राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका चितवन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा उम्मेदवार रवि लामिछानेको प्रचारमा रहेको गाडी तोडफोड भएको छ।
आइतबार दिउँसो चितवनको क्षेत्र नम्बरमा पर्ने मुग्लिन नजिकै गाडी तोडफोड भएको हो । रातो जिप तोडफोड भएको छ । तोडफोड भएको गाडी नजिकै रहेर रवि लामिछानेले आफ्नो धारणा सार्वजनिक गरेका छन् ।
उनले आफ्नो चुनावी प्रचारमा हिडेका व्यक्तिहरुमाथि यत्रो आक्रमण हुँदापनि प्रहरी प्रशासनले दोषीहरुलाई कारबाही नगरेकोमा आक्रोश पोखेका छन् ।
एक जना युवा गाडीमाथि चढेर लात्तिले हानेर सिसा फुटाएको भिडिओ राष्ट्रिय स्वतन्त्र पार्टीका नेता दीपक बोहराले सार्वजनिक गरेका छन्।
इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक सुनजित तामाङले चुनावी प्रचारमा रहेका मानिसहरू चढेको गाडी तोडफोड भएको बताए।
‘सात वटा गाडीमा मानिसहरू चुनावी प्रचारमा गएका रहेछन्। तीमध्ये अन्तिमको गाडीमा चढेका मानिसहरूले गठबन्धनको झन्डा रहेको अर्को गाडीमा सवार मानिसहरूलाई जिस्क्याएको भन्ने छ,’ उनले भने, ‘उनीहरूबीच भनाभन र धकेलाधकेल भएछ। त्यसपछि गाडी तोडफोड भएको भन्ने छ।’