विकासन्युज

चार महिनामा बजेट खर्च साढे १९ प्रतिशत

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो चार महिनामा सरकारी बजेट खर्च साढे १९ प्रतिशत मात्रै भएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार कात्तिक मसान्तसम्म तीन खर्ब ५० अर्ब ९८ करोड ७३ लाख खर्च भएको हो । जुन वार्षिक विनियोजित बजेटको १९ दशमलव ५७ प्रतिशत बराबर हो । यस अवधिमा चालुतर्फ २३ दशमलव ७८ प्रतिशत बजेट खर्च भएको छ । चालु आवका लागि चालु शीर्षकमा ११ खर्ब ८३ अर्ब २३ करोड ५१ लाख बजेट बिनियोजन भएकोमा कात्तिक मसान्तसम्ममा दुई खर्ब ८१ अर्ब ३८ करोड ६१ लाख खर्च भएको हो । त्यस्तै, पुँजीगततर्फ तीन खर्ब ८० अर्ब ३८ करोड ४५ लाख बजेट बिनियोजन भएकोमा हालसम्म छ दशमलव ९१ प्रतिशत अर्थात् २६ अर्ब २९ करोड ६१ लाख बराबर खर्च भएको छ । वित्तीय व्यवस्थापन शीर्षकमा दुई खर्ब ३० अर्ब २१ करोड ७७ लाख बराबरको वार्षिक बजेट रहेकोमा अहिलेसम्म १८ दशमलव ८१ प्रतिशत अर्थात् ४३ अर्ब ३० करोड ५१ लाख खर्च भएको छ । यही अवधिसम्म सरकारको राजस्व सङ्कलन १९ दशमलव ११ प्रतिशत रहेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षका लागि कूल १४ खर्ब तीन अर्ब १४ करोड ७० लाख बराबर राजस्व उठाउने सरकारको लक्ष्य रहेकोमा कात्तिक मसान्तसम्ममा दुई खर्ब ६८ अर्ब सात करोड १७ लाख बराबर असूली भएको छ । जसमध्ये कर राजस्वतर्फ १८ दशमलव ९७ प्रतिशत अर्थात् दुई खर्ब ४५ अर्ब ७८ करोड ६८ लाख र गैरकर राजस्वतर्फ २० दशमलव ६८ प्रतिशत अर्थात् २२ अर्ब २८ करोड ४९ लाख उठेको छ । पहिलो चार महिनामा सरकारले तीन अर्ब ४१ करोड ५९ लाख वैदेशिक अनुदान लिएको छ । जुन वार्षिक लक्ष्यको छ दशमलव १६ प्रतिशत बराबर हो । चालु आवका लागि सरकारले ५५ अर्ब ४५ करोड ८३ लाख वैदेशिक अनुदान लिने लक्ष्य राखेको छ । रासस

‘हामी बुढाहरुले पार्टी नहेरेर व्यक्ति हेरेको भए अहिले हाम्रा नाति-नातिनी सँगै त हुने थिए’

काठमाडौं । यति बेला देशभर चुनावी माहोल छ । चिया पसलदेखि मिडियासम्म चुनावको चर्चा चुलिएको छ । निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवारहरूलाई मत माग्न भ्याईनभ्याइ छ । यता मोरङ सुन्दरहरैंचाका ८१ वर्षीय तुलसीराम सिटौलाको गुनासो भने फरक छ । उनले जीवन भर पार्टीको लागि काम गर्दा पार्टी जोगिएको तर आफ्ना छोरा नाति जोगाउन नसकेको गुनासो व्यक्त गरे । ‘आफूले सकेसम्म पार्टी-पार्टी भनेर कुदे, छोरो अझै पार्टी नै भनेर हिँड्दै छ तर, नातिहरूलाई देशमै बस्ने वातावरण सिर्जना गराउन सकिन, खै कसको लागि राजनीति भइरहेको छ ?,’ उनले भने । उनले नेताहरूले जितेपछि जनतालाई बेवास्ता गर्ने प्रवृत्तिप्रति खेद व्यक्त गरे । उनी भन्छन्, ‘चुनाव अगाडी नेतासँग हिँड्नु दौडनु बेकार रहेछ, जितेपछि फर्किएर हेर्दैनन्, हामी बुढाहरूको पुस्ताले पार्टी नहेरेर व्यक्ति हेरेको भए अहिले मेरा नाति÷नातिनी सँगै त हुने थिए, पार्टी बचाएर जीवनभर उपेक्षा बाहेक केही पाईएन बाबु, अब त नयाँ अनुहारलाई मौका दिने हो ।’ देशलाई नयाँ पुस्ताको आवश्यकता रहेको सिटौला बताउँछन् । ‘यो कुरा म बुढो मान्छेले त थाह पाइसके, अहिलेका युवा आफैं बौद्धिक छन्, अवस्था मात्रै परिवर्तन नभएको हो, व्यवस्था त धेरै परिवर्तन भयो, मेरो नेता पनि त्यै मान्छे, मेरो छोरोको नेता पनि त्यै, अब त हुँदा हुँदा मेरो नातिले पनि उसैलाई नेता मान्दिनुपर्ने ? यो त लाजमर्दो कुरो हैन र ?,’ उनले भने, ‘राणा शासन फालियो देश बन्छ भने खै के बन्यो ? पञ्चायत, लोकतन्त्र, प्रजातन्त्र, गणतन्त्र सबै देखियो तर देशको मुहार परिवर्तन भएको किन देख्न नपाइने ? हुन त देश त बेच्नेले युवा बेच्नु ठुलो कुरो हैन, अब यी ब्यपारीहरुलाई जनताले चेताउने छन् ।’ उनले हाँस्दै भने, ‘हुन त म आफै इतिहास हुन लागे तर यो देशको इतिहासमा अहिले जसरी युवा जागेको देखेको थिइन, अति भएपछि खती हुन्छ भन्थे हो रहेछ, यो अति भएपछि युवा जागेका हुन्, म त खुसी छु, यो मेरो लागि अन्तिम मतदान पनि हुनसक्छ तर अन्तिममा भए पनि राम्रो व्यक्तिलाई छान्न पाउने भए, मंसिर ४ कहिले आउला भनेर पर्खिरहेको छु ।’

अदुवा बेचेरै गाउँमा करोडौँ रकम भित्रियो

रुकुम । रुकुमपश्चिम त्रिवेणी गाउँपालिका पोखरीका शेरबहादुर खड्का यतिबेला बारीमा लगाएको अदुवा खन्नमा व्यस्त छन् । व्यापारी घरमै अदुवा खरिद गर्न आउन थालेपछि उनलाई अदुवा खन्न भ्याइनभ्याइ भएको हो । उनको दैनिकी बारीमा अदुवा खन्ने र खनेको अदुवा केलाउनेमा बित्ने गरेको छ । उनले २० क्विन्टल अदुवाको बीउ लगाएका हुन् । अहिलेसम्म उनले ८० क्विन्टल अदुवा निकालेका छन् । उनले २० क्विन्टल अदुवा लगाएकामा ८० क्विन्टल अदुवा फलेको हो । अदुवाखेती गर्न निकै सजिलो हुने भएकाले मकै छाडेर अदुवाखेतीमा आकर्षित भएको खड्काले बताए । ‘व्यापारीले तीन हजार रुपैयाँँमा एक क्विन्टल अदुवा घरमै पुगेर खरिद गर्ने गर्छन्, बजारको कुनै समस्या छैन’, खड्काले भने । किसानको घरमै व्यापारी पुगेर अदुवा खरिद गरिदिन्छन् । गाउँ–गाउँमा सडक पुगेको छ । व्यापारी ट्र्याक्टर लिएर अदुवा खरिद गर्न गाउँसम्मै पुग्ने गर्छन् । गाउँपालिकामा एउटा किसानले अदुवा बेचेर सिजनमा दुई देखि पाँच लाख रुपैयाँसम्म आम्दानी गर्ने गर्दछन् । पोखरीगाउँमा मात्रै ३२ घरपरिवारले व्यावसायिकरूपमा अदुवाखेती गरेका छन् । गाउँपालिकाको सिम्रुतु, खारा, झुल्नेटा, बाघखोर र नुवाकोट डाँडामा अदुवा सङ्कलन गरी जिल्ला बाहिर निर्यात हुने गर्दछ । जिल्लाको त्रिवेणी गाउँपालिका र चौरजहारी नगरपालिकाका केही वडामा राम्रो अदुवा उत्पादन हुने गर्छ । अदुवा बेचेरै गाउँमा करोडौँ रकम भित्रिने गरेको छ । जिल्लामा उत्पादन हुने अदुवाको मूल्य भने निर्धारण गरिएको छैन । व्यापारीले फरक–फरक मूल्यमा अदुवा खरिद गर्ने गरेका छन् । नुवाकोट, झुल्नेटा, पाखेरी, सिम्रुतुमा अदुवाको मूल्य फरक–फरक छ ।

जापानी विदेश राज्यमन्त्री नेपाल आउँदै

काठमाडौं । मित्र राष्ट्र जापानका विदेशराज्यमन्त्री सुनशुके ताकेई नेपालमा यही मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पर्यवेक्षणका लागि नेपाल आउँदै छन् । उनी निर्वाचन पर्यवेक्षणका लागि यही मङ्सिर ४ गते नेपाल आउन लागेका नेपालस्थित जापानी दूतावासले जनाएको छ । नेपालमा यसअघि विसं २०७४ को आमनिर्वाचनमा जापान सरकारले पूर्व उपविदेशमन्त्री होरी इवाओ एचईको नेतृत्वमा निर्वाचन पर्यवेक्षण टोली पठाएको थियो । मन्त्री ताकेई जापानबाट नेपाल निर्वाचन पर्यवेक्षकका रूपमा पठाइने उच्च अधिकारी हुन् । ‘नेपालको थप विकास र समृद्धिका लागि लोकतन्त्रिक शासन व्यवस्था अपरिहार्य भएकाले आसन्न निर्वाचन निष्पक्ष, पारदर्शी र शान्तिपूर्णरूपमा सम्पन्न हुनुपर्ने आवश्यकतामा जापानले जोड दिएको छ’, दूतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । दुईदिने नेपाल बसाइको क्रममा उनले नेपालका उच्चपदस्थ व्यक्तित्वसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

प्रारम्भिक सम्झौता अनुसारकै स्वाप रेसियो कायम गर्ने बैंकहरुको रणनीति, डीडीए रिपोर्ट औपचारिकता मात्रै

काठमाडौं । मर्जर तथा एक्विजिशनमा गएका वाणज्य बैंकहरुको डियू डेलिजेन्स (डीडीए) रिपोर्ट धमाधम आउन थालेको छ । हाल १० वटा वाणिज्य बैंकहरु मर्जर प्रक्रियामा छन् । जसमध्ये ४ वटा वाणिज्य बैंकको डीडीए रिपोर्ट आइसकेको छ भने बाँकी बैंकले यसै साताभित्र ल्याउने तयारी गरिरहेका छन् । डीडीए रिपोर्ट ल्याइसकेका ४ वटा वाणिज्य बैंकले प्रारम्भिक मर्जर सम्झौता अनुसारको स्वाप रेसियो नै निर्धारण गरेका छन् । तर, डीडीए रिपोर्ट आउन बाँकी रहेका बैंकका सञ्चालकहरु भने स्वाप रेसियोमा जति नै घटबढ आएपनि प्रारम्भिक मर्जर सम्झौता अनुसार नै स्वाप रेसियो कायम हुने बताउँछन् । डीडीए रिपोर्टमा धेरै फरक नआउने र आएपनि प्रारम्भिक सम्झौता अनुसार नै कार्यान्वयन हुने उनीहरुको धारणा छ । कुमारी बैंक र एनसीसी बैंकको डीडीए रिपोर्ट आउन अझै एक साताभन्दा बढी समय लाग्ने भएको छ । एनसीसी बैंककी सञ्चालक सुमन जोशीले अबको एक साताभित्र डीडीए रिपोर्ट आउने बताइन् । ‘डीडीए रिपोर्ट आउन बाँकी छ, अबको एक हप्ताभित्र डीडीए रिपोर्ट आउँछ, डीडीए रिपोर्ट आएपछि विशेष साधारण सभा बोलाएर मर्जर प्रस्ताव पारित गर्ने र एकीकृत कारोबारको मिति तय गरिनेछ,’ उनले भनिन् । डीडीए रिपोर्टमा प्रारम्भिक सम्झौता अनुसारको स्वाप रेसियो आउने उनले बताइन् । यदि डीडीए रिपोर्ट फरक आएपनि सम्झौता अनुसार नै मर्ज हुने उनको भनाइ छ । ‘एनसीसी र कुमारी बैंक समान हैसियतका बैंक हुन्, स्वाप रेसियो पनि समान आउँछ,’ उनले भनिन् । कुमारी बैंकका अध्यक्ष अमिर प्रताप जेबी राणाले कुमारी बैंक र एनसीसी बैंकको एकीकृत कारोबार पुस १७ गतेभित्र गर्ने तयारी रहेको बताए । अध्यक्ष राणाले अहिले ‘सुपर फास्ट’ किसिमले मर्जरको तयारी भइरहेको बताउँदै डीडीए रिपोर्ट पनि छिट्टै आउने बताए । ‘अहिले मर्जरका लागि सुपर फाष्टमा काम भइरहेको छ, पुस १७ गतेअघि नै एनसीसी बैंकसँग एकिकृत कारोबार गर्ने गरी मर्जर प्रक्रिया अघि बढेको छ, केही दिन भित्र डीडीए रिपोर्ट आउँछ,’ उनले भने । दुवै बैंकबीच असोज १० गते मर्जर सम्झौता भएको थियो । यी दुई बैंकबीच १ः१ स्वाप रेसियोमा मर्जर सम्झौता भएको हो । मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृत एनसीसी बैंकका रमेशराज अर्याल बन्नेछन् । कुमारी बैंकका रामचन्द्र खनाल बरिष्ठ प्रमुख कार्यकारी अधिकृत हुने छन् । मर्जरपछि बैंकको नाम कुमारी बैंक हुने बताइएको छ । यस्तै, मर्जर कमिटि सदस्य समेत रहेका सेञ्चुरी बैंकका संचालक मन बहादुर राई प्रभु बैंक र सेञ्चुरी बैंकको डीडीए रिपोर्ट आउन बाँकी रहेको बताउँछन् । राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत नगर्दा डीडीए रिपोर्ट आउन केही ढिलो भएको उनको धारणा छ । वित्तीय रिपोर्ट राष्ट्र बैंकमा पेश गरेको भएपनि स्वीकृत हुन बाँकी रहेकाले डीडीए रिपोर्ट आउन पनि ढिलाइ भएको उनको भनाइ छ । यस्तै, उनले प्रभु र सेञ्चुरी बैंक समान हैसियतमा मर्ज हुने बताए । ‘हामीले समान हैसियतमा मर्जर सम्झौता गरेका थियौं, अहिले डीडीए रिपोर्ट बनिरहेको छ, केही फरक आएपनि हामी समान हैसियतमा मर्ज हुन्छौं,’ उनले विकासन्युजसँग भने । स्रोतका अनुसार प्रभु र सेञ्चुरी बैंकको डीडीए रिपोर्टमा १० प्रतिशतभन्दा बढीको स्वाप रेसियो आएको छ । प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकबीच गत साउन १५ गते मर्जर सम्झौता भएको थियो । मर्जर पश्चात् प्रभु बैंकको नामबाट एकीकृत कारोबार हुनेछ । मर्जरपछि बैंकको सीईओमा प्रभु बैंकका अशोक शेरचन र डेपुटी सीईओमा सेञ्चुरी बैंकका सीईओ मनोज न्यौपाने बन्नेछन् । दुबै बैंकबीच १ः१ अनुपातको रेसियोमा मर्ज हुने सहमति भएको छ । तर बैंक स्रोतका अनुसार प्रभु र सेञ्चुरी बैंकको डीडीए रिपोर्टमा स्वाप रेसियो १० प्रतिशत भन्दा बढीको फरक आएको छ । दुवै बैंकको डीडीए रिपोर्टमा स्वाप रेसियोको अनुपात १ः१ नआएको बैंक स्रोतले बतायो । दुबै बैंकको सम्पति, दायित्व तथा कारोबारको मुल्याङकन र अन्य विविध पक्षहरुको मुल्याङकनमा दुवै बैंकबीच १० प्रतिशभन्दा बढीको फरक आएको स्रोतको भनाइ छ । यस्तै, सिभिल बैंकका सञ्चालक अम्बिर बोगटी डीडीए रिपोर्टमा स्वाप रेसियो फरक आएपनि प्रारम्भिक सम्झौता अनुसार नै हिमालयन र सिभिल बैंकबीच मर्ज हुने बताउँछन् । उनी डीडीए रिपोर्टमा धेरै फरक भएर नआउने र आएपनि हाल तोकिएको स्वाप रेसियो अनुसार नै मर्ज हुने बताउँछन् । ‘डीडीए रिपोर्ट फाइनलमा पुगेको छ, कर्मचारी व्यवस्थापन अन्तिम चरणमा छ, एमओयूमा भए अनुसारको डीडीए रिपोर्ट आउँछ, फाइनल डीडीएमा २/४ प्रतिशत घटेर वा बढेर आएपनि हामी माग्दैनौं,’ उनले भने । कात्तिक २३ गते थप तीन महिनाको समय माग्दै राष्ट्र बैंकमा आवेदन दिएका छन् । तीन महिना समय मागेपनि पुस २५ गते भित्र एकीकृत कारोबार गर्ने उनले बताए । गत असार २९ गते हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गर्न प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर गरेको थियो । सम्झौता पत्रमा हिमालयन बैंकका तर्फबाट अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ र सिभिल बैंकका तर्फबाट अध्यक्ष प्रतापजंग पाण्डेले हस्ताक्षर गरेका थिए । हिमालयन बैंकले १००ः८१ को स्वाप रेसियोमा सिभिल बैंकलाई गाभ्ने भएको छ । सिभिल बैंकको १ सय कित्ता सेयर हुने सेयरधनीले हिमालयन बैंकमा ८१ कित्ता सेयर पाउनेछन् । मर्जरपश्चात् हिमालयन बैंकको नामबाट एकीकृत कारोबार हुनेछ । हिमालयन बैंकका सीईओ अशोक राणा सीईओ बन्नेछन् भने वरिष्ठ डेपुटी सीईओमा सिभिल बैंकका सुनिल कुमार पोख्रेल रहनेछन् । यस्तै, ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको डीडीए भने आइसकेको छ । दुवै बैंकबीच समान हैसियत अर्थात् १ः१ स्वाप रेसियोमा मर्ज हुने गरी डीडीए रिपोर्ट आएको हो । दुबै बैंकको सम्पत्ति, दायित्व तथा कारोबारको मूल्याङ्कन र अन्य विविध पक्षको विश्लेषणका आधारमा दुवै बैंक समान हैसियतमा मर्ज हुने भएका हुन् । बैंक अफ काठमाण्डूमा एक सय कित्ता सेयर हुनेले मर्जरपछि पनि एक सय कित्ता नै सेयर पाउने छन् । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबीच गत असार २ गते मर्जर सम्झौता भएको थियो । मर्जरपश्चात् ग्लोबल आइएमई बिओके बैंकको नामबाट एकीकृत कारोबार हुनेछ । बैंकको सञ्चालक समितिमा ग्लोबल आइएमई बैकबाट अध्यक्ष चन्द्र प्रसाद ढकालसहित ५ जना र बैंक अफ काठमाण्डूबाट २ जना गरी ७ जनाको सञ्चालक समिति रहनेछ । मर्जरपश्चात् बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) रत्नराज बज्राचार्य बन्ने छन् भने अध्यक्ष ढकाल हुनेछन् । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूले एक आपसमा गाभ्न/गाभिनको लागि अन्तिम सम्झौतामा हस्ताक्षर समेत गरिसकेका छन् । दुवै बैंकले मर्जर प्रस्ताव पारित गर्न मंसिर २३ गते आफ्नो वार्षिक साधारण सभा समेत बोएका छन् । साधारण सभाले मर्जर प्रस्ताव पारित गरेपछि एकीकृत कारोबारको मिति तोक्नेछन् । नेपाल इन्भेष्टमेन्ट-मेगा बैंकको पनि डीडीए रिपोर्ट आइसकेको छ । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक १००ः९० को अनुपातमा मर्ज हुने गरी डीडीए रिपोर्ट आएको हो । नेपाल इन्भेष्टमेन्ट बैंकको १०० कित्ता सेयर बराबर मेगा बैंकका सेयरधनीहरुले ९० कित्ता सेयर पाउने छन् । राष्ट्र बैंकले नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकलाई पुस २२ गतेसम्म मर्ज गर्न समयसीमा तोकेको छ । राष्ट्र बैंकले तोकिएको समयभित्र नै एकीकृत कारोबार गर्ने तयारीमा दुवै बैंकले अभ्यास गरिरहेको मर्जर कमिटी सदस्य समेत रहेका मेगा बैंकका संचालक गोपाल खनालले बताए । ‘पुस २२ गतेसम्म समय तोकेको छ, वार्षिक साधारण सभाबाट नाफा बाँड्ने र त्यही सभाबाट मर्जर प्रस्ताव पनि पारित गर्ने योजना छ, प्रस्ताव पारित भएपछि एकीकृत कारोबारको मिति तय गरिनेछ,’ उनले भने । वार्षिक साधारण सभा भने बोलाउन बाँकी रहेको छ । दुवै बैंकले एकदुई दिनभित्र नै वार्षिक साधारण सभा बोलाउने तयारी गरिरहेका छन् । वार्षिक साधारण सभाबाट मर्जर प्रस्ताव पारित गरेर एकीकृत कारोबार गर्ने तयारी रहेको उनले बताए । दुवै बैंकको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट लाभांश प्रस्ताव समेत गरिसकेका छन् । गत जेठ २७ गते नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वी बहादुर पाँडे र मेगा बैंकका अध्यक्ष भोज बहादुर शाहले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । मर्जरपश्चात् बैंकको अध्यक्ष पृथ्वी बहादुर पाण्डे र प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे बन्ने छन् । मर्जरपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नामबाट एकीकृत कारोबार हुनेछ । राष्ट्र बैंकको नीतिले बाध्यकारी मर्जरको प्रारम्भिक सम्झौता गरेका बैंकहरु जसरी भएपनि मर्जर सम्पन्न गर्ने रणनीति बनाइरहेका छन् । मर्जर सम्झौता गरेपछि नभाड्न भन्दै राष्ट्र बैंकले कडा चेतावनी दिएपछि जसरी भएपनि मर्जर सम्पन्न गरेरै छाड्ने रणनीतिमा बैंकहरु छन् । यसअघि अन्तिम समयमा आएर मर्जर भाडिएको हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकको प्रवृति नदोहोरिनका लागि राष्ट्र बैंकले मर्जर सम्झौता गरेका १० बैंकलाई पटक-पटक पत्र कडा चेतावनी दिइरहेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली, २०७३ (चौथो संशोधन २०७५) को विनियम १५ (४) मा रहेर विभिन्न निर्देशन तथा चेतावनी बैंकहरुलाई दिइरहेको छ । राष्ट्र बैंकले अन्य कनै संस्थासँग गाभ्ने गाभिने वा प्राप्तिमा नगएसम्मका लागि आधारभुत शेयरधनीहरुलाई सेयर खरिदबिक्री तथा हक हस्तान्तरणमा रोक लगाउने, दुवै संस्थाका सञ्चालक समितिलाई सचेत गराउने र दुवै संस्थालाई अन्य कुनै संस्थासंग गाभ्ने/गाभिने वा प्राप्तिमा नगएसम्मका लागि आधारभूत सेयरधनीहरुलाई दिने लाभांश वितरणमा प्रतिबन्ध लगाउने चेतावनी मर्जर सम्झौता गरेका बैंकहरुलाई दिएको छ । यस्तै, दुवै संस्थालाई अन्य कुनै संस्थासँग गाभ्ने/गाभिने वा प्राप्तिमा नगएसम्म तीन वर्षको लागि थप शाखा कार्यालय खोल्न रोक लगाउने र दुवै संस्थालाई यस बैंकले प्रदान गर्ने सुविधाहरु प्राप्त गर्न रोक लगाउने चेतावनी दिएपछि बैंकहरु जसरी पनि मर्जर सम्पन्न गरेरै छाड्ने रणनीतिमा लागेका हुन् ।

सेयर बजारमा छायो हरियाली, पौने दुई अर्बको कारोबार

काठमाडौं । बिहीबार सेयर बजारमा हरियाली छाएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)को अनुसार बिहीबार सेयर बजारमा हरियाली छाए सँगै सबै सूचक सकारत्मक देखिएको छ । आज सेयर बजार २५.५७ अंकले बढेर १९३६.८३ विन्दुमा पुगेको छ । नेप्सेको अनुसार ४३ लाख ८४ हजार कित्ता सेयर किनबेच हुँदा एक अर्ब ७१ करोड रुपैयाँको कारोबार भएको छ । आज सबैभन्दा बढी कमाउनेमा ५ कम्पनीमा चारवटा हाइड्रोपावर कम्पनी रहेको छ भने एउटा उत्पादन तथा प्रशोधन कम्पनी रहेको छ । सबैभन्दा बढी कमाउने हाइड्रोपावर कम्पनीहरु सिक्लेस, सयपत्री, रिदी र पन्चकन्या माइ रहेका छन् । यस्तै, आज सबैभन्दा बढी रिदी हाइड्रोपावर कम्पनीको सबैभन्दा बढी कारोबार भएको छ ।  कम्पनीको आज १४ करोड ३९ लाख रुपैयाँको कारोबार भएको छ ।

चार करोड ६४ लाख ८२ हजारको लागतमा निर्धारित समयभन्दा छिटो बन्यो सडक

बागलुङ । सडक डिभिजन कार्यालय बागलुङले एउटा सडक परियोजना सम्झौता अवधि नसकिँदै सम्पन्न भएको बताएको छ । डिभिजनले मुस्ताङदेखि डोल्पा जोड्ने सडक निर्धारित समयअघिनै सम्पन्न भएको बताएको छ । मुस्ताङको वाराजुङ मुक्तिक्षेत्र गाउँपालिकादेखि डोल्पाको वार्खा ताङसोङ जोड्ने सडक तोकिएको समयभन्दा छ महिना अगाडि सम्पन्न भएको हो । चालु आर्थिक वर्ष सडक स्तरोन्नति गर्ने मुस्ताङ खण्डको करिब ६ किमी सडक ६ महिनामै सम्पन्न भएको हो । गत चैत २७ गते सम्झौता भएको सडक असोज मसान्तमा सकिएको हो । सडक निर्माण सम्पन्न गर्ने मिति २०८० को असोज ३० सम्म थियो । तर जागृति कुन्सालिङ संयुक्त निर्माण कम्पनीले ६ महिनामै काम सकेको हो । चार करोड ६४ लाख ८२ हजारको लागतमा बनेको यो सडकको अन्तिम मूल्याङ्कनसमेत भइसकेको डिभिजन सडक कार्यालय बागलुङका प्रमुख बलिराज मल्लले बताए । सडकमा एक लाख ८७ हजार घनमिटर माटो खन्ने, तीन हजार पाँच सय घनमिटर ग्याबीन पर्खाल लगाउने तथा खाल्डाखुल्टी सम्याएर ग्राभेल विच्छाउने समेतको काम थियो । ठेकेदारका प्रतिनिधि जीवन रोकायले चिसो मौसममा काम गर्न नसकिने भएकाले सम्झौता गरेकै दिनदेखि काम थालेर सकेको बताए । ‘उनको काम निकै प्रभावकारी रहेछ, समय अगाडि सके’ लेखा अधिकृत रामनाथ शर्माले भने, ‘उनलाई डिभिजनले सम्मान गर्नेछ । वर्षाै देखि काम अलपत्र भएको गुनासो आउने बेलामा उनले गरेको काम उदाहरणीय भएको बताए ।’ डिभिजनले मुस्ताङ जिल्ला पनि हेर्छ । यो करिडोरको मनाङदेखिकै खण्ड हेरिरहेको मल्लले जानकारी गराए । पाँच वर्षदेखि निर्माण सुरु भएको यो सडक खण्डमा ११ मिटर चौडा पार्ने काम पनि भएको छ । यो सडक अधिकांश खण्ड चार हजार मिटरभन्दा माथि पर्ने र मङ्सिर लागेपछि यहाँ हिमपात हुन्छ । ‘हिमपातका कारण काम गर्न कठिन हुन्छ । चैतसम्म हिउँ रहने र निर्माण उपकरण सोही स्थानमा राख्नुपर्दा खिया लाग्ने, इञ्जिन बिग्रने भएपछि समयमा काम सकेर उपकरण तल्लो खण्डमा झारिएको हो’, रोकायाले भने ।

४ वर्षमा दोब्बरले बढ्यो कर तिर्नेको संख्या, सप्ताहव्यापी कार्यक्रम गरेर दिवस मनाइँदै

काठमाडाैं । सरकारले विभिन्न कार्यक्रम गरी कर सप्ताह दिवस मनाउने भएकाे छ । सरकारले मंसिर १ गतेदेखि सुरु भएकाे कर दिवस मंसिर ७ गतेसम्म विभिन्न कार्यक्रम गरी मनाउन लागेकाे हाे । सरकारले मंसिर ६ गतेसम्म निजी क्षेत्रका संघ, संगठन तथा सराेकारवालाहरुसँग समन्वय गरी आवश्यकताकाे आधारमा अन्तरक्रिया परिसंवाद र कर शिक्षा लगायतका कार्यक्रमहरु संचालन गर्ने जनाएकाे छ । यस्तै, सरकारले मंसिर ७ गते विभिन्न क्षेत्रका करदातालाई र कर्मचारीलाई सम्मान गर्ने जनाएकाे छ । अर्थ मन्त्रालयले विगत ४ वर्षमा कर सहभागिताको संख्या दोब्बरभन्दा बढीले बढेको जानकारी दिएकाे छ । मन्त्रालयकाे तथ्यांक अनुसार २०७६ असारसम्म २१ लाख ७१ हजार प्यानमा दर्ता भएकोमा २०७९ असारसम्म ४८ लाख ५४ हजार नाघेको छ । यस अवधिमा प्यानमा सहभागी हुनेको संख्या औसतमा ८ लाखले बढेको छ । नेपालमा मूल्य अभिवृद्धि कर लागु भएको दिन १ मंसिर, २०५४ को स्मरण गर्दै हरेक वर्ष मंसिर १ गतेलाई नेपाल सरकारको निर्णय अनुसार २०६९ सालदेखि प्रत्येक वर्ष राष्ट्रिय कर दिवस मनाउँदै आइएको छ।