रोकिएन सेयर बजारको ओरालो लाग्ने क्रम, १८८३ विन्दुमा पुग्यो
काठमाडौं । गत सोमबारदेखि निरन्तर ओरालो लागेको सेयर बजार आइतबार पनि घटेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार आइतबार सेयर बजार १०.५४ अंकले घटेको छ । नेप्से यसरी घट्दा आज सेयर विन्दु १८८३.१६ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ८३ अङ्कले ओरालो लागेर तीन सय ७० दशमलव ५३ मा सीमित भएको छ । नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये होटल तथा पर्यटन उपसमूहको सेयर उकालो लाग्दा १२ उपसमूहको शेयर ओरालो लागेको छ । कूल दुई सय २५ कम्पनीको २० लाख २८ हजार तीन सय ४८ कित्ता सेयर ७७ करोड ४९ लाख ११ हजार सात सय छ मूल्यमा खरिद बिक्री भए । आइतबारको कारोबारपछि बजार पुँजीकरण २७ खर्ब आठ अर्ब ७० करोड १२ लाख ८२ हजार चार सय ३१ बराबर रहेको छ । कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । उक्त कम्पनीको १० करोड ३९ लाख ९६ हजार बराबरको कारोबार भएको छ । निर्धन उत्थान लघुवित्त दुई करोड ४० लाख ५२ हजार तीन सय ३९, नबिल बैंक दुई करोड ३८ लाख २५ हजार नौ सय ५०, हिमालयन पावर पाटनर रु दुई करोड २६ लाख ४६ हजार दुई सय ३७ र नेपाल पुर्नबीमा कम्पनी दुई करोड १६ लाख ३९ हजार छ सय सात मूल्यमा खरिद बिक्री भए । नेप्सेका अनुसार लक्ष्मी इक्विटी फण्ड सात दशमलव ९०, लक्ष्मी उन्नति कोष तीन दशमलव ७७, मन्दाकिनी हाइड्रोपावर तीन दशमलव ७४, सिँगटी हाइड्रोपावर तीन दशमलव ३६ र गुर्खाज फाइनान्सका लगानीकर्ताले तीन दशमलव १४ प्रतिशतले कमाएका छन् । त्यस्तै नवील ब्यालेन्स फण्ड दोस्रो छ दशमलव ९०, निर्धन उत्थान लघुवित्त छ दशमलव ४०, सिटिजन म्युचुअल फण्ड पहिलो पाँच दशमलव ४२, मनकामना स्मार्ट लघुवित्त पाँच दशमलव १८ र आशा लघुवित्तका लगानीकर्ताले चार दशमलव ८६ प्रतिशतले गुमाएका छन् ।
बिद्युत प्राधिकरणको लापरबाहीका कारण करेन्ट लागेर भैँसी मरे
तनहुँ । जिल्लाको व्यास नगरपालिका–९ सुनखोल्सी निवासी मनबहादुर थापाका दुई वटा भैँसी करेन्ट लागेर मरेका छन् । विद्युत् सुचारु भएको नाङ्गो तार चुँडेर चौरमा लत्रिएको अवस्थामा चर्दै गरेका भैँसीलाई एक्कासि करेन्ट लागेर मृत्यु भएको हो । नेपाल बिद्युत प्राधिकरण सिसाघाटको लापरबाहीका कारण आहाले लाखुरी भन्ने ठाउँमा बिद्युतको तार लत्रिएको अवस्थामा चर्दैगरेका भैँसीलाई करेन्ट लागेको स्थानीय किसान थापाले जानकारी दिए । उनले भने, “करिब ६० हजार रुपैयाँ मूल्य पर्ने भैँसी करेन्ट लागेर गुमाउनु परेको छ ।” घट्ना पश्चात तत्काल सिसाघाट विद्युत् प्रविधिकरणमा जानकारी गराएपछि समितिले नियम अनुसार चालिस हजार रुपैयाँ क्षतिपूर्ति दिने सहमति भएको स्थानीय विष्णुबहादुर अधिकारीले बताए । स्थानीयवासी, उपभोक्ताले पटक–पटक जानकारी दिँदा पनि बेवास्ता गर्दै आएका कारण उक्त दुर्घटना हुन गएको उनले बताए ।
दलित बस्तीमा भोट तान्ने होडबाजी, घर-घरमा पुग्छन नगद र चामल
रेसुङ्गा । गुल्मीको धुर्कोट गाउँपालिका–७ वाग्लाकी डल्ली विक उमेरले ७१ वर्ष पुगिन् । उनी प्रत्येक निर्वाचनमा मतदाताका रूपमा साक्षी छिन् । निर्वाचनका समयमा आफ्नो बस्तीमा लाग्ने भोजभतेरको अनुभव उनीसँग छ । वाग्लाको दलित बस्तीमा लाग्ने भोजभतेर कुनै मेलापर्व र उत्सव नभई निर्वाचनका लागि भोट तान्नका लागि भएको हो । भोट तान्ने होडबाजीले चामलको बोरा बाँड्ने र भोजभतेर गर्ने गरेको स्थानीयवासी डल्ली बिकले बताइन् । ‘निर्वाचनका समयमा भोट तान्न हाम्रो बस्तीमा भोजभतेर लाग्छ अनि टाठाबाठाले चामलको बोरा पनि घर लैजान्छन्’, उनले भनिन्, ‘हामी एक्लै भएकाहरूलाई त्यो पनि दिँदैनन् ।’ उनका अनुसार यस बस्तीमा कसले नगद बढी दिने वा भोजभतेर लगाएर भोट भनेर पार्टीको होडबाजी चल्ने गर्दछ । वाग्लाको सोही बस्तीका ४९ वर्षीय टेकबहादुर सुनार पनि स्थानीय नेता तथा कार्यकर्ताहरूले आफूहरू माथि दमन गरेको बताउँछन् । आफ्नो बस्तीलाई तल्लो वर्गका रूपमा हेरेर कुनै विकासे योजना नभई सामान्य नगद र जिन्सी बोकेर छिर्ने गरेको उनले गुनासो गरे । ‘अघिल्लो निर्वाचनमा प्रतिघर एक बोराका दरले चामल बाँडेर नेताहरू चुनाव जितेपछि फर्किएनन्’, उनले भने, ‘हाम्रो बस्तीमा रहेको गरिबी, अशिक्षा र अभावलाई माथिल्लो वर्गका केही व्यक्तिले फाइदा उठाइरहेका छन् ।’ उनले राजनीतिक दलको दमनमा आफूहरू रहेको बताए । सोही बस्तीका ६४ वर्षीय एकल महिला झुवी विक घरमा आफूमात्र छिन् । छोराबुहारी रोजगारीका लागि भारत गएपछि उनी एक्लै बस्न बाध्य भइन् । उनको एकलपनलाई राजनीतिक दलले फाइदाका रूपमा लिएको झुवी विकले गुनासो गरिन् । ‘यहाँ त सधैँ निर्वाचनमा नगद र चामल बाँडेर भोट तान्ने गर्छन्’, उनले भनिन्, ‘मलाई त एकल भनेर नगद र चामल केही दिएनन् ।’ छिमेकीलाई भनेर भोट हाल्न लगाउने तर अरुलाई दिने सामग्री आफूलाई नदिने गरेको उनको गुनासो छ । सोही बस्तीका सावित्रा विकले पनि राजनीतिक दलले कुनै विकासको योजना ल्याउने नभई भोट तान्नेतर्फ केन्द्रित भएको आरोप लगाए । वाग्लाको यस बस्तीमा एक सय ५० दलित घरधुरीमा झण्डै छ सय मतदाता छन् । आगामी मङ्सिर ४ गते हुने आम निर्वाचनका लागि मतदान गर्न एक साता मात्र बाँकी भए पनि कुनै दल वा दलका नेता तथा कार्यकर्ता घरदैलोमा नआएको स्थानीयहरू बताउँछन् । राजनीतिक दलहरू वाग्लाको दलित बस्तीमा कसले बढी प्रभाव पार्न सक्छ भन्ने होडबाजीमा हुन्छन् । स्थानीयवासीका अनुसार मतदानको दुई/तीन दिनअघि मात्र यस बस्तीमा स्थानीय नेता कार्यकर्ता प्रवेशका लागि प्रतिस्पर्धा गर्दछन् । पाँच सय मिटर सडक पनि बनेन वाग्लाको सोही बस्तीका अगुवा स्थानीयवासी गणेश विकले आफ्नो बस्तीमा पाँच सय मिटर बाटो पनि नबन्दा निकै सास्ती खेप्नु परेको बताए । चुनावको मुखमा आश्वासन दिने अनि भोट भोजभतेरमै तान्ने त्यसपछि बेवास्ता गर्ने गरेको उनले बताएका छन् । विसं २०५६ मा ट्र्याक खोले पनि बस्तीबीचको पाँच सय मिटर सडक हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे हुने समस्याले आफूहरूलाई सास्ती पुगेको उनको गुनासो छ । ‘घर नजिकै सडक छ, हिउँदमा धुलो र बर्खामा हिलो चुल्होमै पुग्छ’, उनले भने, ‘पटकपटक समस्या राखे पनि कुनै राजनीतिक पार्टीकाले हाम्रो समस्या बुझेनन् ।’ उनका अनुसार बस्तीबीचको सडकमा ढल व्यवस्थापन गरेर ग्राभेल मात्रै गरे पनि आधा समस्या समाधान हुन्छ । जिल्लाको सदरमुकाम तम्घासस्थित रेसुङ्गा बहुमुखी क्याम्पसका राजनीतिशास्त्र तथा समाजशास्त्रका प्राध्यापक गुणनिधि शर्माले दलित बस्तीमा रहेको गरिबी, अशिक्षा र अभावमाथि माथिल्लो वर्गले वर्षौंदेखि दमन गर्दै आएको बताए । ‘दलित बस्तीमा सामान्य जीविकोपार्जनका लागि पनि निकै समस्या छ’, शर्माले भने, ‘राजनीतिक दल वा दलका नेता तथा कार्यकर्ताले असचेत नागरिक माथि थिचोमिचो गरिरहेका छन् ।’ दलित परिवारमा रहेको अन्धविश्वास, परम्परावादी सोच र आर्थिक अवस्था कमजोरका कारण उनीहरूमाथि राजनीतिक दलले भोट तान्ने होडबाजी गरेको उनले बताए । भोट खरिद बिक्रीको अन्त्यका लागि सर्वप्रथम राजनीतिक दलमा सुधार आउनुपर्ने शर्माले बताउँछन् । दलित बस्तीमा सुधार आउन शिक्षा, स्वास्थ्य, रोजगारी र अन्य विकासमा आमूल परिर्वतन आउनुपर्ने भएकाले राजनीतिक दलले भोटका रुपमा मात्र नहेरी उनीहरुका समस्याप्रति पनि गम्भीर हुन जरुरी रहेको उनको भनाइ छ ।
सामाजिक सञ्जालबाट चार लाख ३८ हजार उपचार खर्चको जोहो
गलकोट । दुर्घटनमा परी गम्भीर घाइते भएका मनिष कँडेलको उपचारका लागि सामाजिक सञ्जालमा चलाइएको सहयोग अभियानबाट चार लाख ३८ हजार रपैयाँ रकम सहयोग जुटाइएको छ । कात्तिक १७ गते मोटरसाइकल दुर्घटनमा परी गम्भीर घाइते हुनुभएका बागलुङ काठेखोला गाउँपालिका–५ का १९ वर्षीय मनिष कँडेल अहिले मणिपाल शिक्षण अस्पतालको सघन कक्षमा उपचार भइरहेको छ । कँडेलको परिवारको आर्थिक अवस्था कमजोर भएकाले स्वतःस्फूर्तरुपमा युवाको सक्रियतामा सामाजिक सञ्जालमार्फत् सहयोग अभियान चलाइएको थियो । सहयोग सङ्कलन अभियानका युवा रोशन कुँवरका अनुसार सङ्कलित रकममध्ये एक लाख रुपैयाँ परिवारलाई हस्तान्तरण गरिसकेको छ भने अन्य रकम कँडेलको उपचारमै खर्च गरिनेछ । ‘साथी दुर्घटनामा गम्भीर हुँदा हामीहरुले सामाजिक सञ्जालमार्फत् सहयोग अभियान सञ्चालनमा ल्याएका हौँ’, कुँवरले भने, ‘हाम्रो अभियानलाई धेरैले साथ र सहयोग गरेका छन्, हालसम्म सङ्कलन भएको रकम छिट्टै मनिष कँडेलको उपचारका लागि प्रदान गरिनेछ ।’ सामाजिक सञ्जालमा सञ्चालन गरेको एक अपिलमार्फत् उक्त रकम जुट्नुले कँडेलको उपचारमा सहयोग पुग्ने परिवारको भनाइ छ । कँडेल बागलुङ नगरपालिका–१ माझीबस्ती जनिकै मालढुङ्गादेखि आउँदै गरेको ध२प ३३२ नम्बरको मोटरसाइकल र बागलुङ बजारदेखि जाँदै गरेको ध २ प २१९७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा गम्भीर घाइते भएका थिए । दुर्घटनामा पर्वत पिपलटारीका २३ वर्षीय रोहित भुसालसमेत घाइते भएका थिए ।
स्थानीय जनता नेतृत्वमा नपुग्नु नै काँठक्षेत्रको दुर्भाग्य
काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नं ६अन्तर्गत उत्तरतर्फको झोर र साङ्ला क्षेत्रका जनता प्रभावशाली नेतृत्व नपाउँदा राणाकालमै लरी चलेको काँठक्षेत्र आजसम्म पनि उपेक्षित हुन पुगेको गुनासो गर्छन् । यसपटकको संसदीय निर्वाचनमा काँठ क्षेत्रलाई साँच्चिकै माया गर्ने जनप्रतिनिधि छनोट गर्ने पक्षमा आफूहरुबीच कुराकानी भइरहेको जानकारी दिँदै उत्सुकताका साथ मङ्सिर ४ गतेको निर्वाचन पर्खिरहेको उनीहरु बताउँछन् । राणा शासकले यस क्षेत्रबाट घाँस र पानी ढुवानीका लागि बालाजु हुँदै शिवपुरी पहाडको फेदीसम्म ल्याएको बाटो संरक्षणको अभावमा अहिले मासिएको उल्लेख गर्दै काँठवासीले पञ्चायत ढाली ल्याइएको बहुदलीय व्यवस्था र गणतन्त्रमा समेत आफूहरू उपेक्षित हुनु परेकामा दुःख व्यक्त गरेका हुन् । विकास निर्माणका दृष्टिले पछाडि परेको उपत्यकाकै केन्द्रीय भाग रत्नपार्कबाट उत्तर करिब १५ किलोमिटर दूरीमा अवस्थित यो निर्वाचन क्षेत्रअन्तर्गतबको झोर र साङ्लासहित आसपासको क्षेत्रलाई काँठ क्षेत्रका रूपमा लिइन्छ । राजनीतिक पार्टीका नेताबाट हरेक निर्वाचनअघि विकास निर्माणसहित काँठ क्षेत्रका जनताको जीवनस्तर सुधार गर्ने आश्वासन प्राप्त हुनेगरेको स्मरण गर्दै अहिलेसम्म ठगिएपनि सचेत काँठका जनता अब कोही कसैको भुलभुलैयामा नपर्ने बताउँछन् । यसअघिका निर्वाचनमा जस्तै मङ्सिर ४ गतेसम्म आश्वासन बाँड्नेक्रम सुरु भएको जानकारी दिँदै अब व्यक्ति, पार्टी एवं विचारभन्दा पनि माथि उठेर काँठ क्षेत्रलाई माया गर्ने उम्मेदवारका पक्षमा मतदान गर्ने उनीहरुको योजना छ । काँठ क्षेत्रमा जन्मे हुर्केका व्यक्ति अहिलेसम्म पार्टी नेतृत्व र संसद्मा पुग्न नसक्नु नै यस भेगको दुर्भाग्य भएको उल्लेख गर्दै टोखा नगरपालिका वडा नं १ झोर निवासी बृद्ध सुशील अधिकारी भन्छन्, ‘जहिले पनि सहरका टाठाबाठाले टिकट पाउँछन्, चुनाव तिनैले जित्छन्, आफूअनुकुल बजेट खेलाउँछन् र काँठ क्षेत्रलाई बिर्सन्छन् । भोट हाल्दाहाल्दै हामी नै लौरो टेक्ने अवस्थामा आइपुग्यौंँ, अब त अति भयो, यसपटकको निर्वाचनमा काँठ क्षेत्रलाई माया गर्ने उम्मेदवारलाई भोट हाल्ने गरी सल्लाह गरिरहेका छौंँ ।’ देश र जनताको भाग्यको फैसला गर्ने ऐतिहासिक संसदीय निर्वाचनमा काँठबासीले यसअघिजस्तै उत्साहका साथ भाग लिने विश्वास व्यक्त गर्दै झोर निवासी अर्का बृद्ध तथा अवकाशप्राप्त राष्ट्रसेवक कर्मचारी नारायणबहादुर खत्री भन्छन्, ‘गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा, ठूला उद्योग–कलकारखाना र कालोपत्रसहितको चौडा सडक नभएसम्म काँठ क्षेत्रको वास्तविक विकास असम्भव छ । सामाजिक, सांस्कृतिक तथा आर्थिक दृष्टिले करिब उस्तै परिस्थिति रहेको समग्र काँठ क्षेत्रको विकास र समृद्धिका पक्षमा मतदान गर्न काँठबासी सबैमा अनुरोध गर्दछु ।’ हामीले भोट हालेका पार्टीका नेताहरू पटक–पटक मन्त्री भए पनि काँठ क्षेत्रले कहिल्यै केही नपाएको गुनासो गर्दै अर्का बृद्ध मोहन लामिछाने यसपटकको संसदीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारका पक्षमा मतदान गर्ने कि भनी टोल, छिमेकमा कुराकानी भइरहेको बताउँछन् । झोर निवासी भूतपूर्व सैनिक गोविन्द अधिकारी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति नजिकिए पनि सडकमा माइकिङ गरी हिँड्नेबाहेक जनताको घरदैलोमा उम्मेदवार अझैसम्म नआएकोे, स्थानीय पार्टीका नेता तथा कार्यकर्ताको उत्साहमा कमी देखिएको, चोक तथा दोबाटोमा भेला भई झैझगडा एवं भनाभन गर्नेक्रम न्यून रहेको, निर्वाचनको माहोल सिर्जना नभएकोजस्तो देखिएको र निर्वाचन प्रचारप्रसारका क्रममा यसअघिका जस्तो तडकभडक नदेखिएकामा आश्चर्य प्रकट गर्छन् । सोही क्षेत्रअन्तर्गतकोे तारकेश्वर नगरपालिका–१ साङ्ला निवासी श्यामकृष्ण कुँवर राजनीतिक पार्टी र तिनका नेताहरूलाई साथ दिँदैै आएको उपत्यकाको काँठक्षेत्र सदैव उपेक्षित हुनुपरेकामा दुःख व्यक्त गर्दै अब आवेगमा नभइ विवेकका आधारमा मतदान गरी काँठप्रेमी जनप्रतिनिधि छान्ने तयारी भइरहेको बताउँछन् । साङ्लाकी विष्णुमाया तामाङ भन्छिन्, ‘गाउँटोलमा निर्वाचनको हल्लीखल्ली भए पनि त्यसतर्फ लाग्ने फूर्सद छैन, काम नगरे खान पाइदैन, तर मङ्सिर ४ गतेका दिन भने सबैथोक छोडी मन परेको उम्मेदवारलाई भोट हाल्ने नै हो ।’ पीछडिएका झोर तथा साङ्ला र आसपासका क्षेत्रमा रहेका अव्यवस्थित सडक तथा बाटोघाटो व्यवस्थित गर्न र शुद्ध पानी आपूर्ति गर्न प्रतिबद्धता व्यक्त गर्ने उम्मेदवारलाई मतदान गर्न विषयमा छलफल भइरहेको त्यहाँका बासिन्दा बताउँछन् । त्यस्तै कृषि, मलखाद, बिउबीजन, विषादी र प्राविधिकको व्यवस्था गर्न, कृषि तथा दुग्धजन्य उत्पादनको बिक्री कक्ष निर्माण गर्न, बेरोजगार स्थानीय युवालाई सीपमूलक तालिमको व्यवस्थासहित रोजगार बनाउन , कुलतमा फसेका युवाको जीवन सुधार गरी भविष्य सुनिश्चित गर्न, प्राविधिक तथा व्यावसायिक शिक्षालय स्थापना गर्न, ठूला लगानीका उद्योग सञ्चालनका लागि लगानी आकर्षित गरी रोजगारी सिर्जना गर्न र गाउँमै पेसा व्यवसायमा गरी खान पाउने व्यवस्था गर्नसक्ने उम्मेदवारलाई मतदान गर्ने पक्षमा काँठबासी रहेको देखिन्छ । उक्त निर्वाचन क्षेत्रमा बामलोकतान्त्रिक गठबन्धनका तर्फबाट पूर्वमन्त्री भीमसेनदास श्रेष्ठ, नेकपा एमालेको तर्फबाट पूर्वप्रहरी प्रमुख सर्वेन्द्र खनाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनालसहित २४ जना प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धामा छन् । रासस
कृषिमा यन्त्रिकीकरण बढ्दो, समय र महङ्गो पारिश्रमिकको बचत
बागलुङ । बागलुङको जैमिनी नगरपालिका ८ छिस्तीको केवैगाउँका पूर्णबहादुर पुनको घरमा मकै छोडाउने औजार भित्रिएको चार वर्ष भयो । औजार भित्रिएपछि मकै र कोदो राम्रो उत्पादन हुने केवैगाउँमा मकै छोडाउन र कोदो चुट्न लाग्ने खर्च र समय घटेको छ । त्यति मात्रै होइन, पुनले चार वर्षयता यसका लागि महङ्गो पारिश्रमिक बुझाएर श्रमिक बोलाउनु पनि परेको छैन । तर औजार चलाउन केही युनिट विद्युतको महशुल भने बुझाउनु पर्छ । ‘सुरुमा यसको फाइदाबारे थाहा भएन, मकै छोडाउने औजारले कोदो पनि चुट्ला भन्ने लागेकै थिएन’, उनले भने, ‘पहिले एक आँगन कोदो चुट्न दिनभर छ जनाको काम थियो भने अहिले दुई घण्टामै सकिन्छ ।’ उनका अनुसार छ जना ज्यालादारीका मजदुर खटाउँदा खर्च धेरै हुन्थ्यो तर अहिले तीनदेखि चार सयमा काम सकिन्छ । जनशक्ति, लागत र समयसमेत कम लाग्ने भएपछि पछिल्लो समय बागलुङमा साना कृषि औजारको प्रयोग बढ्दै गएको छ । मानवीय श्रमसाधन अभाव भइरहेका अवस्थामा साना कृषि औजारको प्रयोग गरेर खेती हुन थालेपछि यहाँका किसानहरुलाई राहत भएको छ । परम्परागत तरिकाले गरिने मकै तथा कोदोलाई समेत कृषि औजारको प्रयोग गर्दा उत्पादन लागत घटेर आएको बागलुङ नगरपालिकाका किसान जगन्नाथ सापकोटाले बताए । ‘अहिले मिनी टेलर हलो यहाँका किसानको सारथी भएको छ, जोत्नका लागि गोरुको प्रयोग पनि हुन छाड्यो,’ सापकोटाले भने, ‘गोरुलाई एक दिन लाग्ने मेलो ट्र्याक्टरले एक घण्टामै जोतिसक्छ ।’ औजारको प्रयोग गहुँको थ्रेसर, कोदो चुट्न, दहीबाट घ्यू बनाउन समेत प्रयोग हुँदै आएको छ । कृषि मजदुरको अभावमा कृषि कार्य गर्न निकै सकस झेल्दै आएका किसानका लागि अहिले यस्ता कृषि औजारले निकै राहत मिलेको छ । साथै, किसानहरुले प्रविधि र औजारमा अनुदान समेत पाएको कृषि ज्ञानकेन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले बताए । ‘अहिले कृषिमा प्रविधि भित्र्याउनेलाई समेत अनुदान दिन सुरु भएपछि किसान आकर्षित भएका हुन,’ भट्टराईले भने, ‘मिनीटेलर हलो, थ्रेसर मेसिन, कोदो र मकै चुट्ने मेसिनका कारण किसानलाई सहज भएको छ ।’ रैथानेबाली प्रवद्र्धन कार्यक्रमअन्र्तगत गत वर्ष १५ थान कोदो चुट्ने औजार ५० प्रतिशत अनुदानमा वितरण गरेको केन्द्र प्रमुख भट्टराईले जानकारी दिए । पछिल्लो समय कृषि उपकरण खरिद गर्ने किसानको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको बागलुङ बजारका पङ्गाली मेसिनरीका सञ्चालक कलानिथी पौडेलको भनाइ छ ।
बिहेको सिजन नजिकिएसँगै सुनको मूल्यमा उछाल, पाँच दिनमा साढे ३ हजारले बढ्यो
काठमाडौं । बिहेको सिजन नजिकिएसँगै सुनको मूल्य निरन्तर वृद्धि भएको छ । गएको पाँच दिनमा ३३ सय रुपैयाँले सुनको मूल्य बढेको छ । गत बुधबारदेखि आइतबारसम्म सुनको मूल्य ३३ सय रुपैयाँले बढेको हो । मंगलबार ९४ हजारमा कारोबार भइरहेको छापावाल सुन बुधबार तोलाको १४ सय रुपैयाँले बढेर ९५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, बिहीबार भनेको सुनको मूल्य यथावत रहेको थियो तर शुक्रबार पुन: सुनको मूल्य तोलाको १३ सय रुपैयाँले बढेर ९६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । शनिबार भने बन्द रहेको बजार आइतबार पुन: ६०० रुपैयाँले बढेको छ र तोलाको ९७ हजार ८०० रुपैयाँ कारोबार भइरहेको छ ।
ग्लोबल आइएमई र बिओकेको डीडीए रिपोर्ट तयार, स्वाप रेसियो कति ?
काठमाडौं । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू समान हैसियत अर्थात् १ः१ स्वाप रेसियोमा गाभिने भएका छन् । मर्जरमा जाने निर्णय गरेका दुबै बैंकको सम्पत्ति, दायित्व तथा कारोबारको मूल्याङ्कन र अन्य विविध पक्षको विश्लेषणका आधारमा समान हैसियत रहने भएको हो । अर्थात् बैंक अफ काठमाण्डुमा एक सय कित्ता सेयर हुनेले मर्जरपछि पनि एक सय कित्ता नै सेयर पाउने कम्पनी सचिव दीपक गौतमले जानकारी दिए । सञ्चालक समितिले गरेको उक्त निर्णय नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडलाई समेत जानकारी गराएको छ । दुबै बैंकले गत असार २ गते मर्जरमा जानका लागि सम्झौता गरेका थिए । मर्जरपछि कुल चुक्तापुँजी ३४ अर्ब ४१ करोड ९७ लाख ४७ हजार ६०० पुग्नेछ ।