, एमिरेट्स क्रिकेट बोर्डको यूएई टी-२० लिग र क्रिकेट दक्षिण अफ्रिकाको टी-२० लिग रहेका छन् । भास्कर दैनिकबाट ।

केजीको ३ लाख पर्ने रुद्राक्षको मूल्य ३० हजारमा झर्यो, व्यापारी चिन्तित, किसान निराश

काठमाडौं । विगत केहीवर्षदेखि रुद्राक्षको व्यापारमा मन्दी आएको छ । वर्षेनी लाखौं रुपैयाँमा कारोबार हुने पाँचमुखे रुद्राक्षले अहिले भने बजार पाउन नसकेको हो । पाँचमुखे रुद्राक्षको दानाले उचित मूल्य नपाउँदा किसान र व्यवसायीहरु पनि समस्यामा परेका छन् । रुद्राक्षले बजार नपाउँदा करोडौंको लगानी फस्ने होकि भन्ने चिन्तामा उनीहरु छन् । गत वर्षसम्म आकर्षक पाँचमुखे रुद्राक्षको मूल्य प्रतिकेजी ३ लाख रुपैयाँसम्म पथ्र्यो । तर, यस वर्ष भने ती रुद्राक्ष प्रतिकेजी ३० हजार रुपैयाँमा पनि बिक्री हुन छोडेको उनीहरुको गुनासो छ । रुद्राक्ष व्यवसायी महासंघका अध्यक्ष मनोज कुमार चापागाईंले विगतका वर्षहरुमा आकर्षक पाँचमुखे रुद्राक्षको मूल्य ३ लाख रुपैयाँसम्म पर्ने भएको भएपनि यस वर्ष भने ३० हजार रुपैयाँमा पनि बिक्न छोडेको बताए । आकर्षक, चिल्ला तथा ठूला आकारका पाँचमुखे रुद्राक्ष खोज्नको लागि वर्षेनी चिनियाँ व्यापारी आउने भएपनि यस वर्ष भने उनीहरुले खरिद गर्नै छोडेका छन् । विश्व महामारीको रूपमा फैलिएको कोभिड–१९ को असर पश्चात् घर–घर पुग्ने चिनियाँ व्यापारिकको यस वर्ष न्यून रहेको चापागाईंको भनाइ छ । चापागाईंका अनुसार अहिले संखुवासभाको खाँदबारी र दिङ्ला बजारमा ४०/५० जना चिनियाँ ब्यापारी मात्रै छन् । उनीहरूले पनि राम्रो चिल्ला पाँचमुखे खोज्ने र सस्तोमा खरिद गर्ने गरेको उनको भनाइ छ ।‘आकर्षक पाँच मुखे रुद्राक्ष सस्तो मूल्यमा बिक्री भइरहेको छ, गत वषको तुलनामा यस वर्ष ती दानाको मूल्य घटेको छ, मूल्य घट्दा किसान र व्यापारी दुवै मर्कामा परेका छन्, गत वर्ष लाखौंमा कारोबार हुने रुद्राक्ष अहिले २० देखि ३० हजार रुपैयाँसम्म मात्र खरिदबिक्री भइरहेको छ,’ उनले भने । हालसम्म अधिकतम् प्रतिकेजी ५० देखि ६० हजार रुपैयाँसम्म पाँच मुखे रुद्राक्ष किनबेच भएको पनि चापागाईंले बताए । लाखौं रुपैयाँ खर्च गरेर धेरै व्यापारीले पाँचमुखे दानालाई आकर्षक बनाउनको लागि औषधिको प्रयोग गर्ने गरेका छन् । आकर्षक बनाइएका दानाले पनि बजार मूल्य नपाउँदा औषधिको मूल्य पनि नउठ्ने रुद्राक्ष व्यापारी बताउँछन् । राम्रो पाँच मुखे दाना चाइना तर्फ निर्यात गर्न सकिएन भने भारतमा निर्यात गर्नुपर्छ । भारतीय बजारमा पाँचमुखे दानाको बजार मूल्य राम्रो नभएको उनीहरु बताउँछन् । भारतमा धार्मिक आस्थाको लागि पाँचमुखे रुद्राक्षको निर्यात हुने गरेको छ । ‘भारत तर्फ निर्यात गर्दा ५ मुखे सस्तो मूल्यमा बेच्नु पर्ने हुन्छ, पाँच मुखे रुद्राक्ष धेरै जसो भारतमा निर्यात हुन्छ तर कम गुणस्तरका, गुणस्तरीय दानालाई चीनले महँगो मूल्यमा खरिद गर्छ, भारतमा भने स्थानीयले नुनमा रुद्राक्षका दाना साट्छन्, त्यसैले पनि उचित मूल्य पाउँदैनन्,’ उनले भने । यस्तै, रुद्राक्ष व्यापारी चन्द्रमणी खत्री गत वर्ष प्रतिकेजी २०/३० हजार कारोबार भएको दाना अहिले बिक्री हुन छाडेको बताउँछन् । ‘रुद्राक्षका दाना बिकेनन्, दाना बिक्री नहुँदा किसान र व्यापारीलाई समस्या भएको छ, गत वर्ष ३ लाखमा बेचेको दान अहिले ३० हजारमा पनि बिक्री हुँदैन, ५० हजार पर्ने अहिले ३ हजार रुपैयाँमा बिक्री हुन्छ,’ उनले भने । अहिले पाँच मुखे रुद्राक्षको कारोबार गर्ने समय हो । सिजनमा पनि रुद्राक्षले उचित मूल्य पाउन सकेन भने धेरै व्यापारीहरुले लाखौं गुमाउने चिन्ता रहेको उनले बताए । रुद्राक्षले प्रत्यक्ष करोडौं रुपैयाँको विदेशी मुद्रा भित्र्याउँछ । रुद्राक्षमा गरिएको लगानी पनि उठ्न मुस्किल परेको उनको भनाइ छ । ‘पहिला पाँच मुखेको उत्पादन कम थियो, बजारको माग उच्च थियो, अहिले उत्पादन बढी छ, बजार कम छ, आएका चाइनिजहरूले पनि आकर्षक दानालाई मात्र लान्छन्, त्यसै पनि रुद्राक्षको व्यापारमा केही समस्या देखिएको हो,’ उनले भने । गत व्यापारीहरुले हुसिङ रुद्राक्षलाई प्रतिकेजी ४ लाख रुपैयाँसम्ममा बिक्री गरेका थिए । हुसिङ आकर्षक रुद्राक्षको नाम हो । अहिले सो दाना बिक्री नहुँदा व्यापारीले स्टकका रुपमा राखेका छन् । यस्तै, यस वर्ष मुखदार नामक (बहुमुखे) रुद्राक्षको उत्पादन बढेको भएपनि मूल्य पनि भने सकस भएको छ । बहुमुखे रुद्राक्ष भने बढी जसो भारतमा निर्यात हुने गरेको गरेको व्यापारीहरु बताउँछन् ।

नबिल बैंकले विद्युतीय सवारी किन्न ८० प्रतिशतसम्म कर्जा दिने

काठमाडाैं । नबिल बैंकले टाटा मोटर्स अन्तर्गतका विद्युतीय सवारी खरिद गर्नको लागि ८० प्रतिशतसम्म ऋण दिने भएको छ । बिल बैंक र टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङबीच विद्युतीय सवारी खरिदमा ८० प्रतिशतसम्म ऋण उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको हो । नेपालमा विद्युतीय सवारीको प्रयोगलाई बढाउनका लागि उक्त सम्झौता गरेको बैंकले जनाएकाे छ। उक्त सम्झौता अनुसार टाटाको नेक्सन र टिगोर विद्युतीय गाडी खरिद गर्दा ग्राहकले नबिल बैंकबाट ८० प्रतिशतसम्मको ऋण प्राप्त गर्न सक्नेछन् । टाटा मोटर्सबाट विद्युतीय सवारी साधन खरिद गर्न चाहने व्यक्ति वा संस्थाले नबिल बैंकका सबै शाखाबाट १२.९९ प्रतिशत ब्याजदरमा ७ वर्षसम्म सहज र सुलभ कर्जाको सुविधा पाउनेछन् । नेपाल राष्ट्र बैंकको सम्बन्धित निर्देशन बमोजिम बैंकले २४ घण्टाभित्र ऋण उपलब्ध गराउने बताएको छ ।  

साउदी अरबबाट रेमिट्यान्स पठाउने जिवन रायमाझीले जिते ५ तोला सुन

काठमाडाैं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘विदेशबाट सिटी आयो, दशैं तिहारलाई गोल्डेन बनायो’ योजना अन्तर्गतकाे ५ ताेला सुन विजेता घाेषणा गरेकाे छ । कम्पनीले विद्दुतिय प्रणालीद्वारा गरेकाे विजेता छनाेटमा साउदी अरबबाट रेमिट्यान्स पठाउने जिवन रायमाझीले ५ तोला सुन जित्ने विजेता घाेषित भएका छन् । सिटी एक्सप्रेस मनी ट्रान्सफरले गत भदौ १५ गते ६३ दिनसम्म चल्ने ‘बिदेशबाट सिटी आयो , दशैं तिहारलाई गोल्डेन बनायो’ उपहार योजना घोषणा गरेको थियो । सोही योजना अन्तर्गत लक्की ड्र मार्फत एक हजार ८ जनाले दैनिक उपहार (आकर्षक गिफ्ट ह्याम्पर) , ९ जनाले साप्ताहिक उपहार (१०/१० तोला चाँंदी ) र २ जनाले मासिक उपहार (१/१ तोला सुन ) जितिसकेका छन् । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १५ हजारभन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।