नाफामा प्रिमियर, प्रभु र नेपाल इन्स्योरेन्सबीच ‘टक्कर’, नेशनलले मार्यो छलाङ
काठमाडौं । १८ वटा निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । हाल सञ्चालनमा रहेका कम्पनीहरुमध्ये ओरियन्टल इन्स्योरेन्स बाहेक सबैले गत साउनदेखि असोजसम्मको वित्तीय विवरण सार्वजनिक गरेका हुन् । उक्त विवरणअनुसार कम्पनीहरुले तीन महिनामा कूल एक अर्ब १० करोड रुपैयाँ बराबरको नाफा कमाएका छन् । जुन गत वर्षको तुलनामा १८.२९ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको पहिलो तीन महिनामा यी १८ कम्पनीले कूल ९३ करोड रुपैयाँ नाफा आर्जन गरेका थिए । सबैभन्दा बढी नाफा कमाउनेमा नेशनल इन्स्योरेन्स रहेको छ । कम्पनीले गत वर्षको तुलनामा ११६२ प्रतिशत बढी नाफा बढाएर कूल २१ करोड ६० लाख रुपैयाँ आर्जन गरेको छ । जुन गत वर्षको सोही अवधिमा १ करोड ७१ लाख रुपैयाँ थियो । त्यस्तै, नेशनलको प्रतिस्पर्धीको रुपमा शिखर इन्स्योरेन्स रहेको छ । कम्पनीले साउनदेखि असोजसम्ममा १३ करोड ४८ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्ष १३ करोड ३६ लाख रुपैयाँ रहेको उक्त नाफा ०.९० प्रतिशतले बढी हो । त्यस्तै, यता प्रिमियर, प्रभु र नेपाल इन्स्योरेन्स बीच टक्कर देखिएको छ । यी तीनवटै कम्पनीले ७ करोड रुपैयाँ बराबरको नाफा कमाएका छन् । जसमध्ये प्रिमियर इन्स्योरेन्सले ७ करोड ७९ लाख, प्रभुले ७ करोड ४ लाख र नेपाल इन्स्योरेन्सले ७ करोड ३ लाख रुपैयाँ बराबरको नाफा आर्जन गरेका छन् । समीक्षा अवधिमा अधिकांश कम्पनीको नाफा बढेको छ । तर ७ वटा कम्पनीको नाफा घटेको तथ्याङ्कले देखाएको छ । सगरमाथा, हिमालयन एभरेष्ट, राष्ट्रिय बीमा कम्पनी, नेको, एनएलजी, सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सको नाफा गत वर्षको तुलनामा घटेको हो । यी मध्येपनि सगरमाथा इन्स्योरेन्सको नाफा सबैभन्दा बढी प्रतिशत अर्थात ४७.३३ प्रतिशतले घटेको छ । गत वर्ष ६ करोड १७ लाख रुपैयाँ नाफा कमाएको कम्पनीले चालु आवमा ३ करोड २५ लाख रुपैयाँ मात्रै आर्जन गरेको छ । रकमको आधारमा सबैभन्दा कम नाफा कमाउनेमा अजोड इन्स्योरेन्स देखिएको छ । इन्स्योरेन्सले तीन महिनामा १ करोड २७ लाख रुपैयाँ बराबरको नाफा आर्जन गरेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा १५.४५ प्रतिशतले बढी हो । कुनले कति कमाए ?
पहिलो तीन महिनामा निक्षेप र कर्जा बृद्धिदर सुस्त
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा निक्षेप र कर्जाको वृद्धिदर सुस्त देखिएको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार असोज मसान्तसम्ममा निक्षेप शून्य दशमलव चार र कर्जा एक दशमलव तीन प्रतिशतले मात्रै बढेको देखिएको हो । गत आर्थिक वर्षको सोही अवधिमा निक्षेप एक दशमलव दुई र कर्जा सात दशमलव सात प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा भने असोजमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप आठ दशमलव दुई प्रतिशतले र कर्जा छ दशमलव चार प्रतिशतले बढेको छ । राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा चल्ती, बचत र मुद्दति निक्षेपको अंश क्रमशः सात दशमलव छ प्रतिशत, २६ दशमलव सात प्रतिशत र ५९ प्रतिशत छ । अघिल्लो आवमा यस्तो अंश क्रमशः सात दशमलव सात प्रतिशत, ३४ दशमलव चार प्रतिशत र ५० दशमलव चार प्रतिशत थियो । असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३७ प्रतिशत छ । पहिलो तीन महिनामा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये संस्थागत क्षेत्रतर्फ ६३ दशमलव नौ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ ३६ दशमलव एक प्रतिशत छ । यो अवधिसम्ममा वाणिज्य बैंकको कर्जा प्रवाह एक दशमलव दुई प्रतिशत, विकास बैंकको कर्जा प्रवाह दुई दशमलव छ प्रतिशत र वित्त कम्पनीको कर्जा प्रवाह शून्य दशमलव तीन प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाले गरिरहेको कर्जा लगानीमध्ये ६६ दशमलव सात प्रतिशत कर्जा घरमा र १२ दशमलव दुई प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैरकृषिजन्य वस्तु)को धितोमा प्रवाह भएको छ । तीन महिना अवधिमा औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा पाँच दशमलव छ प्रतिशत, सेवा उद्योग क्षेत्रतर्फको कर्जा तीन दशमलव नौ प्रतिशत र यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा दुई दशमलव आठ प्रतिशतले बढेको छ । त्यस्तै थोक तथा खुद्रा व्यापार क्षेत्रको कर्जा दुई शमलव दुई प्रतिशत, निर्माण क्षेत्रको कर्जा एक दशमलव सात प्रतिशत र कृषि क्षेत्रको कर्जा शून्य दशमलव आठ प्रतिशतले बढेको छ ।
मुक्तिनाथ विकास बैंकका ग्राहकलाई द हिमालयन ग्रिल बाइ बाजेले बिशेष छुट दिने
काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकलाई थप सेवा दिन सामाखुसी को ‘द हिमालयन ग्रिल बाई बाजेको’ रेस्टुरेन्टसँग फुड एण्ड बेभरेजमा विशेष १५ प्रतिशत सम्म छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ । सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले सामाखुसी को ‘द हिमालयन ग्रिल बाई बाजेको’ मा फुड एण्ड बेभरेजमा विशेष १५% छुट प्राप्त गर्न सक्नेछन् । साथै, बैंकले डिजिटल कारोबारलार् प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंक एटिएम मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसै गरी प्रिपेड डलर कार्ड , मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ्ग आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।
५ वर्ष अध्ययन गरेर स्मार्ट चोइसले ल्यायो फास्ट बैंकिङ एप, यस्ता छन् विशेषता
काठमाडौं । स्मार्ट चोइस टेक्नोलोजीले फास्ट बैंकिङ एप सार्वजनिक गरेको छ । मोबाइल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्गका समस्यालाई विगत पाँच वर्षदेखि अध्ययन र अनुसन्धान गरेर एप ल्याइएको कम्पनीले जानकारी दिएको छ । बुधबार होटेल र्याडिसनमा आयोजित एक कार्यक्रममा नेपाल बैंकर्स एसोसिएसका अध्यक्ष तथा कृषि विकाश बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले उक्त एप सेवा सार्वजनिक गरेका थिए । कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायणप्रकास भुजुले बैंक तथा वित्तीय संस्थाले फास्ट बैंकिङ्गको सेवा लिई डिजिटल बैंकिङ्ग एक्पिरियन्सलाई थप सुध्रिढ गर्दै नयाँ आयाम दिन सकिने बताए । ‘हाल बैंक तथा वित्तीय संस्थाहरुमा प्रयोग भएको मोबाइल बैंकिङ्ग सेवा विशेष गरी भुक्तानी तथा फन्ड ट्रान्सफरमा मात्र केन्द्रित रहेकाले बैंकिङ्ग सुविधा लिन अझै पनि बैंककै शाखामा नै धाउनु पर्ने बाध्यता रहेको छ, फास्ट बैंकिङमार्फत थप सुविधाहरुका साथ ओपन एपीआइ मार्फत बैंकका थप सेवाहरुलाई मोबाइल बैंकिङ्ग मै जोड्न सकिनेछ,’ उनले भने, ‘फास्ट बैंकिङ्गले बैंकको शाखाहरुमा हुने ग्राहकरुको उपस्थिति तथा म्यानुअल काम कटौती गरी ग्राहक र बैंक दुवैको समय र खर्च घटाउन सकिन्छ ।’ हाल उक्त सुविधा ग्लोबल आइएमई बैंकमा संचालनमा ल्याई सकिएको कम्पनीले जानकारी दिएको छ ।
खाण र पौडेल भन्छन् : प्रदेश राजधानी बुटवलमै ल्याउँछौँ
रुपन्देही । गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाण र पूर्वमन्त्री एवं नेकपा (एमाले)का नेता विष्णुप्रसाद पौडेलले लुम्बिनी प्रदेशको राजधानी बुटवलमै ल्याउने प्रतिबद्धता आफ्ना मतदातासमक्ष गरिरहेका छन् । रुपन्देहीमा लगभग चुनावी मुद्दाजस्तै बनेको प्रदेश राजधानीको विषयमा जिल्लाबाट प्रतिनिधिसभामा उम्मेदवार रहेका उनीहरूको स्पष्ट धारणा छ– ‘हामीले जिल्लाका सबै नागरिकका आवाज र धरणा बुझेका छौँ, हिजो के भयो र किन भयो भन्ने विषयतिर अहिले जान चाहँदैनौँ, तर प्रदेशको राजधानी बुटवलमा फिर्ता गर्छौँ ।’ लुम्बिनी प्रदेशसभाले प्रदेशको राजधानी दाङको देउखुरी लाने निर्णय गरेको थियो । तर देउखुरीमा प्रदेश राजधानीका लागि आवश्यक पूर्वाधार नभएको र प्रदेशको पायक पनि नपर्ने भन्दै बुटवलका नागरिकले यसको विरोध गर्दै आएका छन् । यतिखेर प्रदेश राजधानीको विषय रुपन्देहीका नागरिकको चुनावी एजेण्डाजस्तै बनेको छ । जिल्लावासीका तर्क छन्, ‘प्रदेशको राजधानी लुम्बिनीबाट अन्यत्रै सारियो, जबकि भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनी विश्वका कम्तीमा पनि एकतिहाइ मानिसको आस्थाको केन्द्र हो, आर्थिक र औद्योगिक क्रियाकलाप प्रदेशका अन्य भू–भागका तुलनामा यहीँ बढी छ, यहाँ अन्तर्राष्ट्रिय विमानस्थलसमेत छ, अनि प्रदेशको राजधानी बुटवल नभएर अन्त कहाँ हुन्छ ?’ स्थानीयका यी तर्कसँग जिल्लाबाट प्रतिनिधिसभामा प्रतिनिधिसभाका उम्मेदवार खाण र पौडेल पूर्ण सहमत छन् । उनीहरू दुवैले जनताका यी तर्कसँग सहमति जनाउँदै जनताका जिज्ञासा मेटाउँदै भन्ने गरेका छन्, ‘लुम्बिनी प्रदेशको राजधानी बुटवलबाहेक अन्यत्र हुँदैन, हामी बुटवलमै ल्याउने प्रयत्नमा छौँ ।’ गृहमन्त्री खाण भन्छन्, ‘तत्कालीन सरकारले प्रधानमन्त्री शेरबहादुर देउवाको पहलमा सबै प्रदेशका अस्थायी राजधानी तोक्ने काम ग¥यो । अरु प्रदेशमा तिनै राजधानी कायम भए, तर यहाँ किन हुन सकेन ? हुन त यो प्रदेशसभाको अधिकार हो नै, तर पनि त्यस समयमा बुटवलको पूर्वाधार र महत्वमाथि किन विवेक पु¥याउन सकिएन ? प्रदेश राजधानी राख्नका लागि बुटवलमा के कुराको कमी छ र यहाँबाट सारेर अन्यत्र लगियो ?’ कोरोना महामारीमा मुलुक ठप्प भएका बेला हचुवाका भरमा यसअघि नै तोकिएको प्रदेश राजधानी यहाँबाट सार्ने काम भएको गृहमन्त्री खाणको भनाइ छ । रुपन्देहीको क्षेत्र नं ३ बाट प्रतिनिधिसभाका लागि उम्मेदवार गृहमन्त्री खाणसँग यहाँका नागरिकले प्रदेश राजधानीका साथै कृषि मल, बीउको उपलब्धता, सुकुम्बासी समस्याको समाधान, श्रमिकका समस्या समाधान, कोरोनाकालमा भएको आर्थिक क्षतिको पूर्ति, पर्यटनका लागि लुम्बिनी क्षेत्रको विशेष विकासजस्ता माग राखेका छन् र उनले आफू नागरिकका सबै समस्यासँग परिचित रहेकाले आगामी दिनमा ती सबै समस्या समाधानमा पहल गर्ने प्रण आफ्ना मतदातासँग गर्छन् । त्यसैगरी एमालेका नेता विष्णु पौडेलले पनि प्रदेश राजधानीको मुद्दा बनाएका स्थानीयका जिज्ञासाहरूको सुनुवाइ हुने विश्वास दिँदै प्रदेश राजधानी सधैँका लागि बुटवलबाट सरेको होइन भन्छन् । प्रदेश राजधानी बुटवलमै राख्नुपर्ने रुपन्देहीका नागरिकको भावनासँगै आफू पनि रहेको स्पष्ट गर्दै उनले लुम्बिनीजस्तो सांस्कृतिक एवं ऐतिहासिक प्रदेशको राजधानी बुटवलबाहेक अन्यत्र हुन नसक्ने तर्क राख्छन् । उनी भन्छन्, ‘हुन त यो प्रदेशसभाको अधिकार हो र त्यतिबेला निर्णय पनि भयो । तर यो कुनै ढुङ्गाले लेखिएको निर्णय होइन, चकले लेखिएको हो र त्यसलाई डस्टरले मेटेर अर्काे निर्णय लेख्न सकिन्छ । हामी सबै त्यसका लागि लाग्ने हो ।’ रुपन्देही जिल्लालाई आर्थिक विकासको केन्द्रका रूपमा अघि बढाइएको र लगानी र विकासको मोडेलको मुख्य गन्तव्य लुम्बिनी भइसकेकाले लुम्बिनी प्रदेशको राजधानी बुटबलबाहेक अन्यत्र हुन नसक्ने तर्क पौडेलको छ । ‘हामी सबैको प्रयासबाट लुम्बिनीमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएर सञ्चालनमा आइसकेको छ, विश्वमा लुम्बिनीको आफ्नै गरिमा र आस्था रहेकाले अब विश्वको धार्मिक एवं सांस्कृतिक पर्यटनको एक प्रमुख गन्तव्य नै हामी लुम्बिनीलाई बनाउँदैछौँ भने प्रदेशको राजधानीको विकल्प पनि बुटवलबाहेक अन्यत्र कहाँ हुनसक्छ ?’, पौडलेको प्रश्न छ । उनी रुपन्देहीको क्षेत्र नं २ बाट प्रतिनिधिसभाका लागि नेकपा (एमाले)को उम्मेदवार हुनुहुन्छ । प्रदेश राजधानीबाहेकका उनीसँग भौतिक पूर्वाधार विकास, सुकुम्बासी समस्याको समाधान, नागरिकका शिक्षा र स्वास्थ्यका समस्याको समाधानका साथै जनजीविकाको सुधारका माग छन् । आफ्ना मतदातासँग उहाँले आफू सदैव जिल्लाको विकासमा लागिनै परेको र आगामी दिनमा पनि यी सबै समस्याको समाधानका लागि आफूले जनताको साथमै रहेर पहल गर्ने प्रतिबद्धता व्यक्त गरिरहेका छन् । उनले आफूले जिल्लामा पूर्वाधार निर्माणका क्षेत्रमा धेरै काम गरेको र ती सबै जनताका अगाडि छर्लङ्ग नै रहेको भन्दै आगामी दिनमा जनताको जीवनस्तर उकास्ने र कृषि र किसानलाई प्रत्यक्ष लाभ पु¥याउने योजना आफूसँग रहेकाले आफूलाई मतदान गरी विजयी गराउन आग्रह गरे । रासस
बङ्गलादेशले सन् २०३० सम्ममा कपासको उत्पादन ४८ करोड पाउण्ड बढाउने
बङ्गलादेश । बङ्गलादेशले सन् २०३० सम्ममा कपासको उत्पादन पाँच गुणा बढाउने जनाएको छ । कपास उत्पादनका लागि धनी मानिने एसियाली मुलुक बङ्गलादेशले नयाँ प्रजातिको कपास उत्पादन गर्ने र खेतीको क्षेत्र विस्तार गर्ने लक्ष्य राखेको हो । कपास विकास बोर्डका अतिरिक्त निर्देशक मोहम्मद फख्रे आलम इब्ने ताबिबले भने, ‘कपास एक प्रमुख नगदे बाली हुन सक्छ किनभने कपडा उद्योगमा यसको बढ्दो माग पूरा गर्न हामीले यसको आयातका लागि हरेक वर्ष तीन अर्ब अमेरिकी डलर खर्च गर्नुपर्ने हुन्छ ।’ आधिकारिक तथ्याङ्कअनुसार बङ्गलादेशमा अहिले वार्षिक चार अर्ब ८ करोड पाउण्डको मागको तुलनामा वार्षिक नौ करोड ६० लाख पाउण्ड उत्पादन हुन्छ । उच्च मागको पृष्ठभूमिमा, बङ्गलादेशी टेक्सटाइल र स्पिनिङ मिलहरू र अन्य प्रयोगकर्ताहरूले भारत, संयुक्त राज्य अमेरिका, धेरै अफ्रिकी र मध्य एसियाली राष्ट्रहरू, अस्ट्रेलिया, ब्राजिल र पाकिस्तानबाट कपास आयात गर्छन् । ताबिबका अनुसार उर्वर बाँझो जमिनको ठूलो क्षेत्र प्रयोग गरी उच्च उत्पादन दिने नयाँ प्रजाती र हाइब्रिड जातका कपास उत्पादन गरी देशको दक्षिणपूर्वी पहाडी क्षेत्र र केही समतल जिल्लाहरू कपास उत्पादनलाई ४८ करोड पाउण्ड पुर्याउने लक्ष्य राखिएको छ ।
दुई सय ५० वर्षअघि भत्किएको कीर्तिपुर दरबार तीन करोडमा फेरि बन्दै
कीर्तिपुर । करिब साढे दुई सय वर्षअघि भत्किएर भग्नावशेषसमेत लोप हुने अवस्थामा पुगिसकेको कीर्तिपुर दरबार लायकु पुनः अस्तित्वमा ल्याउने प्रयास सुरु भएको छ । कीर्तिपुरको सर्वाधिक ठूलो र महत्पूर्ण सम्पदा मानिएको लायकु दरबार लामो समयसम्म राज्यबाट ओझेल पर्नुका साथै स्थानीयवासीको अतिक्रमणमा समेत परेर लोप हुने अवस्थामा पुगेको थियो । कीर्तिपुर डाँडाको सबैभन्दा अग्लो भागमा रहेको उमामहेश्वर मन्दिरसहितको लायकु दरबारलाई पहिलेकै जस्तो बनाउने माग सम्पदा प्रेमीले विगत तीन वर्षअघिदेखि गर्न थालेका थिए । यसैअनुसार कीर्तिपुर नगरपालिकाले लायकु दरबारको केही भाग बनाउन बजेट छुट्याएको थियो । सोहीअनुरुप परम्परागत नेवारी इँटा दाची अपा र मध्यकालीन शैलीका झ्याल प्रयोग गरी पुनःनिर्माण गर्न थालिएको छ । कीर्तिपुर–१ का अध्यक्ष हीरालाल महर्जनका अनुसार नगरपालिकाले छुट्याएको करिब तीन करोड रुपैयाँको बजेटमा दरबार बन्दैछ । नगरपालिकाले विसं २०७७ मङ्सिरमा लायकु दरबार पुनःनिर्माण गर्ने भन्दै सो सम्बन्धी प्रमाण भए नगरपालिकालाई दिन सार्वजनिक सूचना जारी गरेको थियो । सोहीबमोजिम महर्जनसहितका १६ स्थानीयवासीले लायकु दरबारसम्बन्धी ऐतिहासिक दस्तावेज र तस्बिर नगरपालिका समक्ष पेस गरेका थिए । त्यसमा सन् १८५५ मा नेपाल आएका पश्चिमा यात्री हेनरी वल्डफिल्डले लायकु दरबारको भग्नावशेषसहित तयार गरेको स्केच पनि समावेश छ । पञ्चायती व्यवस्था लागूभएपछि लायकु त्यस क्षेत्रको अग्लो स्थानमा रहेको उमामहेश्वर मन्दिर र आसपासका क्षेत्रलाई समेटेर लायकु गाउँ पञ्चायत बनाइएको थियो । विसं २०५४ मा नगरपालिका बन्दा सो क्षेत्रलाई वडा नं १ र २ कायम गरिएको थियो । अहिले बन्न लागेको दरबार पुरानै आकारमा सम्भव नभए पनि त्यसको एक अशं निर्माण हुने जानकारी लायकु दरबारबारे विशेष जानकार शुद्धरत्न महर्जनले दिए । ‘पुरानो दरबार क्षेत्रभित्र २१ निजी घर बनेका छन्’, उनले भने । महर्जनका अनुसार कीर्र्तिपुरको दरबार क्षेत्र लायकु नेपाल संवत् ८०१ मा श्री निवास मल्लले निर्माण सम्पन्न गरेको बताइन्छ । सो दरबार विसं १८२२ मा कीर्तिपुर र गोर्खा फौजबीचको लडाइँमा ध्वस्त भएको जानकार बताउँछन् । त्यसपछि राज्यले तर्कराज गुरुराज पण्डितलाई उक्त स्थानको रेखदेख गर्ने आदेशसहित विर्ता दिएको महर्जनले बताए । पछि पण्डितले दरबार क्षेत्र अतिक्रमित भइरहेको भन्दै सरकारमा उजुरी हालेको इतिहासमा भेटिएको पनि महर्जनले बताए । केही दशक अघिसम्म दरबारको चारैतिरका पर्खाल देखिने गरेकामा क्रमशः अतिक्रमित हुँदै गई निजी घर बनेको बताइन्छ ।
कञ्चनपुरका आठ स्थानमा तरकारी खेतीलाई दुई करोड छुट्याइयो
दोधारा चाँदनी । तरकारीको आयातलाई प्रतिस्थापन गर्ने उद्देश्यले सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरका तीन पालिकामा तरकारीका लागि नमुना गाउँका बनाउन लागेको छ । जिल्लास्थित कृषि ज्ञान केन्द्रका अनुसार चालु आर्थिक वर्षमा यहाँको भीमदत्त नगरपालिका, बेदकोट नगरपालिका र पुनर्वास नगरपालिका भित्रका आठ वटा वडालाई तरकारीको नमुना गाउँ बनाउन प्रदेश सरकारबाट दुई करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । उक्त कार्यालयका प्रमुख डा दिलबहादुर विष्टले अहिले तरकारीका लागि नमुना गाउँको काम भइरहेको बताए । ‘बेमौसमी तरकारी खेतीका लागि पकेट क्षेत्र तोकिएको छ र कमैया बस्तीमा तरकारी खेती प्रवद्र्धन कार्यक्रम भनेर काम गरिरहेका छौँ ।’ उनले भने –’दलित तथा अपाङ्गतालाई पनि समेट्ने गरी कार्यक्रम सञ्चालन गरिरहेका छौँ ।’ विभिन्न क्षेत्रमा छरिएर रहनुभन्दा एउटै ठाउँमा नमुना तरकारी गाउँ बनाउन लागिएको प्रमुख विष्टले बताए । ‘एउटा गाउँमा राम्रो गरे अर्को पालिकाले पनि त्यसको सिको गर्छ र तरकारी खेती बढ्दै जान्छ ।’ उनले भने–’सङ्घ र प्रदेश सरकारबाट तरकारी कार्यक्रमका लागि दुई करोड रुपैयाँ बजेट आएको छ ।’ उक्त नमुना गाउँमा किसानलाई विषादीरहित तरकारी उत्पादनमा प्रेरित गर्ने गरिएको प्रमुख विष्टले बताए । यसले स्थानीयस्तरका किसानलाई आत्मनिर्भर बनउनाका साथै बजारमा तरकारीको माग बढ्ने तथा स्वास्थ्यका लागि समेत लाभदायी हुने उनले जानकारी दिए । अन्य बालीभन्दा तरकारीमा बढी फाइदा हुन थालेपछि किसान पनि तरकारी खेतीमा आकर्षित भएका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका–१४ का ४१ वटा राना परिवार सबैले तरकारी खेती गर्दै आएका छन् । कृषि ज्ञान केन्द्रको प्राविधिक सहयोग पाएपछि समुह बनाएर व्यावसायिक तरकारी खेतीको सुरुवात गरिएको यहाँका किसान नाथुराम रानाले बताए । ‘पचहत्तर बोट बैगुन लगाएर तरकारी खेती सुरु गरेँ ।’ उनले भने, ‘अहिले खेती विस्तार गर्दै १५ कठ्ठामा पुर्याएको छु ।’ यहाँका किसानले दुई कठ्ठादेखि दुई–तीन बिघासम्म जमिनमा तरकारी खेती गरिराखेको कृषक रानाले बताए । ‘हामी राना परिवारको मुख्य आम्दानीको स्रोत नै तरकारी खेती हो ।’ उनले भने–’यसैबाट आएको आम्दानीले घरखर्च र छोराछोरीको पढाइखर्च व्यहोर्दै आएका छौँ ।’ डेढ दशकदेखि तरकारी खेतीमा लागेका सुदामा रानाले अन्यबालीभन्दा तरकारीमा फाइदा हुने भएपछि तरकारी खेती नै रोजेको बताए । ‘मेहनत गर्न सक्यो भने अन्य बालीको तुलनामा तीन गुणाभन्दा बढी फाइदा हुन्छ ।’ उनले भने–’कहिलेकाहीँ बजार समस्याले चुनौती थपिदिन्छ ।’ भारतबाट आउने तरकारीले स्थानीय उत्पादनमा समस्या पार्ने गरेको कृषक सुदामाले गुनासो गरे । त्यसैगरी तरकारी खेतीमा लागेकी मीना रानाले पनि तरकारी खेतीबाट मनग्य आम्दानी गरिरहेको बताइन् । ‘बजारमा स्थानीय उत्पादनलाई हेला गर्ने परम्परा छ ।’ उनले भनिन्–’हामीले विषादीरहित तरकारी उत्पादन गर्छौै यहाँ राम्रोभन्दा पनि सस्तो हेर्छन् ।’ मीनाले विभिन्न समस्या हुँदा पनि एक दशकदेखि निरन्तर तरकारी खेती गरिराखेको छु भने । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको छेउमा रहेको यो वस्तीमा राना समुदायले होमस्टे पनि सञ्चालनमा ल्याएका छन् । यहाँ आउने पर्यटकलाई आफ्नै बारीको उत्पादनको स्वाद दिलाउँदा सुखी भएर जानेको गरेको उनको भनाइ थियो । तरकारी खेतीमा लागेका कैलाशु राना पनि यसैबाट घरपरिवारको गर्जो राम्रैसँग चल्दै आएको छ भने । ‘तरकारी उत्पादन गरेर महेन्द्रनगर बजारमा बिक्री गर्दा राम्रै फाइदा हुन्छ ।’ उनले बताए–’तरकारीबाट वार्षिक दुईदेखि तीन लाख रुपैयाँसम्म फाइदा हुने गरेको छ ।’ यहाँ तरकारी खेती गर्ने अधिकांश राना समुदायका महिला नै बढी छन् । पुरुष अन्य काम गर्न जाने र घरमा महिलाले तरकारी खेती गरी घरखर्चका लागि जोहो गर्ने गरेको उनीहरु बताउँछन् । गाउँमा उत्पादन भएको तरकारी बैलगाडा, मोटरसाइकल र टाउँकामा बोकेर बेच्न महेन्द्रनगर बजारसम्म पुग्ने गरेको किसान बताउँछन् । रासस